Saturday, November 4, 2017

साप्ताहिक राशिफल (कार्तिक १९ - २५ )

आगामी ७ दिनभित्रका चाडपर्व र उत्सव तथा शुभ मूहुर्त :– 

भोलिको चाडपर्व र उत्सव : त्रिजटालाई अर्घ्य दिने दिन, महालक्ष्मी यात्रा (थानकोट), त्रिपुष्कर योग बिहान ०९।३१ देखि मध्यरात्रीपछि ०१।५८ बजेसम्म
२० गते : मूहुर्त : अन्नप्राशन(पास्नी), 
२१ गते : मङ्गल चतुर्थी व्रत, 
२२ गते : पूर्व रानी ऐश्वर्यको जन्मदिन, 
२३ गते : मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), द्रव्यप्रयोग वा लगानी, 
२४ गते : लौहपुरुष वीर गणेशमानको जन्मदिन, मूहुर्त : अन्नप्राशन(पास्नी), शिलान्यास (सामान्य), डेरा सर्ने, दैलो राख्ने, 
२५ गते : महागुरु फाल्गुनन्द जयन्ती (किरात), अष्टमी व्रत, गोरखकाली पूजा, साँझमा भैरवोत्पत्ति, मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि)

साप्ताहिक राशिफल

(वि.सं. २०७४ कार्तिक १९ गतेदेखि वि.सं. २०७४ कार्तिक २५ गतेसम्म)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – 

साताको प्रारम्भमा नै सम्पति प्राप्त गर्ने सम्भावना छ । पारिवारिक जीवन संतोषप्रद हुनेछ । साझेदार वा सहयोगीको सङ्गतले लाभ प्राप्त हुने सम्भावना छ । व्यस्त समयचर्या कायम हुनेछ । परदेश वा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । धार्मिक, सामाजिक काम वा परोपकारका क्षेत्रमा समय र धन खर्च गर्ने समय आएको छ । उपहार पुरस्कार आदि मिल्नेछ । नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने त्यसका लागि अनुकूल समय आएको छ । तर साताको अन्त्यमा राम्रो समय छैन । आफूमुनिका परिवारजनसँगको आत्मीयतामा कमी आउनसक्छ । कुनै महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्दै हुनुहुन्छ भने गोप्य राखेमा सफलता पाउनुहुनेछ । मित्रको व्यवहार पनि शत्रुतापूर्ण हुनेछ । परिवारभित्रकै सदस्य वा आफन्तको स्वास्थ्यमा समस्या देखिनाले समय र धन खर्च हुनेछ । आफूस्वयंलाई अस्वस्थताको अनुभव हुनेछ, शरीरमा चोटपटकको भय छ । पाचनप्रणालीमा हुने गडबडीले पिरोल्न सक्छ । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 

समग्रमा राम्रो समय छ, तर क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ । नियमित तथा दैनिक कामधन्धा र व्यवसायबाट राम्रो फाइदा हुनेछ । गुमेको वा सापटीमा गएको धन फिर्ता आउनेछ । बौद्धिक र प्राज्ञिक क्षेत्रमा राम्रो छ । व्यवसायिक क्षेत्रमा बोलीको कदर हुने समय छ । वाणि र व्यवहारप्रति विपरीत लिङ्गीको आकर्षण बढ्नेछ । जोस र जाँगर बढ्नेछ । धातुको कारोवारबाट धेरथोर लाभ मिल्नेछ । भौतिक सम्पत्तिको जोहो हुनेछ । दाजुभाइ र बन्धुबान्धवको सल्लाहले रोकिएको काम बन्न सक्छ । धार्मिक र सामाजिक काममा समय बित्नेछ । आध्यात्मिक भावनाको विकास हुनेछ । दिनदुःखीलाई दिएको सानो सहयोगले भाग्यबलमा अभिबृद्धि हुनेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहने छ । समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ । आम्दानीमा कमी आउने छैन । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 

साताको प्रारम्भ त्यति अनुकूल छैन, सुरुमो खर्चको मात्रा ह्वात्तै बढ्नसक्छ । प्रशासनिक झैझमेला वा आरोप व्यहोर्नु पर्ने हुनसक्छ । प्रेम सम्बन्धमा तिक्तता आउने योग छ । तपार्इंले भने जस्तो काम सम्पन्न हुन कठिन छ । लामो दूरीको यात्रा हानीकारक बन्नसक्छ । तर मङ्गलबारपछि महत्वाकाङ्क्षा र इच्छाहरू पूर्ण हुनेछन् । घरायसी वातावरण आफ्नै पक्षमा रहनेछ । समग्रतामा राम्रो परिणाम प्राप्त हुनेछ । मन प्रसन्न रहनेछ । आर्थिक लाभ प्राप्त हुनेछ । परिवारमा मेलमिलापको बातावरण कायम हुनेछ । मित्र र सहयोगीले सकेसम्म सहयोग गर्नेछन् । यस समयको जति सदुपयोग गर्नुहुनेछ त्यत्ति नै लाभकारी हुने सङ्केत छ । मानप्रतिष्ठा र ख्याति बढ्ने समय आएको छ । सामाजिक काममा संलग्न हुनुपर्ला । घुमघाम र भेटघाटको समय छ, मेवामिष्ठान्न र परिकार मिल्नेछ । छरछिमेकी वा नातागोताको कामधन्दा गर्दा सन्तुष्टि प्राप्त हुनेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 

मिश्रित प्रभाव भएको साता हुनेछ, सुरुमा साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ । यतिबेलाको समय विगतका कमीकमजोरी सम्झने समय होइन । राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । तर साताको मध्यभागमा शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । कुनै ठूलो सहयोग सद्भाव मिल्न कठिन छ । मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ, खर्चको मात्रा बढ्न सक्छ । तर साताको अन्त्यमा अनुकूल समय रहने छ, निर्णय सार्थक हुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । मनमा केही कमी भएझैं लागे पनि समग्रमा लाभकारी नै हुनेछ । लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा धननिवेश गर्ने अनुकूलता हुनेछ । मन दोधार नबनाउनु होला, नत्र राम्रा अवसरलाई पूर्ण उपयोग गर्न सक्नुहुन्न । स्वास्थ्य अनुकूल हुनेछ । मित्र, परिवार र सहयोगीले सरसहयोग गर्नेछन् । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 

जिम्मेवारी निर्वाह गर्नुका साथै दौडधूप गर्नु पर्ने सप्ताह छ । यद्यपि स्वास्थ्यमा अचानक सानो समस्या देखिन सक्छ, तर डराइहाल्नु पर्दैन । यात्रामा रमाइलो हुनेछ । आफन्तहरूबाट भनेजस्तो सहयोग नपाइएला, तर काममा बाधा हुनेछैन । बन्धुबान्धव र दाजुभाइले तपाईंका कामधन्धामा सहयोग पुर्याउने छन् । अपूरा कार्य पूर्ण हुनेछन् । धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्नेछ र त्यस पाटोका काममा प्रशंसित हुने अवसर प्राप्त हुनेछ । तर साताको अन्त्यमा ठूला आशा र महत्वाकांक्षा त्यागी अघि बढ्नु श्रेयस्कर हुनेछ । आँफूले गरेका प्रयास र उद्यममा निराशा भोग्नुपर्छ । परिवारको कुनै सदस्यको स्वास्थ्यसम्बद्ध चिन्ता हुनसक्छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ । नचाहेको जिम्मेबारी वहन गर्नुपर्ने छ । परिवारका कुनै सदस्यको अस्वस्थताका कारण चिन्तित हुने सम्भावना छ । रकमको कारोबार र लेनदेनमा विवाद आउन सक्छ । जुवाजन्य कामबाट जोगिनुहवस् । खर्चको मात्रा बढ्न सक्छ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 

भाग्यमा रहेको चन्द्रमाका साथमा साताको प्रारम्भ भएको छ । जीवनसाथी वा बालबच्चासँग कुराकानी गरी व्यवहारिक जानकारी लिनु असल हुनेछ । आफूमुनिका नातेदार वा बालबच्चासित राम्रो व्यवहार गर्नुहोला । इष्टमित्रको शुभकामना प्राप्त गर्न सकेमा शुभफल प्राप्त हुनेछ । व्यवसायिक र सामाजिक सम्बन्ध सुदृढ हुनेछ, चिन्तनमूलक काम र अध्ययन, अध्यापन एवं लेखनका क्षेत्रमा बाधा छ । प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि समय निकाल्न नसक्नाले थोरै तनावको सामना गर्नुपर्ने छ । राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । व्यापारबाट सोचेजस्तै मुनाफा प्राप्त हुने योग छ । पशुव्यवसाय र कृषिपेसाबाट सन्तोष मिल्नेछ । नोकरी र सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । गरेका कामबाट सन्तुष्ट भइन्छ । साताको अन्त्यमा शुभ समाचार प्राप्त हुनाले मन फुरुङ्ग हुनेछ । सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ । पठनपाठनमा प्रगति हुनेछ । खानपिनका परिकार प्राप्त हुने र विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागी हुनु पर्नेछ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 

साताको प्रारम्भ गतिलो छैन, तर समग्रमा शुभफल नै प्राप्त हुनेछ । सुरुमा स्वास्थ्यमा अचानक गडबडी आउन सक्छ । तपार्इंको व्यक्तिगत दृष्टिकोण उल्टो हुने देखिन्छ, कुनै पनि नयाँ काम थाल्नु  हुँदैन । मङ्गलबारपछि लामो दूरीको यात्रामा निस्कन वा यातायातको साधन किन्न अनुकूल छ । धार्मिक तथा सामाजिक कार्यमा महत्वपूर्ण भुमिका रहनेछ । टाढा रहेका आफन्तजनको उन्नति र प्रगतिको समाचार सुन्न पाउनु हुनेछ । घरपरिवारबाट भरमग्दुर सहयोग प्राप्त हुने छ । सानो प्रयासले रोजगारीको राम्रो अवसर हात पर्न सक्छ । सरकारी जागिरेका लागि प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । कुनै अप्रत्याशित काममा सहयोग गर्नु पर्ला । साताको अन्त्य धैर्यधारण गरी परिश्रम गर्ने समय हो । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । अभिभावकवर्ग, गुरुजन र ठूलाबडाको आशीर्वाद प्राप्त भएमा कार्य सम्पन्न हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 

राम्रो नराम्रो दुबै खालका परिणाम प्राप्त हुने समय छ । प्रारम्भमा दूरदर्शिताको सर्वत्र चर्चा हुनेछ । विपरीतलिङ्गी सहयात्रीबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ । सन्तानपक्षको राम्रो माया मिल्नेछ । मङ्गलबारपछि दुई दिन गर्नु नपर्ने कामबाट जोगिने बेला हो, छोटो दूरीको निरर्थक यात्रा हुने योग छ । गुप्त र मानसिक रोगले सताउन सक्छ । गर्न बाँकी काम पनि केही समयका लागि थाती राख्नु नै बेस हुनेछ । हरबखत सजग एवं सचेत भई कार्य गर्नु उचित हुनेछ । बिहीबारपछि भाग्यबल बढ्ने छ र रोकिएका काम बन्न थाल्नेछन् । धार्मिक वा आध्यात्मिक प्रवचन वा गाथा सुन्दा सन्तुष्टिको अनुभूति गर्नुहुनेछ । घरायसी सम्बन्ध राम्रै रहने छ । कामको दायित्व थपिने छ । सार्वजनिक हीत र परोपकारका क्षेत्रमा सक्रियता बढ्नाले प्रशंसा प्राप्त हुने योग छ । परिवारभित्रै वा छरछिमेकमा धार्मिक कार्य सम्पन्न हुनेछ, जसमा तपाईंको सक्रिय भूमिकाको खोजीहुनेछ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 

मिश्रित प्रभाव भएको साता छ, सुरुमा भोगविलासमा आकर्षण बढ्न सक्छ, विलासिता र मनोरञ्जनका लागि समय र धन खर्च हुनसक्छ । आमा वा मामाको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने दिन छ । तर्क, विवाद र झैझगडाबाट टाढा रहनु राम्रो हुन्छ । तर मङ्गलबारपछि सोचेजस्तै सफलता प्राप्त हुनेछ । पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने छ । दाम्पत्य जीवन सुखमय रहनेछ । साझेदारी वा पार्टनरसीपमा कुनै काम गर्ने योजना बनाउनु भएको छ भने त्यसका लागि अनुकूल छ । साताको अन्त्य अनुकूल छैन, विगतमा आफूले गरेका कमीकमजोरीको नकारात्मक नतिजा देखा पर्नसक्छ । घरेलु समस्यामै अल्मलिएर समय व्यतीत हुनेछ । लामो दूरीको यात्रामा ननिस्कनु राम्रो हुन्छ । परिवारका सदस्य अस्वस्थ हुनसक्छन् । अनावश्यक र झर्को लाग्दो यात्रा हुने सम्भावना छ । अरुले तपाईंका आन्तरिक क्रियाकलापको चियोचर्चो गर्नेछन् । काममा ढिलासुस्ती हुने योग छ, त्यसैले सानो कमजोरी वा भूलका कारण अपमानित बन्न सक्नुहुन्छ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 

अध्ययन, अध्यापन र लेखनकार्यमा उच्च सफलता प्राप्त हुने सप्ताह छ । व्यावहारिक र प्राविधिक काममा विशेष सफलता प्राप्त हुने छ । बौद्धिक क्रियाकलापप्रति झुकाव बढ्ने छ । भाइबहिनी र छोराछोरीले सहयोग गर्नेछन् । तर साताको मध्यभागमा काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न समस्या आइलाग्न सक्छन् । झिनामसिना कामका लागि पनि निक्कै खट्नु पर्छ । भरिसक्य मुद्दामामिला र झैझगडाबाट टाढा रहनु पर्छ । निर्णय क्षमताले काम नगर्न सक्छ । तर साताको अन्त्यमा प्रेममा सफलता प्राप्त हुने योग छ, दाम्पत्य जीवन रसिलो बन्नेछ वा अविवाहित हुनुहुन्छ भने कसैले नयाँ सम्बन्धको प्रस्ताव राख्न सक्छ । छलफल, वादविवाद र झैझगडामा आफ्नो जित हुनेछ । उपहार, चिट्ठा, पुरस्कार आदिबाट आकस्मिक धनप्राप्तिको सम्भावना छ । सामान्य विवादले ठूलो रूप लेला तर पनि तपाईंकै विजय हुनेछ । सरकारी जागिरेका लागि उपयुक्त समय आएको छ, कतै छोटो दुरीको विशिष्ट र लाभदायी यात्रा पनि हुन सक्छ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 

साताको प्रारम्भमा घरायसी कामधन्दा र पारिवारिक आवश्यकता पूर्तिका लागि खट्नु पर्ने छ । छरछिमेकमा कसैसँग व्यर्थमा वादविवाद हुनसक्छ । प्रेमसम्बन्ध र रतिरागका कारण निराशा भोग्नु पर्ने छ । सन्तानपक्षको मायामा कमी आउने छ । तर मङ्गलबारपछि भौतिक सुविधाको दीर्घकालिक जोहो गर्ने अवसर र मौका देखापर्ने छ । विद्यार्थीहरुले आफ्नो क्षमता प्रदर्शन गरी स्याबासी पाउने समय हो । अन्य सबैका लागि चिन्तन र बौद्धिकताको क्षेत्रमा राम्रो छ । साताको अन्त्य राम्रो छैन, साथीभाइ टाढिने र व्यवहार पनि शत्रुतापूर्ण हुने सम्भावना छ । पुख्र्यौली सम्पत्तिको विवादले अझ धेरै तनावको सिर्जना हुनसक्छ । प्रतियोगिताबाट निराशा हात लाग्नेछ । तार्किक र बौद्धिक क्षेत्रबाट सफलता लिन सकिंदैन । समय चुनौती र परीक्षणका रूपमा देखा परेको छ । वादविवाद, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्ला । बन्दव्यापार र उद्योगधन्दामा बेफाइदा हुनेछ । आर्थिक समस्याले सङ्कट उत्पन्न हुनसक्छ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – 

सुरुवातमा सामाजिक काममा संलग्न हुनुपर्ला । धार्मिक वा सामाजिक सेवाका काममा प्रशंसित हुने अवसर प्राप्त हुनेछ । दाजुभाइ वा नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । समय मध्यम खालको छ । मङ्गलबारपछि विदेश वा प्रवासमा बसेर कामधन्दा र व्यवसाय गर्नेहरूले राम्रो लाभ प्राप्त गर्नसक्छन् । तर घरमा बस्नेले अनावश्यक दौडधुप गर्नु पर्नेछ । काममा किसिमकिसिमका चुनौती देखा पर्नेछन् । नयाँ काममा हात हाल्नु श्रेयस्कर हुँदैन । साताको अन्त्यमा बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समययापन हुनेछ । धनलाभ हुने सङ्केत छ । शत्रुहरू पराजित हुनेछन् । सृजनात्मक सफलता मिल्नेछ । समाजसेवा गर्दा प्रशंसा प्राप्त हुनेछ । नयाँ योजना कार्यान्वयन हुनेछन् । साताको अन्त्यमा मानसम्मानमा बृद्धि हुनेछ । महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । सहयोगीहरूले काममा साथ दिनेछन् ।

No comments:

Post a Comment