- रामप्रसाद धिताल
गुह्येश्वरी
पशुपतिनाथको मन्दिरदेखि एक किलोमिटर पूर्वमा रहेको गुह्येश्वरीको मन्दिर बागमती नदीको किनारमा अवस्थित छ । भगवान् शिवकी पत्नी सतीदेवीको गुह्याङ्ग पतन भएको विश्वासमा शक्तिपीठको रूपमा गुह्येश्वरीको ठूलो महत्त्व छ । चाँदीको कलशले ढाकिएको मन्दिरभित्रको जलपूर्ण कुण्डलाई श्रद्धालुहरू देवीको रूपमा पूजा गर्ने गर्दछन् । गुह्येश्वरीको महिमा नेपालमाहात्म्य, हिमवत्खण्ड, श्रीस्वस्थानी व्रतकथा आदिमा बताइएको छ ।
भद्रकाली
सिंहदरबारदेखि केही मिनेट पश्चिममा रहेको भद्रकालीको मन्दिर सामान्य स्वरूपको छ । चामुण्डा देवीको रूपमा पुजिने भद्रकाली देवीको मूर्ति सामान्य शिलायुक्त छ । तान्त्रिक पद्धतिअनुसार नवरात्रमा विशेष पूजा गरिने यहाँका पुजारी बताउँछन् । दुर्गाकवचमा उल्लेख भएअनुसार भगवतीका अनेक रूपमध्ये भद्रकाली पनि एक हो ।
शोभा भगवती
विष्णुमतीको किनारमा रहेको शोभा भगवतीको मन्दिर लिच्छवीकालीन मानिन्छ । भगवती दुर्गाको रूपमा पुजिने शोभा भगवतीको स्वरूप अष्ट भूजायुक्त आकर्षक देख्न सकिन्छ । नवरात्रमा विशेष पूजासहित दुर्गा सप्तशती चण्डी पाठ गरिने यस मन्दिरमा भक्तजनको ठूलो भीड लाग्ने गर्दछ ।
नक्साल भगवती
काठमाडौँ उपत्यकाका प्रसिद्ध शक्तिपीठमध्ये नक्साल भगवती पनि एक हो । नारायणहिटी दरबारस्थित यो मन्दिरमा सोह्र भूजायुक्त देवीको मूर्ति रहेको छ । भगवती दुर्गाकै रूपमा पुजिने नक्साल भगवतीप्रति काठमाडौँ उपत्यकाका भक्तजनहरूको ठूलो आस्था रहेको पाइन्छ ।
तलेजुभवानी
काठमाडौँ दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर वर्षको एकदिन अर्थात् बडादसैँको नवमीमा मात्र खुल्छ । तुलजा भवानीलाई पुज्ने परम्परा काठमाडौँ उपत्यकालगायत अन्य ठाउँमा पनि पाइन्छ । चौधौँ शताब्दीमा सिम्रौनगढका राजा हरिहरसिंहदेवले मुसलमानको आक्रलमणबाट बचाएर ल्याई तुलजा भवानीलाई भक्तपुरमा स्थापना गरेको इतिहास पाइन्छ । भक्तपुरपछि क्रमशः कान्तिपुर र ललितपुरमा समेत स्थापना गरिएको थियो । नेपालमा राज्य गर्ने राजाहरूले तुलजा भवानीलाई इष्टदेवी मान्ने गरेका छन् ।
बगलामुखी
नवरात्रमा विशेष आकर्षणको केन्द्र बन्ने अर्को शक्तिपीठ हो बगलामुखी । पाटन दरबार क्षेत्रबाट केही मिनेट उत्तरमा पर्ने बगलामुखी कुम्भेश्वर मन्दिर परिसरमा छ । तन्त्रशास्त्रअनुसारका दस महाविद्यामध्ये बगलामुखी पनि एक हुन् । बिहीबार विशेष भीड हुने बगलामुखीको दर्शनबाट मनोकाङ्क्षा सिद्धि हुने विश्वास गरिन्छ ।
काठमाडौँ उपत्यकाको दक्षिणी भाग फर्पिङमा रहेको दक्षिणकालीको मन्दिर मातृशक्तिको उपासना गर्ने जोसुकैको आकर्षणको केन्द्रबिन्दु हो । मन्दिरमा शिलामा रहेको कालीको मूर्तिसँगै अष्टमातृकाका आदिका मूर्तिहरू समेत छन् ।
बज्रवाराही
चापागाउँदेखि पूर्वी भागमा पर्ने बज्रवाराहीको मन्दिर पनि शक्तिपीठकै रूपमा प्रख्यात छ । तान्त्रिक विधिबाट गुभाजुहरूबाट नित्य पूजा गरिने यस मन्दिरमा अष्टमातृकासहित बज्रवाराहीको शिलाको मूर्ति छ । दुर्गाकवचमा वाराही देवीको चर्चा विभिन्न ठाँउमा गरिएको हुनाले पनि बज्रवाराही उपासनाको ठूलो महत्त्व रहेको यहाँका पुजारी बताउँछन् ।
बज्रयोगिनी
काठमाडौँको साँखुदेखि उत्तरतिरको डाँडामा रहेको बज्रयोगिनीको मन्दिर अठारौँ शताब्दीको पहिलो दशकतिर बनेको मानिन्छ । उपत्यका र वरिपरि जिल्लाका भक्तजनले तान्त्रिक देवीको रूपमा बज्रयोगिनीको आराधना गर्छन् । मन्दिरमा बज्रयोगिनी, उग्रतारा, सिंहबाहिनीका मूर्तिहरू देख्न सकिन्छ । बौद्ध धर्मावलम्बीहरू समेतको आस्था रहेको यहाँको वातावरणबाट प्रस्ट हुन्छ ।
पलाञ्चोक भगवती
काभ्रेपलाञ्चोक जिल्लाको भगवती गाविसमा पर्ने यो मन्दिर लिच्छविकालीन राजा मानदेवको पालामा बनाइएको मानिन्छ । यिनै पलाञ्चोक भगवतीको नामबाट काभ्रेसँग पलाञ्चोक थपिन गएको बुझ्न सकिन्छ । विभिन्न शस्त्रअस्त्र बोकेकी महिषासुर मर्दिनीको रूपमा रहेकी पलाञ्चोक भगवतीको मन्दिर पुग्न काठमाडौँबाट गाडीमा तीन घण्टाको यात्रा गर्नुपर्छ ।
यीबाहेक काठमाडौँमा नरदेवी (श्वेतकाली), रक्तकाली मैतीदेवी कालिकास्थान सङ्कटा, भक्तपुरमा इन्द्रायणी, नवदुर्गा आदि शक्तिपीठ नवरात्रका लागि प्रमुख गन्तव्यस्थल मानिन्छन् । यसैगरी उपत्यकाबाहिर गोरखामा मनकामना, पाल्पामा तानसेन भगवती, बाँकेमा बागेश्वरी, बागलुङमा माइस्थान, डोल्पामा त्रिपुरासुन्दरी, कालीकोट र बाजुराको सिमानामा पर्ने बडीमालिका भगवती, पोखरामा बिन्ध्यवासिनी, बारामा गढीमाई आदि शक्तिपीठहरूमा विशेष पूजाअर्चनाको साथै बलि दिइने परम्परा छ ।
No comments:
Post a Comment