Tuesday, November 7, 2017

शरीर र जीवात्मा

र्इश्वरको सृष्टि गर्ने इच्छाशक्तिलाई अहङ्कार भनिन्छ. अहङ्कार पनि सत्त्व, रज र तमो गुुणमा आधारित हुने भएकाले यो इच्छाशक्ति तामस गुणमा आधारित अहङ्कारबाट परिचालित हुन्छ र प्रकृतिको गतिशिलता बढ्न थाल्दछ । तमः शब्दको अर्थ अन्धकार हो, त्यसैले अँध्यारो अहङ्कारका माध्यमबाट प्रभुको इच्छाशक्ति जागेको हो र भगवानको सृष्टिमा सृजित शरीरधारी प्राणीहरुमा रहेको जीवात्मा र भगवानको सम्बन्ध टाढिन पुगेको हो । यसै कारणले पृथ्वीमा जन्म लिन प्रत्येक जीवात्मा कर्मबन्धनमा फँस्न पुगेको हो भन्न सकिन्छ । सांसारिक प्राणिले मोहवश ईश्वरीय प्रभुसत्तालाई बिर्सिने गर्दछ र इन्द्रियहरूको दास बन्न पुगी वासनामा मग्न भई अधोगतिलाई समात्दै अघि बढ्न जान्छ । त्यसैले ईश्वरीय भावबाट महत्तत्त्व रुपी त्रिगुणमा मुछिनु र इन्द्रिय सुखलिप्सामा निरन्तर भुल्नुलाई नै तामस अहङ्कार भनिएको हो अनि तामस अहङ्रकारको ज्वलन्त उदाहरण र उत्कृष्ट दृष्टान्त शरीरधारी जीव नै हो ।

यो संसारमा जेजति शरीरधारी जीवात्माहरू छन्, ती सबै सधैं विषयसुखको बन्धनमा बाँधिएका हुन्छन् । इन्द्रियबाट भोग गरिने विषयवासनाहरूमा मोहभङ्ग नहुन्जेल वा ज्ञान आर्जन गरी  वैराग्य उत्पन्न नहुन्जेल त्रिगुणात्मक बन्धनबाट उनीहरू उम्कन सक्दैनन् । पञ्च महाभूतबाट बनेको पाञ्चभौतिक शरीरले भौतिक तत्त्वबाहेक आध्यात्मिक तत्त्वको खोजी गर्न चाहँदैन । शरीर नाशवान् भएकोले नाशवान् प्रकृतिको भौतिक तत्त्वलाई सारभूत वस्तु र महत्त्वपूर्ण उपलब्धी मान्दै जीवात्मा मख्ख पर्दछ र भाैतिक सुखलार्इ नै क्षणिक अानन्दका रूपमा ग्रहण गर्दछ । ईश्वरबाट नै सृष्टि परिचालनका लागि उत्पन्न गरेका आधारभूत तत्त्वहरू विद्यमान शरीरमा नै रहेको हुनाले शरीरधारी जीवात्माले तिनै ईश्वरको मायामा भुलिनु पर्दछ र प्रत्येक शरीरमा अाँफूसँगै  उपस्थित आफ्नो हितकारी परमात्मालाई उसले सदैव बिर्सिएको हुन्छ ।

यस संसारमा रहेका शरीरधारी जीवहरूको शरीरको बाह्य संरचनालाई नियाल्ने हो भने यसको परिकल्पना र निर्माण ईश्वरबाट नै भएको हुनुपर्छ भनी ठोकुवा गर्न सकिन्छ, किनभने मानिस, पशुपन्छी, जलचर, स्थलचर आदि सबै प्राणीको बनोट एकै किसिमको छ । श्रीमद्भागवद्गीतामा भनिएको छ - नवद्वारे पुरे देही नैव कुर्वन्नकारयन् । यसको अर्थ हो, नौ वटा ढोका भएको शरीरमा रहेको जीवात्माले केही पनि काम गर्दैन । यसरी सारा राम्रा र नराम्रा कामहरु मन, बुद्धि र इन्द्रियबाट सम्पादन भएका हुन्छन् । देह तथा शरीर सञ्चालन गर्ने जीवात्मा अव्यय (अमर) भएकाले जीव सँगसँगै शरीरमा विद्यमान रहन पुगेका तत्त्वहरू मन, बुद्धि, अहङ्कार, चित्त, काल र जीव यी अविनाशी षड्वर्ग तत्त्वहरू प्राणिको शरीरभित्रै सदासर्वदा रहेका हुन्छन् । शाश्वत तत्त्वहरु आकाश, वायु, तेज, पानी र पृथ्वीबाट बनेको पाञ्चभौतिक शरीरमा पञ्चतन्मात्रा शब्द, स्पर्श, रुप, रस र गन्ध प्राप्त गर्ने ज्ञानेन्द्रियहरू कान, छाला, आँखा, जिभ्रो र नाक सजाइएका हुन्छन् । शरीरको अन्तरात्मामा रहेको मनले चिताएका कार्यहरू सिद्ध गर्न सृष्टिकर्ताले पञ्च कर्मेन्द्रियहरूको पनि शरीरको यथोचित भागमा सजावट गरिदिनु भएको छ । मुख, हात, गोडा, उपस्थ (जननेन्द्रिय), पायु (गुदा) यी पाँचवटा अङ्गलार्इ कर्मेन्द्रिय भनिन्छ । हरेक शरीरमा नौ वटा छिद्र (प्वाल) हुन्छन् । दुईवटा आँखाका टोड्का, दुईवटा कानका दुला, दुई नाकका प्वाल, मुखको हाब्रो, लिङ्ग वा योनिमा रहेको प्वाल र दिसा गर्ने ठाउँमा रहेको दुलो गरी प्रत्येक प्राणिमा प्रायशः यी नाै वटा प्वाल विद्यमान हुन्छन् । यिनका बेग्लाबेग्लै काम हुन्छन्, जस्तै अाँखाले हेर्ने र शरीरको विकारलार्इ कचेराका रूपमा फ्याल्ने, नाकको सुँघ्ने र शरीरको विकारलार्इ सिंगानका रूपमा मिल्काउने, कानको सुन्ने र कानेगुजीका रूपमा शरीरको विकारलार्इ त्याग गर्ने, मुखको खाने, पिउने, बोल्ने तथा शरीरको विकार राल, खकार, कफ, वान्ता अादि मिल्काउने, लिङ्ग वा योनिका माध्यमबाट मैथुनिक अानन्द ग्रहण गरी सृष्टि सुसञ्चालन गर्ने र मूत्र, वीर्य, रज अादि शारीरिक विकारको उत्सर्जन गर्ने अनि पायु अर्थात् गुदाका माध्यमबाट पाचन प्रक्रिया लागि आवश्यक तत्त्वहरू शोषण गरी अपान वायु (पाद) का साथै दिसा (विष्टा) गर्ने आदि काम यी प्वालहरूबाट हुने गर्छ । भौतिक शरीरधारी प्राणीहरूका पञ्च ज्ञानेन्द्रिय र पञ्च कर्मेन्द्रियलगायत एघाराैं इन्द्रिय मनका माध्यमबाट उसको भाैतिक जीवन सुसञ्चालनका लागि अावश्यक कामहरू निरन्तर भइरहन्छन् । नाशवान् भौतिक शरीरभित्र रमाएर र इन्द्रियको अावश्यकता पूर्ति गर्दागर्दै जीवात्माले अाफूसँगै रहेको आफ्नो परममित्र परमात्मालाई बिर्सिएको हुन्छ र इन्द्रियको वशमा परी विषयभोगमा आशक्त भर्इ चुर्लुम्म डुब्न पुग्दछ । यसरी मायाको जालमा परेर ऊ सांसारिक बन्धनमा बाँधिन्छ । अतः तामस अहङ्कारबाट पञ्चमहाभूतका तत्त्वहरूले बनेको शरीर भएकाले प्रत्येक शरीरधारी जीव नाशवान् बन्न जान्छ ।

र्इश्वरले विश्वको सृष्टि गर्ने उद्देश्यले उत्पन्न गरेका तत्त्वहरू २५ वटा छन् । ती हुन् - बुद्धि, अहङ्कार, चित्त, काल, जीव, आकाश, वायु, तेज, पानी, पृथ्वी, शब्द, स्पर्श, रूप, रस, गन्ध, कान, छाला, आँखा, जिभ्रो, नाक, मुख, हात, गोडा, उपस्थ (जननेन्द्रिय) र पायु (गुदा) । मनसमेत जम्मा छब्बीस वटा तत्त्वहरू छन् । छोटकरीमा यी तत्त्वहरूलार्इ यसरी पनि बुझ्न सकिन्छ -

- पञ्च महाभूत : पृथ्वी, जल, तेज, वायु र अाकाश
- पञ्च तन्मात्रा : शब्द, स्पर्श, रूप, रस र गन्ध
- पञ्च ज्ञानेन्द्रिय : कान, छाला, आँखा, जिभ्रो र नाक
- पञ्च कर्मेन्द्रिय : मुख, हात, गोडा, उपस्थ र पायु
- षड्वर्ग तत्व : मन, बुद्धि, अहङ्कार, चित्त, काल र जीव


अविनाशी परब्रह्म परमात्मा समेत जम्मा सत्तार्इस तत्वहरुको समूह हुन्छ । विश्वको सृष्टि, स्थिति र सञ्चालन गर्ने क्रममा यिनै तत्त्वहरू सक्रिय हुन्छन् । वनस्पतिहरू बाहेक सम्पूर्ण हिंडडुल गर्ने जलचर पानीमा पौडी खेल्ने स्थलचर जमीनमा हिंड्ने तथा नभचर अाकाशमा उड्ने प्राणीहरुको शरीरमा यी सबै तत्त्वहरू विद्यमान हुन्छन् । शरीरको आकार र क्षमता अनुसार कुनै तत्त्व सूक्ष्म रूपमा र कुनै तत्त्व स्थूल रूपमा शरीरमा अवस्थित हुन्छन् । प्रत्येक मानव शरीरमा चाहिं यी सबै सत्तार्इस वटै तत्त्व सक्रिय हुन्छन् ।

No comments:

Post a Comment