Tuesday, March 28, 2017

ज्योतिषशास्त्र अनुसार यस्तो छ, नववर्ष २०७४ को वर्षफल

ज्योतिषीय आधारमा चैत्र महिनाको शुक्लपक्षको प्रतिपदा तिथिका दिनदेखि नयाँ संवत्सरको प्रारम्भ हुने गर्दछ । चान्द्र पद्धतिमा निर्धारण गरिने भएकाले यो समय सामान्यतया चैत्र १ गतेदेखि वैशाख १ गतेभित्रको कुनै दिन पर्ने गर्दछ, तर त्यो दिन चैत्र महिनामा पर्ने औंसीको भोलिपल्ट हुनुपर्दछ ।

चैत्रेमासे जगद् ब्रह्मा ससर्ज प्रथमेहनि । शुक्लपक्षे समग्रे तु तदा सूर्योदये सति ॥

माथि उल्लेख भएको श्लोकको आशय बमोजिम ब्रह्माले सृष्टिको प्रारम्भ यसै दिनबाट गरेका हुन् । सनातन हिन्दू धर्मसंस्कृतिका कुनै पनि कर्म गर्दा सङ्कल्प उच्चारण गर्ने प्रचलन छ र सङ्कल्पमा अनिवार्य रूपमा संवत्सरको उच्चारण गरिन्छ । आजबाट सुरु हुने संवत्सरको नाम साधारण हो, त्यसैले आजबाट गुरु-पुरोहितहरूले साधारण नामको संवत्सरको उच्चारण गरी धार्मिक कृत्य सम्पादन गर्नेछन् । संवत्सर भुक्तभोग्य विचार गर्दा सौरमानले वैशाख ०५ गतेबाट विरोधकृत् नामक संवत्सर प्रारम्भ हुनेछ, तर सङ्कल्पादि गर्दा वर्षभरि नै साधारण नामको संवत्सरको उच्चारण गर्नुपर्दछ । सामान्य अर्थमा संवत्सरको अर्थ वर्षको नाम हो, यस्ता संवत्सर ६० वटा रहेका छन् । साठीवटा संवत्सरमध्ये साधारण नामक संवत्सर चौवालीसौं क्रममा पर्दछ । चान्द्रपात्रोबमोजिम आज चैत्र शुक्ल पक्षको प्रतिपदा तिथि भएकाले ज्योतिषीय आधारमा नयाँ वर्ष २०७४ र शाके संवत् १९३९ प्रारम्भ भएको छ । यस वर्षका निम्न वैशिष्ट्य देखिन्छन् :-

साधारण संवत्सरको फल यस्तो छ :-
साधारणाब्दे वृष्ट्यर्घं भयं साधारणं मतम् ।। मध्यसम्पद्धराधीशाः प्रजाः स्युः स्वस्थचेतसः ।।
यसको अर्थ हुन्छ :- यस वर्ष सामान्य मूल्यबृद्धि हुनेछ । शासक र शासित दुबै वर्ग प्रसन्न रहने छन् । लोकमा मध्यमखालको सम्पन्नता छाउने छ ।

तर यसै वर्ष विरोधकृत् संवत्सरको प्रभाव पनि देखिने सम्भावना छ । उक्त संवत्सरको फल यस्तो छ :-
विरोधकृद् वत्सरे तु परस्परविरोधिनः । सर्वे जनाः नृपाश्चैव मध्यसस्यार्घवृष्टयः ।।
 तर विरोधकृत् संवत्सरको प्रभाव सुरु भएपछि सरकारको कामकारबाहीमा क्रूरता र नृशंसता थपिने छ । जनता आन्दोलित बन्नेछन् । मध्यमरूपमा मूल्यबृद्धि हुनेछ ।

चैत्र शुक्लपक्षको प्रतिपदा तिथिका दिन जुन बार पर्छ, त्यस बारको आधिपत्यमा ग्रह परिषद्को गठन हुने गर्छ, त्यसैले आज बुधबार परेको हुँदा आगामी वर्ष २०७४ को राजा बुध हुनेछ । त्यस्तै वैशाख संक्रान्तिका दिन जुन बार पर्छ, त्यसैले प्रधानमन्त्रीको भूमिका निर्वाह गर्ने प्रचलन छ । यस पटक वैशाख १ गते शुक्रबार परे पनि सङ्क्रान्ति प्रवेश विहानको राती नै हुने भएकाले अघिल्लो दिनको बार (बिहीबार) अनुसार ग्रह परिषद्को मन्त्रीको भूमिकामा देवगुरु बृहस्पति रहने छन् । राजकुमारको स्वभावयुक्त बुध ग्रहको राजपद महत्त्वाकाङ्क्षा र अविवेकले ग्रस्त हुने हुँदा राज्यका ठूला पदाधिकारीबाट गरिने विवेकहीन क्रियाकलापबाट जनता आतङ्कित बन्नेछन् । राजा बुध रहँदा वर्षको यस्तो फल प्राप्त हुन्छ :-

बुधस्य राज्ये सजलं महीतलं गृहे गृहे तूर्यविवाहमङ्गलम् ।।
प्रकुर्वते दानदयाजनोपि स्वस्थ्यं सुभिक्षं धनधान्यसङ्कुलम् ।।
(बुध राजा भएको समयमा पृथ्वीमा जलको पर्याप्तता हुनेछ, घरघरमा माङ्गलिक, सांस्कृतिक र धार्मिक कृत्य सम्पादन हुनेछन्, दान एवं परोपकारका लागि लोक प्रवृत्त रहने छ । आवश्यक अन्नादिको उत्पादन हुनाले जनस्तरमा हर्षता व्याप्त हुनेछ ।)

सामान्यतया बुध ग्रहको प्रभाव भोगविलासका साधनहरू, विद्वत्ता र बुद्धि खियाएर गरिने कामहरू, सञ्चारमाध्यम, इलेक्ट्रोनिक मालमत्ता, मनोरञ्जनात्मक क्षेत्र, किशोरअवस्था, खेलकुद र मोजमस्ती आदि क्षेत्रमा हुने गर्दछ । त्यसैले आगामी वर्ष बुध राजा भएकाले राष्ट्रको आर्थिक अभिबृद्धिको सङ्केत देखिंदैछ । भोगविलासको साधन जुटाउन जनता लालायित हुनेछन् । आधुनिक उपकरण र मोटरकारलगायतका सवारीसाधनको कारोबार फस्टाउने छ । सञ्चारका उपकरणहरू, फेसनडिजाइनका वस्तु, रेडिमेड कपडाको कारोबारमा बृद्धि हुनेछ । ज्ञानविज्ञानका क्षेत्रहरू विद्यालय, विश्वविद्यालय आदिको स्तरोन्नति हुनुका साथै मेधावी छात्रछात्राले उच्च सफलता र प्रतिष्ठा प्राप्त गर्नेछन् । तर किशोर वयको बुध ग्रह भएकाले महत्त्वाकाङ्क्षा र लहडीपनमा बृद्धि भई अकर्मण्यता र अनुत्तरदायी क्रियाकलापमा पनि बृद्धि हुने सम्भावना देखिन्छ । ज्ञानविज्ञान र प्रविधिको जानकार ग्रह भए पनि दायित्व र जिम्मेबारीबोध बुध ग्रहमा ढिलो सुरु हुने गर्दछ । धान, गहुँ, उखु, मकै आदि वर्षेबालीको उत्पादनमा बृद्धि हुने छ ।

ज्योतिषीय गणनाबमोजिम यस वर्षको राजाको वाहन चक्र (बुधचक्रं) अर्थात्  हो । त्यसैले कतैकतै अत्यधिक वर्षा हुन गई बाढी, पहिरो र भूस्खलनका समस्या देखिने छन् भने कतै खडेरीको चपेटामा जनता आकुलव्याकुल हुने सम्भावना पनि छ ।

आगामी २०७३ सालको ग्रह परिषद्को मन्त्री बृहस्पति ग्रह छ । बृहस्पति मन्त्री हुँदा निम्नानुसारको फल प्राप्त हुने उल्लेख गरिएको पाइन्छ :-

विविधधान्ययुता खलु मेदिनी प्रचुरतोयघना मुदिता भवेत् ।।
नृपतयो जनपालनतत्पराः सुरगुरौ ननु मन्त्रिसमागमे ।।
(देवगुरु बृहस्पति मन्त्री पदमा बसेको वर्षमा शासकको मुख्य ध्येय जनताका इच्छाआकाङ्क्षा पूर्ण गर्नु हो । मौसमअनुकूल उचित वर्षा हुनाले पृथ्वीमा अन्नादिको प्रशस्त उत्पादन हुन्छ र जनता पनि प्रसन्न रहने गर्दछन् ।)

बृहस्पति ग्रह ज्ञानविज्ञान, अध्यात्म र परम्परासँग सम्बद्ध ग्रह मानिन्छ । त्यसैले यस ग्रहको प्रभावले मठमन्दिर, विद्वत्ता, परम्परा, संस्कार र संस्कृतिसम्बद्ध काममा उन्नति र सफलता प्राप्त हुन्छ । पत्रकारिता, लेखन, शिक्षणप्राध्यापन र प्राविधिक सीपसँग जोडिएका व्यक्तिका लागि यो वर्ष उन्नतिकारक र उत्साहवर्द्धक रहने छ, त्यस्तै दैनिक उपभोगका वस्तुको कारोबार गर्ने व्यक्तिका निमित्त आर्थिक सफलता प्राप्त गर्ने वर्ष देखिन्छ । त्यसैले बुध राजा भए पनि बृहस्पति मन्त्री भएकाले केही अनुकूल समयका रूपमा यस वर्षलाई लिन सकिन्छ ।

यस पटक कृषि क्षेत्रमा दुई वटा ग्रहको प्रभाव देखिन्छ, वर्षे बालीको जिम्मेवारी (सस्येश) सूर्यले र हिउँदे बालीको जिम्मेवारी (धान्येश) शनिश्चरले प्राप्त गरेका छन् । 
सस्येश सूर्यको फल यस्तो छ :-
सस्याधिनाथे तरणौ हि पूर्वं धान्यं समर्घं बहवोपि चौराः ।।
युद्धं नृपाणां जलदा जलाढ्याः स्वल्पं च सस्यं बहुभूरुहाश्च ।।

धान्येश शनिश्चर भएमा यस्तो फल पाइन्छ :-
दुर्भिक्षं जायते तत्र कलहं देश विग्रहम् ।। सौराष्ट्रदेशनष्टश्च यत्र धान्याधिपः शनिः ।।

सूर्य र शनिको कृषिक्षेत्रमा प्रभाव रहँदा ग्रीष्मकालीन जौ, मकै, धान, गहुँ आदि अन्नादिको दाममा ह्वात्तै बृद्धि हुने सम्भावना हुन्छ । चोरी, आगलागीजस्ता प्राकृतिक प्रकोपका कारण नोक्सानी हुनेछ । सरकारमा द्वन्द्व र खिचातानी भइरहन्छ । नदीनालामा जलस्तर बढ्छ । धान्येश पदमा आसीन शनिका कारण कतिपय ठाउँमा दुर्भिक्ष र वादविवाद एवं झगडा बढ्ने छ । भारतवर्षको सौराष्ट्र (अहिलेको गुजरात र महाराष्ट्रको केही भाग) मा समस्या वृद्धि हुनेछ ।

सिंचाइ मन्त्रालयको जिम्मेबारी क्रमशः बृहस्पति र मङ्गलले पाएका छन् । मेघको स्वामित्व बृहस्पति र रसको स्वामित्व मङ्गलले गर्दैछन् । 
बृहस्पति ग्रहले मेघेशको जिम्मा लिंदा यस्तो फल प्राप्त हुन्छ :-
गुरुरविप्रियदृष्टिकरः सदाखिल विलासवती धरणी तदा ।।
श्रुतिविचारपराः नरपालकाः रससम्मृद्धियुता खिल मानवाः ।।

त्यस्तै मङ्गल रसेश हुँदा यस्तो फल हुन्छ :-
यदि धरातनयो रसपो भवेन्ररसराशियुता जनता शुभा ।।
नरपतिर्विषमो जनतापदो न जलदो बहुबृष्टिकरो भुवि ।।

माथिका दुवै श्लोकको भावार्थ हो :-  बृहस्पतिको प्रभावले यस वर्ष पर्याप्त वर्षा हुनेछ । लोकमा आनन्दको सञ्चार हुनेछ, ज्ञानविज्ञानका नयाँनयाँ क्षेत्रमा सबैको ध्यान आकृष्ट बन्नेछ । उता रसेश पदको मङ्गलले जनताले सुखशान्ति नै प्राप्त गर्ने देखिन्छ, तर राज्यमा कलह र वैमनस्यको स्थिति रहने सम्भावना हुन्छ । ठाउठाउँमा अतिवृष्टि र अनावृष्टिको परिस्थिति उत्पन्न हुनसक्छ ।

सूर्य ग्रहले यस वर्ष निरसेशको भूमिका समेत निर्वाह गर्दैछ । निरस भनेको ठोस पदार्थ र धातु हो । यसको स्वामित्व पाएको हुनाले सूर्यले प्रदान गर्ने फलको प्रभाव यस्तो छ  :-
निरसाधिपतौ सूर्ये त्रपुचन्दनयोरपि ।। रत्नमाणिक्यमुक्तादेरर्घवृद्धिः प्रजायते ।।

यसको भावार्थ हो :- सूर्य नीरसको भूमिकामा भएकाले सुनचाँदी र मणिमाणिक्यादिबाट बनेका वस्तुको र सुगन्धित द्रव्य, सेन्ट, इत्तर, बिजुलीका सामान, साजसज्जाका वस्तुहरू आदिको मूल्यमा भारी बृद्धि हुनेछ । 

त्यसबाहेक बुध ग्रहले फलेशको भूमिका निर्वाह गरेको छ । यसको प्रभावले प्रशस्त फलफूलको उत्पादन हुनुका साथै यसको मूल्यमा गिरावट आउने सङ्केत छ । त्यस्तै आर्थिक अधिकार पनि सूर्यले प्राप्त गरेको छ । त्यसैले वित्तीय पक्षमा शुभ फल प्राप्त हुनेछ । सेयर कारोबार, व्यापारिक लगानी र बैंक तथा वित्तीय संस्थालाई यसको अनुकूल प्रभाव पर्ने देखिन्छ । ठूलठूला उद्योगधन्दा र कलकारखाना आदि सुसञ्चालन भई मालिक र कामदारका बीचमा सुमधुर सम्बन्ध स्थापित हुनेछ । यस वर्षमा सुरक्षा निकायको जिम्मेबारी बृहस्पति ग्रहको जिम्मामा छ । परम्परा, अध्यात्म र ज्ञानप्रति वफादार ग्रह सेनापति बनेको हुँदा देशको आन्तरिक मामिला र सीमामा देखिने समस्याहरू हल हुने सम्भावना छ । न्याय र कानुनको स्थापना हुनेछ । देशमा परम्परा, संस्कृति र धर्मकर्म  सापेक्ष कार्यमा जनताको आकर्षण बढ्ने देखिन्छ ।

विक्रम संवत् २०७४ सालको वार्षिक भविष्यफल

सामान्यतया वैशाख १ गते सूर्यले एउटा राशिचक्र पूर्ण गरी नयाँ राशिचक्रमा प्रवेश गरेको मानिन्छ । व्यक्ति रहेको स्थानमा सूर्यले नयाँ राशिचक्रमा प्रवेश गरेको दिन र समयमा आउने लग्नलाई जगल्लग्न भन्ने गरिन्छ । यस पटक नयाँवर्षका दिन सूर्यले नवीन राशिचक्रमा प्रवेश गरेको बेला नेपालको परिप्रेक्षमा कुम्भ लग्न रहेको देखिन्छ । लग्नमा शुक्र र केतु, तेस्रो घरमा सूर्य, मङ्गल र बुध, सातौं घरमा राहु, आठौं घरमा बृहस्पति, दसौं घरमा चन्द्रमा र एघारौं भावमा शनिश्चर बसेर यस वर्षको वर्षप्रवेश कुण्डलीको संरचना भएको देखिन्छ । कुण्डलीको तृतीय भावमा सूर्य, मङ्गल र बुधको तथा लग्नमा शुक्र र केतुको युति हुनुका साथै बाँकी कोठामा ग्रहहरूको स्वतन्त्र उपस्थिति (क्रमशः सातौं राहु, आठौं बृहस्पति, दसौं चन्द्रमा र एघारौं शनिश्चर) रहेको देखिन्छ । समग्रमा यी विशेषताहरूले युक्त जगल्लग्न कुण्डलीमा लग्नेश शनिश्चरले बक्री भए पनि राज्यस्थानमा गएर बस्नु र तेस्रो पराक्रम स्थानमा सप्तमेश सूर्य आफ्नो उच्च राशिमा बसी बुध र मङ्गलका साथमा बस्नु सकारात्मक पक्ष हो ।

No comments:

Post a Comment