Monday, November 6, 2017

मङ्गल चौथी

खर्वं स्थूलतनुं गजेन्द्रवदनं लम्बोदरं सुन्दरं
प्रस्यन्दन्मदगन्धलुब्धमधुपव्यालोलगण्डस्थलम् ।
दन्ताघातविदारितारिरुधिरैः सिन्दूरशोभाकरं
वन्दे शैलसुतासुतं गणपतिं सिद्धिप्रदं कामदम् ।

(जो होचो र मोटो शरीर भएको हुनुहुन्छ, जसको गजराजको जस्तै अनुहार र लामो भुँडी छ, जो सुन्दर देखिनुहुन्छ तथा मदको सुगन्धले लोभिएका भँमराले चाट्नाले जसको गण्डस्थल चञ्चल हुँदैछ, दाँतको चोटले विदीर्ण भएका शत्रुगणको रक्तद्वारा सिन्दूर झैं शोभा धारण गर्नुहुने, कामनाका दाता एवं सिद्धि प्रदान गर्नुहुने पार्वतीपुत्र गणेशको म वन्दना गर्दछु । )

रक्तो रक्ताङ्गरागांशुककुसुमयुतस्तुन्दिलश्चन्द्रमौलि-
र्नेत्रैर्युक्तास्त्रिभिर्वा मनकरचरणौ बीजपूरान्तवासः ।
हस्ताग्राक्लृप्तपाशाङ्कुशरदवरदो नागवक्त्रो हि भूषो
देवः पद्मासनो वो भवतु नतसुरो भूतये विघ्नराजः ।

(जो रक्तवर्णको शरीरयुक्त हुनुहुन्छ, जसले रातै रङ्गका अङ्गराग, वस्त्र र पुष्पहार धारण गर्नुहुन्छ, जो लम्बोदर हुनुहुन्छ, जसको मस्तकमा चन्द्रमुकुट छ, जसका तीनवटा आँखा छन् र हातखुट्टा ससाना छन्, जसको सूँडको अग्रभागमा पाश, अङ्कुश, दन्त तथा वरद मुद्रा सुशोभित छन्, जसको मुखमण्डल हात्तीजस्तो छ एवं सर्पमय आभूषण धारण गर्नुभएको छ, ती कमलको फूलको आसनमा विराजमान, समस्त देवगणका आराध्य विघ्नराज भगवान् गणपति हजुरहरूका निमित्त सदैव कल्याणकारी हुनुहवस् ।)

हाम्रो संस्कृतिमा भगवान् गणेशलाई मङ्गलकारक देवताका रूपमा पुज्ने परम्परा छ । वैदिक वाङ्मय र पौराणिक साहित्यका साथै दर्शन र संस्कृतिमा यत्रतत्र गणेशको चर्चा भएको भेटिन्छ । भगवान् गणपति मङ्गलकारी शुभफलप्रदाता र अमोघ लाभदाता देवता मानिनु हुन्छ । उहाँको पूजाबाट भक्तजनका समस्त सङ्कट र कष्टहरू समाप्त हुन पुग्छन् भन्ने विश्वास गरिन्छ । भगवान् गणेश चतुर्थी तिथिका दिन प्रकट हुनु भएको भन्ने शास्त्रीय मान्यता छ । गणेश जी प्रकट भएको दिन मङ्गलबार र चतुर्थी तिथिको संयोग थियो, त्यसैले यस्तो संयोगलाई भगवान् गणेशको पूजाआराधना र प्रसन्नताका निम्ति अतीव महत्त्वपूर्ण तिथिका रूपमा लिइने गरेको हो । मङ्गल चौथी (Mangal chaturthi) लाई 'मङ्गलचतुर्थी' र 'अङ्गारकी चतुर्थी' पनि भन्ने गरिन्छ । ज्योतिषशास्त्रमा मङ्गलबारको प्रतीकात्मक सम्बन्ध मङ्गल ग्रहसँग रहेको देखिन्छ । त्यसैले मङ्गलबारलाई भगवान् गणेशको प्रियतम दिन मानेर हप्तैपिच्छे श्रीगणेशको उपासना गरी श्रद्धाभक्तिका साथ व्रत लिने परम्परा पनि छ । मङ्गल ग्रहको उत्पत्ति पृथ्वीको गर्भबाट भएको हो भनी विभिन्न धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । पृथ्वीको पुत्रका रूपमा मङ्गल ग्रहलाई मानिने भएकाले यसलाई भौम पनि भन्ने गरिन्छ । मङ्गलबार र मङ्गलग्रहका अधिदेवता भगवान् गणेश हुनुहुन्छ । त्यसैले भगवान् गणेशको जन्मतिथि चतुर्थी तिथि मङ्गलबारका दिन पर्दा यो दिन अझ महत्त्वको दिन हुन गएको हो । भगवान् गणेशको उत्पत्ति र मङ्गल ग्रहको उत्पत्तिसित जोडिएको चतुर्थी तिथिका बारेमा भिन्नभिन्न पुराण र ग्रन्थहरूमा बेग्लाबेग्लै कथाप्रसङ्ग र क्षेपकहरू भेटिन्छन् । कतिले मङ्गल चौथीलाई भगवान् गणेशकै जन्मदिन र कतिपयले मङ्गल ग्रहको उत्पत्ति भएको प्रसङ्गसित जोडेको पाइन्छ । कथाका अन्तरविषयमा भिन्नता देखिएपनि तिनले यस दिनको महत्तालाई नै उपस्थापन गरिएको प्रसङ्गमा भने समानता पाइन्छ । यस बारेमा प्राप्त बेग्लाबेग्लै कथावृत्तान्तको सारांश निम्नानुसार छ -

भगवान् गणेशको जन्मप्रसङ्ग

गणेशपुराणको उपासनाखण्डमा भगवान् गणेशको जन्मवृत्तान्त छ । गणेश उत्पत्तिसम्बन्धी धेरै कथानकहरूमध्ये माता पार्वतीले स्नानागारमा पस्नुअघि मयलबाट एउटा मानवाकृति बनाई त्यसमा प्राण भरेर द्वारपालेका रूपमा स्थापना गरेको बालक नै पछि गणेशका नामले प्रख्यात भएको कथा प्रसङ्ग बहुप्रचलित छ । यस वृत्तान्तमा बताइएबमोजिम गणेशको जन्म भाद्र महिनाको शुक्ल पक्षको चतुर्थी तिथिका दिन भएको हो । प्रत्येक वर्ष यस दिनलाई 'गणेश चौथी' भनेर मान्ने गरेको पाइन्छ । सामान्यतया नेपाली परम्परामा यो पर्व तीजको भोलिपल्ट र ऋषिपञ्चमीको अघिल्लो दिन पर्ने गर्दछ । भगवान् गणेशको जन्म भएको उक्त दिन मङ्गलबार नै थियो भन्ने विश्वास गरिन्छ, त्यसैले चतुर्थी र मङ्गलबारको संयोग भएको दिनको महत्ता बढेको हो भन्ने विश्वास छ ।

मङ्गल ग्रहको जन्मप्रसङ्ग

पौराणिक ग्रन्थमा मङ्गल ग्रहलाई पृथ्वीको छोराका रूपमा लिएको पाइन्छ । कथाबमोजिम भारद्वाज मुनि र पृथ्वीका पुत्र मङ्गलको जन्म चतुर्थी तिथिमा नै भएको थियो भने उनले सिद्धि प्राप्त गरेको दिन पनि चतुर्थी तिथि नै थियो । मङ्गल ग्रहको जन्मपछि उनले आँफुले ज्ञान, सिद्धि र प्रतिष्ठा प्राप्त गर्न कठिन तपस्या गरे । उनको उक्त प्रयासबाट भगवान् गणेश प्रसन्न हुनुभयो र मङ्गल ग्रहले गणेशजीबाट वरदान पाए । यसरी मङ्गल ग्रहले गणेशजीको दर्शन पाएको र वरदान प्राप्त गरेको दिन माघ कृष्ण पक्षमा पर्ने चतुर्थी तिथि थियो । त्यस दिन ग्रह एवं नक्षत्र जसका अंश हुन्, ती गजानन गणेशको वरदानबाट मुनिकुमार मङ्गललाई मङ्गल ग्रहका रूपमा आकाशमण्डलमा विशिष्ट स्थान प्राप्त भयो । भगवान् गणेशले मङ्गल ग्रहलाई आशीर्वाद र वर दिंदा अभिव्यक्त गरेका वचन यस्ता थिए - 'मङ्गलबार र चतुर्थीको संयोग भएको दिन जसले श्रद्धाभक्तिपूर्वक मेरो (गणेशको) भक्ति गरी व्रत लिन्छ, उसका समस्त कष्ट एवं विघ्न समाप्त हुनेछन् र उनको महत्त्व अझ बढ्ने छ ।'

भगवान् शिवबाट गणेशजीलाई प्राप्त वरदानको सन्दर्भ

एउटा अर्को कथासन्दर्भअनुसार भगवान शङ्करले गणपतिसित प्रसन्न भई प्रत्येक मङ्गल चतुर्थीका दिन (Mangal Chaturthi) चन्द्रमा 'मेरो शिरबाट सरेर तिम्रो शिरमा सुशोभायमान हुनेछन्' भनी वर प्रदान गर्नु भएको थियो । त्यसैले मङ्गलचौथी वा अङ्गारकी चतुर्थी परेको विशिष्ट दिनमा श्रीगणेशको उपासना र व्रत सम्पादन गर्नाले व्यक्तिमा जानी/नजानी जन्मजन्मान्तरदेखि सञ्चित हुन पुगेका कायिक, वाचिक र मानसिक यी तीनै किसिमका पापको नाश हुनुका साथै त्यसबाट प्राप्त हुने तापको समेत हरण हुने गर्दछ । मङ्गल चतुर्थीका दिन जसले श्रद्धाभक्तियुक्त भई नियमनिष्ठापूर्वक श्रीगणेशको पूजा गर्दछ तिनले मनोवाञ्छित फल प्राप्त गर्दछन्, साथै सन्तान नहुने दम्पत्तिले सविधि गणेशजीको उपासना गर्दा सन्ततिलाभ गर्दछन् भन्ने आशीर्वाद भगवान् शिवबाट प्राप्त भएको कथाको सन्दर्भ पनि मङ्गलचौथीकै महात्म्य उल्लेख गर्दा बताउने गरिन्छ । यहाँ उल्लेखित विभिन्न सन्दर्भले समेत मङ्गल चौथीको वैशिष्ट्यलाई उजिल्याएको देखिन्छ । त्यसैले भगवान् श्रीगणेशका भक्तहरू प्रत्येक चतुर्थीका दिन अति श्रद्धाका साथ व्रत लिने गर्दछन् । कतिपय भक्तहरूले महिनै पिच्छे शुक्लपक्षको र कतिले कृष्णपक्षको चतुर्थीका दिनलाई बढी महत्त्व दिने गरेको पाइन्छ । कृष्णपक्षको चन्द्रोदयरहित चतुर्थीलाई पापनाशक चतुर्थी र शुक्लपक्षको चन्द्रोदययुक्त चतुर्थीलाई संकष्टी चतुर्थी भनिन्छ । धर्मग्रन्थहरूमा चतुर्थीका दिन विधिवत् व्रत गर्नाले मङ्गलमूर्ति श्रीगणेश तत्काल प्रसन्न हुनुहुन्छ र यस दिन मङ्गलबार परेको बेला विधिवत् व्रत सम्पादन गर्नाले वर्षभरिका चतुर्थीको व्रतको सम्पूर्ण पुण्य प्राप्त हुन्छ भनेर बताइएको छ ।

मङ्गल चौथी भगवान् गणेशको आराधना गर्ने पवित्र दिन हो । यस दिन प्रात:कालमा स्नानादिबाट निवृत्त भई पवित्र वस्त्र धारण गरेर भगवान् श्री गणपति सहित भगवान् शिव र माता पार्वतीको पूजा गर्ने चलन छ । त्यस दिन भगवान् गणेशको प्रसन्नताका निम्ति यस दिन दिनभरि भजन कीर्तन गर्ने र श्रीगणेश स्तोत्र वा गणेश अथर्वशीर्षको पाठ समेत गर्ने गरिन्छ । साँझमा चन्द्रमा झुल्किएपछि मुसा वाहनमा सवार भएका, हातमा परशु(बन्चरो) र पाश(पासो) धारण गरेका श्रीगणपतिको मूर्तिलाई प्राणप्रतिष्ठा गरिन्छ् । प्राणप्रतिष्ठा गर्दा ब्राह्मणद्वारा मन्त्रोच्चारण पूर्वक गराउने चलन पनि छ, तर आफैंले जौ, तिल, कुश, अक्षता, चोखो पानी आदिको मिश्रणबाट तिलानी बनाई मानसिक रूपले सङ्कल्प गरी त्यस तिलानीमा रहेको कुसको टुक्रो र अक्षता हातमा लिई भगवान् श्री गणेशको मन्त्र उच्चारण गर्दै अक्षता र कुशको टुक्रो मूर्तिमाथि राखेर गणेशको आध्यात्मिक उपस्थिति आँफुले स्थापना गरेको मूर्तिमा रहोस् भन्ने कामना गर्नुपर्छ । भगवान् श्रीगणपतिको प्राणप्रतिष्ठा गरेपछि फूल, अक्षता, चन्दन, अबिर(रोली), कुमकुम, दुबो, माला आदिद्वारा विविध सामग्री त्यस मूर्तिमा चढाएर पूजा गर्नुपर्दछ । मङ्गल चौथीका दिन श्रीगणेशको पूजासँगै चन्द्रमा र मङ्गल ग्रहको पूजा गर्दा अति शुभफल प्राप्त हुने र मङ्गलदायी हुने विश्वास गरिन्छ । त्यसैले मङ्गल चौथीको व्रत लिने व्यक्तिले त्यस दिन भगवान् गणपतिको पूजा गरेपछि चन्द्रमा र मङ्गल ग्रहको समेत पूजा गरी अर्घ्य दिनुपर्छ । श्रीगणेशलाई लड्डुको भोग लगाउनु पर्दछ, अनि सपरिवार श्रीगणेशको आरती गरी प्रसाद वितरण गर्नुपर्दछ र मङ्गल चौथीको व्रत समापन हुन्छ ।

किन लिने मङ्गलबारको व्रत ?

सामान्यतया मङ्गलवारको व्रत सम्मान, बल, पुरुषार्थ र साहस बृद्धि गर्नका निमित्त लिने गरिन्छ । यस दिन व्रत सम्पादन गर्नाले व्रतालुले सुखसमृ्द्धि प्राप्त गर्ने गर्दछ । यस व्रतको प्रभावले उपासकले राजकीय पद समेत प्राप्त गर्दछ । सम्मान र सन्तानप्राप्तिका लागि पनि मङ्गलवारको व्रत लिने चलन छ । यस व्रतको व्रतकथा र महात्म्यमात्र श्रवण गर्नाले पनि समस्त मङ्गल कामनाहरू पूर्ण हुने गर्दछन् । त्यस्तै यस व्रतको सम्पादनबाट समस्त पापहरूबाट व्यक्तिले मुक्ति प्राप्त गर्दछ । त्यस्तै जसको जन्मकुण्डलीमा मङ्गल ग्रहले विविध अशुभ फल प्रदान गरिरहेको छ, उसको कुण्डलीजन्य दोष निवारणका लागि पनि मङ्गलबारको व्रत लिने चलन छ ।

ककसले लिनुहुन्छ मङ्गलबारको व्रत ?

ज्योतिष शास्त्रअनुसार मङ्गलवारको व्रत ती व्यक्तिहरूले लिनु पर्दछ जसको कुण्डलीमा मङ्गलग्रह नीच, बक्री, शत्रुगृहस्थ वा अनिष्टकारक भएर बसेको छ । यस व्रतलाई मङ्गल ग्रहको शान्ति होस् भन्ने उद्देश्यले लिने गरिन्छ । त्यस्तै कुण्डलीमा मङ्गल ग्रह जेजस्तो भए पनि जुन व्यक्तिको उग्र स्वभाव छ, हिंसात्मक क्रियाकलापमा संलग्न छ, रिसाहा छ वा दाम्पत्य विवादले परिवार अस्तव्यस्त छ,  तिनको मानसिक क्रियाकलापलाई शान्त तुल्याउन पनि यस व्रतलाई सम्पादन गर्ने गरिन्छ । सामान्यतया किशोरहरूले यस व्रतलाई सम्पादन गरे भने तिनले बल र बुद्धि प्राप्त गर्दछन् भने किशोरी र युवतीले यस व्रतलाई लिएमा तिनले असल दाम्पत्य जीवन प्राप्त गर्ने विश्वास गरिन्छ । सन्तानेच्छु दम्पतिले यो व्रत लिएमा असल सन्ततिको प्राप्ति हुनाका साथै सन्ततिका विविध रोग र कमजोरी नष्ट भई तिनको बौद्धिक र शारीरिक विकासमा टेवा पुग्छ । यस व्रतको सम्पादनबाट व्यावसायिक क्षेत्रमा समेत सफलता प्राप्त हुन्छ भन्ने विश्वास लिने गरिन्छ । 

मङ्गलवारको व्रतको महत्त्व

शास्त्रमा प्रत्येक व्रतको बेग्लाबेग्लै महत्त्व र फलका बारेमा उल्लेख गरिएको पाइन्छ । व्रत लिनाले आराध्य देवी/देवताहरूलाई प्रसन्न तुल्याउन सफल भइन्छ र सुखशान्ति प्राप्ति हुन्छ । अन्य व्रतजस्तै मङ्गलबारको व्रत लिनाले पनि धनधान्य, सुखद दाम्पत्यजीवन, असाध्य र कष्टप्रद रोगहरूबाट मुक्ति प्राप्त हुन्छ । वास्तवमा यो व्रत यस मोहरूपी संसारबाट मुक्तिप्राप्त गराउने सरल उपाय हो भन्दा फरक पर्दैन । कुनै व्यक्तिको जन्मकुण्डलीमा मङ्गल ग्रह लग्नमा छ वा लग्नेश भएर उपस्थित भएको छ भने तिनले यस व्रतलाई विनाकारण पनि लिनसक्छन् । त्यसबाहेक यदि कुनै व्यक्तिको कुण्डलीमा मङ्गल ग्रह जन्मलग्नमा अवस्थित भएर पीडित अवस्थामा छ भने उसले अनिवार्य रूपमा यस व्रतको सम्पादन गर्नुपर्दछ । जसको कुण्डलीमा मङ्गलको महादशा, अन्तर्दशा वा प्रत्यन्तर दशा चल्दैछ वा गोचर कुण्डलीमा मङ्गल ग्रह अनिष्टकारी रूपमा छ भने पनि तिनले यस व्रतको सम्पादन गर्नु अनिवार्य छ । यस दिन भगवान् गणेशको र भगवान् हनुमानको उपासना गर्ने गरिन्छ । खास गरी भारतमा पुरूष जातकले मङ्गलबारका दिन हनुमान जीको र स्त्रीजातकले गणेश जीको आराधना गर्ने प्रचलन रहेको देखिन्छ ।

मङ्गलवार व्रतको व्रतविधि

मङ्गलवारका दिन सात्विक विचार ग्रहण गर्नु पर्दछ । व्रत सम्पादन गर्ने दिन आफैंले वा विद्वान् ब्राह्मणका मुखबाट कथा श्रवण गर्नुपर्दछ । सकेसम्म रात्रीकालमा भोजनादि ग्रहण गर्नु हुँदैन । दिवासमयमा पनि एकपटकमात्र भोजन वा फल ग्रहण गर्नुपर्दछ । नुन व्रतको अवधि अर्थात् चौबीस घण्टासम्म खानु चलाउनु हुँदैन । यस व्रतलाई पूर्णता प्रदान गर्न २१ को सङ्ख्याको ठूलो महत्त्व छ । त्यसैले यो व्रत लिन थालेपछि कम्तीमा २१ हप्ता २१ महिना वा २१ वर्ष लिने भनी प्रतिज्ञा गर्नु पर्दछ । बीचमा कुनै कारणले जुठो, सुतक वा महिनावारीजस्ता विघ्न हुनसक्ने भएकाले परिपूर्णताका निमित्त २१ वटा व्रतको सङ्कल्प गरे पनि जम्मा २८ हप्तासम्म व्रत लिनु पर्दछ भन्ने नियम छ । भरिसक्य व्रत थालेपछि समाप्तिपर्यन्त पूरा नियमनिष्ठाका साथ पूर्ण गर्नु पर्दछ, तर बीचमा जुठो, सूतक वा महिनाबारीका कारण व्रतमा नैसर्गिक बाधा उत्पन्न भएमा ठाडो व्रत (पूजा नगर्ने तर उपवास गर्ने) लिनु पर्दछ । पूजासामाग्री र नैवेद्यादि ठीक पार्दा सम्भव भएसम्म रातो रङ्ग र गुलियो पदार्थको जोहो गर्नु पर्दछ । व्रत लिनेभन्दा अघिल्लै दिनदेखि मानसिक रूपमा आफूलाई सात्विक तुल्याउनु पर्दछ र लसुन, प्याज, माछा, मासु, मदिरा आदि अखाद्य पदार्थको सेवन गर्नु हुँदैन । व्रत लिने दिन सूर्योदयभन्दा पहिले नै उठेर स्नानशौचादि नित्य कर्म सम्पादन गर्नु पर्दछ । घर लिपपोत गरी वा शुद्ध गङ्गाजलले चोख्याई व्रतालुले रातो रङ्गका वस्त्राभूषण लगाएर बस्नुपर्दछ । घरको उत्तरपूर्वको कुना वा ईशान कोणको दिशामा कुनै एकान्त स्थानमा दियो, कलश र गणेशको स्थापना गरी गणेशजी वा हनुमानजीको मूर्ति वा चित्रसमेत राखी पूजा गर्नुपर्दछ । दियो र आरती गर्दा २१ सुते बातीको प्रयोग गर्नु पर्दछ । ब्राह्मणका सहयोगबाट वा आफैं षोडशोपचार पद्धति आह्वान, आसन, पाद्य, अर्घ्य, आचमनीय, स्नान, पुनराचमनीय, चन्दन, अक्षता, फलफूल, नैवेद्य, वस्त्रालङ्कार, यज्ञोपवित, भेटी, प्रदक्षिणा आदि विविध उपचारद्वारा पूजा गर्नु पर्दछ । जुटेसम्म प्रत्येक वस्तु २१/२१ को सङ्ख्यामा जुटाउनु पर्छ । पूजा गर्दा गणेशजी, हनुमानजी वा मङ्गल ग्रहका २१ वटा नामको उच्चारण गर्नुपर्दछ । मङ्गल ग्रहका २१ वटा नामहरू यस प्रकार छन् :-

१. मङ्गल, २. भूमिपुत्र, ३. ऋणहर्ता, ४. धनप्रदः, ५. स्थिरासन, ६. महाकाय, ७. सर्वकामार्थसाधक, ८. लोहित, ९. लोहिताज्ञ, १०. सामगानकृपाकर , ११. धरात्मज, १२. कुज, १३. भौम, १४. भूमिज, १५. भूमिनन्दन, १६. अङ्गारक, १७. यम, १८. सर्वरोगहारक, १९. वृष्टिकर्ता, २०. पापहर्ता, २१. सर्वकामफलप्रदः ।


अर्घ्य दिने मन्त्र :-

भूमिपुत्रो महातेजः कुमारो रक्तवस्त्रक: । गृहाणार्घ्यं मया दत्तमृणशान्तिं प्रयच्छ हे ।


मङ्गलवारको व्रत उद्यापन

मङ्गलवारको २१ हप्ता २१ महिना वा २१ वर्षको व्रत समापन गर्दा गणेश जी, हनुमान जी, वा मङ्गल ग्रहको विधवत् पूजा गरी २१ जोडी ब्राह्मण/ब्राह्मणी वा आठ वर्षमुनिका २१ जना कुमार केटाहरू भेला पारी तिनलाई रातो रङ्गका यथाशक्ति वस्त्रादि दान गरी, यथाशक्ति गुलियो पदार्थ पेटभरि खान दिई, यथाशक्ति दक्षिणा समेत दिई समापन गर्नु पर्दछ । दक्षिणामा पनि २१ पैसा, २१ रुपैयाँ वा अन्त्यमा २१ अङ्क आउने सङ्ख्या राख्नु राम्रो मानिन्छ ।

No comments:

Post a Comment