Thursday, July 27, 2017

नागपञ्चमीकै दिन : श्रावणी स्नान, ऋषितर्पणी र जनै फेर्ने

सनातन धर्ममा जनैलाई ब्रह्मसूत्र अर्थात वेदोक्तकर्म सम्पादन गर्न र वेदाध्ययन गर्ने अधिकार प्राप्तिका लागि धारण गर्न मन्त्रिएको धागो भन्ने बुझिन्छ । दुईवटा शिखा भएको एकजोर जनैको एउटा शिखामा रहेका तीनवटा डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को जनैका शिखामा रहेका तीन डोरालाई कर्म, उपासना र ज्ञानका प्रतीकका रूपमा लिइन्छ । यस दिन सनातन धर्मावलम्बी तागाधारी (जनै लगाउने) हरू बिहान सबेरै उठी नजिकैको तीर्थस्थल, नदी, तलाउ वा सरोबरमा गई पद्धतिमा उल्लिखित विधानको प्रयोग गरी स्नानादि सम्पादन गर्दछन्, यसरी स्नान गर्ने प्रक्रियालाई श्रावणी स्नान भनिन्छ । त्यसपछि सप्तर्षिहरूको पूजाआजा र तर्पणादि, रक्षाविधानको अभिमन्त्रण अनि जनै मन्त्रने काम हुन्छ । अन्त्यमा नयाँ जनै फेर्ने र नारीमा रक्षासूत्र (डोरो) बाँध्ने काम हुन्छ । रक्षाबन्धन बाँध्दा पहाडे समुदायमा विशेष गरी ब्राह्मणद्वारा नारीमा डोरो बाँध्न लगाउने चलन छ भने तराई क्षेत्रमा दिदीबहिनीले दाजुभाइका हातमा रक्षासूत्र (राखी) बाँधेर मनाउने परम्परा छ ।

जनैपूर्णिमाका दिन गरिने कृत्यहरूका बारेमा बुझौं :–

उपाकर्म वा स्वाध्यायोपाकर्म
उपाकर्म अथवा स्वाध्यायोपाकर्म गृह्यसूत्रमा विधान गरिएको कृत्य हो – यो कृत्य वेद पढाउने गुरु र तिनीसित वेद पढ्ने शिष्य मिलेर गर्ने कृत्य हो । उपाकर्मको समय (काल) निर्णयका निमित्त धेरै विकल्पहरू शास्त्रमा उल्लेख भएको देखिन्छ । खासगरी वेदका भिन्नभिन्न शाखाअनुसार त्यस्तो विभेद देखिएको हो ।
जस्तै :-
अथातोऽध्यायोपाकर्म,औषधीनां प्रादुर्भावे श्रवणेन श्रावण्यां पौर्णमास्यां श्रावणस्य पञ्चमीं हस्तेन वा (पारस्कर गृह्यसूत्र) ।
उपाकर्मको यसै पद्धतिलाई अनुसरण गरी हिजोआज श्रावणी स्नान, ऋषितर्पणी, जनै अभिमन्त्रणा गर्ने र नयाँ जनै फेर्ने काम सम्पादन हुन्छ ।

रक्षाबन्धन
रक्षाबन्धन पुराणमा विधान गरिएको छुट्टै कृत्य हो । यो उपाकर्म होइन र त्यसको अङ्ग पनि होइन । उपाकर्मका अधिकारी तागाधारी मात्र हुन् भने रक्षाबन्धन सबैका लागि हो ।

हाम्रो सनातन वैदिक सामाजिक व्यवस्थामा वर्णाश्रम धर्मको विशेष महत्त्व छ । संस्कारको कसी र कामको प्रकृतिमा आधारित ब्राह्मण, क्षत्रिय, वैश्य र शुद्र यी चारवटा वर्णव्यवस्थाका कारण हाम्रो प्राचीन समाज आजको आधुनिक समाजको तुलनामा व्यवस्थित र अनुशासित रहेको अनुमान गर्न सक्दछौं । वंशपरम्परामा आधारित वर्णव्यवस्थामा देखिएका छुटपुट विकारको प्रारम्भ भएको धेरै समय बितेको छैन, केही शताब्दीभित्र मौलाएको यो प्रचलन पनि लोकतान्त्रिक शासनव्यवस्था र सामाजिक एवं कानुनी मान्यतामा आएको बदलावका कारण अब समाप्तिका क्रममा रहेको देखिन्छ ।

चारवटा वर्णव्यवस्था (ब्राह्मण, क्षत्रिय, वैश्य र शुद्र) र चारवटा पुरुषार्थ (धर्म, अर्थ, काम र मोक्ष) मा विभाजित आर्यसमाजको प्राचीन वैदिक व्यवस्थामा हामीकहाँ वर्षभरिमा मुख्यमुख्य चार वटा चाडको विशेष महत्त्व हुने गर्दथ्यो । जसमा विशेषतः प्रथम वर्ण अर्तात् ब्राह्मणद्वारा संयोजन गरिने श्रावणी पर्व ऋषितर्पणी र रक्षाबन्धन पर्व हो, जुन पर्वले समाजको आध्यात्मिक शक्तिलाई सञ्चय गर्ने गर्दथ्यो । क्षत्रिय वर्णद्वारा संयोजन गरिने बडा दशैं (विजया दशमी) को पर्व शक्तिउपासनाको अर्को पर्व हो, जसमा समाजको सैन्यबललाई सुसज्जित तुल्याउने काम हुन्थ्यो । वैश्य समुदायमा महत्त्व दिई मनाइने तिहार (महालक्ष्मीको भक्तिआराधना र दीपावलीको पर्व) तेस्रो ठूलो पर्व हो, जसमा समाजको अर्थशक्तिलाई व्यवस्थित गर्ने र आर्थिक क्रियाकलापको हरहिसाब राख्ने काम हुन्थ्यो । त्यस्तै शुद्र वर्णको संयोजनमा सम्पन्न हुने होली पर्व चौथो पर्व हो, जसमा हाँसखेल, मनोरञ्जन, खुसी र उमङ्गको सञ्चरण गरी सामाजिक समन्वय र समानताको बोध गर्दै तात्कालिक समाजमा विद्यमान असमानता र विभेदको पर्खाललाई भत्काई सद्भाव, बन्धुत्व र भाइचाराको सन्देश प्रवाहित गरिन्थ्यो ।

समाजका चारवटै वर्णका अध्यात्म, सैन्यबल, अर्थशक्ति एवं पुरुषार्थ जस्ता शक्तिका माध्यमले सामाजिक सम्बन्ध र सर्वाङ्गीण समाजलाई सुदृढ बनाउने समन्वयात्मक प्रयास नै यी चाडपर्वको मूल उद्देश्य थियो भन्नु उपयुक्त हुन्छ । त्यसैले सनातनधर्मका अनुयायीहरूलाई बिथोल्न र छिन्नभिन्न तुल्याउन विधर्मी र शत्रुहरूले गरेका पटकपटकका धर्मपरिवर्तन, प्रलोभन र अाततायी क्रियाकलाप आदि दुरूह प्रयास विफल बन्न पुगे र अनेकानेक विघ्न तथा बाधाव्यवधान ब्यहोरेर पनि हाम्रो संस्कृति र सभ्यताले आफ्नो अस्मितालाई सुरक्षित राख्न सक्यो । सनातन धर्मका चाडपर्व र व्रतोत्सवको मुख्य विशेषता पनि यही नै हो । यिनै पर्वहरूमध्ये एउटा विशिष्ट पर्व हो - जनै पूर्णिमा । यो श्रावण शुक्ल पूर्णिमाका दिन मनाइन्छ र यसलार्इ श्रावणी पर्व पनि भन्ने गरिन्छ । यस पर्वलाई नेपालमा चार किसिमका भिन्नभिन्न नाम, संस्कार र विधानको प्रयोग गरी मनाउने परम्परा छ :- ऋषितर्पणी, जनै पूर्णिमा, रक्षाबन्धन, क्वाँटी पूर्णिमा ।

ऋषितर्पणी र जनैपूर्णिमा

वैदिक कालदेखि नै द्विजाति (जनै लगाउने संस्कार भएका व्यक्ति) हरूका लागि यस दिनलाई आत्मशोधन गराउने पुण्य पर्वका रूपमा लिइन्छ । अज्ञानवश वा भूलवश गरेका दोषयुक्त कृत्यहरूको प्रायश्चित्तका लागि र भविष्यमा त्यस्ता गल्तीहरू नदोहोर्‍याई सन्मार्गमा अभिप्रेरित हुन यस दिन प्रातःकालमा नदी वा तीर्थतटमा गई वैदिक विधि अनुसार सङ्कल्पोच्चारणपूर्वक स्नान, सूर्य आराधना, प्राणायाम, अग्निहोत्र, ऋषिपूजन आदि कर्मद्वारा शारीरिक, मानसिक र आध्यात्मिक शुद्धिका कर्महरू सम्पन्न गरिन्छन् । कात्यायन स्मृति, आन्हिक र प्रयोगपारिजात जस्ता ग्रन्थहरूले जनैपूर्णिमाको महत्त्वगान गरेका छन् । श्रावणी उपाकर्मद्वारा सुसंस्कृत भई वैदिक मन्त्रद्वारा अभिमन्त्रित यज्ञोपवीत (जनै) यस दिन धारणा गरिने भएकाले यस पर्वलाई जनैपूर्णिमा भनिएको हो ।

ज्ञान, अध्यात्म, संस्कार र प्रविधिका मूल स्रोत मानिने प्राचीन युगका अनुसन्धाता र वैज्ञानिक ऋषिमहर्षिहरूको स्मरण, श्रद्धा र तर्पण गरिने पर्व भएकाले यस पर्वलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ, त्यसैले यस दिन प्रातःकालमा कुनै पवित्र नदी, सरोवर वा तीर्थमा गई महासङ्कल्पको उच्चारण गरी स्नान गरी ऋषिपूजा र तिनलाई तर्पण गरी श्रद्धा व्यक्त गर्ने गरिन्छ । श्रद्धालुहरू यस दिन नदी वा सरोवरको जलराशिमा उभिएर अाफ्नो प्राचीनतम र विराट परम्पराको स्मरण गर्दै सङ्कल्प अर्थात् प्रतिज्ञा गर्दछन् । उक्त सङ्कल्पलाई हेमाद्रि सङ्कल्प भन्ने गरिन्छ । हेमाद्रिको अर्थ हो - हिमालय पर्वत । हिमालयको काखमा दैनन्दिनी सञ्चालन गरिरहेका आमनेपालीको जीवनस्रोतको सिञ्चन गर्ने हिमालय पर्वत झैं महान् बन्ने प्रेरणा प्रदान गर्दछ, उक्त महासङ्कल्पले । यस सङ्कल्पमा सर्वप्रथम मनुष्यमात्रमा उदय हुनसक्ने अनेकानेक पाप, दुराचरण र असामाजिक कर्मबाट विमुख हुनुपर्ने प्रायश्चित्तको कुरो छ । उक्त सङ्कल्पमा बद्रिकारण्य, दण्डकारण्य, अरावलीवन, गुह्यारण्य, जम्बुकारण्य, विन्ध्याचलवन, द्राक्षारण्य (अङ्गुरको वन), नहुषारण्य, काम्यकारण्य, द्वैतारण्य, नैमिषारण्य, अवन्तिवन आदि ठाउँको विवरण उल्लेख गरी समग्र आर्यावर्तका प्राचीन वनप्रदेश र प्राकृतिक सुषमासँग गाँसिएको हाम्रो जीवनपद्धतिको स्मरण गरिएको छ । यसका साथै उक्त प्रतिज्ञावाक्यमा सुमेरूकूट (पर्वत), निषिधकूट, शुभ्रकूट, श्रीकूट, हेमकूट (हिमालय) रजकूट, चित्रकूट, किष्किन्धा, श्वेताद्रि, विन्ध्याचल, नीलगिरि, सह्याद्रि, कश्मेरू आदि समस्त पर्वत श्रृङ्खलाको उच्चारण पनि छ, ती ठाउँ यस्ता स्थान हुन्, जहाँ आर्य संस्कृतिले झाङ्गिने र विकसित हुने अवसर पाएको थियो । अनि सिन्धु, ब्रह्मपुत्र, गङ्गा, गोदावरी, सतलुज, गण्डकी, कोसी, तुङ्गभद्रा, नर्मदा, कृष्णा, कावेरी आदि पवित्र नदी र तिनको सभ्यतालाई समेत यसमा समेटिएको पाइन्छ ।

यस पर्वलाई अर्को शब्दमा श्रावणी कर्म वा श्रावणी स्नान भन्ने गरिन्छ । यो पर्व चान्द्र गणनाअनुसार श्रावण महिनाको अन्तिम दिन र प्रायः श्रवण नक्षत्रका दिन पर्ने भएकाले पनि यसलाई श्रावणी कर्म भनिएको हुनसक्छ । पूर्वीय संस्कार अनुसार श्रावणी कर्मका तीन अङ्गहरू हुन्छन्, ती हुन् - १. स्नान र तर्पण, २. सूर्योपस्थान र ३. ऋषिपूजन सहित यज्ञोपवीत धारण । यी तीनवटै कामहरू शरीर, मन र आत्मशुद्धिसँग सम्बद्ध मानिन्छन् ।

यस दिन प्रारम्भमा 'हेमाद्री'द्वारा प्रतिपादित महासङ्कल्पोच्चारणमा आएका ज्ञातअज्ञात अवस्थामा गरिएका सम्पूर्ण शुभअशुभ कार्यहरूको उच्चारण र मनन हुन्छ । त्यस अवसरमा खरानी, गोबर, माटो, अपामार्ग, कुश, जौ, दुबो, गाईको दूध, दही, घिउ, गहुँत आदिको प्रयोग गरी शरीरमा लेपन गरी स्नान गर्ने विधान छ । शरीर संरचना र स्वास्थ्यका निमित्त आयुर्वेद र स्वास्थ्यविज्ञानका दृष्टिले यी सबै वस्तुको विशेष महत्त्व छ । जस्तै - 'ॐ जलमिति भस्म स्थलमिति भस्म ...' आदि मन्त्रोच्चारणका साथ भस्मस्नान गरिन्छ । भस्म भनेको खरानी हो । यज्ञशेषको रूपमा प्राप्त भस्मलेपन गरी स्नान गर्दा छाला सम्बन्धी रोग नलाग्ने र नष्ट हुने वैज्ञानिक तथ्य पाइन्छ । आयुर्वैदिक औषधिहरूमा स्वर्ण भस्म, मुक्ताभस्म, लौहभस्म, अभ्रखभस्म जस्ता अमूल्य औषधिहरू रोग निदानमै उपयोग गरिने भएकाले जनैपूर्णिमाका दिन गरिने भस्मस्नान पनि तथ्यपूर्ण मान्न सकिन्छ । गाईको गोबरमा कीटाणुनाशक अनेकानेक विशेषताहरू छन् । उदाहरणका लागि वर्षा ऋतुमा यो पर्व मनाउने गरिन्छ, अनि यो समय वनजङ्गलका प्रत्येक वनस्पतिमा नयाँ जीवन प्रारम्भ भएको समय हो । यसै वेला अधिकतम मात्रामा नयाँनयाँ वनौषधिहरू उत्पन्न हुनेगर्दछन् । गाईहरू जङ्गलमा चर्ने गर्दछन् र तिनले वनमा चर्दा घाँसका रूपमा खाएको औषधिको सेवनले पाचनप्रणालीमा प्रशोधित भएको वस्तु गोबरका रूपमा विसर्जन गर्दछन् । यसरी किटाणु नाशक औषधीय तत्त्वले युक्त हुनाले गोमय (गोबर) लाई हाम्रो संस्कारमा पवित्र मानिएको हो । अतः गोबरको लेपद्वारा स्नान गर्दा शरीरले स्वास्थ्यजन्य विकृति र दोषको नाश गर्दछ र शरीरशुद्धि हुन्छ भन्ने मान्यता छ ।  माटो हाम्रो आधारस्थल हो । पृथ्वीको आफ्नै वैशिष्ट्य र चरित्रका कारण यहाँ अनेकानेक जीवको सृष्टि र जीवनचक्र सञ्चालित भएको छ भन्ने तथ्यलाई कसैले नकार्न सक्दैन । पृथ्वीका यी गुणहरू भइदिएको भए अहिले अरुअरु ग्रहमा पनि जीवनको सम्भाव्यता देखिन्थ्यो । अतः जीवनचक्रको सञ्चालनमा माटोको विशेष महत्त्व छ, त्यसैले माटोकाे लेपबाट मानिसलाई प्रकृतिभन्दा टाढा नजानु र गएमा शरीर र प्राणका लागि हानिकारक हुन्छ भन्ने चेतना माटोको लेपका साथमा गरिने स्नानले प्रदान गरेको छ । त्यस्तै श्रावणी स्नानमा प्रयोग गरिने कुश, जौ, दुबो अपामार्ग आदिको पनि हाम्रो शरीरका लागि अत्यन्त लाभदायक छुट्टाछुट्टै महिमा र वैशिष्ट्य छ । यसरी गरिने श्रावणी स्नानले बाहिरी शरीर शुद्ध भए झैं पदार्थ विज्ञानका अनुसार गाईको दूध, दही, घिउ, गहुँत र गोबर मिश्रित पञ्चगव्यको प्रयोगले वात, पित्त र कफ जनित दोष निराकरण गर्ने, शरीरका प्रतिरोधात्मक विषालु तत्त्वको शमन गर्ने र बुद्धि बढाउने काम गर्दछ र मूत्र-कृच्छ, दाद, अपस्मार, मृगी जस्ता रोग विनाश गर्न सक्षम ठानिन्छ । त्यसैले हरेक धार्मिक कार्यको प्रारम्भमा पञ्चगव्य प्राशन गर्नुमा आर्यसंस्कृतिको स्वास्थ्यचिन्तन र दीर्घायुष्यको धारणा प्रस्फुटन भएको छ भन्न सकिन्छ ।

सूर्य समस्त चराचर जगतको प्राणाधार र हाम्रो मन, बुद्धि र कर्मको प्रेरणास्रोत हो । सूर्यो आत्मा जगतस्तस्थुषश्च अर्थात् सूर्यलाई प्राणीको आत्मरूप मानिन्छ । जनैपूर्णिमाका दिन दुवै हात उठाएर सूर्योपासना गर्नु भनेको निर्मल बुद्धि र कल्याणको याचना गर्नु हो । त्यस्तै ऋषिहरूको पूजनका क्रममा आफ्नो नाम, गोत्र र प्रवरको उच्चारण गर्ने विधान छ, यसको अर्थ हो - आफ्ना पूर्वजको महानता अनि आफ्नो लघुताका बीचमा तुलना गर्नु । आफ्ना पूर्वजहरू अर्थात् अगम्य ज्ञानका महान् स्रोत ऋषिहरू जत्तिकै तेजस्वी र शक्तिशाली व्यक्तिका रूपमा आफूलाई पनि विकसित तुल्याउने भावना जागृत गराउनु र कर्मच्युत भई पथभ्रष्ट बन्नबाट नियन्त्रण गर्न मानसिक सङ्कल्प गर्नु तथा सत्प्रेरणा पाउनु यस कर्मको मुख्य उद्देश्य रहेको देखिन्छ ।

सनातन हिन्दू परम्पराअनुसार द्विज (जनै लगाउने जाति विशेष, तागाधारी) ले कतै पनि नचुडाई विधिपूर्वक पञ्चशिखा बनाएर वैदिक मन्त्रोच्चारणका साथ अभिमन्त्रित नयाँ जनै (नूतन यज्ञोपवीत) धारण गरी पुरानो जनैलाई त्याग्ने चलन छ । उनीहरू ऋषितर्पणी पर्व मनाउन र नवीन यज्ञोपवीत धारण गर्न अघिल्लो दिनदेखि नै कपाल खौरेर उपवास बस्दछन् र भोलिपल्टको कर्मसम्पादन गरी हातमा रक्षासूत्र बाँधी नयाँ जनै फेर्ने गर्दछन् । जनै द्विजातिको सर्वाङ्गीण रक्षासूत्र हो । वैदिक र पौराणिक मन्त्रको प्रयोग गरी अभिमन्त्रणा गरिने एउटा जनैमा तीन वटा धागाको समूह हुन्छ, गृहस्थीले त्यस्ता एक जोर ( छवटा डोरो भएको) जनै लगाउँदछन् । शास्त्रमा ब्रह्मचारीले एउटा, गृहस्थीले दुईवटा र वानप्रस्थले तीनवटा जनै लगाउनु पर्दछ भनिएको छ, त्यस्तै वर्णविशेषमा ब्राह्मणले तीनवटा, क्षत्रियले दुईवटा र वैश्यले एउटा जनै लगाउने पनि भनिएको देखिन्छ । तर नेपालमा आमरूपमा दुर्इवटा (एक जोर) जनै लगाउने गरिन्छ ।

जनैमा प्रयोग गरिएका धागाका तन्तुहरूलाई केवल धागोमात्र मान्नु हुँदैन, ती प्रत्येक डोराले प्रतीकात्मक रूपमा आत्मरक्षा, धर्मरक्षा र राष्ट्ररक्षाको सङ्कल्पलाई वहन गरेका हुन्छन् । रक्षासूत्रलाई स्थानविशेषअनुसार राखी, तागा, रक्षाबन्धन, डोरो, जनैधागो आदि पनि भन्ने गरिन्छ । रक्षासूत्र बाँधिदिन ठाउँ र चलनअनुसार गुरुपुरोहित, ज्वाइँ, भान्जाभान्जी र छोरीचेली वा दिदीबहिनीको सहयोग लिने गरिन्छ । नेपालमा पहाडी समुदायमा प्रायः गुरु पुरोहित, ज्वाइँ वा भान्जाभान्जीका हातबाट र तराईवासीमा छोरीचेली र विशेषतः दिदीबहिनीका हातबाट रक्षासूत्र बाँध्ने गरिन्छ । यसरी हातमा रक्षासूत्र बाँध्ने प्रचलन नेपालको परिप्रेक्ष्यमा राष्ट्राध्यक्षदेखि सामान्य गृहस्थी सम्मका सबैमा चलिआएको छ ।

उहिले स्वर्गका राजा इन्द्रकी पत्नी शचीले वैदिक मन्त्रद्वारा अभिमन्त्रित एउटा सूत्र (धागो) आफ्ना पति देवराज इन्द्रको हातमा बाँधेकी थिर्इन् । उनका तमाम शत्रुलाई पराजित बनाउने सामर्थ्य र बल उक्त रक्षासूत्रले प्रदान गरेको र शत्रुको प्रहारबाट सुरक्षित राख्न कवचको रूपमा उक्त रक्षासूत्र प्रयुक्त भएको थियो भन्ने परम्परालाई जीवन्त राख्न तथा शत्रुबाधा, भय र त्रासबाट मुक्त भई कर्मक्षेत्रमा निरन्तर गतिशील हुन प्रेरणा प्राप्त होस् भनी श्रावणशुक्ल पूर्णिमाका दिन यो पर्व मनाउन थालिएको हो भनी भविष्यपुराणको एउटा प्रसङ्गमा बताइएको छ । त्यस्तै उक्त पुराणमा 'सर्वरोगोपशमनं सर्वाशुभविनाशनम्, सकृत्कृतेनाब्दमेकं येन रक्षा कृता भवेत्' अर्थात् यस पर्वमा धारण गरिएको रक्षासूत्र सम्पूर्ण रोग एवं अशुभ कर्मको विनाशक मानिने र उक्त रक्षासूत्रले एक वर्षको अवधिभरि मानिसलाई हरेक विपत्तिबाट सुरक्षित राख्ने गर्दछ भनेर पनि लेखिएको छ । रक्षासूत्र बाँध्दा 'जुन प्रयोजनका लागि यस रक्षासूत्रले महावली सम्राट् बली बाँधिएका थिए त्यही प्रयोजन स्वरूप हे रक्षासूत्र आज म तिमीलाई बाँधिरहेको छु, अतः तिमी पनि आफ्नो निश्चित उद्देश्यमा विचलित नभई दृढ बनेर बस' भन्ने भावको 'येन बद्धो बली राजा दानवेन्द्रो महाबल:,  तेन त्वां प्रतिबध्नामि रक्ष  मा चल  मा चल' भन्ने पौराणिक मन्त्रोच्चारण गरिन्छ । रक्षासूत्र अभिमन्त्रणमा प्रयोग गरिने सर्वौषधि, सर्स्यौं, दुबो, अक्षता, जौ, चन्दन आदि वस्तुमा कीटाणुनाशक र रोग निरोधक तत्त्व हुन्छ । बादल लागेर घामको उज्यालोबाट वञ्चित हुनुपर्ने मौसमको यस समयमा रक्षासूत्र धारण गर्दा रोगनिरोधक शक्ति प्राप्त हुने गर्दछ भन्ने शास्त्रीय प्रमाण पनि छ । अझ यसभन्दा महत्त्वपूर्ण पाटो 'रक्षासूत्र धारण गरेपछि एक वर्ष अवधिभर रक्षित भयौ, कुनै पनि कुराको भय हुँदैन' भन्ने वाक्यमा रक्षासूत्र बाँध्दा पढिने मन्त्रमा उल्लेख भएकाले मानिस स्वयं पनि मानसिकरूपमा स्वस्थ बन्ने मनोवैज्ञानिक पक्ष हो भन्न सकिन्छ अनि सन्मार्गमा आत्मरक्षाका साथ अघिबढ्न प्रेरणा प्रदान गर्ने सङ्कल्प दिवस हो, यो पर्व । यो नै श्रावणी पर्व अर्थात् जनै पूर्णिमाको उच्चतम उपलब्धि हो ।

रक्षाबन्धन वा राखी

भारत र तराई क्षेत्रमा आजको पर्व राखीका नामले प्रसिद्ध छ । नेपालको सरकारी पञ्चाङ्ग निर्णायक समितिले रक्षाबन्धन पनि आजै श्रावण १३, २०७४ का दिन गर्ने निर्णय गरेको र सरकारले सार्वजनिक विदा दिएको अवस्था छ । तर अधिकांश तराई क्षेत्रमा भारतबाट प्रकाशित पञ्चाङ्गको प्रयोग गरिने हुँदा यस पटक राखी पर्व विवादास्पद रहने देखिन्छ । त्यस्तै परम्परानुसार मनाइने क्वाँटी आदि पर्व पनि पूर्णिमाकै दिन मनाइने देखिन्छ । श्रावण शुक्ल पक्षको पूर्णिमाका दिन यदाकदा चन्द्र ग्रहण परिरहन्छ । यसभन्दा अघि वि.सं. १९६३, १९८२, २०२८ र २०४७ सालमा पनि यसै दिन चन्द्र ग्रहण परेको थियो । यति धेरै शुभकर्म सम्पादन गर्ने दिन ग्रहण लाग्यो भने ग्रहणको सूतकका कारण ती कर्म सम्पादन गर्न मिल्छ वा मिल्दैन भन्ने खुल्दुली हुनु स्वाभाविक हो । अतः ती जिज्ञासाहरूलाई शास्त्रसम्मत ढंगले साथै नेपाल र भारतबाट प्रकाशन हुने सबै पञ्चाङ्गहरूमा एकरूपता आउने गरी निर्णय गर्नु र जनसमक्ष ल्याउनु पञ्चाङ्ग निर्णायक समितिको काम हो । उक्त समितिले गरेको निर्णयमा दोधारेपन र व्यवहारिक रूपमा फरक पर्नु हुँदैन । तर यस पटक यो समस्या देखा परेको छ ।

जनै पूर्णिमाका दिन ग्रहण परेमा के गर्ने भन्ने विषयमा शास्त्रमा चर्चा भएका प्रसङ्गहरू पनि अवलोकन गरौं :–

उपाकर्मका निमित्त 
सङ्क्रान्ति ग्रहणं वापि पौर्णमास्यां यदा भवेत् । उपाकृतिस्तु पञ्चम्यां कार्या वाजसनेयिभिः । (सत्कर्मरत्नाकरः)
पूर्णिमाका दिन ग्रहण वा सङ्क्रान्ति परेको अवस्थामा उपाकृति (उपाकर्म) वाजसनेयीहरूले पञ्चमीका दिन गर्नुपर्दछ ।

अर्धरात्रादधस्ताच्चेत्सङ्क्रान्तिग्रहणं तदा । उपाकर्म न कुर्वीत परतश्चेन्न दोषभाक् ।। (कात्यायनको मत, निर्णयसिन्धु) । 
अर्थात् अर्धरात्रीपूर्व नै सङ्क्रान्ति वा ग्रहण परेको छ भने उपाकर्म गर्नु हुँदैन, तर अर्धरात्रीपछि ग्रहण वा सङ्क्रान्ति भए दोष लाग्दैन ।

रक्षाबन्धनका निमित्त
इदं रक्षाबन्धनं नियतकालत्वाद् भद्रावर्ज्यग्रहणदिनेऽपि कार्यं होलिकावत्, ग्रहसङ्क्रान्त्यादौ रक्षानिषेधाभावात् (निर्णयसिन्धु) । 
अर्थात् रक्षाबन्धन निश्चित समयमा हुने भएकाले होली पर्व मनाएसरह भद्रा परेको समबाहेक ग्रहणका दिनमा पनि गर्नु उपयुक्त हुन्छ । ग्रहण र सङ्क्रान्ति आदिमा रक्षाबन्धन कर्म वर्जित छैन ।

रक्षाबन्धनमस्यामेव पूर्णिमायां भद्रारहितायां त्रिमुहुूर्तादधिकोदयव्यापिन्यामपराह्ने प्रदोषे वा कार्यम्.... इदं ग्रहणसङ्क्रान्तिदिनेऽपि कर्तव्यम् (धर्मसिन्धु) ।
अर्थात्  रक्षाबन्धन यसै भद्राको समय नपरेको र उदयपछि तीन मुहूर्तभन्दा बढी उदयव्यापिनी पूर्णिमा (श्रावणको) कै दिन अपराह्न वा प्रदोष कालमा गर्नुपर्दछ, यस दिन ग्रहण वा सङ्क्रान्ति परे पनि गर्नै पर्दछ ।

माथिका प्रमाणको अध्ययनपछि हामीले बुझ्यौं - उपाकर्म र रक्षाबन्धन दुई बेग्लाबेग्लै कृत्य हुन् । यी एकअर्कामा अन्योन्याश्रित छैनन्, त्यसैले दुबै स्वतन्त्र कृत्य हुन् । निर्णयसिन्धु र धर्मसिन्धु दुबै ग्रन्थले रक्षाबन्धनका लागि छुट्टै विशेष व्यवस्था गरेको छ, जुन माथि उल्लेख भइसकेको छ । भारतका पञ्चाङ्ग र पात्रोहरूमा माथिका सबै विषयलाई समेटेर ऋषितर्पणीका लागि पञ्चमी र रक्षाबन्धनका लागि पूर्णिमा नै तोकेको देखिन्छ, तर नेपालका पात्रोहरूमा यस विषयमा परम्पराको मात्र अनुसरण गरी, शास्त्रको विमर्श र अध्ययन नै नगरी हचुवाका भरमा पञ्चमीका दिन दुबै कर्म सम्पादन गर्न निर्देशन गरेको देखिन्छ, जुन ठिक होइन ।

त्यसैले यस पटकको जनै पूर्णिमामा गरिने कर्महरूमध्ये श्रावणी, ऋषितर्पणी र जनै लगाउने काम नागपञ्चमीका दिन (२०७४ साल श्रावण १३ गते शुक्रबार) एवं रक्षाबन्धन (डोरो बाँध्ने वा राखी बाँध्ने काम) पूर्णिमाकै दिन (२०७४ साल श्रावण २३ गते, सोमबार) गर्नु शास्त्रसम्मत हुन आउँछ ।

No comments:

Post a Comment