Wednesday, November 1, 2017

मगरहरूको सांस्कृतिक नाच 'हुर्रा'


त्याग र बलिदानको लागि आफ्नो संसार नै पनि दिन सक्ने दयालु जाति भनेर चिनिने मगर जाति हुन् चाहे त्यो पश्चिम डडेंल्धुराको छेउँसम्मको होस् या पूर्व सिक्किम, भुटान, अछाम र बर्मासम्मको होस् आखिर मगर जाति भनेको एक हो । तरपनि भौगोलिक संरचनामा छुट्टाछुट्टै स्थानमा बसोबास भएको हुँदा मगर जातिहरूले मान्दै आएका सांस्कृतिक नाचहरू पनि क्षेत्र अनुसार अनेक थरीका छन् । यी मध्ये पूर्वतिर नाचिने हुर्रा देउसी पनि एक अति लोकप्रिय नाच हो ।

हुन त हुर्रा नाचलाई प्रायँजसो देउसी नै भन्ने चलन छ । किनकी मगर राजा बलिराज दैवी ज्ञानीभन्दा पनि आफै देवता थिए जसलाई हामी आफ्नो भाषामा देउ बराही भन्छौं र हामी मगरहरूको नाचहरू पनि धार्मिक भएको हुँदा देउस्याहा अर्थात् देवी नाच भनेर हुर्रालाई भनिने चलन छ । किनकी मगर भाषाबाट देउ भनेको देव र स्याहा भनेको नाच हुन्छ । यहीँ नै देउस्याहा भन्दाभन्दै पछि आएर देउसी हुन गएको भनेर बुढापाकाहरूको भनाईं छ ।

बि.सं. २०४६ सालको प्रजातन्त्रको पुर्नआगमनपछि पूर्वका धनकुटा, मोरङ, पाँचथर, सुनसरी, झापातिर मात्र सिमित रहेको यस नाचलाई देशभरका मगर जातिहरूले नाचिनु-मनाउनुपर्छ भनि धेरै अग्रजहरूले आवाज उठाए र यहीँ उद्देश्यलाई आत्मसात गर्दै यसको राष्ट्रियकरण गर्नतिर लागिपरे । फलस्वरूप अग्रजहरूको यहीँ उद्देश्यले राम्रो अवसरको मोड लियो र जहाँ मगर त्यहाँ हुर्रा भन्ने नाराका साथ नेपाल हुर्रा नृत्य प्रतिष्ठान दर्ता भयो । स्मरणिय रहोस् 'हुर्रा' यहीँ प्रतिष्ठापनले जन्माएको नाम हो । तर यो हुर्रा शब्द छोटकरीमा छ किनभने मगर भाषामा हुर्र भनेको मज्जा अनि राहा भनेको आयो हुन्छ । देउस्याहामा हामीहरू रोमाञ्च अथवा आनन्दको अत्ति शिखरमा पुग्ने बेलामा यो शब्दले रनघन पार्दै मच्चिन्छौँ हुर्र हा… गर्दै । र यो मगरहरूको आफ्नै ठेँट शब्द हो । त्यसैले अग्रजहरूले धेरै छलफल गरेर यो नाम दर्ता गराएका हुन् ।
उत्पत्ति
यो हुर्रा नाच कुनै किम्बदन्ती नाच होईन । तरपनि पश्चिममा तत्कालिन शाषकहरूबाट राज्य खोसिएपछि भाग्दै भाग्दै पूर्वतिर छिरेका मगरहरूले यो नाच आफैले जन्माएको नाच हो भनेर प्रमाणित गरिसकेको छ । यसको उदगम स्थल धनकुटा मुढेबास हो भनेर प्रमाणित भईसकेको छ । यसलाई बिभिन्न तथ्यहरूबाट स्पष्टी दिन सकिन्छ ।

हुर्रा नाच मगर जातिहरूका लागि अत्यन्तै महत्वपूर्ण र बिशिष्ट भएको मानिन्छ । बिशेषत: तिहारको अवसर पारेर मनाईने यो नाचको बिशेषता भने भूमी शोक तथा भूमी सर्वदा नै हो । धनकुटाको मुढेबास गा.बि.स. वरपरतिरका गा.बि.स. प्रायँ लेकपर्ने हुँदा यहाँका अन्नबाली पाक्न झण्डै बर्षदिन नै लाग्छ । लामो समयको प्रतिक्षा पश्चात् अन्नपात भित्र्याईसक्दा झण्डै कार्तिक लागिसकेको हुन्छ र यसैको उपलक्ष्यमा खुशियालीका रूपमा यो नाच नाचिन्छ ।

समय र प्रकार
खास गरेर हुर्रा वल्लो गाउँबाट पल्लो गाउँ गएर धुमचुमका साथ नाचिने गरिएता पनि यस बाहेक बिभिन्न सामाजिक पूजा (भूमिपूजा), विवाह, आदि जस्ता बिशेष कार्यक्रमहरूको अवसरमा पनि नाचिन्छ । यो नाचको महत्त्व अन्य जातिको भन्दा छुट्टै भएकोले यसको प्रकार पनि बेग्लै र बृहत छ । धनकुटाको मुढेबास र बुधबारे गा.बि.स. को बिचमा सौरे भन्ने बजार छ । गाईतिहारे दिनमा सौरे बजार मादलको धुनले गुञ्जायमान हुन्छ । यसको एउटा वास्तविकता छ । त्यो बजारमा जनै पूर्णिमा अथवा भदौरे पूर्णिमा देखि मादल बजाउनेहरूको धुईरो लाग्न थाल्छ । मोरङ, पाँचथर, सुनसरी, धनकुटाका टाढाटाढादेखि मादल बनाउन ल्याईन्छ । भोटेहरूले गाईतिहारे औंसीको दिनमा सबै मादल बनाएर मगरहरूलाई जिम्मा लगाउँछन् । मादल पाएपछि मगरहरू सौरे बजारको बिचमा रहेको बलिराज (कथित ठुलो ढुङ्गा) लाई झ्याली, मादल र मुरलीको गुञ्जामानका साथ फेरो लाएर आज्ञा माग्दै आफूलाई निम्तो दिएको गाउँतिर नाच्न जान्छन् । यसरी अन्य गाउँ जाने बेलामा गीत गाउनेको स्वर नसुकोस् अनि मादलको तानाबाना नचुँडियोस् भनेर सरस्वती देवीको लागि एउटा भाले चल्ला उठाईन्छ र पछि नाचगानको कार्यक्रम सकेर फर्केपछि पूजा गरिन्छ । अर्को गाउँमा गएर नाचगान गरेर सकिएपछि बिदावारीको क्रममा त्यहाँको गाउँलेले नाच्न-गाउन आउनेहरूको बाटो कुनै भूतप्रेत वा केहीले नछेकोस्, खोलानाला राम्ररी पार भएर जानु भनी जोर बन्दुक पड्काएर बिदाई गर्ने चलन छ ।
हुर्रा नाचको लागि ठूलो आँगनमात्र उपयुक्त हुन्छ किनकी यो नाच पचास जनाभन्दा माथि दुई तीन सयजना सम्म नाचिने नाच हो । बिचमा चार-पाँचवटा सम्म ठूलो मादल रन्केको हुन्छ, त्यहीँ तालमा नाच्नेहरूले ताल मिलाउँदै नाच्नुपर्ने हुन्छ । हुर्राको तीनवटा कदम हुन्छ – छोटी कदमे, दुई कदमे र तीन कदमे । बिचमा मादलेहरू भट्याउनेहरू दुई कदमे नाच्छन् भने त्यहीँ तालमा बुढाबुढीको लस्कर तीन कदमे जान्छ र युवायुवती तथा बालबच्चाहरू हात समाएर गोलो छोटी कदमे नाच्ने गरिन्छ । त्यहाँ नाच्ने जतिपनि हुन्छन् तिनीहरू मादलको एउटै तालमा खुट्टाको चलाई मिलाउनुपर्ने हुन्छ । यस नाचमा हात चाल्नु पर्दैन । हात एक-अर्कासँग समातिन्छ । बुढाबुढी होस् या त बालबच्चा वा युवायुवती नै, तर नाचको गीत भने देशै रमाईलो नै रहन्छ । देशै रमाईलो एउटा थेंगो हो, गीत आफै रचेर दोहोरी वा गाउँले मायाप्रितीको कुरा गर्ने हो र अन्त्यमा देशै रमाईलो टुक्का जोड्ने हो । जस्तै…

केटा :- बार्है न हाते लै लै, पटुकी मेरो छेउँ छेउँमा किनारी… देशै रमाईलो
तपाईं र न हामी लै लै, भेट भयो आज, गरौं कि र चिनारी… देशै रमाईलो
केटी :- सानो अण्डा लै लै कुखुराको, ठुलो हाँसको… देशै रमाईलो
हजुरै न ज्यान त लै लै कहाँको कुन्नी। हामी मुढेबासको… देशै रमाईलो

यसरी देशै रमाईलो रमाईलो थेंगोमा मायाप्रीतिका कुरा गर्दै औंसी देखि एकादशी सम्म क्रमश: रातदिन बजेको मादल निरन्तर ताल नमारी अन्तिम क्षणसम्म यो नाच नाचिन्छ । अझ भनौं झ्याली मादल उठाईसकेपछि नसकिउन्जेल बिसाउनु हुँदैन, अन्यथा अशुभ हुन्छ भन्ने कथन छ ।

No comments:

Post a Comment