Saturday, March 25, 2017

साप्ताहिक राशिफल

आगामी ७ दिनभित्रका चाडपर्व र उत्सव तथा शुभ मूहुर्त :– 
१३ गते : पिशाच चतुर्दशी, पासाचह्रे पूजा, महावारुणी योग बिहान १० बजेर ५७ मिनेटसम्म
१४ गते : दर्शश्राद्ध निशि बार्ने दिन, घोडे जात्रा, भद्रकाली पीठमा लिंगो उठाउने दिन, 
१५ गते : स्नान दानका लागि अमावस्या, हलो बार्ने दिन, 
१६ गते : चन्द्रोदय, नयाँ साधारण नामको संवत्सर प्रारम्भ, तेल लगाउने र नीमको पात खाने दिन, चोभारमा आदिनाथ स्नान, भद्रकाली पीठमा लिंगो खसाल्ने दिन, वसन्तादि, वासन्ती नवरात्री प्रारम्भ, वासन्ती नवरात्री (चैते दशैं) अन्तर्गत शैलपुत्री र ब्रह्मचारिणी भगवतीको आराधना गर्ने दिन, ब्रतबन्ध (उपनयन), चूडाकर्म(छेवर), पसल थाप्ने, शिलान्यास(जग राख्ने), वस्त्राभरण(गुन्युचोलो), दैलो राख्ने, 
१७ गते : वासन्ती नवरात्री (चैते दशैं) अन्तर्गत चन्द्रघण्टा भगवतीको आराधना गर्ने दिन, मन्वादि, गौरी व्रत, मत्स्य जयन्ती, मच्छेगाउँमा मत्स्यनारायण मेला, ब्रतबन्ध (उपनयन), अन्नप्राशन(पास्नी), चूडाकर्म(छेवर), अक्षरारम्भ, पसल थाप्ने, शिलान्यास(जग राख्ने), वस्त्राभरण(गुन्युचोलो), द्रव्यप्रयोग वा लगानी, घर छाउने÷ढलान गर्ने, दैलो राख्ने, 
१८ गते : वासन्ती नवरात्री (चैते दशैं) अन्तर्गत कुष्माण्डा भगवतीको आराधना गर्ने दिन, अग्निवास(होमादि), 
१९ गते : वासन्ती नवरात्री (चैते दशैं) अन्तर्गत स्कन्दमाता भगवतीको आराधना गर्ने दिन, अप्रिल फूल डे, साथीभाइलाई ढाँटेर छक्याउने दिन, रुद्राभिषेक(रुद्रीपूजा), 

साप्ताहिक राशिफल
(वि.सं. २०७३ चैत्र १३ गतेदेखि वि.सं. २०७३ चैत्र १९ गतेसम्म)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – 
राज्यस्थानमा रहेको चन्द्रमाका साथमा साता प्रारम्भ भए पनि मध्यमस्तरको फल प्राप्त हुने साता छ । सुरुमा आत्मबल बढ्ने छ । मातापिता र अभिभावक वर्गसँगको सम्बन्ध सुमधुर रहने छ । समाजसेवाका कामबाट लाभ हुनेछ । सुखसुविधा र विलासिताका साथमा समय बित्नेछ । सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । सोमबारपछि बाह्रौं चन्द्रमाका कारण खर्चमा नियन्त्रण गर्नुपर्छ । अनावश्यक यात्राबाट जोगिनुहवस् । कल्पना र भावनामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला । दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ । बुधबारपछि आफ्नै घरमा चन्द्रमाको प्रवेश हुनेछ, पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था हुनसक्छ । साताको अन्त्यमा परिवारमा ठूलो जमघट वा धार्मिक सामाजिक कार्य सम्पन्न हुनेछ । उक्त अवसरमा तपार्इंको प्रत्यक्ष संलग्नता र भूमिका रहने देखिन्छ । विशिष्ट व्यक्तिले विचारको कदर गर्नेछन्, महत्वपूर्ण कार्य सम्पन्न हुने मौका छ । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 
कर्मप्रति लगनशील भई भाग्य अभिबृद्धि गर्नसक्ने साता छ, साताको प्रारम्भमा हाकिम वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । जग्गाजमिनको कारोबार गर्दा असल हुने सङ्केत छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । सन्तान पक्षबाट पनि राम्रै सहयोग प्राप्त हुनेछ । सोमबारपछि पछाडि कुरा काट्ने शत्रु आफैं पराजित हुनेछन् । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ । सद्भाव र प्रेममा उच्च सफलता प्राप्त हुने योग छ । पुराना इष्टमित्र र प्रेमीप्रेमिकाको मिलन हुने समय हो । बुधबारपछि बाह्रौं चन्द्रमाको अशुभ फल प्राप्त हुनसक्छ । समाजमा तपाईंका कुरा काट्नेको कमी हुने छैन । आकस्मिक यात्राको समय छ, तर यात्राबाट सोचेजस्तो प्रतिफल प्राप्त हुनेछैन । मनमा विरक्तिको भाव बहन सक्छ । बौद्धिक र प्राज्ञिक क्षमताको उपयोग हुन सक्दैन । साताको अन्त्यमा आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ, यस अवधिमा सुरु गरिएको क्रियाकलापले दीर्घकालिक फाइदा पुग्नेछ । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 
सुरुमा भाग्यमा चन्द्रमा छ । त्यसैले अत्यधिक सकारात्मक साता छ, तर अन्त्यमा खर्चबर्चमा नियन्त्रण गर्नु राम्रो हुनेछ । साताको प्रारम्भमा पुराना साथीभाइसित अचानक भेटघाट हुने र आकस्मिक लाभ मिल्ने समय छ । कर्मसिद्धिको समय छ । सामूहिक नेतृत्व सम्हाल्ने मौका मिल्नेछ । व्यापारमा लाभ हुनेछ । समाजमा प्रतिभाको कदर हुनेछ । सोमबारपछि व्यापारमा प्रशस्त फाइदा हुनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । बुधबारपछि सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । साताको अन्त्यमा सट्टापट्टा वा जुवाजन्य क्रियाकलापमा धननाश हुनसक्छ । लामो दूरीको आकस्मिक यात्राको सम्भावना देखिन्छ, सोचेजस्तो लाभ मिल्न सक्दैन । व्यवहारिक खर्चको मात्रा बढ्नेछ । मनमा निराशा र विरक्तिभाव जाग्नेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 
साताको प्रारम्भमा मनमा निराशाभाव भए पनि समग्रमा यो साता शुभफल नै प्राप्त हुने देखिन्छ । साताको प्रारम्भमा व्यापारीहरूले हानी व्यहोर्नु पर्छ र कर्मचारीले अपजस व्यहोर्नु पर्छ । छात्रछात्रा रमाइलोमा भुलिने छन् । यात्रा घातक बन्न सक्छ, धेरै टाढा नजानु होला । अकारण वादविवादमा फँस्ने र प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनेछ । सोमबारपछि मान्यजन र अभिभावक वर्गको सहयोगमा रोकिएका काम सम्पादन गर्न सघाउ पुग्नेछ । घरमा परपाहुना र अतिथिको आगमन हुनसक्छ । नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बन्नेछ । कुनै लाभदायक समाचार सुन्न पाइएला । बुधबारपछि हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । तपाईंका सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । साताको अन्त्यमा भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । आर्थिक रूपमा सबल हुनुहुनेछ, कारोबारमा गतिशीलता आउने छ र व्यवसायबाट लाभ हुनेछ । मायाप्रेमका लागि समय जुट्ने छ । पठनपाठनमा प्रगति हुनेछ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 
सुरुमा रामरमाइलो र मनोरञ्जनमा भुलिने समय छ । तर सोमबारपछि केही दिन तपाईंको पक्षमा रहने देखिंदैन । साताको प्रारम्भमा जीवनसाथी वा विपरीतलिंगी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्नका लागि राम्रो छ । घरमा माङ्गलिक कृत्य सम्पादन गर्ने समयसमेत छ । अध्ययन, अध्यापन र लेखनमा खास अभिरुचि हुनेछैन । सोमबारपछि शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउने छ । धन, धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ । गर्नु नपर्ने काम बढी समय लगाएर गर्नु पर्ला । प्रतिकूल समयले घेरेको छ । बुधबारपछि कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने राम्रो हुन्छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । साताको अन्त्यमा प्राविधिक काममा विशेष सफलता प्राप्त हुने छ साथै आत्मसन्तुष्टि प्राप्त हुनेछ । मातापिता र अभिभावकवर्गको आशीर्वादले काम गर्न सक्छ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 
त्यत्ति राम्रो साता छैन, साताको प्रारम्भमा अध्ययन, अध्यापन र लेखनको कार्यमा खासै तत्परता देखिँदैन । आफन्तले समेत कुरा सुन्न र समय दिन सक्दैनन् । मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने सम्भावना छ । तर सोमबारपछि मनोरञ्जक समयको प्रारम्भ हुनेछ, लामो समयपछि रसरङ्गको चाहना पूर्ण हुने योग आएको छ । दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । बालबच्चाबाट पनि सुखसन्तोष प्राप्त हुनेछ । मेवामिष्ठान्न आदि खान पाइने र मनोरञ्जनमा भुलिन पाउनु हुनेछ । बुधबारपछि फेरि नराम्रो समय आउने छ, प्रत्येक काममा बाधाअडचन आउने र ढिलो गरी कार्यसम्पादन हुने समय छ । सवारी साधन हाँक्दा सचेतता अपनाउनु बेस हुनेछ । स्वास्थ्यमा समस्या हुनसक्छ । साताको अन्त्यमा सुखसुविधा र मनोरञ्जनमा भुलिने समय छ । धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नु पर्ने समय पनि हो, जसबाट प्रशंसा र शुभ कुराको सङ्केत प्राप्त हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 
जे गरे पनि बुद्धि खियाएर अघि बढ्ने सप्ताह देखिन्छ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइएला । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । साथीहरूसित मनोरञ्जन गर्ने अवसर जुर्नेछ । सोमबारपछि प्रतिद्वन्द्वीहरूसित सतर्क रहने दिन हो । परिवारमा पनि वैचारिक मतभेद देखापर्ने सम्भावना छ । जीवनसँगीसित ठाकठुक पर्न सक्छ । मानसिक तनावको सिर्जना हुनेछ । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउनसक्छ । बुधबारपछि समय मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यावसायिक यात्राको सम्भावना छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ । साताको अन्त्यमा झैझगडा र मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ । यात्रा घातक बन्न सक्छ, धेरै टाढा नजानु होला । आम्दानीका मार्ग अवरुद्ध हुनेछन् । बोलीमा संयमता अपनाउनु होला, आफूले भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 
सुरुमा घरायसी बन्दोबस्ती र समस्यामा केन्द्रित रहने समय हुनेछ, परिवारजनमा असमझदारी बढ्नेछ, मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन् । जग्गाजमिन वा घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । महत्वाकाङ्क्षी योजनामा हात हाल्नु राम्रो हुँदैन । कृषि–चौपायाबाट हानि पुग्नसक्छ । सचेत भई अघि बढ्नु पर्छ । सोमबारपछि कुनै विशेष खुशीको समाचार सुन्न पाइएला । राम्रो कामको लागि काम गर्ने वातावरण अनुकूल बन्नेछ । बौद्धिक क्षमताको प्रस्फुटन हुनाले सृजनात्मक सफलता मिल्नेछ । भोगविलासमा मन जानेछ । समय रमाइलो गरी बित्नेछ । बुधबारपछि काममा अधिकार प्राप्तिका लागि तर्क, बहस र छलफलमा दिन बिताउनु पर्नेछ । प्रतिस्पर्धी र शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती र अपठ्याराको सामना गर्नुपर्छ । प्रयत्न गर्दा समेत परिस्थिति आफ्नो पक्षमा आउने छैन । साताको अन्त्यमा हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा समय बित्नेछ । घरपरिवारका सदस्य र साथीभाइसँग मतभिन्नता भएपनि अन्त्यमा उनीहरू सकारात्मक देखिने छन् । जीवनसाथी वा आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 
जाँगर र उत्साह देखाई पराक्रमी बन्ने अनुकूलता प्राप्त हुनेछ । साताको प्रारम्भमा सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट यश प्राप्त हुनेछ । बोलीको प्रभाव रहनाले काम बन्ने छ समयलाई पर्खिनु होला । यो समय विशेष महत्वको समय हुनेछ । सोमबारपछि परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउने छ । कामधन्दामा अर्काको भर नपर्नु नै राम्रो हो, परिवारकै सदस्यबाट धोका हुनसक्छ । बुधबारपछि सन्तति पक्ष र भाइबहिनीले खुसीको वातावरण सिर्जना गर्नेछन् । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । बौद्धिक र सृजनात्मक सफलता मिल्नेछ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । साताको अन्त्यमा छैटौं चन्द्रमाका कारण सहयोगी हातहरू पछि हट्न सक्छन् । मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । अनावश्यक र दिक्कलाग्दो यात्रा हुन सक्छ । भोगविलासमा मन जानेछ । स्वास्थ्यका दृष्टिकोणले यो राम्रो समय होइन । आर्थिक सङ्कटको योग छ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 
धनधान्य र सुखसम्मृद्धिप्रति आकर्षण रहने सप्ताह देखिन्छ । साताको प्रारम्भमा मनमा बसाइ सर्ने, सरुवा हुने वा व्यवसाय वा पेसामा परिवर्तनको धारणा उत्पन्न हुन सक्छ । नयाँ काममा हात हाल्ने समय भएकाले आफ्ना विचारलाई कार्यान्वयन गर्दा राम्रो हुन्छ । धन लगानी गर्ने अवसर पाउनुहुनेछ । सोमबारपछि सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । शुभ कुराको सङ्केत मिल्नेछ । कुनै देवालय, मठमन्दिर वा सार्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन हुनेछ । मित्रवर्ग र बन्धुवान्धवबाट राम्रो सहयोगको अपेक्षा गर्न सकिन्छ । बुधबारपछि दुई दिन त्यति अनुकूल हुँदैन, खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । शरीरमा आलस्य जाग्नेछ । काम गर्न जाँगर लाग्दैन । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनसक्छ । चिताएको काममा अप्ठ्यारा र चुनौतीको सामना गर्नुपर्छ । धैर्यले काम लिने समय छ । साताको अन्त्यमा सन्ततिपक्षबाट खुसीको समाचार प्राप्त हुने छ । आफन्तले प्रशंसा गर्नेछन् । मन प्रफुल्ल र उत्साही बन्ने छ । घरपरिवारमा रमाइलो जमघट हुने छ । गर्न लागेको काममा सबैले साथ दिनेछन् । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 
आफ्नै राशिमा रहेको चन्द्रमाका साथमा साताको प्रारम्भ भएकाले यो साता आत्मनिर्णयको क्षमतामा बृद्धि हुनेछ । सन्तति र भाइबहिनीका पक्षबाट सन्तोष मिल्नेछ । व्यवसायिक क्षेत्र लाभप्रद छ । भौतिक साधनको जोहो हुनाका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ । सोमबारपछि प्राविधिक काममा विशेष सफलता प्राप्त हुनाले आत्मसन्तुष्टि प्राप्त हुनेछ । आभूषण, श्रृंगार, साजसज्जा, फेसनडिजाइन र सञ्चार क्षेत्रका व्यवसायीले राम्रो लाभ प्राप्त गर्नेछन् । पारिवारिक वातावरणमा हर्षको वातावरण बन्नेछ । बुधबारपछि पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ । समग्रमा शुभफल दिने साता भए पनि साताको अन्त्यमा घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ । सामाजिक मर्यादामा आँच आउने सम्भावना छ । घरपरिवारबाट पनि आवश्यक सहयोग मिल्ने छैन । परिश्रम गर्दा पनि सोचेजस्तो उपलब्धी हात पर्ने छैन, मिहिनेत र परिश्रम व्यर्थै खेर जान सक्छ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – 
अनावश्यक खर्चमा नियन्त्रण गरी अघि बढ्ने सप्ताह छ । आइतबार सचेत हुन सके बाँकी समय अनुकूल नै रहने छ । राशिस्वामी बृहस्पति बक्री भएकाले धेरै आशावादी चाहिं नहुनु असल हो । सुरुमा पारिवारिक वातावरण अनुकूल हुने छैन । मानसिक एवं बौद्धिक क्षमता कमी आउने छ । नजिकैका व्यक्तिबाट अपमान वा अपजस सहनु पर्ने हुनसक्छ । आर्थिक लगानी गर्नु भर पर्दो देखिन्न । सामान हराउने सम्भावना पनि छ । सोमबारपछि मान–सम्मान र प्रतिष्ठा बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ । विचार र दर्शनका बलमा धेरैलाई आकर्षण गर्ने समय छ । नयाँ काममा हात हाल्ने समय छ । बुधबारपछि आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुधनबाट लाभ लिन सकिने छ, त्यस्तै बन्दव्यापारमा समेत प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । साताको अन्त्यमा व्यवसायिक क्षेत्र सफल रहने छ, आम्दानीमा कमी आउने छैन ।

No comments:

Post a Comment