Showing posts with label प्रदोष व्रत. Show all posts

Sunday, June 10, 2018

मनोरोग र मानसिक सन्तापको निवारणका लागि : सोमप्रदोष व्रत

सोमबारका दिन त्रयोदशी तिथिको संयोग भएको दिनलाई सोमप्रदोष भनिन्छ। प्रदोषकाल साँझको समयमा हुने भएकाले यस्तो संयोग पनि साँझको समयमा भयो भने सोमप्रदोषको व्रत लिइने गरिन्छ। यस व्रतको महात्म्य दर्शाउने कथाहरू विभिन्न धर्मग्रन्थमा उल्लेख भएको पाइन्छ । तिनैमध्ये एउटा कथाप्रसङ्ग यहाँ उल्लेख गरिन्छ :-

स्कन्दपुराणमा उल्लेख भएअनुसार प्राचीन कालमा एउटी विधवा ब्राह्मणी आफ्नो पुत्रको पालनपोषण गर्ने उद्देश्यले भिक्षाटन गर्दथिन् । गाउँगाउँमा भिक्षा मागी आएको अन्नादिबाट यिनको जीविका चलेको थियो । छोरालाई घरमैं छाडेर बिहानै बाहिरिन्थिन् र दिनभरि बटुलेको भिक्षा लिई साँझमा घर आउँथिन् । एकदिन त्यसरी नै भिख मागेर घर फर्कंदै थिईन्, उनले नदीको किनारमा धुलोमैलोले लतपतिएको एउटा सुन्दर बालकलाई रोईकराई विलाप गर्दै गरेको अवस्थामा देखिन् । वरपर कोही पनि थिएन । बालकको नजिकै गएर उसको परिचय लिने प्रयास गरिन् । विचरो बच्चो राम्ररी आफ्नो परिचय बताउन पनि सक्दैनथियो । आत्तिए झैं र असाध्यै डराए जसरी एकोहोरो रोई मात्र रहन्थ्यो । यिनको मातृहृदय मायाले ओतप्रोत भयो । उनले घरमा छाडेर आएको आफ्नै छोरालाई सम्झिइन् र त्यो बच्चोलाई टिपेर घरमा ल्याईन् । नुवाइधुवाइ गरी खानपान गराई फकाइफुल्याई गरी आफ्नो छोरो र उसलाई आफूसँगै सुताईन् । भोलिपल्टदेखि भिक्षामा बाहिर जाँदा आफूले बाटामा भेटेको बालकका मातापिता भेटिन्छन् कि भनी खोजीनीति पनि गरिन्, तर बालकको परिचय प्राप्त गर्न सकिनन् । समय बित्दै गयो, ब्राह्मणीका दुबै बालकहरू शुक्लपक्षको चन्द्रमा जसरी नै हुर्कंदै गए । ती ब्राह्मणीमा भगवान् शिवप्रति अगाध श्रद्धाभक्ति थियो तथा यिनी दया, ममता र परोपकारकी प्रतिमूर्ति नै थिईन् । दुबै बालकहरूलाई साथमा लिएर एकदिन ब्राह्मणी नजिकै रहेको शिवालयमा गएकी थिईन् । त्यहाँ उनको ऋषि शाण्डिल्यसित भेट भयो । शाण्डिल्य ऋषि ब्रह्मज्ञानी र त्रिकालदर्शी विद्वान थिए । उनले ब्राह्मणीले भेटेको बालकलाई देख्नासाथ चिने र बाहुनीलाई भने, हे ब्राह्मणी, तिमीसँग भएको यो सुन्दर बालक विदर्भ देशको राजकुमार धर्मगुप्त हो । यसका पिता यशोगुप्त शत्रुसँग भएको युद्धमा मारिएका हुन् । यसका पिताको मृत्युपछि शत्रुपक्षको राजाले विदर्भ देशको शासनाधिकार लगायत यिनीहरूको राज्यवैभव खोसेर यसकी आमाका साथमा यसलाई पनि राज्यबाट निकालिदियो । यत्रतत्र भौंतारिंदै गर्दा एउटा नदी तर्ने क्रममा यसकी आमालाई गोहीले खायो । त्यसै बेला नदीको किनारमा तिमीले यस बच्चालाई भेट्यौ र आफ्नो छोरासँगै पालनपोषण गर्न थालेकी हौ । त्यसपछि ऋषि शाण्डिल्यले ब्राह्मणीलाई प्रदोष व्रत लिने सल्लाह दिए । ऋषिको आज्ञा पाएपछि ती बाहुनी र उनका दुबै छोराले प्रदोष व्रत लिन थाले । संयोग तिनीहरूले प्रदोषको व्रत थालेको दिन र उद्यापन गरेको दिन पनि सोमबार परेको थियो । यसरी प्रदोषको व्रत गर्दै ब्राह्मणी परिवारका समयहरू बित्दै गए । 

अब दुबै बालक किशोरावस्थाबाट युवावस्थामा पुगे । यस्तैमा एक दिन दुबै बालक एउटा सुन्दर र रमणीय वनमा विचरण गर्दै थिए । त्यसै वनमा गन्धर्वका छोरीहरू पनि भ्रमण गर्न आएका थिए । केटी देखेपछि दुबै केटाहरू तिनको हाउभाउ र रूपरङ्गमा लट्ठिए । ब्राह्मण बालक सात्विक भावको थियो, ऊ आफूलाई नियन्त्रण गर्दै वनबाट बाहिरिएर घर आयो, तर राजकुमार ती कन्यासित हासपरिहास गर्दै लामो समयसम्म वनमा नै अलमलियो । ती कन्याहरूमध्ये गन्धर्व देशका राजा चित्राकरकी पुत्री राजकुमारी अंशुमती पनि त्यहीं थिई । अंशुमती र राजकुमार एकअर्काप्रति आशक्त हुनपुगे । उनीहरूको पिरती बस्यो । त्यसपछि धर्मगुप्त र अंशुमतीको भेटघाटले निरन्तरता पाई रह्यो । उनीहरूमा एकआपसको प्रेम, सद्भाव र विश्वासले अझ मौलाउने र झाँगिने अवसर पायो । राजकुमारी अंशुमतीका पिता गन्धर्वराज चित्राकर पनि भगवान् शिवका परम भक्त थिए । चित्राकरलाई एक रात सपनामा भगवान् शिवले दर्शन दिनुभयो र भन्नुभयो हे, राजन्, तिम्री छोरी कुनै युवकको प्रेमजालमा लट्ठ परी समय यापन गर्दैछ, उसले माया गर्ने गरेको त्यो केटो विदर्भ देशको पूर्वराजा यशोगुप्तको छोरो धर्मगुप्त हो । ऊ पिता युद्धमा मारिएर राज्यवैभव खोसिएकाले एउटी विधवा ब्राह्मणीको शरणमा हुर्कंदै छ । त्यसलाई बोलाएर तिम्री छोरी अंशुमतीको विवाह गरिदेऊ । सपना भङ्ग भयो । राजा ब्युँझिए, सपनाको कुरो हो कि होइन ? के हो ? भन्ने खुल्दुली मेटाउन उनले छोरीलाई बोलाए र सपनाको कुरो बताए । राजकुमारीले एउटी गरीब परिवारमा हुर्कंदै गरेको युवासँग आफ्नो प्रेम रहेको बताई । राजाले सपनामा देखेको कुरो यथार्थ हो भन्ने चाल पाए र भगवान् भोलेनाथप्रति मनमनै कृतज्ञता प्रकट गरे ।

बुवाको स्वीकृति पाएपछि गन्धर्वकन्याले राजकुमारसमक्ष विवाहको प्रस्ताव लिएर आफ्ना पितासँग भेट गर्न जानू भनेर अनुरोध गरी । राजकुमारले गन्धर्वराज चित्राकरलाई भेट्यो, त्यसपछि भव्य समारोहका बीचमा ती दुबैको विवाह सम्पन्न भयो । यसपछि राजकुमार धर्मगुप्तले गन्धर्वदेशका सेनाको सहायता लिई आफ्नो पुर्ख्यौली राज्य विदर्भ देशमा पुनः कब्जा गर्यो । ब्राह्मणीलाई राजमाताको दर्जा प्राप्त भयो । उसले ब्राह्मणपुत्रलाई प्रधानमन्त्रीमा नियुक्त गर्यो । यसरी दुःख र सङ्कटमा गुज्रिरहेको राजकुमारको जीवनमा पुनः सुखसम्मृद्धि र वैभवले प्रवेश पायो । ब्राह्मणी र उनको छोराका दिन पनि फिरे । प्राप्तिको यो पराकाष्ठा ऋषि शाण्डिल्यको उपदेश र प्रदोष व्रतको प्रतिफलबाट प्राप्त भएको थियो । स्कन्दपुराणमा स्पष्टसँग उल्लेख गरिएको छ, जो भक्तजनले सोमबार परेको प्रदोषव्रतबाट थालनी गरी प्रत्येक प्रदोष व्रतको उपवास गर्दछ र प्रदोष परेको दिन शिवपूजा गरी मध्याह्न कालमा एकाग्र चित्तले प्रदोष व्रतको कथा श्रवण गर्दछ, त्यसले सय जन्मसम्म कहिल्यै पनि दरिद्रताको दर्शन गर्नु पर्दैन ।

Friday, May 25, 2018

शनि प्रदोष व्रत

शनि प्रदोष व्रतको विधिवत् पालना गर्नाले सन्तान प्राप्ति हुन्छ । खासगरी पुत्रको कामना हुने दम्पतिले यस व्रतलाई विधिवत् सम्पादन गर्नु पर्दछ । पुत्रको कामना हुने पतिपत्नीले व्रतका दिन गुलिया खाद्यपदार्थहरू गाई, ब्राह्मण र गरिबगुरुबालाई वितरण गर्दा बढी लाभ प्राप्त हुन्छ । चन्द्रमा र शनिको युति भएका व्यक्तिहरूमध्ये बृष, मिथुन, कन्या, तुला, मकर र कुम्भ लग्न भएका जातकले यो व्रत आजीवन लिनु राम्रो हुन्छ । आजीवन व्रत सम्पादन गर्न कठिनाइ हुने मनुष्यले कम्तीमा १६ वटा, १६ महिना, १६ वर्ष आदि १६ को सङ्ख्या पुर्याएर व्रतको उद्यापन गर्नु पर्दछ ।

शनिप्रदोष व्रतको व्रतकथा
प्राचीन समयको कुरा हो । एउटा सहरमा शिवधन नाम गरेका वैश्य भौतिक सुखसुविधा र सम्पन्नताका साथमा वैभवपूर्ण जीवनयापन गरी बसोबास गर्दथे । उनको धन र वैभवको तुलना त्यस नगरमा अरु कसैसँग हुँदैनथ्यो । साहुजी अत्यन्त दयालु थिए । उनकहाँ पुगेको कुनै व्यक्तिले खाली हात फर्कनु पर्दैनथ्यो । जसलाई पनि उनी इच्छाएको वस्तु प्रदान गरेरै पठाउने गर्दथे । यसरी अर्काको सुख र हीत चाहने ती साहुजीका कुनै सन्तान थिएनन् ।

सन्तानहीनताका कारण ती वैश्यका पतिपत्नी अतीव चिन्तित थिए । बुढ्यौली आउन लाग्दा समेत सन्तान नभएको खिन्नताका कारण एक दिन ती दुबै दम्पतीले तीर्थमा गएर बाँकी जीवन बिताउने निर्णय गरे । आफ्ना समस्त कारोबार र व्यवसाय नोकरचाकरलाई सुम्पिएर ती साहुसाहुनी सहरबाट बाहिरिए । तिनीहरू त्यस नगरको सीमाबाहिर मात्र पुगेका थिए, उनीहरूले एउटा ठूलो रुखमुनि समाधि लगाएर बसेका एक जना साधुलाई देखे । हेर्दा ती साधु तेजस्वी देखिन्थे । यसभन्दा पहिले नदेखिएका ती साधुसित आशीर्वाद प्राप्त गरेरमात्र यात्रामा जाँदा राम्रो हुने विचार ती दुबैको मनमा आयो । समाधिस्थ योगीको आशीर्वाद ग्रहण गर्ने काम चुनौतीपूर्ण थियो किनभने उनी अविचल भई ध्यानपूर्वक समाधिमा लीन भई बसेका थिए । योगीलाई ब्युझाउँदा उल्टै रिसाउने र श्राप दिने डर पनि थियो ।

समाधिस्थ मुनिका सामु हात जोडेर धैर्यतापूर्वक उनको समाधि टुट्ने आशामा ती दुबै प्रतीक्षा गर्न थाले । बिहानदेखि नै  करबद्ध भएर बसेका साहुसाहुनी हात जोडेकोजोडै भए, साँझ पर्यो, रात पर्यो, रात बित्यो तर साधुको समाधि भङ्ग भएन । भोलिपल्ट उज्यालो भएपछि मात्र जोगी ब्युँझिए । वैश्य पतिपत्नी धैर्यपूर्वक हाथ जोड़ेर बसिरहेका थिए । आफ्ना अगाडि सहरका धनाढ्य व्यापारीका जोइपोइलाई देखेर मन्दमन्द मुस्कुराउँदै आशीर्वाद स्वरूप हात उचाल्दै मुनिले भने - ‘मैले तिमीहरूको अन्तर्मनको व्यथा पहिचान गरिसकेको छु अनि मेरो समाधि खुल्ने प्रतीक्षा गर्दागर्दै तिमीहरूले अज्ञानतामा नै ठूलो पुण्य प्राप्त गरिसकेका छौ । हिजो शनिबार र प्रदोष व्रत परेको महत्त्वपूर्ण दिन थियो । त्यसैले तिमीहरूको व्रत पूर्ण भएको छ । तिमीहरूलाई सन्तान प्राप्त हुनेछ । अब तीर्थवास गर्ने आवश्यकता छैन । बरु अहिले तीर्थयात्राका लागि जाओ र फर्किएर सँधै भक्तवत्सल भगवान् भोलेशङ्करको आराधना गरेर सुखी गृहस्थी जीवन आफ्नै घरमा बसेर यापन गर ।'

साधुका कुरा सुनेर प्रसन्न भएका ती दम्पत्तीले साधु र भगवान् भोलेशङ्करको भूरिभूरि प्रशंसा गरे र त्यसपछि आफूले नजानीकन लिएको प्रदोष व्रतको महात्म्य र व्रतविधान बताइदिन ऋषिसँग प्रार्थना गरे । साधुले निष्ठापूर्वक सम्पादन गर्दा सुयोग्य सन्तान दिलाउने शनि प्रदोष व्रत लगायत समस्त प्रदोष व्रतको महात्म्य र विशेषता बताएर व्रतसम्पादन गर्ने विधिविधान र नियम बताइदिए । मुनिसित आशीर्वाद र विदा प्राप्त गरी ती दम्पती त्यहाँबाट तीर्थयात्राका लागि बाटो लागे । तीर्थयात्रा पूर्ण भएपछि घरमा आएर शनि प्रदोष व्रतको दिनबाट सुरु गरी प्रत्येक प्रदोषका दिन निष्ठा र विधिपूर्वक व्रत लिन थाले । कालान्तरमा शिवधन वैश्यका घरमा एउटा सुन्दर पुत्रको जन्म भयो । यसरी शनि प्रदोष व्रतको प्रभावले ती वैश्यको जीवनमा छाएको अन्धकार लुप्त भयो । ती दम्पती पुत्र प्राप्त भएपछि आनन्दपूर्वक जीवनयापन गर्न थाले ।

त्यसैले पुत्रप्राप्तिको मात्र होइन, सन्तानको उन्नति, प्रगति, सुस्वास्थ्य र दीर्घजीवनको कामना गर्ने दम्पतीले शनिप्रदोषको व्रत लिनु पर्दछ । शनिबारबाहेक अन्यबारका दिन परेको भएपनि प्रदोष व्रतको निष्ठापूर्वक पालना गर्नाले तपार्इंको कुण्डलीमा देखिएको शनि ग्रहको अनिष्ट फल र नराम्रा प्रकोपहरू शान्त हुने गर्दछन्, अनि रोगव्याधि, दरिद्रता, घरभित्रको अशान्ति, नोकरी वा व्यापारव्यवसायमा देखिएको कठिनाइ पनि निवारण हुन्छन् ।

Thursday, April 26, 2018

दु:खनिवारणको उपाय - प्रदोष व्रत

व्रत लिनाले ज्ञानशक्ति, विचारशक्ति, बुद्धि, श्रद्धा, मेधा, भक्ति तथा पवित्रताको अभिवृद्धि हुन्छ र अन्तरात्मा शुद्ध हुन्छ । भगवान शङ्कर अनन्त अनि अविनाशी हुनुहुन्छ । यिनलाई प्रसन्न तुल्याउनका निमित्त विभिन्न धर्म ग्रन्थहरूमा कतिपय उपवास र व्रतका बारेमा उल्लेख गरिएको छ । यिनै विधानहरू मध्ये एउटा व्रत हो - प्रदोष व्रत ।

के हो प्रदोषकाल

प्रत्येक दिन सूर्यास्तपछिको दुई घडी (लगभग ४८ मिनेटको समय) प्रदोष काल हो ।(प्रदोषोऽस्तमयादूर्द्ध्वं घटिकाद्वयमिष्यते ॥) तर ज्योतििषीय मतमा  रात्रिकाल प्रारम्भ हुने साँझको लगभग साढे दुई घण्टाको अवधि (रात्रीमानको पाँचभागको सुरुको एक भाग)लाई प्रदोष काल भनिन्छ ।  कतैकतै सूर्यास्तपछि तीनप्रहरसम्म त कतै मध्यरात्रीपर्यन्त प्रदोषकाल रहने बताइएको पाइन्छ । सामान्यतया प्रदोषकाल प्रत्येक शुभ कार्यका निमित्त निषिद्ध समय मान्ने गरिन्छ । तर त्रयोदशी तिथिको संयोगले उक्त समय अमृत काल बन्ने गर्दछ । यस प्रसङ्गमा विभिन्न धर्मग्रन्थ र स्मृतिहरूमा निम्नानुसार वर्णन गरिएको भेटिन्छ :-

रात्रौ यामद्वयादर्वाम्यदि पश्येत्रयोदशीम् । सा रात्रिः सर्वकर्मघ्नी शङ्कराराधनं विना ? ॥ - बृद्धमनुः

(रात्री प्रारम्भ भएको दुई प्रहरभित्र त्रयोदशी तिथि देखिएमा भगवान् शङ्करको आराधना नगरेमा समस्त कर्मको नाश हुन्छ ।)

त्रयोदशी यदा रात्रौ यामस्तत्र निशामुखे। प्रदोष इति विज्ञेयो ज्ञानार्थी मौनमाचरेत् ॥ - बृद्धगार्ग्यः

(रात्रीकाल प्रारम्भ भएको समय यदि त्रयोदशी तिथि छ भने त्यसलाई प्रदोष मान्ने गरिन्छ, उक्त समयमा ज्ञानार्थी सज्जनहरूले मौन रहेर ईश्वर आराधना गर्नुपर्दछ ।)

भोजनं मैथुनं यानमभ्यङ्गं हरिदर्शनम् । अन्यानि शुभकार्याणि प्रदोषे नैव कारयेत् ॥ - बृद्धगार्ग्यः

(भोजन, मैथुन, यात्रा, शरीरमा तेल लगाउने, भगवान् श्रीहरिको दर्शन वा पूजाअर्चना लगायत अन्यान्य शुभकार्यहरू प्रदोषकालमा गर्नुहुँदैन)

त्रिमुहूर्त प्रदोषस्याद्रवावस्तङ्गते ततः । मितसन्ध्यस्त्रयोदश्यां न स्मरेचात्मनोऽहितम्' ॥ - स्कन्दपुराण

(सूर्यास्तपछिको तीन मुहूर्तसम्म प्रदोष र त्रयोदशीको समागम भएको अवस्थामा व्यक्तिले आफ्नो अहित चिताउनु हुँदैन ।)

अहोऽष्टमांशसंयुक्तं रात्र्यर्धं मौनमाचरेत् । त्रयोदशी कलामात्रा दृष्टा यदि निशामुखे' ॥ - स्कन्दपुराण

(दिनको अन्तिमको अष्टमांश समय तथा रात्रीकालको मध्यभागसम्म त्रयोदशी तिथि परेको अवस्थामा ज्ञानीजनहरूले मौन रहनु पर्दछ ।)

न प्रदोषे हरिं पश्येत् त्रयोदश्यामतत्क्रिया । यदि पश्येत्प्रमादेन द्वादशाब्दं न रक्षति ' ॥ - स्कन्दपुराण

(त्रयोदशी तिथिको प्रदोषकालमा शिवाराधन नगरी विष्णुको पूजाआजा गर्नुहुँदैन, गरेमा बाह्र वर्षसम्म मात्र आयु रहने सम्भावना हुन्छ ।)

अर्चकान् परिचारांश्च वैष्णवान् ज्ञानिनो यतीन् । दासीदासादिकांश्चैव प्रदोषो नैव बाधते ! ॥ - स्मतिग्रन्थः

(पूजारी, परिचर, वैष्णवजन, ज्ञानी, सन्न्यासी, दासदासी आदिलाई माथिको प्रतिबन्ध लागू हुँदैन, अर्थात् प्रदोषको दोष लाग्दैन ।)

प्रदोषोक्तषु दोषेषु पापं नैवेति शासनम् । असिते च सिते पक्षे प्रदोषो यदि सम्भवेत् ॥
श्रौतवद्देवमभ्यर्च्य वन्दनादीनि कारयेत् । आयुश्रीश्पुष्टिकामी च शत्रुसंहारमीयिवान् ॥
पुत्रक्षेत्रादिकामी च उदयास्तमयं चरेत् । स्त्रीभिश्च पुरुषैर्वापि भक्तियुक्तैस्सुखार्थिभिः ॥
यथाविधि च निर्वर्त्या स्नानदानादिकाः क्रियाः । कालोऽस्ति दाने कालोऽस्ति यज्ञे कालोऽति सज्जये ॥ - स्मतिग्रन्थः 

(कृष्ण पक्ष वा शुक्लपक्षमा पर्ने त्रयोदशी युक्त प्रदोषमा श्रुतिस्मृतिको पालना गरी सन्तति, भूमि, आयु, सुखसम्मृद्धि, पुष्टि, शत्रुनाशको कामना गरी कुनै पुरुष वा स्त्रीले भक्ति र निष्ठापूर्वक स्नान, दान, यज्ञयागादिका साथमा देववन्दना गरेमा प्रदोषकालमा बताइएका माथिका प्रतिबन्ध र अनुशासन लागू हुँदैनन्, अर्थात् कुनै दोषको भागी हुनुपर्दैन ।)

प्रदोष व्रत

प्रत्येक पक्षको त्रयोदशीका दिन लिइने व्रतलाई प्रदोष व्रत भन्ने गरिन्छ । प्रदोष कालमा त्रयोदशी तिथिको संयोग परेको दिन नै प्रदोष व्रत सम्पादन गरिने दिन हो । यस व्रतमा भोले शङ्कर भगवान् महादेवको आराधना र पूजा गर्ने विधान छ । व्रतको दिन दम्पतिसहित व्रतालुले प्रातः ऊषाकालमा स्नान गरेर शिव, पार्वती र गणेशको संयुक्त आराधना गरी शिव मन्दिरमा गई शिवलिङ्गमा जलाभिषेक गर्नु पर्दछ र त्यसपछि पीपलको रूखमा जल चढ़ाई व्रतालुले दिनभरि पानी पनि नखाई व्रत सम्पादन गर्ने नियम छ । प्रात:कालमा स्नान गरी भगवान् शिवलाई बेलपत्र, गङ्गाजल, अक्षता, धूपदीपनैवेद्य सहित पूजा गर्नुपर्छ । सन्ध्याकालमा पुन: स्नान गरी बिहानकै विधिले शिवजीको पूजा गर्नुपर्दछ । यसरी प्रदोष व्रतको पूजा सम्पन्न गर्नाले व्रतालुले इच्छाएको कामना पूरा गर्न सक्दछ । सायंकालमा व्रत लिने व्यक्तिले फलामको कराईमा कालो दाल, मोटा चामल, तिल आदि मिसाएर खिचड़ी पकाएर भोजन गर्नुपर्दछ । त्यसरी पकाइएको खिचड़ीको चारभागको एक भाग कालो कुकुर वा गाईलाई खान दिनुपर्छ । प्रदोष व्रत ती व्यक्तिहरूका निमित्त मनोकाङ्क्षा पूर्ण गर्ने व्रत पनि हो, जसले चन्द्रमा ग्रहको पीडा भोग्नु परेको छ, त्यस्तै चन्द्रमा ग्रहको पीडाबाट मुक्ति प्राप्त गर्न वर्षभरि आउने समस्त प्रदोष व्रतलाई सम्पादन गर्नु, फलाम, तिल, कालोदाल, सुठुनी(शकरखण्ड), मूला, पिंडालु, कम्बल, जूत्ता र कोइला आदि दान गर्दा लाभ प्राप्त हुन्छ । शनिबार वा मङ्गलबार परेको प्रदोष व्रतका दिन भगवान् शिवजीको मन्दिर, हनुमानको मन्दिर वा भैरव मन्दिरमा पूजा मात्र गर्दा पनि लाभ प्राप्त हुन्छ । यद्यपि जुनसुकै बारमा परे पनि प्रदोष व्रतको महत्त्व उत्तिकै हुन्छ, तथापि सोमवार, मङ्गलवार र शनिवारका दिन परेको प्रदोष व्रतलाई अत्यधिक प्रभावकारी मानिएको छ । प्रदोष व्रतको निष्ठापूर्वक गरिने आराधनाको प्रभावले सांसारिक दुःखको निवृत्ति हुन्छ । केवल चन्द्रमाको दशानिवारण र सन्तानप्राप्तिका लागि मात्र होइन यस व्रतले सुखसम्पदायुक्त जीवन शैली, यश, कीर्ति, ख्याति र वैभव प्रदान गर्दछ । विशेषतः श्रावण, भाद्रपद, कार्तिक र माघ महिनामा पर्ने प्रदोष व्रतले वर्तमान युगको प्रभावबाट सिर्जना हुने समस्त शारीरिक र भौतिक कष्टको निवारण गर्न ठूलो सघाउ पुर्याउँछ ।

प्रदोष  व्रतको महात्म्य गङ्गा नदीको पावन तटमा कुनै समय वेदवेदाङ्ग शास्त्रका ज्ञाता एवं भगवान् नारायणका परम भक्त श्री सुतजीले सौनकादि ऋषिहरूलाई सुनाउनु भएको थियो । सुतजीले भन्नुभयो – कलियुगमा मनुष्य धर्मको आचरण विपरीत अधर्मको मार्गमा तत्पर हुन्छन्, चारैतिर अन्याय र अत्याचारको बोलबाला हुनेछ, मनुष्य आफ्नो कर्तव्यबाट विमुख भई नीच कर्ममा संलग्न रहने छन्, त्यस समयमा प्रदोष व्रत यस्तो व्रतका रूपमा प्रतिष्ठित हुनेछ, जसले मानवमात्रलाई भगवान् शिवको कृपापात्र बनाउन सक्नेछ र यस व्रतको विधिवत् सम्पादन गर्नाले मनुष्य नीच गतिबाट मुक्त भई उत्तम लोक प्राप्त गर्नेछ । त्रयोदशीको सायंकालमा (रात्रिकालको प्रारम्भको प्रथम प्रहर) मा जुन मनुष्यले यथायोग्य पूजनसामाग्रीका साथमा भगवान् शिवको मन्दिर गएर शिवलिङ्गको दर्शन गर्दछ, त्यसले समस्त पापबाट छुटकारा पाउँछ । सौनकादिक ऋषिहरूलाई सुतजीले आज्ञा गर्नुभयो – प्रदोष व्रतको पुण्यका कारण कलियुगमा मनुष्यका सबै किसिमका कष्ट र पाप नष्ट हुने गर्दछन् । यो व्रत अत्यन्त कल्याणकारी व्रत हो, यस व्रतको प्रभावले मनुष्यले मनोवाञ्छित अभीष्ट फल प्राप्त गर्दछ । बेग्लाबेग्लै बारमा परेका प्रदोष व्रतको बेग्लाबेग्लै फल पनि प्राप्त गर्न सकिन्छ, ती भिन्नभिन्न दिनमा लिएको प्रदोष व्रतका माध्यमबाट के लाभ हुन्छ भन्ने विषयमा पनि सुतजीले उक्त अवसरमा सविस्तार चर्चा गर्नु भयो । वहाँले सौनकादिक ऋषिहरूको जिज्ञासा शान्त तुल्याउँदै भन्नुभयो – प्रदोष व्रतको महात्म्य सर्वप्रथम भगवान् शङ्करले माता सतीदेवीलाई सुनाउनु भएको थियो । मैले यस व्रतको पावन कथा र विशिष्ट महात्म्य महर्षि वेदव्यासको मुखारविन्दबाट सुन्ने मौका पाएको हुँ र यो उत्तम व्रत एवं महात्म्य अहिले हजुरहरू ८८,००० मुनिहरूलाई श्रवण गराउने अवसर पाएको छु ।

बारअनुसार प्रत्येक प्रदोषको छुट्टाछुट्टै महत्त्व छ, तिनको फरकफरक महत्त्व र वैशिष्ट्यको जानकारी लिन तलका लिङ्कहरूमा जानुहुन :-

Tuesday, October 31, 2017

बुध प्रदोष व्रत

बुधबारका दिन बेलुका सूर्यास्तको समयमा त्रयोदशी तिथि परेको दिन लिइने व्रतलाई बुध प्रदोष व्रत भन्ने गरिन्छ । नैमिसारण्यमा उपस्थित ऋषिहरूलाई विभिन्न पौराणिक आख्यान र कथाप्रसङ्ग उल्लेख गर्दै सूतजीले बुधप्रदोषको चर्चा गर्दै भनेका छन् - बुध प्रदोष व्रतको सम्पादन गर्नाले समस्त मनोकाङ्क्षा पूर्ण हुने गर्दछन् । पुराणमा चर्चा गरिएअनुसार बुधबार प्रदोष परेका बेला भगवान् शिव प्रसन्न भएर कैलाश पर्वतमा नृत्य गर्ने गर्नुहुन्छ । त्यसैले बुध प्रदोषका दिन व्रत गर्दा धनसम्पत्ति प्राप्त हुनुका साथै दुःख र दारिद्र्यको नाश हुन्छ र सबै मनोकामना पूर्ण हुन्छन् । बुधप्रदोषको व्रत लिनाले दुईवटा लैना गाई एकै पटक दान गर्दा पाइने पुण्य प्राप्त हुन्छ । त्यस्तै यस पुण्य दिनमा व्रत लिनाले र भगवान् भोलेनाथको आराधना गर्नाले हरहमेशा व्यक्तिले भगवान् शिवको कृपा प्राप्त गर्दछ, इहलोकमा सुखसम्मृद्धि प्राप्त गरी अन्त्यकालमा मोक्षप्राप्ति हुन्छ । घरपरिवारमा खुसियाली, सुस्वास्थ्य र सुखसम्पत्तिले निवास गर्दछ । प्रेमजीवनको सफलताका लागि पनि बुधबार परेको प्रदोष व्रतबाट व्रत प्रारम्भ गरी लगातार २१ हप्ता व्रत बसी उद्यापन गर्ने नियम छ । त्यस्तै कालसर्प दोष लगायत समस्त सर्पबाधा, नागनगिनी, डाकिनीशाकिनी, भूतप्रेत आदिको बाधा पनि नष्ट हुन्छ । सारांशमा बुधवारका दिन परेको प्रदोष व्रत सौभाग्य र दाम्पत्य जीवनको सुखशान्तिका लागि हो ।  यस्तो महत्ता र गरिमा रहेको बुध प्रदोषको व्रतकथा निम्नानुसार छ -

अङ्ग देशमा 'चम्पा नगरी' नामको एउटा सानो नगर थियो । त्यस नगरमा चन्द्रधर नामको एउटा धनी वैश्यले नीति र धर्मको पालना गर्दै आफ्नो गृहस्थी सम्हालेर निवास गरेको थियो । ऊ भगवान् आशुतोष शिवशङ्करको परम भक्त थियो, तर नागमाता मनसादेवी उसँग उसको पूर्वजन्मको दोषका कारण रिसाएकी थिईन् । चन्द्रधरकी पत्नीको नाम चन्द्रकला थियो । धनधान्य र सुखसम्मृद्धिको कमी त थिएन, तर उसका घरमा सर्पको बाधा हुनाले सन्तानको सुस्वास्थ्य र उन्नतिप्रगतिमा बाधा परेको देखिन्थ्यो । उसका सन्तान हुँदै नभएका त होइनन्, तर उसका सन्तानको जन्म भएपछि पाँचवर्षको उमेर नपुग्दै नागले डँस्नाले मृत्यु हुने गर्दथ्यो । एउटा दुईवटा मात्र होइन उसका छ/छ जना पुत्रले सर्पबाधाका कारण कालकवलित हुनु परेको थियो । वैश्यले सन्ततिपक्षको आयुको कामना गरेकाले त होइन, उसको अटल शिवभक्तिको प्रभावले हुनसक्छ वा अन्य कुनै कारणले उसको सातौं पुत्र अहिलेसम्म जीवित नै थियो अनि किशोरावस्थाको उमेर पनि पार गरिसकेको थियो । चन्द्रधरको कान्छो छोराको नाम 'लक्ष्मीचन्द्र' थियो । अन्य छ/छ जना पुत्रको बाल्यावस्थामा नै मृत्यु भएकाले चन्द्रधरलाई यस पुत्रप्रति त्यत्ति मोह जाग्न सकेको थिएन । जे हुन्छ, शिवकृपाले हुन्छ भनी ऊ सधैं शिवभक्तिमा एकनाशले तल्लीन हुने गर्दथ्यो । छोरोले युवावस्थामा प्रवेश गर्न लागेकोमा चन्द्रधरकी पत्नी चन्द्रकला भने उत्साहित देखिन्थिन् । उनी समय मिल्नासाथ अब छोराको विवाह गरी दिनुपर्छ भन्ने आशय व्यक्त गरिहाल्थिन् ।

त्यसवेला भारतवर्षको पश्चिममा अवन्तिका नाम गरेको अर्को एउटा देश पनि थियो । त्यस देशको राजधानी उज्जयिनी नाम गरेको सहरमा अर्को एक जना साधुचन्द्र नामको एउटा धनाढ्य व्यापारी बसोबास गर्दथ्यो । जस्तो नाम त्यस्तै चरित्र र आचरण थियो, साधुचन्द्रको । ऊ दिनैपिच्छै महाकाल शिवको मन्दिरमा गई दिनदुःखी र गरिबगुरुबाको सेवासत्कार नगरी आफ्नो दिनचर्या सुरु गर्दैनथ्यो । साधुचन्द्रकी एउटीमात्र पुत्री थिई । रूपलावण्य र शिलस्वभावका दृष्टिले ऊ अद्वितीय नै थिई । बाल्यावस्थादेखि नै उसमा पिताका धार्मिक र परोपकारी स्वभावहरूले विकसित हुने अवसर पाएका थिए । उसले पनि किशोरावस्थाको वयसन्धि भर्खरै पार गरेकी थिई । साधुचन्द्रमा शुक्लपक्षको चन्द्रमा झैं शारीरिक र भौतिक अङ्गहरू विकसित हुँदै गरेकी छोरीको असल घरघरान र कुलकुटुम्बमा विवाह गरिदिने चिन्ता बढ्न थालेको थियो । उसले चम्पा नगरीका चन्द्रधरका पुत्र लक्ष्मीचन्द्रको विवाहयोग्य उमेर भएको कुरा आफन्तहरूबाट सुनेको थियो । चन्द्रधरको शीलस्वभाव र आचरणका बारेमा ऊ राम्ररी जान्दथ्यो । पिता र परिवारको अनुशासन एवं चरित्रको प्रभाव छोराछोरीको जीवनमा जस्ताको त्यस्तै आउने गर्दछ भन्ने कुरामा ऊ विश्वास गर्दथ्यो । त्यसैले ऊ चन्द्रधरको छोरा लक्ष्मीचन्द्रलाई आफ्नी कन्या सुम्पने मनसायमा पुगी सकेको थियो । साधुचन्द्रकी छोरीको नाम 'विगुला' थियो । उसले पनि लक्ष्मीचन्द्रको रूपलावण्य र चालचलनका बारेमा आफ्ना सखीसङ्गतिमार्फत थाहा पाएकी थिई । भौतिक रूपमा देख्न नपाए पनि विगुलाको मनमा लक्ष्मीचन्द्रप्रति अनुराग जागिसकेको थियो ।

एक पटक उज्जयिनी नगरीमा महाकुम्भ पर्व चल्दै थियो । उक्त अवसरमा चम्पानगरीबाट पनि धेरै तीर्थयात्री भगवान् महाकालको दर्शन र नर्मदा नदीको स्नान गर्न त्यहाँ आएका थिए । तिनै तीर्थयात्रीमध्ये एक जना साधुचन्द्रका आफन्त पनि थिए । ती आफन्त उसलाई भेट्न घरमा आएका बखत साधुचन्द्रले आफ्नो मनमा गुम्सिएको कुरा बताउँदै भन्यो - 'तपाईंका नगरमा बसोबास गर्ने चन्द्रधरका छोरा लक्ष्मीचन्द्रको चालचलन र रूपलावण्यको चर्चा खुब सुन्दैछु । पारिवारिक हैसियत र कुलधर्म हामीसँग मिल्दोजुल्दो नै छ, त्यसैले उनलाई मेरी छोरी कन्यादान गरिदिने कुरा मेरो मनमा मँडारिंदै छ । कसमार्फत म यो सन्देश पठाउँ भनी चिन्तित थिएँ । संयोगले तपाईंसँग भेट भयो । चन्द्रधरलाई मेरो यो सन्देश पुर्याई उनीहरूको के प्रतिक्रिया हुन्छ ? त्यसको जानकारी कसै गरी मलाई पठाउने व्यवस्था गरिदिनुहुन म तपाईंसमक्ष आग्रह गर्दछु ।' ती आफन्तले साधुचन्द्रको आग्रहलाई स्वीकार गरे ।

चन्द्रधरलाई साधुचन्द्रको प्रस्ताव मनपर्यो, सन्देश पाउना साथ उसले पनि तिनै आफन्तमार्फल पुत्र लक्ष्मीचन्द्रको जन्मकुण्डली उज्जयिनी पठाइदियो । कुण्डली पाएपछि आफ्ना कुलपुरोहितलाई डाकी दुबै वर र कन्याको जीवन, भाग्य र भविष्यको विवेचना गरियो । पुरोहितले निष्कर्ष सुनाउँदै भने - वर र कन्याको कुण्डली निकै मिल्दोजुल्दो छ, जोडी राम्रै हुनेछ, तर चन्द्रधरको पुत्रको कुण्डलीमा कुलको दोष देखिन्छ, उसका घरमा नागको बाधा छ । यस बालकको विवाहपछिको पहिलो रातमा नै सर्पको डँसाइबाट मृत्यु हुने सम्भावना छ । पिता र पुरोहितका बीचमा भएको कुराकानी विगुलाले पनि सुनिरहेकी थिई । उसको मनमा जसप्रति अनुराग जागेको छ, उसैलाई विवाह गरिदिने कुराकानी भइरहँदा ऊ निकै उत्साहित भएकी थिई । तर ब्राह्मणका पछिल्ला वाक्य सुन्दा निराशा भयो । उसले ब्राह्मणलाई नम्र स्वरले प्रश्न पनि गरी - गुरुजी ! मेरो कुण्डलीमा विधवा हुने योग छ कि छैन ? । ब्राह्मणले कन्यातर्फ हेर्दै उत्तर दिए - बालिके ! तिम्रो कुण्डलीमा त अखण्ड सौभाग्यवती योग छ, तर यस केटाको अल्पायुष्य योग भएकाले तिम्रो यस केटासित विवाह सम्भव छैन ।

चिना हेरेको धेरै दिनसम्म साधुचन्द्रले कुनै जवाफ नपठाएपछि चन्द्रधरले पुनः जिज्ञासा राख्दै उज्जयिनीमा अर्को सन्देश पठायो । चन्द्रधरको जिज्ञासाको उत्तर कसरी दिने भन्ने दुविधामा पर्यो, साधुचन्द्र । केही दिनदेखि बाबु चिन्ताग्रस्त रहेको देखेपछि विगुलाले बावुसित चिन्तित हुनुपर्ने कारणका बारेमा सोधी । बावुले आफ्नो चिन्ताको विषय के हो ? स्पष्टसँग छोरीसमक्ष राख्यो । बावुका कुरा सुनेपछि विगुलाले भनी - 'पिताजी, कसैको भाग्य र जीवन ब्राह्मणले निर्धारण गर्दैनन्, यसको नियन्त्रण र सञ्चालनको सामर्थ्य त महाकाल शिवको इच्छामा हुन्छ । हामीले सधैं सत्कर्म र सदाचार गरेका छौं, कुटुम्ब र वर पनि हाम्रो अनुकूल छन् । अनि गुरुबाले मेरो अखण्ड सौभाग्य छ भनेर पनि भन्नु भएको छ । त्यसैले कुनै चिन्ता नगरी हजुरले मेरो विवाहको निर्णय गरे हुन्छ । मेरो नियति नै दुःख पाउने गरी तोकिएको रहेछ भने अन्तै विवाह गरे पनि त मैले त्यो भोग्नै पर्दछ ।' छोरीका यस्ता प्रौढ कुरा सुनेपछि उसले विवाहको टुङ्गो गरेको सन्देशका साथमा चन्द्रधरलाई खबर पठायो ।

केही समयपछि उचित मुहूर्तमा विगुला र चन्द्रधरको विवाह सम्पन्न भयो । बेउलीका रूपमा चम्पा नगरीमा विगुलाको भव्य स्वागत गरियो । उज्जयिनीका पुरोहितले विवाहको पहिलो रातमा सर्पबाधा हुन्छ भन्ने कुरा गरेको विगुलाका घर र माइती दुबै पक्षलाई थाहा थियो । त्यसैले नववरबधूको मधुरात्रीका लागि शयनकक्ष र कोठाको व्यवस्था हुँदै थियो । शयनकक्ष निर्माण गर्दा सर्प त के बाहिरको हावा पनि नपस्ने गरी सचेतताका साथमा मजबुतीका साथमा गरिन लागिएको थियो । सहरका नामी वैद्य र झारफुक गर्ने तान्त्रिकहरूलाई पनि त्यस रात त्यहीं बस्ने व्यवस्था मिलाइएको थियो । दुबै पतिपत्नी शयनकक्षमा प्रवेश गरे । उनीहरूलाई व्यवस्थापन पक्षको सम्पूर्ण जानकारी थियो, त्यसैले कुनै किसिमको डर, भय वा त्रास थिएन । लामो समयसम्म प्रणयालाप गर्दै ती निदाए । भोलिपल्ट नवविवाहिता बधू विगुला ब्युँझदा उसको पति लक्ष्मीचन्द्र मरिसकेको थियो । सर्पले टोकेको स्पष्ट झल्को आउने गरी उसको लास नीलोकालो भइसकेको थियो । वास्तवमा नागमाता मनसादेवीले बेउलाकी आमाको रूप धारण गरी कालीगढलाई हावा नछिर्ने कोठा बनाउनु हुँदैन, एउटा सानो प्वाल राखिदिनु भनी अह्राएकी थिईन्, यो कुरो कसैलाई थाहा थिएन, त्यसै प्वालबाट मनसादेवीको आदेशमा नागराज वासुकीले प्रवेश गरी लक्ष्मीचन्द्रलाई डसेकाले उसको मृत्यु भएको थियो ।

लक्ष्मीचन्द्रको मृत्यु भएपछि सारा घर र नगरमा हल्लखल्ल भयो । विवाहको उत्सवमा रमाई रहेका सारा जन एकाएक शोक र मूर्च्छामा परिणत भए, वातावरणमा रोदन र विलापको कोलाहल व्याप्त भयो । सर्पदंशबाट मृत्यु भएका व्यक्तिको दाह संस्कार गर्नु हुँदैन भन्ने शास्त्रीय मान्यता छ, त्यसरी मरेका व्यक्तिलाई जलप्रवाहमा विसर्जन गरी सद्गत गर्नु पर्दछ । लक्ष्मीचन्द्रको शवलाई पनि चम्पा नगरीको नजिकै रहेको धनश्री नदीको तटमा लगियो । परिवारका सबै सदस्यका साथमा सारा नगरवासी मलामीका रूपमा नदीका तटमा आए । केराको थामको प्रयोग गरी एउटा चिता बनाइयो । लक्ष्मीचन्द्रको मृतदेहलाई रामनामी गुताई उक्त चितामा राखियो । विवाहको पहिलो रातमा नै विधवा बन्न पुगेकी विगुला विलाप गर्दै त्यसै चिताका छेउमा बसी । सारा नगरवासीले उसलाई त्यसो नगर्न आग्रह गरे । तर ऊ मान्दै मानिन । पतिसितै आफू पनि सती हुने भनी उसले पतिको लासलाई आलिङ्गन गरिरही । कसैको केही नलागेपछि विगुला र उसको मृत पतिलाई त्यही केराको थाम प्रयोग गरी बनाइएको डुँगाजस्तो नाउमा राखी नदीको पानीमा हुत्याइदिए ।

विगुलाले त्यस समयमा विवाहमा लगाएका पहिरन नै लगाएकी थिई । उसको निधारमा रातो सिन्दूर जताततै लत्पतिएको देखिन्थ्यो । नदीको प्रवाहमा बग्दाबग्दै विगुला र उसको मृत पति चढेको त्यो डुँगा समुद्रमा पुग्यो । धेरै दिन बितिसकेको थियो । यस अवधिमा उसले केही पनि खान पिउन पाएकी थिईन । लासबाट दुर्गन्ध आउन थालेको थियो । औंसा परेकाले शरीरको मासु गलेर झर्न थालिसकेको थियो । केवल कङ्कालमात्र शेष थियो । कङ्कालमात्र बाँकी भए पनि विगुलाले आफ्ना पतिलाई निरन्तर अँगालोमा लिएर एक भक्तिले भगवान् महाकाल शिवको नामोच्चारण गरिरहेकी थिई ।

यसरी विगुलाको एकभक्ति र पातिव्रत्यबाट भगवान् शिव प्रसन्न हुनुभयो । उहाँले नागमाता मनसादेवीलाई बोलाएर आदेश दिनुभयो - 'मनसे ! जाऊ लक्ष्मीचन्द्रको शरीरमा रहेको सर्पविषको शोषण गरेर आऊ । विगुलाले जुन दिनदेखि केही नखाई उपवास गरेकी थिई, त्यो दिन बुध प्रदोषको दिन थियो । उसको एक पक्ष (पन्ध्र दिन) सम्मको निरन्तरको उपवासले कैलाशमा रहेको समस्त पुण्य उसको शरीरमा समाहित भएको छ । अब वैधव्य दोषमात्र होइन, उसले कुनै किसिमका सांसारिक बाधालाई व्यहोर्नु पर्दैन ।' मनसादेवीले भगवान् शिवलाई नम्र भई बिन्ती गरिन् - 'हे देवाधिदेव महादेव ! पूर्वजन्ममा यसका पिता चन्द्रधरले मेरा सन्तति नागहरूलाई एक्काईस पटक मारेको थियो । त्यसैको बदला लिन मैले यस जन्ममा उसका कुलका एक्काईस जना व्यक्तिलाई डँसेर मार्ने योजना बनाएकी छु । मैले उसको विष शोषण गरें भने मेरो सङ्कल्प भङ्ग हुन्छ । त्यसैले मैले प्रभुको आज्ञालाई पालना गर्न सक्दिन ।' फेरि शिवले मनसादेवीलाई सम्झाउँदै भन्नुभयो - 'हे नागमाते ! मैले यी सबै कुरा थाहा पाएको छु । मेरो प्रियतम प्रदोष व्रतको ठूलो महिमा छ । अझ बुधबारका दिन परेको यस व्रतको प्रभावले सर्पबाधा र सर्पदोषजन्य समस्त दोषहरू नाश हुन्छन् । यदि कसैले बुधबारका दिन परेको प्रदोषको समयमा जानेर वा अन्जानमैं व्रत बस्यो भने उसको मात्र होइन, उसका कुलका सातपुस्ता, मावली कुलका सात पुस्ता र ससुराली कुलका सात पुस्ताभित्रका समस्त पापराशि र दोषको शमन हुन्छ । विगुलाले अहिले जुन उपवास गरेकी छ, त्यसको प्रभावले चन्द्रधरका पूर्वजन्मका समस्त सर्पबाधा नष्ट भएका छन् । त्यसैले तिमीले उसको विषदोहन गरेमा तिम्रो सङ्कल्पमा विघ्न भएको ठहरिने छैन ।'

शिवाज्ञालाई शिरोधार्य गरी मनसादेवी विगुला पुगेको समुद्रको तटमा धोबिनीको रूप धारण गरी उपस्थित भईन् । उनको अनुहारमा देदीप्यमान तेज थियो । उनले विगुलालाई भनिन् - 'बालिके ! तिम्रो निष्ठा र भक्तिका कारण भगवान् भोलेशङ्कर प्रसन्न हुनु भएको छ । नाउ किनारामा ल्याऊ र त्यो लाश मलाई देऊ, म तिम्रो पति जीवित तुल्याइदिन्छु, तिमी शिव नामोच्चारण गर्दै नृत्य गर ।' विगुलाले पन्ध्र दिनदेखि केही पनि खाएकी थिइन, उसको मनमा केवल पतिको स्मृतिमात्र बाँकी थियो । पतिका लागि उसले जेजस्तो पनि गर्न सक्थी, त्यसैले पतिलाई सम्झँदै शिवशिव भन्दै नृत्य गर्न थाली । पतिको स्मृतिमा उन्मत्त भई नाचिरहेकी विगुलालाई आकाशबाट सारा देवता, नाग, यक्ष र गन्धर्वहरूले हेरिरहेका थिए । समस्त देव समुदाय द्रवित भयो । मनसादेवीको हृदय पनि रसायो । विगुला नाच्न थालेपछि मनसादेवीले लक्ष्मीचन्द्रको शरीरको विषलाई शोषण गरिन् । लक्ष्मीचन्द्र निदाएर उठे झैं ब्युँझियो, यसरी विगुलाको अखण्ड पतिभक्ति, शिवोपासना र बुधप्रदोषको प्रभावले उसको जीवनले मुस्कुराउने मौका पायो । प्राप्तिको यो पराकाष्ठा बाल्यावस्थादेखि नै महाकाल शिवको भक्तिको प्रेरणा र बुधप्रदोष व्रतको प्रतिफलबाट प्राप्त भएको थियो । स्कन्दपुराणमा स्पष्टसँग उल्लेख गरिएको छ, जो भक्तजनले बुधबार परेको प्रदोषव्रतबाट थालनी गरी प्रत्येक प्रदोष व्रतको उपवास गर्दछ र प्रदोष परेको दिन शिवपूजा गरी मध्याह्न कालमा एकाग्र चित्तले प्रदोष व्रतको कथा श्रवण गर्दछ, त्यसले सय जन्मसम्म कहिल्यै पनि दरिद्रताको दर्शन गर्नु पर्दैन, नागनागिनी, डाकिनीशाकिनी, भूतप्रेत आदिको बाधा हुँदैन । जीवनभरि सुखसुविधा र धनधान्यले भरिपूर्ण रही अन्त्यमा शिवसान्निध्य प्राप्त गर्दछ ।

Thursday, July 20, 2017

शुक्र प्रदोष व्रतकथा

आशुतोष भगवान् शिवले आफ्ना भक्तका प्रत्येक इच्छाआकाङ्क्षा र सुखसुविधा पूरा गर्ने गर्नुहुन्छ । त्रयोदशी शिवको अत्यन्त प्रिय तिथि हो । प्रत्येक महिनाको अमावस्या (औंसी) र पूर्णिमापछिको १३ औं दिन त्रयोदशी हो । अतः हरेक महिनाको शुक्ल र कृष्ण पक्षका दुबै त्रयोदशीका दिन शिवको उपासनाका निमित्त प्रदोष व्रत लिने गरिन्छ । प्रदोष व्रतले भिन्नभिन्न बारका आधारमा भिन्नभिन्न फल प्रदान गर्ने गर्दछ भन्ने मान्यता छ । शुक्रबारका दिन त्रयोदशी तिथिको संयोग परेको दिनलाई शुक्र प्रदोष भन्ने गरिन्छ । यस दिन व्रत लिएमा प्रदोषको व्रत गरी प्राप्त हुने फलका अतिरिक्त मनुष्यले धर्म, अर्थ, काम र मोक्ष यी चारवटै पुरुषार्थ प्राप्त गर्न सक्दछ । यसबाहेक उसको दाम्पत्य जीवन सुखमय हुन्छ, रूप र लावण्यमा बृद्धि हुन्छ, भोगविलास र सांसारिक सुखको अभिवृद्धि गर्न सघाउ पुग्छ । पूर्वीय ज्योतिषशास्त्रमा भवन, वाहनादि भौतिक सुख, प्रेमप्रसङ्ग, दाम्पत्य जीवन र यौनसुख, घरायसी परिबन्द तथा गृहस्थी सुख, भ्रमण, पर्यटन आदिको उपलब्धीमा शुक्र ग्रहको भूमिका विचार गर्ने गरिन्छ, शुक्र ग्रह शारीरिक सुखको कारक हो, सम्भोगदेखि हार्दिक प्रेमसम्मका सबै विषय शुक्र ग्रहको अधीनमा हुन्छन् । त्यसैले शुक्र ग्रहको थप ऊर्जा प्राप्त गर्न शुक्रप्रदोषको व्रत लिन सकिन्छ । यस दिनको व्रतको महात्म्य र कथा यस प्रकार छ :-

महाराज युधिष्ठिरले द्युतक्रीडामा सबै राजपाट गुमाएर वनवासको जीवन व्यतीत गर्दै थिए । अर्जुन तपस्याका लागि बदरिकाश्रम गएकाले भीम, नकुल, सहदेव र द्रौपदीमात्र उनीसँग उपस्थित थिए । अर्जुन नभएकाले अन्य पाण्डवगण एक दिन अर्जुनलाई स्मरण गर्दै उनकै विषयमा कुराकानी गर्दैथिए । त्यतिकैमा युधिष्ठिरको कुटीमा महर्षि वृहदश्व आइपुगे । धर्मराज युधिष्ठिरले उनको यथोचित स्वागत सत्कार गरे । दुबैका बीचमा एकआपसका कुशल-क्षेमका विषयमा कुराकानी भए । यस क्रममा युधिष्ठिरले आफ्ना समस्त दुःख र वेदनाको विवरण मुनिलाई सुनाउँदै भने, “हे महर्षि! जुवामा मैले आफ्नो राजपाट र श्रीसम्पत्ति सबै चीज गुमाएँ, त्यसैले मभन्दा दुःखी, पीडित र अभागी को हुन सक्छ र ? युधिष्ठिरका यस्ता वचन सुनेपछि महर्षि बृहदश्वले उत्तर दिए - 'हे राजन् ! तपाईंले धैर्य धारण गर्नुपर्छ, तपाईंमात्र होइन, ठूलै र वरिष्ठ हुँ भनौंदा धेरै जनाले यस्ता त्रुटि गरेका छन् र कठोर सङ्कटसमेत भोगेको इतिहास छ । तर धैर्य र उपायको अवलम्बन गरी तिनले समस्याबाट मुक्ति प्राप्त गरेका छन् । यसको उदाहरणका रूपमा राजा नलको जीवनलाई लिन सकिन्छ । उनले पनि जुवा खेल्दा आफ्नो सर्वस्व गुमाएका थिए, तर पछि उनको राजपाट र वैभव पुनः फिर्ता भयो ।' ऋषि बृहदश्वका यस्ता वचन सुनेपछि युधिष्ठिरले राजा नलको सम्पूर्ण जीवनी सुन्ने इच्छा व्यक्त गर्नुका साथै गुमेको सुखसौभाग्य र राजपाट फिर्ता लिने के उपाय हुनसक्छ भनी जिज्ञासा राखे । युधिष्ठिरलाई राजा नलको इतिहास सुनाउँदै मुनिले भने -

राजन् ! निषध देशमा वीरसेन नामका राजा थिए । उनका शीलस्वभाव र सद्गुणले युक्त नल नाम गरेका पुत्र थिए । नललाई पनि तपाईंलाई जस्तै जुवा खेल्ने ठूलो सौख थियो । त्यतिवेला विदर्भ देशमा भीष्मक नाम गरेका राजाले शासन गर्दथे । तिनकी दमयन्ती नाम गरेकी अत्यन्त रूपवती कन्या थिईन् । नल एक दिन आफ्नै दरबारको उद्यानमा टहल गर्दै थिए । त्यतिबेलै त्यस उद्यानमा कतैबाट एउटा सुन्दर राजहंस आइपुग्यो । हाँस लोभलाग्दो थियो, नलले अनेकौं प्रयत्न गरी त्यसलाई समाते । राजकुमारको पन्जामा परेपछि हाँसले भन्यो - 'हे युवराज ! म राजकुमारी दमयन्तीको हाँस हुँ, हाम्री राजकुमारी स्वर्गकी अप्सरा उर्वशीभन्दा पनि राम्री छन् । तिनको र तपाईंको जोडी असाध्यै सुहाउँछ । अहिले मलाई मुक्त पारेमा म तिनलाई तपाईंको सौन्दर्य र रूपका बारेमा बताउने छु ।' यस्ता मीठा र लोभलाग्दा कुरा सुनेपछि राजकुमारले हाँसलाई छाडिदिए । राजहंस उड्दै सीधा विदर्भ देशमा पुग्यो र त्यहाँ दमयन्ती भए ठाउँमा गएर राजकुमार नलको रूप र लावण्यको चर्चा गर्न थाल्यो । हाँसले गरेको प्रशंसा सुनेर दमयन्तीको मनमा नलप्रति अनुराग जाग्यो, उनी नलप्रति आशक्त भईन् । केही समयपछि राजा भीष्मकले आफ्नी पुत्री दमयन्तीको स्वयंवरको घोषणा गरे । उक्त स्वयंवरमा स्वर्गबाट इन्द्र, अग्नि, वरुण, यम आदि देवगणलगायत देशविदेशका राजा/महाराजा र राजकुमारका साथमा नल पनि सहभागी भए । स्वयंवरमा दमयन्तीले नललाई वरण गरिन् ।

स्वयंवर सिद्धिएपछि इन्द्र आफ्नो पुरी अमरावतीतर्फ फिर्ता जाँदै गर्दा उनले बाटोमा कलियुगलाई भेटे । कलियुगलाई कता हिंडेको भनी इन्द्रले प्रश्न गरेपछि कलियुगले भन्यो - म दमयन्तीसित विवाह गर्न विदर्भ देश हिंडेको हुँ । इन्द्रले दमयन्तीको स्वयंवर सिद्धिएर आफू फर्किएको बताउँदै दमयन्तीले नललाई वरण गरेको समाचार सुनाइदिए । कलियुगलाई दमयन्तीसित विवाह गर्ने ठूलो धोको थियो । ऊ दमयन्तीलाई पाउन नसकेकोमा खिन्न भयो र राजकुमार नलसित डाहा गर्न थाल्यो । त्यसपछि कलियुगले नललाई दुःख दिने नियतले निषध देशमा प्रवेश गर्यो । ऊ हरदम नलको कमजोरी र त्रुटि पहिल्याएर प्रतीक्षा गर्न थाल्यो । कलियुग निषध देशमा पस्नासाथ नलका पिता वीरसेनको मृत्यु भयो । नल अब निषध देशका राजा बने । उनी धर्मात्मा र सदाचारी थिए, त्यसैले प्रजालाई सन्ततिवत पालनपोषण गर्दै सुखपूर्वक राजपाट सञ्चालन गरेर बसेका थिए । उनको आचरणमा कुनै खोट नभेटिएकाले कलियुग उनको शरीरभित्र पस्न सकेन । लगातार बाह्रवर्षसम्म कलियुगले प्रतीक्षा गर्नुपर्यो । यस बीचमा नल र दमयन्तीका दुई जना सन्तान उत्पन्न भए । यस्तैमा एक दिन राजा नल पिसाब फेरेर आएपछि हातखुट्टा पनि नधोई सन्ध्यावन्दन गर्न बसे । कलियुग यस्तै अपवित्र अवस्थाको खोजीमा थियो । मौका छोपी कलियुग नलको शरीरमा प्रविष्ट भयो । नलका पुष्कर नाम गरेका एक जना पराक्रमी र हिम्मती भाइ पनि थिए । एक दिन पुष्करले दाजुलाई जुवा खेल्ने निम्तो दिए । दाजुभाइ दुबै बसेर जुवा खेल्न थाले । शरीरमा कलियुगले प्रवेश गरेकाले नलले आफ्नो समस्त राजपाट, धनसम्पत्ति र वैभव हारे । जुवामा सबै चिज गुमाएपछि राजा नलले दमयन्तीलाई बालबच्चासहित माइतमा गएर बस्न आग्रह गरे । दमयन्तीले बालबच्चालाई त मावल पठाई दिईन्, तर आफू पतिका साथमा वनवास जाने हठ गरिन् । एकछिन अघि त्यत्रो महलमा बसी श्रीसम्पत्ति र वैभवको भोग गरिरहेका राजा र रानीको केही बेरमैं पाटीको बास भयो । ती दुईको शरीरमा अब एकसरो धोतीबाहेक अरु केही पनि थिएन । आजीवन सुखसयलमा बसेकी दमयन्तीलाई आफ्नो कारणले यस्तो विपत्ति आइलाग्यो भन्ने सम्झँदा नललाई ठूलो चिन्ता हुन्थ्यो । दमयन्तीलाई उनी सधैं समुचित व्यवस्था नहुन्जेल माइतमा गई बस्ने सल्लाह दिन्थे, तर दमयन्ती मान्दिन थिईन् ।

एक दिन दुबै जना जङ्गलमा भौंतारिंदै थिए । पेटमा बढीरहेको भोकको दावाग्निलाई शान्त तुल्याउने कुनै उपाय थिएन । नलले आफूले लगाएको धोतीलाई जालका रूपमा प्रयोग गरी चरा समाउने विचार गरे । विपत्तिमा आफूले खोजेजस्तै कहाँ हुन्छ र ! पन्छीहरू उनले फिंजाएको जालमा परे, तर जालमा फँस्नुको साटो उल्टै धोती नै बोकेर ती पन्छी उडेर गए । भोकको पीडा सहन नसकेर दमयन्ती एकातिर तन्द्रामा परेकी थिईन् । उनको दुःख देख्न नसकेका नलले रानीले लगाएको सारीको एक छेउ च्यातेर बेरे र दमयन्तीलाई त्यसै निर्जन वनमा छाडेर एकातिर लागे । निद्राबाट ब्युँझिएपछि दमयन्तीले राजालाई देखिनन्, वरपर चारैतिर निकै खोजिन्, तर पत्तो लागेन । नलले आफूलाई नदेखेपछि दमयन्ती माइत जानेछिन् भन्ने ठानेकी थिईन्, तर उनले त्यसो गरिनन् । उनी बटुवाहरूको साथ लागी चेदी देशका राजा सुबाहुको दरबारमा आई पुगीन् र नोकरीको याचना गरिन् । त्यहाँ उनले राजमाताको सेवासुश्रुषा गर्ने दासीको काम पाईन् ।

यता राजा नल दमयन्तीको आधा सारी बेरेर व्याकुल भई वनमा यत्रतत्र भौंतारिन थाले । घुम्दाघुम्दै अचानक  डँढेलो लाग्यो, उनले यसअघि नै अग्निको डढ्नु नपर्ने आशीर्वाद पाएका थिए, त्यसैले उनलाई डँढेलोको असर परेन । तर उक्त वनमा नागराज कर्कोटकको निवास पनि थियो । नलले उसलाई आफ्ना साथमा राखे, आगोले नागलाई पनि केही गरेन । यसरी उनले नागराज कर्कोटकको प्राण जोगाइदिए । तर डँढेलो लागेको वनबाट बाहिरिने बितिक्कै कर्कोटकले नललाई डँस्यो । त्यस नागको विषको प्रभावले राजा नलको शरीर अँगारजस्तै कालो भयो । आफूलाई ठुँग्ने नागसित क्रोधित हुँदै मेरो उपकारको प्रत्युपकार यही हो ? भनेर नलले प्रश्न गरे । कर्कोटकले नम्र हुँदै बतायो - 'मैले प्रत्युपकार गरेको होइन, तपाईंको शरीरमा कलियुगले प्रवेश गरेको छ । मेरो विषलाई सहन नसकेपछि केही दिनमा नै उसले तपाईंको शरीरलाई त्याग्नु पर्नेछ । शरीरबाट कलियुग बाहिरिएपछि तपाईंका सुदिन फिर्ने छन् । शरीरको रङ बदलिएकाले तपाईंलाई कसैले पनि चिन्दैन, त्यस्तै मेरो विषको प्रभावका कारण यस भयानक वनमा कुनै पनि हिंस्रक पशुले तपाईंलाई खाने छैन । अब तपाईं आफ्ना राम्रा दिन आउने उपायको खोजी गर्नुहोस् । बरु अब आफ्नो नाम फेरेर तपाईं अयोध्या नामको देशमा जानुहोस्, त्यहाँ ऋतुपर्ण नामको राजाले शासन गर्दैछ, ऊ द्युतकलामा अत्यन्त दक्ष र निपुण छ, तपाईंले उसलाई अश्वविद्या सिकाई दिनुभयो भने उसबाट जुवा खेल्ने चालबाजीको ज्ञान प्राप्त हुनेछ । यसरी द्युतविद्याका तिकडमलाई राम्ररी बुझेपछि हजुरले पुष्करसँग पुनः जुवा खेल्नु होला र उसलाई हराएर आफ्नो श्रीसम्पत्ति र वैभव फिर्ता लिनुहोला । म हजुरलाई एउटा वस्त्र दिन्छु, राज्य फिर्ता आउनासाथ त्यस वस्त्रलाई धारण गर्नुहोला, तपाईंको शरीरको रङ पुनः पहिलेको जस्तै हुनेछ ।' कर्कोटक नागबाट यस्तो उपाय र सहयोग पाएपछि नल अयोध्या पुगे, आफ्नो नाम फेरेर बाहुक नामको सारथी भई परिचय दिए अनि ऋतुपर्णको आश्रयमा बस्न थाले ।

यता विदर्भ देशका राजा भीष्मकले राजा नलले जुवामा आफ्नो राजपाट र श्रीसम्पत्ति सबै हारे भन्ने कुरा चाल पाए । आफ्ना छोरीज्वाइँ कहाँ होलान् भनी पत्ता लगाउन उनले चारै दिशामा दूतहरू खटाए । सुदेव नाम गरेको एउटा ब्राह्मण पनि त्यस काममा खटिएका थिए । उनी चेदी देशमा पुगे र दमयन्तीलाई चिनेर तिनलाई माइतमा लिएर आए । त्यसपछि तिनै सुदेव ब्राह्मणलाई राजा नलको पनि खोजी गर्ने जिम्मेबारी दिइयो । सुदेव एकजना कर्मकाण्डी र नैष्ठिक ब्राह्मण थिए । उनले राजा भीष्मक र दमयन्ती दुबैलाई जस्तोसुकै ठूला सङ्कट र दुःख निवारणका लागि आशुतोष भगवान् भोलेशङ्कर र उहाँको प्रियतम व्रत प्रदोषको ठूलो भूमिका छ भन्ने कुरा बताए । तपाईंहरू भगवान् शिवको उपासना गर्नुहोस्, म आफ्ना तरिकाले राजा नलको खोजतलास गर्नेछु भनी सुदेवले दुबै जनालाई आश्वस्त तुल्याए । सुदेवका कुरा सुनेपछि दमयन्तीले प्रदोषको व्रतको विधान के हो भनी प्रतिप्रश्न गरिन् । सुदेवले सुतजीले नैमिषारण्यमा बताएको प्रदोषको महात्म्य र विधिविधान बताउँदै भने - हे राजकुमारी ! शुक्रबार परेको प्रदोषलाई शुक्रप्रदोष भन्ने गरिन्छ । मनुष्यको तेज, वीर्य, बल, रूप, धनसम्पदा र वैभव प्राप्तिमा शुक्र ग्रहको ठूलो भूमिका हुन्छ । त्यसैले शुक्र प्रदोष व्रतको पुण्यप्रभावले मनुष्यले धर्म, अर्थ, काम र मोक्ष सबै पुरुषार्थ प्राप्त गर्नुका साथै धनसम्पत्ति, राज्यलक्ष्मी र वैभवसमेत प्राप्त हुने गर्दछ । सुदेवले यति भनेर नलको खोजी गर्न देशदेशान्तरको यात्रा प्रारम्भ गरे । उता दमयन्ती निष्ठा र भक्तिपूर्वक सुदेवले बताएको विधिलाई अनुसरण गरी भोलेशङ्करको उपासना गर्न थालिन् र शुक्रबार परेको प्रदोषका दिनदेखि प्रत्येक प्रदोषको व्रतसमेत सम्पादन गर्न सुरु गरिन् ।

घुम्दै जाँदा सुदेव ब्राह्मण अयोध्या पुगे । उनलाई राजा ऋतुपर्णको सारथी बाहुक नै राजा नल हुनुपर्छ भन्ने शङ्का त लाग्यो । तर जिउडाल र बोलीवचन नलको जस्तै भए पनि अनुहार र शरीरको रङ फरक भएकाले उनले टुङ्गो लाउन सकेनन् । विदर्भ देशको दूतका रूपमा अयोध्याको दरबारमैं बसेर उनले बाहुकको हरतरहले परीक्षण गरे । उनको शङ्का बढ्दै गयो । एक दिन उनले एकान्तमा बाहुकलाई भेटे र प्रश्न गरे - कस्तो आपतमा कुनै पनि पुरुषले निद्रित अवस्थामा नै निर्जन वनमा आफ्नी पतिव्रता साध्वी पत्नीलाई छाडेर भाग्दछ ?, सुदेवका प्रश्नले नल झस्किए तर कुनै प्रतिक्रिया नदेखाई झट्ट उत्तर दिए - भरणपोषणको जिम्मेबारीसमेत वहन गर्न नसक्दा मनुष्यले आफ्नी पतिव्रता स्त्रीलाई पनि त्याग गर्दछ ।' उनको शङ्का बढ्दै गयो, यस्ता अनेक तरहले उनले बाहुकको परीक्षा लिई रहे । उता तन्मय र निष्ठाका साथमा दमयन्ती शिवाराधनामा लागेकी थिईन् । पूरा नियम र निष्ठाका साथमा प्रत्येक प्रदोषको व्रत, ब्राह्मण र गरिबगुरुबाको सेवासुश्रुषा तथा दानपुण्य कर्म गर्दथिईन् । प्रदोषको व्रत लिन थालेको एक वर्ष बित्न लागेको थियो । एक वर्षपछि पुनः अर्को शुक्र प्रदोषको आगमन भयो । उनले योग्य ब्राह्मणको सहयोग लिई व्रतको उद्यापन गरिन् र त्यसबाट आर्जित पुण्य जति सबै आफ्ना पतिलाई प्राप्त होस् भनी समर्पण गरिन् ।

सुदेवले नलको अन्तिम परीक्षा लिने तैयारी गर्यो र एउटा झुट्ठा खबर अयोध्याभरि फैलायो, खबरमा भनिएको थियो - 'राजकुमारी दमयन्तीको पुनर्विवाह हुँदैछ, राजा भीष्मकले पुनः स्वयंवरको आयोजना गर्दैछन्, त्यसैले योग्य क्षत्रीय वीरहरूले उक्त स्वयंबरमा पाल्नु होला ।' ऋतुपर्णले पनि यो खबर सुन्यो । ऊ पहिलेदेखि नै दमयन्तीको शीलस्वभाव र रूपलावण्यका बारेमा जानकार थियो । त्यसैले स्वयंवरमा भाग लिन ऊ पनि विदर्भ जाने भयो र आफ्नो सारथी बाहुकका साथमा विदर्भ देशका लागि प्रस्थान गर्यो । बाहुकको भेषमा भएका नलले पनि यो खबर सुने, दमयन्तीको पुनः स्वयंवर हुने कुराले उनको होस र चेत दुबै उडेका थिए । बाहुकले  घोडालाई हावाको चालमा हाँकी अत्यन्त छोटो समयमा नै ऋतुपर्णलाई लिई विदर्भ देश पुगे । त्यस दिन प्रदोष व्रतको साङ्गे हुँदै थियो । दरबारको आँगनमा यञ चलिरहेको थियो । राज ऋतुपर्णका साथमा आएको सारथी बाहुकलाई दमयन्तीले परैबाट देखिन् । रङ कालो नै भए पनि उनले आफ्ना पतिलाई चिनिहालिन् । ऋतुपर्णले पनि दमयन्तीको पतिको खोजी गर्न सुबाहुले यस्तो झुट्ठा खबर फैलाएका रहेछन् भन्ने थाहा पायो । ऊ राजा नलको नम्रता र अश्वविद्याबाट पहिले नै प्रभावित थियो, अहिले वास्तविक परिचय पाएपछि अझ बढी प्रभावित बन्नपुग्यो । अनजानमा नै राजा नललाई सारथी बनाएकोमा अहिले उसलाई अचम्म लाग्यो । त्यसपछि अहिलेसम्म नलमार्फत सिकेको अश्वविद्याको दक्षिणास्वरूप उसले नललाई द्युतविद्या सिकाई दियो । कलियुगले आफ्नो शरीर त्यागेको, पत्नीले प्रदोषको पुण्य समर्पण गरेको र कर्कोटक नागले दिएको वस्त्र धारण गरेकाले नल पूर्ववत सुन्दर र दिव्य स्वरूपमा परिणत भए । त्यसपछि उनले भाइ पुष्करलाई जुवा खेल्ने निमन्त्रणा दिए, जुवा खेलेर आफूले हारेको समस्त राज्यवैभव र श्रीसम्पत्ति फिर्ता लिए । आफ्नो राज्यवैभव सबै हारेपछि बल्ल पुष्करलाई आफूले गरेको गल्तीप्रति पछुतो भयो । तर राजा नलले पुष्करसित जितेको सम्पत्तिमध्ये पहिले आफूले हारेको धन र शासनसत्तामा मात्र कब्जा गरे, पुष्करको आफ्नो राजपाट र सम्पत्ति फिर्ता गरिदिए । दुबै दाजुभाइमा पूर्ववत मित्रता कायम नै रह्यो । त्यसपछि दमयन्ती र बालबच्चाका साथमा राजा नलले सुखपूर्वक जीवनयापन गरे । यति कथा भनी सकेर महर्षि बृहदश्वले भने - हे धर्मराज ! जुन मनुष्यले विपत्तिबाट हार नमानेर धैर्यताका साथमा विपत्तिकाललाई झेल्दछ, त्यही मानिस धीर र वीर हुन्छ । तपाईंले पनि शुक्रबार पर्ने प्रदोषको व्रत लिई देवाधिदेव महादेवको उपासना गर्नुहोस्, तपाईंका विपत्तिका दिनहरू जानेछन् एवं राज्यश्री र वैभवले तपाईंलाई पछ्याउने छन् ।

Monday, May 22, 2017

भौम प्रदोष व्रत

मङ्गलबारका दिन साँझमा पहिलो प्रहरमा त्रयोदशी तिथि परेको दिनलाई भौम प्रदोष भन्दछन् । पद्मपुराणमा बताइए अनुसार यस दिन मङ्गल देवता (ग्रह)का नामसङ्कीर्तन गर्ने व्रतालुले ऋणबाट छुट्कारा पाउँछ । के पौराणिक मान्यता छ भने मङ्गल ग्रहको उत्पत्ति भगवान शिवबाट भएको हो । कतै रगतको छिटा उछिट्टिएर त कतै आँसुको थोपा उछिट्टिएर पृथ्वीले गर्भधारण गरेकाले मङ्गल ग्रहको उत्पत्ति भएको कथा प्रसङ्ग सुन्न पाइन्छ । भगवान् शिवको कृपाले मङ्गलले ग्रहका रूपमा मान्यता प्राप्त गरी आकाशगङ्गामा आफ्नो स्थान सुरक्षित तुल्याएको प्रसङ्ग पनि पौराणिक स्रोतमा उल्लेख गरिएको छ । त्यसैले मङ्गलबारको प्रदोष व्रतको छुट्टै महत्त्व छ । एकातिर भौम प्रदोष परेको दिन भगवान् शिवको आराधना गरेमा सबै दु:खहरुको अन्त्य हुन्छ भने अर्कातिर मङ्गल ग्रहको आराधनाबाट व्यक्तिले हरेक नराम्रो परिस्थितिबाट मुक्ति प्राप्त गर्दछ, किनभने ज्योतिषशास्त्रमा मङ्गल ग्रहलाई प्रत्येक विपरीत स्थिति र कठिन समयसँग जुध्ने शक्ति प्रदान गर्ने ग्रहका रूपमा वर्णन गरिएको पाइन्छ । उता मङ्गलबारलाई हनुमानको आराधना गर्ने दिनका रूपमा पनि लिइन्छ । हनुमान् पनि भगवान् शिवकै अंशावतार हुन् भनी बताइन्छ । कुण्डलीमा मङ्गल र शनिश्चर ग्रहको अनिष्ट फल निवारण गर्न हनुमानको आराधना गर्ने सुझाव पनि प्राप्त हुन्छ । यसरी मङ्गलबारका दिन पर्ने भौम प्रदोषको व्रत लिएमा शिवजी, मङ्गल ग्रह, गणेशजी र हनुमानको एकसाथ उपासना र अाराधना गर्न सकिन्छ । भौम प्रदोष व्रतको व्रत कथा यस प्रकार छ -

एक पटकको कुरा हो । भगवती पार्वती अाफ्ना सँगीहरूसित रमाइला कुराहरूमा भुलिनु भएको थियो । यसरी गफमा मस्त रहेका वेला पार्वती माता अचानक खित्का छाडेर हाँस्नुभयो । पार्वतीको हाँसोका साथमा उहाँको हास्यबाट एउटा डरलाग्दो विकराल पुरुष उत्पन्न भयो र हेर्दाहेर्दै ऊ पर्वतसरह विशालकाय अाकृति भएको राक्षस बन्यो । पार्वतीले अाफ्नो हाँसोबाट उत्पन्न भएको सन्ततिवत ठानेर उसको नाम ममतासुर राखिदिनु भयो र उसलार्इ अाफ्ना दाजु गणेशको उपासना गर्ने सुझाव दिंदै भन्नुभयो - गणेशको उपासनाबाट तिमीले अाफूलार्इ अावश्यक सबै वस्तु प्राप्त गर्न सक्दछाै । ममतासुरले पार्वतीलार्इ अनुरोध गर्यो, माते म दाजुको उपासना त गर्नेछु, तर मैले उपासना गर्न जानेकै छैन । त्यसपछि माता पार्वतीले 'भगवान् गणेशको षडक्षरी मन्त्र 'वक्रतुण्डाय हुम्' मन्त्रश्रवण गराउँदै गणेशजी प्रसन्न नहुन्जेल यही मन्त्रलार्इ निरन्तर उच्चारण गरेर बस' भन्नुभयो ।

माता पार्वतीलार्इ प्रणाम गरी ममतासुर तपस्या गर्न वनतर्फ लाग्यो । त्यहाँ उसले सम्बरासुर नामको अर्को दैत्यलार्इ भेट्यो । उसले ममतासुरलार्इ समस्त अासुरी विद्या सिकार्इ दियो । ती विद्याबाट विभूषित भएको ममतासुरले भगवान् गणेशको उपासनामा पनि उत्तिकै जोड दिंदै तपस्या गर्न थाल्यो । अाफूमा भएको अासुरी शक्तिको प्रयोग गरी पृथ्वी र अाकाशको मध्यभागमा वायुमण्डलमा अडिएर हज्जाराैं वर्षसम्म गणपतिको षडक्षरी मन्त्र जाप गरी ममतासुर तपस्यामा लीन भयो । उसको अखण्ड र अटल तपस्याबाट प्रसन्न भर्इ अादिपूज्य भगवान् गणेशले ममतासुरलार्इ दर्शन दिन बाध्य हुनुभयो । भगवान् गणेशको दर्शन पाएर कृतकृत्य भएको ममतासुरले सर्वप्रथम निष्ठा र भक्तिपूर्वक उहाँको पूजा गर्यो र अनुरोध गर्यो - 'भ्राताश्री ! यदि हजुर मसँग साँच्चिकै प्रसन्न हुनु भएको हो भने मलार्इ हजुरले यस ब्रह्माण्डको राज्याधिकार प्रदान गर्नुहोस् । युद्धका समयमा मैले कहिल्यै पराजित हुनु नपरोस् । ब्रह्मा, विष्णु वा साक्षात् त्रिलोकेश्वर महादेव नै मेरासामु अाउनु भएमा वहाँहरूलार्इ मैले जित्न सकाैं । म अजेय बन्न सकाैं ।' ममतासुरका यस्ता इच्छा सुनेपछि गम्भीर हुँदै भगवान् गणेशले भन्नुभयो - 'बालक ! तैंले असाध्य र दुरूह वरको याचना गरेको छस् । मेरो उपासना गरेको हुँदा मैले यी समस्त इच्छा पूर्ण हुने वरदान प्रदान गरें, तथास्तु । तर जुन दिन मैले अाफ्नो अपमान भएको अनुभूति गर्नेछु, त्यसदिनबाट यी वरदान स्वतः समाप्त हुनेछन् ।'

भगवान् गणेशबाट दिव्य वरदान प्राप्त गरेपछि ममतासुर सम्बरासुरकहाँ पुग्यो र अाफूले अजेय वरदान प्राप्त गरेको समाचार सुनायो । ममतासुरको पुरूषार्थ प्राप्ति भएकोमा हर्षित हुँदै सम्बरासुरले अाफ्नी अत्यन्त सुन्दरी छोरी मोहिनीको विवाह गरिदियो । यो समाचार दैत्यहरूका कुलगुरु शुक्राचार्यले पनि चाल पाए, त्यसपछि उनले ममतासुरलार्इ दैत्यहरूको राजा बनाए । राजा भएको केही समयपछि कुलगुरु शुक्राचार्यसँग अाफूले विश्वविजय गर्न चाहेको इच्छा ममतासुरले  प्रकट गर्यो । शुक्राचार्यले उसलार्इ अाज्ञा दिंदै भने - 'हे राजन् ! हजुरको इच्छा पूर्ण हुनेछ, तर हजुरले याद राख्नुपर्छ, अाफ्नो विजयअभियान अघिपछि कहिल्यै पनि विघ्नेश्वर भगवान् गणपतिको विरोध कदापि गर्नु हुँदैन, किनभने अादिपूज्य भगवान् गणपतिको कृपा र अाशीषद्वारा नै तपार्इंले यो पद, प्रतिष्ठा र वैभव प्राप्त गर्नु भएको हो ।' ममतासुरले अाफ्नो अात्मबल, हिम्मत, साहस र दृढताको उपयोग गर्दै पराक्रमी सेनाका माध्यमले समस्त पृथ्वी र पाताल लोकमा कब्जा गर्यो । उसको लक्ष्य स्वर्गमाथि कब्जा गर्ने थियो, परिणामतः उसको र इन्द्रका बीचमा भीषण युद्ध भयो । उक्त युद्धमा रगतको खोलो नै बग्यो ।

ममतासुरका अगाडि इन्द्रको केही लागेन अन्त्यमा उसले स्वर्गमाथि कब्जा गरी छाड्यो । देव र दानवको युद्धमा भगवान् विष्णु र साक्षात् शिवले समेत ममतासुरका अगाडि घुँडा टेक्नु परेको थियो । अब सम्पूर्ण ब्रह्माण्डमा ममतासुरको शासन कायम भयो । देवताहरूमध्ये पनि कत्तिले स्वर्ग त्यागेर भाग्नु पर्यो भने कत्तिलार्इ ममतासुरले बन्दी र दास बनायो । ममतासुरको शासनकालमा धर्म, कर्म र वैदिक क्रियाकलापमा कसैको वास्ता भएन, सबै भोगविलास र मोजमज्जामा भुलिए । त्यसपछि देवताहरूले अाफ्नो दुःख र कष्ट निवारण गर्ने अनेकाैं उपाय गरे । तर उनीहरूको प्रयास निष्फल भयो । एक दिन अाफ्नो दुःख र पीडा निवारणका लागि कुनै उपाय सुझाउनका लागि भगवान् शिवको अाराधना गरे । देवताहरूको दुःखहरण गर्ने उपाय बताउँदै भोलेनाथले भन्नुभयो - ममतासुर मेरै अंशबाट पार्वतीको हास्यका माध्यमबाट उत्पन्न भएको हो । यसले भगवान् गणेशको अाराधना गरी दिव्यशक्ति र सामर्थ्य प्राप्त गरेको छ । त्यसैले तिमीहरूले भगवान् गणेशको प्रिय दिन मङ्गलबार र मेरो प्रिय तिथि त्रयोदशीको संयोग भएको प्रदोषका दिन व्रत गरी मेरो र गणेशको अाराधना गर । उक्त व्रतको प्रभावले प्रसन्न भएका गणेशले तिमीहरूको उद्धार गर्नेछन् ।'

शिवाज्ञा प्राप्त गरी सबै देवताहरूले भाैमप्रदोषका दिनदेखि विघ्नराज गणेशको पूजा गरे । त्यसपछि अाउने प्रत्येक प्रदोषको व्रत लिर्इ एक वर्षसम्म देवताहरूले शिवजी र गणेशको लगातार उपासना गरे । अर्को भाैमप्रदोषका दिन भगवान् गणेशको दर्शन पाए । देवताहरूले वहाँसित धर्मको उद्धार गर्न र ममतासुरको अत्याचारबाट मुक्ति दिलाउन अनुनय विनय गरे । त्यसपछि गणेशले नारदजीमार्फत सन्देश पठाउँदै ममतासुरलार्इ धर्मको अाचरण गर्न र अत्याचार समाप्त गर्न अादेश दिैदै उसले अाफ्नो शरणमा अाउनु पर्ने अादेश दिनुभयो । ममतासुरमा सुखसुविधा र पदको घमण्ड बढेको थियो । उसले नारदमार्फत सुनेको कुरालार्इ वास्ता गरेन । शुक्राचार्यले पनि उसलार्इ निकै सम्झाउने प्रयत्न गरे । तर पनि उसमा चेतना अाएन । ममतासुरको यस्तो दुष्ट प्रवृत्ति देखेर गणेशजी क्रोधित हुनुभयो र उसले अाफूलार्इ अपमान गरेको ठहर्याउनु भयो । गणेशजीलार्इ खिन्नता हुनासाथ ममतासुरमा प्राप्त भएका समग्र बल समाप्त भयो । उसको सामर्थ्य घटेको चाल पाउनासाथ देवताहरूले उसमाथि अाक्रमण गरिहाले । ममतासुरको पतन भयो र देवताहरूले पुनः राज्यश्री र सुखसम्मृद्धि प्राप्त गरे ।

सूतजीले बताउनु भएबमोजिम मङ्गलबारका दिन पर्ने प्रदोष व्रतलाई विधिविधानपूर्वक सम्पादन गर्नाले भगवान् शङ्कर र अादिपूज्य गणपतिले यसरी नै भक्तहरुलाई साक्षात दर्शन दिएर कृतार्थ गर्ने गर्दछन् । शिव र गणेशको एकसाथ उपासना गर्न सकिने भाैम प्रदोषको ठूलो महिमा छ । जोसुकैले यस व्रतको सम्पादन गरेमा अाफूले गुमाएका पदप्रतिष्ठा, राज्यवैभव, सुखसम्मृद्धि र धनसम्पत्ति प्राप्त गर्न सक्दछन् । अानन्दपूर्वक जीवनयापन गरी तिनले अन्त्यमा शिवलोक प्राप्त गरी सायुज्यमुक्ति प्राप्त गर्दछन् । ऋणसापटीबाट मुक्ति प्राप्त गर्न पनि भौम प्रदोषको व्रत लिन सकिन्छ ।

Sunday, May 7, 2017

दु:खनिवारणको उपाय - प्रदोष व्रत

व्रत लिनाले ज्ञानशक्ति, विचारशक्ति, बुद्धि, श्रद्धा, मेधा, भक्ति तथा पवित्रताको अभिवृद्धि हुन्छ र अन्तरात्मा शुद्ध हुन्छ । भगवान शङ्कर अनन्त अनि अविनाशी हुनुहुन्छ । यिनलाई प्रसन्न तुल्याउनका निमित्त विभिन्न धर्म ग्रन्थहरूमा कतिपय उपवास र व्रतका बारेमा उल्लेख गरिएको छ । यिनै विधानहरू मध्ये एउटा व्रत हो - प्रदोष व्रत ।

प्रत्येक पक्षको त्रयोदशीका दिन लिइने व्रतलाई प्रदोष व्रत भन्ने गरिन्छ । प्रत्येक दिन सूर्यास्तपछि रात्रिकाल प्रारम्भ हुने साँझको लगभग साढे दुई घण्टाको अवधि (रात्रीमानको पाँचभागको सुरुको एक भाग)लाई प्रदोष काल भनिन्छ । यस कालमा त्रयोदशी तिथिको संयोग परेको दिन नै प्रदोष व्रत सम्पादन गरिने दिन हो । यस व्रतमा भोले शङ्कर भगवान् महादेवको आराधना र पूजा गर्ने विधान छ । व्रतको दिन दम्पतिसहित व्रतालुले प्रातः ऊषाकालमा स्नान गरेर शिव, पार्वती र गणेशको संयुक्त आराधना गरी शिव मन्दिरमा गई शिवलिङ्गमा जलाभिषेक गर्नु पर्दछ र त्यसपछि पीपलको रूखमा जल चढ़ाई व्रतालुले दिनभरि पानी पनि नखाई व्रत सम्पादन गर्ने नियम छ । प्रात:कालमा स्नान गरी भगवान् शिवलाई बेलपत्र, गङ्गाजल, अक्षता, धूपदीपनैवेद्य सहित पूजा गर्नुपर्छ । सन्ध्याकालमा पुन: स्नान गरी बिहानकै विधिले शिवजीको पूजा गर्नुपर्दछ । यसरी प्रदोष व्रतको पूजा सम्पन्न गर्नाले व्रतालुले इच्छाएको कामना पूरा गर्न सक्दछ । सायंकालमा व्रत लिने व्यक्तिले फलामको कराईमा कालो दाल, मोटा चामल, तिल आदि मिसाएर खिचड़ी पकाएर भोजन गर्नुपर्दछ । त्यसरी पकाइएको खिचड़ीको चारभागको एक भाग कालो कुकुर वा गाईलाई खान दिनुपर्छ । प्रदोष व्रत ती व्यक्तिहरूका निमित्त मनोकाङ्क्षा पूर्ण गर्ने व्रत पनि हो, जसले चन्द्रमा ग्रहको पीडा भोग्नु परेको छ, त्यस्तै चन्द्रमा ग्रहको पीडाबाट मुक्ति प्राप्त गर्न वर्षभरि आउने समस्त प्रदोष व्रतलाई सम्पादन गर्नु, फलाम, तिल, कालोदाल, सुठुनी(शकरखण्ड), मूला, पिंडालु, कम्बल, जूत्ता र कोइला आदि दान गर्दा लाभ प्राप्त हुन्छ । शनिबार वा मङ्गलबार परेको प्रदोष व्रतका दिन भगवान् शिवजीको मन्दिर, हनुमानको मन्दिर वा भैरव मन्दिरमा पूजा मात्र गर्दा पनि लाभ प्राप्त हुन्छ । यद्यपि जुनसुकै बारमा परे पनि प्रदोष व्रतको महत्त्व उत्तिकै हुन्छ, तथापि सोमवार, मङ्गलवार र शनिवारका दिन परेको प्रदोष व्रतलाई अत्यधिक प्रभावकारी मानिएको छ । प्रदोष व्रतको निष्ठापूर्वक गरिने आराधनाको प्रभावले सांसारिक दुःखको निवृत्ति हुन्छ । केवल चन्द्रमाको दशानिवारण र सन्तानप्राप्तिका लागि मात्र होइन यस व्रतले सुखसम्पदायुक्त जीवन शैली, यश, कीर्ति, ख्याति र वैभव प्रदान गर्दछ । विशेषतः श्रावण, भाद्रपद, कार्तिक र माघ महिनामा पर्ने प्रदोष व्रतले वर्तमान युगको प्रभावबाट सिर्जना हुने समस्त शारीरिक र भौतिक कष्टको निवारण गर्न ठूलो सघाउ पुर्याउँछ ।

प्रदोष  व्रतको महात्म्य गङ्गा नदीको पावन तटमा कुनै समय वेदवेदाङ्ग शास्त्रका ज्ञाता एवं भगवान् नारायणका परम भक्त श्री सुतजीले सौनकादि ऋषिहरूलाई सुनाउनु भएको थियो । सुतजीले भन्नुभयो – कलियुगमा मनुष्य धर्मको आचरण विपरीत अधर्मको मार्गमा तत्पर हुन्छन्, चारैतिर अन्याय र अत्याचारको बोलबाला हुनेछ, मनुष्य आफ्नो कर्तव्यबाट विमुख भई नीच कर्ममा संलग्न रहने छन्, त्यस समयमा प्रदोष व्रत यस्तो व्रतका रूपमा प्रतिष्ठित हुनेछ, जसले मानवमात्रलाई भगवान् शिवको कृपापात्र बनाउन सक्नेछ र यस व्रतको विधिवत् सम्पादन गर्नाले मनुष्य नीच गतिबाट मुक्त भई उत्तम लोक प्राप्त गर्नेछ । त्रयोदशीको सायंकालमा (रात्रिकालको प्रारम्भको प्रथम प्रहर) मा जुन मनुष्यले यथायोग्य पूजनसामाग्रीका साथमा भगवान् शिवको मन्दिर गएर शिवलिङ्गको दर्शन गर्दछ, त्यसले समस्त पापबाट छुटकारा पाउँछ । सौनकादिक ऋषिहरूलाई सुतजीले आज्ञा गर्नुभयो – प्रदोष व्रतको पुण्यका कारण कलियुगमा मनुष्यका सबै किसिमका कष्ट र पाप नष्ट हुने गर्दछन् । यो व्रत अत्यन्त कल्याणकारी व्रत हो, यस व्रतको प्रभावले मनुष्यले मनोवाञ्छित अभीष्ट फल प्राप्त गर्दछ । बेग्लाबेग्लै बारमा परेका प्रदोष व्रतको बेग्लाबेग्लै फल पनि प्राप्त गर्न सकिन्छ, ती भिन्नभिन्न दिनमा लिएको प्रदोष व्रतका माध्यमबाट के लाभ हुन्छ भन्ने विषयमा पनि सुतजीले उक्त अवसरमा सविस्तार चर्चा गर्नु भयो । वहाँले सौनकादिक ऋषिहरूको जिज्ञासा शान्त तुल्याउँदै भन्नुभयो – प्रदोष व्रतको महात्म्य सर्वप्रथम भगवान् शङ्करले माता सतीदेवीलाई सुनाउनु भएको थियो । मैले यस व्रतको पावन कथा र विशिष्ट महात्म्य महर्षि वेदव्यासको मुखारविन्दबाट सुन्ने मौका पाएको हुँ र यो उत्तम व्रत एवं महात्म्य अहिले हजुरहरू ८८,००० मुनिहरूलाई श्रवण गराउने अवसर पाएको छु ।

बारअनुसार प्रत्येक प्रदोषको छुट्टाछुट्टै महत्त्व छ, तिनको फरकफरक महत्त्व र वैशिष्ट्यको जानकारी लिन तलका लिङ्कहरूमा जानुहुन :-

Friday, March 24, 2017

शनि प्रदोष व्रत

शनि प्रदोष व्रतको विधिवत् पालना गर्नाले सन्तान प्राप्ति हुन्छ । खासगरी पुत्रको कामना हुने दम्पतिले यस व्रतलाई विधिवत् सम्पादन गर्नु पर्दछ । पुत्रको कामना हुने पतिपत्नीले व्रतका दिन गुलिया खाद्यपदार्थहरू गाई, ब्राह्मण र गरिबगुरुबालाई वितरण गर्दा बढी लाभ प्राप्त हुन्छ । चन्द्रमा र शनिको युति भएका व्यक्तिहरूमध्ये बृष, मिथुन, कन्या, तुला, मकर र कुम्भ लग्न भएका जातकले यो व्रत आजीवन लिनु राम्रो हुन्छ । आजीवन व्रत सम्पादन गर्न कठिनाइ हुने मनुष्यले कम्तीमा १६ वटा, १६ महिना, १६ वर्ष आदि १६ को सङ्ख्या पुर्याएर व्रतको उद्यापन गर्नु पर्दछ ।

शनिप्रदोष व्रतको व्रतकथा
प्राचीन समयको कुरा हो । एउटा सहरमा शिवधन नाम गरेका वैश्य भौतिक सुखसुविधा र सम्पन्नताका साथमा वैभवपूर्ण जीवनयापन गरी बसोबास गर्दथे । उनको धन र वैभवको तुलना त्यस नगरमा अरु कसैसँग हुँदैनथ्यो । साहुजी अत्यन्त दयालु थिए । उनकहाँ पुगेको कुनै व्यक्तिले खाली हात फर्कनु पर्दैनथ्यो । जसलाई पनि उनी इच्छाएको वस्तु प्रदान गरेरै पठाउने गर्दथे । यसरी अर्काको सुख र हीत चाहने ती साहुजीका कुनै सन्तान थिएनन् ।

सन्तानहीनताका कारण ती वैश्यका पतिपत्नी अतीव चिन्तित थिए । बुढ्यौली आउन लाग्दा समेत सन्तान नभएको खिन्नताका कारण एक दिन ती दुबै दम्पतीले तीर्थमा गएर बाँकी जीवन बिताउने निर्णय गरे । आफ्ना समस्त कारोबार र व्यवसाय नोकरचाकरलाई सुम्पिएर ती साहुसाहुनी सहरबाट बाहिरिए । तिनीहरू त्यस नगरको सीमाबाहिर मात्र पुगेका थिए, उनीहरूले एउटा ठूलो रुखमुनि समाधि लगाएर बसेका एक जना साधुलाई देखे । हेर्दा ती साधु तेजस्वी देखिन्थे । यसभन्दा पहिले नदेखिएका ती साधुसित आशीर्वाद प्राप्त गरेरमात्र यात्रामा जाँदा राम्रो हुने विचार ती दुबैको मनमा आयो । समाधिस्थ योगीको आशीर्वाद ग्रहण गर्ने काम चुनौतीपूर्ण थियो किनभने उनी अविचल भई ध्यानपूर्वक समाधिमा लीन भई बसेका थिए । योगीलाई ब्युझाउँदा उल्टै रिसाउने र श्राप दिने डर पनि थियो ।

समाधिस्थ मुनिका सामु हात जोडेर धैर्यतापूर्वक उनको समाधि टुट्ने आशामा ती दुबै प्रतीक्षा गर्न थाले । बिहानदेखि नै  करबद्ध भएर बसेका साहुसाहुनी हात जोडेकोजोडै भए, साँझ पर्यो, रात पर्यो, रात बित्यो तर साधुको समाधि भङ्ग भएन । भोलिपल्ट उज्यालो भएपछि मात्र जोगी ब्युँझिए । वैश्य पतिपत्नी धैर्यपूर्वक हाथ जोड़ेर बसिरहेका थिए । आफ्ना अगाडि सहरका धनाढ्य व्यापारीका जोइपोइलाई देखेर मन्दमन्द मुस्कुराउँदै आशीर्वाद स्वरूप हात उचाल्दै मुनिले भने - ‘मैले तिमीहरूको अन्तर्मनको व्यथा पहिचान गरिसकेको छु अनि मेरो समाधि खुल्ने प्रतीक्षा गर्दागर्दै तिमीहरूले अज्ञानतामा नै ठूलो पुण्य प्राप्त गरिसकेका छौ । हिजो शनिबार र प्रदोष व्रत परेको महत्त्वपूर्ण दिन थियो । त्यसैले तिमीहरूको व्रत पूर्ण भएको छ । तिमीहरूलाई सन्तान प्राप्त हुनेछ । अब तीर्थवास गर्ने आवश्यकता छैन । बरु अहिले तीर्थयात्राका लागि जाओ र फर्किएर सँधै भक्तवत्सल भगवान् भोलेशङ्करको आराधना गरेर सुखी गृहस्थी जीवन आफ्नै घरमा बसेर यापन गर ।'

साधुका कुरा सुनेर प्रसन्न भएका ती दम्पत्तीले साधु र भगवान् भोलेशङ्करको भूरिभूरि प्रशंसा गरे र त्यसपछि आफूले नजानीकन लिएको प्रदोष व्रतको महात्म्य र व्रतविधान बताइदिन ऋषिसँग प्रार्थना गरे । साधुले निष्ठापूर्वक सम्पादन गर्दा सुयोग्य सन्तान दिलाउने शनि प्रदोष व्रत लगायत समस्त प्रदोष व्रतको महात्म्य र विशेषता बताएर व्रतसम्पादन गर्ने विधिविधान र नियम बताइदिए । मुनिसित आशीर्वाद र विदा प्राप्त गरी ती दम्पती त्यहाँबाट तीर्थयात्राका लागि बाटो लागे । तीर्थयात्रा पूर्ण भएपछि घरमा आएर शनि प्रदोष व्रतको दिनबाट सुरु गरी प्रत्येक प्रदोषका दिन निष्ठा र विधिपूर्वक व्रत लिन थाले । कालान्तरमा शिवधन वैश्यका घरमा एउटा सुन्दर पुत्रको जन्म भयो । यसरी शनि प्रदोष व्रतको प्रभावले ती वैश्यको जीवनमा छाएको अन्धकार लुप्त भयो । ती दम्पती पुत्र प्राप्त भएपछि आनन्दपूर्वक जीवनयापन गर्न थाले ।

त्यसैले पुत्रप्राप्तिको मात्र होइन, सन्तानको उन्नति, प्रगति, सुस्वास्थ्य र दीर्घजीवनको कामना गर्ने दम्पतीले शनिप्रदोषको व्रत लिनु पर्दछ । शनिबारबाहेक अन्यबारका दिन परेको भएपनि प्रदोष व्रतको निष्ठापूर्वक पालना गर्नाले तपार्इंको कुण्डलीमा देखिएको शनि ग्रहको अनिष्ट फल र नराम्रा प्रकोपहरू शान्त हुने गर्दछन्, अनि रोगव्याधि, दरिद्रता, घरभित्रको अशान्ति, नोकरी वा व्यापारव्यवसायमा देखिएको कठिनाइ पनि निवारण हुन्छन् ।

Tuesday, January 24, 2017

बुध प्रदोष व्रत

बुधबारका दिन बेलुका सूर्यास्तको समयमा त्रयोदशी तिथि परेको दिन लिइने व्रतलाई बुध प्रदोष व्रत भन्ने गरिन्छ । नैमिसारण्यमा उपस्थित ऋषिहरूलाई विभिन्न पौराणिक आख्यान र कथाप्रसङ्ग उल्लेख गर्दै सूतजीले बुधप्रदोषको चर्चा गर्दै भनेका छन् - बुध प्रदोष व्रतको सम्पादन गर्नाले समस्त मनोकाङ्क्षा पूर्ण हुने गर्दछन् । पुराणमा चर्चा गरिएअनुसार बुधबार प्रदोष परेका बेला भगवान् शिव प्रसन्न भएर कैलाश पर्वतमा नृत्य गर्ने गर्नुहुन्छ । त्यसैले बुध प्रदोषका दिन व्रत गर्दा धनसम्पत्ति प्राप्त हुनुका साथै दुःख र दारिद्र्यको नाश हुन्छ र सबै मनोकामना पूर्ण हुन्छन् । बुधप्रदोषको व्रत लिनाले दुईवटा लैना गाई एकै पटक दान गर्दा पाइने पुण्य प्राप्त हुन्छ । त्यस्तै यस पुण्य दिनमा व्रत लिनाले र भगवान् भोलेनाथको आराधना गर्नाले हरहमेशा व्यक्तिले भगवान् शिवको कृपा प्राप्त गर्दछ, इहलोकमा सुखसम्मृद्धि प्राप्त गरी अन्त्यकालमा मोक्षप्राप्ति हुन्छ । घरपरिवारमा खुसियाली, सुस्वास्थ्य र सुखसम्पत्तिले निवास गर्दछ । प्रेमजीवनको सफलताका लागि पनि बुधबार परेको प्रदोष व्रतबाट व्रत प्रारम्भ गरी लगातार २१ हप्ता व्रत बसी उद्यापन गर्ने नियम छ । त्यस्तै कालसर्प दोष लगायत समस्त सर्पबाधा, नागनगिनी, डाकिनीशाकिनी, भूतप्रेत आदिको बाधा पनि नष्ट हुन्छ । सारांशमा बुधवारका दिन परेको प्रदोष व्रत सौभाग्य र दाम्पत्य जीवनको सुखशान्तिका लागि हो ।  यस्तो महत्ता र गरिमा रहेको बुध प्रदोषको व्रतकथा निम्नानुसार छ -

अङ्ग देशमा 'चम्पा नगरी' नामको एउटा सानो नगर थियो । त्यस नगरमा चन्द्रधर नामको एउटा धनी वैश्यले नीति र धर्मको पालना गर्दै आफ्नो गृहस्थी सम्हालेर निवास गरेको थियो । ऊ भगवान् आशुतोष शिवशङ्करको परम भक्त थियो, तर नागमाता मनसादेवी उसँग उसको पूर्वजन्मको दोषका कारण रिसाएकी थिईन् । चन्द्रधरकी पत्नीको नाम चन्द्रकला थियो । धनधान्य र सुखसम्मृद्धिको कमी त थिएन, तर उसका घरमा सर्पको बाधा हुनाले सन्तानको सुस्वास्थ्य र उन्नतिप्रगतिमा बाधा परेको देखिन्थ्यो । उसका सन्तान हुँदै नभएका त होइनन्, तर उसका सन्तानको जन्म भएपछि पाँचवर्षको उमेर नपुग्दै नागले डँस्नाले मृत्यु हुने गर्दथ्यो । एउटा दुईवटा मात्र होइन उसका छ/छ जना पुत्रले सर्पबाधाका कारण कालकवलित हुनु परेको थियो । वैश्यले सन्ततिपक्षको आयुको कामना गरेकाले त होइन, उसको अटल शिवभक्तिको प्रभावले हुनसक्छ वा अन्य कुनै कारणले उसको सातौं पुत्र अहिलेसम्म जीवित नै थियो अनि किशोरावस्थाको उमेर पनि पार गरिसकेको थियो । चन्द्रधरको कान्छो छोराको नाम 'लक्ष्मीचन्द्र' थियो । अन्य छ/छ जना पुत्रको बाल्यावस्थामा नै मृत्यु भएकाले चन्द्रधरलाई यस पुत्रप्रति त्यत्ति मोह जाग्न सकेको थिएन । जे हुन्छ, शिवकृपाले हुन्छ भनी ऊ सधैं शिवभक्तिमा एकनाशले तल्लीन हुने गर्दथ्यो । छोरोले युवावस्थामा प्रवेश गर्न लागेकोमा चन्द्रधरकी पत्नी चन्द्रकला भने उत्साहित देखिन्थिन् । उनी समय मिल्नासाथ अब छोराको विवाह गरी दिनुपर्छ भन्ने आशय व्यक्त गरिहाल्थिन् ।

त्यसवेला भारतवर्षको पश्चिममा अवन्तिका नाम गरेको अर्को एउटा देश पनि थियो । त्यस देशको राजधानी उज्जयिनी नाम गरेको सहरमा अर्को एक जना साधुचन्द्र नामको एउटा धनाढ्य व्यापारी बसोबास गर्दथ्यो । जस्तो नाम त्यस्तै चरित्र र आचरण थियो, साधुचन्द्रको । ऊ दिनैपिच्छै महाकाल शिवको मन्दिरमा गई दिनदुःखी र गरिबगुरुबाको सेवासत्कार नगरी आफ्नो दिनचर्या सुरु गर्दैनथ्यो । साधुचन्द्रकी एउटीमात्र पुत्री थिई । रूपलावण्य र शिलस्वभावका दृष्टिले ऊ अद्वितीय नै थिई । बाल्यावस्थादेखि नै उसमा पिताका धार्मिक र परोपकारी स्वभावहरूले विकसित हुने अवसर पाएका थिए । उसले पनि किशोरावस्थाको वयसन्धि भर्खरै पार गरेकी थिई । साधुचन्द्रमा शुक्लपक्षको चन्द्रमा झैं शारीरिक र भौतिक अङ्गहरू विकसित हुँदै गरेकी छोरीको असल घरघरान र कुलकुटुम्बमा विवाह गरिदिने चिन्ता बढ्न थालेको थियो । उसले चम्पा नगरीका चन्द्रधरका पुत्र लक्ष्मीचन्द्रको विवाहयोग्य उमेर भएको कुरा आफन्तहरूबाट सुनेको थियो । चन्द्रधरको शीलस्वभाव र आचरणका बारेमा ऊ राम्ररी जान्दथ्यो । पिता र परिवारको अनुशासन एवं चरित्रको प्रभाव छोराछोरीको जीवनमा जस्ताको त्यस्तै आउने गर्दछ भन्ने कुरामा ऊ विश्वास गर्दथ्यो । त्यसैले ऊ चन्द्रधरको छोरा लक्ष्मीचन्द्रलाई आफ्नी कन्या सुम्पने मनसायमा पुगी सकेको थियो । साधुचन्द्रकी छोरीको नाम 'विगुला' थियो । उसले पनि लक्ष्मीचन्द्रको रूपलावण्य र चालचलनका बारेमा आफ्ना सखीसङ्गतिमार्फत थाहा पाएकी थिई । भौतिक रूपमा देख्न नपाए पनि विगुलाको मनमा लक्ष्मीचन्द्रप्रति अनुराग जागिसकेको थियो ।

एक पटक उज्जयिनी नगरीमा महाकुम्भ पर्व चल्दै थियो । उक्त अवसरमा चम्पानगरीबाट पनि धेरै तीर्थयात्री भगवान् महाकालको दर्शन र नर्मदा नदीको स्नान गर्न त्यहाँ आएका थिए । तिनै तीर्थयात्रीमध्ये एक जना साधुचन्द्रका आफन्त पनि थिए । ती आफन्त उसलाई भेट्न घरमा आएका बखत साधुचन्द्रले आफ्नो मनमा गुम्सिएको कुरा बताउँदै भन्यो - 'तपाईंका नगरमा बसोबास गर्ने चन्द्रधरका छोरा लक्ष्मीचन्द्रको चालचलन र रूपलावण्यको चर्चा खुब सुन्दैछु । पारिवारिक हैसियत र कुलधर्म हामीसँग मिल्दोजुल्दो नै छ, त्यसैले उनलाई मेरी छोरी कन्यादान गरिदिने कुरा मेरो मनमा मँडारिंदै छ । कसमार्फत म यो सन्देश पठाउँ भनी चिन्तित थिएँ । संयोगले तपाईंसँग भेट भयो । चन्द्रधरलाई मेरो यो सन्देश पुर्याई उनीहरूको के प्रतिक्रिया हुन्छ ? त्यसको जानकारी कसै गरी मलाई पठाउने व्यवस्था गरिदिनुहुन म तपाईंसमक्ष आग्रह गर्दछु ।' ती आफन्तले साधुचन्द्रको आग्रहलाई स्वीकार गरे ।

चन्द्रधरलाई साधुचन्द्रको प्रस्ताव मनपर्यो, सन्देश पाउना साथ उसले पनि तिनै आफन्तमार्फल पुत्र लक्ष्मीचन्द्रको जन्मकुण्डली उज्जयिनी पठाइदियो । कुण्डली पाएपछि आफ्ना कुलपुरोहितलाई डाकी दुबै वर र कन्याको जीवन, भाग्य र भविष्यको विवेचना गरियो । पुरोहितले निष्कर्ष सुनाउँदै भने - वर र कन्याको कुण्डली निकै मिल्दोजुल्दो छ, जोडी राम्रै हुनेछ, तर चन्द्रधरको पुत्रको कुण्डलीमा कुलको दोष देखिन्छ, उसका घरमा नागको बाधा छ । यस बालकको विवाहपछिको पहिलो रातमा नै सर्पको डँसाइबाट मृत्यु हुने सम्भावना छ । पिता र पुरोहितका बीचमा भएको कुराकानी विगुलाले पनि सुनिरहेकी थिई । उसको मनमा जसप्रति अनुराग जागेको छ, उसैलाई विवाह गरिदिने कुराकानी भइरहँदा ऊ निकै उत्साहित भएकी थिई । तर ब्राह्मणका पछिल्ला वाक्य सुन्दा निराशा भयो । उसले ब्राह्मणलाई नम्र स्वरले प्रश्न पनि गरी - गुरुजी ! मेरो कुण्डलीमा विधवा हुने योग छ कि छैन ? । ब्राह्मणले कन्यातर्फ हेर्दै उत्तर दिए - बालिके ! तिम्रो कुण्डलीमा त अखण्ड सौभाग्यवती योग छ, तर यस केटाको अल्पायुष्य योग भएकाले तिम्रो यस केटासित विवाह सम्भव छैन ।

चिना हेरेको धेरै दिनसम्म साधुचन्द्रले कुनै जवाफ नपठाएपछि चन्द्रधरले पुनः जिज्ञासा राख्दै उज्जयिनीमा अर्को सन्देश पठायो । चन्द्रधरको जिज्ञासाको उत्तर कसरी दिने भन्ने दुविधामा पर्यो, साधुचन्द्र । केही दिनदेखि बाबु चिन्ताग्रस्त रहेको देखेपछि विगुलाले बावुसित चिन्तित हुनुपर्ने कारणका बारेमा सोधी । बावुले आफ्नो चिन्ताको विषय के हो ? स्पष्टसँग छोरीसमक्ष राख्यो । बावुका कुरा सुनेपछि विगुलाले भनी - 'पिताजी, कसैको भाग्य र जीवन ब्राह्मणले निर्धारण गर्दैनन्, यसको नियन्त्रण र सञ्चालनको सामर्थ्य त महाकाल शिवको इच्छामा हुन्छ । हामीले सधैं सत्कर्म र सदाचार गरेका छौं, कुटुम्ब र वर पनि हाम्रो अनुकूल छन् । अनि गुरुबाले मेरो अखण्ड सौभाग्य छ भनेर पनि भन्नु भएको छ । त्यसैले कुनै चिन्ता नगरी हजुरले मेरो विवाहको निर्णय गरे हुन्छ । मेरो नियति नै दुःख पाउने गरी तोकिएको रहेछ भने अन्तै विवाह गरे पनि त मैले त्यो भोग्नै पर्दछ ।' छोरीका यस्ता प्रौढ कुरा सुनेपछि उसले विवाहको टुङ्गो गरेको सन्देशका साथमा चन्द्रधरलाई खबर पठायो ।

केही समयपछि उचित मुहूर्तमा विगुला र चन्द्रधरको विवाह सम्पन्न भयो । बेउलीका रूपमा चम्पा नगरीमा विगुलाको भव्य स्वागत गरियो । उज्जयिनीका पुरोहितले विवाहको पहिलो रातमा सर्पबाधा हुन्छ भन्ने कुरा गरेको विगुलाका घर र माइती दुबै पक्षलाई थाहा थियो । त्यसैले नववरबधूको मधुरात्रीका लागि शयनकक्ष र कोठाको व्यवस्था हुँदै थियो । शयनकक्ष निर्माण गर्दा सर्प त के बाहिरको हावा पनि नपस्ने गरी सचेतताका साथमा मजबुतीका साथमा गरिन लागिएको थियो । सहरका नामी वैद्य र झारफुक गर्ने तान्त्रिकहरूलाई पनि त्यस रात त्यहीं बस्ने व्यवस्था मिलाइएको थियो । दुबै पतिपत्नी शयनकक्षमा प्रवेश गरे । उनीहरूलाई व्यवस्थापन पक्षको सम्पूर्ण जानकारी थियो, त्यसैले कुनै किसिमको डर, भय वा त्रास थिएन । लामो समयसम्म प्रणयालाप गर्दै ती निदाए । भोलिपल्ट नवविवाहिता बधू विगुला ब्युँझदा उसको पति लक्ष्मीचन्द्र मरिसकेको थियो । सर्पले टोकेको स्पष्ट झल्को आउने गरी उसको लास नीलोकालो भइसकेको थियो । वास्तवमा नागमाता मनसादेवीले बेउलाकी आमाको रूप धारण गरी कालीगढलाई हावा नछिर्ने कोठा बनाउनु हुँदैन, एउटा सानो प्वाल राखिदिनु भनी अह्राएकी थिईन्, यो कुरो कसैलाई थाहा थिएन, त्यसै प्वालबाट मनसादेवीको आदेशमा नागराज वासुकीले प्रवेश गरी लक्ष्मीचन्द्रलाई डसेकाले उसको मृत्यु भएको थियो ।

लक्ष्मीचन्द्रको मृत्यु भएपछि सारा घर र नगरमा हल्लखल्ल भयो । विवाहको उत्सवमा रमाई रहेका सारा जन एकाएक शोक र मूर्च्छामा परिणत भए, वातावरणमा रोदन र विलापको कोलाहल व्याप्त भयो । सर्पदंशबाट मृत्यु भएका व्यक्तिको दाह संस्कार गर्नु हुँदैन भन्ने शास्त्रीय मान्यता छ, त्यसरी मरेका व्यक्तिलाई जलप्रवाहमा विसर्जन गरी सद्गत गर्नु पर्दछ । लक्ष्मीचन्द्रको शवलाई पनि चम्पा नगरीको नजिकै रहेको धनश्री नदीको तटमा लगियो । परिवारका सबै सदस्यका साथमा सारा नगरवासी मलामीका रूपमा नदीका तटमा आए । केराको थामको प्रयोग गरी एउटा चिता बनाइयो । लक्ष्मीचन्द्रको मृतदेहलाई रामनामी गुताई उक्त चितामा राखियो । विवाहको पहिलो रातमा नै विधवा बन्न पुगेकी विगुला विलाप गर्दै त्यसै चिताका छेउमा बसी । सारा नगरवासीले उसलाई त्यसो नगर्न आग्रह गरे । तर ऊ मान्दै मानिन । पतिसितै आफू पनि सती हुने भनी उसले पतिको लासलाई आलिङ्गन गरिरही । कसैको केही नलागेपछि विगुला र उसको मृत पतिलाई त्यही केराको थाम प्रयोग गरी बनाइएको डुँगाजस्तो नाउमा राखी नदीको पानीमा हुत्याइदिए ।

विगुलाले त्यस समयमा विवाहमा लगाएका पहिरन नै लगाएकी थिई । उसको निधारमा रातो सिन्दूर जताततै लत्पतिएको देखिन्थ्यो । नदीको प्रवाहमा बग्दाबग्दै विगुला र उसको मृत पति चढेको त्यो डुँगा समुद्रमा पुग्यो । धेरै दिन बितिसकेको थियो । यस अवधिमा उसले केही पनि खान पिउन पाएकी थिईन । लासबाट दुर्गन्ध आउन थालेको थियो । औंसा परेकाले शरीरको मासु गलेर झर्न थालिसकेको थियो । केवल कङ्कालमात्र शेष थियो । कङ्कालमात्र बाँकी भए पनि विगुलाले आफ्ना पतिलाई निरन्तर अँगालोमा लिएर एक भक्तिले भगवान् महाकाल शिवको नामोच्चारण गरिरहेकी थिई ।

यसरी विगुलाको एकभक्ति र पातिव्रत्यबाट भगवान् शिव प्रसन्न हुनुभयो । उहाँले नागमाता मनसादेवीलाई बोलाएर आदेश दिनुभयो - 'मनसे ! जाऊ लक्ष्मीचन्द्रको शरीरमा रहेको सर्पविषको शोषण गरेर आऊ । विगुलाले जुन दिनदेखि केही नखाई उपवास गरेकी थिई, त्यो दिन बुध प्रदोषको दिन थियो । उसको एक पक्ष (पन्ध्र दिन) सम्मको निरन्तरको उपवासले कैलाशमा रहेको समस्त पुण्य उसको शरीरमा समाहित भएको छ । अब वैधव्य दोषमात्र होइन, उसले कुनै किसिमका सांसारिक बाधालाई व्यहोर्नु पर्दैन ।' मनसादेवीले भगवान् शिवलाई नम्र भई बिन्ती गरिन् - 'हे देवाधिदेव महादेव ! पूर्वजन्ममा यसका पिता चन्द्रधरले मेरा सन्तति नागहरूलाई एक्काईस पटक मारेको थियो । त्यसैको बदला लिन मैले यस जन्ममा उसका कुलका एक्काईस जना व्यक्तिलाई डँसेर मार्ने योजना बनाएकी छु । मैले उसको विष शोषण गरें भने मेरो सङ्कल्प भङ्ग हुन्छ । त्यसैले मैले प्रभुको आज्ञालाई पालना गर्न सक्दिन ।' फेरि शिवले मनसादेवीलाई सम्झाउँदै भन्नुभयो - 'हे नागमाते ! मैले यी सबै कुरा थाहा पाएको छु । मेरो प्रियतम प्रदोष व्रतको ठूलो महिमा छ । अझ बुधबारका दिन परेको यस व्रतको प्रभावले सर्पबाधा र सर्पदोषजन्य समस्त दोषहरू नाश हुन्छन् । यदि कसैले बुधबारका दिन परेको प्रदोषको समयमा जानेर वा अन्जानमैं व्रत बस्यो भने उसको मात्र होइन, उसका कुलका सातपुस्ता, मावली कुलका सात पुस्ता र ससुराली कुलका सात पुस्ताभित्रका समस्त पापराशि र दोषको शमन हुन्छ । विगुलाले अहिले जुन उपवास गरेकी छ, त्यसको प्रभावले चन्द्रधरका पूर्वजन्मका समस्त सर्पबाधा नष्ट भएका छन् । त्यसैले तिमीले उसको विषदोहन गरेमा तिम्रो सङ्कल्पमा विघ्न भएको ठहरिने छैन ।'

शिवाज्ञालाई शिरोधार्य गरी मनसादेवी विगुला पुगेको समुद्रको तटमा धोबिनीको रूप धारण गरी उपस्थित भईन् । उनको अनुहारमा देदीप्यमान तेज थियो । उनले विगुलालाई भनिन् - 'बालिके ! तिम्रो निष्ठा र भक्तिका कारण भगवान् भोलेशङ्कर प्रसन्न हुनु भएको छ । नाउ किनारामा ल्याऊ र त्यो लाश मलाई देऊ, म तिम्रो पति जीवित तुल्याइदिन्छु, तिमी शिव नामोच्चारण गर्दै नृत्य गर ।' विगुलाले पन्ध्र दिनदेखि केही पनि खाएकी थिइन, उसको मनमा केवल पतिको स्मृतिमात्र बाँकी थियो । पतिका लागि उसले जेजस्तो पनि गर्न सक्थी, त्यसैले पतिलाई सम्झँदै शिवशिव भन्दै नृत्य गर्न थाली । पतिको स्मृतिमा उन्मत्त भई नाचिरहेकी विगुलालाई आकाशबाट सारा देवता, नाग, यक्ष र गन्धर्वहरूले हेरिरहेका थिए । समस्त देव समुदाय द्रवित भयो । मनसादेवीको हृदय पनि रसायो । विगुला नाच्न थालेपछि मनसादेवीले लक्ष्मीचन्द्रको शरीरको विषलाई शोषण गरिन् । लक्ष्मीचन्द्र निदाएर उठे झैं ब्युँझियो, यसरी विगुलाको अखण्ड पतिभक्ति, शिवोपासना र बुधप्रदोषको प्रभावले उसको जीवनले मुस्कुराउने मौका पायो । प्राप्तिको यो पराकाष्ठा बाल्यावस्थादेखि नै महाकाल शिवको भक्तिको प्रेरणा र बुधप्रदोष व्रतको प्रतिफलबाट प्राप्त भएको थियो । स्कन्दपुराणमा स्पष्टसँग उल्लेख गरिएको छ, जो भक्तजनले बुधबार परेको प्रदोषव्रतबाट थालनी गरी प्रत्येक प्रदोष व्रतको उपवास गर्दछ र प्रदोष परेको दिन शिवपूजा गरी मध्याह्न कालमा एकाग्र चित्तले प्रदोष व्रतको कथा श्रवण गर्दछ, त्यसले सय जन्मसम्म कहिल्यै पनि दरिद्रताको दर्शन गर्नु पर्दैन, नागनागिनी, डाकिनीशाकिनी, भूतप्रेत आदिको बाधा हुँदैन । जीवनभरि सुखसुविधा र धनधान्यले भरिपूर्ण रही अन्त्यमा शिवसान्निध्य प्राप्त गर्दछ ।

Friday, November 25, 2016

दु:खनिवारणको उपाय - प्रदोष व्रत

व्रत लिनाले ज्ञानशक्ति, विचारशक्ति, बुद्धि, श्रद्धा, मेधा, भक्ति तथा पवित्रताको अभिवृद्धि हुन्छ र अन्तरात्मा शुद्ध हुन्छ । भगवान शङ्कर अनन्त अनि अविनाशी हुनुहुन्छ । यिनलाई प्रसन्न तुल्याउनका निमित्त विभिन्न धर्म ग्रन्थहरूमा कतिपय उपवास र व्रतका बारेमा उल्लेख गरिएको छ । यिनै विधानहरू मध्ये एउटा व्रत हो - प्रदोष व्रत ।

प्रत्येक पक्षको त्रयोदशीका दिन लिइने व्रतलाई प्रदोष व्रत भन्ने गरिन्छ । प्रत्येक दिन सूर्यास्तपछि रात्रिकाल प्रारम्भ हुने साँझको लगभग साढे दुई घण्टाको अवधि (रात्रीमानको पाँचभागको सुरुको एक भाग)लाई प्रदोष काल भनिन्छ । यस कालमा त्रयोदशी तिथिको संयोग परेको दिन नै प्रदोष व्रत सम्पादन गरिने दिन हो । यस व्रतमा भोले शङ्कर भगवान् महादेवको आराधना र पूजा गर्ने विधान छ । व्रतको दिन दम्पतिसहित व्रतालुले प्रातः ऊषाकालमा स्नान गरेर शिव, पार्वती र गणेशको संयुक्त आराधना गरी शिव मन्दिरमा गई शिवलिङ्गमा जलाभिषेक गर्नु पर्दछ र त्यसपछि पीपलको रूखमा जल चढ़ाई व्रतालुले दिनभरि पानी पनि नखाई व्रत सम्पादन गर्ने नियम छ । प्रात:कालमा स्नान गरी भगवान् शिवलाई बेलपत्र, गङ्गाजल, अक्षता, धूपदीपनैवेद्य सहित पूजा गर्नुपर्छ । सन्ध्याकालमा पुन: स्नान गरी बिहानकै विधिले शिवजीको पूजा गर्नुपर्दछ । यसरी प्रदोष व्रतको पूजा सम्पन्न गर्नाले व्रतालुले इच्छाएको कामना पूरा गर्न सक्दछ । सायंकालमा व्रत लिने व्यक्तिले फलामको कराईमा कालो दाल, मोटा चामल, तिल आदि मिसाएर खिचड़ी पकाएर भोजन गर्नुपर्दछ । त्यसरी पकाइएको खिचड़ीको चारभागको एक भाग कालो कुकुर वा गाईलाई खान दिनुपर्छ । प्रदोष व्रत ती व्यक्तिहरूका निमित्त मनोकाङ्क्षा पूर्ण गर्ने व्रत पनि हो, जसले चन्द्रमा ग्रहको पीडा भोग्नु परेको छ, त्यस्तै चन्द्रमा ग्रहको पीडाबाट मुक्ति प्राप्त गर्न वर्षभरि आउने समस्त प्रदोष व्रतलाई सम्पादन गर्नु, फलाम, तिल, कालोदाल, सुठुनी(शकरखण्ड), मूला, पिंडालु, कम्बल, जूत्ता र कोइला आदि दान गर्दा लाभ प्राप्त हुन्छ । शनिबार वा मङ्गलबार परेको प्रदोष व्रतका दिन भगवान् शिवजीको मन्दिर, हनुमानको मन्दिर वा भैरव मन्दिरमा पूजा मात्र गर्दा पनि लाभ प्राप्त हुन्छ । यद्यपि जुनसुकै बारमा परे पनि प्रदोष व्रतको महत्त्व उत्तिकै हुन्छ, तथापि सोमवार, मङ्गलवार र शनिवारका दिन परेको प्रदोष व्रतलाई अत्यधिक प्रभावकारी मानिएको छ । प्रदोष व्रतको निष्ठापूर्वक गरिने आराधनाको प्रभावले सांसारिक दुःखको निवृत्ति हुन्छ । केवल चन्द्रमाको दशानिवारण र सन्तानप्राप्तिका लागि मात्र होइन यस व्रतले सुखसम्पदायुक्त जीवन शैली, यश, कीर्ति, ख्याति र वैभव प्रदान गर्दछ । विशेषतः श्रावण, भाद्रपद, कार्तिक र माघ महिनामा पर्ने प्रदोष व्रतले वर्तमान युगको प्रभावबाट सिर्जना हुने समस्त शारीरिक र भौतिक कष्टको निवारण गर्न ठूलो सघाउ पुर्याउँछ ।

प्रदोष  व्रतको महात्म्य गङ्गा नदीको पावन तटमा कुनै समय वेदवेदाङ्ग शास्त्रका ज्ञाता एवं भगवान् नारायणका परम भक्त श्री सुतजीले सौनकादि ऋषिहरूलाई सुनाउनु भएको थियो । सुतजीले भन्नुभयो – कलियुगमा मनुष्य धर्मको आचरण विपरीत अधर्मको मार्गमा तत्पर हुन्छन्, चारैतिर अन्याय र अत्याचारको बोलबाला हुनेछ, मनुष्य आफ्नो कर्तव्यबाट विमुख भई नीच कर्ममा संलग्न रहने छन्, त्यस समयमा प्रदोष व्रत यस्तो व्रतका रूपमा प्रतिष्ठित हुनेछ, जसले मानवमात्रलाई भगवान् शिवको कृपापात्र बनाउन सक्नेछ र यस व्रतको विधिवत् सम्पादन गर्नाले मनुष्य नीच गतिबाट मुक्त भई उत्तम लोक प्राप्त गर्नेछ । त्रयोदशीको सायंकालमा (रात्रिकालको प्रारम्भको प्रथम प्रहर) मा जुन मनुष्यले यथायोग्य पूजनसामाग्रीका साथमा भगवान् शिवको मन्दिर गएर शिवलिङ्गको दर्शन गर्दछ, त्यसले समस्त पापबाट छुटकारा पाउँछ । सौनकादिक ऋषिहरूलाई सुतजीले आज्ञा गर्नुभयो – प्रदोष व्रतको पुण्यका कारण कलियुगमा मनुष्यका सबै किसिमका कष्ट र पाप नष्ट हुने गर्दछन् । यो व्रत अत्यन्त कल्याणकारी व्रत हो, यस व्रतको प्रभावले मनुष्यले मनोवाञ्छित अभीष्ट फल प्राप्त गर्दछ । बेग्लाबेग्लै बारमा परेका प्रदोष व्रतको बेग्लाबेग्लै फल पनि प्राप्त गर्न सकिन्छ, ती भिन्नभिन्न दिनमा लिएको प्रदोष व्रतका माध्यमबाट के लाभ हुन्छ भन्ने विषयमा पनि सुतजीले उक्त अवसरमा सविस्तार चर्चा गर्नु भयो । वहाँले सौनकादिक ऋषिहरूको जिज्ञासा शान्त तुल्याउँदै भन्नुभयो – प्रदोष व्रतको महात्म्य सर्वप्रथम भगवान् शङ्करले माता सतीदेवीलाई सुनाउनु भएको थियो । मैले यस व्रतको पावन कथा र विशिष्ट महात्म्य महर्षि वेदव्यासको मुखारविन्दबाट सुन्ने मौका पाएको हुँ र यो उत्तम व्रत एवं महात्म्य अहिले हजुरहरू ८८,००० मुनिहरूलाई श्रवण गराउने अवसर पाएको छु ।

शनि प्रदोष व्रत

शनि प्रदोष व्रतको विधिवत् पालना गर्नाले सन्तान प्राप्ति हुन्छ । खासगरी पुत्रको कामना हुने दम्पतिले यस व्रतलाई विधिवत् सम्पादन गर्नु पर्दछ । पुत्रको कामना हुने पतिपत्नीले व्रतका दिन गुलिया खाद्यपदार्थहरू गाई, ब्राह्मण र गरिबगुरुबालाई वितरण गर्दा बढी लाभ प्राप्त हुन्छ । चन्द्रमा र शनिको युति भएका व्यक्तिहरूमध्ये बृष, मिथुन, कन्या, तुला, मकर र कुम्भ लग्न भएका जातकले यो व्रत आजीवन लिनु राम्रो हुन्छ । आजीवन व्रत सम्पादन गर्न कठिनाइ हुने मनुष्यले कम्तीमा १६ वटा, १६ महिना, १६ वर्ष आदि १६ को सङ्ख्या पुर्याएर व्रतको उद्यापन गर्नु पर्दछ ।

शनिप्रदोष व्रतको व्रतकथा
प्राचीन समयको कुरा हो । एउटा सहरमा शिवधन नाम गरेका वैश्य भौतिक सुखसुविधा सम्पन्नताका साथमा वैभवपूर्ण जीवनयापन गरी बसोबास गर्दथे । उनको धन र वैभवको तुलना त्यस नगरमा अरु कसैसँग हुँदैनथ्यो । साहुजी अत्यन्त दयालु थिए । उनकहाँ पुगेको कुनै व्यक्तिले खाली हात फर्कनु पर्दैनथ्यो । जसलाई पनि उनी इच्छाएको वस्तु प्रदान गरेरै पठाउने गर्दथे । यसरी अर्काको सुख र हीत चाहने ती साहुजीका कुनै सन्तान थिएनन् ।

सन्तानहीनताका कारण ती वैश्यका पतिपत्नी अतीव चिन्तित थिए । बुढ्यौली आउन लाग्दा समेत सन्तान नभएको खिन्नताका कारण एक दिन ती दुबै दम्पतीले तीर्थमा गएर बाँकी जीवन बिताउने निर्णय गरे । आफ्ना समस्त कारोबार र व्यवसाय नोकरचाकरलाई सुम्पिएर ती साहुसाहुनी सहरबाट बाहिरिए । तिनीहरू त्यस नगरको सीमाबाहिर मात्र पुगेका थिए, उनीहरूले एउटा ठूलो रुखमुनि समाधि लगाएर बसेका एक जना साधुलाई देखे । हेर्दा ती साधु तेजस्वी देखिन्थे । यसभन्दा पहिले नदेखिएका ती साधुसित आशीर्वाद प्राप्त गरेरमात्र यात्रामा जाँदा राम्रो हुने विचार ती दुबैको मनमा आयो । समाधिस्थ योगीको आशीर्वाद ग्रहण गर्ने काम चुनौतीपूर्ण थियो किनभने उनी अविचल भई ध्यानपूर्वक समाधिमा लीन भई बसेका थिए । योगीलाई ब्युझाउँदा उल्टै रिसाउने र श्राप दिने डर पनि थियो ।

समाधिस्थ मुनिका सामु हात जोडेर धैर्यतापूर्वक उनको समाधि टुट्ने आशामा ती दुबै प्रतीक्षा गर्न थाले । बिहानदेखि नै बसेका करबद्ध भएर बसेका साहुसाहुनी हात जोडेकोजोडै भए, साँझ पर्यो, रात पर्यो, रात बित्यो तर साधुको समाधि भङ्ग भएन । भोलिपल्ट उज्यालो भएपछि मात्र जोगी ब्युँझिए । वैश्य पतिपत्नी धैर्यपूर्वक हाथ जोड़ेर बसिरहेका थिए । आफ्ना अगाडि सहरका धनाढ्य व्यापारीका जोइपोइलाई देखेर मन्दमन्द मुस्कुराउँदै आशीर्वाद स्वरूप हात उचाल्दै मुनिले भने - ‘मैले तिमीहरूको अन्तर्मनको व्यथा पहिचान गरिसकेको छु अनि मेरो समाधि खुल्ने प्रतीक्षा गर्दागर्दै तिमीहरूले अज्ञानतामा नै ठूलो पुण्य प्राप्त गरिसकेका छौ । हिजो शनिबार र प्रदोष व्रत परेको महत्त्वपूर्ण दिन थियो । त्यसैले तिमीहरूको व्रत पूर्ण भएको छ । तिमीहरूलाई सन्तान प्राप्त हुनेछ । अब तीर्थवास गर्ने आवश्यकता छैन । बरु अहिले तीर्थयात्राका लागि जाओ र फर्किएर सँधै भक्तवत्सल भगवान् भोलेशङ्करको आराधना गरेर सुखी गृहस्थी जीवन आफ्नै घरमा बसेर यापन गर ।'