Friday, May 5, 2017

मोहिनी एकादशी

वैशाख महिनाको शुक्ल पक्षमा पर्ने एकादशीलाई मोहिनी एकादशी भन्ने गरिन्छ । पौराणिक ग्रन्थहरूमध्ये ब्रह्मवैवर्त, भविष्योत्तर र पद्मपुराणमा वर्षभरिका विभिन्न व्रत, पर्व र उत्सवको महात्म्य, वैशिष्ट्य र व्रतकथा उल्लेख गरिएको छ । यी पुराणमा पनि मोहिनी एकादशीको व्रतकथा उल्लेख गरिएको छ । यहाँ पद्मपुराणमा उल्लेख भएको कथा उपस्थापन गरिएको छ -

भगवान् श्रीकृष्ण र युधिष्ठिरका बीचमा विभिन्न धर्मकर्म, व्रततीर्थ र महात्म्यको चर्चा चल्दैथियो । यसै प्रसङ्गमा धर्मराज युधिष्ठिरले कृष्णसित सोध्नुभयो - 'हे गोपाल ! वैशाख महिनाको शुक्ल पक्षमा पर्ने एकादशीको नाम के हो ? त्यसको महात्म्य र कथा कस्तो छ ? अनि उक्त व्रतलार्इ कुन विधिको प्रयोग गरी सम्पादन गर्नुपर्छ ?, सो सबै विस्तारपूर्वक बताउनु हवस्' । श्रीकृष्णले उनका जिज्ञासा शान्त तुल्याउँदै भन्न थाल्नुभयो - 'हे धर्मराज ! म यस प्रसङ्गमा एउटा कथा भन्दछु, जसलाई त्रेता युगमा महर्षि वशिष्ठले श्री रामचन्द्रको जिज्ञासा शान्त तुल्याउँदै सुनाउनु भएको थियो ।' एक पटक गुरु वशिष्ठसमक्ष श्रीरामले प्रश्न गर्नु भएको थियो - 'हे गुरुदेव ! कुनै यस्तो व्रतका बारेमा बताउनु हवस्, जसबाट समस्त पाप र दु:ख नष्ट होऊन् । मैले सीताको वियोगमा असाध्यै दु:ख भोगेको छु, त्यस्तो दुःख र पीडा अरु कसैले पनि भोग्नु नपरोस्, त्यस्तै त्यस्तो कुनै व्रतको विधि आज्ञा गर्नुहवस् ।

महर्षि वशिष्ठले आज्ञा गर्नु भयो - 'हे राम ! तपाईले अत्यन्त सुन्दर प्रश्न गर्नु भएको छ । हुन त तपाईंको नामोच्चारण गर्नासाथ मनुष्यले त्रिविध ताप नष्ट गर्नुका साथै यस जन्ममरणको चक्रबाट पार पाउने गर्दछ । तर पनि तपाईंले आफ्नो अत्यन्त शुद्ध, पवित्र र निर्मल बुद्धिको प्रयोग गरी लोकहितका लागि यो प्रश्न गर्नुभएको छ, त्यसैले म यस प्रश्नको उत्तर दिन्छु । वैशाख महिनाको शुक्लपक्षमा जुन एकादशी पर्दछ, त्यसको नाम मोहिनी एकादशी हो । यस एकादशीको व्रत गर्नाले मनुष्यले सबै पाप तथा दु:खबाट मुक्त भई समस्त सांसारिक मोह जालबाट उन्मुक्त हुने अवसर प्राप्त गर्दछ । त्यसैले मोहिनी एकादशीको व्रतलाई नियम, निष्ठा र विधिको पालना गरी लिनु प्रत्येक सांसारिक मनुष्यको कर्तव्य हो । यसको पालना गर्नाले मनुष्यका सबै दुःख, कष्ट र पाप नाश हुन्छन् । अब यस व्रतको महात्म्य र वैशिष्ट्य उजागर हुने व्रतकथा प्रस्तुत गर्दछु, ध्यानपूर्वक सुन्नुहवस् ।

धेरै वर्षपहिले सरस्वती नदीको किनारमा भद्रावती नामको एउटा सुखसुविधा र सौन्दर्यले युक्त नगरी थियो । त्यहाँ द्युतिमान नामक चन्द्रवंशी राजाले राज्य गर्दथे । त्यसै नगरीमा धनधान्य र सुखसम्पत्तिले पूर्ण पुण्यवान् र धार्मिक स्वभावको धनपाल नामक एउटा वैश्य पनि बसोबास गर्दथ्यो । ऊ अत्यन्त धर्मात्मा र विष्णुभक्त थियो। उसले नगरका विभिन्न स्थानमा पाटीपौवा, भोजनालय, धारा, कुवा, सरोवर, धर्मशाला आदिको निर्माण गराएको थियो । त्यस्तै उसले सहरका सडकको किनारामा आँप, जामुनो, नीम आदिका अनेक बृक्ष रोपेको थियो । त्यस वैश्यका पाँच पुत्र थिए - सुमना, सद्बुद्धि, मेधावी, सुकृति र धृष्टबुद्धि । यी मध्ये धृष्टबुद्धि नामको कान्छो छोरो दुष्ट, नीच र पापी थियो । उसले धर्मकर्म, कुल, परम्परा, संस्कृति र पैतृक कर्म भनेको के हो ? चाल पाएको थिएन, त्यसैले ऊ महान् पापी थियो । ऊ वेश्या र दुराचारी मनुष्यको सङ्गतिमा रहेर जुवा खेल्थ्यो । परस्त्रीका साथ भोगविलास गर्थ्यो, मासु-मदिराको सेवन गर्थ्यो । अरुअरु अनेक कुकर्ममा संलग्न रहेर उसले आफ्ना पिताको मानसम्मान, प्रतिष्ठा र धनधान्यको नाश गरिरहेको थियो । ऊ वेश्याहरूसित अङ्गालो हाली खुलेआम घुमफिर गर्दथ्यो । उसका यी लाजमर्दा क्रियाकलापले उसका पिता, दाजुभाइ तथा कुटुम्बहरूले सल्लाह गरी उसलाई  घरबाट निकाली दिए, भातपानीबाट वञ्चित गरियो । यसरी धृष्टबुद्धि निन्दाको पात्र बन्यो । घरबाट बाहिरिएपछि उसले केही समय आफ्ना गहना र कपडा बेचेर निर्वाह गर्यो । उसँग भएका गरगहना र धन सकिएपछि वेश्या र दुष्ट स्वभावका सँगीसाथीहरूले पनि उसको साथ छोडे । अब ऊ धनको अभावमा भोक र प्यासबाट अत्यन्त दु:खित भई भौंतारिन थाल्यो । ऊसँग जीविकाको कुनै अर्को सहारा नभेटिएकाले अब ऊ चोरी गर्न थाल्यो । एक पटक सिपाहीहरूले उसलाई समाते पनि, तर राजाका कर्मचारीहरूले उसलाई इमानदार वैश्यको छोरो ठानेर खासै कारबाही नगरी थुना मुक्त गरे। यसरी सजिलै थुनाभक्त भएपछि उसले चोरी कर्मलाई निरन्तरता दियो । तर जब अर्को पटक पनि ऊ पुनः पकडाउ पर्यो, सामान्य छानबीनपछि उसलाई दण्डित गर्न राजासमक्ष उपस्थित गराईयो । राजाले उसलाई कारागारमा बन्द गरी सजाय दिने आदेश दिए । कारागारमा सिपाहीहरूले उसलाई किसिमकिसिमले यातना दिई यातना दिए । उसले असाध्यै  दु:ख पायो । सजाय समाप्त भएपछि उसलाई देश निकाला गरियो । अन्त्यमा ऊ सहरबाट बाहिरियो र वनमा लुकेर बस्न थाल्यो, प्राण धान्न अब उसले पशुपन्छी मारेर खान थाल्यो ।

केही समय पछि ऊ बाटो ढुकेर यात्रुहरूलाई लुट्ने र जङ्गली जनाबरहरूको हत्या गर्ने नृशंस सिकारी बन्नपुग्यो । ऊ धनुष बाण लिएर पशुपन्छी र वनमा पुगेका स्त्रीपुरुषलाई मार्ने र लुट्ने गरी जीविका चलाउन थाल्यो । एक दिन उसले कुनै सिकार भेटेन । भोक र प्यासबाट आक्रान्त भई आहाराको खोजीमा घुम्दै गर्दा उसले कौडिण्य ऋषिको आश्रममा पुग्यो । आश्रममा भएको धनमाल हडप गरेर भोक टार्ने उसको मनसाय थियो । त्यस समय वैशाख महिना चल्दै थियो र कौडिन्य ऋषि गंगा स्नान गरी फर्कंदै थिए । पवित्र महिना वैशाखमा ऋषिका भिजेका लुगाको छिँटा पर्नाले उसलाई केही सद्बुद्धि प्राप्त भयो । उसका मनमा भएका यावत् कलुषित भावनाहरू नष्ट भए । अब ऊ मुनिसमक्ष हात जोडेर भन्न थाल्यो - हे मुने ! मैले आफ्नो जीवनमा धेरै ठूलाठूला पापकर्म गरेको छु, तपाईंले ती पापहरूबाट मुक्त तुल्याउने सरल र साधारण अनि धनको अभावमा पनि सम्पन्न गर्न सकिने उपाय बताउनु हवस् । त्यसका दीनवचन सुनेर ऋषिले भन्नुभयो - अहिले वैशाख महिना चलिरहेको छ । यस महिनाको शुक्ल पक्षको एकादशीको विशिष्ट महत्त्व छ । त्यसैले तिमीले पनि वैशाख शुक्ल एकादशीको व्रत सम्पादन गर । उक्त एकादशीको नाम मोहिनी हो र यसको शुद्ध भावले पालना गर्दा तिम्रा सम्पूर्ण पाप नष्ट हुनेछन् । मुनिका वचन सुनेर ऊ अत्यन्त प्रसन्न भयो र ऋषिद्वारा बताइएको विधिअनुसार उसले मोहिनी एकादशीको व्रत गर्यो । हे राम ! यस व्रतको प्रभावबाट उसका सबै पाप नष्ट भए र अन्त्यमा ऊ गरुडमा चढेर विष्णुलोक गयो ।

अतः यस व्रतबाट मोह आदि सम्पूर्ण बन्धनहरू नष्ट हुन पुग्छन् । संसारमा यस व्रतभन्दा श्रेष्ठ अन्य कुनै व्रत छैन । यसको माहात्म्य  पढ़दा अथवा सुन्दा पनि एक हजार गोदानको फल प्राप्त हुन्छ ।

No comments:

Post a Comment