Friday, April 28, 2017

अक्षय तृतीया

सनातन हिन्दु धर्मका शास्त्रहरुमा वर्णन गरिए अनुसार एक वर्षमा कतिपय विशेष योगहरू सिर्जना हुने गर्दछन् ।  ती मध्ये एउटा महायोगको नाम हो - अक्षय तृतीया (Akshaya Trirtiya) । यो महायोग वर्षमा केवल एक पटकमात्र पर्दछ । ज्योतिषशास्त्रअनुसार यस दिनमा गरिएका सबै सत्कर्महरुको अक्षय पुण्य प्राप्त हुन्छ । वर्षको सबैभन्दा पवित्र दिन हुनाले अक्षय तृतीयालाई  'विघ्नविनाशक दिन' पनि भनिन्छ । वसन्त ऋतुमा पर्ने गर्मी महिनाको यस दिन भगवानको पूजा, आराधना र  दान गर्ने तथा सातुसर्बत खुवाउने एवं खानेपानीको व्यवस्था गर्ने जस्ता काम सुस्वास्थ्य र परोपकारका दृष्टिबाट उपयोगी र महत्त्वपूर्ण मानिन्छ ।

हिन्दु कालगणनाअनुसार चार स्वयंसिद्ध मुहूर्तहरु छन्, तीमध्ये एउटा हो 'अक्षय तृतीया'। बैशाख महिनाको शुक्ल पक्षको तृतीया तिथिलाई नै अक्षय तृतीया भनिन्छ । अक्षयको अर्थ हुन्छ कहिल्यै क्षय भएर नजाने, स्थायी र दीर्घकालिक।  पौराणिक कथाअनुसार विष्णुले परशुराम अवतार लिएकाले हुनाले आजको दिनलाई परशुराम जयन्तीका रुपमा पनि मनाइन्छ ।  परशुरामलाई विष्णुका दशवटा मुख्यमुख्य अवतारमध्ये एक अवतारका रूपमा लिइन्छ । उनी अष्टचिरञ्जीवीमध्ये एक हुन्।  उनको आयुको कहिल्यै पनि नाश भएन, त्यसैले पनि यस तिथिलाई चिरन्जीवी तिथि  अर्थात् अक्षय तृतीया भनिएको हो । युगगणनामा सत्य, त्रेता, द्वापर र कलियुगको चर्चा हुन्छ, ती चार युगहरुमध्ये त्रेता युगको थालनी पनि यसै अक्षय तृतीयाबाट भएको हो । त्यसैले यस तिथिलाई  'युगादितिथि' पनि भनिन्छ । भारतवर्षका चार धामहरुमध्ये उत्तराखण्डमा पर्ने पवित्र धाम बद्रीनाथधामको ढोका यसै दिन अर्थात अक्षय तृतीया तिथिकै दिन खोलिन्छ । भनिन्छ, यस शुभ तिथिमा गरिएका दान पूजन हवन दक्षिणा या कुनै पुण्य कार्य अक्षय फल प्रदान गर्ने किसिमका हुन्छन् ।

अक्षय तृतीया एउटा स्वयंसिद्ध मुहूर्त पनि हो । यो कुनैपनि शुभ कार्य गर्नका लागि सबैभन्दा राम्रो तिथि हो । वेदव्यासले यसै दिन महाभारतको रचना गर्न सुरु गरेका थिए । कुनै पनि शुभ वा मांगलिक कार्य यस दिन सम्पन्न गर्न सकिन्छ । भगवान नरनारायण हयगृव एवं परशुरामको जन्म यसै तिथिमा भएको थियो । अक्षय तृतीयाका दिन रोहिणी नक्षत्रको संयोग पर्नु अत्युत्तम मानिन्छ र रोहिणी र तृतीयाको संयोग परेन भने दुष्टहरुको बलबृद्धि हुन्छ भन्ने लोकमान्यता छ। यस दिन जलले भरिएको कलश, जुत्ता, गाई, भूमि र स्वर्णपात्रको दान गर्ने प्रचलन छ । । आफ्ना ज्ञातअज्ञात पितृहरूले अक्षय पुण्य प्राप्त गरून् भन्ने कामनाका साथ यस तिथिमा पितृतर्पण पनि गरिन्छ । प्रायः घरघरमा वैशाख शुक्लपक्ष तृतीयाका दिन सातु र सर्बत दान गर्ने प्रचलन छ । दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सख्खर र मिस्री पानीमा मिसाएर औषधीय गुणले युक्त सर्बत बनाई जौको सातुका साथमा यस तिथिका दिन दान गर्ने चलन छ । आज बुढाबुढीलाई छाता, लौरो र कपडाको जुत्ता दान गर्ने तथा गच्छे भए गाई, जमिन, अन्न र सुन पनि सत्पात्रलाई दान दिइने गरिन्छ । यसै दिन कैलाशवासी महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको विश्वास गरिन्छ । शास्त्रीय विधानअनुसार आज दियो कलश र गणेशलाई पूजी कलसमाथि अष्टदल लेखेको तामाको थाली राखेर त्यस अष्टदलमा भगवान् नारायणको प्रतिष्ठा गरी पूजा गरिन्छ ।

नोट : तपाईं आज केही न केही दान गर्न चाहनुहुन्छ, तर उचित ठाउँ र पात्र भेटिरहनु भएको छैन भने हाम्रो खातामा तपार्इंले इच्छाएको रकम जम्मा गरिदिनु हुन अनुरोध छ । यसरी पठाइएको रकम आगामी श्रावण १३ गते शुक्रबारका दिन पर्ने नागपञ्चमीका दिन सुनसरी जिल्लाको पवित्र तीर्थस्थल पिण्डेश्वर महादेवको मन्दिरमा लघुरुद्री आयोजना गर्दा उपयोग गरिने छ । उक्त यज्ञमा खर्च भएर बाँकी रहेको रकम पनि परोपकारी काममा खर्च गरिने छ र सम्पूर्ण रकमको पारदर्शिता पूर्वक विवरण प्रकाशन गरिने छ । दान गर्दा आफ्नो इच्छामुताबिक गर्नुहोला, दान रकम खातामा जम्मा गरेपछि jkpkoirala@gmail.com मा मेल गरी पठाएको रकम, पठाउनेको नामथर, गोत्र र ठेगानाको जानकारी दिनुहुन सबैमा अनुरोध छ ।

रकम पठाउने खाता नम्बर : 216002740510
बैंक : राष्ट्रिय वाणिज्य बैंक
खाताबालको नाम : कृष्णप्रसाद कोइराला
जानकारीका लागि सम्पर्क नम्बर : +9779852059764

No comments:

Post a Comment