Thursday, March 16, 2017

जहाँ इच्छा, त्यहाँ उपाय

श्रावस्तीमा दुर्भिक्ष (अनिकाल) ले गर्दा ठूलो हाहाकार मच्चिएको थियो । धेरै मान्छेहरू भोकमरीले पीडित थिए । बुद्धले आफ्ना शिष्यहरूलाई बोलाई सोध्नु भयो- 'यी भोकले पीडित मान्छेहरूलाई खाना खुवाउने जिम्मेबारी लिन को अघि सर्छौं ?"

त्यस समूहमा एकजना भक्त सेठ रत्नाकर पनि थिए, बुद्धको सामु टाउको निहुराउँदै उनले भने - 'भगवन् ! यस विशाल नगरमा असङ्ख्य मान्छेहरू भोकले ग्रस्त छन् । यत्तिका धेरै मानिसहरूलाई खाना दिने सम्पत्ति नै मसँग कहाँ छ र ? म एक्लै यति ठूलो कार्य आँट्नै सक्दिन।'

तिनै भक्तमध्ये अर्का भक्त जयसेनले विन्ति गरे - 'तथागतको वचन पालन गर्न पुग्ने भए म आफ्नो मुटुको रगत दिनसम्म तयार छु, तर अपशोच ! मेरो घरमा अन्नभने छैन।'

त्यस्तै अर्का भक्त धर्मपाल त्यस भेकका एकजना ठूला जमिनदार थिए, उनले लामो निश्वास लिँदै अघि सरे - 'कस्तो दुर्भाग्यको कुरो हो, भन्ते! मेरा ती अति उत्तम खेतहरू पनि सुख्खा छन् । यत्तिबेला म सरकारलाई कर तिर्नसमेत असमर्थ भएको छु। दरिद्रताले मेरो घरैमा निवास गर्नलागेको अवस्था छ ।'

यसरी त्यहाँ बुद्धका प्रवचन सुन्न र दर्शन गर्न आएका सबै शिष्यले एकपछि अर्को गर्दै आआफ्ना दुःखव्यथा र पीडा पोख्दै विवशता प्रकट गर्न थाले । कसैसँग पनि बुद्धको त्यस प्रश्नको जवाफ थिएन । करुणाले भरिपूर्ण बुद्धका आँखाहरू त्यस सभाकक्षमा उपस्थित भद्रभलादमी र भोक र अनिकालले ग्रस्त स्रावस्ती नगरलाई नियालिरहेका थिए ।

त्यत्तिकैमा त्यसै नगरको एक छेउमा बसोबास गर्ने र सहरका अन्य नागरिकहरूकहाँ सेवा गरी जीविका चलाउने एकजना नागरिक अनाथपिण्डककी छोरी, भिक्षुणी सुप्रियाले गहभरी आँसु लिई, बुद्धलाई प्रणाम गरी हात जोर्दै अति विनम्र भावले भनिन्- 'म सुप्रिया, भगवानको शासनअन्तर्गतकी एउटी भिक्षुणी, तथागतको यस आज्ञापालन गर्न तैयार छु। भोकले ग्रस्त, यी पीडितजन मेरा आफ्ना सन्तति हुन् । आजबाट उनीहरूलाई खाना खुवाउनु मेरो काम हुनेछ।'

उपस्थित विशाल सभागम आश्चर्यचकित भए र सबैले एकै मुखमा सोधे - 'तपाईं स्वयंअाफू एकजना भिक्षुणी हो, आफैंले मागेर जीविका चलाउनु परेको छ, के हिम्मतले तपाईंले यत्ति ठूलो अभिभारा लिने आँट गर्नुभएको हो, तपाईंसँग केकति सम्पत्ति छ र ? ''

सुप्रियाले पुनः बुद्धलाई प्रणाम गरी भन्नथालिन् - 'मसँग सम्पत्तिको नाममा भिक्षा माग्न प्रयोग गर्ने यही एउटा पात्रमात्र छ। त्यस्तै यस नगरकी एउटी निर्धन, साधारण र तपाईंहरूमध्ये सबैभन्दा कम शक्ति भएकी एउटी नारी हुँ। त्यसकारण म तपाईंहरूको सहृदयता र सहयोगको आशा गर्छु। तपाईंहरूले मलाई अवश्यमेव सहयोग पुर्याउनु हुनेछ, त्यसबाट शाश्ता बुद्धको आज्ञालाई कार्यान्वयन गर्न म समर्थ हुनेछु। मेरो सम्पत्ति र अन्नको भण्डार तपाईंहरूकै घरघरमा छरिएका छन्। तपाईंहरूको दयाले गर्दा यो पात्र जहिले पनि पूर्ण र भरी हुनेछ। त्यसैले भिक्षाटनकै माध्यमबाट म यस भूमि (सहर) लाई बचाउने छु र खान नपाई तड्पिरहेका मान्छेहरूको भोक शान्त पार्नेछु।'

माथिको प्रेरक कथाले मानिसमा नैराश्यता होइन, इच्छाशक्तिको खाँचो छ, भन्ने सन्देश प्रदान गर्दछ । जसले परिवेश र योग्यता वा क्षमतामा अभावै अभाव देख्दछ, त्यसले कहिल्यै उन्नति र प्रगति गर्न सक्दैन । धन हुनेले दान गर्न चाँहदैन, परोपकार र परहीतका लागि एउटा कन्चो खर्च गर्न डराउँछ, केवल जोगाउन र वचत गर्नमात्रै चिन्तित हुन्छ, त्यसको सुखसम्मृद्धि र सम्पत्ति उसले स्वयंले पनि भोग गर्न पाउँदैन । तपार्इंले समाजमा देख्नु भएकै होला, एक छाक पनि मिठो नखार्इ वा एकसरो राम्रो लुगासमेत नलगार्इ जीवन धान्ने व्यक्तिको बुढेसकाल साँच्चै दुःखमय भएर बितेको हुन्छ । लोभ र तिर्सनामात्र उसको जीवनवरिपरि मँडारिर्इ रहेको हुन्छ । उसले थुपारेको सम्पत्ति उसैका सन्तति र घरपरिवारभित्रका व्यक्तिले फजुलमा उडाएर सिद्ध्याएको उदाहरण कति भेटिन्छ कत्ति ! तर उदार मानसिकता भएका व्यक्तिले कहिल्यै दुःख पाएको देखिंदैन । उसमा लागू हुन्छ - चर्चित उखान 'जहाँ इच्छा, त्यहाँ उपाय' । यसै प्रसङ्गमा अर्को एउटा नयाँ पुस्ताको वास्तविक कथालार्इ पनि जोड्न सकिन्छ । जुलिओ इग्लेसिसले बाल्यावस्थामा नै एउटा सपना तुनेका थिए - 'संसारको सर्वश्रेष्ठ फुटवल खेलाडी बन्ने र विश्वकै सर्वश्रेष्ठ गोल्डमेडल आफ्नो हातमा लिने ।'

इग्लोसिस सानै हुँदा खेलकुदमा निकै रत्तिन्थे । सानै उमेरदेखि फुटबलमा रुचि राख्ने भएकाले उनी रातदिन फुटबल खेल्थे । रातदिन भनेको राती र दिउँसो भए झैं सजिलै भन्ने होइन, यसको अर्थ हो - कडा मिहिनेत र सङ्घर्ष । सङ्घर्ष भन्ने चिजै सजिलो हुँदैन, सङ्घर्ष असजिलो र कष्टप्रद हुन्छ । समयको क्रमसँगै उनी हुर्कंदै गए । उनको लगनशीलता र परिश्रमले किशोरअवस्था पार गर्नासाथ करिब २० वर्षको उमेरमा नै आफ्नो राष्ट्र स्पेनको गोलकिपर बने उनी । तर उनको लक्ष त्यतिमात्र थिएन, उनको सपना थियो - संसारकै ठूलो र महान् फूटबल खेलाडि बन्ने । उनको मिहिनेतले रङ जमाउँदै गरेको समय थियो, उनी चर्चित र प्रतिष्ठित बन्नै लागेका थिए, तर दुर्भाग्य, एकदिन उनी आफ्नो कारमा बसेर सायंकालीन भ्रमणमा निस्केका थिए, त्यसै वेला एउटा ठूलो दुर्घटना भयो । त्यस दुर्घटनामा इग्लोसिस गम्भीर घाइते भए, जसबाट उनी जीवन र मरणको दोसाँधमा पुगे । उनको विश्वप्रसिद्ध फुटबल खेलाडी बन्ने सपना भताभुङ्ग भयो, उनको उद्देश्य चकनाचुर भएर तुहियो । त्यसपछि फुटबल खेल्नु त परै जाओस्, उनी मर्छन् कि बाँच्छन् भन्ने कुरामा नै चिकित्सकहरू चिन्तित देखिन्थे । जसैतसै उनी बाँचे, तर उनको सम्पूर्ण शरीर पक्षाघात (प्यारालाइसिस) ले ग्रस्त भयो । फुटबल खेल्ने उनको सोख पूरा हुने सम्भावना छँदै थिएन, उनी हिंडडुल गर्न र दिसापिसाब गर्न पनि समर्थ थिएनन् । सुरुमा जीवनको यो र्दुदशा देखेर उनी दुःखित हुनु स्वाभाविकै थियो । उनलार्इ डिप्रेसन पनि भयो, आफ्नो जिन्दगीप्रति उनलार्इ घृणा लाग्न थालेको थियो । कति पटक त उनले अत्महत्याको प्रयास पनि गरे । तर उनको मनले उनैलार्इ सम्झायो, मर्नुभन्दा बौलाउनु बेस भनेर । अन्ततः आफ्नो मनलार्इ आफैं सम्हाल्नु पर्छ भन्ने ठानेर उनले आफ्ना दुःख र विरहका व्यथालार्इ गुनगुनाउन थाले । जब उनी एक्लै हुन्थे, गीत गुनगुनाउँदै आफ्ना निरसिला र कष्टदायक दिनहरू बिताउने गर्दथे ।

समय बित्दै गयो । उनको अशक्तता र विरहका ६ वर्ष बिते । यस अवधिमा उनी पहिलेभन्दा अलि तङ्ग्रिए । जसोतसो सामान्य हिंडडुल गर्न र शौचालयसम्म जानसक्ने भए । विरहव्यथा गुनगुनाउँदै गर्दा उनको बोलीमा पनि निखार आउन थाल्यो र उनी आफ्ना पीडाका ती गीतहरू अरुलार्इ पनि सुनाउन थाले । उनको स्वर र शब्द सबैका लागि प्रियकर बन्यो । उनले गाउँदा सबैले मन पराउँथे । उनले बाद्यवादन र कलाको जानकारी पनि लिए । उनले आफ्ना गीतमा मिठास थप्न गिटारको प्रयोग गर्न थाले । गिटारमा उनको हात क्रमशः राम्ररी बस्यो । उनी प्रसिद्ध हुँदै गए । केही समयपछि उनले अखबारमा एउटा विज्ञापन देखे, जसमा साङ्गीतिक प्रतिस्पर्द्धा (म्युजिक कम्पिटिसन) मा भाग लिन नयाँ गायकहरूलार्इ मौका दिने विषय उल्लेख गरिएको थियो ।

इग्लोसिसले प्रतियोगितामा भाग लिए, उनको गायनकलाको सर्वत्र चर्चा भयो, धेरैले मन पराए । कुनै समयमा फुटबलको गोल्डकप समातेर विश्वप्रसिद्ध बन्ने अभिलाषा राखेका इग्लोसिस त्यस बाटोमा हिंड्न नसक्ने भए, तर उनी गायनका क्षेत्रमा यत्ति चर्चित भए कि एक दिन उनको साङ्गीतिक पहिचान विश्वका प्रसिद्ध दसजना गायकहरूमा हुन थाल्यो ।


त्यसैले 'बरु चरेस खाँदा सुध्रिने मौका पाइन्छ, तर हरेस खानु हुँदैन, जहाँ इच्छा त्यहाँ उपाय' भनिएको हो ।


स्रोत : बुद्धकालीन प्रेरक कथा 'धर्मकीर्ति' र विश्वप्रसिद्ध प्रेरक कथा

No comments:

Post a Comment