व्यामोहतस्तदितराणि तृणाय मेने ।
अस्मद्गुरोर्भगवतोऽस्य दयैकसिन्धोः
रामानुजस्य चरणौ शरणं प्रपद्ये ॥
जगद्गुरु रामानुजाचार्य वैष्णव सम्प्रदायका प्रमुख आचार्यहरूमध्ये एक जना विशिष्ट आचार्य मानिन्छन् । यिनकै शिष्यपरम्परामा रामानन्द, कबीर र सुरदास जस्ता अन्य प्रसिद्ध आचार्यहरूको गणना हुने गरिन्छ । रामानुजाचार्यले वेदान्त दर्शनमा आधारित आफ्नो छुट्टै नवीनतम दार्शनिक सिद्धान्त विशिष्टाद्वैतको रचना गरेका हुन् । रामानुजाचार्यले वेदान्तको उक्त सिद्धान्तबाहेक विक्रमको सातौंदेखि दसौं शताब्दीका माझमा दक्षिण भारतमा प्रचलित रहस्यवादी र भक्तिमार्गी अलवार (आचार्य) र सन्तहरूको भक्तिदर्शन र पाञ्चरात्र पद्धतिलाई आफ्नो विचारको मुख्य आधार बनाएका थिए ।
वि. सं. १०७३ को वैशाख शुक्ल पञ्चमी तिथिका दिन दक्षिण भारतको तिरुकुदुर भन्ने गाउँमा रामानुजको जन्म भएको हो । प्रारम्भिक शिक्षादीक्षा घरैमा प्राप्त गरी यिनले यादवप्रकाश गुरुका सान्निध्यमा वेदाध्ययन गरेका हुन् । पछि यिनले अलवार यामुनाचार्यबाट दीक्षा ग्रहण गरी श्रीसम्प्रदायमा प्रवेश गरे । उनी यामुनाचार्यका मुख्य शिष्यमध्ये पर्दथे । गुरु यामुनाचार्यको इच्छानुसार यिनले ब्रह्मसूत्र, विष्णुसहस्रनाम र दिव्यप्रबन्धको टीका लेख्ने सङ्कल्प गरेका रामानुजले त्यसपछि गृहस्थाश्रम त्याग गरी श्रीरङ्गमका आचार्य यतिराजबाट सन्न्यास अाश्रमको दीक्षा ग्रहण गरेका थिए ।
तात्कालिक मैसूर प्रान्त हालको तमिलनाडु प्रान्तमा पर्ने श्रीरङ्गमबाट पैदल यात्रा गरी रामानुज स्वामी उत्तराखण्डको नेपाल देशमा पर्ने मुक्तिक्षेत्रको शालग्राम क्षेत्रमा अाएर बाह्र वर्षसम्म साधना गरेकाे बताइन्छ । उक्त अवधिमा श्रीसम्प्रदायको प्रचारप्रसारका अतिरिक्त ब्रह्मसूत्र, विष्णुसहस्रनाम र दिव्यप्रबन्धको भाष्य लेख्ने गुरुअाज्ञालार्इ पूर्णता प्रदान गर्ने काम सम्पन्न भयो । त्यसपछि जगद्गुरु रामानुजाचार्यले समस्त भारतवर्षको पैदल यात्रा गरी वैष्णव धर्मको प्रचारप्रसार गरेका थिए । वि. सं. ११९३ मा रामानुज स्वामीले सांसारिक नश्वर देह त्यागी वैकुण्ठ प्रस्थान गरी भगवद्सान्निध्य प्राप्त गरे । शालग्राम क्षेत्रमा रचना गरिएका तिनै तीनवटा भाष्यहरू (ब्रह्मसूत्रको भाष्य, श्रीभाष्य र वेदार्थसङ्ग्रह) नै स्वामी रामानुजका उपलब्ध मूल ग्रन्थहरू हुन् ।
विशिष्टाद्वैत दर्शन :
स्वामी रामानुजाचार्यको विशिष्टाद्वैत दर्शनमा सत्ता अथवा 'परमसत्'का तीनवटा तह छन्, ती हुन् - ब्रह्म अर्थात ईश्वर, चित् अर्थात आत्मा र अचित् अर्थात प्रकृति । वस्तुतः यी चित् अर्थात् आत्मतत्त्व र अचित् अर्थात् प्रकृतितत्त्व ब्रह्म अथवा ईश्वरभन्दा पृथक् वा फरक छैनन् । बरु यिनीहरू विशिष्ट ढङ्गले ब्रह्मकै स्वरूप हुन् र यी दुबै ब्रह्म अर्थात् ईश्वरमा आधारित छन् । यही स्वामी रामानुजाचार्यको विशिष्टाद्वैत सिद्धान्तको सार तत्त्व हो । जसरी शरीर र आत्मा फरक हुन्, तर कार्यभावले पृथक् मान्न सकिंदैन । किनभने आत्माको उद्देश्यपूर्तिका लागि शरीरले कार्य सम्पादन गर्दछ, त्यसरी नै ब्रह्म वा ईश्वरभन्दा पृथक् चित् र अचित् तत्त्वको कुनै अस्तित्व वा सत्ता स्वीकार गर्न सकिंदैन । ती ब्रह्म वा ईश्वरको शरीर हुन् भन्दा हुन्छ र त्यसरी नै ब्रह्म वा ईश्वर चित् र अचित् दुबै तत्त्वको अात्मासमान हो ।
भक्तिको तात्पर्य :
रामानुज स्वामीको मतमा भक्तिको अर्थ पूजा, पाठ, कीर्तन वा भजन होइन, भक्ति भनेको त ध्यान र प्रार्थना हो । सामाजिक परिप्रेक्ष्यमा स्वामी रामानुजाचार्यले भक्तिलार्इ जाति र वर्गबाट अलग्ग सर्वग्राह्य मानेकाे पाइन्छ ।
No comments:
Post a Comment