Friday, March 31, 2017

नाम अनेक स्वरूप एक : नवदुर्गा भगवती

नवरात्र उत्सवलाई भगवती नवदुर्गाको विशेष उत्सव मान्ने गरिन्छ । यसलाई नेपाली परिवेशमा बडादशैँका नामले सम्बोधन गर्ने गरिन्छ । यस नौरथामा दुर्गा, अम्बा, जगदम्बा, सर्वेश्वरी आदि भगवतीका विभिन्न स्वरूप र चरित्रको उपासना गर्ने गरिन्छ । कतिपय प्रसङ्गमा आद्याशक्ति जगन्माता भगवतीलाई देवाधिदेव महादेवकी अर्द्धाङ्गिनी र पत्नीका रूपमा व्याख्या गरिएको पनि पाइन्छ, तर उनी देवाधिदेव महादेवकी समेत पराशक्ति भएकी हुँदा सबै परिस्थितिमा उनी नै शिवपत्नी पार्वती हुन् भन्न मिल्दैन । आजको यस आलेखमा देवीरहस्यका यिनै विषयवस्तुलाई खोतल्ने प्रयास गरिने छ ।

माता अम्बिका : माता अम्बिकाको प्रादुर्भावका विषयमा शिवपुराणमा एउटा प्रसङ्ग उल्लेख गरिएको छ । उक्त कथनअनुसार 'त्यस अविनाशी परब्रह्म (काल) ले केही समयपछि द्वितीय स्वरूपको इच्छा प्रकट गरे अर्थात त्यस परब्रह्मभित्र एकबाट अनेक हुने सङ्कल्प उदित भयो । त्यसपछि उक्त निराकार परमात्माले आफूभित्र रहेको अद्भूत लीला शक्तिको उपयोग गरी आकृतिको कल्पना गरे, जुन मूर्तिरहित परब्रह्म हो । परब्रह्म अर्थात एकाक्षर ब्रह्म, परम अक्षरब्रह्म । ती परब्रह्म भगवान् नै आशुतोष भगवान् सदाशिव हुनुहुन्छ । एकाकी भएर पनि स्वेच्छापूर्वक अन्तर्यात्रा गर्नसक्ने ती सदाशिवले आफ्नो विग्रह (शरीर) बाट शक्तिको सृष्टि गरे, जुन उहाँको श्रीअङ्गको अभिन्न प्रकृति थियो र कहिल्यै वहाँबाट अलग्ग हुँदैनथ्यो । सदाशिवको त्यस पराशक्तिलाई नै प्रधान प्रकृति, गुणवती माया, बुद्धि तत्त्वकी जननी तथा विकाररहित बताइएको छ । ती शक्तिलाई अम्बिका (पार्वती वा सती होइनन्) भनिएको छ । तिनको प्रकृति, सर्वेश्वरी, त्रिदेवजननी (ब्रह्मा, विष्णु र महेश्वरकी माता), नित्या र मूलकारण आदि भिन्नभिन्न नाम छन् । सदाशिवद्वारा प्रकट भएकी ती शक्तिका आठवटा हात (भुजा) छन् ।' पराशक्ति जगज्जननी ती देवी अनेकौं गति र शक्तिले सम्पन्न छन् र उनले नाना किसिमका अस्त्रशस्त्र धारण गरेकी छन् । उनी एक भए पनि माया र शक्तिका भेदले उनका विभिन्न रूपहरू छन् । ती महेश्वरी कालरूप भगवान् शिवशङ्करकी अर्द्धाङ्गिनी हुन् । तिनै शक्ति अम्बिका, अम्बिकादेवी, जगदम्बा, जगदम्बिका आदि नामले जगतमा प्रसिद्ध छन् ।

दुर्गा : दैत्यराज हिरण्याक्षको वंशमा रुरुका पुत्रका रूपमा उत्पन्न महाशक्तिशाली बलशाली दैत्य थियो, जसको नाम 'दुर्गमासुर' थियो । दुर्गमासुरसँग सबै देवता त्रस्त हुने गर्थे । त्यसले इन्द्रको नगरी अमरावती नगरीलाई समेत कब्जा गरि देवताहरूलाई त्यहाँबाट लखेटेको थियो । शक्तिले हीन भएका देवताहरूले स्वर्गबाट भागेर आफ्नो जिउज्यानको सुरक्षा गर्न पहाडपर्वतका कुनाकन्दरा, गुफा र खोंचहरूमा आश्रय लिनुपर्यो । तिनले आफ्नो उद्धार र कल्याणका निमित्त आद्याशक्ति जगन्माता अम्बिकादेवीको उपासना गरेका थिए । दुःख र पीडाले छट्पटिएका देवताहरूको आराधनाबाट प्रसन्न भएकी जगदम्बिकाले प्रकट भएर आशीर्वाद दिनुभयो र एउटा अभेद्य किल्ला (दुर्ग) को संरचना तैयार गरी त्यसैभित्र निश्चिन्त भई बस्न देवताहरूलाई आग्रहसमेत गर्नुभयो । देवीद्वारा किल्लाबाहिर पहरा प्राप्त गरी देवताहरू सुरक्षित भई उक्त किल्लामा बसोबास गर्न थाले । यो कुरो दुर्गमासुरको एउटा दूतले चाल पायो । अनि उसले समस्त वृतान्त बताउनुका साथै देवताहरूको सुरक्षा र कल्याण गर्ने उद्देश्यले भगवती जगदम्बिकाले एउटा अर्को अवतार लिएको प्रसङ्गसमेत दुर्गमासुरलाई सुनायो । यस्तो समाचार थाहा पाउनासाथ दुर्गमासुर क्रोधित भई देवताहरूसित युद्ध गर्न तम्तयार भयो । उसले आफ्ना समस्त सेनालाई अस्त्र-शस्त्रले सुसज्जित भई युद्धमा जाने उर्दी जारी गर्यो । त्यसपछि देवता र दानवहरूका बीचमा घनघोर युद्ध भयो । उक्त युद्धमा देवता पक्षको नेतृत्व भगवती दुर्गाले र दानवपक्षको नेतृत्व दुर्गमासुर आफू स्वयंले गरेका थिए । युद्धमा दुबै पक्षका असङ्ख्य योद्धाहरूको हताहतीसमेत भयो । अन्त्यमा भगवती जगदम्बेले दुर्गमासुर र उसका पक्षमा उभिएको सैन्यबलको नाश गर्नुभयो । त्यसरी देवताहरूको सुरक्षाका निमित्त दुर्ग (किल्ला) रचना गरेकी हुनाले र दुष्ट दुर्गमासुरको अत्याचारको अन्त्य गरी उसको बधसमेत गरेकी हुँदा भगवती जगदम्बेको नाम 'दुर्गा' रहन गएको हो ।

दस महाविद्या : तन्त्रविद्यामा दश महाविद्याका रूपमा आद्याशक्ति भगवतीको उपासना गर्ने विधान छ । ती दश महाविद्याहरू हुन् - १. काली, २. तारा, ३. त्रिपुरसुन्दरी, ४. भुवनेश्वरी, ५. छिन्नमस्ता, ६. त्रिपुरभैरवी, ७. धूमावती, ८. बगलामुखी, ९. मातङ्गी र १०. कमला ।

चामुण्डा  : देवी अम्बिकाको माथि नै चर्चा भइसकेको छ । तिनै अम्बिका देवीका शरीरबाट चण्डिकादेवीको प्रादुर्भाव भएको हो । त्यसैले यिनलाई भगवती जगदम्बिकाकी सुपुत्री मान्ने गरिन्छ । चण्ड र मुण्ड नामका महाबलशाली दैत्यको विनाश गरेकी हुँदा यिनलाई चामुण्डा पनि भन्ने गरिन्छ । चामुण्डा जस्तै महादुर्गे भगवतीको शरीरबाट अर्की देवीको पनि उत्पत्ति भएको थियो, तिनको नाम महाकाली हो । सृष्टि, स्थिति र प्रलयका निमित्त महादुर्गे भगवतीले आफ्नो एकीकृत प्रकृतिलाई तीनभागमा विभाजन गर्नुभयो र उहाँका तीनवटा स्वरूपहरू प्रख्यात भए । तीमध्ये एउटा स्वरूप महाकालीको हो । यसले तमोगुण र विनाशतत्त्वको प्रतिनिधित्व गरेको छ । यसरी नै सत्त्व गुणप्रधान र सृष्टि तत्त्वको प्रतिनिधि स्वरूप महासरस्वतीको तथा रजो गुणप्रधान र स्थिति तत्त्वको प्रतिनिधि स्वरूप महालक्ष्मीको हो ।

मधुकैटभहन्त्री : सृष्टिको प्रारम्भमा हिरण्याक्षका तर्फबाट युद्ध गर्न खटिएका दुई दैत्यहरू मधु र कैटभको बध भगवान् विष्णुले गर्नु भएको प्रसङ्ग अधिकांश पुराणहरू र धार्मिक ग्रन्थमा उल्लेख गरिएको पाइन्छ । क्षारसमुद्रमा शेषको शयनमा योगनिद्रामा लीन भएका विष्णुको नाभिस्थित कमलको फूलमा विराजमान सृष्टिकर्ता ब्रह्माको कार्यसन्चालनमा विघ्न उपस्थित गराउने र ब्रह्मासँग भएको वेदलाई हरण गरी समुद्रतर्फ भाग्ने मधु र कैटभ विध्वंश र अत्याचारको अन्त्य गर्न भगवती जगदम्बेले विष्णुको निद्रा हटाई उनलाई जागा बनाएको एवं मधु र कैटभसँग युद्धका लागि बल, सामर्थ्य र बुद्धि प्रदान गरी प्रेरणा र हौसला प्रदान गरेको प्रसङ्ग मार्कण्डेय पुराणमा उल्लेख गरिएको छ । तर कुनैकुनै प्रसङ्गमा मधुको बध भगवान् विष्णुले गरेको हुँदा उनको नाम मधुसूदन रहन गएको र कैटभको बध चाहिं भगवती जगदम्बेले नै गरेको हुँदा उनको नाम कैटभा रहन गएको भन्ने प्रसङ्ग पनि उल्लेख गरिएको पाइन्छ । जे भए पनि मधु र कैटभको बध गर्न उनकै महत्त्वपूर्ण भूमिका रहेको पाइन्छ, अतः उनलाई मधुकैटभहन्त्री पनि भन्ने गरिन्छ ।

सतीदेवी : आशुतोष भगवान् भोलेशङ्करलाई महेश र महादेव पनि भन्ने गरिन्छ । तिनै शङ्करको पहिलो विवाह दक्ष प्रजापतिकी सुपुत्री सतीदेवी (दाक्षायणी) सँग सम्पन्न भएको थियो । पिता दक्ष प्रजापति भएकाले अहङ्कारस्वरूप आफ्ना पति शङ्करको सामर्थ्य र पराक्रम चाल नपाई उनको निन्दा गर्ने र अपमान गर्ने काम गरेको हुँदा उनले पिता दक्षको यज्ञकुण्डमा फाल हानी आत्मदाह गरेकी थिईन् । त्यसपछि प्राणप्रिया पत्नीको मृत शरीरलाई बोकेर भगवान् भोलेनाथ त्रिलोकका विभिन्न स्थानमा भौंतारिएर हिंड्नु भएको थियो । यसरी शिवजी हिंड्दै घुम्दै जाँदा सतीदेवीको मृतशरीरबाट मासुका टुक्रा, अङ्गप्रत्यङ्ग र आभूषणादि गलित/पतित भई ठाउँठाउँमा झरेका थिए । जहाँ-जहाँ देवी सतीका अङ्ग र आभूषण खसे, त्यहाँ-त्यहाँ शक्तिपीठ निर्मित हुँदै गए । कालान्तरमा माता सतीले पर्वतराज हिमालयका घरमा जन्म लिईन् । पर्वतकी सुपुत्री भएकाले उनको नाम पार्वती रहन गयो, अनि हिउँजस्तै गोरी भएकाले उनलाई गौरी नामले पनि सम्बोधन गरियो । पूर्वजन्मको पुण्यप्रभावले उनले बाल्यावस्थामा नै भगवान् शिवको कठोर तपस्या गरिन् र पुनः शिवलाई पतिका रूपमा प्राप्त गरी उनी जगतमा विख्यात भईन् ।

पार्वती  : पूर्वजन्ममा सतीदेवीका रूपमा रहेकी जगदम्बिकाले पर्वतराज हिमालय (हिमवान्) र मैनावतीको पुत्रीका रूपमा पुनर्जन्म लिएकी थिईन् । उनी भगवान् भोलेनाथकी दोस्रो पत्नी हुन् । बाल्यकालमा नै शिवआराधना र तपस्या गरी उनले पतिका रूपमा शिवलाई प्राप्त गरेकी थिईन् । माता पार्वतीलाई नै गौरी, महागौरी, पर्वतपुत्री र सिंहवाहिनी नामले पुकारिन्छ । माता पार्वती र सतीदेवीलाई पनि दुर्गास्वरूप मानिएको पाइन्छ, तिनीहरू दुर्गा होइनन्, जगत्प्रकृति जगदम्बा भगवतीको अंशस्वरूपमात्र हुन् । यिनै माता पार्वतीका दुई पुत्र छन्, तीमध्ये एक विघ्नहर्ता भगवान् गणेश र अर्का कार्तिकेय हुन् ।

नवदुर्गा रहस्य : नवरथामा पूजा गरिने नवदुर्गा हरू निम्नानुसार छन् - १. शैलपुत्री, २. ब्रह्मचारिणी, ३.चन्द्रघण्टा, ४. कुष्माण्डा, ५. स्कन्दमाता, ६. कात्यायनी, ७. कालरात्रि, ८. महागौरी र ९. सिद्धिदात्री । आश्विन शुल्क प्रतिपदाका दिन घटस्थापना गरी आरम्भ हुने नवरात्र पर्वको नौ दिनको अवधिमा शक्तिस्वरूपा देवी दुर्गा भवानीका विभिन्न नौ स्वरूपको पूजा-अर्चना  गरिन्छ । तिनै नौ स्वरूपका भगवतीलाई हामी समग्रमा नवदुर्गा भन्छौं । नवदुर्गामा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री,  महागौरी एवं सिद्धिदात्री हुन् । बडादसैंका अवसरमा पूजा गरिन नवदुर्गाहरूको छुट्टाछुट्टै विशेषता एवं महिमा छ ।

१. शैलपुत्री 
घटस्थापनाको दिन पूजा गरिने देवीको नाम शैलपुत्री हो । यिनी हिमालय पर्वतकी छोरी भएकीले शैलपुत्री भनिएको हो । कौशिकीसमेत भनिने यी देवी कोशी नदीकी स्रोत  मानिन्छिन् । यी देवीले आँखाबाट धूँवा निकाल्ने धुम्रलोचन नामक दैत्यको संहार गरेकी थिइन् ।

यस पटक शैलपुत्री भगवतीको आराधना २०७३ साल असोज १५ गते आश्विन शुक्ल प्रतिपदा (घटस्थापना), शनिबारका दिन गरिने छ ।




२. ब्रह्मचारिणी
नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी नामकी देवीको पूजाअर्चना गरिन्छ । सतीदेवीले पुर्नजन्म लिँदै पार्वती रूप धारणा गरेपछि उनले महादेवलाई पतिका रूपमा पाउन घोर  तपस्या गरेकीले उनको नाम ब्रह्मचारिणी रहेको हो । यिनको दाहिने हातमा जपमाला र देब्रे हातमा कमण्डलु हुन्छ ।

यस पटक ब्रह्मचारिणी भगवतीको आराधना २०७३ साल असोज १६ गते आश्विन शुक्ल द्वितीया, आइतबारका दिन गरिने छ ।


३. चन्द्रघण्टा
तेस्रो दिन पुजिने सिंहमाथि विराजमान देवीको नाम चन्द्रघण्टा हो । यी देवीका ५ मुख तथा १० हात छन् । चन्द्रघण्टाको सुवर्णमय स्वरूप देखेर दानवहरू डराउने  भएकाले यिनलाई चन्द्रघण्टा भनिएको हो । यी देवीले चण्ड-मुण्ड नामक जुम्ल्याहा दैत्यको संहार गरेकी थिइन् ।

यस पटक चन्द्रघण्टा भगवतीको आराधना २०७३ साल असोज १७ गते आश्विन शुक्ल तृतीया, सोमबारका दिन गरिने छ ।






४. कुष्माण्डा 
आठ हात भएकी, सूर्य मण्डलमा निवास गर्ने, सूर्यझै तेज भएकी चौथो दिन पुजिने देवीलाई कुष्माण्डा भनिन्छ । यी देवीको अट्टहासमा ब्रह्माण्डको उत्पत्ति र विनाश गर्ने  शक्ति छ भन्ने कुरामा हिन्दु धर्मावलम्बीहरू विश्वास गर्छन् । यी देवीले महिषासूरका सेनापतिहरू चामर, चिक्षुरलगायतका दैत्यहरूको संहार गरेकी थिइन् ।

यस पटक कुष्माण्डा भगवतीको आराधना २०७३ साल असोज १९ गते आश्विन शुक्ल चतुर्थी, बुधबारका दिन गरिने छ ।

५. स्कन्दमाता
स्वेत वर्ण, तीन आँखा, चार हात, कमलको फूलमाथि आसन भएकी स्कन्द कुमारकी जननी देवी स्कन्दमाताको पूजा पाँचौं दिन गरिन्छ । स्कन्दमाता नै पवित्र नदी गंगाकी  सर्जक मानिन्छिन् ।

यस पटक स्कन्दमाता भगवतीको आराधना २०७३ साल असोज २० गते आश्विन शुक्ल पञ्चमी, बिहीबारका दिन गरिने छ ।





६. कात्यायनी
नवरात्रको छैटौं दिन कात्यायनी देवीको पूजाअर्चना गरिन्छ । तीन नेत्र, आठ हात भएकी यी देवीको स्वरूप सुवर्णमय छ । कात्यायन ऋषिले  यज्ञमा उपद्रो मच्चाउने दै त्यहरू शुम्भ र निशुम्भको संहार गर्न दुर्गा भवानीको आराधना गरेपछि कात्यायन ऋषिकी छोरीका रूपमा प्रकट भएकीले यिनको नाम कात्यायनी रहेको हो ।

यस पटक कात्यायनी भगवतीको आराधना २०७३ साल असोज २१ गते आश्विन शुक्ल षष्ठी, शुक्रबारका दिन गरिने छ ।


७. कालरात्री 
सातौं दिन महाकालीसमेत भनिने कालरात्री नामकी देवीको पूजाअर्चना गरिन्छ । कृष्ण वर्ण, गधा बाहन भएकी, तीन नेत्र, चार हात भएकी, चारै हातमा क्रमशः तरबार,  मसाल, वरमुद्रा तथा अभय मुद्रा धारण गरेकी, सास फेर्दा आगो ओकल्ने यी देवीले भुइँमा झरेको प्रत्येक थोपा रगतबाट पुनः जीवन प्राप्त गर्ने भनिएको रक्तवीज नामक  दैत्यको संहार गरेकी थिइन् ।

यस पटक कालरात्री भगवतीको आराधना २०७३ साल असोज २२ गते आश्विन शुक्ल सप्तमी (फूलपाती), शनिबारका दिन गरिने छ ।



८. महागौरी
गोरुमाथि चढ्ने श्वेत वर्ण, श्वेतवस्त्र धारणा गरेकी, तीन आँखा, चारहात भएकी यी देवीको पूजा अष्टमीका दिन अर्थात् आठौं दिन गरिन्छ । यी देवीलाई पार्वतीको आठौं  अवतार मानिन्छ । यी देवी शान्ति तथा समुन्नतिको प्रतीक पनि हुन् । यी देवीले दानवराज महिषासुरको वध गरेकी थिइन् ।

यस पटक महागौरी भगवतीको आराधना २०७३ साल असोज २३ गते आश्विन शुक्ल अष्टमी (महाष्टमी), आइतबारका दिन गरिने छ ।


९. सिद्धिदात्री
नवरात्रको नवौं वा अन्तिम दिन पुजिने देवीको नाम सिद्धिदात्री हो । भगवान् शिवले पनि यिनै देवीको आराधनापश्चात् सिद्धि प्राप्त गरेकाले यिनलाई सिद्धिदात्री भनिएको  हो । सिद्धिदात्रीको पूजा- आराधना गर्नाले मनोवान्छित फल प्राप्त हुन्छ भन्ने विश्वास छ ।

यस पटक सिद्धिदात्री भगवतीको आराधना २०७३ साल असोज २४ गते आश्विन शुक्ल नवमी (महानवमी), सोमबारका दिन गरिने छ ।




अन्त्यमा सारांशमा भन्नुपर्दा शक्ति अामाको नाम हो, यो शरीरको भित्री प्रकृति हो अनि समस्त स्त्री जाति, मातृ शक्ति तथा जीवनजगतको मूल प्रकृतिलार्इ नै शक्ति भन्ने गरिन्छ । प्रकृतितत्त्वका रूपमा जुन ऊर्जाले यो सारा ब्रह्माण्डलाई एउटा निश्चित अनुशासनमा सुसञ्चालित गरेको हुन्छ अर्थात जसका कारणले यो सारा विश्वब्रह्माण्ड एउटा नियममा सञ्चालित हुनपुग्छ, त्यही ऊर्जाले हाम्रो शरीरभित्र उपस्थिति जनाएर हामीलाई पनि सञ्चालन गरिरहेको हुन्छ । यो अखण्ड, उन्नत र व्यापक ऊर्जालाई नै शक्ति वा देवी भन्ने गरिन्छ । आफूभित्र रहेको त्यो दिव्यतालाई प्रकट गर्ने पद्धति विशेषको नाम नै शक्ति उपासना हो । जसले आफैंमा सन्निहित शक्तिको अाभाष प्राप्त गर्न सकिरहेको हुँदैन, त्यो अज्ञान हो । अज्ञान अन्धकारको अर्को नाम हो । दसैं तिनै शक्तिको उपासना गर्ने विशिष्ट पर्व हो । यस पर्वमा आफूभित्रको अन्धकार (अज्ञान) को जालो फ्यालेर प्रकाश (ज्ञान) भित्र्याउने काम गरिन्छ । ज्ञानको अालोकमा शक्तिको पहिचान हुन्छ । शक्तिलाई एक प्रकारले सर्वोच्च नियामकको रूपमा र अर्को प्रकारले पुरुष देवताका, खासगरी शिवको, सहचरीको रूपमा गरी दुई प्रकारले उपासना गर्ने गरिएको पाइन्छ । पुरुष देवता शक्तिको साहचर्यबिना स्वयं एक्लै निष्क्रिय तथा विश्रामको स्थितिमा रहने गर्दछन्, परन्तु जब शक्तिको साहचर्य प्राप्त हुन्छ, तब उनी सक्रिय हुने गर्दछन् । यसरी शिव र शक्ति अथवा पुरुष र प्रकृतिको संयोगले नै सृष्टिचक्र सञ्चालित हुने गर्दछ । मुख्यरूपले देवीको रूपमा शक्तिको उपासना गर्ने गरिन्छ । यस अन्तर्गत दुर्गा, पार्वती, काली, उमा, अम्बिका, शीतला, चण्डी, चामुण्डा, मातृका, माया, महामाया, भद्रकाली आदि अनेकौं नामहरू पर्दछन् । अस्तु ।

No comments:

Post a Comment