Wednesday, March 15, 2017

सङ्गत गुनाको फल

एकपटक अपरिचित गाउँमा पुगेका एक जना सज्जनलाई देखेर एउटा घरमा पालिएको सुगाले भनेछ- 'गाउँले हो ! नयाँ मान्छे आयो लुटलुट ।'

सज्जन त्यहाँबाट भागेर एउटा आश्रममा पुगेछन् । त्यहाँ पनि त्यस्तै एउटा सुगा पालिएको रहेछ । उसले भनेछ- 'आउनुहोस् महाशय ! तपाईंलाई स्वागत छ, भन्नुहोस् के सेवा गरौं ।'

सज्जनले आश्चर्य मान्दै आश्रमका महन्तलाई सोधेछन्- 'महाशय ! एउटै प्रजातिका प्राणीमा यी विपरीत गुण कसरी ? यसको रहस्य जान्न सक्छु ?' महन्तले भनेछन्- 'यी दुई सुगा एउटै प्रजातिका मात्र होइनन्, एउटै आमाका सन्तान हुन् तर सानैदेखि एउटालाई डाकुहरूले लगेर पालेका थिए भने अर्कोर्चाहिँ आश्रममा पालिएको थियो । डाकुहरूले पालेकाले त्यही भन्यो, जुन उसले सानैदेखि सुन्दै आएको थियो । आश्रममा पालिएकोले पनि त्यही भन्यो, जुन उसले सानैदेखि सुन्दै आएको थियो ।'

सार हो, जहाँ पनि सङ्गतको फल यस्तै हुन्छ । जस्ताको सङ्गत गरिन्छ, त्यस्तै बन्न वाध्य भइन्छ । यसमा आनाकानी गरिएमा व्यवहार नै चल्दैन । उखान नै छ- सङ्गत गुनाको फल ।

सङ्गतले कालोलाई सेतो बनाउन सक्छ । सेतोलाई कालो बनाइदिन पनि सक्छ । प्रकाशको सङ्गत पाउँदा निस्पट्ट अँध्यारो पनि उज्यालो बन्न पुग्छ । दुर्दिनको सङ्गतले दिनलाई पनि अँध्यारो बनाइदिन्छ । सज्जनको सङ्गतमा पर्दा दुर्जन पनि सज्जन बन्न पुग्छ । दुर्जनको सङ्गतमा परे सज्जनले पनि दुर्जनजस्तै बन्न पर्छ ।

अर्को प्रसङ्ग, एकपटक सज्जन र दुर्जन चौतारामा आराम गर्न बसेछन् । दुर्जनले पीपलको रूखलाई देखाएर सोधेछ- 'यो के को रूख हो ?' सज्जनले उत्तर दिएछन्- 'पीपलको ।' दुर्जनले भनेछ- 'होइन पलासको ।' यसमा उनीहरूबीच ठूलै विवाद परेछ । अन्त्यमा दुर्जनले कसेर दुई मुक्का दिएछ । मूर्खदेखि दैव डराउँछ ! बिचरा सज्जन 'ठीकै हो भाइ ! तिमीले भनेको यो पलासकै रूख हो' भनेर हिँडेछन् ।

बुद्धको सङ्गत पाउँदा अङ्गुलीमाल पनि प्रबुद्ध बनेका थिए । कंसको सङ्गतले अक्रूरलाई पनि क्रूर बनाएको थियो । दुर्योधनको सङ्गतले भीष्मलाई पनि दूषित बनाएको थियो राम, कृष्णको सङ्गतले शवरी र कुविजाहरू प्रशोधित हुन पुगेका थिए । आगोको सङ्गतले पानीलाई पनि आगोजस्तै तातो बनाइदिन्छ । पानीको सङ्गतमा आगोले पनि पानीजस्तै चिसो बन्न पुग्छ । एउटै कीरो फूलको सङ्गत पाए देवताको शिरमा चढ्दछ । फोहोरको सङ्गतमा परे नालीमा सड्छ ।

प्रकृतिको नियम नै यस्तै छ । सकेसम्म सबै अरूलाई आफू अनुकूल बनाउन खोज्दछन् नसके आफू अरूको अनुकूल बन्न पुग्दछन् । तपाईं शक्तिशाली हुनुहुन्छ भने आˆनो सङ्गतमा आउने सबैलाई आफैँ अनुकूल बनाइदिनुहुन्छ । होइन कमजोर हुनुहुन्छ भने जसको सङ्गतमा हुनुहुन्छ त्यही अनुकूल बन्नुपर्छ । संसारमा अनादिकालदेखि चल्दै आएको यो नियम अनन्तकालसम्म पनि चलि नै रहन्छ । चाहे मानिसको होस्, चाहे पशुपक्षी वा वनस्पति हरेकको अन्तर सङ्घर्षमा जो विजयी हुन्छ उसैको सत्ता स्थायी हुन्छ । पराजित हुनेले कि आफूलाई समाप्त गर्न पर्छ कि विजयी हुनेले भन्ने गरेका मूलधारमा समाहित हुनुपर्छ । हामीले देखेका छौं, हिजो स्याउ फल्ने स्थानमा आज सुन्तला फल्न थालेका छन् । सुन्तला फल्ने स्थान भोगटेले लिएका छन् । आखिर किन ? कहाँ गए तत्तत् स्थानका स्याउ र सुन्तला ? यसको उत्तर यही हो, उनीहरूलाई विस्थापित गर्ने तिनै सुन्तला र भोगटेमा समाहित भइसके, जसरी समुद्रमा मिसिएपछि नदीहरूको अवस्था हुने गर्दछ ।

तपाईं कता जाने ? तल जाने कि माथि ? तपाईंकै सङ्गतमा भर पर्छ । तपाईंले चाहनु भयो भने आफूलाई बदल्न त सक्नुहोला तर सङ्गतको प्रभावलाई बदल्न भने सक्नुहुन्न । एकपटक भेँडालाई खेद्दै आएकी गर्भिणी सिंहले भेँडाकै बथानमा बच्चा जन्माइछ । आˆनो बथानमा जन्मेकाले उसलाई भेँडाहरूले नै हुर्काएछन् । भेँडाको बथानमा हुर्केकोले ऊ आफूलाई पनि भेँडा नै ठान्दो रहेछ र भेँडाको जस्तै व्यवहार गर्दो रहेछ । यत्तिकैमा एकदिन सिंहले भेँडाको बथानमा आक्रमण गरेछ तर त्यतिबेला सिंहको बच्चो पनि भेँडासँगै भाग्दो रहेछ । त्यो देखेर सिंहले आश्चर्य मान्दै भनेछ- 'ओ भाइ ! तिमी त हाम्रै जातिका हौ । फेरि किन भागिरहेका छौ ?' उसले उत्तर दिएछ- 'कसले भन्छ मलाई तपाईंको प्रजातिको भनेर ? म त भेँडाको प्रजातिको हुँ बुझ्नुभो ?' बिचरा सिंह हेरेको हेर्यै भएछ । यो पनि सङ्गतकै फल हो ।

कमल रिजाल
युवामञ्च साउन, २०६८

No comments:

Post a Comment