Monday, May 8, 2017

नृसिंह जयन्ती

भगवान् नृसिंह शक्ति एवं पराक्रमका प्रमुख देवता हुनुहुन्छ । पौराणिक आख्यान अनुसार वैशाख महिनाको शुक्ल पक्षको चतुर्दशी तिथिका दिन भक्त प्रह्लादको रक्षा गर्न भगवान् विष्णुले नृसिंहको रूपमा अवतार लिनु भएको थियो र दुष्टहरूको संहार गरी धर्मको रक्षा गर्नु भएको थियो, त्यसैले उक्त दिन भगवान् नृसिंहको जयन्तीका रूपमा मनाउने गरिन्छ । यो पर्व चान्द्र गणनाबमोजिम मनाइने भएकाले नेपाली पात्रो अनुसार प्रत्येक वर्ष वैशाख १५ गतेदेखि ज्येष्ठ १३ गते भित्रको सायंकालमा शुक्लपक्षको चतुर्दशी तिथि परेको दिन पर्दछ। 

 नृसिंह जयन्तीको कथा
नृसिंह अवतार भगवान् विष्णुका प्रमुख दसवटा अवतारहरूमध्ये एउटा हो। नृसिंह अवतार लिने क्रममा भगवान् विष्णुले आधा मनुष्य र आधा सिंहको शरीर धारण गरेर दैत्यहरूका राजा हिरण्यकशिपुको बध गर्नु भएको थियो। नृसिंहावतारका बारेमा प्रायः सबै पुराणहरूमा लेखिएको पाइन्छ ।

प्राचीन कालमा कश्यप ऋषिकी पत्नी दितिको गर्भबाट दुईजना छोरा जन्मिएको प्रसङ्गसँग नृसिंहचरित्रको कथा जोडिएको पाइन्छ । दितिका ती दुईजना छोरामध्ये एउटाको नाम हिरण्यकशिपु र अर्काको नाम हिरण्याक्ष थियो । हिरण्याक्षलाई भगवान् विष्णुले पृथ्वीको रक्षा गर्ने उद्देश्यले 'वाराह' रूप धारण गरी मार्नु भएको थियो । आफ्ना दाजुको मृत्युबाट दु:खी र क्रुद्ध भएको हिरण्यकशिपुले उक्त हत्याको प्रतिशोध साधना गर्न अजेय हुने सङ्कल्प गर्यो र धेरै वर्षसम्म कठोर तपस्या गर्यो, उसको तपस्याबाट प्रसन्न भएर ब्रह्माले उसलाई 'अजेय' हुने वरदान दिए । ब्रह्माको वरदानबाट हौसिएर उसले देवताहरूमाथि आक्रमण गर्यो र स्वर्ग कब्जा गर्यो, लोकपालहरूलाई पदच्युत गरेर स्वत: सम्पूर्ण लोकको अधिपति भयो । उसका अगाडि देवताहरू लाचार र निरूपाय भए । तिनीहरू त्यस दैत्यलाई कुनै किसिमले पराजित गर्न सक्दैनथे । बल, दम्भ र अहङ्कारले मदमत्त भएको त्यस दैत्यले सर्वसाधारण जनता र प्रजाहरूउपर समेत अत्याचार गर्न थालेको थियो ।

हिरण्यकशिपुकी पत्नीको नाम कयाधु हो । कयाधुबाट जन्मिएका चार भाइ छोरा मध्ये कान्छा छोराको नाम प्रह्लाद थियो । राक्षसी कुलमा जन्मिए पनि प्रह्लादमा तामसी स्वभाव र राक्षसहरूमा हुने कुनै पनि दुर्गुण थिएनन् र उनी भगवान् नारायणका भक्त थिए । उनी पिताका अधार्मिक क्रियाकलाप र अत्याचारको विरोध गर्दथे । भगवद्भक्तिबाट प्रह्लादको चित्त हटाउन र उनी पनि आँफूजस्तै क्रूर तथा नृशंस होऊन् भन्ने कामनाले हिरण्यकशिपुले ठूलो प्रयास गर्यो । सम्झाउने, फकाउने आदि उपायबाट छोरोलाई मोड्न नसकेपछि उसले नीति र मर्यादाविपरीत अनेकौं अनैतिक उपायहरूद्वारा प्रह्लादलाई आफ्नो वशमा ल्याउने प्रयत्न गर्यो । तर पनि प्रह्लाद आफ्नो मार्गबाट विचलित भएनन् । त्यसपछि उसले यस्तो छोरो बाँचेर आफ्नो प्रतिद्वन्द्वीको भक्त हुनुभन्दा त मरेकै वेस ठानेर प्रह्लादलाई हत्या गर्ने तानबाना रच्न थाल्यो । हलाहल नामको विष पान गरायो, पर्वत शिखरमा लगेर पहराबाट झारिदियो, आगोले डढाउन नसक्ने वरदान पाएकी बहिनी होलिकाका काखमा राखेर डँढेलो लागेको वनमा पुर्यायो । यस्ता अनेकौं षड्यन्त्र र प्रयत्न सबै निरर्थक भए । भगवान् विष्णुको कृपाले प्रह्लाद प्रत्येक सङ्कटबाट निवृत्त हुने गर्थे । छोराका क्रियाकलाप विष्णुमय नै हुने गर्दथे ।

एक दिन हिरण्यकशिपुले दिक्क मान्दै प्रह्लादसित सोध्यो - 'तेरा भगवान् कहाँ छन्?' प्रह्लादले विनम्रतापूर्वक उत्तर दिए - 'प्रभु त सर्वत्र हुनुहुन्छ, प्रत्येक ठाउँमा व्याप्त हुनुहुन्छ ।' छोराका जवाफबाट विचलित र क्रुद्ध हुँदै उसले रिसले चुर हुँदै फेरि सोध्यो - 'के तेरा भगवान् यो खाँवामा पनि छन् त?' प्रह्लादले समान भावमा झट्ट उत्तर दिए -' हो, ईश्वर यस खम्बाभित्र पनि हुनुहुन्छ ।' क्रोधान्ध हिरण्यकशिपुले खाँवोमा तरबार प्रहार गर्यो, अचानक स्तम्भलाई चिर्दै भगवान् नृसिंह प्रकट हुनुभयो र हिरण्यकशिपुलाई समातेर आफ्ना तिघ्रामा राखेर आफ्ना तिखातिखा नङ्ग्राले त्यसका छातीलाई फोडेर वध गर्नु भयो । नृसिंहले प्रह्लादको भक्तिबाट प्रसन्न भएर 'म अर्द्ध मानव र अर्द्ध सिंहको स्वरूप लिई प्रकट भएको आजको दिन जसकसैले मेरो व्रत आराधना गर्दछ, उसले समस्त कष्टबाट मुक्ति पाई पापमुक्त भई परमधामलाई प्राप्त गर्दछ' भन्नुभयो । अत: यस दिन 'नृसिंह जयन्ती' भव्य उत्सवका रूपमा मनाउन थालिएको हो । 

नृसिंह जयन्तीको पूजाविधान
नृसिंह जयन्तीका दिन व्रत उपवास र पूजा अर्चना गर्न उक्त दिन बिहानै ब्रह्ममुहूर्तमा उठेर स्नानादिबाट निवृत्त भई स्वच्छ वस्त्र धारण गरी पूजास्थल वा मण्डपलाई लिपपोत गरी चोखो तुल्याई दियो, कलश र गणेशको स्थापनपूजन गरेपछि भगवान् नृसिंह र लक्ष्मीको प्रतिमा स्थापना गर्नुपर्दछ । त्यस प्रतिमालाई वेदमन्त्रद्वारा प्राणप्रतिष्ठा गरी षोडशोपचार पद्धतिले पूजा गर्नु पर्दछ । लक्ष्मीनारायणको पूजनपद्धतिमा उल्लेख भए बमोजिम आद्योपान्त अङ्गपूजा गर्नु पर्दछ । भगवान् नृसिंहको पूजा गर्न फलफूल, पञ्चमेवा, कुमकुम, केसरी, नरिवल, अक्षता, पीताम्बर, गङ्गाजल, कालो तिल, पञ्चगव्य, चरु(हवन सामग्री) आदिको आवश्यकता पर्दछ । पूजाको आदि, मध्य र अन्त्यमा भगवान् नृसिंहलाई प्रसन्न तुल्याउन एकान्तमा कुशको आसनमा बसी रुद्राक्ष वा तुलसीको माला लिएर 'नृसिंह गायत्री मन्त्र' जाप गर्नुपर्दछ ।  यस दिन व्रत लिने भक्तले सामर्थ्य अनुसार तिल, स्वर्ण र वस्त्रादि दान गर्नु पर्दछ । यसरी विधिपूर्वक व्रत सम्पादन गर्ने व्यक्तिलाई यस सांसारिक जीवनयात्राका क्रममा आउने हरेक समस्याबाट भगवान् नृसिंहले रक्षा गर्नुहुन्छ र उसका समस्त मनोकामना पूर्ण हुन्छन्, त्यस्तै लौकिक दुःख, कष्ट र सङ्कटबाट मुक्ति प्राप्त गर्दछ र आफ्ना समस्त मनोकाङ्क्षा पूर्ण गरी पृथ्वीतलका वाञ्छित सुख भोग गरी मृत्युपछि उत्तम लोक प्राप्त गर्दछ । 

नृसिंह मन्त्र
ॐ उग्रं वीरं महाविष्णुं ज्वलन्तं सर्वतोमुखम् ।
नृसिंहं भीषणं भद्रं मृत्युमृत्युं नमाम्यहम् ।
ॐ नृम् नृम् नृम् नरसिंहाय नमः ।

यस मन्त्रको जाप गर्नाले समस्त दुखको निवारण भई भगवान् नृसिंहको कृपा प्राप्त हुन्छ।

अब नृसिंह कवच पाठ गर्न यहाँ क्लिक् गर्नुहोस् ।

No comments:

Post a Comment