Wednesday, November 8, 2017

राशि तथा राशिफल

कपिलदेव भट्टराई

राशि शब्दको सामान्य अर्थ थुप्रो वा समूह भन्ने हुन्छ । यो संस्कृतभाषाबाट नेपाली भाषामा प्रयोग भएको तत्सम शब्द हो । ज्योतिषशास्त्रमा यो शब्द अत्यन्त प्रचलित मानिन्छ । ब्रहृमाण्डमा अनेकौं आकाशीय पिण्ड छन् र ती आ-आफ्नै गतिमा आ-आफ्नै कक्षमा भ्रमण गर्दछन् । सूर्य एउटा तारा हो । पूर्वीय ज्योतिषमा यसलाई ग्रहहरूको अधिपति वा प्रमुख मानी ग्रहकै कोटिमा राखिएको छ । यसको भ्रमणमार्गलाई वृत्त कल्पना गरी त्यसलाई क्रान्तिवृत्त नामकरण गरिएको छ । सोही क्रान्तिवृत्तलाई १२ समान विभाग गरी मेषादि १२ राशिको कल्पना र २७ समान विभाग गरी अश्विनी आदि २७ नक्षत्रको परिकल्पनासहित नामकरण त्यहाँ गरिएको पाइन्छ । गणितीय सिद्धान्त अनुसार वृत्तको मान ३६० डिग्री हुने र त्यसलाई १२ ले भाग गर्दा ३० अंशा पर्नेभएकाले समेत राशि भन्नाले थुप्रो वा समूह नै हो भन्ने प्रमाणित हुन्छ । ज्योतिषमा डिग्रीलाई अंशा भनिन्छ । प्रत्येक नक्षत्रमा चारवटा अक्षरहरू हुन्छन् । तिनै अक्षरबाट मान्छेको नामकरण गर्ने परिपाटी पूर्वीय ज्योतिषमा रहेको छ ।


यसरी २७ वटा नक्षत्रमा जम्मा १०८ वटा नामाक्षर हुने र तिनै नामाक्षरलाई समान १२ भागगर्दा एक राशिमा ९ वटा अक्षर पर्नेभएकाले पनि नामराशि भन्नाले अगाडिको ९ नामाक्षरहरूको समूह हो भन्ने बुझ्नुपर्दछ । प्रत्येक राशिमा ९ जना प्रतिनिधि व्यक्ति रहन्छन् केवल एक व्यक्तिको पूरै राशिमा एकलौटी आधिपत्य हुदैन । यसकारण प्रत्येक व्यक्ति कुनै एक राशिमा सीमित हुन्छन् तर राशि कुनै एक व्यक्तिमा मात्रै सीमित रहन्न । त्यसैले दैनिक राशिफल सुन्नासाथ वा पढ्नासाथ आफ्नो अनुकूल नभएमा मिलेन भन्नमिल्दैन सोही राशिका अन्य आठ जनामा तुलना गरिनुपर्दछ ।

सूर्य एक नक्षत्रमा १३ दिन २० घडीसम्म रहन्छ भने एक राशिमा एक महिना पूर्ण अवधि रहन्छ । सूर्यलाई राशिचक्र अर्थात् भचक्रको भ्रमण गर्न १२ महिना अर्थात् एकवर्ष समय लाग्छ तर चन्द्रमा एक राशिमा २ दिन २५ घडी ५४ पला १० प्रतिविपला रहने भएकाले एक महिना अवधिमा नै चन्द्रमाले भचक्रको परिक्रमा पूर्ण गर्दछ । पूर्वीय ज्योतिषमा मानिसको जन्मराशि चन्द्रमालाई आधार मानी बनाइएकाले थोरै समय अन्तरालका पनि नामराशि फरक पर्न जान्छ ।

यसरी पूर्वीय सिद्धान्तानुसार एक महिना अवधिमा १२ वटै राशिका मानिसको जन्म हुन सक्छ तर पाश्चात्य पद्धतिमा मान्छेको नामराशि सूर्यमा आधारित छ । जस अनुसार मार्च २१ त्ाारिखदेखि अपि्रल १९ सम्मजन्म भएमा मेषराशि, अपि्रल २० देखि मे २० सम्म वृष राशि, मे २१ देखि जुन २० सम्म मिथुन राशि, जुन २१ देखि जुलाई २२ सम्म कर्कट राशि, जुलाई २३ देखि अगष्ट २२ सम्म सिंह राशि, अगष्ट २३ देखि सेप्टेम्बर २२ सम्म कन्या राशि, सेप्टेम्बर २३ देखि अक्टुबर २२ सम्म तुला राशि, अक्टुबर २३ देखि नोभेम्बर २१ सम्म वृश्चिक राशि, नोभेम्बर २२ देखि डिसेम्बर २१ सम्म धनु राशि, डिसेम्बर २२ देखि जनवरी १९ सम्म मकर राशि, जनवरी २० देखि फेब्रुवरी १८ सम्म कुम्भ राशि र फेब्रुवरी १९ देखि मार्च २० सम्म मीन राशि भनी राशि निर्धारण गरिन्छ । अङ्ग्रेजी महिनाहरूको गणना सूर्यमा आधारित भएकाले राशि विभाजन पनि सूर्यमा आधारित भएको स्वतः सिद्ध हुन्छ ।

पूर्वीय सिद्धान्तानुसार मानिसको जन्म हुँदा चन्द्रमा जुन नक्षत्र र राशिमा छ मानिसको जन्मनक्षत्र र जन्मराशि पनि त्यही हुन्छ । अङ्ग्रेजी मार्च महिनाको २१ तारिख चैत महिनाको प्राय ८ गते पर्दछ । निरयण गण्ना पद्वति अनुसार चैत महिनामा सूर्य मीन राशिमा रहन्छ । पाश्चात्य कालगणना सायनपद्धतिमा आधारित छ । सायन गणना पद्वति अनुसार सूर्य प्रायः चैत्र ७ गते नै मेष राशिमा सङ्क्रमित भई बैशाख ७/८ गतेसम्म रहनेहुँदा पाश्चात्य ज्योतिषले सूर्यमा आधारित भई निर्धारण गरेको एक महिना अवधिमा जन्म हुने सबैको एउटै राशि हुने पद्धति पनि ठीकै हो तर एक महिना अवधिभर राशिफल पनि एकै हुन्छ भन्ने चाहि होइन । गणित प्रक्रिया विचित्रको हुन्छ । गणितमा जति स्थूल प्रक्रिया अपनाइयो फल त्यति सानो हुने र जति सूक्ष्म प्रक्रिया अपनाइयो फल त्यति ठूलो हुनु नै गणितको विशेषता हो । यसर्थमा पाश्चात्य पद्धतिको जन्मराशि निर्धारण भन्दा पूर्वीय मान्यताको जन्मराशि निर्धारण प्रक्रिया सूक्ष्मतम देखिन्छ । प्राचीन ऋषिमुनि एवं मनीषीहरूद्वारा प्रतिपादित ज्योतिषका सम्पूर्ण सिद्धान्त एवं ग्रन्थहरू निरयण पद्धतिमा आधारित भएकाले पूर्वीय पद्धतिको चन्द्रमामा आधारित भई निर्धारण गरिएको राशि र गरिने फलादेश तथ्यपूर्ण हुन्छ । आकाशमा निरयण बिन्दु सधैं स्थिर हुने, स्थिर विन्दुलाई आधार मानी ग्रहगति गणना गर्दा गणितमा पनि स्थिरता हुने र फलादेश निरयण पद्धतिबाटै गरिने शास्त्रीय सिद्धान्तसमेत भएकाले पाश्चात्य सिद्धान्तको राशि निर्धारण पद्धतिभन्दा पूर्वीय सिद्धान्तको राशि निर्धारण पद्धति विशिष्टीकृत देखिन्छ ।

पाश्चात्य सिद्धान्तमा रही कुनै अन्वेषकले नवजात शिशुहरूको राशिगत भिन्नताका आधारमा व्यक्तिगत रुचि जस्ता विषयमा १२ राशिकै शिशुहरूको अवस्था अध्ययन गर्ने हो भने कम्तीमा एक वर्ष समय अवधि लाग्छ तर पूर्वीय सिद्धान्तअनुसार एक महिना अवधिमै सो कुरा सम्भव देखिन्छ । यसकारण अन्वेषकहरूका लागि समेत पूर्वीय सिद्धान्त श्रेयस्कर बन्नजान्छ ।

अधिकतम मानिसको खुराक बनेको विभिन्न पत्रपत्रिका, एफ.एम्.रेडियो, टेलिभिजन आदिमा पढ्न, सुन्न र देख्नपाइने राशिफल व्यक्तिगतरूपमा जिज्ञासा र सान्त्वनाको विषय पनि हो । नहँुदो हो त हरेक पत्रिका, रेडियो तथा टेलिभिजनले प्रमुखताका साथ प्रकाशन वा प्रसारण गर्ने थिएनन् । राशि र राशिफल मानिसको व्यावहारिक जीवनसँग सम्बन्धित छ । यति महत्त्वको विषयवस्तु हुँदाहुँदै पनि पत्रिका नै पिच्छे फरक राशिफल, रेडियो नै पिच्छे भिन्न फलादेश र टेलिभिजन नै पिच्छे भिन्न भविष्यकथनले सम्पूर्ण जनमानसमा सम्बन्धित विषय माथि वैचारिक तरङ्ग आउनु स्वाभाविकै हो । यसै सन्दर्भको गत फागुन १० गतेको शनिवार परिशिष्टमा निर्मलकुमार आचार्यले प्रस्तुत गर्नुभएको भिन्न-भिन्न उदाहरण मननयोग्य छन् । आचार्यले दर्शाउनुभएको समस्या यथार्थपरक भएकाले सम्बन्धित विषय अध्येताका हैसियतले उहाँप्रति साधुवाद ज्ञापन गर्दछु ।

वेदादि शास्त्रको आँखा मानिएको ज्योतिषशास्त्र प्रत्यक्ष मानिन्छ, किनभने आकाशीय सूर्य, चन्द्रमा यसका साक्षी छन् । हरेक विम्ब वा विषयवस्तुको सप्रमाण व्याख्या गर्नु नै ज्योतिषको प्रमुख उद्देश्य हो । ग्रह, विम्ब, तारा, नक्षत्र आदिको नामकरण तिनको वनावट प्रकृति हेरी गरिएको छ । चित्रा नक्षत्र काल्पनिक नाम होइन । यो चित्रविचित्र वर्णकै छ । यसैगरी मेषादि १२ राशिको नामकरण हचुवाका भरमा काल्पनिकरूपमा गरिएको छैन । राशि कसरी चिन्ने वा राशि भेद कसरी गर्ने ? भन्ने सम्बन्धमा त्रिस्कन्धज्ञ आचार्य वराहमिहिरले बृहज्जातकको राशिप्रभेदाध्यायमा " मत्स्यौ घटी नृमिथुनम् ....." इत्यादि प्रमाणका साथ राशिस्वरूप यसरी बताएका छन् — ' मेष भनेको भेडो हो सोही आकृतिमा, वृष भनेको गोरु हो सोही आकृतिमा, वीणा धारण गरेकी स्त्री र गदा बोकेको पुरुषको युग्म जोडी झैं मिथुन राशि, कर्कट गंगटोको आकृतिमा, सिंह जस्तो सिंह राशि,एक हातमा अन्न र अर्काे हातमा अग्नि लिएर डुँगामा बसेकी कन्या झैं कन्या राशी, तराजु झंै तुला राशि, विच्छी जस्तै वृश्चिक राशि, हातमा धनुष लिएको,घोडाको जाँघ जस्तै जाँघ भएको पुरुष जस्तो धनु राशि, मकर भनेको गोही हो अतः हरिणको मुख झैं मुख भई गोहीको झैं शरीर भएको पुरुष प्रकृतिको मकर राशि, काँधमा घडा बोकेको पुरुष झैं कुम्भ राशि र मुख तथा पुच्छर युक्त दुई वटा माछोको चित्र झैं मीन राशिको स्वरूप आकाशमा देखिनेभएकाले तत्तत् प्रकारका राशिको चित्राकृति हुनुपर्छ ।' राशि स्वरूपका सम्बन्धमा वैद्यनाथले जातकपारिजातमा र कल्याण वर्माले सारावलीमा यही लक्षण बताएकाले र यन्त्रमाध्यमले आकाशीय दृश्य अवलोकन गर्दा समेत यही प्रमाणित भएकाले राशिचित्र माथि भनिए झैं हुनुपर्दछ । जीवनाथ, मन्त्रेश्वर, यवनेश्वर, काशीनाथ, जयदेव, ढुण्डीराज, खानखाना, कालीदास जस्ता ज्योतिषी हरू एवं यवनजातक, मानसागर जस्ता ज्योतिषग्रन्थहरूले राशिशील र आकृतिका सम्बन्धमा वराहमिहिरको झैं मत प्रकट गरेकाले झनै स्पष्ट हुनजान्छ । राशिनामको शाब्दिक अर्थबाटै आकृति बुझिनेभए तापनि राशिबलका आधारमा र राशिवासस्थानका आधारमा राशि विभाजन गरी विश्लेषण गर्दा तिनीहरूको प्रकृति अझै सुस्पष्ट हुनजान्छ । यसबाट चित्राङ्कनमा समेत सरलता हुनजान्छ ।

आचार्य वराहमिहिरले वृहत्संहिताको सांवत्सरसूत्राध्यायमा बत्ती विनाको रात र सूर्य विनाको आकास जस्तो अन्धकारमय हुन्छ ज्योतिषी विनाको राज्यप्रमुख पनि त्यस्तै अन्धकारमा घुमिरहन्छ भनी ज्योतिषको प्रशंसा गरेलगत्तै ' अविदित्वैव यच्छास्त्रं...' भन्दै जान्दै नजानी दैवज्ञ हुनखोज्नु भनेको नक्षत्रसमूहलाई नै कलुषित पार्ने कलङ्कति नक्षत्र समान हुनु हो भनी अप्रावीण्य दैवज्ञको निन्दा पनि गरेका छन् । यसबाट तमाम ज्योतिषीमा आत्मसमीक्षा गर्नुपर्ने शिक्षा पाइन्छ । एकै व्यक्तिको शरीरको शिर, मुख, हात, हृदय, पेट, कटी, वस्तिस्थान, गुहृयस्थान, तिघ्रा, घुँडा, जाँघ र खुट्टालाई क्रमशः मेषादि १२ राशिको विभाग गरी जन्मकुण्डलीमा शुभाशुभ ग्रहहरूको स्थान अवलोकन गरी फलादेश गर्दा एउटा व्यक्तिमा सम्पूर्ण लक्षण घटेझैं दैनिक, साप्ताहिक, पाक्षिक, मासिक वा वाषिर्क राशिफल लेख्दा पनि चन्द्रसँग सम्बन्धित भएकाले मुख्य आधार चन्द्रमालाई मानी त्यसको स्थान, उच्चनीचता, क्षीणावस्था, पूर्णावस्था, अन्यग्रहको दृष्टि, मित्रादि अवस्था, भावस्थान आदि विचार गरी राशिफल लेख्दा सबैतिर मेल खान्छ र उपयुक्त पनि हुन्छ । लामो समयको राशिफल लेख्दा चन्द्रमाको राशिसङ्क्रमण धेरै पटक हुनेहुँदा सूर्यलाई आधार मानी लेख्नु भन्ने कुरा एकाध पाइए तापनि निरयण सूर्य र अन्य ग्रहसँगको सम्बन्धलाई नकार्न भने मिल्दैन । दैनिक राशिफल लेख्ने आधार भने चन्द्रमा नै हो अरू होइन । केवल अन्यग्रहसँगको सम्बन्धमात्रै हो । यी र यस्ता अनेकन् प्रमाण हुँदाहुँदै अर्कोभन्दा आफू पृथक् हुने सोचमा वा विशिष्टस्थान जमाउने धुनमा शास्त्रीयसिद्धान्त नाघेर स्वेच्छिक राशिचित्र र काल्पनिक राशिफलको प्रकाशन वा वकालत गर्नु वा गर्न लगाउनु वराहमिहिरका मान्यतामा ज्योतिषकुलकै कलङ्क बन्नु भएकाले सर्वाधिक पाठकको खुराक बनेको राशिफलका लेखक तथा प्रकाशन वा प्रसारण संस्थाले यस सम्बन्धमा जनमानसमा जागृत वैचारिक द्वन्द्व शमन गर्न गम्भीर चिन्तन र अध्ययन गर्नुपर्ने देखिन्छ । 

लेखक ज्योतिषाचार्य (सिद्धान्त तथा फलित) हुनुहुन्छ ।)

No comments:

Post a Comment