Friday, March 24, 2017

शनि प्रदोष व्रत

शनि प्रदोष व्रतको विधिवत् पालना गर्नाले सन्तान प्राप्ति हुन्छ । खासगरी पुत्रको कामना हुने दम्पतिले यस व्रतलाई विधिवत् सम्पादन गर्नु पर्दछ । पुत्रको कामना हुने पतिपत्नीले व्रतका दिन गुलिया खाद्यपदार्थहरू गाई, ब्राह्मण र गरिबगुरुबालाई वितरण गर्दा बढी लाभ प्राप्त हुन्छ । चन्द्रमा र शनिको युति भएका व्यक्तिहरूमध्ये बृष, मिथुन, कन्या, तुला, मकर र कुम्भ लग्न भएका जातकले यो व्रत आजीवन लिनु राम्रो हुन्छ । आजीवन व्रत सम्पादन गर्न कठिनाइ हुने मनुष्यले कम्तीमा १६ वटा, १६ महिना, १६ वर्ष आदि १६ को सङ्ख्या पुर्याएर व्रतको उद्यापन गर्नु पर्दछ ।

शनिप्रदोष व्रतको व्रतकथा
प्राचीन समयको कुरा हो । एउटा सहरमा शिवधन नाम गरेका वैश्य भौतिक सुखसुविधा र सम्पन्नताका साथमा वैभवपूर्ण जीवनयापन गरी बसोबास गर्दथे । उनको धन र वैभवको तुलना त्यस नगरमा अरु कसैसँग हुँदैनथ्यो । साहुजी अत्यन्त दयालु थिए । उनकहाँ पुगेको कुनै व्यक्तिले खाली हात फर्कनु पर्दैनथ्यो । जसलाई पनि उनी इच्छाएको वस्तु प्रदान गरेरै पठाउने गर्दथे । यसरी अर्काको सुख र हीत चाहने ती साहुजीका कुनै सन्तान थिएनन् ।

सन्तानहीनताका कारण ती वैश्यका पतिपत्नी अतीव चिन्तित थिए । बुढ्यौली आउन लाग्दा समेत सन्तान नभएको खिन्नताका कारण एक दिन ती दुबै दम्पतीले तीर्थमा गएर बाँकी जीवन बिताउने निर्णय गरे । आफ्ना समस्त कारोबार र व्यवसाय नोकरचाकरलाई सुम्पिएर ती साहुसाहुनी सहरबाट बाहिरिए । तिनीहरू त्यस नगरको सीमाबाहिर मात्र पुगेका थिए, उनीहरूले एउटा ठूलो रुखमुनि समाधि लगाएर बसेका एक जना साधुलाई देखे । हेर्दा ती साधु तेजस्वी देखिन्थे । यसभन्दा पहिले नदेखिएका ती साधुसित आशीर्वाद प्राप्त गरेरमात्र यात्रामा जाँदा राम्रो हुने विचार ती दुबैको मनमा आयो । समाधिस्थ योगीको आशीर्वाद ग्रहण गर्ने काम चुनौतीपूर्ण थियो किनभने उनी अविचल भई ध्यानपूर्वक समाधिमा लीन भई बसेका थिए । योगीलाई ब्युझाउँदा उल्टै रिसाउने र श्राप दिने डर पनि थियो ।

समाधिस्थ मुनिका सामु हात जोडेर धैर्यतापूर्वक उनको समाधि टुट्ने आशामा ती दुबै प्रतीक्षा गर्न थाले । बिहानदेखि नै  करबद्ध भएर बसेका साहुसाहुनी हात जोडेकोजोडै भए, साँझ पर्यो, रात पर्यो, रात बित्यो तर साधुको समाधि भङ्ग भएन । भोलिपल्ट उज्यालो भएपछि मात्र जोगी ब्युँझिए । वैश्य पतिपत्नी धैर्यपूर्वक हाथ जोड़ेर बसिरहेका थिए । आफ्ना अगाडि सहरका धनाढ्य व्यापारीका जोइपोइलाई देखेर मन्दमन्द मुस्कुराउँदै आशीर्वाद स्वरूप हात उचाल्दै मुनिले भने - ‘मैले तिमीहरूको अन्तर्मनको व्यथा पहिचान गरिसकेको छु अनि मेरो समाधि खुल्ने प्रतीक्षा गर्दागर्दै तिमीहरूले अज्ञानतामा नै ठूलो पुण्य प्राप्त गरिसकेका छौ । हिजो शनिबार र प्रदोष व्रत परेको महत्त्वपूर्ण दिन थियो । त्यसैले तिमीहरूको व्रत पूर्ण भएको छ । तिमीहरूलाई सन्तान प्राप्त हुनेछ । अब तीर्थवास गर्ने आवश्यकता छैन । बरु अहिले तीर्थयात्राका लागि जाओ र फर्किएर सँधै भक्तवत्सल भगवान् भोलेशङ्करको आराधना गरेर सुखी गृहस्थी जीवन आफ्नै घरमा बसेर यापन गर ।'

साधुका कुरा सुनेर प्रसन्न भएका ती दम्पत्तीले साधु र भगवान् भोलेशङ्करको भूरिभूरि प्रशंसा गरे र त्यसपछि आफूले नजानीकन लिएको प्रदोष व्रतको महात्म्य र व्रतविधान बताइदिन ऋषिसँग प्रार्थना गरे । साधुले निष्ठापूर्वक सम्पादन गर्दा सुयोग्य सन्तान दिलाउने शनि प्रदोष व्रत लगायत समस्त प्रदोष व्रतको महात्म्य र विशेषता बताएर व्रतसम्पादन गर्ने विधिविधान र नियम बताइदिए । मुनिसित आशीर्वाद र विदा प्राप्त गरी ती दम्पती त्यहाँबाट तीर्थयात्राका लागि बाटो लागे । तीर्थयात्रा पूर्ण भएपछि घरमा आएर शनि प्रदोष व्रतको दिनबाट सुरु गरी प्रत्येक प्रदोषका दिन निष्ठा र विधिपूर्वक व्रत लिन थाले । कालान्तरमा शिवधन वैश्यका घरमा एउटा सुन्दर पुत्रको जन्म भयो । यसरी शनि प्रदोष व्रतको प्रभावले ती वैश्यको जीवनमा छाएको अन्धकार लुप्त भयो । ती दम्पती पुत्र प्राप्त भएपछि आनन्दपूर्वक जीवनयापन गर्न थाले ।

त्यसैले पुत्रप्राप्तिको मात्र होइन, सन्तानको उन्नति, प्रगति, सुस्वास्थ्य र दीर्घजीवनको कामना गर्ने दम्पतीले शनिप्रदोषको व्रत लिनु पर्दछ । शनिबारबाहेक अन्यबारका दिन परेको भएपनि प्रदोष व्रतको निष्ठापूर्वक पालना गर्नाले तपार्इंको कुण्डलीमा देखिएको शनि ग्रहको अनिष्ट फल र नराम्रा प्रकोपहरू शान्त हुने गर्दछन्, अनि रोगव्याधि, दरिद्रता, घरभित्रको अशान्ति, नोकरी वा व्यापारव्यवसायमा देखिएको कठिनाइ पनि निवारण हुन्छन् ।

No comments:

Post a Comment