आदर्श नारी सीता जगज्जननी माता लक्ष्मीकी अंशावतार मानिन्छन् । यिनी प्रसिद्ध धार्मिक ग्रन्थ रामायणकी प्रमुख नारीपात्र तथा भगवान् श्रीरामकी अर्द्धाङ्गिनी हुन् । सीताको जन्म, जीवनकाल तथा अन्त्य रहस्यमय, रोचक, मार्मिक र अर्थपूर्ण छ । सनातन धर्मअन्तर्गतका धार्मिक ग्रन्थ र हाम्रो आध्यात्मिक इतिहासले लोकहीतका लागि ईश्वरले अवतार ग्रहण गर्दा उनको सहयोग गर्न उनका पार्षद र शक्ति पनि अवतरित भएका छन् । यसरी एकातिर भगवान् आफ्नो प्रयोजन सिद्ध गर्न विभिन्न लीला गर्नुहुन्छ भने उनको लीलाचरित्रमा उनकी शक्ति महामायाले पनि सहयोगीको भूमिका निर्वाह गरी एउटा आदर्श स्थापित गर्ने गर्दछिन् । माता सीताको अवतरण पनि यस धराधामलाई दुष्ट, क्रूर र दुराचारी शासक रावण र उसका मतियारहरूको सफाया गर्ने कारण बनेको स्पष्ट हुन्छ । यद्यपि सीताको जीवनकालमा उनले अनेकानेक भौतिक दुःख, कष्ट र कठिनाइको सामना गर्नुपरेको थियो ।
सीताका मातापिता को हुन् ? भन्ने विषयमा मतमतान्तर छ । सीता शब्दको अर्थ जोत्दा जमीनमा परेको हलोको डोब, जोतिएको जमीन, हलोको फालीबाट धर्तीमा निर्मित रेखा आदि हुन्छ । उनको जन्म सन्दर्भमा उल्लेख गरिने कथा पनि यस्तै रहेको पाइन्छ । एक पटक राजर्षि जनकको राज्य मिथिलामा लामो समयसम्म पानी परेन, खडेरीले आक्रान्त भएका जनतालाई राहत दिन राजा स्वयंले यज्ञ गरी हलो जोतेमा पानी पर्छ भनी ज्योतिषी र पण्डितहरूले बताएपछि राजा हलो जोत्न तैयार भए । यस उक्त यज्ञमा राजर्षि जनकले हलो जोत्दा त्यही भूमिबाट सीता प्रकट भएको कथा विभिन्न धर्म ग्रन्थहरूमा उल्लेख छ ।
सीताका मातापिता को हुन् ? भन्ने विषयमा मतमतान्तर छ । सीता शब्दको अर्थ जोत्दा जमीनमा परेको हलोको डोब, जोतिएको जमीन, हलोको फालीबाट धर्तीमा निर्मित रेखा आदि हुन्छ । उनको जन्म सन्दर्भमा उल्लेख गरिने कथा पनि यस्तै रहेको पाइन्छ । एक पटक राजर्षि जनकको राज्य मिथिलामा लामो समयसम्म पानी परेन, खडेरीले आक्रान्त भएका जनतालाई राहत दिन राजा स्वयंले यज्ञ गरी हलो जोतेमा पानी पर्छ भनी ज्योतिषी र पण्डितहरूले बताएपछि राजा हलो जोत्न तैयार भए । यस उक्त यज्ञमा राजर्षि जनकले हलो जोत्दा त्यही भूमिबाट सीता प्रकट भएको कथा विभिन्न धर्म ग्रन्थहरूमा उल्लेख छ ।
सीताको जन्मसम्बन्धमा प्राप्त वृत्तान्तहरूमा मतैक्य छैन । विभिन्न पुराणहरूमा भिन्नभिन्न प्रकारले यस प्रसङ्गलाई उल्लेख गरिएको पाइन्छ । तल केही प्रसङ्ग र आख्यानहरू उल्लेख गरिएको छ :-
१) देवी भागवतमा लेखिएअनुसार लङ्काधिपति रावणको विवाह मय दानवकी पुत्री मन्दोदरीसित भएको थियो । मन्दोदरी गर्भवती भएपछि ज्योतिषीहरूले उनीबाट जन्मने शिशुका बारेमा फलादेश गर्दा शिशुको जन्मपछि रावणको वंश नै समाप्त हुने भविष्यवाणि गरेको हुँदा उसले आफ्नो पहिलो सन्तान (कन्या) लाई सन्दुकमा बन्द गरेर धर्तीमा गाडिदिएको थियो । तिनै कन्यालाई पछि राजा जनकले प्राप्त गरेका हुन् र तिनै सीता थिईन् । अद्भूत रामायणमा मन्दोदरीको उक्त गर्भधारण गर्नुपूर्वको आख्यानसमेत उल्लेख गरी सीताको जन्मवृत्तान्तको यसै प्रसङ्गलाई पुष्टि गरिएको छ । अद्भूत रामायणमा उल्लेख गरिएअनुसार त्यतिखेर रावणले असाध्य अत्याचारपूर्वक शासन गरेको थियो । ऊ धर्माचरण गर्ने सज्जन देव, यक्ष, गन्धर्व, किन्नर र मनुष्यलगायत ऋषिमुनि र साधुसन्तहरूलाई निकै सास्ती दिने गर्दथ्यो र आश्रममा बसेर तपस्यारत रहेका ऋषिमुनि र तपस्वीका शरीरमा बाणले घोच्दै रगत झिकेर एउटा घैँटो भरेर राख्ने गर्दथ्यो । त्यसै कालखण्डमा गृत्समद नाम गरेका कुनै ऋषि आफ्नो आश्रममा तपस्या गरी बस्दथे । उनी कुशको अग्रभागबाट निस्किएको दूध घैँटामा जम्मा पार्ने र त्यसलाई पान गर्ने गर्थे । रावणले यो कुरो चाल पायो र उक्त कुशाग्रबाट सङ्कलित दूधको औषधीय महत्त्व थाहा पाई त्यो घैँटो चोरी दूध जति आफ्नो रगतको घैँटामा भरेर उसले लङ्का लिएर गएको थियो । रावणका अधार्मिक र क्रूर व्यवहारबाट दिक्क मानेकी मन्दोदरीले आत्महत्याको उद्देश्यले त्यही रगत मिसिएको दूध खाइदिइन् । उनी मर्न त मरिनन्, तर त्यसबाट उनमा गर्भ रहन गयो । उक्त गर्भ नै रावण र मन्दोदरीको पहिलो सन्तानका रूपमा जन्मिएको थियो, जुन रावण र मन्दोदरीले त्यागेका थिए ।
आनन्द रामायणमा पनि रावणकी छोरीकै रूपमा सीताको वर्णन गरिएको छ । तर त्यहाँ रहेको प्रसङ्ग अध्यात्म रामायणभन्दा फरक छ । आनन्द रामायणको जन्म प्रसङ्गमा कुनै पद्माक्षर नामका राजाबाट प्रसन्न भएका भगवान् विष्णुले उसलाई एउटा महालिङ्ग उपहारका रूपमा प्रदान गर्नुभयो । उक्त महालिङ्गको उपासनाबाट उनले एउटी पद्मा नामकी पुत्री प्राप्त गरे । ती लक्ष्मीको अंशस्वरूप उत्त्पत्ति भएकी थिईन् । उमेर पुगेपछि राजाले राजकुमारी पद्माको विवाह गर्ने उद्देश्यले स्वयंवरको आह्वान गरे । तर पद्मा भगवान् विष्णुलाई नै पतिका रूपमा प्राप्त गर्न चाहन्थिन् । स्वयंवरमा उपस्थित भएका मनुष्य र राक्षसकुलका राजाहरू एकआपसमा लडाइँ गर्दै कोलाहल मच्चाउन थाले । पद्माले त्यसै कोलाहलमय अवसरमा स्वयंवरका लागि तैयार पारिएको अग्निकुण्डमा प्रवेश गरी विलीन भईन् । अर्को जन्ममा उक्त अग्निकुण्डबाटै वेदवती नामकी सुन्दर स्त्रीका रूपमा उनी अवतीर्ण भईन् । पूवस्मृति रहेकाले विष्णुलाई वरका रूपमा प्राप्त गर्न फेरि पनि तपस्यारत रहिन् । निरन्तरको तपस्याबाट उनको सौन्दर्य र आभामा विशेष आकर्षण देखिन्थ्यो । एक पटक रावण त्यस आश्रममा आइपुग्यो । वेदवतीको सौन्दर्यमा ऊ लट्ठ भयो र उनका इच्छा र भावनाको वेवास्ता गर्दै बलात्कार गर्न उद्यत भयो । रावणको कुकृत्यबाट जोगिन वेदवतीले पुनः आफूलाई यज्ञकुण्डभित्र अलप बनाईन् । अलप हुनुअघि वेदवतीले रावणलाई श्राप दिएकी थिईन् अरे - अर्को जन्ममा म तेरी छोरी भएर जन्मने छु र तेरो वंशलाई समूल नाश गर्ने कारण बन्नेछु । कालान्तरमा तिनै वेदवती मन्दोदरीकी छोरीका रूपमा प्रकट भएकी थिईन् । आनन्द रामायणमा राजा जनकले हलो जोत्दा भेटिएको प्रसङ्ग भने उल्लेख गरिएको छैन । त्यहाँ जमिनमुनि गाडिएको उक्त सन्दुक मिथिला भूमिका एक जना ब्राह्मणले फेला पारी राजा जनकलाई जिम्मा दिएका थिए र त्यसभित्र कन्या भएकीले राजा जनकबाट उनको पालनपोषण भएको हो भनिएको छ ।
तमिल भाषामा लेखिएको कम्ब रामायणमा सीताका मातापिताका बारेमा फरक प्रसङ्ग छ । त्यहाँ शीरध्वज (जनक) का भाइ कुशध्वजकी छोरी वेदवतीले रावणको अपमानका कारण आगामा होमिई खरानी हुनु परेको थियो र त्यही खरानीबाट वेदवतीले सीताको अवतार लिएकी हुन् भनिएको छ । यस कथाअनुसार सीता जनककी आफ्नै छोरी नभएर भाइकी छोरी भतिजी थिईन् भन्ने बुझिन्छ । सीताको जन्म र उनका मातापिताका बारेमा किसिमकिसिमका दृष्टान्त र कथाप्रसङ्ग प्राप्त हुन्छन् । आख्यान र कथोपक्रमको क्रम नमिले पनि प्रायशः ती सबैको मूल कथ्य यी माथि उल्लेख गरिएका विषयवस्तुसँगै कुनै न कुनै रूपमा मेल खाएको देखिन्छ ।
यसरी जगज्जननी सीताको जन्मसम्बन्धमा अनेकानेक किंवदन्ती र कथाहरू प्राप्त हुने भएकाले यसै हो भनी निर्क्यौल गर्न गाह्रो छ । यद्यपि जनकपुरसँगको उनको सम्बन्ध भने अकाट्य जस्तै देखिन्छ । नेपालका राष्ट्रिय विभूतिमध्ये एक रहेका जनकको वास्तविक नाम शिरध्वज हो । उनकी पत्नीको नाम सुनयना हो । उनी राजा ह्रस्वरोमा जनकका पुत्र थिए । वशिष्ठ ऋषिको श्रापले मरेका राजा निमिको शव मन्थन गर्दा 'मिथि' जन्मिएका र उनको राज्य मिथिला बनेको उल्लेख छ । रामायण र याज्ञवल्क्य स्मृतिमा राजा मिथिको राज्य भएकाले देशको नाम मिथिला रहेको प्रसङ्ग छ भने मत्स्यपुराणमा चाहिँ मिथिल नाम गरेका ऋषिको नामबाट मिथिला बनेको भनी लेखिएको छ । मिथिलाका राजाहरू वंशपरम्परादेखि नै जनक पदबाट विभूषित थिए, अतः जनकपुरका प्रत्येक राजाहरूले आफ्नो नामका सट्टामा जनक भन्न रुचाउँदथे । अतः नाम शिरध्वज भए पनि यिनलाई जनक भनिएको हो । जनककी छोरी भएकी नाताले सीताको अर्को नाम जानकी हो। मिथिलालाई विदेह पनि भनिने भएकाले विदेहकी छोरीको अर्थमा सीताको नाम वैदेही पनि छ।
जन्म नदिए पनि सीताका पालनपोषण गर्ने पिता राजा जनक र माता सुनयना हुन् । सीतामा सानैदेखि विलक्षण प्रतिभा थियो । निकै बलिया र शूरवीरले पनि सजिलै उचाल्न नसकिने शिवधनुलाई उनी पूजा कोठाको बढारकुँडार र सरसफाइ गर्ने क्रममा सजिलै वर, पर राख्ने गर्थिन्। यही शक्ति देखेर नै जनकले शिवधनुमा ताँदो चढाउन सक्नेलाई छोरी दिने वाचा गरेका हुन्। स्वयम्बरका बेलामा देशदेशावरबाट अनेक राजामहाराजा आए । रावण पनि आएको थियो तर उसले शिवधनु हल्लाउनसमेत सकेन। अयोध्याबाट आएका श्रीरामचन्द्रले उचाल्नासाथ उक्त धनु भाँचिन पुग्यो र धुमधामसाथ श्रीराम र सीताको शुभविवाह सम्पन्न भयो । उर्मिला, माण्डवी र श्रुतकीर्ति सीताका काकाका छोरीहरू थिए । यिनको बिहे पनि श्रीरामचन्द्रका भाइहरू क्रमशः लक्ष्मण, भरत र शत्रुघ्नसँग भएको थियो । माइतीमा जस्तै घरमा पनि सीताले सबैको मन जितेकी थिइन् ।
रानी केकैयीले आफ्ना दुईवटा वचनका बदलामा छोरो भरतलाई अयोध्याको राजगद्दी र सौता कौशल्याका छोरा रामचन्द्रलाई वनवास दिनुपर्ने अडान पतिसामु राखेपछि आफ्ना पिता दशरथको आज्ञा अनुसार श्रीराम १४ वर्षका लागि वनतर्फ प्रस्थान गर्न आँटेका हुन्छन् । पति वन जाँदा आँफू भोगविलास र सुखसयलले युक्त राजमहलमा नबस्ने भनी जिद्दी गर्दै सीता पनि श्रीरामसँगै वनवास प्रस्थान गरिन् । दाजुभाउजुलाई लक्ष्मणले पनि साथ दिन्छन्, उनी पनि श्रीराम र सीताका साथमा वनवासमा जान्छन् । अत्रि ऋषिका आश्रममा हुँदा सीताले सती अनुसूयाबाट पातिव्रत्य धर्मको उपदेश प्राप्त गर्छिन् ।
वनवासका क्रममा पञ्चवटी भन्ने स्थानमा पुगेका वेला जोगीको भेष गरी रावण वनमा आउँछ र श्रीराम र लक्ष्मणलाई झुक्याएर सीतालाई हरण गरी लङ्का पुर्याई अशोक वाटिकामा कडा पहराका साथमा राख्छ । उसले सीताको मन जित्न र उनलाई पत्नी बनाउन अनेक तिगडम चाल्न थाल्छ, तर सीताको सतीत्व डगमगाउन सक्दैन । त्यहाँ रावणपत्नी मन्दोदरी र त्रिजटाको नरम बोली र व्यवहार पाउँदा उनलाई राहत हुन्छ । यता सीताको खोजीमा रहेका श्रीरामले वानरराज सुग्रीवसँग मितेरी गाँसी वाँदर सेना तैयार गर्छन् । रामद्वारा पठाइएका दूत हनुमान् लङ्का पुगी सीताको अवस्थितिका बारेमा सूचना लिई आउँछन् । त्यसपछि रामको सेना समुद्र तरी लङ्कामा पुगेपछि भीषण युद्ध हुन्छ । सन्त स्वभावका विभीषणबाहेक मेघनाद, कुम्भकर्ण, रावण आदि सबै दुष्ट मारिन्छन् । सीता रावणको कब्जामा रहेकीले रामले सहजै स्वीकार गर्दैनन् । उनी अग्निपरीक्षाद्वारा निष्कलङ्क ठहरिएपछि पति श्रीरामका साथ पुष्पक विमानमा बसी अयोध्या पुग्छिन् ।
वनवासका क्रममा पञ्चवटी भन्ने स्थानमा पुगेका वेला जोगीको भेष गरी रावण वनमा आउँछ र श्रीराम र लक्ष्मणलाई झुक्याएर सीतालाई हरण गरी लङ्का पुर्याई अशोक वाटिकामा कडा पहराका साथमा राख्छ । उसले सीताको मन जित्न र उनलाई पत्नी बनाउन अनेक तिगडम चाल्न थाल्छ, तर सीताको सतीत्व डगमगाउन सक्दैन । त्यहाँ रावणपत्नी मन्दोदरी र त्रिजटाको नरम बोली र व्यवहार पाउँदा उनलाई राहत हुन्छ । यता सीताको खोजीमा रहेका श्रीरामले वानरराज सुग्रीवसँग मितेरी गाँसी वाँदर सेना तैयार गर्छन् । रामद्वारा पठाइएका दूत हनुमान् लङ्का पुगी सीताको अवस्थितिका बारेमा सूचना लिई आउँछन् । त्यसपछि रामको सेना समुद्र तरी लङ्कामा पुगेपछि भीषण युद्ध हुन्छ । सन्त स्वभावका विभीषणबाहेक मेघनाद, कुम्भकर्ण, रावण आदि सबै दुष्ट मारिन्छन् । सीता रावणको कब्जामा रहेकीले रामले सहजै स्वीकार गर्दैनन् । उनी अग्निपरीक्षाद्वारा निष्कलङ्क ठहरिएपछि पति श्रीरामका साथ पुष्पक विमानमा बसी अयोध्या पुग्छिन् ।
समय बित्दै जाँदा सीता गर्भवती हुन्छिन् । फेरि धोबीले बात लाउँछ र रामले उनलाई त्याग्ने विचार गर्दछन् । यसरी लामो समय वनबासमा कष्टपूर्ण जीवन बिताएकी सीताले किशोरावस्थामा अनजानवश भएको त्रुटि निवारणका लागि फेरि वनवास जानुपर्छ । पछिल्लो पटक उनको वनवासको कारणका प्रसङ्गमा उनको किशोरअवस्थासँग जोडिएको एउटा किंवदन्ती छ । सीताको स्वयंवरको घोषणा भएपछि एक दिन सीता जनकपुरको उद्यानमा एउटा रुखमुनि खेलिरहेका बेला एक जोडी सुँगाका भालेपोथी एकआपसमा भलाकुसारी गर्दै सीताकै विषयमा कुराकानी गर्दैथिए, जुन सीताले चाख मानी मानी सुनीरहेकी थिईन् । सुँगाको भाले आफ्नी पोथीलाई सुनाउँदै थियो - प्रिये राजकुमारी जानकी त माता लक्ष्मीकी अवतार हुन् । यिनको विवाह भगवान् विष्णुको मनुष्य अवतार अयोध्यापति दरशरथका पुत्र श्रीरामसँग हुनेछ । सुँगाका कुरा सुनेर सीता छक्क परिन् र आफ्ना सखीहरूलाई ती सुँगाका जोडीलाई समातेर लिईआउन अह्राईन् । साथीहरूले सुँगाको जोडीलाई समात्ने प्रयास गरे, भाले सुँगा तुरुन्त उडेर भाग्यो तर गर्भवती भएका कारण पोथी सुँगा छिट्टो भाग्न सकिन र सीताका सँगीहरूले त्यसलाई समातेर सीतालाई जिम्मा लाए । त्यसपछि सीताले सुँगासित रिसाउँदै भनिन् - राम भनेको को हो ? वुवाले मेरो विवाह शिवधनुष चलाउन सक्ने पुरुषसित गरिदिने निश्चय गरेका छन्, तिमीहरू जाबो पन्छी भएर मेरो विवाह हुने पुरुषको खोजीनीति गर्छौ । उनले यति भन्नासाथ भाले सुँगा आएर आफ्नी पत्नी गर्भवती छ, त्यसैले तपार्इंका पन्जाले समातिंदा उसलाई अत्यन्त कष्ट भइरहेको छ । उसलाई छाडिदिनु हवस् भनी बिन्ती गर्न थाल्यो । तर सीताले उक्त पोथीलाई नछाडेर उडेर जाने पो हो कि भन्दै झन् कसेर समाईन् । कष्ट सहन नसकेर उक्त पोथी सुँगाको मृत्यु भयो । त्यसपछि भाले सुँगाले सीतालाई गर्भवती अवस्थामा पतिसँग विछोड हुनुपरोस् भनी श्राप दियो। त्यही सुँगाको जोडीको पछि गएर अयोध्यामा धोबीका पतिपत्नीका रूपमा पुनर्जन्म भएको थियो ।
लोकापवाद भएकाले श्रीरामले सीतालाई पुनः वनबास पठाउँछन् । गर्भवती सीतालाई महर्षि वाल्मीकिको आश्रय प्राप्त हुन्छ । यहीँ उनले लव र कुश नामका दुईवटा छोरा जन्माउँछिन् । रामले अश्वमेध यज्ञ गर्दा घोडा समाउने बालक यिनै हुन् । सीताको आज्ञा पाएपछि मात्र घोडा छाड्छन् । दरबारमा यी बालकले रामायण सुनाउँदा राम विह्वल हुनपुग्छन् र ती दुई भाइ आफ्ना छोरा भएको ज्ञान भएपछि सीताको खोजीमा दौडन्छन् । वाल्मीकिको आश्रममा पुगेर श्रीरामले सीतालाई अयोध्या फर्किन आग्रह गर्दछन्, तर यस पटक पनि लोकका निमित्त उनले पुनः अग्निपरीक्षा पार गर्नुपर्ने सर्त पनि राख्छन् । यसरी पटकपटक सतीत्वको परीक्षा दिनुपर्ने कुरा सुनेर उनी द्रवित हुन्छिन् र धर्तीमातासामु आफ्नो सतीत्व र पतिव्रता साँचो भए आश्रय दिनु भनी पुकार गर्दछिन् । तुरुन्त धर्ती फाट्छ अनि सीता धर्तीमाताको शरणमा सधैँ सधैँका लागि विलीन हुन पुग्छिन् । यसरी धर्तीबाट जीवनलीला थालेकी सीताको धर्तीभित्रै समाहित भई लीला समाप्त हुन्छ । यसरी दुःख, पीडा, सहनशीलता, पतिभक्ति, मर्यादा, मातृत्व र आदर्शको प्रतिमूर्ति बनेकी सीताको समग्र जीवन दुःख, कष्ट, पीडा र करुणाले भरिपूर्ण रहेको पाइन्छ, तलका बुँदाहरूले पनि सीताको चारित्रिक वैशिष्ट्यलाई उजागर गर्दछन् :-
१ - सीता पतिव्रता नारीकी प्रतिनिधि चरित्र हुन् । उनी सपनामा समेत श्रीरामबाहेक कुनै पुरुषको दर्शन गर्ने इच्छा राख्दिनन् । अपहरित भई लङ्कामा बस्दासमेत सिन्काको साँध हुनुपर्छ भन्ने मान्यतालाई अनुसरण गर्दछिन् ।
२ - एउटी ममतामयी र संस्कारी माताको भूमिकालाई उनले प्रतिबद्धतापूर्वक पालना गरेकी छन् । लव र कुशलाई लालनपालन गरी हुर्काएर तिनको सुसंस्कृत व्यक्तित्व निर्माण गरी जगजाहेर गर्ने माता सीता नै हुन् ।
३ - उनी त्यागकी प्रतिमूर्ति थिईन्, त्यसैले उनले अग्निमा प्रवेश गरी आफ्नो पवित्रता प्रमाणित गर्ने हिम्मत देखाएकी थिईन् ।
४ - पति र आफूलाई वनवास पठाउने सौतेनी सासू कैकेयीप्रति उनले कहिल्यै दुःखेसो गर्ने वा वैमनस्यभाव दर्शाउने काम गरिनन् र एउटा कर्तव्यनिष्ठ गृहिणी र बुहारीको परिचय प्रदान गरिन् ।
त्यसैले नेपाली संस्कार र सनातन परम्परामा कुनै नवविवाहिता नारीलाई आदर्श र असल बन्न राम र सीताको दाम्पत्यसम्बन्धको उपमा दिई आशीर्वाद दिने चलन चलेको हो भन्दा फरक पर्दैन । धैर्य, संयम र विवेककी प्रतिमूर्ति सहनशीला सीताको यो आदर्शकथा संसारभरि प्रसिद्ध छ । पुराणको सन्दर्भमा हेर्ने हो भने उनी बराबरकी आदर्श नारी कोही पनि छैन । त्याग, परिश्रम र सच्चरित्रताकै कारण हुनुपर्छ, उनलाई भगवतीको दर्जा प्राप्त छ । उनको नामस्मरण गर्नु मात्रले पनि जीवन धन्य हुने, परलोक सप्रने जनविश्वास छ । जगज्जननीको श्रद्धा, विश्वास र भरोसा हासिल गर्न सफल नारीव्यक्तित्व सीता नेपाल भूमिकी पुत्री हुनु हामी सबैका लागि आस्था, श्रद्धा र गौरवको विषय हो ।
No comments:
Post a Comment