Tuesday, May 2, 2017

अध्यात्म र धर्म

अध्यात्म धर्म होइन, मनको संवेग, विशेषता वा क्षमता पनि होइन । अध्यात्म केवल मानसिक स्वःस्फुर्त शक्ति हो, जसले मानसिकतामा आचारसंहिता, शालीनता तथा सौम्यभाव सिर्जना गर्छ । अध्यात्म भनेको नैतिक ऊर्जा हो, जसले मानवलाई भौतिक तथा पारमार्थिक शान्तिको मार्ग प्रशस्त गराउँछ । तसर्थ अध्यात्म समाजलाई पुरातनवादी मान्यतामा अगाडि बढाउने कुनै धर्म वा कर्मकाण्डीय रूढीग्रस्त विषय पनि होइन । अध्यात्म त स्वचिन्तन र स्वदर्शनको मार्गप्रशस्त गर्ने मानवीय शालीनता एवं शान्तिकामी सोच हो । त्यसैले अध्यात्म र धर्ममा धेरै फरक छ भन्ने विषय बुझ्नु जरुरी छ । अध्यात्म मानसपटलबाट चल्छ भने धर्म सत् वस्तु धारण गर्ने विषय हो, जो मनद्वारा निर्देशित हुन्छ । धर्म मनको विशेषता हो । मन चल्नका लागि त्यहाँको संस्कृति, भौगोलिकता, विभिन्न दर्शनले प्रभावित पार्छ, तर अध्यात्म त्यो अन्तरनिहित शक्ति हो, जो कसैबाट निर्देशित हुँदैन । यो शक्ति कसैमा सुषुप्त हुन्छ, कसैमा जागृत । जागृत मानवमा आत्मचिन्तनको विचार हावी हुन्छ । फलतः त्यो शान्तिकामी हुन्छ, तर सुषुप्त अध्यात्म हुनेमा हिंस्रक एवं पाशविक सोच हावी हुन्छ । तसर्थ अध्यात्मको पुनर्ताजगी वा पुनर्जागरण नै शान्ति, स्थिरता एवं विकासको सही माध्यम हो । धर्म शब्दको व्याख्या विविध अर्थमा भएको पाइन्छ । सबैको सार हेर्दा धर्म भनेको कर्तव्यकर्म हो । प्राणीले आफ्नो स्वभावअनुसार प्रकट गर्ने व्यवहारलाई नै धर्म मान्न सकिन्छ । हुन त कतिपय मानिसले निर्जीव वस्तुले पनि आफ्नो कर्तव्य पालन गरेर धर्म देखाएका छन् । सूर्य सदैव प्रकाशित हुन्छ । नदीले आफैं जल पिउँदैन। वृक्षले आफैं फल खाँदैन । वर्षा अरूकै हितका निम्ति वर्षन्छ तसर्थ महान् बन्न परोपकारी बन्नुपर्छ, यो नै सच्चा धर्म हो। मानिसले यस्ता विविध उदाहरणमार्फत आफूमा धार्मिक प्रवृत्ति बढाउन पहल गर्नुपर्छ ।

धर्मको मार्ग ज्यादै कठिन छ । धर्म यदि कर्तव्य पालन हो भने यो सबै अवस्थामा पालनयोग्य हुन्छ । महाभारत वनपर्वमा एउटा कथा छ । एक दिन द्रौपदीले युधिष्ठिरसँग भनिन् - 'तपाईं धर्मको मार्गबाट कहिल्यै विचलित हुनुभएको छैन तर पनि जंगलमा दुःखपूर्वक विचरण गरिरहनुभएको छ । जब कि दुर्योधनले धर्मको अलिकति पनि ख्याल राखेको पाइँदैन । ऊ भने महलमा आरामपूर्वक सुखभोग गर्दैछ। यस्तै हुने हो भने धर्मपालन गर्नुको के अर्थ ?' द्रौपदीबाट यस्तो शंका प्रकट भएपछि युधिष्ठिरले भनेका थिए - 'द्रौपदी' जो सुख पाइने इच्छाले धर्मको पालना गर्छन् त्यस्ताले कहिल्यै धर्मको रहस्य बुझ्दैनन् । धर्मको तत्त्व अगाध छ । सुखको कामनाले धर्म गर्नेहरू पशु हुन्, जो सधैं भोगका लोभी तथा दुःखदेखि डराउने हुन्छन् । त्यस्ताले धर्मको गूढ रहस्य के जानून् ? यसकारण मनुष्यता भएको मानिसले अनुकूल एवं प्रतिकूल परिस्थितिको कुनै परवाह नगरी केवल कर्तव्य धर्म वा मानव धर्मको पालना गर्नुपर्छ ।'

यो कथाबाट मानव धर्म पालना गर्नुपर्ने सन्देश पाइन्छ । मानव धर्म कस्तो हुन्छ ? यो विचारणीय कुरा हो । सुख-दुःख आदिमा समभाव राखेर निष्काम कर्ममा लाग्नु मानवीय धर्म हो । धर्म पालना गर्ने विषयमा कुरा गर्न जति सजिलो छ त्यति नै गार्‍हो छ काम गरेर देखाउन । त्यसैले सबै साधारण मानिसले धर्मको पालना गर्न सक्दैनन् । प्रयोजनबिना काम गर्ने कुरा अहिलेको शिक्षाप्रणालीविरुद्ध छ । अहिले विद्यालय, महाविद्यालय एवं विश्वविद्यालयहरूमा असल बन्न होइन सफल बन्न सिकाइन्छ । बाल्यावस्थादेखि नै मानिसलाई तिम्रो लक्ष्य के हो ? डाक्टर, इन्जिनियर, पाइलट, व्यापारी आदि के बन्ने भनेर सोधिन्छ । तिमी ठूलो भएपछि यस्तो बन्नुपर्छ, पैसा धेरै कमाउनुपर्छ भनेर सिकाइन्छ तर असल बन्नुपर्छ भन्ने कुरा निकै कम शिक्षालयमा मात्र सिकाइन्छ । धर्मले मानिसलाई सफल नबनाउन सक्छ तर असल भने पक्कै बनाउँछ ।

धर्मले मानिसलाई प्रकृतिको नजिक लान्छ । प्राकृतिक कुरा विकाररहित हुन्छन् । मानिसको प्रकृति पनि विकाररहित नै हुन्छ । हुर्कदै जाने क्रममा मानिसलाई कृत्रिम बनाउँदै लगिन्छ । परिणामस्वरूप उसमा विभिन्न विकार उत्पन्न हुन थाल्छन् । कृत्रिम वस्तुमा कैयौं विकार हुन्छन् । यसको छायाले जीवनलाई छोएपछि मानिस पनि कृत्रिम बन्छ । उसमा धर्म पालना गर्नसक्ने शक्ति रहँदैन ।

सामान्य रूपमा हेर्दा धर्म पनि दुई प्रकारका देखिन्छन् । मानवीय धर्म वा प्राकृतिक धर्म तथा साम्प्रदायिक धर्म वा कृत्रिम धर्म । मानवीय वा कृत्रिम धर्म सार्वजनीन हुन्छ, सर्वग्राह्य हुन्छ, सर्वथा विकाररहित हुन्छ । यसले विश्वका सबै मानिस एवं प्राणीलाई समान रूपले बाँच्न सिकाउँछ । एकअर्कासँग मिलेर बाँच्न सिकाउँछ । परस्परमा सम्मान एवं भाइचाराको भावना बृद्धि गराई सहज ढंगले जीवनयापन गर्ने बाटो देखाउँछ । त्यसको ठीक विपरीत साम्प्रदायिक धर्म हुन्छ । त्यसले मानिसलाई फुटाएर समूहमा विभाजन गर्छ । आफूले मानेको मत नै सर्वश्रेष्ठ छ भन्ने अहङ्कार बढाउँछ । साम्प्रदायिक मत सधैं अरूको विरोध वा खण्डन गरेर आफ्नो श्रेष्ठता कायम गर्न प्रयासरत रहन्छ । यसका कारण विश्वमा धेरैपटक युद्ध भएका छन् । धेरै मानिसले जीवन गुमाएका छन् ।


धर्मको मार्ग सरल हुन्छ । कुनै कर्मकाण्ड, प्रार्थना एवं अन्धविश्वासविना सहज ढंगले बाँच्ने कला नै यथार्थमा धर्म हो । धर्म आडम्बररहित हुन्छ । धर्ममा परोपकारको भावना छ । अरूलाई एवं आफ्नै शरीरलाई दुःख दिनु अधर्म मानिन्छ । सच्चा धर्मले कहिल्यै कसैलाई दुःख दिँदैन । धर्म सत्यमा अडेको हुन्छ । सत्य कहिल्यै दोस्रो नभएझैं धर्म पनि दोस्रो हुँदैन । धर्म एउटै हुन्छ, सनातन हुन्छ । कसैलाई हानि पुर्‍याउने विचार बोकेको मत कदापि धर्म हुन सक्दैन । धर्मको खोल ओढ्दैमा असत्य सत्य हुन सक्दैन ।

No comments:

Post a Comment