Thursday, November 9, 2017

माङ्गलिक योग : अवसर कि चुनौती ?

जब कुनै पुरुष वा स्त्रीको विवाहको प्रसङ्ग उल्लेख हुन्छ वा विवाह भइसकेका दम्पतीको जीवनमा कलह, झैझगडा वा व्यक्तित्वको टकराव उत्पन्न हुन्छ, त्यसवेला ज्योतिषीकहाँ पुग्दा कुण्डलीमा माङ्गलिक योग छ भन्ने सुन्न पाइन्छ । कतिपय ज्योतिषीले भएको माङ्गलिक योगको उचित व्याख्या र परामर्श दिने गर्दछन् भने कतिपय ज्योतिषीले अवसरको फाइदा उठाउँदै थोरै भए पनि कमाउन पाइहालिन्छ कि भनी नभएको माङ्गलिक योगको त्रास सिर्जना गरेर ठगी गरेको पनि सुन्न र देख्न पाइन्छ । हिजो 'पिता रक्षति कौमारे भर्ता रक्षति यौवने । रक्षन्ति स्थविरे पुत्राः' अर्थात् बाल्यावस्थामा पिताले, युवावस्थामा पतिले र बृद्धावस्थामा पुत्रले रक्षा गर्नुपर्ने भनी नारीलाई एउटा प्रतिबन्ध र दायरामा सीमित गरेर राखेको स्थिति अहिले देख्न पाइँदैन । बदलिंदो परिस्थितिमा नारीको जीवन केही हदमा स्वतन्त्र, खुल्ला र विशिष्ट बन्नुका साथै अझ जटिल, जुझारु र सङ्घर्षमयसमेत बन्न पुगेको छ । अझ पुरुषका तुलनामा स्त्रीमा प्रतिष्ठाका निमित्त बढी बोझ र दबाब रहेको देखिन्छ । पुरुषप्रधान समाजमा जीविकोपार्जन गर्नुपर्ने भएकाले एउटी असल बुहारी र असल सन्ततिकी आमा बन्नुपर्ने परम्परित दायित्वबाहेक उनले अहिले उच्च प्रतिष्ठाका साथमा एउटी आधुनिक नारीको प्रतिष्ठा र प्राप्तिको विषय बन्नु परेको छ । त्यसैले पनि छोरीका बाउआमामा माङ्गलिक योगको नाम सुन्नासाथ त्रास सिर्जना हुनु स्वाभाविक पनि हो, यद्यपि छोराकै अभिभावकलाई पनि यस योगले चिन्तित तुल्याएकै पाइन्छ । हुन त यस योगले प्रदान गर्ने राम्रो वा नराम्रो फल पुरुषका लागि पनि उत्तिकै शुभ वा अशुभ नै हुन्छ, तर सामाजिक बनोटमा पुरुषको दाम्पत्य सुख वा बाधाले उसको व्यक्तित्व र प्रतिष्ठालाई नबाँधेको हुँदा यस योगको दुष्प्रभावका बारेमा एउटी कन्याको जीवनमा आधारित भई बढी व्याख्या/विश्लेषण गरिएको पाइन्छ । अहिलेसम्म माङ्गलिक योगका बारेमा जेजति चर्चा भएका छन्, यसका नकारात्मक पक्षका बारेमा मात्र भएका छन्, फलादेश गर्ने होस् वा सुन्ने यसको वैशिष्ट्यका बारेमा बुझ्दै नबुझी यस योगको गलत व्याख्यान भइआएको देखिन्छ र विवाह योग्य उमेरका वरबधू वा तिनका अभिभावक सन्तप्त र चिन्तित रहने गरेको पाइन्छ । आजको यस आलेखमा माङ्गलिक योगको परिचय र यसको शुभ र अशुभ प्रभावको चर्चा गरिने छ ।


के हो माङ्गलिक योग

मङ्गल शब्दको अर्थ शुभ वा कुशल भन्ने हुन्छ । यस शब्दले ग्रहहरूमध्ये मङ्गल ग्रहको नाम र सातवटा बारमध्ये तेस्रो क्रममा आउने मङ्गलबारलाई पनि सङ्केत गर्दछ । उक्त शब्दमा इक प्रत्यय गाँसेर माङ्गलिक शब्दको निर्माण हुन्छ । विशेषण पदवर्गको माङ्गलिक शब्दको अर्थ पनि श्रेष्ठ र शुभ भन्ने नै हुन्छ । त्यसैले पनि माङ्गलिक योगको अर्थ श्रेष्ठ वा शुभ योग भन्ने हो । तर यहाँ श्रेष्ठ वा शुभ योगको अर्थमा माङ्गलिक शब्दको प्रयोग नभई मङ्गल ग्रहसम्बद्ध योग भन्ने अर्थमा यो शब्द प्रचलित छ । कसैको कुण्डलीमा माङ्गलिक योग छ वा छैन भन्ने जानकारी दिने ज्योतिषीय सूत्र यसप्रकार छ :-

लग्ने व्यये च पाताले जामित्रे चाष्टमे कुजे ।पत्नी हन्ति स्वभर्तारं भर्ता पत्नीं विनाशयेत्॥ 

यस श्लोकको भावार्थ हो - जुनसुकै व्यक्तिको जन्मकुण्डलीमा जम्मा बाह्रवटा कोठा हुन्छन् । त्यसमध्ये पहिलो कोठालाई लग्न भन्ने गरिन्छ । लग्नबाट गन्दै क्रमशः दोस्रो, तेस्रो गर्दै बाह्रौं भावसम्मको गणना गरिन्छ । तिनै बाह्रवटा भावमध्ये पहिलो, चौथो, सातौं, आठौं र बाह्रौं भाव गरी ५ वटा घरमा मङ्गल ग्रहको उपस्थिति भएको अवस्था नै माङ्गलिक योग हो । माङ्गलिक योगका कारण पति र पत्नीको सम्बन्ध नाश हुन्छ । कोशीय आधारमा माङ्गलिक योग शब्दको अर्थ नराम्रो छैन, तर हामीकहाँ यो शब्द सुन्नासाथ विशेषतः विवाहयोग्य सन्ततिका अभिभावक र गृहिणीहरू झस्कने गर्दछन् । तर वास्तवमा माङ्गलिक योग भन्नासाथ आत्तिनु र झस्किनु आवश्यक छैन, अनि यो अशुभ कारक योग पनि होइन । बुझ्नुपर्ने कुरा के हो भने माङ्गलिक योग भएको मान्छे निडर, प्रष्टवक्ता, साहसी, स्वाभिमानी, सेवाभावयुक्त र स्वावलम्बी हुन्छ, यसको अर्थ ऊ हाईएटिच्युडको हाईभोल्टेज पर्सनलिटि हो । यस्तो स्वभाव भएको व्यक्तिलाई गैरमाङ्गलिक अर्थात् कातर, चिप्ला कुरा गर्ने, डरछेरुवा, चाकरीबाज व्यक्तिले थेग्न र व्यवहार गर्न सक्दैनन् ।

सैन्य पेसामा संलग्न हुन चाहने व्यक्तिको कुण्डलीमा कुनै न कुनै तरिकाले मङ्गल ग्रह प्रभावशाली रहनु अनिवार्य मानिन्छ र त्यस क्षेत्रका व्यक्तिमा माङ्गलिक योगका लक्षण भेटिने सम्भावना पनि हुन्छ । तपाईंले विचार गर्नुभएको हुनसक्छ, सेना र प्रहरिको छाउनी वा क्याम्प गाउँ र समाजभन्दा पर एकान्त स्थानमा सुरक्षित तवरले राखिएको हुन्छ । यसको मुख्य कारण उक्त क्याम्पभित्रको सुरक्षा व्यवस्था र सामरिक महत्त्व नै हो, तर मङ्गल ग्रह हाबी हुने भएकाले सैन्य सेवा संलग्न व्यक्तिको कडापन र मिजास पनि अर्को महत्त्वपूर्ण कारण हो भन्दा अत्युक्ति हुँदैन । त्यसैले सरकारको एउटै कोशबाट सेवा र सुविधा खर्च हुने भए पनि प्रशासनिक र लेखा सेवाका कर्मचारी तथा सेना र प्रहरि सेवाका कर्मचारीको व्यवस्थापन र सेवासुविधामा पनि फरक बनाउनु परेको हो । वास्तवमा जुन अनुशासन र कसीको दायरामा सेना र प्रहरि बसेका हुन्छन्, खुसमिजासका अन्य कर्मचारीले त्यसलाई बुझ्न र पालना गर्न सक्दैनन् । यसरी सैन्यसेवा र अन्य प्रशासनिक सेवाका कर्मचारीको तुलना गरेर पनि माङ्गलिक र अमाङ्गलिकको स्वभावको पहिचान गर्न सकिन्छ । माङ्गलिक योगका व्यक्ति तर्क, योजना, अनुशासन र कर्तव्यलाई अहमताका साथमा पालना गर्दछन् । सांसारिक र भावनात्मक विषयमा दुई र दुई जोड्दा पाँच वा सात जति पनि हुन सक्छ तर यिनीहरू जुनसुकै परिस्थितिमा पनि दुई र दुई जोड्दा चार भएकै देख्न चाहन्छन् । अर्थात् माङ्गलिक योग भएका व्यक्ति भावना वहने र व्यवहारपरक बन्न प्रयास गर्दैनन् । त्यसैले यिनका जीवनमा आउने जीवनसाथीमा पनि त्यस्तै गुण हुनु जरुरी हुन्छ । यस्तो नभएमा जतिवेला पनि सम्बन्ध टुट्ने खतरा मँडारिरहेको अवस्था सिर्जना हुन्छ । त्यसैले माङ्गलिकको सम्बन्ध माङ्गलिकसँगै हुनु पर्दछ, अनिमात्र विवाहलगायत साझेदारीका हरेक क्षेत्रमा उत्तम जोडीको भूमिका निर्वाह हुनसक्छ र तिनको जीवनमा पनि परममङ्गलको उदय हुन्छ भन्न खोजिएको हो ।

मङ्गल ग्रह दाजुभाइ, मित्रता, साझेदारी, उत्साह, ऊर्जा आदिको कारक ग्रह भएकाले विवाहमात्र होइन, कुनै पनि दुई व्यक्तिका बीचमा साझेदारी र व्यापारका सिलसिलामा पनि माङ्गलिक योगको प्रभाव हुन्छ । स्वभावले माङ्गलिक योग भएका जातक निडर, प्रष्टवक्ता, साहसी, स्वाभिमानी र स्वावलम्बी हुन्छन् । त्यसैले उनीहरूको सम्बन्ध पनि त्यस्तै स्वभाव भएका व्यक्तिहरूसित हुने गर्दछ । अतः माङ्गलिक योगको विवेचना आपसी सम्बन्ध निर्धारणका लागि हुने गर्दछ । विवाहले जीवनको दीर्घकालसम्म प्रभाव पार्ने भएकाले केवल विवाहका प्रसङ्गमा मात्र यस योगको विवेचना गर्ने गरिन्छ, तर आपसी सम्बन्ध कायम गरी गरिने हरेक क्रियाकलापमा यस योगको महत्त्वपूर्ण उपयोग हुनसक्छ । वास्तवमा माङ्गलिक र गैरमाङ्गलिक जातकहरूका माझमा विवाह, व्यापार वा कुनै पनि प्रकारका साझेदारी कार्य सफल हुँदैनन्, अर्थात् माङ्गलिक व्यक्तिका लागि माङ्गलिक व्यक्ति नै उपयुक्त हुन्छ चाहे त्यो विवाह होस्, व्यापार होस् वा कुनै साझेदारीको क्षेत्र होस् ।

दाम्पत्य जीवन भनेको एउटा पुरुष र एउटी स्त्रीका बीचमा कायम हुने दीर्घकालिक साझेदारी र समझदारी हो । यौनसुख यस सम्बन्धको मुख्य कडी हो, यद्यपि केवल यौनसुखमात्र दाम्पत्यको समग्र विषय होइन, यससँग कुल, परिवार, समाज, प्रतिष्ठा, वंश र आपसी सम्बन्धजस्ता जटिल विषय जोडिएका हुन्छन् । सनातन संस्कृतिमा एउटी नारीको नाम, थर र गोत्रसमेत पुरुषसँग जोडिएको हुन्छ, त्यसैले विवाहपछि जुठोसूतक समेत पतिगृहमा आश्रित भइदिन्छ, उता पुरुषको जीवनमा पनि कुलबधु र घरकी नियन्ताका रूपमा उसकी पत्नीको अहम् भूमिका रहने गर्दछ । अतः दाम्पत्यसम्बन्धमा माङ्गलिक योगको शुभ वा अशुभ प्रभावले महत्त्व राख्नु स्वाभाविक नै हो ।

मङ्गल ग्रह प्रत्यक्ष हाबी भएका व्यक्तिको विशेषता

मङ्गल ग्रहलाई मुख्यतया शक्ति र पुरुषत्वको कारकका रूपमा वर्णन गरिएको पाइन्छ । मङ्गल ग्रहले प्रत्येक व्यक्तिमा शारीरिक सामर्थ्य, आन्तरिक ऊर्जा, मानसिक शक्ति र आत्मबलको प्रतिनिधित्व गरेको हुन्छ । मानसिक शक्ति भन्नाले निर्णय गर्ने क्षमता र उक्त निर्णयमा लिइने अडान भन्ने बुझिन्छ । मङ्गलको प्रभाव भएका जातकहरू सामान्यतया तथ्यको पहिचान गरी समुचित निर्णय गर्न र उक्त निर्णयलाई व्यावहारिक रूप प्रदान गर्न सक्षम हुने गर्दछन् । यस्ता जातक सामान्यतया कुनै दबाबका भरमा कसैका अगाडि निहुरन चाँहदैनन् र यिनीहरूमाथि दबाब दिएकै भरमा आफ्ना कुरा लाद्न निक्कै कठिन हुन्छ । त्यसैले यस ग्रहका प्रभाव भएका व्यक्तिलाई तर्क र युक्तिका आधारमा आफूअनुकूल बनाउन सकिन्छ । वास्तवमा मङ्गल ग्रहले यस्ता क्षेत्रको प्रतिनिधित्व गर्दछ जसमा साहस, शारीरिक बल, मानसिक क्षमता आदिको आवश्यकता हुन्छ । स्त्री होस् वा पुरुष जुनसुकै व्यक्तिमा अहिलेको युगीन परिवेशमा यी विषय हुनु अनिवार्यजस्तै हुने गर्दछ, अनि माङ्गलिक भएका व्यक्तिमा यी लक्षण स्वाभाविक ढंगले विकसित भएको पाइन्छ ।

कुनै जातक चाहे ऊ स्‍त्री होस् वा पुरुष, ऊ माङ्गलिक हुनुको अर्थ उसको कुण्डलीमा मङ्गल ग्रहले प्रभावकारी उपस्थिति जनाएको छ । विवाहका निमित्त जुनजुन घरमा मङ्गल ग्रहको उपस्थितिका बारेमा विचार गरिन्छ, तिनमा लग्‍न, चौथो, सातौं, आठौं र बाह्रौं भाव पर्दछन् । सामान्यतया लग्नमा बसेको मङ्गलले व्यक्तिको व्यक्तित्वलाई अत्यधिक तीक्ष्ण बनाउने गर्दछ, चौथो भावको मङ्गलले जातकको पारिवारिक पृष्ठभूमिको कठोरता र अडानको सङ्केत गर्दछ । त्यस्तै सातौं भावको मङ्गलका कारण जातक आफ्नो पति वा पत्नीप्रति कठोर बन्ने गर्दछ । अनि आठौं र बाह्रौं भावमा बसेको मङ्गलले आयु र शारीरिक क्षमतालाई प्रभावित तुल्याउँदछ । यीमध्ये आठौं र बाह्रौं भावको मङ्गलको भूमिका सामान्य खराब मानिन्छ, यसको अर्थ हो, विशेष परिस्थितिमा अर्थात् मेष, कर्कट, सिंह, बृश्चिक, धनु र मीन लग्न भएका जातकमा यी भावमा बसेको मङ्गलले केही शुभ परिणाम पनि प्रदान गर्दछ ।

लग्न, चतुर्थ, सप्तम, अष्टम र द्वादश भावमा बसेको मङ्गल बलशाली भएमा जातकका व्यवहारमा पनि यस ग्रहको शुभफल प्राप्त हुन्छ, दुर्बल र कमजोर मङ्गल छ भने यसको प्रभाव पनि खराब हुने गर्दछ । उदाहरणका लागि एउटा प्रतिष्ठित सर्जन डाक्टर र एउटा कुख्यात डाका दुबैको कुण्डलीमा माङ्गलिक योगको सम्भावना हुन्छ । यस्तै स्थिति एउटा उच्‍च स्‍तरीय बैंक म्यानेजर र सेनाको प्रमुखमा पाउन सकिन्छ । जसले कडा निर्णय लिनु पर्ने पद र प्रतिष्ठा ग्रहण गरेका हुन्छन्, तिनको कुण्डलीमा माङ्गलिक योग हुने सम्भावना उत्तिकै हुन्छ । माङ्गलिक व्यक्तिको व्यक्तित्व हेर्दा रातो र तमतमाइलो अनुहार, जत्तिवेला पनि कठोर निर्णय लिनसक्ने स्वभाव, कडा बोलीवचन, निरन्तर काममा खट्नसक्ने, विपरीतलिङ्गीको आकर्षणमा झट्टै लट्ठ भइ नहाल्ने, योजनाबद्ध काम गर्ने, कठोर अनुशासनको परिवेश सिर्जना गर्ने र त्यसलाई पालना गर्ने तथा धैर्यता, संयमता र सहनशीलता जस्ता विशेषता प्राप्त हुन्छन् । यिनीहरू वचनका पक्का हुन्छन्, अघि सरेको कामलाई नसिद्ध्याई विश्राम लिन चाहँदैनन् अनि लडाइँ, झगडा, दङ्गाफसाद, युद्ध, प्राकृतिक प्रकोप आदि विपरीत परिस्थितिमा पनि विचलित हुने गर्दैनन् । यिनीहरू जुझारु स्वभावका हुन्छन् । हरेक विषयको गहिराइमा पुगेर त्यसको प्राप्तिका लागि निरन्तर र लगनशील भई सङ्घर्ष गर्नु यिनको विशेषता हो । सफलता वा असफलता जे मिले पनि यिनीहरू आफ्नो लक्षबाट विचलित हुँदैनन् । अहिले हरेक व्यक्तिको जीवन सङ्घर्षमय हुने गर्दछ, अतः युगको आवश्यकतानुरूप सङ्घर्षमा रत्तिभर विचलित नभई अघि बढिरहने र विपरीत परिस्थितिमा पनि जुझारु रहन सक्ने व्यक्तिको कुण्डलीमा मात्र देखिने यो योग किमार्थ अशुभ होइन ।

ज्योतिषमा माङ्गलिक योग र यसको प्राविधिक पक्ष

एउटा वृत्तमा ३६० डिग्री हुन्छ । पूर्वीय ज्योतिषशास्त्रले उक्त वृत्तलाई ३०/३० डिग्रीका बाह्र भागमा विभाजन गरी विवेचना गर्दछ । ती विभाजित अंशलाई राशि भन्ने गरिन्छ । लग्नकुण्डली व्यक्ति जन्मिएको स्थानको पूर्वीय क्षितिजमा देखिने ब्रह्माण्डको राशिचक्रमा आधारित हुन्छ । त्यसैले हरेक व्यक्तिको लग्नकुण्डलीमा समानता हुँदैन, हरेक दुई घण्टाको फरकमा जन्मने व्यक्तिको लग्न पनि फरक हुनसक्छ । लग्न कुण्डलीका बाह्रवटा कोठामध्ये मङ्गल ग्रहको बसाइका आधारमा क्रमशः १, ४, ७, ८, १२ औं घरमा मङ्गल ग्रह उपस्थित भएमा माङ्गलिक योग र अन्यत्र उपस्थित भएमा गैरमाङ्गलिक योग भन्ने गरिन्छ । दक्षिण भारतीय पद्धतिमा दोस्रो भावमा मङ्गल ग्रह उपस्थित भएमा पनि माङ्गलिक योग नै मान्ने चलन छ ।

मङ्गल ग्रहले आफू बसेको घर र त्यसबाट क्रमशः चौथो, सातौं र आठौं घरमा पूर्ण दृष्टिले देख्दछ । त्यसैले लग्न (१) मा बसेको मङ्गलको सप्तमभावमा सातौं र अष्टम भावमा आठौं पूर्णदृष्टि, सुखस्थान (४) मा बसेको मङ्गलले सप्तमभावमा चौथो पूर्णदृष्टि, प्रणयस्थान (७) मा बसेको मङ्गलले लग्नमा सातौं र सप्तमभावमा पहिलो पूर्णदृष्टि, अष्टम भावमा बसेको मङ्गलले धनस्थानमा सातौं र अष्टमभावमा पहिलो पूर्णदृष्टि तथा व्ययस्थान (१२) मा बसेको मङ्गलले सप्तमभावमा आठौं पूर्ण दृष्टि राख्ने गर्दछ । सामान्यतया व्यक्तिको कुण्डलीको पहिलो भावबाट व्यक्तित्वको, चौथो भावबाट पारिवारिक सुखको, सातौं भावबाट दाम्पत्य सुख र साझेदारीको, आठौं भावबाट यौनसामर्थ्य र दुर्घटनाजन्य जोखिमको तथा बाह्रौं भावबाट क्रयशक्तिको विवेचना गरिन्छ । विवाह त्यस्तो विषय हो, जससँग व्यक्तिको व्यक्तित्व, पारिवारिक सुख, दाम्पत्य सम्बन्ध, अरिष्टता र सुस्वास्थ्य एवं आर्थिक सन्तुलन सबै विषय जोडिएका हुन्छन् र ज्योतिषशास्त्रमा यी तत्त्वको विवेचना क्रमशः लग्न, चतुर्थ, सप्तम, अष्टम र द्वादश भावबाट हुने भएकाले ती ती भावमा मङ्गल ग्रहको योगदान र भूमिकाका बारेमा चिन्तन गरिएको हो ।

बाह्रमध्ये सातवटा भावमा मङ्गल ग्रह बसेमा माङ्गलिक योग नहुने र पाँचवटा भावमा मङ्गल ग्रह बसेमा माङ्गलिक योगको सिर्जना हुने ज्योतिषीय अवधारणा छ । सम्भाव्यताको सूत्रमा राख्ने हो भने संसारभरिका ४१.६७ प्रतिशत मानिसको कुण्डलीमा माङ्गलिक योग हुने गर्दछ । यसरी नै व्यक्तिको राशिकुण्डलीमा चन्द्रमा बसेको राशिबाट पहिलो, दोस्रो, तेस्रो गरी घरको गणना गर्ने चलन छ । राशिकुण्डलीमा पनि पहिलो, चौथो, सातौं, आठौं र बाह्रौं भाव गरी ५ वटा घरमा बसेको मङ्गलले पनि आंशिक रूपमा माङ्गलिक योग सिर्जना गर्दछ भन्ने मान्यता छ । यस आधारलाई समेत जोडेर सम्भाव्यता विचार गर्ने हो भने बहुसङ्ख्यक व्यक्तिको कुण्डलीमा माङ्गलिक प्रभाव देख्न सकिन्छ ।

मङ्गल ग्रहलाई रगतको कारक मानिन्छ, त्यसैले यिनीहरू गरम स्वभावका हुन्छन् । पति र पत्नीको सम्बन्धको पहिलो आधार यौन हो । यौन र यौनिकताका हरेक विषयमा रगतको प्रत्यक्ष सम्बन्ध हुन्छ । त्यसैले विवाहमा मङ्गल ग्रहको कारकत्वले पहिलो प्राथमिकता पाएको हो । आधुनिक चिकित्सा पद्धतिले पनि वैवाहिक सम्बन्धका लागि रक्तसमूह (ब्लडग्रुप) को उच्च भूमिका हुने कुरालाई स्वीकारेकै पाइन्छ । यिनै कारणले ज्योतिषशास्त्रमा माङ्गलिक र गैरमाङ्गलिकका माझमा विवाह भएमा सुमधुर सम्बन्ध कायम हुन नसक्ने भनी कडा शब्दमा निषेध गरिएको पाइन्छ । व्यवहारमा पनि अधिकतम सम्बन्ध यस्तै देखिएका छन् । त्यसैले माङ्गलिक योग यो शब्द नकारात्मक रूपमा प्रचलनमा आएको हुनुपर्छ ।

हिजोको समयमा सानै उमेरमा वैवाहिक सम्बन्ध कायम हुने, विवाहपश्चात् पुरुषको आश्रय, भाग्य र धनधान्यका भरमा नारीले पनि जीवनयापन गर्नुपर्ने, कुनै कारणले दाम्पत्य जीवनमा विघ्न आएमा एकल भएर बसेका नारीले प्रशस्त पीडा र दबाबका बीचमा जीविकोपार्जन गर्नुपर्ने विडम्बना थियो र थोरबहुत यसको प्रभाव अद्यावधि जीवितै छ । ज्योतिषीहरूले पनि यसको व्याख्या गर्दा सौतेनी योग, दुई विवाहको योग, वैधव्य योग भनेर सामान्य किसिमले तर एउटी नारीलाई दबाब र पीडा थप्ने गरी माङ्गलिक योगको चर्चा गर्ने गर्दथे । अझ धेरै पण्डित र ज्योतिषीले यस योगलाई भङ्ग बनाउने कतिपय परिस्थिति कुण्डलीमा रहँदा रहँदै त्यसको व्याख्या नगरेर मानसिक रूपमा त्रस्त बनाई योग शान्तिका नाममा चामल र पैसा कुम्ल्याउने योजना गरेको पनि पाइन्थ्यो । तर यतिमात्र यस योगको व्याख्या गर्नु भनेको माङ्गलिक योग सही व्याख्या होइन ।

विवाहको प्राथमिक विषय यौनिकता भए पनि विवाहपश्चात् यो विषय सुसुप्त र गौण बन्न पुग्छ । सामाजिक परिवेशमा विवाहको भूमिका एउटा संस्था झैं रूढ भएको देखिन्छ । विवाह व्यक्तिगत, पारिवारिक, सामाजिक, धार्मिक, पदीय, आर्थिक, वंशानुक्रम, परम्परा र मानसिक हरेक पक्षमा अन्तर्निहित विषय हो । ज्योतिषशास्त्रमा उल्लेख भएअनुसार माङ्गलिक योग भएका स्त्री वा पुरुष आफ्नो जीवन साथीबाट अत्यधिक अपेक्षा गर्ने तथा आपसी सम्बन्धमा अधिक संवेदनशील हुने गर्दछन् । यिनीहरू सहवासका क्रममा पनि प्रबल देखिन्छन् र स्वाभाविक रूपले उनीहरूले जीवनसाथीबाट पनि त्यस्तै अपेक्षा राखेका हुन्छन् । जब जीवनसाथीबाट तिनका अपेक्षा प्राप्त हुँदैनन्, अनि विवाद उत्पन्न हुने भयको सिर्जना हुने गर्दछ । एउटी माङ्गलिक योग भएकी केटीको वैवाहिक सम्बन्ध कुनै गैरमाङ्गलिक केटासँग भयो भने उसमा भएको मानसिकता, सामर्थ्य र ऊर्जाका कारण केटी केटामाथि हाबी हुन्छे । त्यस्तै कुनै माङ्गलिक केटाको गैरमाङ्गलिक केटीसँग विवाह भएमा केटो उसमाथि अत्यधिक हाबी भएको देखिन्छ, परिणामतः केटीले हरहमेशा दबाबमा जीवन बिताउनु पर्दछ । पुरानो समाजमा यो परिस्थितिवश ठिकै हुनसक्थ्यो होला, तर आजको परिप्रेक्ष्‍यमा पति र पत्नी दुबै एकआपसमा समान मानिन्छन् र प्रत्येक विषयमा बराबरीको हक र अधिकार सुनिश्चित भएको देख्न चाहन्छन् । त्यसैले प्राचीन विषय नै भए पनि ज्योतिषशास्त्रले पति र पत्नीको एटिच्युडमा समानता हुनुपर्छ भनी बताएको हो, माङ्गलिक योगको विषयलाई महत्त्व दिएर । अतः माङ्गलिक योगको तात्पर्यार्थमा पति र पत्नी दुबैको आपसी हार्मोनी कायम होस् भन्ने उद्देश्य निहित छ । अतः वैवाहिक जीवन सुरु गर्नुअघि सम्बन्ध गाँसिन लागेको व्यक्तिसँग माथिका हरेक विषयमा मेल वा बेमेल के हुन्छ भनी तर्क र छलफल हुनु स्वाभाविक हो ।

माङ्लिक दोष भङ्ग हुने परिस्थिति

व्यक्तिको जन्म र राशि कुण्डलीको प्रथम, चतुर्थ, सप्तम, अष्टम र द्वादश भावमा मङ्गल ग्रह बसेको खण्डमा माङ्गलिक योग सिर्जना हुने गर्दछ । तर कुण्डलीमा भएका केही विशेष परिस्थितिले उक्त योग आफैं भङ्ग हुने गर्दछ । तिनको विवरण यसप्रकार छ :-

जामित्रे(७) च यदा सौरिः लग्ने(१) वा हिबुके(४)ऽथवा ।
नवमे(९) द्वादशे(१२) चैव भौम दोषो न विद्यते ॥ 
(कुनै कुण्डलीमा माङ्गलिक योग छ, तर कुण्डलीको १, ४, ७, ९ वा १२ औं भावमा शनिश्चर ग्रह बसेको अवस्था छ भने माङ्गलिक योगको दोष लाग्दैन ।)

मेषे वा वृश्चिके वापि मकरो वा धरासुतः ।
निशानाथसदनेऽपि भौमदोषो न जायते ॥  
(मङ्गल ग्रहको मेष र बृश्चिक राशिलाई आफ्नो घर मान्ने चलन छ । त्यस्तै मकर राशिमा मङ्गल उच्च मानिन्छ भने कर्कट राशिमा नीच हुन्छ । त्यसैले कसैको कुण्डलीमा मेष, कर्कट, बृश्चिक र मकर राशिमा मङ्गल ग्रह बसेको अवस्था छ भने माङ्गलिक योग भए पनि यो कमजोर बन्न पुग्छ र यसको दोष व्यहोर्नु पर्दैन ।)

धनस्थिते दैत्यपचन्द्रयोगे वा पूर्णदृष्टिर्गुरुणापि भौमे ।
केन्द्री शशिः सैंहिकभौमयोगे माङ्गल्यदोषो न भवेत्कदाचित् ॥ 
(ग्रहसभामा चन्द्रमा र शुक्र ग्रहको सम्बन्ध भावुकता, सहृदयता र मनसँग गाँसिएको हुन्छ । यदि कसैको कुण्डलीमा चन्द्रमा र शुक्र एउटै भावमा बसेको अवस्था छ भने मङ्गल ग्रहले प्रदान गर्ने कठोरताजस्ता विषयमा स्वतः कमी आउने गर्दछ । अझ कुण्डलीको दोस्रो भावमा यी दुई ग्रह चन्द्रमा र शुक्रको युति भएको छ भने माङ्गलिक योगको दोष भङ्ग हुन्छ । देवगुरु बृहस्पतिले आफू बसेको घर र त्यसबाट पाँचौं, सातौं वा नवौं भावमा पूर्ण दृष्टिले देख्ने गर्दछ । कुण्डलीमा बृहस्पतिको पूर्ण दृष्टि जुन ग्रहमा पर्दछ, उक्त ग्रहले सम्पूर्ण अशुभ प्रभावको त्याग गरी शुभफल मात्र प्रदान गर्ने गर्दछ । अतः बृहस्पतिद्वारा दृष्ट मङ्गल ग्रहले प्रदान गर्ने अशुभ प्रभाव पनि नष्ट हुने गर्दछ । त्यसैले कसैको कुण्डलीमा मङ्गल ग्रहलाई बृहस्पतिले पूर्णदृष्टि प्रदान गरेको स्थितिमा पनि माङ्गलिक दोष लाग्दैन । राहु ग्रहको भौतिक पिण्ड छैन, यो छाया ग्रह हो । यसको र मङ्गल ग्रहको बसाइ एउटै राशिमा छ भने र कुण्डलीका केन्द्रमा रहेका चारवटा (१, ४, ७, १०) कोठामध्ये कुनै कोठामा चन्द्रमाको उपस्थिति छ भने पनि माङ्गलिक दोष लाग्दैन ।)

कुजो जीव समायुक्तो युक्तो वा कुजचन्द्रमा ।
चन्द्रे केन्द्रगते वाऽपि न दोषो मङ्गली भवेत् ॥ 
(मङ्गल र बृहस्पति वा मङ्गल र चन्द्रमाको युतिसम्बन्ध छ भने माङ्गलिक दोष भङ्ग हुन्छ । त्यस्तै चन्द्रकुण्डलीको केन्द्रमा मङ्गल ग्रह रहेछ भने पनि माङ्गलिक योगको दोष लाग्दैन ।)

अजे लग्ने व्यये चापि पाताले वृश्चिके स्थिते ।
वृषे जाये घटेरन्ध्रे भौमदोषो न विद्यते ॥ 
(मेष राशिमा बसेको मङ्गल यदि कुण्डलीको लग्न वा व्ययस्थानमा छ भने, बृश्चिक राशिमा बसेको मङ्गल चतुर्थ भावमा बसेको छ भने, बृष राशिमा बसेको मङ्गल सातौं भावमा बसेको छ र कुम्भ राशिमा बसेको मङ्गल अष्टम भावमा छ भने माङ्गलिक दोष भङ्ग हुन्छ ।)

अर्केन्दुक्षेत्रजातानां कुजदोषो न विद्यते ।
स्वोच्चमित्राभिजातानां तद्दोषो न भवेत् किल ॥  
(सूर्य र चन्द्रमा मङ्गल ग्रहका नैसर्गिक मित्र ग्रह मानिन्छन् । बाह्र वटा राशिमध्ये सिंह राशि सूर्यको र कर्कट राशि चन्द्रमाको घर मानिन्छ । त्यसैले कर्कट र सिंह लग्न भएका जातकका लागि माङ्गलिक दोषको प्रभाव पर्दैन । त्यस्तै मङ्गल ग्रहको स्वगृह (मेष र बृश्चिक), उच्चगृह (मकर) र मित्रगृह (कर्कट, सिंह, धनु र मीन) मा जन्मिएका जातकका लागि पनि पनि माङ्गलिकको प्रभाव कमजोर बन्दछ ।)

अष्टमो भौमदोषस्तु धनुमीनद्वयोर्विना ।
व्यये तु कुजदोषः स्यात् कन्या मिथुनयोर्विना ॥
(आठौं भावमा सिर्जना भएको माङ्गलिक छ तर मङ्गल ग्रह धनु वा मीन राशिमा बसेको अवस्था छ भने एवं बाह्रौं भावमा माङ्गलिक योग बनेको छ तर मङ्गल ग्रह कन्या वा मिथुन राशिमा बसेको छ भने पनि माङ्गलिक योगको दोष लाग्दैन ।)

केटा र केटी दुबै जनाको कुण्डलीमा अधिकतम ग्रहहरू समान भावमा बसेका छन् र समान किसिमका योग पनि देखिन्छन्, तर एउटाको कुण्डलीमा माङ्गलिक योग छ अर्कोमा छैन भने विवाह गरिदिए हुन्छ । माङ्गलिक योगको बाधा व्यहोर्नु पर्दैन ।

हुन त कालसर्प योग शास्त्रीय योग होइन, यस योगको सिर्जना आधुनिक मिडियाले गरेको भन्दा फरक पर्दैन । तर दुबै वरबधु कालसर्प योग भएका रहेछन् भने दुबैको दाम्पत्यसम्बन्ध अनुकूल नै रहेको देखिन्छ । कालसर्प योगमा राहु ग्रहको मुख्य भूमिका रहने भएकाले र मङ्गल र राहुको युतिसम्बन्ध हुँदा माङ्गलिक दोष भङ्ग हुने प्रमाण यसअघि नै उल्लेख भएकाले दुबै कुण्डलीमा समान (मुखोदय/मुखोदय वा पृष्ठोदय/पृष्ठोदय) कालसर्प भएमा पनि विवाह गरिदिए हुन्छ, दोष लाग्दैन ।

माङ्गलिक योगको निवारण

माङ्गलिक योगको दोष व्यहोर्नु नपरोस् भन्ने उद्देश्य लिएका वरबधू वा अभिभावकले यस्तो योग भएका व्यक्तिको विवाह त्यस्तै योग भएका व्यक्तिसित गरिदिनु नै यसको वास्तविक निदान हो । त्यस्तै माङ्गलिक योग भएका व्यक्तिहरू हठी, जिद्दी, अव्यवहारिक र एकोहोरा हुने सम्भावना हुन्छ । त्यसैले माङ्गलिक र गैरमाङ्गलिकका बीचमा विवाह हुने भएमा दुबैमा परिपक्वता आउनु अनिवार्य हुन्छ, त्यसैले मङ्गल ग्रहको कारक वर्ष २८ वा त्यसभन्दा बढी उमेरको नहुन्जेल विवाह नगर्नु पनि यस योगको दुष्प्रभावको निवारण गर्ने अर्को उपाय हो । तर कथंकदाचित्, माथिको प्रतिबन्ध हुँदाहुँदै कारणवश माङ्गलिक र अमाङ्गलिकका बीचमा विवाह भइहालेको परिस्थिति छ भनेमात्र यसको निवारणका लागि सुझाइएका अरु उपायहरूको अवलम्बन गर्नु पर्दछ ।

अहिले टाठाबाठाको समय छ, साँच्चिकै टाठो होस् वा नहोस् हिजोआज हरेक व्यक्ति मैले सबै बुझेको छु र जानेको छु भन्न छाड्दैन । त्यसैले कतिपय अभिभावक र गुरुपुरोहितले कुनै बालक वा बालिकाको कुण्डलीमा माङ्गलिक योग रहेछ भने विवाह हुनु कता हो कता ? विवाहयोग्य उमेर नै नपुगी माङ्गलिक शान्ति पनि गरेको देखिन्छ र सुन्न पाइन्छ । यसरी विवाह सम्पन्न भएर वा टुङ्गो लागेर दुबै वरबधूको कुण्डलीमा माङ्गलिक र अमाङ्गलिक अवस्था सिर्जना नहुन्जेल माङ्गलिक योगको शान्ति गर्नाले कुनै किसिमको लाभ हुन सक्दैन । त्यसो गर्नु भनेको टाउको भोलि दुख्छ, तर सिटामोलको ट्याब्लेट आजै खाएजस्तै हो । त्यसैले माङ्गलिक शान्ति कमसे कम विवाहको टुङ्गो लागेपछि वा विवाह भएपछि गरेको फलदायी हुन्छ । पुनश्च, माङ्गलिक निदानका लागि ज्योतिषीय प्रविधिको लेखाजोखा गरी हुन्छ हुँदैन टुङ्गो गरी विवाह गर्नु निदान हो, शान्तिद्वारा निदान गर्न खोज्नु केवल न्यूनीकरण हो भन्ने बुझ्नु पर्दछ । निदान भनेको रोगलाई जरैबाट उखेलेर फ्याल्नु हो भने न्यूनीकरण भनेको रोगलाई रोकथाम गर्नुमात्र हो । विपरीत ग्रहयोग वा महादशामा न्यूनीकृत दुष्प्रभाव बल्झने खतरा हरहमेशा विद्यमान नै रहन्छ भन्ने कुरा पनि बुझ्नु आवश्यक छ । यहाँ माङ्गलिक दोषको शान्ति हुने केही उपायहरू लेखिएका छन्, जसलाई अनुकूलता र इच्छानुसार प्रयोग गर्न सकिन्छ -

विवाहको निधो भइसकेपछि विवाह हुनपूर्व माङ्गलिक योग भएको वर वा बधूले मङ्गल ग्रहको १० हजारको सङ्ख्यामा जाप र हवन गराउने अनि विवाहपछि सकेसम्म दुबै दम्पतीले एकसाथ, नत्र जसको कुण्डलीमा माङ्गलिक योग देखिएको छ, उसको जीवनसाथीले आजीवन मङ्गलबारको व्रत लिई गणेशजीको उपासना गर्ने, व्रत लिन असमर्थ व्यक्तिले लग्नअनुकूल भएमा मात्र कम्तीमा ८ क्यारेटको मुगा रत्न धारण गर्ने ।

माङ्गलिक योग भएका व्यक्तिको शमी विवाह, घट विवाह, अर्क विवाह आदि विवाह विवाहोपरान्त वा निधो भएपछि गोप्य रूपमा गरिदिने

प्रत्येक वर्ष दुबै दम्पतीले मङ्गलागौरीको उपासना र व्रत सम्पादन गर्ने

पुरुष जातकको माङ्गलिक योग भएमा उसले विवाहोपरान्त निरन्तर बिहिबार व्रत बसेर कात्यायनी भगवती वा बगलामुखी देवीको पूजा गर्ने तथा उसको लग्नअनुकूल रहेछ भने कम्तीमा पाँच क्यारेटको पुष्पराजको औंठी प्राणप्रतिष्ठा गराएर निरन्तर दाहिने हातको चोर औंलामा धारण गर्ने

स्त्री जातकले निरन्तर ज्येष्ठ महिनामा पर्ने बटसावित्री व्रत सम्पादन गरेमा पनि पतिको सुस्वास्थ्य र आयु पक्ष बलियो बनाउन सक्दछन् ।

दुबै दम्पतीले निरन्तर सोमबारको व्रत बस्ने र शिवजीलाई पञ्चामृतले स्नान गराउने

प्रत्येक वर्षको दुर्गापक्ष (चैते दशैं वा बडा दशैं) मा पतिको कुण्डलीमा माङ्गलिक योग भएको अवस्थामा पत्नीं मनोरमांदेहि मनोवृत्तानुसारिणीम् । तारिणीं दुर्गसंसारसागरस्य कुलोद्भवाम्॥  भन्ने मन्त्रले र पत्नीको कुण्डलीमा माङ्गलिक योग भएको अवस्थामा कात्यायनी महामाये महायोगिन्यधीश्वरी । नन्दगोपसुतं देवी पतिं मे कुरुते नमः॥ भन्ने मन्त्रले दुर्गासप्तशती (चण्डी) को सम्पुट पाठ गर्नाले पनि माङ्गलिक योगको दुष्प्रभावको नाश हुन्छ ।


No comments:

Post a Comment