Friday, November 3, 2017

वराह क्षेत्र

वराह क्षेत्र कोसी अञ्चलको सुनसरी जिल्लामा रहेको प्राचीन र महत्त्वपूर्ण तीर्थस्थल हो । मनोरम र रमणीय दृश्यद्वारा सुशोभित पवित्र तीर्थस्थल वराह क्षेत्रमा गणेश वराह‚ गुरु वराह‚ सूर्य वराह‚ कोका वराह‚ इन्द्र वराहका मन्दिर तथा लक्ष्मीको मन्दिर लगायत जम्मा ९ वटा मन्दिर र धर्मशालाहरू रहेका छन् । कोका नदीको सङ्गममा श्राद्ध गर्दा पितृहरूको उद्धार हुनुका साथै श्राद्धकर्ताको सांसारिक जीवन सुखमय भई मोक्ष प्राप्त हुने तथा उसका अघिपछिका कुल र वंशजको समेत मुक्ति प्राप्त हुने प्रसङ्ग वराह पुराणमा उल्लेख गरिएको छ । कोसी नदीको शास्त्रीय नाम कौशिकी हो र गङ्गामा गएर मिसिने नदीहरूमध्ये हिमालयदेखिकै जलराशि समेटेर समाहित हुने अन्तिम नदीका रूपमा यस नदीलार्इ लिइन्छ, त्यसैले आफ्ना मृत आफन्तको अस्थिसञ्चय गरी यहाँ जलप्रवाहित गरेगराएमा मृतकले मोक्ष प्राप्त गर्ने जनविश्वास रही आएको छ । त्यसैले यस ठाउँमा अस्थि विसर्जन गर्ने तथा श्राद्ध गर्ने गरिन्छ । महाभारत, विभिन्न पुराणहरू र संस्कृत काव्यमा वराहक्षेत्रको मुक्तकण्ठले महिमा गायन गरिएको छ र सप्तकोसीमा कोकाहा नदीको सङ्गम भएको यो देवस्थलमा परापूर्वदेखि श्रद्धाभक्ति र पूजाआजा हुँदै आएको छ । कौशिक गोत्रका राजर्षि विश्वामित्रको तपोभूमि मानिएको यस ठाउँमा बहने कौशिकी नदी विश्वामित्रकै बहिनी भएको धार्मिक आख्यान छ । भगवान् विष्णुको दशावतारमध्ये तेस्रो अवतारका रूपमा वराह (शूकर) को अवतारलाई लिइन्छ । वराहक्षेत्रमा प्रत्येक वर्षको कार्तिक शुक्ल पक्षमा पर्ने ठूली एकादशीदेखि पूर्णिमासम्म र पौष कृष्ण प्रतिपदा, पौषे औंसी, माघेसङ्क्रान्ति आदिमा मेला लाग्ने गर्दछ । जहिले पनि तीर्थयात्री र दर्शनार्थीको आकर्षणका रूपमा रहेको यस तीर्थमा सङ्क्रान्ति, एकादशी, औंसी, पूर्णिमा र अन्य धार्मिक महत्त्वका दिनहरूमा यात्रुहरूको घुइँचो लाग्ने गर्दछ । यहाँ नेपाल, भारत, भूटान र अन्य ठाउँबाट पनि तीर्थाटनमा श्रद्धालुहरू आउने गर्दछन् ।

वराहक्षेत्रमा उत्तरबाट दक्षिणतर्फ कोसी नदीको वहाव रहेको छ । यस ठाउँको पूर्वतर्फ डाँडामा पवित्र तीर्थस्थल विष्णुपादुका र हालको उदयपुर जिल्लामा पर्ने पश्चिमको डाँडामा चौदण्डीकोट भन्ने ठाउँ रहेको छ । चौदण्डीकोटमा शाहवंशभन्दा पहिले नेपालमा शासन गर्ने सेनवंशी राजाहरूको ऐतिहासिक गढी रहेको छ । वराह क्षेत्र जाने तीर्थयात्रीले पूर्वपश्चिम राजमार्गको रामधुनी भासि (झुम्का) मा ओर्लिएर उत्तरतर्फ करिब २२ किलोमिटर यात्रा गरी जानुपर्ने हुन्छ । पूर्वपश्चिम राजमार्गको इटहरी र झुम्काबाट अथवा कोसी राजमार्गको धरानबाट वराहक्षेत्र जाने सवारी साधनहरू उपलब्ध हुन्छन् । यहाँ बस्न ठूलाठूला होटल र लज नभए पनि धर्मशालाको राम्रो व्यवस्था छ ।

No comments:

Post a Comment