Tuesday, March 28, 2017

शैलपुत्री भगवतीको महिमा

सनातन हिन्दु धर्मावलम्बीहरूको प्रमुख चाड दसैं नेपाल र नेपालीको  संस्कृति भइसकेको छ । त्यसैले दसैं राष्ट्रिय पर्वको रूपमा मनाइन्छ । आश्विन शुक्ल पक्षको प्रतिपदादेखि हिन्दु धर्मावलम्बीहरूको प्रमुख चाड नवरात्रि पर्व सुरु हुन्छ । नवरात्रको पहिलो दिन, यस दिन सनातन हिन्दु धर्मावलम्बीहरूले आआफ्नो परम्परा र कुलाचारअनुसार बिहान सबेरै नदीबाट शुद्ध जल ल्याउने गर्दछन् र त्यसपछि घरभित्र कै पूजा कोठामा वा सामूहिक रूपमा देवीघरको स्थापना गरी त्यहाँ कलश स्थापना (घटस्थापना) गरी बलौटे माटोमा जौ छरेर जमरा राखिन्छ । आआफ्नो इष्टदेवीको आराधना गरी पूजाअर्चना गरिन्छ। यस अवसरमा नवदुर्गा भवानीका विभिन्न शक्ति पीठहरूको दर्शन गर्न जाने चलन पनि छ ।


नवरात्रको पहिलो दिन नवदुर्गा भवानी प्रथम स्वरूप शैलपुत्रीका रूपमा प्रकट हुन्छिन् भन्ने विश्वास गरिन्छ। त्यसैले नवरात्रिको पहिलो दिन शैलपुत्री भवानीको स्वरूपको ध्यान गरी पूजाअर्चना गर्ने गरिन्छ । भगवतीको स्तुति गर्दा 'ॐ नमः जयन्ती मङ्गला काली भद्रकाली कपालिनी । दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ।।' आदि स्तुतिको उच्चारण गरिन्छ ।

जगत्पूज्ये जगद्वन्द्ये सर्वशक्तिस्वरूपिणि।
सर्वात्मिकेशि कौमारि जगन्मातर्नमोऽस्तुते।।

ध्यान:-
वन्दे वाञ्छितलाभाय चन्द्रार्द्धकृतशेखराम्।
वृषारूढां शूलधरां शैलपुत्रीं यशस्विनीम्॥
पूणेन्दुनिभां गौरी मूलाधारस्थितां प्रथमदुर्गात्रिनेत्राम्।
पटाम्बरपरिधानां रत्नकिरीटीनां नानालङ्कारभूषिताम्॥
प्रफुल्ल वदनां पल्लवाधरां कान्तकपोलां तुङ्गकुचाम्।
कमनीयां लावण्यां स्मेरमुखीं क्षीणमध्यां नितम्बिनीम्॥

स्तोत्र:-
प्रथमरूपदुर्गाख्ये भवसागरतारिणीम्।
धनैश्वर्यप्रदायिनीं शैलपुत्रीं नमाम्यहम्॥
त्रिलोकजननी त्वं हि परमानन्ददायिनीम्।
सौभाग्यारोग्यदायिनीं शैलपुत्रीं नमाम्यहम्॥
चराचरेश्वरी त्वं हि महामोहविनाशिनीं।
भुक्तिमुक्तिप्रदायिनीं शैलपुत्रीं नमाम्यहम्॥

शैलपुत्री देवीको कवचपाठ -
ॐकारः मे शिर: पातु मूलाधारनिवासिनी।
हींकारः पातु ललाटे बीजरूपा महेश्वरी॥
श्रीकारः पातु वदने लज्जारूपा महेश्वरी।
हूंकारः पातु हृदये तारिणीशक्ति स्वधृता॥
फट्कारः पातुसर्वाङ्गे सर्वसिद्धिफलप्रदा।

प्राचीन ग्रन्थअनुसार जगदम्बा भगवती सत्ययुगमा सतीदेवीको रूपमा दक्ष प्रजापतिको घरमा उत्पन्न भई आफ्ना पिताद्वारा आफ्ना पतिको तिरस्कार र अपमान भएकाले सहन नसकी आत्मदाह गरी पुनः पर्वतराज हिमालय पर्वतकी छोरीका रूपमा पार्वतीका नामबाट जन्मिएकी हुन् । पर्वतलाई शैल भनिने हुनाले तिनै पार्वतीको नाम शैलपुत्री रहन गएको हो । यिनलाई हेमवती पनि भन्ने गरिन्छ । उनको विवाह भगवान् शङ्करसँग भएको थियो । यिनलाई श्रद्धापूर्वक आराधना गर्दा साधकले आफ्नो मनलाई 'मूलाधार' चक्रमा केन्द्रित गरी आह्वान गर्नुपर्छ, यसो गर्दा योगसाधनाको प्रादुर्भाव हुन पुग्छ ।

No comments:

Post a Comment