Showing posts with label बौद्ध धर्म र दर्शन. Show all posts
Showing posts with label बौद्ध धर्म र दर्शन. Show all posts

Sunday, July 30, 2017

यँल पञ्चदान

सर्वबुद्धं नमस्यामि, धर्मञ्च जिन भाषितं
संघञ्च शील सम्पन्न, रत्नत्रयं नमस्तुते। 
(सकल बुद्धलाई नमस्कार, बुद्धद्वारा अभिव्यक्त भएका धर्म ज्ञानलाई नमस्कार, शीलले सम्पन्न हुनु भएका बुद्धको पुद्गल संघलाई पनि नमस्कार। यी तीनवटा रत्नहरुलाई म सधैं शिरोपर गर्दछु।)

पञ्चदान शुरुवात कहिले भएको हो ?
पञ्चदान प्रारम्भ भएको प्रसङ्ग कोट्याउँदै जाँदा एउटा आख्यान भेटिन्छ। दीपावती नगरका सर्वानन्द राजा र धर्मावती रानीले शुद्ध चित्तले युक्त भई आफ्ना राजदरबारभित्र नै दानशाला बनाई श्री दीपङ्कर बुद्ध र प्रमुख ८० हजार भिक्षुसङ्घलाई प्रतिदिन पञ्चदान दिई दान प्रदान गरेका थिए। उनीहरूले कुनै एउटा वर्षको श्रावण शुक्ल अष्टमीबाट सुरु गरी अर्को वर्षको आषाढ पूर्णिमासम्म पञ्चदान दिएर दान कार्य सुसम्पन्न गरेका थिए। राजा सर्वानन्दको त्याग चित्तको प्रशंसा गर्दै दीपङ्कर बुद्धले दानगाथा आज्ञा गर्नुका साथै र आशीर्वाद प्रदान गरेका थिए। यसरी सर्वप्रथम पञ्चदानको सुरुवात भएको थियो। श्री दीपङ्कर बुद्धको पालादेखि नै पञ्चदानको निरन्तरता चल्दै आएको कुरा बताइन्छ। यो पञ्चदान कार्यक्रम काठमाडौं, भक्तपुर र ललितपुरमा मात्र सीमित छैन, यो ठिमी, कीर्तिपुर आदि स्थानहरुका साथै राष्ट्रभरि छरिएका बौद्धहरुले दानशाला बनाई सञ्चालन गर्दै आइरहेको देखिन्छ। तर ललितपुरको पञ्चदानलाई विशिष्ट मानिन्छ। ललितपुरको यल पञ्चदानमा छुट्टै विशेष प्रकारको बौद्ध गाथा र बौद्ध श्लोक वर्णन भएको त देखिंदैन, तर त्यहाँको सामाजिकता फरक छ। पञ्चदान कार्य सफल तुल्याउन तलका विशेष तत्त्वहरु समावेश हुनु अत्यावश्यक मानिन्छ -
१) श्रद्धा २) आर्थिक क्षमता ३) त्याग भावना ४) अन्य व्यक्तिहरुको सहभागिता ५) सहनशीलता ६) उचित व्यवस्था ७) उचित प्रबन्ध ८) औपचारिकता। यसबाहेक विघ्नबाधाहरू र अड्चनअप्ठ्याराको सामना गर्न चनाखो पनि हुनुपर्छ। विशेषतः पाँच किसिमका दानलाई पञ्चदान भन्ने गरिन्छ। १) पूजा २) भोजन ३) पान ४) औषधी ५) दिनहुँ प्रयोग हुने आवश्यक सरसामानहरू

पूजाअन्तर्गत पुष्प, धूप, दीप, गन्ध, रस, भोजनअन्तर्गत धान, गहुँ, भोजन, क्वाँटी, केराउ, मासु, पिंडालु, कर्कलो, मुला, भुटेको गहुँको पीठो, रोटी र विभिन्न किसिमका खाद्यसामाग्री, पानअन्तर्गत सक्खरको सर्बत, फलफूल, पञ्चामृत आदि, औषधीअन्तर्गत हर्रो, अमला, नून, तेल आदि र दिनहुँ प्रयोग गरिने सरसामानमा सियो, धागो, डोरी, कुचो, सेतो कपडा, काषय वस्त्र, आसन, खरी, दतिवन आदि पर्दछन्।

पञ्चदान ग्रहण गर्न योग्य व्यक्तिहरू
सामान्यतया बज्राचार्य, शाक्यभिक्षुहरूको सर्वसङ्घलाई पञ्चदान दिने प्रचलन छ। प्रव्रज्यासम्बर अभिषेक प्राप्त नगरेका व्यक्तिहरूले पञ्चदान ग्रहण गर्न पाउँदैनन्। विशेष गरी बज्राचार्य, शाक्यभिक्षु, श्रामणेर आदि वर्गका ससाना उमेरका बालकहरुले पनि प्रव्रज्या ग्रहण गर्छन्। यसरी प्रव्रज्या ग्रहण गर्ने कार्यलाई 'बरे छुइगु' भन्ने गरिन्छ। यिनीहरूले चार दिनसम्म प्रव्रज्या भावमा बसी पिण्डाचरण गर्नुपर्छ र दशशील पालन गर्नुपर्छ। चारदिन पछि गृहस्थाश्रममा फर्कनु अघि पुनः त्रिरत्न (बुद्ध, धर्म र सङ्घलाई) श्रद्धाभावले वन्दना र पूजा गरी आफ्ना आचार्यसँग गृहस्थारम्भ सुरु गर्न याचना गर्नुपर्छ। पञ्चशील पालन गरी गृहस्थ जीवन यापनको लागि बारबार याचना गरिसकेपछि मात्र गृहस्थारम्भ गराइन्छ। त्यसपछि गृहजीवन बिताएर पनि बुद्धको धर्मोपदेश आदि प्रचारप्रसार गर्ने र आचार्याभिषेकको याचना गर्न पाइन्छ। आचार्याभिषेक प्रदान गर्ने प्रचलन अद्यापि आआफ्नो विहारमा सम्पन्न हुन्छ। यसरी आचार्याभिषेक प्राप्त गर्ने व्यक्तिले मात्र बौद्ध कर्मकाण्ड पूजाआजा, बौद्ध संस्कृति संस्कारको आरक्षण र संरक्षण गराउने दायित्व प्राप्त हुन्छ। वज्राचार्य गुरुजुहरू पनि पञ्चशील पालन गरी आफ्ना उपासक र उपासिकाहरूको गृहस्थ जीवनमा आइपरेका कठिनाइ, दुःख, दौर्मनस्य, पीर, मर्का आदिबाट मुक्त गराउन हरसम्भव प्रयत्नरत हुन्छन्। आफ्ना जजमानहरुलाई आइपर्ने विभिन्न भय, उपद्रव, आपद विपदहरु हटेर जावस् भनी मैत्री चित्त राख्ने गर्दछन्। यस्तो मैत्री भावनाको उद्गार व्यक्त गरिरहने वज्राचार्यहरु आआफ्ना कुलानुसारको दीक्षा पञ्चाभिषेक प्राप्त गरी सकेपछि, उनीहरु पूर्वसेवा पूजामा लाग्छन्। यस पूजा र ध्यान एवं योग भावनाबाट सिद्धि प्राप्त गरी सर्व प्रकारेण जगतो हिताय कार्यमा लाग्छन्। यस्ता व्यक्तित्वलाई पूजा आजामा आचार्य गुरुको रुपमा बुद्धको रुपमा मान्यता दिई आएको पञ्चदानमा पनि सर्वप्रथम पञ्चबुद्धको रुपमा पञ्चदान दिने कार्य गरिन्छ।

पञ्चदानको शुभारम्भ कसरी गरिन्छ ?
पञ्चदानको प्रारम्भमा सर्वप्रथम गुरुमण्डल पूजा गरिन्छ। त्यसपछि शुभ मुर्हूतको साइतमा स्वयम्भू भगवानको प्रतिमा अगाडि उभिएर दानपत्र पढ्ने गरिन्छ। अनि प्रमुख व्यवस्थापक (काजी)ले दानशालाको दैलो उघारिदिन्छन्। दैलो उघार्नासाथ उनले सबभन्दा पहिले जसलाई छुन पुग्छन्, त्यस व्यक्तिको खुट्टाको बुढी औंला समाती राख्नु पर्छ, छोड्नु हुन्न। त्यसपछि त्यस व्यक्तिलाई सम्मान गरी ढोकाभित्र भित्र्याइन्छ। उसलाई पुष्पादिले पूजा गरी मूलाचार्यको आसनमा राखिन्छ। त्यसपछि एकजना उपाध्याय, एकजना कर्माचार्य र दुईजना थ्याः गुरुजु समेत गरी जम्मा पाँचजनालाई पञ्चबुद्धको पञ्चरङ्गी वस्त्र पहिराइन्छ। पादार्घ्य र रत्नमुकुट वा उद्यां टोपी लगाउने काम हुन्छ। पञ्चोपचार पूजा अनुसार ती पाँच व्यक्तित्वहरुलाई नै पूजा गरिन्छ। मूलाचार्य गुरुलाई घर, खेत, चन्द्र सूर्य, आत्मा, जिम्बु, पेटी, चुल्या, कंगन, बेतालि आदि सबै आवश्यक वस्तुहरु दान प्रदान गरिन्छन्। यति दान कार्यको आरम्भपछि अगाडि बसिरहेका बज्राचार्य शाक्यभिक्षुहरुलाई दानशालाबाट दान दिने कार्यको निरन्तरता चलिरहन्छ। मूलाचार्य गूरुलाई बाजागाजा बजाई छत्र, ध्वजापताका आदिबाट सम्मान गरी पदयात्रा गर्दै उहाँको गृहस्थाश्रमसम्म पुगेर आशीर्वाद लिई फर्कने चलन छ। यसरी पञ्चदानको कार्य बेलुकीको दोस्रो प्रहरसम्म चलिरहन्छ। यस दान कार्यमा अन्य श्रद्धालु भक्तजनहरु आएर पनि दानशालाको छेउछाउमा बसी स्वेच्छापूर्वक दान दिने गर्दछन्। यसमा कसैलाई कुनै प्रकारको रोकटोक हुँदैन। दोस्रो प्रहरको अन्त्यमा फुबरे (अन्तिम भिक्षु) सुकुन्दा बत्ति बालेर दानशालामा भिक्षाचरण गर्न आउँछन्। उनलाई दान दिएपछि दानशालाको ढोका बन्द गरिन्छ। भित्र पञ्चोपचार पूजा गरी सम्बन्धित सबैले क्षीर प्रसाद ग्रहण गरेपछि पञ्चदान कार्य सम्पन्न भएको मानिन्छ।

पञ्चदानबाट पुण्य प्राप्त हुन्छ। भगवान् शाक्यमुनि बुद्धले भन्नु भएको छ -
नप्रणश्यन्ति कर्माणि, कल्पकोटि शतैरपि। सामाग्री प्राप्य कालञ्च, फलन्ति खलुदिहिनाम्॥
(आफूले गरेको कर्म सयौं कल्पकोटि नै बितेर गएपनि नाश हुँदैन। समयकाल आएपछि कर्मको फल अवश्य भोग्नै पर्ने हुन्छ। अर्थात् राम्रो काम गरे राम्रै फल प्राप्त हुन्छ नराम्रो काम गरे नराम्रै फल प्राप्त हुन्छ।)

दानं ददन्तु सद्धाय, सीलं रक्खन्तु सब्बदा। भावना भिरता होन्तु, गच्छतु देवता गता॥
(श्रद्धापूर्वक दान दिइनु पर्छ, शीलको आरक्षा गरिनु पर्छ। असल कार्यमा भावनामा प्रसन्न भइरहनु पर्छ। धर्म श्रवणार्थ आउनु भएका देवताहरु अब फर्कनु भएपनि हुन्छ।)

दानञ्च धम्मचरिय च ञातकानञ्च सङ्गहो। अनवज्जनि कम्मानि एतं मंगलमुत्तमम्॥
(दान दिनु धर्माचरण गर्नु, नाता कुटुम्बहरुको सम्मान गर्नु, निर्दोष काम गर्न पनि उत्तम मंगल हो।)

दानं विभूषणं लोके, दानं दुर्गति निवारणम्। दानं स्वर्गस्य सोपानं दानं शान्तिकरं शुभम्॥
(दानद्वारा लोकमा आभूषणयुक्त व्यक्तित्व पाउँछ, दानद्वारा नै दुर्गति निवारण हुन्छ, दानद्वारा नै स्वर्गमा पाइने जस्तो सुखभोग पाइन्छ। दानद्वारा नै यो लोकमा शान्ति ल्याउन सकिन्छ।)

उपर्युक्त बुद्धवचनलाई शिरोपर गरी सबैले पालना गर्न सकून् र यसको प्रभावले सबैलाई मङ्गल भइरहोस्।

स्रोत : सम्यक् महादान, सुगतरत्न सिन्दुराकार(सङ्कलक), काठमाडौं : तेजरत्न सिन्दुराकार , नेसं ११२३/ ई॰ २००३, पृ॰ ९४-९६। पूर्वप्रकाशन धर्मकीर्ति (लय्पौ), १८:११

मानव कल्याणको पर्व 'गुँ–ला धर्म'

प्रत्येक वर्षको श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म बौद्ध धर्मालम्वीहरूले मनाउने पर्व हो 'गुँ–ला धर्म' । यो पर्व एक महिना लामो हुन्छ । नेवारी भाषामा 'गुँ' को अर्थ 'नौ(९)' र 'ला' को अर्थ 'महिना' भन्ने बुझिन्छ । चान्द्रवर्षको गणनाबमोजिम प्रत्येक महिनाको शुक्लपक्षबाट महिनाको सुरुवात हुने नेवारी परम्परा छ र कार्तिक शुक्लपक्षको प्रतिपदा म्हपूजाका दिन नयाँवर्षको पहिलो महिना प्रारम्भ हुन्छ । यस आधारमा नवौं महिना सामान्यतया श्रावण र भाद्रमा पर्दछ । उक्त अवसरमा काठमाडौंस्थित स्वयम्भूमा एक महिनासम्म मेला लाग्ने गर्दछ । यो पर्वका क्रममा हरेक दिन बिहानैदेखि बौद्ध गुम्बा र मन्दिरहरूमा श्रद्धालु भक्तजनहरूको चहलपहल हुने गर्दछ । खासगरी काठमाण्डौ उपत्यकामा विभिन्न परम्परागत बाजागाजाका साथमा स्वयम्भूको परिक्रमा गरेर शान्तिका अग्रदूत गौतमबुद्धको पूजा आराधना हुने गर्दछ र भक्तजनहरूले शान्तिको कामना गर्ने गर्दछन् । सो अवधिमा बुद्ध धर्मका अनुयायीहरू मात्र होइन, हिन्दु धर्मावलम्बीहरू पनि बौद्ध पीठमा गएर पूजाअर्चना गर्ने गर्दछन् । हिन्दू पद्धतिमा पनि दक्षिण भारतमा वैशाखबाट गन्दा नवौं महिनामा आउने महिनालार्इ धनुर्मास भनी व्रत, यज्ञ र उत्सवका रूपमा मनाउने प्रचलन छ । तर यो परम्परा उत्तर भारत र नेपालमा बसोबास गर्ने श्रीवैष्णव सम्प्रदायमा दीक्षित अनुयायीहरूले अनुसरण गरेको देखिन्छ । यहाँ धनुर्मास भनेर पौष महिनालार्इ लिइएको हो । मुस्लिम धर्ममा पनि उनहरूको गणनामा आउने नवौं महिनामा पवित्र मानिने रमजान पर्व पर्दछ र उक्त अवधिमा मुस्लिमहरू रोजा व्रत गर्ने गर्दछन् । यसरी धनुर्मास, रमजान र गुँ–ला प्रतीकात्मक सन्दर्भमा समान पर्व हुन् भन्दा अत्युक्ति हुँदैन ।

साउन र भदौ महिना बरसातको ऋतु भएकाले अत्यधिक पानी पर्ने र बढी गर्मी हुने महिना हुन् । किंवदन्तीनुसार परापूर्व कालमा यी महिनामा रोगव्याधिको प्रकोप बढ्न गई प्राणीहरू मर्ने गरेकाले उक्त एक महिनासम्म प्राणीको कल्याण गर्ने जिम्मा भगवान् बुद्धले लिनुभएको थियो । यसरी भगवान् बुद्धले जिम्मा लिएपछि प्राणीहरूको स्वास्थ्यमा सुधार भयो र मृत्युदर घट्न थाल्यो । भगवान् गौतम बुद्धको आश्रय प्राप्त गरेपछि सर्वसाधारणमा हर्ष र उमङ्गको वातावरण सिर्जना भयो । यसै खुसियालीमा भगवान् बुद्धप्रति कृतज्ञता ज्ञापन गर्न र सर्वसाधारणमा सधैं सुखसम्मृद्धि र माङ्गल्यको कामना गर्दै प्रत्येक वर्ष एक महिनासम्म गुँ–ला पर्व मनाउन थालिएको हो । यस क्रममा वर्षभरि मरेका प्राणिहरूको आत्मशान्ति र उद्धारका लागि संहभेदी राँगाको संह फुक्दै पूजा गर्ने र स्वयम्भूको परिक्रमा गर्ने चलन रहेको छ । त्यस्तै बुद्धको स्तुपा र मन्दिरमा दियो बालेर सुख र शान्तिको कामना गर्नुका साथै टोलटोलबाट न्यौलीबाजा, पञ्चेबाजा, कोंचाखे, नगराजस्ता बाजाहरू बजाउँदै स्वयम्भूमा केटाकेटी युवायुवती एवं बृद्धबृद्धाको घुइँचो लाग्ने गर्दछ । सो अवधिमा भक्तजनहरू माछा, मासु, जाँड, रक्सी आदि तामसी भोजन त्याग गरी एक छाक मात्र खाई व्रत लिने गर्दछन् । महिनाभरि रिस, राग, वैमनस्य त्याग गरी एक अर्कामा प्रेमभावपूर्ण सद्भाव राख्नुपर्छ भन्ने मान्यता छ । प्रतीकात्मक ढंगले विश्लेषण गर्ने हो भने असार र साउनको दिन श्रम र परिश्रम गरी अन्न उब्जाउने समय हो । खेतमा धान रोपिसकेपछि केही समयका लागि खासै कामको चाप हुँदैन । काम नहुने समयमा धेरै जसो मानिसहरू खासगरी नयाँ पुस्ताका युवायुवती कुलतमा फँस्ने सम्भावना हुन्छ । चेतनाको कमीले गर्दा युवाहरू मनोरञ्जनमा समय बिताउन थाल्दछन् । त्यसैले यस अवधिमा जुवा तास खेल्ने र जाँडरक्सी खाने क्रम बढ्न थाल्दछ । यसले समाजमा विकृति ल्याउँछ । त्यसैले यस्तो कुलतमा फँसेर समाजमा विकृति आउनु हुँदैन भन्ने मनसायले यो पर्व मनाउने चलन चलेको हो भनी अड्कल काट्न सकिन्छ । बेकामे काममा अलमलिन नदिन परोपकारी, सामाजिक र धार्मिक कृत्यमा सहभागी तुल्याउन सक्दा सबैको भलो हुने त छँदैछ, उता युवापुस्ता कुलतमा फँसेनन् भने तिनले जीवनोपयोगी काम गर्न सक्छन् भनेर परम्परादेखि गुँ–लाधर्म पर्व मनाउन थालिएको हुनुपर्छ ।


यो पर्वमा कुनै धर्म जातीय विभेद हुँदैन । यो धार्मिक कार्यमा विशेषगरी बौद्ध धर्मावलम्वीहरूको अधिकतम सहभागिता हुन्छ । यो पर्व शाक्य, बज्राचार्य, मानन्धर, महर्जन, तुलाधार आदि बौद्ध धर्मावलम्वीहरूले मनाउने गर्दछन् । विशेष गरी काठमाडौं उपत्यका, काभ्रे र दोलखामा बसोबास गर्नेहरूले मनाउने यो पर्व अहिले नेवारहरूको बसोबास हुने देशविदेशका विभिन्न स्थानमा पनि मनाउन थालिएको देखिन्छ । काठमाडौं उपत्यकाको स्वयम्भूमा यो पर्व सुरु भएको पहिलो दिनदेखि महिनाभरि नै विभिन्न टोल वा समुदायबाट आएका बौद्ध धर्मालम्वीहरूले आफ्नो परम्परा अनुसार धिमे बाजा बजाएर स्वयम्भू चैत्यको परिक्रमा गरी महाचैत्य र बिहारको दर्शन गरी घर फर्कने गर्छन् । महिनाभरि उनीहरूले बौद्ध विहार तथा बहीमा बसेर बुद्ध पूजा, नामसङ्गति, पञ्चरक्षा जस्ता बौद्ध स्तोत्रको पाठ गर्ने चलन पनि छ । पूजापाठ सकेपछि भन्टे(भिक्षु) र आनी(गुरुमा)हरूले बुद्धशिक्षा सम्बन्धी धर्मदेशना गर्नुहुन्छ । यस गुँ–लापर्वमा बौद्ध धर्मावलम्बीहरूले वर्षभरि मृत्यु भएका आफन्तहरूको नाममा स्वयम्भूमा १०८ बत्ती बाल्ने र उनीहरूका नाममा सिङ फुकेर देवीदेवताका मन्दिरको परिक्रमा गर्ने गर्दछन् । यसो गरेमा मृतकहरूले सुखवती भुवनमा बास बस्न पाउँछन् भन्ने जनविश्वास छ । गुँ–ला महिनाभरि बौद्ध धर्मालम्वीहरूले द्यथायेगु भनेर काला माटाका ससाना चैत्यहरू बनाउने र पूजा गर्ने प्रचलन छ । कोही महिनाभरि व्रत बसी स्वयम्भू विहार आदि स्थानहरूमा गई भगवान बुद्धको पूजाआजा र दर्शन गर्दछन् । भाद्र प्रतिपदाको दिन वा गुँ–ला धर्म पर्वको अन्तिम दिन ती चैत्यहरू नदीमा बगाएर समापन गर्ने प्रचलन छ र आआफ्नो चलन अनुसार भोजभतेर गरी रमाइलो गर्ने चलन छ । गुँ–ला महिनाभरि भगवान् बुद्धको नाममा बत्ति बाल्ने पूजाआजा गर्नेहरूको भीडले स्वयम्भूमा यो पर्व हेर्ने दर्शनार्थीको घुइँचो उल्लेखनीय रहने गर्दछ ।

Thursday, May 25, 2017

बुद्धवाणि

भगवान बुद्धले संसारलाई जीवनको चार आर्यसत्य दिनुभएको छ । भगवान बुद्धको यो उपदेश सर्वकालका लागि उपयोगी सिद्ध भएको छ । यो मार्ग शुरु भएको २५ सय वर्षभन्दा बढी भइसक्यो । तर उहाँले बताउनुभएको मार्ग त्यो समय पनि सटीक थियो, आज पनि छ र जबसम्म मानव समुदाय रहन्छ तबसम्म रहनेछ । उहाँले मानवको स्वभाव र चेतनाको कुरा गर्नुभएको छ । श्रद्धामा होइन विज्ञानमा आधारित भएर ।

उहाँले एउटा जीवन-विज्ञान दिनुभयो । दर्शनशास्त्रको मात्र कुरा होइन रोग र मनोचिकित्साको कुरा गर्नुभयो । कसैमा आश्रित हुने कुरा होइन बरू आफैमा जागरण र होशमा महत्व दिनुभयो । इशारा गर्नुभयो र मार्ग आफैंले खोज्नुभयो । उहाँको पूरै जोड यसमा थियो कि मनुष्यको पीडा कसरी हटोस्? । त्यसको रूपान्तरण कसरी निकाल्ने ? र ऊ आफैंले आनन्दरूपी स्वभावलाई चिन्न सकोस् । त्यसैका लागि भगवान बुद्धले चार आर्यसत्यको घोषणा गर्नुभयो ।

१) दुःख छ, मानिस दुःखी छ ।
२) मानिसको दुःख उसको दुःखी हुनाको कारण हो । दुःख अकारण त हुँदैन ।
३) दुःखको निदान छ, दुःखको कारणलाई हटाउन सकिन्छ । दुःख हटाउने साधनहरू छन् । त्यो नै आनन्द पाउने साधन हो ।
४) दुःख निवारणको अवस्था छ । एउटा यस्तो अवस्था छ जब दुःख रहन सक्दैन । दुःखबाट मुक्त हुने पूरै सम्भावना छ ।

जीवनमा दुःख छ
भगवान बुद्धले भन्नुभयो जीवनमा दुःख छ । जीवन नै दुःख हो त्यसकारण कि मानिसहरु दुःखमा परे र उसले दुःख देख्न सकेन । बुद्धले भन्नु भएको छ जन्म दुःख हो । जवानी दुःख हो । मित्रता दुःख हो । प्रेम दुःख हो । रोग दुःख हो । सम्बन्ध दुःख हो । असफलता त दुःख हो तर सफलता पनि दुःख हो । लाग्दछ कि बुद्ध महादुःखवादी हो । यसरी पनि भन्न सकिन्छ जीवन आनन्द हो । आनन्दको उपाय छ । आनन्द प्राप्त गर्न सकिन्छ । आनन्दको एउटा स्थिति छ । यो पूर्णताको स्थिति हो ।

यो दुःख निवारणको स्थिति हो । तर प्रश्न उठ्दछ बुद्धले नकारात्मक मात्रै किन सोच्नुभयो ? कारण सफा छ । दुःखको बारेमा त सबैलाई थाहा छ । आनन्द कसलाई थाहा छ र ! जसलाई साक्षात्कार नै गरेको छैन, जसलाई जानेकै छैन, कुनै परिचय नभएको कुरालाई उठाउन कसरी सम्भव छ र ! शुरूवात त अनुभवको आधार बनाएर गर्न सकिन्छ । जीवन दुःख हो , यो त जीवनको तथ्य हो । यसलाई कसले इन्कार गर्न सक्छ र ! दुःखबाट जो पनि मुक्त हुन चाहन्छ । बुद्धले जीवनलाई निन्दा गर्नुभएको छैन । यत्तिनै भत्रुभएको छ जीवनको ढङ्ग छ, त्यो दुःख हो । जीवनमा सबै दुःखको रोगले ग्रस्त छन् । उहाँले रोगलाई चिनाइदिनुभयो । फेरि उहाँ रोगको कारण बुझाउनुहुन्छ ।

रोगबाट छुटकारा दिलाउनलाई औषधि पनि बताउनुहुन्छ र रोगबाट मुक्त भएकाहरूको स्थितिका बारेमा पनि बताउनुहुन्छ । उहाँले यी सब करूणाका कारण भनिरहनुभएको छ । जीवन दुःखको घर बनिरहेको छ, आफ्नो जीवन पद्धतिका कारण । उहाँले त जीवनको यथार्थ कुरा भनिरहनुभएको छ ता कि त्यस काँडाले विझोस् फेरि त्यसलाई टाढा भगाउने उपाय गरोस् र जसबाट महासुख प्राप्त होस्, आनन्द प्राप्त होस् ।

दुःखको कारण छ
भगवान बुद्ध आनन्दको कुरा गर्नुहुन्न । उहाँ भन्नुहुन्छ कि दुःख उत्पन्न गर्ने कुराहरूलाई छोडिदेऊ । आनन्द त आफसेआफ हुन्छ । किनकी आनन्द त मानिसको स्वभाव हो । आनन्द त छ, तर त्यसलाई लिने थोरै हो । दुःख भएन भने त स्वतः आनन्द हुन्छ । मानिसहरु सोच्दछन् कि जब आनन्द नै छ भने त्यसलाई प्राप्त गर्ने कोशिश गर्नु पर्दछ । तर दुःख नहटाई आनन्द प्राप्त गर्न सकिन्न । आनन्दको खोजमा ऊ दुःख भुल्दछ । दुःखको बाटोमा जान थाल्दछ र आनन्दको कामना गर्न थाल्दछ ।

रोगको कारण भइरह्यो भने त स्वास्थ्यको कामनाको कुनै परिणाम हुन्न । अतः बुद्ध भन्नुहुन्छ कि स्वास्थ्य पाउने हो भने बिरामीको कारण पत्ता लगाऊ र त्यसलाई हटाऊ अनिमात्रै स्वस्थ्य रहन सकिन्छ । बुद्धको उपदेशको सबैभन्दा ठूलो कुरो यो हो कि उहाँले कुनै सिधा कारण बताउनु भएन । इशारा गर्नुभयो र महत्वपूर्ण कुरा भन्नुभयो- “अप्प दीपोभाव ”। आफ्नो दीयो स्वयम् बन । उहाँले भन्नुभयो- “ आकाशे च पदं नत्थि, समणो नत्थि बाहरे ” । आकाशमा पथ हुँदैन र जो बाहिरतिर दौडन्छ उसले ज्ञान प्राप्त गर्न सक्दैन । त्यसैले त बुद्धको मार्गमा ध्यानमा विशेष जोड दिइएको छ र होशतिर सबैभन्दा बढी ध्यान दिइन्छ । ध्यानमा जति निर्विचारको स्थिति आउँछ त्यतिनै आनन्द स्पष्ट हुन थाल्नेछ । विस्तारै-विस्तारै यो स्पष्ट हुनेछ कि सुख, आनन्द, संसारमा खोजेर प्राप्त गर्न सकिन्न । ध्यानबाट घण्टा-आधा घण्टामा प्रकाशको सानो-सानो किरणले जीवनदृष्टिमा आरम्भ गरिदिनेछ । दुःखको कारणमा दृष्टि पर्‍यो त उपचार प्रारम्भ भयो ।

दोषयुक्त मन
भगवान बुद्धले भन्नुभएको छ यदि कोही दोषयुक्त मनबाट बोल्दछ अथवा कर्म गर्दछ भने दुःखले उसको अनुसरण यसरी नै गर्नेछ कि जस्तो गाडालाई तान्ने बैलको खुट्टाको । यदि मनमा कसैलाई दुःख दिने भाव उठ्दछ भने त बीज झरिरहेको छ । बीज ठूलो भएर बृक्ष बन्नेछ र त्यसमा फल लागेपछि त उसले भोग्नु नै पर्नेछ । प्रायः जब दुःख आउँदछ त्यस पछि मानिसहरू सोच्दछन् कि कोही अरू उसको लागि दुःख उत्पन्न गरिरहेका छन् – पत्नी, पति, छोरा, पिता, मित्र, समाज आदि ।

तर बुद्ध भत्रुहुन्छ कि दुःखको कारण व्यक्तिको मनमा हुन्छ । बाहिर खोज्न गयौं भने गल्ती हुन्छ । उहाँ भन्नु हुन्छ यदि कसैले गाली गर्दछ भने त्यसलाई स्वीकार नगर । दोष उसको हो क्रोध गर्‍यो भने हामीले आफैलाई दण्ड दिन्छौं । जब हामी कुनै चिजलाई भिन्न लिन्छौं तब नै त्यो सक्रिय हुन्छ । अरूबाट नलेऊ, भित्र जानै नदेऊ त दुःखको कुनै कारण हुनेछैन । सबै कुरा मनको हो । त्यसको व्याख्या गरिएको छ । सबै त्यसैमा निर्भर हुन्छ ।
त्यसकारण बुद्ध भन्नु हुन्छ जति हामी द्वेषीको या बैर बैरीको गर्दछौं त्यसभन्दा धेरै खराबी गलत मार्गमा लागेको चित्तले गर्दछ । उहाँ भन्नु हुन्छ दुश्मनसँग डराउने जरूरत छैन, चित्तसँग डराउनु आवश्यक छ किनकी गलत दिशामा गएको चित्तले नै हानी गर्दछ । ठीक दीशामा जाने चित्त त मित्र हुन्छ । अतः चित्तबाट साबधान हुनु आवश्यक छ । गलत मार्गमा लैजाने चित्तले व्यक्तिलाई सबैतिर भट्काउँदछ । आफैंलाई भित्रि खोजको साधन बन्न दिँदैन, त्यसले आफैंलाई एक्लो बन्न दिँदैन । चित्त यदि भीडबाट हट्यो भने, आफैंमा केन्द्रित भइदियो भने त दुःखको कारणनै समाप्त भइहाल्छ ।

सुख-दुःख ब्याख्यामा निर्भर
सुख र दुःख हेर्नमा निर्भरनै दृष्टिमा निर्भर हो । यो सबै आ-आफ्नो व्याख्या हो । त्यही कुरा कसैलाई सुख हुन सक्दछ त कसैलाई दुःख हुन सक्दछ । त्यही कुरामा कोही निरपेक्ष रहन सक्दछ, न दुःख अनुभव गरोस् न सुख । यो पनि हुन सक्दछ कि जुन आज सुख लागिरहेको छ भोलि त्यही दुःख हुनेछ । त्यसको बिपरीत पनि हुन सक्दछ । यदि जीवनको ठीक-ठीक निरीक्षण भयो भने निश्चय नै ज्ञात भइहाल्छ कि जीवनमा हामी जे पनि अनुभव गर्छौ, दुःख अथवा सुख सबै हाम्रा व्याख्याहरू हुन् । व्याख्या बदलिदियो भने अर्कै हुन्छ । व्याख्या आफ्नो हो, हरेक व्यक्ति त्यसलाई बदल्नमा स्वतन्त्र छ । कसैको कुनै वन्धन छैन ।

भगवान बुद्धले धम्मपदमा भन्नु भएको छ- “सुसुखं वत । जीवाम वेरिनेसु स्वेदिनो । वेरिनेसु मनुस्सेसु विहराम अबेरिनो ।” अर्थात बैरीहरूका बीच अबैरी भएर ओहो ! हामी सुखपूर्वक जीवन विताइरहेका छौं । बैरी मानिसहरू बीच अबैरी भएर हामीहरू विहार गर्छौ । यो कुरा बुद्धले एउटा विशेष अवसरका समयमा भन्नुभयो । यसका पछाडि सूत्रको जन्मको कथा छ । शाक्य र कोलि राजाहरूबीच रोहिणी नामको नदीको पानीलाई रोकेर दुबैजना जनपदबासी आफ्ना खेतहरूको सिँचाइ गर्थे । एकपटक जेठ महीनामा वालीहरू सुकेको देखेर दुबै जनपदबासी पहिले आफ्नो खेतलाई सिञ्चन गर्न चाहन्थे । अतः दुबैको नोकर बीच झगडा भयो । यो झगडाको खबर दुबैको मालिकलाई भयो । तब दुबैजना सेना लिएर युद्ध गर्न आए । भगवान बुद्ध रोहिणी नदीको तटमा ध्यान गर्दै हुनुहुन्थ्यो । जब बुद्धले यो कुरा थाहा पाउनुभयो उहाँ युद्धमा तत्पर दुबै सेनाको बीचमा आउनुभयो ।
भगवान बुद्धलाई देखेर शाक्य र कोलिहरूले हतियार फालेर बन्दना गरे । भगवान बुद्धले दुबै राजालाई भन्नुभयो कि के कुराको झगडा हो? राजाहरूले भने कारण हामीलाई थाहा छैन । भगवानले सोध्नुभयो फेरि कारण कसले जान्दछ? सायद सेनापतिहरूलाई थाहा होला । सेनापतिहरूले उपसेनापतिहरूलाई इशारा गरे । उपसेनापतिहरूले सैनिकहरू तिर इशारा गरे । हुँदाहुँदा कुरा आखिर नोकरहरूकहाँ सम्मै पुग्यो । नोकरहरूले भने भगवान ! पानीको कारण । बुद्धले भन्नुभयो पानी त सदियौंदेखि बगिरहेको छ । पानीको कारण हुनै सक्दैन । नोकरहरूले भने पहिले कस्ले उपयोग गर्ने भन्ने कुरामा । बुद्धले भन्नु भयो पहिलो कि कारण पानीको कारण होइन । बुद्ध हाँस्नु भयो शाक्य र कोलिहरूको प्रधानहरूसँग सोध्नुभयो पानीको के मूल्य र मानिसको के मूल्य हो ? उनीहरूले भने पानीको त नाममात्र मूल्य छ र मानिस अमूल्य छ । बुद्धले भन्नुभयो फेरि सोच नाम मात्रको मूल्यका लागि अमूल्यलाई मेटाउन हिँड्यौ । असारका लागि सारलाई गुमाउँछौ ?
दृष्टि बदलियो भने त सबै बदलिन्छ । व्याख्या बदलियो भने त सबै बदलिन्छ ।

सुख-दुःख स्वयंको
साधारणतया धारणा यो हुन्छ कि अरूले दुःख दिइरहेको छ । यसको यो अर्थ हुन्छ कि अरूले नै सुख दिन्छ । बुद्धको जीवनको एउटा घटना छ । बुद्धलाई कसैले गाली गर्‍यो । बुद्धले भन्नुभयो तिम्रो कुरा पूरा भैसक्यो भने म जान्छु है त? । त्यो व्यक्तिले भन्यो कुरा होइन म त गाली गरिरहेछु । बुद्धले भन्नुभयो मेरो लागि त यो कुरो नै हो । तिम्रो लागि गाली होला । यदि तिमी दशवर्ष पहिले आएको भए यो मेरो लागि गाली हुन्थ्यो । अब म अर्काका भूलका लागि आफूलाई दण्ड दिन चाहन्न, दुख पाउन चाहन्न । गाली गरिरहेछौ त तिमी नै जान, म बीचमा आउँदिन । त्यो व्यक्ति फर्क्यो तर रातभरी सुत्न सकेन । ऊ बिहानै माफी माग्न आयो । बुद्धले भन्नु भयो जुन मैले लिएकै छैन त्यसका लागि मैले कसरी क्षमा गर्ने ? तिमी जान, तिम्रो काम जान । दुःखी हुन चाहन्छौ भने त यो घटना पर्याप्त छ तर यदि यसमा पनि खुशि हुन चाह्यौं भने , दुःखी नहुन चाह्यौं भने त कोही अरूले बाधा गर्न सक्दैन । सीधा अर्थ छ कि अरूले न त दुःख दिन सक्दछ न नै सुख । हामी आफैं आफ्नो मालिक बन्यौं भने त कुनै अरूले दुःख दिनै सक्दैन । यसरी अरूको हातमा साँचो दियौं भने, आफ्नो स्वीच अरूलाई दबाउन दियौं भने तब नै अरूले दुःख दिन सक्दछ ।

अर्कै गाउँको एकजना पहलमान गाउँमा आयो । पहलमानी युद्ध भयो । त्यो पहलमान हार्‍यो । सबैजना ऊ देखि हाँस्न थाले, सबैजनाले जोड-जोडले हाँसेर ताली बजाउन थाले तर त्यो पहलमान पनि जोड-जोडसँग हाँस्न थाल्यो । दर्शकहरू हाँस्न छोडिसके तर त्यो पहलमान हाँसि नै रहेको थियो । त्यो पहलमानले भन्यो म पनि हेरिरहेको थिएँ, ठूलो पहलमान बनेर घुमिरहेको थिएँ, खूब भयो चारैतिर चित । ऊ त पहलमान नै थियो तर त्यो भन्दा ठूलो उसको फकीरीपन थियो । मस्ती थियो । ऊ अरूका कारण सुखी-दुःखी बनेनन्, नोकर बनेनन् ।

सुखको आशाबाट दुःख
दुःख तब आउँछ जब सुखको आशा गरिन्छ । सुखको आशा पनि आफ्नो नजिकैबाट हुन्छ । पतिबाट हुन्छ, पत्नीबाट हुन्छ, छोराबाट हुन्छ । यदि कुनै स्त्रीले नहेरी जान्छ भने त दुःख हुँदैन तर पत्नीले नहेरी जान्छ भने दुःख हुन्छ । यदि कसैको छोराले आफूलाई सम्मान दिँदैन भने दुःख हुँदैन तर आफ्नो छोराले सम्मान गर्दैन भने दुःख हुन्छ । पत्नीले दुःख दिन्छिन् । पतिले दुःख दिन्छ । मित्रले दुःख दिन्छ अर्थात जो निकट छ उसैले दुःख दिन्छ किनकी जो नजिक हुन्छ उसैबाट सुख प्राप्ति हुन्छ । प्राप्ति त हुँदैन आभास हुन्छ । जसबाट सुखको आशा गरिन्छ उसैबाट दुःख प्राप्ति हुन्छ ।

दुःख अपेक्षाबाट प्राप्त हुन्छ । जति ठूलो सुखको उपेक्षा हुन्छ, त्यतिनै टुट्दछ । अपरिचितबाट उपेक्षा हुँदैन त्यसकारण दुःख पनि हुँदैन, दुःख त परिचितहरूबाटै प्राप्त हुन्छ । यदि उपेक्षा छोड्यौं भने, सुखको आशा गरेनौं भने दुःख हुनै सक्दैन । न बाहिरबाट सुख आउँछ, न त बाहिरबाटनै दुःख आउँछ । दुःख सुखको उपेक्षाको नै परिणाम हो । लाओत्सेले भन्नु भएको छ “मैले कहिल्यै सम्मान चाहिन त मेरो कसरी अपमान हुन सक्दछ ।”
दुःखबाट छुटकारा पाउनका लागि बुद्धले उपेक्षा एउटा कारगर उपाय भनेका छन् । उपेक्षाको अर्थ हो, न दुःख प्राप्त हुन्छ न सुख प्राप्त हुन्छ । कुनै उपेक्षा नराख्नुको अर्थ उपेक्षा हो । उपेक्षामा जिउनेहरूलाई न कुनै चीज दुःख दिन सक्छ न सुख । यो त साक्षीभावले जिउँछ ऊ त दुईटैलाई समदृष्टिले देख्दछ ।

दुःख दिएनौं भने स्वतः सुख
दुःख मानिसको मूल स्वभाव होइन अतः त्यस्तो घट्न घट्यो भने कठिनाइ हुन्छ, राम्रो लाग्दैन । यो कुनै एक व्यक्तिसँग हुँदैन सबै ब्यक्तिसँग हुन्छ । त्यसैकारण सबै धर्ममा भनिएको छ कि यस्तो कुनै व्यबहार अरूलाई नगर जो स्वयम् अरूद्वारा आफूले अपेक्षा नगरेको होस् । सीधा अर्थ यो हो कि यस्तो कुनै कार्य नगर जसबाट अरुलाई दुःख होस् । विश्वका सबै प्राणी सुखसँग रहन चाहन्छन् तर साधारण मानिस आफ्नो लागि अलग्गै नियम बनाउँदछ र अरूका लागि अलग्गै । ऊ चाहन्छ कि सारा संसारलाई दुःख भए पनि म सुख चाहन्छु । अरूलाई दुःख दिन्छ आफ्नो सुखका लागि । प्रकृतिको नियम छ जे दिइन्छ त्यही फर्किन्छ । अस्तित्वमा कुनै सीमा छैन, सबै एक-अर्कासँग आधारित छ, जोडिएको छ तर गहिरो दृष्टि नहुनाका कारण सबै अलग-अलग लाग्दछ । जो कसैलाई दुःख दिन्छ दुःख उसैकहाँ फर्केर आउँदछ । जो तिमी आफ्ना लागि चाहन्छौ त्योभन्दा बाहेक अरूका लागि नगर ।

तर मानिसको स्वभाव अलग्गै किसिमको छ । ऊ आफ्नो नजिकको व्यक्ति छोरा-छोरी या अरूप्रति अत्याचार पनि यसका लागि गर्दछ ताकि यसबाट उनीहरूलाई राम्रो होस् । आकाँक्षाहरूले अरूको पनि आफ्नो पनि जीवन सुखी हुँदैन बरू दुःखी बनाइन्छ सुखको छाप लगाएर । हिँसा यति गहन छ कि अरूलाई सुख दिने नाममा पनि सताउन सक्दछ । कसैलाई दुःख दिन सक्दछ । त्यसैले भगवान बुद्धले भन्नुभएको छ :- “अतानं उपमं कत्वा न हन्नेय न घातये” अर्थात आफ्नो समान नै सबैलाई ठानेर नपिट अथवा नपिट्ने प्रेरणा देऊ । उहाँले भन्नु भएको छ यदि अरूलाई दुःख दिइएन भने आफ्नो जीवनमा फूल फुल्न शुरू हुन थाल्दछ किनकी जीवन यस्तो हो कि अरूलाई दुःख दिइँदैन भने आफैं नै सुख भएर आउँछ ।

दुःख भोगाइले सुखको आभास
भगवान बुद्धले भन्नु भएको छ जसले वाल्यावस्थामा व्रम्हचर्यको पालन गर्दैैन र युवावस्थामा धन कमाउँदैन उसले बृद्धावस्थामा चिन्ता मात्रै प्राप्त गर्दछ । एकदम अनौठो कुरो छ कि बुद्धले भन्नु भएकोछ धन कमाऊ अर्थात महत्वाकाँक्षी बन । पद होस्, धन एकत्रीत गर ।

एक यहुदी रबाईसँग एक गरीब व्यक्तिले आएर भन्यो कि म एकदम दुःखी छु , मलाई मर्ने आशिर्वाद दिनुस् । उसले भन्यो कि मेरो जीवन नर्क भइसक्यो । म नर्कमा जिइरहेको छु । एउटा सानो छाप्रोमा बसेको छु । वर्षामा छाप्रोमा पानी तपतप चुहिरहन्छ । म संग मेरी पत्नी, दुईटा बच्चा, मेरो सासु-ससुरा पनि बस्नुहुन्छ । त्यहीँ मेरो बुबाआमा पनि बस्नुहुन्छ । हिँड्ने पनि ठाउँ हुँदैन । त्यसमाथि चिडचिड र क्रोधको कुरो हुन्छ सधैं । नयाँ ठाउँ बनाउने पनि सामर्थ्य छैन । नरक छ नरक ! त्यसैले मर्ने आज्ञा दिनुस् । बूढो रबाईले भन्नु भयो तिमीलाई रोक्दिन, केवल सातदिन मात्रै पर्ख । ऊ सँग सोध्यो तिमीसँग कतिवटा बस्तुभाउ छ? उसले भन्यो ६ वटा बोका, एउटा गाई, एउटा बाच्छो र एउटा कुकुर पनि छ । रबाईले भन्यो यसो गर कि यी सबै जनावरहरूलाई छाप्रोमा तिमीहरूसँगै राख । त्यो व्यक्तिले भन्यो कि हामी त त्यसै मरिरहेका छौं यिनीहरूलाई राख्यौं भने त उभिने ठाउँ पनि हुँदैन । रबाईले भन्यो केवल सात दिनको त कुरा हो नि । अनि तिमी मर । यत्ति त मान । सारा जिन्दगीमा तिमीले मेरो कुरा मान्यौ अब मर्ने बेलामा यसलाई पनि नटाल । त्यो व्यक्तिले भन्यो कि यसरी त सातदिन पनि बाँचिन्न । त्यो बूढोले भन्यो कि मर्न नै चाहन्छौ भने मरिनेछ भनेर किन चिन्ता गर्ने ?।

घर पुगेर उसले सबै कुरा भन्यो । सबैले बिरोध गरे । उनीहरू पनि रबाईकहाँ गए । रबाईले भन्यो कि हो मैले नै भनेको हो, उसलाई यो गर्न देऊ । त्यसताका जब रबाई भन्दछ त गर्नुपर्ने हुन्छ । सबै जन्तुहरूलाई भित्रै राखियो । सातदिन महिनौंको वर्षौको नरक बन्यो । सातदिन पछि त्यो व्यक्ति रबाईकहाँ आयो । रबाइले भन्यो अब मर्नुभन्दा पहिले ती जन्तुहरू सबैलाई छाप्रोबाट निकाल । रबाईले दुई-तीनदिन प्रतिक्षा गर्‍यो । त्यो व्यक्ति फर्केर नआएकोले रबाईनै उसकहाँ गयो । के हो? के छ तिम्रो बिचार? मर्ने होइन त? उसले भन्यो छाप्रो त्यही हो । अब यत्ति धेरै ठाउँ देखिन्छ, यस्तो आनन्द कहिल्यै देखेकोे थिइन । सबैमा प्रेमभाव बढिरहेको छ । अब को मर्छ र ! सबै तिम्रै कृपा रहेछ । दुःख सघन भयो , फेरि अनुभव भयो सुखको, जस्तो स्थितिमा छ त्यस्तै स्थितिमा । यहाँ दुःखले पनि दीशा दियो, सुखको अनुभव गरायो । जीवनमा दुःख पनि जरूरी छ, सुखको आभासको लागि ।

दुःखको निवारण छ
भगवान बुद्ध जेतवनमा बस्नुभएको थियो । उहाँसँग पाँचशय भिक्षुहरू पनि बसिरहेका थिए । उनीहरू आंशसालामा बसेर रात्रिमा कुरा गरिरहेका थिए । उनीहरूको कुरा साधारण व्यक्तिको जस्तो थियो । बुद्धले मौन भएर त्यो सबै सुनिरहेका थिए । उनीहरू कुराकानीमा यत्ति तल्लिन थिए कि बुद्धलाई नै भुले । कोही भनिरहेका थिए फलानो गाउँको बाटो कति राम्रो, फलानो बाटो कति नराम्रो । फलानो बाटोमा छायाँदार बृक्ष छ, स्वच्छ सरोवर पनि छ । फलानो बाटो कस्तो बिग्रेको छ त्यसलाई भगवानले नै बचाओस् । कोही भनिरहेका थिए फलानो राजा पनि अदभुत र त्यहाँको सेठ पनि अदभुत र दानी । फलानो राजा कत्ति कञ्जूस त्यहाँको सेठ पनि कत्ति कञ्जूस त्यहाँ त भुलेर पनि कोही नजाओस् । यस्ता प्रकारका थुप्रै कुराहरू भइरहेका थिए । बुद्धले यो सबै सुन्नुभयो । चौंकिनु भयो, हाँस्नु भयो ।

भिक्षुहरूलाई नजिक बोलाउनुभयो । उहाँले भन्नु भयो भिक्षु भएर पनि बाहिरि मार्गको कुरा गरिरहेछौ । समय कम छ तर गर्ने काम धेरै छन् । बाह्यमार्गमा जन्मौं-जन्मौं भट्किरहेछौ, अझै थाकेनौ?अन्तर्मार्गबाट सोच । सौन्दर्य त अन्तर्मार्गमा छ । शरण पनि खोज्ने भए त्यहाँ खोज किनकी दुःख निवारणको त्यही मार्ग हो । उहाँले भन्नुभयो भिक्षुहरू-“ मग्गानुट्ठगिको सेट्टो ” अर्थात यदि श्रेष्ठमार्गको कुरा गर्ने हो भने आर्य अष्टाङ्गिकमार्गको कुरा गर । यो तिमीहरूकुन मार्गको कुरा गरिरहेछौ ? तब उहाँले “गाथा” भन्नुभयो । अनि “उर” भन्नुभयो अर्थात भित्र आउने थुप्रै मार्ग मध्ये आठअङ्गको मार्ग श्रेष्ठ छ ।

भगवान बुद्धले दुःख निरोधका आठ सूत्रहरू दिनुभयो ।
पहिलो सूत्र ( सम्यक दृष्टि ) :- अर्थात जस्तो छ त्यस्तै हेर्नु, आफ्ना धारणहरूद्वारा हेर्ने होइन । आँखा निर्दोष होस् जस्तो ऐना खालि होस् । यदि ऐनामा धुलो लागेको छ भने, अथवा कुनै रङ्ग लागेको छ भने अथवा केही पोतिएको छ भने त जुन कुरा सत्य हो त्यो ऐनामा देखिँदैन । सम्यक दृष्टिको अर्थ हो सबै दृष्टिहरूबाट निष्पक्ष ।

दोस्रो सूत्र ( सम्यक सङ्कल्प ) :- यसको अर्थ हो जुन गर्न योग्य छ त्यही गर र त्यसैमा पूरै जीवन लगाइदेऊ । कुनै अहंकारका कारण नगर । त्यही सम्यक सङ्कल्प हो । त्यस्तो सङ्कल्प जुन बोधद्वारा होस् । जीवनको प्रौढताद्वारा होस् । क्षणिक उत्साह, मानिसहरूले के भन्लान् यस भावनाद्वारा नहोस् । जसमा बाहिरी उत्साह नहोस्, आन्तरिक उत्साह होस् ।

तेस्रो सूत्र ( सम्यक वाणी ) :- जस्तो छ त्यस्तै गर । आफ्नै मिलाएर, बदलेर होइन । यस्तो होइन कि भित्र केही छ बाहिर केही । वाणीमा हृदयको सही अवस्था प्रकट होस् । जुन बोल्नु छ त्यही-त्यही बोल । धेरै नबोल जुन विना पनि चल्दछ, जति आवश्यक छ त्यति बोल । धेरै बोल्नाले धेरै समस्या उब्जाउँछ, जीवन व्यर्थको जालमा फस्न पुग्दछ ।

चौंथो सूत्र ( सम्यक कर्मा ) :- अर्थात त्यही गर जो हृदयले गर्नलाई भन्छ । यस्तो गर्ने होइन कि कसैले गर भन्छ । त्यही गर जुन गर्न योग्य लागोस् । व्यर्थ काम होइन, त्यही काम गर जसले जीवनमा सार मिलोस् । व्यस्त रहनु, केही न केही गरिरहनु जरूरी छैन । त्यही गर जुन जरूरी छ ।

पाँचौं सूत्र ( सम्यक आजीव ) :- आजीवको अर्थ आजीविकासँग छ । रोटी त कमाउने हो तर आजीविका सम्यक हुनुपर्दछ । विध्वंसात्मक नभएर सृजनात्मक हुनुपर्दछ र जीवनलाई परमात्मातर्फ लिएर जाने हुनुपर्दछ । बुद्ध भन्नुहुन्छ आफूलाई जिउनुका लागि अरू कसैको जीवन नष्ट गर्नु अनुचित हो । आजीविका यस्तो हुनुपर्दछ जसबाट कसैको अहित नहोस् । यदि कोही अरूलाई अहित गर्दछ भने त उसले आफ्नै अहितको बीउ रोप्दछ ।
छैठौं सूत्र ( सम्यक व्यायाम ) :- यहाँ व्यायामको अर्थ श्रमबाट सम्यक श्रम न त आलस्य न त अति कर्मठता हो, जहाँ कहिल्यै दौड रोकिन्न । दुइटैको बीचको मार्ग हो सम्यक मार्ग । सम्यक व्यायाम जहाँ जीवनको उर्जा सन्तुलित होस् ।

सातौं सूत्र ( सम्यक स्मृति ) र आठौं सूत्र ( सम्यक समाधि ) :- सम्यक स्मृति त्यो हो जसद्वारा ज्ञानलाई हेर्ने मानसिक योग्यता प्राप्त गर्ने कोशिश गर्नु । अर्थात मन बन्द होस् र होश बाँकी रहोस् । “जागृत भएर आनन्दित हुनु” त्यसैलाई बुद्धले सम्यक समाधि भत्रुभएको छ । अन्तिम दुई चरण सबभन्दा महत्वपूर्ण छन् । सातौं सूत्र सम्यक स्मृति परिधिमा र आठौं सूत्र सम्यक समाधि केन्द्रमा । परिधिमा होश होस् र अनि केन्द्रमा पनि होशको ज्योति बल्यो भने त्यो नै सम्यक समाधि ।

दुःख निरोधको अवस्था
जब यो निश्चय भयो कि जीवन छ भने त दुःख अवश्यम्भावी छ । फेरि कारणमा विचार गर्‍यौ र कारण हटाउनका लागि अष्टाङ्गिक मार्गको अनुसरण गरेर सातौ-आठौं सूत्रसम्म पुग्यौं भने त निदान भयो, उपाय भयो, मेटियो तब चौंथो आर्यसत्य सुखको अवस्था आयो । यसलाई निर्वाणको अवस्था महासुखको अवस्था जे पनि भत्र सकिन्छ । यो अवस्थामा आइसकेपछि मानिसको सबै तृष्णा समाप्त हुन्छ त फेरि उसले फर्केर जन्म लिएर यस संसारमा आउने कुनै कारण बाँकी रहँदैन । जसै-जसै दुःख समाप्त हुँदै जान्छ संसारको यात्राको समाप्ति तिर दोहोरिँदै जान्छ । फेरि व्यक्तिको जीवनको आखिरि यात्रा हुन्छ । एकपटक दुःख निरोधको अवस्था या महासुख उपलब्ध भएपछि शरीर छोडिसकेपछि ऊ कहिल्यै फर्केर जीवनमा आउँदैन । ज्योतिमा ज्योति मिलिदिन्छ । अर्को शब्दमा त्यही त निर्वाण हो । फेरि त्यही नै त मोक्ष हो । जब ज्योतिमा ज्योति बिलुप्त हुन्छ त शूक्ष्म शरीरमा समाहित इच्छाहरू, तृष्णाहरू, अहङ्कारहरू, अस्मिता आदि जुन पुनर्जन्म लिने कारण बन्दछ ती नै रहँदैनन् भने त्यो आत्मा भौतिक शरीर समाप्त भइसकेपछि आवागमनबाट मुक्त भइजान्छ । आध्यात्ममा यो महासुखभन्दा बढी जीवनको अन्य कुनै उपलब्धि छ भनेर मानिएको छैन । यी चार आर्यसत्यको माध्यमबाट बुद्धले व्यक्तिलाई चरमसीमासम्म पुग्ने दीव्य दृष्टिको मार्ग देखाइदिनुभएको छ ।

अप्प दीपो भव
भगवान बुद्धले आफ्नो उपदेश मान्न कसैलाई पनि बाध्य पार्नुभएको छैन । आफैं अनुभव गरेर जान्नका लागि भन्नुभएको छ । जीवनको सत्य भन्नुभयो, रोगको उपचार दिनुभयो जसलाई लिएर लाटोले बोल्न सकेजस्तै अनेकौं व्यक्तिहरू दुःखबाट मुक्त भए । महासुखको अवस्था प्राप्त गरे । उहाँले बताउनुभएको मार्गलाई बुझौं, हृदयङ्गम गरौं । यो मार्गमा गयौं भने बुद्धले जस्तै जो कोहीले पनि त्यो स्थिति प्राप्त गर्न सक्दछ । बुद्धलाई महामानव, भगवान, अलौकिक शक्तिले युक्त भनेर आफूलाई असमर्थ मान्यौं भने त आफूलाई धोका दिएर हामी मानिसको गरिमालाई नै कम गरिरहेका हुन्छौं जसलाई बुद्धले जीवनलाई सार्थक बनाउनका लागि “अप्प दीपो भव” को उपदेश दिनु भएर शिखरमा पुर्‍याउनुभएको छ । यो जन्म त अनन्त जन्महरू मध्ये अगाडिको अध्याय हो । यात्रा यदि चालू रहोस्, कदम बढिरहोस् दिशा यदि सही सङ्कल्प र होश बढाउनुतिर छ । हरेक मानिसले आफ्नो भित्र लुकेको दीब्यतालाई चिन्ने र सही दिशामा जानु छ । भगवान बुद्धले त मानव मात्रको कल्याणका लागि जीवनको सत्य उद्घाटित गर्नुभएको हो ।

Tuesday, May 9, 2017

भगवान् गौतम बुद्ध : सन्दर्भ बुद्ध जयन्ती

भगवान गौतम बुद्ध बौद्ध धर्मका प्रणेता हुन। अधिकांश बौद्ध परम्पराले उनलाई हाम्रो कल्पका एक सम्यक् सम्बुद्धको रूपमा मान्दछन। बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ। बुद्ध कहलाइनु अघि यिनको नाम सिद्धार्थ गौतम थियो। उनलाई शाक्य मुनि गौतम बुद्ध पनि भनिन्छ। गौतम बुद्धलाई एसियाका तारा पनि भनिन्छ। गौतम बुद्ध नेपालको प्राचीन इतिहासमा अत्यन्त आदरणीय र उच्चस्थान प्राप्त व्यक्तित्व हुन्। ईशापूर्व छैठौं शताब्दीको युगलाई धार्मिक क्रान्तिको युग मान्ने गरिमा गौतम बुद्धले स्थापना गरेको बौद्ध धर्मले प्राप्त गरेको छ। गौतम बुद्धले तात्कालिक प्रचलित धर्म तथा दर्शनको खण्डन गरी आफ्नो दर्शन र सिद्धान्तको स्थापना गरे र त्यसकै जगमा सर्वसाधारण जनमानस र शासकवर्गलाई प्रभावित तुल्याई दुबैथरिलाई एउटै सूत्रमा उनेर एकै ठाउँमा समेट्न सफल भए। त्यसैले बौद्ध धर्म राष्ट्रिय घेराभन्दा माथि उचालिई विश्वधर्मका रूपमा स्थापित हुन सफल भयो।

गौतम बुद्धको जन्म र मृत्यु कहिले भयो भनी यकीनका साथ भन्न नसकिए पनि बीसौं शताब्दीका धेरैजसो इतिहासकारहरू उनको जीवनकाल ५६३ ईशापूर्व देखि ४८३ ईशापूर्व रहेको भन्ने कुरामा एकमत देखिन्छन्। तथापि गौतम बुद्धको जन्म बैशाख शुक्ल पूर्णिमाको दिन हाल नेपालको सीमाभित्र पर्ने रूपन्देही जिल्लाको लुम्बिनी भन्ने ठाउँमा भएको थियो भन्ने कुरामा दुईमत छैन। उनले आफ्नो जीवनकालको पहिलो २९ वर्ष पिताद्वारा प्रदत्त राजसी सुखमा बिताए। तर पनि उनी सदा संसारमा व्याप्त दु:खको कारण र त्यसको निवारण के होला भनी चिन्तित रहन्थे। यही दु:ख निवारणको सत्यमार्ग पत्ता लगाउने उद्देश्यले २९ वर्षको उमेरमा गृहत्याग गरी सिद्धार्थ भारतको विभिन्न ठाउँमा सात वर्षसम्म कष्टदायक तपस्या गर्दै हिंडे। अन्तत: कष्टदायक मार्गले सत्यको प्राप्ति हुन सक्दैन भन्ने महसुस गरी मध्यमार्गको अवलम्बन गर्ने अठोट गरे। बोधगया भन्ने ठाउँमा एक बृक्षको मुनि अधिष्ठानपूर्वक ध्यान गर्दा गर्दै उनलाई सम्यक् सम्वोधि प्राप्त भयो र उनी सम्यक् सम्बुद्ध कहलाइए। त्यसपछि शेष ४५ वर्षसम्म उनी भारतवर्षका विभिन्न ठाउँ पुगी दु:ख निवारण सम्वन्धी आफूलाई प्राप्त महाज्ञान बाँड्न रातदिन लागिपरे।

सिद्धार्थ गौतमका बाबु शुद्धोधन तत्कालिन तिलौराकोट राज्यमा शाक्य वंशका राजा थिए। यिनकी आमाको नाम मायादेवी थियो। भनिन्छ रानी मायादेवी आफ्नो माइत देवदह जाने क्रममा बाटोमा पर्ने लुम्बिनी भन्ने ठाउँमा पुग्दा प्रसव व्यथाले भेट्यो, विश्राम गर्ने उद्देश्यले बाटामा पर्ने लुम्बिनी उपवनमा उनी आराम गर्न बसिन्। त्यसै वाटिकामा रहेको पुष्करिणी सरोवरको किनारमा अवस्थित एउटा रूखको फेदमा सुस्ताउँदै गर्दा मायादेवीको कोखबाट बालक सिद्धार्थको जन्म भएको थियो। सामान्य राजकुमार झैं यिनको पालनपोषण राजसी ठाटबाटमा सम्पन्न भयो र उमेर पुगेपछि यशोधरा नामकी युवती सँग विवाह भयो। यशोधराबाट राहुल नामका एक पुत्रको जन्म पनि भएको थियो। गौतम बुद्ध युवावस्थाका हुँदा एकजना 'बिरूढक' नामका राजासित यिनले युद्ध लडेको विवरण इतिहासमा भेटिन्छ। बाल्यकालदेखि नै गम्भीर स्वभावका सिद्धार्थ गौतमलाई हरेक कुराले चिन्तनशील बनाउँथ्यो। दैनिकीकै क्रममा उनले बुढो, रोगी मानिसलाई देखे। उनले मानिस मरेको पनि देखे। यसबाट उनमा वैराग्य भाव उत्पन्न भयो। मानिस के कारणले रोगी हुन्छ? के कारणले बुढो हुन्छ? र के कारणले मर्छ? भन्ने प्रश्नले उनलाई वैरागी बनायो। यिनै प्रश्नको समाधान खोज्न बाबुको उत्तराधिकारबाट प्राप्त हुने राज्यको समेत वास्ता नगरी २९ बर्षको मध्यउमेरमा उनी एकदिन राती सुटुक्क दरवार छोडेर निस्किए।

बुद्धत्त्व प्राप्त गरिसकेपछि वैशाख शुक्ल पूर्णिमाका दिन भगवान् गौतम बुद्धले पहिलोपटक भारतको सारनाथमा उपदेश दिएका थिए। यो ठाउँ हाल भारतको बनारस क्षेत्रमा पर्दछ।

बुद्धले आफ्ना अनुयायीहरूलाई प्रदान गरेको शिक्षालाई धम्मविनय भन्ने गरिन्छ। विनय भन्नाले भिक्षुहरूका लागि बनाइएको नियमहरूको सङ्ग्रह भन्ने बुझिन्छ भने धम्म भन्नाले दु:खमुक्तिका लागि भिक्षु र गृहस्थ सबैका लागि बुद्धले दिएका शिक्षा भन्ने बुझिन्छ। बुद्धका लगभग सारा शिक्षा र उपदेशलाई 'त्रिपिटक' ग्रन्थका रूपमा सङ्ग्रहित गरिएको छ जसमा बुद्धका ८२,००० र उनका प्रमुख शिष्यहरूका २००० गरी ८४,००० सूत्रहरू संग्रहित छ्न्।

बुद्धले दु:खमुक्तिसँग सरोकार नराख्ने दार्शनिक प्रश्नहरूलाई महत्त्व दिदैंनथे । उनी भन्दथे, "भिक्षुहरू म दुई कुरा मात्र सिकाउंछु : दु:ख र दु:खमुक्तिको उपाय ।" बुद्धको प्रयोगात्मक शिक्षालाई ३ किसिमले वर्गीकरण गर्ने चलन छ : शील, समाधि र प्रज्ञा । शीलको जगमा रहेर ध्यानद्वारा समाधि पुष्ट गर्दै प्रज्ञा उत्पन्न गराउन सकेमा नै दु:खमुक्तिको अवस्था अर्थात् निर्वाणको साक्षात्कार गर्न सकिन्छ भन्ने उनको मूल शिक्षा हो । शील, समाधि र प्रज्ञाको मार्गमा पुष्ट हुने क्रममा चारवटा 'आर्यसत्य'लाई पूर्णरूपले बुझ्न सकिन्छ । ती चारवटा आर्यसत्यहरू यस प्रकार छन् :


  1.  दु:ख सत्य                                     :        दु:ख छ भन्ने कुरा र यसको अवस्थाको बोध
  2.  दु:खको कारण सत्य                      :        दु:खको कारण आसक्ति र अन्तत: अविद्या हो भन्ने बोध
  3.  दु:खको निवारण सत्य                    :         दु:खको अन्त्य छ भन्ने कुरा र यसको साक्षात्कार
  4.  दु:खको निवारणको मार्ग सत्य     :       दु:खको निवारण गर्ने आर्य अष्टांगिक मार्गको बोध र यसको पालना। आर्य  अष्टांगिक मार्गलाई शील, समाधि र प्रज्ञाको रूपमा पनि वर्गिकरण गर्ने गरिन्छ।

भारतको कुशीनगरमा ईशापूर्व ४८३को बैशाख शुक्ल पूर्णिमाको दिन नै बुद्धले निर्वाण प्राप्त गरेका थिए। गौतम बुद्धलाई सनातन हिन्दू धर्मावलम्बी र बौद्ध धर्मावलम्बीहरूले आफ्ना प्रमुख देवताको रूपमा पूजा गर्दछन्। बोधित्व र महानिर्वाण प्राप्त गरेको स्थान अहिले भारतभित्र परे पनि भगवान् गौतम बुद्धले अवतार ग्रहण गरेको र पृथ्वीतलमा पाइला टेकेको माटो अर्थात् सिद्धार्थ गौतमको जन्मभूमि नेपाल हो र सार्वभौम नेपाल राज्यको कपिलवस्तु जिल्लामा पर्ने लुम्बिनी हो। यो अकाट्य सत्य हो, यसमा कुनै विवाद छैन, कुनै मतान्तर छैन तर पनि छिमेकी राष्ट्र भारतका केही मानिसहरु आफ्नै हृदय भित्रको सत्यतालाई समेत लुकाउँदै र अन्तरात्मालाई ढाँट्दै उनको जन्म भारतमा भएको हो भनेर लेख्न, भन्न र प्रचार गर्न तल्लीन भएका देखिन्छन्। यस्ता कैयौं प्रमाणहरू भेटिन्छन्। यद्यपि गौतम बुद्धको समयभन्दा करिब २५० बर्ष पछि तात्कालिक विशाल भारतका चक्रवर्ती सम्राट अशोक आँफू स्वयं लुम्बिनी आएर गौतम बुद्ध र कनकमुनी बुद्धको जन्मस्थलमा पूजा गरी, त्यहाँका जनतालाई राज्यलाई दाखिला गर्नुपर्ने किसिमकिसिमका कर, शुल्क र राजश्वमा छुट दिएको अभिलेख कुँदी गाडेको विशाल अभिलेख अद्यापि जीवन्त छ तैपनि बुद्धको काल्पनिक जन्मभूमिका रूपमा भारतले गर्व गर्नु हास्यास्पद नै मान्न सकिन्छ।

समग्रमा हामी सम्पूर्ण नेपालीका लागि गर्व र गौरव एवं विश्वशान्तिका प्रतीक 'भगवान् गौतम बुद्ध'को जन्म दिन वैशाख पूर्णिमा (बुद्ध जयन्ती) अत्यन्तै महत्वपूर्ण छ।

Monday, May 8, 2017

चुपचाप गृहत्याग गरेका थिएनन् बुद्धले

- सीताराम अग्रहरि

वैशाख शुक्लपूर्णिमा अर्थात् बुद्ध पूर्णिमा शान्तिकामी, मुक्तिकामी मानवमात्रका लागि करूणामय बुद्धलाई सम्झने, श्रद्धा गर्ने प्रज्ञा दिवस । प्राणी मात्रलाई दुःख, शोक, भय, अविद्या, तृष्णाबाट मुक्त पार्ने महामानव बुद्धपथबाट पाठ लिने अविस्मरणीय जागरण दिवस । सन् ५२८ ईसापूर्वको वैशाख पूर्णिमामा बुद्धत्व प्राप्त सिद्धार्थ गौतम सम्यक सम्बुद्ध बनेको पावन दिन ।

जवाहरलाल नेहरू 'इतिहासका महापुरूष' नामक आफ्नो पुस्तकमा लेख्छन्, "बुद्धको जन्मको बेला भारतमा पुरानो बौद्धिक धर्म प्रचलित थियो तर त्यो धेरै बदलिसकेको थियो र आफ्नो उच्च आदर्शबाट खस्किसकेको थियो । ब्राह्मण पुरोहितहरूले थरिथरिका कर्मकाण्ड, पूजापाठ र अन्धविश्वास थुपारिदिएका थिए । जातिको बन्धन कडा हुँदै गइरहेको थियो र आमजनता साइत, मन्त्र-तन्त्र, जादू आदिबाट डराउँथे । यी तरिकाबाट पुरोहितहरूले जनतालाई आफ्नो मुठ्ठीमा राखेका थिए र क्षेत्री राजाको सत्तालाई चुनौती दिन थालेका थिए । यसरी क्षेत्री र बाहुनबीच सङ्घर्ष चलिरहेको थियो । त्यसबेला बुद्ध एक लोकप्रिय सुधारकको रूपमा प्रकट भए र उनले पुरोहितहरूको यी अत्याचारमाथि एवम् पुरानो वैदिक धर्ममा जुन खराबी आएको थियो त्यसमाथि आक्रमण बोले । उनले शुद्ध जीवन बिताउन र असल काम गर्न ... सद्जीवनको बाटो बताए ।"

बुद्ध महापुरूष थिए उनले दुःखको मीमांसामात्र गरेनन् निकासको उपाय पनि बताए । जन्म पनि दुःख, बुढेसकाल, मरण, शोक, मनको उद्विग्नता, चिन्ता, मिलन, संयोग, प्रियसँग वियोग सबै दुःख हो । उनको विचारमा कुनै अभीष्ट र त्यसलाई प्राप्त गर्न नसक्नु पनि दुःख हो । संसारमा आएपछि एउटा न एउटा दुःख लागिरहन्छ, दुःखबाट छुटकारा मानिसको नियतिमा छैन । बुद्धले तृष्णालाई नै दुःखको मूल कारण बताए । तृष्णाबाट मुक्त भएर दुःखरहित अवस्थाको नामनै निर्वाण हो र मानिसले आफ्नो जीवनमै निर्वाण प्राप्त गर्न सक्छ, यस्तो बुद्ध ठान्दथे । राग, द्वेष एवम् मोहरहित, तृष्णारहित भएर, ज्ञानवान भएर मनुष्यले कर्म गर्‍यो भने उसले मोक्ष प्राप्त गर्न सक्छ । यसका लागि उनले आठ मार्ग बताएका छन् ।

बुद्धको सबभन्दा ठूलो शक्ति उनको विनम्रता, शालीनता, सहनशीलता, सहिष्णुता हो । उनी सहअस्तित्व, सद्भावको सिद्धान्तमा विश्वास गर्थे जसको अप्प दीपो भव उत्तिकै प्रासङ्गकिता छ । उनमा आत्मविश्वास त थियो झूठो आत्माभिमान थिएन । उनी अहंकाररहित थिए । उनी अरू धर्मगुरू जस्तै कृत्रिम देवत्वमा विश्वास गर्दैनथे । उनी स्पष्ट मन्थे, आज दियो भव अर्थात् आफ्नो उज्यालो आफैँ बन । श्रद्धाले मानिस उनलाई भगवान मान्छन्, भन्छन् । उनी स्पष्टरूपले भन्थे, "म त मोक्षदाता होइन, मार्गप्रदर्शक मात्र हुँ ।" उनी प्रशंसा वा निन्दा, स्तुति वा भक्तिको दुनियाबाट टाढा थिए, उनी व्यवहारिक मानवधर्मका व्याख्याता थिए । उनी भन्थे सधैं सबैले प्रशंसा गर्ने वा निन्दा गर्ने व्यक्ति पहिले पनि थिएन, आज पनि छैन, पछि पनि हुनेछैन ।" (जेतवन) । उनी कालजयी चिन्तक थिए । संयुक्त राष्ट्रसंघका महासचिव उथान्तले सन् १९६७ मा लुम्बिनी भ्रमणमा सही नै भनेका थिए, बुद्ध नेपालका मात्र नभई विश्व महापुरूष हुन् ।

यहाँ विवेचनाको प्रसङ्ग अर्कै छ, के बुद्ध चुपचाप एक रात कसैलाई केही नभनी दुःखतप्त मानवताको प्रश्न समाधान गर्न अकस्मात गृहत्याग गरेर निस्केका हुन् ? धेरैमा यो भ्रम छ, धेरै विद्वान्हरूले यस्तो भन्दै आएका छन् । बुद्धले प्रव्रज्या ग्रहण किन गरे ? परम्परागत जवाफ यो छ कि एक वृद्ध, एक रोगी तथा मुर्दा देखेर उनको मनमा विरक्तिको ज्वार उठ्न थाल्यो । उनको हृदयमा प्राणी मात्रको चिन्ता र दुःख हटाउने उपाय खोज्ने इच्छा दिनप्रतिदिन प्रवल हुँदै गयो । आचार्य धर्मानन्द कौसम्वीले यस महाभिनिष्क्रम (गृहत्याग) को समस्यामाथि प्रश्नसूचक चिन्ह लगाए । कालान्तरमा डा.वी.आर आम्वेडकरले ३५ वर्ष निरन्तर बौद्ध ग्रन्थहरूको अध्ययन गरेर कौसाम्वीको सन्देहको पुष्टि गरे (भारत र विदेशमा बौद्ध धर्म प्रसारक, डा. श्रीमती यमुनालाल) । उनले प्रश्न उठाए 'यो कसरी हुनसक्छ कि २९ वर्षको आयुसम्म सिद्धार्थले कहिल्यै कुनै वृद्ध, रोगी तथा मृत व्यक्तिलाई नदेखेका होऊन ? यी जीवनका यस्तो घटना हुन जुन दिनहुँ सयकडौँ, हजारौँ घटित भइनैरहेका हुन्छन् । ....यो व्याख्या तर्कको कसीमा खरो उत्रँदैन ।" आम्बेडरको विचारमा यो प्रव्रज्याको कारण शाक्य र कोलियहरूबीच रोहिणी नदीको जल विवाद हो । अम्वेडकरले बुद्ध एण्ड हिजधम्ममा सिद्धार्थले आमा बा, श्रीमतीसँग आज्ञा लिएर, छोरा राहुललाई माया गरेर गृहत्याग गरेको तथा विदाको बेला यशोधराले लोककल्याण पथ खोज्ने निवेदन गरेको दावी गरेका छन् ।

यो दावी तर्कसम्मत देखिन्छ र अन्य कैयौँ बौद्ध विद्वान्लेसमेत यसको पुष्टि गरेका छन् । कता कता बुद्धले आफ्ना श्रीमतीसँग विश्वासघात पनि गरे कि जस्तो विवेचनाहरू पनि हुँदै आएको छ । खासगरी यशोधरा साहित्यकारहरूका लागि एक उर्वर पात्र बन्दै आएकी छन् । यशोधराको भावना, वेदना आफ्नो ठाउँमा अनुचित पनि छैन । परम्परागत मान्यता अनुरूप बुद्ध एक्लै चुपचाप घर छाडेर निस्केका हुन् यो कुरा बुद्धको स्वभाव, चरित्र बुझ्दा पनि सुपाच्य देखिँदैन । उनमा पर्याप्त आत्मविश्वास थियो । उनले अकस्मात गृहत्यागको निर्णय गरेका पनि होइनन् । हो उनी करूणामय थिए । उनी चिन्तनशील थिए । उनी सोचिरहन्थे, दुनियामा यति दुःख किन छ ? बलिया मािनसले निर्धाको शोषण किन गरिरहेका छन् ? मानिस एक आपसमा किन लडिरहन्छन् ?

राजा शुद्धोधन छोरा कतै सन्यासी बन्छन् कि भन्ने डरले चिन्तित रहन्थे । छोरालाई कामभोगका लागि सबै बन्दोबस्त गरे, तीन अलग महल बनाउन लगाए र प्रधानमन्त्री उदायीलाई सुन्दरी तरूनीहरूद्वारा सिद्धार्थको मन जित्न व्यवस्था गर्न खटाए । उदायीले एकान्तमा सिद्धार्थलाई भने, प्राचीनकालमा इन्द्रसमेतले गौतम ऋषिको पत्नी अहिल्यालाई आलिंगन गरेका थिए । यस्तै, अगस्त्य ऋषिले सोममाया रोहिणीसँग औतथ्य पत्नी मरूतकी पुत्री ममतासँग ऋषि वृहस्पतिले सहवास गरेको फलस्वरूप भारद्वाजको जन्म भएको आदि अनेकौँ उदाहरण दिए । तर्क दिए, महान् पुरूषले समेत काम-भोग गरे भने प्रशंसनीय काम भोगको सेवनमा दोष नै के छ र ? (आनन्द श्रीकृष्णः गौतमबुद्ध र उनका उपदेश)

बुद्धले विनम्रता तर दृढतापूर्वक जवाफ दिए म संसारका विषयहरूको अवज्ञा गर्दिन । मलाई थाहा छ, सारा जगत् यिनै कुरामा आसक्त छ तर किनभने म जान्दछु कि सारा संसार अनित्य छ, त्यसैले मेरो मन तिनमा रमाउँदैन .. जहाँसम्म ठूल ठूला महात्माहरू विषयको वशीभूत भएको प्रश्न छ यस विषयमा पनि प्रमाण छैन किनभने अन्त्यमा उनीहरू पनि क्षयलाई प्राप्त भए ।

बुद्धले लामो तर दृढतापूर्वक मन्तव्य राख्दै उदायीलाई भने, 'आशा छ तपाईंले मलाई विषयभोगको अशोभन कुपथमा लग्नुहुनेछैन ।' यस्ता थिए बुद्ध । २० वर्ष पुगेपछि प्रत्येक तरूणलाई शाक्यसंघमा दीक्षित हुनुपथ्र्यो । संघका आठ नियम थिए । आठ वर्षसम्म सिद्धार्थ संघका प्रिय सदस्य रहे तर त्यसपछि घटनाक्रमले नयाँ मोड लियो । सिद्धार्थ २८ वर्षका भइसकेका थिए । शाक्यहरूसँगै टाँसिएको कोलियहरूको राज्य थियो र बीचमा थियो रोहिणी नदी । दुबै राज्य यो नदीका पानीले सिचाईं गर्थे । यदाकदा उपभोगका कुरामा दुबै पक्षबीच विवाद भइरहन्थ्यो । कहिलेकाहीँ युद्धको स्थिति पनि उत्पन्न हुन्थ्यो । संघको सभा डाकियो । सिद्धार्थ र शाक्य सेनापतिबीच समस्याको समाधानका उपायबारे मतभेद उत्पन्न भयो । सेनापति युद्धका लागि तत्पर थिए तर सिद्धार्थ युद्ध चाहँदैनथे । सिद्धार्थको मत थियो कि युद्ध कहिल्यै कुनै समस्याको समाधान हुनसक्दैन । (डा. भीमराव आम्वेडकर) । सिद्धार्थको विचार थियो, परस्पर एक अर्काको विनाश गर्नुमा बुद्धिमानी छैन । सिद्धार्थ यो पनि मान्दथे झगडा शाक्य पक्षधरले नै उठाए यसैले गलती शाक्यहरूकै छ । यो ठूलो कुरा थियो । सिद्धार्थ पारम्परिक मान्यताअनुसार राष्ट्रवादी थिएनन्, उनी मानवतावादी र सत्यका पक्षधर थिए । उनले सुझाव दिए, शाक्य र कोलियहरूका तर्फबाट दुईदुई जना रोजियोस्, ती चार जनाले मिलेर एक पाँचौं व्यक्तिको चयन गरोस् र ती पाँच जना मिलेर विवादको समाधान गरून् । उता, सेनापतिको कथन थियो कि कोलियहरूलाई कडा दण्ड दिइनुपर्छ । ब्राह्मणको धर्म हो यज्ञ गर्नु, क्षेत्रीको धर्म हो युद्ध गर्नु, वैश्यको धर्म हो व्यापार र शुद्रको धर्म हो सेवा गर्नु । उनको विचारमा प्रत्येकले आफ्नो धर्म निर्वाह गर्नुपर्छ । अनि सिद्धार्थले जवाफ दिए, वैर कहिल्यै शान्त हुँदैन । त्यो मात्र अवैरबाट शान्त हुन्छ । आगोले आगो कहिल्यै निभ्न सक्दैन, त्यो मात्र पानीले निभ्न सक्छ । झगडाबाट झगडा कहिल्यै सुल्झिन सक्दैन ।

शाक्य संघको बहुमत सेनापतिको पक्षमा थियो । संघलाई सिद्धार्थको मत स्वीकार्य थिएन र सिद्धार्थलाई संघको फैसला स्वीकार्य थिएन । संघको नियमअनुसार संघविरूद्ध जाने व्यक्तिलाई संघले उसको परिवारको सामाजिक बहिष्कार गर्न सक्थ्यो, खेती (सम्पत्ति) जफत गर्न सक्थ्यो, व्यक्तिलाई दण्डित गर्न सक्थ्यो, देशनिकाला गर्न सक्थ्यो । आम परिभाषामा सिद्धार्थ 'राष्ट्रद्रोही' थिए जबकि सिद्धार्थ मेलमिलाप, सहकार्य, सद्भाव, सहिष्णुताको भाका बोलिरहेका थिए । सिद्धार्थले विन्ती गरे, मेरो परिवारलाई दण्डित नगरियोस्, म स्वयम् दण्ड भोग्न तयार छु । समस्या के थियो भने कोसल नरेशलाई यो कुरा थाहा भए शाक्य संघविरूद्ध कारवाहीगर्न सक्थे, शाक्यहरूको राज्य कब्जा गर्न सक्थे । त्यसैले सिद्धार्थ स्वयम्ले यो सुझाव दिए कि यदि म परिव्राजक (सन्यासी) बनूँ र स्वयम् देशबाहिर जाऊँ भने एकप्रकारले देश निकाला पनि हुनेछ र शाक्य संघलाई त्यसका लागि कोसल नरेशले दण्ड पनि दिने छैन । स्मरणीय छ, कोलियहरू सिद्धार्थका ससुराली खलक थिए ।
अन्ततः सिद्धार्थले महाभिनिष्क्रम (गृहत्याग) निर्णय लिए । यो वडा मार्मिक प्रसङ्ग छ । सिद्धार्थ गौतमले आमजनतालाई युद्धको विनाशबाट जोगाउन र जीवजगतमा जुन दुःख विद्यमान छ, ती दुःखको कारण र निवारण गर्ने उपज खोज्न आफ्ना राज्यका जनता, मातापिता र पत्नीको जानकारीमा परिव्राजक बन्ने निर्णय लिए र गृहत्याग गरे । (आनन्दश्रीकृष्णः गौतमबुद्ध र उनका उपदेश)

अनन्त करूणामय, अनन्त मैत्रीमय सिद्धार्थले घर छोड्ने भएपछि हाहाकार मच्चियो । पितासँग विदा माग्दै उनले भने, 'म आशा गर्दछु, यति त हजुरले बुझ्नु नै हुनेछ कि मैले परिस्थितिलाई थप बिग्रनुबाट जोगाएँ । दण्ड मैले आफ्नो सिरमा लिएँ ।'

भावविह्वल पिताले भने, तिमीले यो सोचेनौ कि हामीमाथि के बित्नेछ ?

सिद्धार्थले वृद्ध पितालाई आश्वस्त पार्न खोजे, यसैकारण त मैले प्रब्रज्या लिन स्वीकार गरेँ । सोच्नुस्, यदि शाक्यले सारा खेत (सम्पत्ति) जफत गर्ने आदेश दिएको भए के हुन्थ्यो ? शुद्धोदन झनै विचलित भए, बाबु, तिमीविना यी खेत (सम्पति) लिएर के गर्छौ ? सारा परिवार नै शाक्य जनपद परित्याग गरेर किन नजाने ।

दृश्यबडो मार्मिक थियो । प्रजापति गौतमीको गहभरि आँसु थियो, सबै रोइरहेका थिए । गौतमीले पनि भनिन्, हामीलाई त्यागेर यसरी एक्लै कसरी जानसक्छौ र ?

सिद्धार्थले सान्त्वना दिए, आमा क्षत्राणी भएर दुःखी हुनु शोभा दिँदैन । यदि म युद्धभूमिमा गएर मारिएको भए के गर्नुहुन्थ्यो । गौतमीले मानिनन्, शाक्यको देश छोडेर सबै कोसलतर्फ जाउँ भनिन् तर पनि गौतमले मानेनन् । सम्झाए, पत्नी र पुत्रको वास्ता दिए । अनि राजनीतिक परिस्थिति पनि सम्झाए, त्यसो गर्दा शाक्यहरूले देशद्रोही भन्न सक्छन् । उता कोसल नरेशलाई समेत शाक्यहरूविरूद्ध केही गर्ने अवसर मिल्नेछ । शुद्धोदनले अर्को जुक्ति निकाले, शाक्य संघले केही समयका लागि युद्ध स्थगित गरिदिने घोषणा गरेको छ, हुनसक्छ युद्ध अब नहोला । (बाबु) तिमी आफ्नो प्रव्रज्या स्थगित गर !

सिद्धार्थले जवाफ दिए, हुनसक्छ मेरो प्रव्रज्या ग्रहणपश्चात शाक्य संघले युद्धको घोष्णा स्थगित गरिदियोस् तर यो त पहिला मेरो प्रव्रज्या ग्रहणमै निर्भर गर्छ ... । वचनभंगको नराम्रो परिणाम हुन सक्छ ।

त्यसपछि सिद्धार्थ र यशोधराबीच मार्मिक वार्तालाप हुन्छ । वार्तालापको सही विश्लेषण कुनै सच्चा मनोविद् या साहित्यकारले नै गर्न सक्छ । यशोधरालाई थाहा थियो, पति आफ्ना विचारमा अटल छन्, उनी बुझ्थिन् सिद्धार्थको मनोभाव । मन रोइरहेको थियो, पतिलाई विदा गर्नै पर्‍थ्यो चाहि नचाहिकन । त्यसैले भारी मनले भनिन्, .. कुनै नयाँ पथ खोज्न सक्नुहोस् जुन मानवताका लागि कल्याणकारी होस् ।


बुद्धको गृहत्याग कता कता रामको वनवास प्रसङ्ग झैं मार्मिक छ । फरक यति छ, रामलाई वनवास दिइएको थियो, बुद्धले भने गृहत्याग स्वयम् रोजेका थिए । सिद्धार्थले नयाँ पथ खोजे पनि । मानवताका लागि कल्याणकारी र व्यवहारिक मार्ग पनि बताए । यी सारा प्रसङ्ग इतिहासको अमर आख्यान हुन् । बुद्धको विनम्र दृढता सारा मानवजातिको लागि उत्कट प्रेरणाको स्रोत बनेको छ । एक तरूण शाक्यको भद्र एकल अवज्ञा अभियान जसले बहुमतको गलती कुरालाई शिरोधार्य गर्नुभन्दा आत्मदण्डको महान पथ रोजे । विलक्षण उदाहरण स्थापित गरे । तर आत्मदण्डको अवसरलाई आत्मग्लानि वा कुनै प्रतिशोध साधनको माध्यम बनाएनन् । बुद्धमा राजसी कुलको कुनै मिथ्या अभिमान, अहंकार कहिल्यै बोलेन । शाक्य र कोलियहरूको विवादमा आफ्नै गल्तीलाई पनि दृढतापूर्वक उजागर गर्नसक्ने बुद्ध, युद्धको निरर्थकतालाई निर्भिकतापूर्वक वहस गर्नसक्ने बुद्ध हाम्रा प्रेरणाका अजस्र स्रोत हुन् । बुद्धका भावनालाई निष्ठापूर्वक आत्मसात गर्न तयार हुनसके आज अलंघनीय देखिएका हाम्रा यावत समस्या, सङ्कट र सङ्क्रमणबाट हामी पार हुनेमा शङ्का छैन । नेपालका महात्मा पुत्रलाई हार्दिक श्रद्धाञ्जलि ।

Friday, January 27, 2017

सोनाम ल्होसार

विश्वका विभिन्न भागमा अवस्थित मानव समुदायले आफ्नो विशिष्ट जीवनशैली, जीवनपद्धति, धर्म, संस्कृति, रीतिस्थिति, चालचलन, रहनसहन, भेषभूषा र भाषाको विकास गरेका हुन्छन् । त्यही विशिष्टताका आधारमा उनीहरूले आ–आफ्ना मौलिक पहिचान, उत्सव र चाडपर्व मनाएर आफ्नो देश, क्षेत्र र जातिको पहिचान र परिचय प्रदान गर्दछन् । यिनै मौलिक चाडपर्वमध्ये एउटा पर्व हो - ल्होसार । यो पर्व विश्वका बौद्ध धर्मावलम्बी मङ्गोल जातिहरूका साथसाथै नेपालमा बसोबास गर्ने समस्त बौद्ध धर्मावलम्बीको धार्मिक, सामाजिक र सांस्कृतिक दृष्टिकोणको महत्त्वपूर्ण चाड हो । समस्त बौद्ध धर्मावलम्बीहरूले नयाँ वर्षका रूपमा मुख्य र विशिष्ट पर्वका रूपमा ल्होसार मनाए पनि यसलाई मनाउने तिथिमिति र नामकरण भने फरकफरक रहेको पाइन्छ, सोनाम ल्होसार नेपालका तामांगहरूले मनाउने ल्होसार हो ।

तामाङ भाषामा ल्हो भन्नाले वर्ष र छार वा सार भन्नाले नयाँ भन्ने अर्थ लाग्दछ । अर्थात् एकसाल समाप्त भएर अर्को सालको आगमन हुनुलाई ल्होसार भनेर बुझिन्छ । नेपालका तामाङलगायतका हिमाली समुदायले मनाउने नयाँ वर्ष हो - सोनाम ल्होसार, सोनाम अर्थात् किसान, यसकारण यस ल्होसारलाई किसानको ल्होसार पनि भनिन्छ । ल्होसार पर्व बाली लगाउने बेलामा सुरु हुन्छ ।काठमाडौं उपत्यकासँग जोडिएर मन्जुश्रीको नाम आउने गर्छ । मन्जुश्रीलाई तामाङहरूले जाम्बे याङ भन्छन् । उनीहरू तिनै जाम्बे याङले नै विश्वमा पहिलो पात्रो बनाएका थिए भन्ने विश्वास गर्दछन् । त्यही पात्रोअनुसार ल्होसार पर्व मनाउने गरिन्छ । प्रत्येक सोनाम ल्होसारका दिन नयाँ मञ्जुश्री वर्ष प्रारम्भ हुन्छ । यो संवत् नेपालमा प्रचलित विक्रम संवत्भन्दा ७८० वर्ष जेठो मानिन्छ । जाम्बे याङ धर्म प्रचारका क्रममा चीनतिर जाँदा उनले बनाएको पात्रोलाई लिपिबद्ध गरियो । नेपालमा चाहिँ उनले सुरु गरेको संस्कृतिमात्र अवशेषका रूपमा रह्यो । तिब्बतमा आइपुग्दा राजा (ग्याल्बो)ले मान्ने र जनसाधारण (सोनाम) ले मान्ने गरी दुई थरीका ल्होसार मनाउने चलन बस्यो । त्यसैले तिब्बतमा पनि जनताले मान्ने ल्होसार सोनाम ल्होसार नै हो । चंगेज खाँले ल्होसारको दिन तिब्बत विजय गरेछ, जनताले त्यस वर्ष ल्होसार मनाउन पाएनन् । दलाइ लामा (राजा लामा) लाई राजाका रुपमा स्थापना गरेपछि युद्धका कारण ल्होसार एक मिहना ढिला भयो र उनले अबदेखि एक महिनापछि ल्होसार मनाउनू भने । त्यो ल्होसारलाई ग्याल्बो ल्होसार भनिन्छ । ग्याल्बोको अर्थ हुन्छ राजा । तर त्यो ल्होसार जनताले होइन लामा र राजाहरूले मात्र मनाउँछन् ।

इतिहासलाई नियालेर हेर्ने हो भने विभिन्न प्रकारका जनावरहरूलाई प्रतिनिधित्व गराई वर्ष गणना गर्ने परम्परा नाग्ची ज्योतिष परम्परा विश्वकै पुरानो परम्परा हो । हुन त यस पर्वलाई बौद्ध धर्मावलम्बी मङ्गोल समुदायले नयाँ वर्षको रूपमा मानेको देखिए पनि यो पर्व उनीहरूको धर्म, संस्कृति, जीवन, जन्म, विवाह र मृत्युसँग घनिष्ठ ढङ्गले जोडिएको हुन्छ । यस समुदायमा मानिसको जन्म हुँदा ल्होका आधारमा नै नामकरण गरिन्छ । कुन ल्हो ? के खाम ? के मेवा ? के पार्खा ? भनी विवाहमा पनि दुलाहा र दुलहीको ल्हो र खाम हेरेर/मिलाएर मात्र विवाह गरिन्छ भने मृत्युमा पनि सिन्ची (मृत्यु) ज्योतिष हेरेर मात्र लाश लाने र छुने परम्परा छ । यसरी ल्होसारको विशिष्ट सांस्कृतिक महत्त्व रहेको देखिन्छ । तामाङ जातिहरूको सेलो (सामुहिक नाच) नाच्ने, गाउने, दोहोरी खेल्ने, म्हेन्दोमायालगायत टुङ्ना र डम्फूको तालमा फापरे दोहोरी गाउने परम्परालगायत छ्युवा ग्यान्छ्या (जातीय पोशाक) यही पर्वमा लगाउने  चलन छ ।

नयाँ वर्षलाई स्वागत, अभिनन्दन गर्ने क्रममा स्थान, समय र अवस्थानुसार भिन्नभिन्न समुदायमा विभिन्न परम्परा विद्यमान रहेको पाइन्छ । यसै क्रममा नेपालमा बसोबास गर्ने तामांगहरूले सोनाम ल्होसार माघ महिनाको शुक्ल पक्षको प्रतिपदा तिथिका दिन मनाउने गर्दछन् । ‘सोनाम ल्होसार’ को शाब्दिक अर्थ हुन्छ, कृषकहरूले मान्ने ल्होसार । सम्भोटा लिपीअन्तर्गत भोट वर्मेली भाषा परिवारको सम्भोटा भाषामा सोनाम शब्दको अर्थ पुण्य र कृषि भन्ने हुन्छ । बौद्ध धर्मावलम्बी तामाङलगायत संसारभरि बसोबास गर्ने मानव समुदाय कृषि तथा खेतीपातीमा नै निर्भर छन् र कृषिविना सजीव जीवनको कल्पनासम्म गर्न नसकिने भएकाले सङ्ख्यात्मक र व्यापकताको हिसाबले कुनै पनि चाडपर्व कृषिजीवनसित सम्बद्ध हुनु स्वाभाविक नै मान्नुपर्दछ । त्यसैले किसानहरूको नयाँ वर्ष अर्थ वहन गर्ने सोनाम ल्होसार आफैंमा जीवन्त र विशिष्ट पर्व हो । त्यसैले यस पर्वलाई पूर्ण प्राकृतिक र वैज्ञानिक चाड मान्न सकिन्छ ।

तिब्बती पात्रो चान्द्रवर्षमा आधारित पञ्चाङ्ग गणना गरी प्रत्येक वर्ष (लो) को बाह्रौं (पौष/माघ) महिनाको समापनमा पर्ने माघ शुक्ल पक्षको प्रतिपदा तिथिका दिन सोनाम ल्होसार पर्व पर्दछ । यस दिनदेखि सूर्य, चन्द्र, ग्रह, नक्षत्र, तारालगायत सौर्य मण्डलका ग्रहहरू दक्षिणी क्रान्तिवृत्तमा पर्ने मकर रेखाबाट उत्तरी क्रान्तिवृत्तको कर्कट रेखातर्फ सर्न थाल्दछन् । दिन लामा र रात छोटा हुँदै जान्छन् । पृथ्वीमा तातोपनाको महसुस हुन्छ । चराचुरुङ्गीहरूले पनि बासस्थान परिवर्तन गर्दछन् । झारपात, रुखबिरुवा, उम्रन थाल्छन् । कृषकहरू पनि वर्ष दिनसम्म पुग्ने खाद्यपदार्थको जोहो गर्न आफ्नो खेतबारीमा खनजोत गर्न थाल्छन् । यस दिन सोनाम ल्होसार पर्व मनाउने समुदायमा तिब्बतका कृषकवर्ग, नेपालका तामाङ जनजाति, भारतको कस्मिर प्रान्तमा बसोबास गर्ने लद्दाख र ह्योल्मो जनजाति पर्दछन् । त्यसबाहेक यो नववर्षको खुसियाली चीन, मङ्गोलिया, जापान, कोरिया, हङकङ, भियतनाम, लाओस्, थाइल्याण्ड, श्रीलङ्का, ताइवान, भुटान, मलेसिया, सिङ्गापुर आदि राष्ट्रमा पनि मनाउने गर्दछन् ।

‘लोछार वा सार’ भन्नाले नयाँ वर्ष भन्ने अर्थ लागेतापनि यसको ज्योतिषशास्त्रसँग घनिष्ठ सम्बन्ध हुने हुन्छ । मञ्जुश्री खगोलशास्त्रका आधारमा चन्द्रमा, सूर्य, नक्षत्र, ग्रह, उपग्रह र पृथ्वीको गतिस्थितिको गणित फलको आँकलन हो । मुख्यतः ल्होसार अनुगामीहरूको समाजमा ‘लो’ गन्ने परम्परा नाग्ची र कारची ज्योतिषशास्त्रको आधारमा गरिन्छ । नाग्ची भनेको मञ्जुश्री खगोलशास्त्र चीनबाट प्रचार भएको र कारची भनेको कालचक्र परम्परा भारतबाट प्रचार भएको ज्योतिषशास्त्र । यी दुवै ज्योतिषशास्त्रलाई निर्माण गरी स्वतवैदूर्य नामक ज्योतिषशास्त्र रचना भएको छ । महिनाको ल्हो गणना गर्दा (तागदावा) बाघमहिना पौष, खरायो महिना माघ गर्दै गरुड, सर्प, घोडा गर्दै १२ महिना गन्ने प्रचलन छ । दिनको वर्ग गणना गर्दा ६ वटा वर्ग पुरुष र ६ वटा वर्ग स्त्रीमा छुट्याइन्छ । पुरुष महिना उदय भएमा, परेवा तिथि - बाघ, द्वितीया - खरायो गनेर लानुपर्दछ । तर स्त्री महिना परेमा बाँदर - परेवा, चरा -द्वितीया गरेर ३० वटा तिथि अर्थात् औँसीको दिनमा गोरुमा लगेर टुङ्ग्याइन्छ । १ दिनमा २४ घण्टा हुन्छ र त्यस समयमा २।२ घण्टाको ल्होले भोग गर्दछ । समयनुसार रातको ११ बजेदेखि १ बजेसम्म मुसा वर्ग, १ बजेदेखि ३ बजेसम्म गोरु वर्ग गर्दै बाह्र वटा वर्गले १ दिन १ रात भोग गर्दछन् । बाह्र वर्गसँग ५ खाम पनि सँगै हुन्छन् । जसमा काष्ठ, अग्नि, पृथ्वी, फलाम र जल तत्त्व गरी पाँचवटा खाम (तत्त्व) हुन्छन् । यी तत्त्वहरू पुरुष र स्त्री हुन्छन् अर्थात् यीङयाङ खामलाई ब्रह्माण्डको वस्तुस्थितिसँग तुलना गरिन्छ भने सजीव प्राणीहरूको विभिन्न अङ्गसँगै ५ इन्द्रियसँग र शरीरमा लाग्ने रोगहरूसँग तुलना गरिन्छ । जसमा काष्ठ (कलेजो, आँखा), अग्नि (मुटु, जिब्रो), माटो (फियो, ओठ), फलाम (फोक्सो, नाक), जल (मिर्गौला, कान) लाई लिइन्छ । यी माथिका १२ वटा वर्गहरू ५ वटा तत्त्वसँग मिलन हुँदै जाँदा ५ फन्को पूरा गर्दा पुनः त्यही वर्ग र त्यही तत्त्व ६० वर्षमा दोहोरिन्छ जसलाई १ राप्लो (संवत्सर) भनिन्छ ।

मुसा, सुँगुर र गोरु :
आदिवासीहरू जब कृषि समाजमा प्रवेश गरे उनीहरूका लागि बालीनाली लगाउने समयतालिका आवश्यक पर्यो । जसअनुसार १२ वर्षको एक युग मानियो । यी १२ वर्षलाई चरा, कुकुर, बँदेल, मुसा, गोरु, बाघ, बिरालो, सर्प, गरुड, घोडा, भेडा, बाँदर आदि १२ वटा जीवजन्तुको प्रतीकद्वारा चिनाउने गरिन्छ । मुसा चाहिँ जेठो ल्हो मानिन्छ । कान्छो ल्होको नाम चाहिँ बँदेल (सुँगुर) हो । भनाइ के छ भने अन्नको सबैभन्दा पहिले जगेडा मुसाले गर्यो । मुसाबाट मान्छेले अन्नबाली थाहा पाए । मंगोलहरू मुसा खाने जाति हुन् । मुसा खोज्दै जाँदा प्वालमा उनीहरूले अन्न फेला पारे । मुसाको प्वालमा फेला पारेको अन्न फाल्दाखेरि त्यो उम्रियो, फल्यो । त्यसबाट खेतीको सोच विकास भयो । अन्नको संरक्षकको रुपमा मुसालाई मान्नुको सामाजिक विश्वास यस्तो रहेको छ ।

मंगोलहरू मन्चु, मङ र हाङ तीन भागमा विभाजित भएका छन् । कोरियाली, जापानीहरू मन्चु खलक हुन् । मन्चुहरूको मुख्य मासुजन्य भोजन गोरु हो । तिब्बत हुँदै हिमाली भूभागबाट आएकाहरूको मुख्य भोजन पिठो भयो । उनीहरूले मासुजन्य भोजनमा चौंरी, भेडा, च्यांग्रा खाने गर्छन् । हाङहो नदी पछ्याउनेहरू हान भए । चिनियाँहरू आफूलाई हान भन्छन् । हानहरू चाहिँ धान फल्ने र सुँगुर पाइने बाटोबाट आएका कारण उनीहरूको खाद्यमा धान र सुँगुर भयो । उनीहरूलाई हिन्दूहरूले किरात नाम दिएका हुन् । गोरु चाहिँ तीनैथरि मंगोलहरूको साझा मासुजन्य भोजन हो ।

ल्होसारपछि खेतीपाती सुरु
ल्होसार मनाउने क्रममा कोदोको पिठोबाट १२ जीवजन्तुको प्रतीक बनाएर पानीमा पकाउने गरिन्छ । त्यो पकाइएको १२ वटा जीवलाई काटेर परिवारको मूलीले सबैलाई बाँडेर खाने र खुवाउने काम हुन्छ । जुन ल्हो चल्दैछ त्यसको प्रतीकलाई सबैभन्दा ठूलो बनाइन्छ र अरु ११ वटा जीवजन्तुलाई चाहिँ सानो बनाएर पकाउने गरिन्छ । ल्होसारको दिनदेखि नयाँ बिउ राख्न सुरु हुन्छ । ल्होसारको दिन बेस्सरी हिउँ पर्नुपर्छ भन्ने विश्वास गरिन्छ । हिउँ पग्लिएपछि नयाँ बिउ राख्दा राम्ररी उम्रिन्छ, त्यो वर्ष अन्नको सह धेरै हुन्छ भन्ने विश्वास छ । ल्होसार मानिसकेपछि किसानहरू खेतीपातीमा लाग्ने गर्छन् ।

पारिवारिक जमघट
ल्होसार मुख्यतः ७ दिन विशेष रुपमा मनाइन्छ । घरपरिवार, नातागोताका बीचमा भेटघाट र खानपान चल्छ । दाजुभाइमध्ये सबैभन्दा जेठोको घरबाट भेटघाट र खानपान सुरु हुन्छ र पालैपालो सबै दाजुभाइको घरमा पालैपालो गरिन्छ । यस्तो क्रम दुईतीन महिनासम्म चलिरहन्छ । हिन्दूहरूका लागि जसरी दशैंतिहारको महत्त्व छ, तामांगलगायत ल्होसार मनाउने जनजातिमा ल्होसारको त्यति नै ठूलो महत्त्व छ । ल्होसार धर्मसँग नजोडिएको कृषि संस्कृति हो । तर, ग्याल्बो ल्होसारलाई चाहिँ लामाहरूले धर्मसँग जोड्ने गर्छन् ।

ल्होसार कसरी मनाइन्छ ?
ल्होसार विश्वकै पुरानो पर्व हो । मञ्जुश्रीले प्रारम्भ गरेको पात्रो गणनाको समय २८५० वर्षभन्दा बढी भैसकेको छ । यसै पात्रोका आधारमा यो पर्व मनाइने भएकाले ल्होसारको प्राचीनता पनि त्यत्ति नै वर्ष पुरानो रहेको विश्वास गरिन्छ । सुरुमा ल्होसार शुक्ल पक्षको परेवादेखि पूर्णिमासम्म विभिन्न धार्मिक र सांस्कृतिक विधिविधानको पालना गरी मान्ने गरेको इतिहास छ, तर हिजोआज प्रायशः एक दिन मनाउने चलन छ । नयाँ कपडा लगाउने, मिठो खाने, मनोरञ्जन गर्ने तरिका अन्य समुदायले मान्ने चाडबाडजस्तै देखिए तापनि ल्होसार पर्व आउनु ८/१० दिन अगावै गुम्बा, घर, धर्मशाला, चौतारा आदि सरसफाई गरी रङ्गरोगन गर्ने, ध्वजापताका (लुङ्दार) टाङ्ने र सजाउने काम गरिन्छ । चान्द्र गणनाबमोजिम तिब्बती बाह्रौं (पौष) महिनाको उनन्तीसौं दिन (माघ कृष्णपक्षको चतुदर्शी, ञीशुगु) का दिन गुम्बामा लामा, भिक्षु तथा गाउँभरिका भद्रभलादमी र महिला भेला भई ग्याब्सी पूजापाठ गर्ने, लामानृत्य (छ्याम) नाच्ने, पुरानो वर्ग (लो) को बिदाइ गर्ने र अशुभको प्रतिमूर्ति (तोरस्होर) फाल्ने गरिन्छ । त्यसै दिन साँझमा गुम्बा, पाटी, चौतारा र घरमा भएका पुराना फोहोरहरू बढारेर फोहोरसँगै मुला, जाँडको छोक्रा, पैसा, माटाका फुटेका भाँडाकुँडा, फाटेको लुगा, फाटेका जुत्ताचप्पल तथा भुतप्रेतलाई मनपर्ने सामानहरू जम्मा पारी च्यातिएको नाङ्लोमा राखी लामा धर्मगुरुहरूको मन्त्रोच्चारण र स्वस्तिवाचनका साथमा पटाका र ताली, चुट्की पड्काउँदै जलाउने र फाल्ने काम गरिन्छ । त्यसै दिन ल्होसारको भोज्य पदार्थ नौ प्रकारको गेडागुडी पकाएर गुथुग्पा खाने चलन छ । त्यसरी गुथुप्का खाँदा बाँकी रहेको जुठो र फोहोर पनि पुनः दोबाटोमा नै लगेर सेलाउने चलन छ ।

भोलिपल्ट तिब्बती बाह्रौं (पौष/माघ) महिनाको तीसौं दिन (माघ कृष्ण अमावस्या) का दिन बिहानै नुवाइधुवाई गरी दिनभरि घरको छ्योश्याम (पुजाकोठा) मा ल्होसारका विभिन्न प्रकारहरू (खाप्से, छेमार, फलफुल, याङछ्याङ्, ङोफु (जमरा) छेरिल आदि मिलाएर सजाउने गरिन्छ र टोटलाको फूलको माला उनेर पुजाकोठा सजाइन्छ । त्यस दिनको रात औसीको रात तथा पुरानो वर्षलाई विदाइ गर्ने रात्री भएकाले घरवरिपरि चारै दिशामा मार्मे (दियो/बत्ती) बाल्ने गरिन्छ । छ्योसाम (पूजाकोठा) मा मैदाको पिठो मुछी देब्रेहातको साहिली औला चोबेर औंलाको चक्रले वर्षभरि सह होस् भन्ने कामना गर्दै चक्रछाप हाल्ने गरिन्छ । औंसीको भोलिपल्ट बिहान ५ बजेबाट नयाँ ल्हो उदय भएको मानिन्छ ।

नयाँ ल्होको प्रथम दिन (माघ शुक्लपक्षको परेवाको दिन) प्रत्येक घरको मूली बिहानै उठी नुहाइधुवाइ गरी धारा वा कुवामा गई तीन टुक्रा ढुङ्गा चाङ लगाएर नैनीघ्यूको ३/३ वटा टीका लगाई ल्होसारका परिकार खाप्से, फलफूल, खादा र धूपबत्ती गरेर तीनपटक पानीको स्रोतलाई नाग राजा र जलदेवता सम्झी ढोग्ने चलन छ । ल्होसारकै अवसरमा उत्तरायण प्रारम्भ हुने विश्वासले त्यसपछि उत्तरपूर्व (ईशान) कोणपट्टि फर्केर शुद्ध पानी भरी पुजाकोठामा लगी छ्योपा (तिङ) मा उक्त पवित्र जल हाल्ने गरिन्छ । यसरी जल भर्दा वर्षभरि नागद्वारा हुने भय, एलर्जी, घाउखटिरा, सुनिने, टाइफाइट जस्ता पानी र नागद्वारा हुने रोगव्याधि र असरबाट छुटकारा पाइन्छ भन्ने जनविश्वास छ । त्यस दिन अमृत योग पारेर घरमूली र अन्य मान्यजनले आफूभन्दा मुनिका जहान र बालबच्चालाई आशीर्वाद प्रदान गर्नुका साथै खादा गुतिदिने र यथाशक्य दानदक्षिणा दिने गरिन्छ । त्यसपछि नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दै ल्होसारका लागि तैयार गरिएको भोज्य पदार्थ खाने, रामरमाइलो गरी नाचगान गर्ने र गुम्बा तथा मन्दिरमा जाने गरिन्छ । धार्मिक र सामाजिक कार्यबाहेक अन्य कार्य गर्दा वर्षभरि अशुभ र हानि हुने भएकाले तामाङ समुदायमा ल्होसारका दिन कुनै पनि नयाँ कामकारोबार गर्न निषेध गरिएको छ ।

ल्होसारको दोस्रो दिन (माघ शुक्ल द्वितीयाका दिन) आफन्तहरूसँग भेटघाट गर्ने, मान्यजनको घरमा गई आशीर्वाद, खादा, छेछ्याङ (अमृत), छेमार (पिठोको सगुन) ग्रहण गर्ने चलन छ । यसरी आशीर्वाद ग्रहण गर्दा मान्यजनले टासी देलेग फुन्सुमछोग ज्याबाडान्बा ( मङ्गलमययुक्त यो नयाँ वर्ष बितोस्) र आशीष थाप्नेले ताग्तुदेवा फुन्सुमछोग या थुजेछ (शुभकामना सफल होस्)  भन्ने गरिन्छ ।

ल्होसारको तेस्रो दिन (माघ शुक्ल तृतीयाका दिन) टाढाटाढा बसोबास गर्ने आफन्तकहाँ जानेआउने क्रम सुरु हुन्छ । त्यसदिन स–परिवार सार्वजनिक स्थलमा भेला भई छेलो हान्ने र धनुवाण हान्ने खेल खेल्ने तथा सेलो नाच्ने, संस्कृति झाँकी प्रदर्शन गर्ने एवं अन्य विविध धार्मिक/सामाजिक नाटक प्रदर्शन गर्ने कार्य हुन्छ । त्यसै दिन बेलुका गुम्बामा भेला भई सामुहिक कुलपूजा, धर्मपाल पूजा, लामागुरुहरूद्वारा बुद्धशासन र प्रवचन एवं स्थानीय देवदेवीका मन्दिरमा सामुहिक पूजाआजा गर्ने चलन छ । यसरी पूजा गर्दा सहभागी प्रत्येकले हातमा पिठो वा सातु बोकी एकै स्वरमा तीन पटक किकी सोसो ल्हाग्पाल्लो (देवताको जय जय होस्) भन्दै आकाशै सेताम्मे हुने गरी पिठो उडाउँछन् । यसरी पिठो उडाउँदा व्यक्तिको आयु, स्वास्थ्य, शक्ति, भाग्य र विजयको अभिबृद्धि हुन्छ भन्ने धारणा रहेको पाइन्छ ।

ल्होसारमा प्रयोग गरिने परिकारहरू
गुथुग्पा : अघिल्लो वर्षको ल्होसार मानेपछि आफ्ना खेतबारीमा उब्जिएका नौ प्रकारका गेडागुडीलाई गुथुग्पा भन्ने गरिन्छ । केराउ, मटर, चना, मुगिदाल, भटमास, मुला, च्याउ, सिमी र हरियो सागसब्जी राखी आटा वा मैदाको मसिना डल्ला बनाई एकआपसमा बाँड्ने र त्यस डल्लोलाई फुटाएर आफ्नो भाग्य परीक्षण गर्ने गरिन्छ । आटाको डल्लामा नुनको ढिका, खुर्सानी, घ्यु, कोइला, कपास, सिन्का, राखेर आ–आफ्नो भागद्वारा खोलेर हेर्दा त्यसभित्र त्यसभित्र नुन परेमा दीर्घायु, खुर्सानी परेमा बिरामी, कोइला परेमा अभागी, कपास परेमा धनी, सिन्का परेमा चिन्ता बढ्ने आदि फलादेश गर्ने चलन पनि छ ।

खाप्से : खाप्से एक किसिमको खाद्य पदार्थ हो । यसलाई मैदाको पिठो मुछेर त्यसमा, चिनी, मिश्री, मह, घिउ, सुकुमेल, कालोजिरा मिसाएर तेलमा तारेर दोर्जे, दोर्जे ग्याडाम, धर्मचक्र/तारा आदि विभिन्न कलापूर्ण आकृति बनाइन्छ । यसलाई १५ दिनसम्म सजाएर राख्नु पर्दछ र यसलाई सुस्वास्थ्यको प्रतीक मानिन्छ ।

छेमार : चामल वा गहुँको सातुमा चिनी, मिश्री मह, दुध, दही, घिउ, ल्वाङ, सुकुमेल, अलैँची र जाइदाना मिलाएर नमुछी काठको कलात्मक बाकसमा वा नहुँदा बटुकामा चुली पारेर राख्ने र चुलीमाथि गहुँ वा जौको बाला गाड्ने गरिन्छ । जौ वा गहुँको बालाको अभावमा मसिना सिन्कालाई पाँच वटा भिन्नाभिन्नै रङ्गले रङ्ग्याएर आटाको जौ बनाई तेलमा तारेर राख्ने चलन छ । यसरी बनाइएको चुलीलाई नै छेमार भन्ने गरिन्छ । घरमा ल्होसार मान्न आउने परपाहुनालाई चम्चाले चुलीको एकापट्टिबाट कोट्याउँदै सगुनका रूपमा वितरण गरेमा दिने/लिने दुबैको आयुबृद्धि हुन्छ भन्ने मान्यता छ ।

ड्यासिल : चिनी, मिश्री, मह, घिउ, किसमिस, नरिबल, ल्वाङ, सुकुमेल मिसाएर दुधमा पकाइएको एक किसिमको सुख्खा किसिमको खिर (ढकने) लाई ड्यासिल भन्ने गरिन्छ । ल्होसारमा यसरी ड्यासिल पकाएर खाएमा ज्ञान र शक्ति बढ्छ भन्ने परम्परा रहेको छ ।

याङ्छ्याङ : चामल वा गहुँको छ्याङ् (जाँड) मा चिनी, मिश्री, मह मिसाएर घोली त्यस घोलमा तात्तातो नौनी घिउ हालेर त्यसलाई एउटा काँसे बटुकामा राखी त्यो घिउ जमेपछि बनेको भोज्य पदार्थलाई याङ्छ्याङ भन्ने गरिन्छ । यसरी तैयार भएको याङ्छ्याङ ल्होसार पर्व मान्न आउने परपाहुनालाई एउटा सानो चम्चाले पन्ध्र दिनसम्म वितरण गर्ने गरिन्छ । यसरी याङ्छ्याङ खानाले वर्षभरि सह हुने विश्वास छ, तामाङ समुदायमा ।

छेरिल : गहुँको सातुमा हल्का चिनी, मिश्री, मह, दुध, दही, घिउ, सुकुमेल, ल्वाङ, जाइदाना, अलैँची आदि आवश्यकताअनुसार मिसाएर बनाएको ससाना रिल्बु (डल्ला) लाई छेरिल भन्ने गरिन्छ । यसरी छेरिल बनाएर ल्होसारमा सजाउने गरिन्छ, पछि ल्होसार मान्न आउने परपाहुनालाई एकएकवटा छेरिलका डल्ला वितरण गर्ने चलन छ । यसरी छेरिल खाएमा आत्मबल बढ्छ, यसलाई सत्त्व र प्राणको प्रतीक मान्ने गरिन्छ ।

ङोफू : ङोफू भनेको गहुँ, जौ, वा, मकै र धान गरी पाँच किसिमका अन्न उमारेर बनाइएको जमरा हो । ल्होसारमा जमराको प्रयोग गरेमा अनिकाल, जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, अतिवृष्टि, अनावृष्टि आदि अकालबाट कृषकलाई जोगाउँछ भन्ने मान्यता रहेको पाइन्छ । यसरी जमरा उमार्दा एक महिना अगाडि नै अन्नको बिउलाई सफासँग धोएर २ वटा गमलालाई घाम लाग्ने ठाउँमा राखी त्यसमा जमरा उमार्नु पर्दछ । यसरी बिउ राखेको ठिक एक महिनापछि ङोफू (जमरा) सजाउनु पर्दछ ।

बाबरग्याङ : तामाङ जातिको विशेष रोटी सेलरोटी नभई बाबर रोटी (बाबरग्याङ) हो । यसलाई कुलपूजा वा पितृपुर्खाको सम्झना गर्ने सिलसिलामा चढाउने चलन छ ।

यस बाहेक ल्होसारको अवसरमा कन्दमूल फलफूलहरू रितेमे (वनतरुल) लगायत सखरखण्ड, पिडालु, आलु, गिठ्ठो र भ्याकुरलगायत घरतरुल खाने र सजाउने, त्यस्तै आलुम (गहुँ वा कोदोको पानी रोटी), फोल्दोङ (गहुँ वा फापरको पिठोद्वारा बनाइएको नासपाती वा स्याउ आकारको फल) आदि पनि बनाउने, सजाउने र खाने तथा वितरण गर्ने गरिन्छ । फोल्दोङलाई स्वर्गको कल्पवृक्ष मान्ने गरिन्छ ।

यसरी विश्वकै प्राचीन र प्राकृतिक पर्व ल्होसार नेपाल लगायत विश्वभरिकै मङ्गोल मूलका व्यक्तिहरूका लागि सबैभन्दा ठूलो चाड हो भने नेपाली संस्कृतिको अभिन्न, अमूल्य र अद्वितीय निधि हो ।