Thursday, March 30, 2017

कुष्माण्डा भगवतीको महिमा

नवरात्री पर्वको चौथो दिन ‘चतुर्थी तिथि’ मा श्री नवदुर्गा भवानीको चौथो शक्तिको रूपमा प्रादुर्भाव भएकी श्री कुष्माण्डा भगवतीको पूजाआराधना गर्नुका साथै महिमा गायन गर्ने प्रचलन छ। ब्रह्माण्डको सृष्टिहुनु अघि सबैतिर अन्धकारमय अवस्था थियो । यस समयमा सृष्टिको कुनै अस्तित्व थिएन। यस्तो परिस्थितिको प्रारम्भमा आद्याशक्ति जगन्माता भगवतीको मन्दमुस्कानद्वारा अण्ड अर्थात् ब्रह्माण्डको उत्पत्ति भयो। अतः संसारमा यिनलाई कुष्माण्डा भगवतीका नामले प्रसिद्धि प्राप्त भएको हो। यसै कारणले गर्दा यिनलाई सृष्टिको आदिस्वरूपा र आदिशक्ति भनी पुकार्ने गरिन्छ । कुभिण्डोलाई संस्कृत भाषामा ‘कुष्माण्डम्’ पनि भनिन्छ । बलिहरूमध्ये सर्वाधिक प्रिय बलिका रूपमा भगवती दुर्गालाई कुभिण्डो मन पर्ने हुनाले पनि यिनलाई कुष्माण्डा भगवती भनिएको हो। कुष्माण्डा भगवती सूर्यमण्डलको भित्री तहमा निवास गर्छिन्। यिनको शरीरको ज्वाज्ज्वल्यमान् कान्ति पनि सूर्य झैं देदीप्यमान भएर सम्पूर्ण ब्रह्माण्डमा फैलिएको हुन्छ। यिनको तेजको तुलना यिनैसँग मात्र गर्न सकिन्छ, अरू कुनै पनि देवीदेवताको तेजलाई यिनको तेजोमय देदीप्यमान प्रकाशसँग समता गर्न सकिँदैन ।

शास्त्रीय मतानुसार श्री कुष्माण्डा भगवतीले आफ्ना आठवटा हातहरूमा दाहिनेपट्टि क्रमशः कमण्डलु, धनुष, वाण र कमलको फूल एवं देब्रेपट्टिका हातहरूमा क्रमशः अमृतपूर्ण कलश, चक्र, गदा र अणिमादि समस्त सिद्धि प्रदान गर्ने जपमाला धारण गरेकी हुन्छिन्। त्यसैले यिनी अष्टभूजा देवीको नामबाट पनि प्रसिद्ध भएकी छन्। यिनी सधैँ सिंहमा सवार रहन्छिन्।

नवरात्रिको चौथो दिनको पुण्य अवसरमा हिन्दू धर्मावलम्बीहरूले विभिन्न स्थानका आदिकालमा उत्पन्न र प्रतिस्थापित भएका आद्याशक्ति जगन्माता भगवतीका विभिन्न शक्तिपीठहरूमा गई श्रद्धाभक्तिपूर्वक श्री दुर्गाभवानीको आराधना एवं दर्शन गरी हर्ष उल्लासका साथ पूजाअर्चना गर्न् गर्दछन्। यसबाहेक नवरात्री पर्वको चौथो दिन शक्ति उपासक हिन्दुहरूले आआफ्नो कुलपरम्परा र कुलाचारबमोजिम घटस्थापनाका दिन जमरा राखेको वेदीमा वा सामूहिक दसैं घरमा श्रद्धापूर्वक श्रीदुर्गा भवानीलाई आह्वान गरी इष्टदेवीको भक्तिपूर्वक पूजाअर्चना गर्ने गर्दछन्।

नवदुर्गा भवानीका विभिन्न शक्तिपीठहरूको दर्शन गरी पूजाअर्चना गर्दा र दसैं घरमा इष्टदेवीको आह्वान गरी भक्तिपूर्वक पूजाअर्चना गर्दासमेत भगवतीबाट विभिन्न पुण्यफल प्राप्ति हुने स्तुतिहरू र श्रीदुर्गा सप्तशती चण्डीको यथाशक्य पाठ गर्नुका साथै विशेषतः श्री कुष्माण्डा भगवतीको श्री विग्रह ‘रूप’ को चरणकमल सम्झेर श्रद्धाभक्तिपूर्वक यिनैको महिमा झल्किने स्तुति पूजा-अर्चना हुने गर्दा भक्तहरूका सम्पूर्ण पाप मोचन भई सबै प्रकारका दुःख, कष्ट, रोग र व्याधि नाश भएर आयु, आरोग्य, यश र ऐश्वर्यको वृद्धि हुने शास्त्रीय मान्यता रहेको छ। श्री कुष्माण्डा भगवतीलाई प्रसन्न तुल्याउन तल लेखिएका स्तुतिको पाठ गर्ने चलन छ।

कूष्माण्डा स्तुति :-
अणिमादि गुणाकारां मकाराकारचक्षुषाम् ।
अनन्तशक्तिभेदां तां कामाक्षीं प्रणमाम्यहम् ॥
सुरासम्पूर्णकलशं रुधिरप्लूतमेव च।
दधानाहस्तपद्माभ्यां कूष्माण्डा शुभदास्तु मे॥

ध्यान :-
वन्दे वाञ्छित कामार्थे चन्द्रार्द्धकृतशेखराम्।
सिंहारूढां अष्टभुजां कुष्माण्डां त्वां यशस्विनीम्॥
भास्वरभानुनिभां अनाहतस्थितां चतुर्थदुर्गां त्रिनेत्राम्।
कमण्डलुचापबाणपद्मसुधाकलशचक्रगदाजपवटीधराम्॥
पटाम्बरपरिधानां कमनीयां मृदुहास्यां नानालङ्कारभूषिताम्।
मञ्जीरहारकेयूरकिङ्किणीरत्‍‌नकुण्डलमण्डिताम्।
प्रफुल्लवदनां नानारूचिकां कान्तकपोलां तुङ्गकूचाम्।
कोलाङ्गीं स्मेरमुखीं क्षीणकटिं निम्ननाभिं नितम्बनीम्॥

स्तोत्र :-
दुर्गतिनाशिनी त्वं हि दारिद्य्रादिविनाशिनीम्।
जयदां धनदां देवीं कूष्माण्डे प्रणमाम्यहम्॥
जगन्माता जगत्कर्त्री जगदाधाररूपिणीम्।
चराचरेश्वरीं देवीं कूष्माण्डे प्रणमाम्यहम्॥
त्रैलोक्यसुन्दरीं त्वं हि दु:खशोकनिवारिणीम्।
परानन्दमयीं देवीं कूष्माण्डे प्रणमाम्यहम्॥

यसरी नवरात्री पर्वको चौथो दिन तन्त्रोक्त विधिविधान एवं भक्तिभावद्वारा कुष्माण्डा भगवतीको पूजा.अर्चना गरिन्छ। भक्तहरूले नवरात्रीअन्तर्गत चौथो दिन पवित्र भएर आफ्नो मनलाई अनाहत चक्रमा केन्द्रित राखी अत्यन्त पवित्र रही यिनैको स्वरूप र श्रीविग्रहको स्मरण गर्दै ध्यान गरी श्रद्धाभक्तिपूर्वक यथाशक्य षोडशोपचारले श्री कुष्माण्डा भगवतीको पूजा अर्चना गर्दा भक्तहरूका सबै रोग, कष्ट, दुःख, दारिद्य्र जस्ता सबै सङ्कट नाश भई आयु, आरोग्य, यश, ऐश्वर्य र सुखसमृद्धि प्राप्ति हुन्छ । केवल श्रद्धा र भक्तिका माध्यमबाट खुसी हुने भएकाले यिनलाई प्रसन्न पार्न अत्यन्तै सजिलो छ।  त्यसैले आफ्नो उन्नति र प्रगति चाहने सबै श्रद्धालु भक्तजनले नवरात्रिको चौथो दिन श्री कुष्माण्डा भगवतीलाई तन र मन पवित्र तुल्याई आराधना गर्दै श्रद्धाभक्तिपूर्वक पूजाअर्चना गर्दा निश्चित रूपमा मनोवाञ्छित शुभफल प्राप्त भई सबैको कल्याण हुने विश्वास गरिन्छ।

No comments:

Post a Comment