Monday, May 1, 2017

गङ्गा उत्पत्तिको पौराणिक कथा

गङ्गाको उत्पत्तिसम्बद्ध मुख्य कथा वाल्मीकिले रामायणमा उल्लेख गरेका छन् । श्रीरामको जिज्ञासा शान्त पार्दै ऋषि विश्वामित्रले यो आख्यान सुनाएका हुन् । विश्वामित्रले गङ्गाको जन्मवृत्तान्त सुनाउँदै श्रीरामलाई बताए - 'पर्वतराज हिमालयका दुईवटी अत्यन्त रूपवती, लावण्यमयी एवं सर्वगुण सम्पन्न छोरीहरू थिए । सुमेरु पर्वतकी छोरी मैना यी दुबै छोरीकी आमा थिइन् । हिमालयकी जेठी छोरीको नाम गङ्गा र कान्छी छोरीको नाम उमा थियो । गङ्गा अत्यन्त प्रभावशाली र असाधारण दैवी गुणहरूबाट सम्पन्न थिइन् । उनी कुनै बन्धनलाई स्वीकार गर्दिन थिइन् । उनको स्वच्छन्द प्रवृत्ति थियो । उनको यो असामान्य बानीब्यहोरा र असाधारण प्रतिभाबाट प्रभावित भएर देवताहरूले उनलाई स्वर्गमा लिई जाने विचार गरे र हिमालयसँग स्वीकृति लिई गङ्गालाई पृथ्वीबाट स्वर्गमा लगियो । पर्वतराज हिमालयकी कान्छी छोरी उमाको तपस्वी स्वभाव थियो । उनले कठोर र असाधारण तपस्या गरी भगवान् महादेवलाई पतिका रूपमा प्राप्त गरिन् ।'

विश्वामित्रका यी कुरा सुनेपछि श्रीरामले विनम्र भई आफ्ना जिज्ञासा राखे - 'हे भगवन् ! गङ्गालाई पृथ्वीलोकबाट सुरलोकमा लगेपछि पुनः उनी कसरी यहाँ फिर्ता आइन् त ? अनि उनलाई किन त्रिपथगा भनिएको हो ? मेरा उत्कण्ठालाई शान्त बनाउनु होस् ।' ऋषि विश्वामित्रले बताउँदा भए - 'महादेवको विवाह त उमाका साथमा सम्पन्न भयो, तर सयवर्षसम्म उनीहरूबाट कुनै सन्तानको जन्म भएको थिएन । एक पटक शिवले सन्तान उत्पन्न गर्ने विचार गरे । ब्रह्मा र देवताहरूमा पनि शिवेच्छाको जानकारी भयो । आशुतोष भगवान् शिवको वीर्यतेजलाई कसले सहन गर्न सक्ला भन्ने विषयमा देवलोकमा चियोचर्चो हुनथाल्यो । यसै प्रसङ्गमा अग्निले शिवको वीर्यको तेजलाई धारण गर्ने इच्छा व्यक्त गरे । परिणामतः अग्निसमान तेजस्वी शिवपुत्र कार्तिकेयको जन्म भयो । देवताहरूको यस षड्यन्त्रका कारण उमाबाट सन्तानको उत्पत्ति हुनमा विलम्ब र बाधा पुग्यो । उनी देवताहरूसँग क्रुद्ध भईन् र देवताहरूलाई अबउप्रान्त तिनले पनि सन्तान उत्पादन गर्न नसकून् भनी श्राप दिइन् । यसबीच सुरलोकमा विचरण गर्दै गरेकी गङ्गाका साथमा उमाको भेट भयो । गङ्गाले लामो समयदेखि स्वर्गमा बस्नु परेकाले नियास्रो लागेको व्यथा पोख्दै उमालाई भनिन् - 'मलाई मातृभूमि पृथ्वीमा फिर्ता जाने इच्छा छ' । उमाले दिदी गङ्गालाई कुनै उपाय गरी उनलाई जन्मभूमिमा लिएर जाने प्रबन्ध गर्ने आश्वासन दिइन् ।

विश्वामित्रले कथाप्रसङ्गलाई अघि बढाउँदै पुनः भन्नथाले - 'हे राम ! तिम्रो जन्मभूमि अयोध्यापुरीमा धेरै पहिले सगर नामका एकजना राजा थिए । सुरुमा उनका सन्तान थिएनन् । सगरकी पटरानी केशिनी विदर्भ प्रान्तका राजाकी छोरी थिइन्, उनी सुन्दर, धर्मात्मा र सत्यपरायण थिइन् । सगरकी अर्की रानी पनि थिइन् । तिनको नाम सुमति थियो । उनी अरिष्टनेमिकी छोरी तथा गरुडकी बहिनी थिइन् । दुबै रानीलाई साथमा लिई राजा सगर हिमालयमा रहेको भृगुप्रस्रवण नामक प्रान्तमा गएर तपस्या गर्न थाले । उनको तपस्याबाट प्रसन्न भएर महर्षि भृगुले उनलाई धेरै भाइ पुत्रहरू उत्पन्न हुने वरदान दिए, उनको सर्त थियो - दुबैमध्ये एउटी रानीबाट वंशवृद्धि हुने एउटामात्र पुत्र जन्मने छ, अनि अर्की रानीले बल र वीर्यबाट सुसम्पन्न साठी हजार पुत्र जन्मने छन् । ऋषि भृगुले भने - अब कुन पत्नीले एउटामात्र पुत्र पाउने र कुनले साठी हजार पुत्र उत्पादन गर्ने भन्ने निर्णय तपार्इंहरूबाट नै हुनुपर्छ । अन्ततः वंश बढाउने छोराका निमित्त जेठी रानी केशिनी तैयार भइन् भने कान्छी सुमतिले साठी हजार छोरा पाउने इच्छा व्यक्त गरिन् ।

समुचित समय आएपछि रानी केशिनीले असमञ्जस नाम गरेको छोरो जन्माइन् भने रानी सुमतिको गर्भबाट एउटा ढुङ्ग्रोजस्तो डिम्ब उत्पन्न भयो । त्यसलाई फुटाउँदा त्यसबाट ससाना आकारका साठी हजार मानवाकृति उत्पन्न भए । राजाले ती सबै लघु आकारका मानवाकृतिलाई एउटा घिउको घडामा राखी यत्नपूर्वक पालनपोषण गरे । कालचक्र बित्दै जाँदा ती सबै पूर्णाकृतिका मानव बने । दुबै रानीले पाएका पुत्रहरू युवावयमा प्रवेश गरे । सगरको जेठो छोरो असमञ्जस दुराचारी स्वभावको थियो । ऊ नगरका बालकहरूलाई सरयू नदीमा मिल्काउँथ्यो र डुब्दै गरेको दृश्य हेरेर आनन्द मान्ने गर्दथ्यो । पुत्रको यस्तो दुराचारी प्रवृत्ति देखेर दुःखित भएका सगरले उसलाई देशनिकाला गरिदिए । असमञ्जसका अंशुमान् नाम गरेका एकजना छोरा थिए । अंशुमान् अत्यन्त सदाचारी र पराक्रमी थिए । यसै बीच सगरले अश्वमेध यज्ञ सम्पादन गर्ने विचार गरे ।

राजा सगरले हिमालय एवं विन्ध्याचलका बीचको हरित भूमिमा एउटा विशाल यज्ञ मण्डप निर्माण गराए । त्यसपछि अश्वमेघ यज्ञका निमित्त श्यामकर्ण घोडालाई मन्त्रिएर छाडियो । त्यसको रक्षाका निमित्त राजाले आफ्ना पराक्रमी नाति अंशुमानको नेतृत्वमा सेनालाई घोडाका पछिपछि जाने आदेश दिए । अश्वमेध यज्ञ सफल भएमा आफ्नो पद र प्रतिष्ठामा आँच आउँछ कि भन्ने आशङ्काले स्वर्गका राजा इन्द्रले एउटा राक्षसको रूप धारण गरी त्यस घोडाको चोरी गरे । घोडा हराएको सूचना पाएपछि राजा सगरले आफ्ना साठी हजार पुत्रहरूलाई घोडा पत्ता लगाई फिर्ता ल्याउन र चोरी गर्नेलाई दण्डित गर्न आदेश दिए । सगरपुत्रहरूले सारा भूमण्डलमा खोजी गरे, तर घोडा भेटिएन । कतै यसलाई भूमिगत पो बनाइयो कि भन्ने शङ्काले तिनले समस्त पृथ्वीलाई खन्न र खोस्रन थाले । परिणामतः पृथ्वीमा ठूलठूला खाडल र खोपिल्टा बन्न गए । पछि ती खाल्डामा पानीको दह बन्दा तिनको नाम समुद्र रहन गयो । सगरका पुत्रले खनेर खाडल बनेकाले समुद्रको नाम सागर पनि रहन गयो । यसरी पृथ्वीमा जथाभावी खन्दा र खोस्रँदा त्यहाँ रहेका धेरै मनुष्य र अन्य प्राणिको मृत्यु भएको थियो । पृथ्वीलाई खन्दै जाँदा सगरका छोराहरू पाताललोकमा पुगे । तिनका यस्ता नृशंस कृत्य देखेर देवताहरूले ब्रह्माजीसमक्ष गुनासो गरे । ब्रह्माले 'वास्तव यी राजकुमारहरूले क्रोध र मातमा अन्धो भएर यस्ता कृत्य गरिरहेका छन् । पृथ्वीको रक्षाको अभिभारा महर्षि कपिलमुनिमा रहेकाले अब उनले नै केही उपाय गरी यिनलाई रोक्नेछन्' भनी देवताहरूलाई आश्वस्त तुल्याए । समस्त पृथ्वीलाई खन्दा पनि उक्त घोडा र त्यसलाई हरण गर्ने व्यक्तिको पत्तो लागेन । निराश भई ती अयोध्यापुरीमा फर्किए र खोजी अभियानका सारा विवरण सुनाए । यज्ञ सम्पन्न गर्न विघ्न आएकाले सगरले रिसले चुर्मुरिंदै छोराहरूलाई पुनः आदेश दिए - अब अश्वमेधको घोडा खोज्न पाताललोकमा प्रवेश गर । अब राजकुमारहरूले पातालतर्फ प्रस्थान गरे । घोडाको खोजीमा तिनीहरू कपिल मुनिको आश्रममा पुगे । ऋषि समाधिमा आँखा चिम्लिएर बसेका देखिन्थे, तिनकै आश्रमछेउमा यज्ञको घोडालाई किलोमा बाधिएको पनि देखियो ।  राजकुमारहरूले कपिल मुनिलाई नै घोडाको चोर ठाने । सुरुमा तिनले ऋषिलाई अनेक किसिमले गाली गरे, हप्काए । तर आँखा चिम्लिएर ध्यानमा बसेका ऋषिले तिनका दुर्वचनहरू सुन्नु परेन । आफूहरूले नानाभाँतीले गालीगलौज गर्दा समेत मुनिले वास्ता नगरेको ठानी सगरपुत्रहरू उनलाई मार्न भनी तम्सिए । सगरपुत्रका यी कुकृत्यले कपिलदेवको समाधि भङ्ग भयो । उनले क्रुद्ध भई आफ्ना योगबलले ती राजकुमारहरूलाई डढाएर खरानी बनाई दिए ।

निकै दिनसम्म महाराज सगरले घोडा खोज्न गएका छोराहरूका बारेमा कुनै सूचना र अत्तोपत्तो पाएनन् । एक दिन उनले नाति अंशुमानलाई बोलाएर काकाहरू र यज्ञको घोडाको खोजी गर्नु भनी अह्राए । महावीर अंशुमान् शस्त्रास्त्रबाट सुसज्जित भई काकाहरूले खनी खोस्री तैयार गरेको बाटैबाटो पाताललोकमा पुगे । उनले बाटामा भेटिएका धार्मिक स्थल, आश्रम, तपस्वीजन सबैलाई यथायोग्य पूजादि सम्मान गर्दै सोधखोज गरी त्यस ठाउँमा पुगे, जहाँ उनका काकाहरूको मृतशरीरको खरानी र यज्ञको घोडा चरिरहेको थियो । उनलाई आफ्ना बलशाली काकाहरूको खरानी देख्दा असाध्यै दुःख लाग्यो र तर्पण गर्नुपर्यो भनी विचार गर्दा त्यहाँ कतै पनि पानीको स्रोत फेला पार्न सकेनन् । अंशुमानले त्यसैवेला कतैको यात्रामा गगनतलमा उडीरहेका गरुडलाई देखे । गरुड तिनै मृत काकाहरूका मामा थिए । उनले गरुडलाई सारा वृत्तान्त सुनाउँदै मेरा काकाहरूको मृत्युको कारण के हो र अब काकाहरूलाई तिलाञ्जलि प्रदान गर्नका निमित्त नजिकै कुनै पानीको स्रोत भए बताउन अनुराध गरे । गरुडले उनका काकाहरूले कपिल मुनिप्रति गरेको दुर्व्यवहारका कारण प्राण गुमाउनु परेको कुरा बताए र यिनीहरू अलौकिक शक्ति भएका दिव्यपुरुषद्वारा भस्म भएका हुन्, त्यसैले लौकिक जलले तर्पण गरेर यिनीहरूको मुक्ति हुँदैन भन्ने कुरा पनि सुनाए । अंशुमानले काकाहरूको मुक्तिको उपाय बताइदिन पुनः अनुरोध गरेपछि गरुडले केवल हिमालयकी ज्येष्ठ पुत्री गङ्गाको जलको स्पर्शबाटमात्र तिम्रा काकाहरूको उद्धार हुनसक्ने कुरो बताउँदै अहिले तिमी घोडा लिएर जाऊ र आफ्ना पितामहको यज्ञ पूर्ण गर भनी आग्रह पनि गर्दा भए । गरुडको आज्ञानुसार अंशुमान् घोडाका साथमा अयोध्या फर्किए र पितामहलाई समस्त वृत्तान्त सुनाए । महाराज सगरले दुःखित हुँदै यज्ञ पूर्ण गरे । सगर आफ्ना मृत पुत्रहरूको उद्धारका लागि चिन्तित थिए, तर जीवनकालभरि उनले गङ्गालाई स्वर्गबाट पृथ्वीतलमा झार्ने कुनै उपाय पत्ता लगाउन सकेनन् ।

केही बेर विश्राम गरी पुनः ऋषि विश्वामित्र भन्न थाले - महाराज सगरको  देहान्तपछि अंशुमानले न्यायपूर्वक शासनभार सम्हाले । उनको दिलीप नाम गरेको छोरो भयो । छोरो वयस्क भएपछि उसलाई राज्यभार सुम्पिएर उनी स्वर्गमा रहेकी गङ्गालाई प्रसन्न तुल्याउन हिमालयका कन्दरामा गई तपस्या गर्नथाले । उनले आजीवन तपस्या गर्दा पनि उनी सफल हुन सकेनन् । राजा दिलीपको भगीरथ नामको एउटा धर्मनिष्ठ पुत्र जन्मियो । दिलीपले पनि भगीरथ ठूलो भएपछि उसलाई राज्यभार सुम्पिएर  पिताको प्रयत्नलाई सार्थक बनाउन तपस्या गर्न थाले । तर उनले पनि चिताएको फल पाउन सकेनन् । गङ्गालाई पृथ्वीतलमा ल्याई पितृहरूको उद्धार गर्ने इच्छा भगीरथमा पनि थियो । उनी प्रजावत्सल राजा थिए, तर उनका कुनै सन्तान थिएनन् । उनले आफ्नो राज्यभार मन्त्रीहरूमा सुम्पिएर गङ्गावतरणका लागि गोकर्ण नामक तीर्थस्थलमा गई तपस्या गरे । बल्ल चारपुस्तासम्मको निरन्तर प्रयास र भगीरथको अभूतपूर्व तपस्याबाट प्रसन्न भएर ब्रह्मा उपस्थित भई वरदान प्राप्त गर्न आग्रह गर्दा भए । भगीरथले ब्रह्मासमक्ष अनुरोध गरे - हे प्रभो! यदि हजुर साँच्चिकै मसँग प्रसन्न हुनुहुन्छ भने मेरा मृत पितृहरू जो राजा सगरका पुत्र हुन्, तिनलाई गङ्गाको पावन जलको स्पर्श प्राप्त होस् र तिनको उद्धार होस् । त्यसबाहेक मलाई सन्तानप्राप्त हुने आशीर्वादसमेत प्रदान गर्नुहवस् । ब्रह्माले सन्तानप्राप्त हुने तिम्रो मनोरथ त शीघ्र पूर्ण हुनेछ, तर तिमीले मागेको पहिलो वरदान पूर्ण गर्न गाह्रो छ । कारण के हो भने स्वर्गबाट पृथ्वीमा झर्ने गङ्गाको वेग कसैले थेग्न सक्दैन । पृथ्वी भासिएर पाताललोकमा दबिने खतरा छ । गङ्गाको उक्त वेगलाई सम्हाल्न सक्ने सामर्थ्य केवल महादेवमा मात्र छ, त्यसैले पहिले महादेवको स्वीकृति लिएर आऊ, अनिमात्र गङ्गालाई तिमीले पृथ्वीमा झार्न सक्नेछौ । यति भनेर ब्रह्मा आफ्ना लोकमा जाँदा भए ।

भगीरथले नीच मारेनन्, उनी प्रयत्नरत रही रहे । अब उनले खुट्टाको बुढीऔंलामा शरीर अड्याएर उभीउभी लगातार एक वर्षसम्म शिवजीको स्तुति गरे । यस अवधिभर उनले श्वासक्रियाका लागि आवश्यक वायुमात्र ग्रहण गरे, अन्नजलादि ग्रहण गरेनन् । अन्त्यमा भगीरथको यस्तो महान् भक्तिबाट प्रसन्न भई महादेवले भगीरथलाई दर्शन दिई भन्दा भए - हे भक्तश्रेष्ठ! म तिम्रो मनोकामना पूर्ण गर्न गङ्गालाई आफ्नो शिरमा धारण गर्नेछु । यसरी भगीरथको अकाट्य प्रयासले स्वर्गमा रहेकी गङ्गाले पृथ्वीतलमा झर्नुपर्यो । उनले स्वर्गबाट सँधैंका लागि पृथ्वीमा आउन चाहेकी थिइनन् । त्यसैले उनले आफ्नो प्रचण्ड वेगले शिवलाई समेत बगाएर पाताललोक लिएर जाने विचार गरिन् । अन्ततः भयानक वेगका साथमा गङ्गा शिवको शिरमा अवतरित भइन् । गङ्गाको वेगबाटै शिवले उनको अहङ्कारलाई थाहा पाए । उनले आफ्ना जटामा नै गङ्गालाई अल्झाएर निकै वर्षसम्म अलप गराइदिए । जति कोसिस गरे पनि गङ्गा शिवजटाबाट बाहिर निस्कन असमर्थ भईन् । भगीरथ फेरि शिवजीको स्तुति गर्न थाले । भगीरथको पुनर्प्रयासबाट प्रसन्न भएका शङ्करले गङ्गाको धारालाई हिमालय पर्वतमा रहेको बिन्दुसर नाम गरेको तीर्थमा छाडिदिए । शिवजटाबाट उन्मुक्त हुनासाथ गङ्गाका धारा सात भागमा विभाजित भए । ह्लादिनी, पावनी र नलिनी नाम गरेक गङ्गाका तीन वटा धारा पूर्व दिशामा प्रवाहित भए । सुचक्षु, सीता र सिन्धु नामका तीनवटा धारा पश्चिमतर्फ लागे । सातौं धारा भगीरथको अनुसरण गर्दै पछिपछि लाग्दो भयो । भगीरथ जताजता जान्थे, गङ्गा पनि उतैउतै जान्थिन् । ठाउँठाउँमा देवता, यक्ष, किन्नर, ऋषिमुनि र सज्जनहरू गङ्गाको स्वागतार्थ उपस्थित हुने गर्दथे, जजसले गङ्गाको स्पर्श गर्ने अनुकूलता पाउँथे ती भवबन्धनबाट मुक्त हुने गर्दथे । जाँदाजाँदै गङ्गा त्यस ठाउँमा पुगिन्, जहाँ ऋषि जह्नु एउटा यज्ञको आयोजना गरिरहेका थिए ।  गङ्गाले आफ्नो वेगले उनको यज्ञशालाका सम्पूर्ण सामग्री बगाउन आँटिन्, ऋषि क्रोधित भए र उनले गङ्गाको समस्त जललाई खाइदिए । यस्तो दृश्य देखेर राजा भगीरथका साथमा उपस्थित समस्त ऋषिगण विस्मित भए र ऋषि जह्नुलाई खुसी पार्न अनेक तरिकाले स्तुति गर्नथाले । तिनको स्तुतिबाट प्रसन्न भएर जह्नु ऋषिले गङ्गालाई आफ्ना कानबाट बाहिर निकाले र गङ्गालाई आफ्नी छोरीका रूपमा स्वीकार गरे । त्यसपछि उनको नाम जाह्नवी रहन गयो । यसपछि पनि उनी भगीरथका पछि लाग्दै समुद्रसम्म पुगीन् र त्यहाँबाट सगरका पुत्रहरूको उद्धार गर्न रसातलको यात्रा गर्दी भइन् । उनको जलको स्पर्श प्राप्त गर्नासाथ कपिलमुनिको क्रोधाग्निले भस्मीभूत भएका सगरका छोराहरू निष्पाप भई मुक्त हुनपुगे । यसरी गङ्गाका तीन वटा नाम प्रसिद्ध भए - तीन वटा मार्ग अवलम्बन गरेकाले उनी त्रिपथगा नामले प्रसिद्ध भइन्, भगीरथको निरन्तरको प्रयासले अवतीर्ण भएकी हुँदा भागीरथी नाम प्रख्यात भयो र जह्नु ऋषिकी पुत्री भएकी हुँदा जाह्ववी नाम रहन गयो ।

No comments:

Post a Comment