Wednesday, April 18, 2018

जगद्गुरु रामानुजाचार्य

यो नित्यमच्युतपदाम्बुजयुग्मरुक्मं 
व्यामोहतस्तदितराणि तृणाय मेने ।
अस्मद्गुरोर्भगवतोऽस्य दयैकसिन्धोः
रामानुजस्य चरणौ शरणं प्रपद्ये ॥

दक्षिण भारतको मद्रास सहरका बारेमा नसुन्ने मानिस कमै होलान् । पहिले मद्रास भनिने यस सहरलार्इ अहिले चेन्नै भन्ने गरिन्छ । कुनै समयमा यो सहर द्रविड देशमा पर्ने गर्दथ्यो । श्रीमद्भागवतको महात्म्यमा भक्तिले आफ्नो जीवनी बताउने क्रममा भनेकी छन् -

उत्पन्ना द्रविडे साहं वृद्धि कर्णाटके गता।
क्वचित् क्वचिन् महाराष्ट्रे गुर्जरे जीर्णतां गता ॥
तत्र घोरकलेर्योगात् पाखण्डै: खण्डिताङ्गका।
दुर्बलाहं चिरं जाता पुत्राभ्यां सह मन्दताम् ॥
वृन्दावनं पुन: प्राप्य नवीनेव सुरूपिणी।
जाताहं युवती सम्यक् प्रेष्ठरूपा तु साम्प्रतम् ॥

भक्तिको उत्पत्ति द्रविड देशमा भएको प्रसङ्ग माथिका श्लोकबाट थाहा पाउन सकिन्छ । त्यसैले पनि विभिन्न धर्मगुरुहरू जस्तै जगद्गुरु शङ्कराचार्य, निम्बार्काचार्य, रामानुजाचार्यलगायत साइबाबाको जन्मसमेत दक्षिण भारत (द्रविड देश) नै भएको हुनुपर्छ । मद्रास सहरकै छेउमा एउटा पेरुम्बुदुर नाम गरेको ठाउँ छ । त्यहाँ आजभन्दा करिव एक हजार वर्ष पहिले वि. सं. १०७४ मा वैशाख शुक्ल पञ्चमीका दिन विशिष्टाद्वैत सम्प्रदायका प्रवर्तक भगवान् भाष्यकार स्वामी रामानुजाचार्यको जन्म भएको थियो । जगद्गुरु रामानुजाचार्य वैष्णव सम्प्रदायका प्रमुख आचार्यहरूमध्ये एक जना विशिष्ट आचार्य मानिन्छन् । यिनकै शिष्यपरम्परामा रामानन्द, कबीर र सुरदास जस्ता अन्य प्रसिद्ध आचार्यहरूको गणना हुने गर्दछ । रामानुजाचार्यले वेदान्त दर्शनमा आधारित आफ्नो छुट्टै नवीनतम दार्शनिक सिद्धान्त विशिष्टाद्वैतको रचना गरेका हुन् । उनले वेदान्तको उक्त सिद्धान्तबाहेक विक्रमको सातौंदेखि दसौं शताब्दीका माझमा दक्षिण भारतमा प्रचलित रहस्यवादी र भक्तिमार्गी अलवार (आचार्य) र सन्तहरूको भक्तिदर्शन र पाञ्चरात्र पद्धतिलाई आफ्नो विचारको मुख्य आधार बनाएका थिए ।

काञ्चीका यादवप्रकाश नाम गरेका गुरुबाट उनले वेदाध्ययन गरेका थिए । असाध्यै कुशाग्र बुद्धि भएका रामानुज गुरुले पढाउँदै गर्दा कहाँ त्रुटि भयो, औंल्याइहाल्दथे । यस्तो प्रखर प्रतिभा भएकाले उनी बाल्यावस्थादेखि नै अमूर्त दार्शनिक तत्त्वलाई बुझ्न, त्यसमा आफ्ना नवीनतम  धारणा बनाउन र भाष्य प्रस्तुत गर्ने क्षमता वहन गर्दथे । एक पटक उनले गुरु यादवप्रकाशले गरेको श्रुतिको व्याख्याका विषयमा असहमति प्रकट गरेका थिए भन्ने आहान प्रचलनमा छ । त्यस असहमतिको प्रसङ्ग यस्तो छ - गुरु यादवप्रकाशले 'कप्यासं पुण्डरीकाक्षम्'  भन्ने पदावलीको व्याख्यान गर्दा भगवानका आँखा बाँदरको चाकजस्तो रातो छ भनेका थिए, तर श्रीरामानुजाचार्यले आफूभित्र रहेको शास्त्रीय ज्ञान र विलक्षण प्रतिभाको परिचय दिंदै 'जलं पिबति इति कपि: सूर्य:, तेन आस्यते क्षिप्यते इति कप्यासम् कमलम्' यस्तो लौकिक विग्रह प्रस्तुत गरी 'कप्यासः' यस पदको अर्थ अगाध जलराशिमा उत्पन्न र उदाउँदो सूर्यकिरणबाट नवविकसित कमल दलसमान भगवान् नारायणका युगल नेत्र छन् भनी शास्त्रसम्मत र लोकसम्मत सुन्दर अर्थ लगाए । यसरी आफ्नो एउटा फुच्चे शिष्यले यस्तो सुन्दर व्युत्पत्ति र अर्थ गरेकाले गुरु यादवप्रकाशको हृदयमा उनीप्रति द्वेषभाव उत्पन्न भयो । उनले षड्यन्त्र गरी रामानुजलाई मार्ने योजना बनाए । तर शेषावतार भएकाले हरहमेशा उनीमाथि भगवान् वैकुण्ठनाथको छत्रछाया रहने गर्दथ्यो, त्यसैले भगवत्कृपाले उनलाई केही पनि भएन । उमेर बृद्धिसँगै भगवद्रामानुजको विद्वत्ता र ख्यातिमा निरन्तर बृद्धि हुँदै गयो । उनको उचित समयमा विवाह पनि भएको थियो, तर लामो समय दाम्पत्य जीवन चलेन । उनी युवावस्थामा नै सन्न्यासी बन्न पुगे । दक्षिण भारतको आन्ध्रप्रदेशमा रहेको श्रीरङ्गम् भन्ने स्थानमा पुगी उनले यतिराजबाट दीक्षा ग्रहण गरी सन्न्यासाश्रममा प्रवेश गरेका थिए ।

रामानुजको सन्न्यास जीवन प्रारम्भ भएपछि अब यिनको सम्पूर्ण समय अध्ययन, चिन्तन र भगवद्भक्तिमा व्यतीत हुन थाल्यो । उनका अनुयायी र शिष्यहरूको सङ्ख्यामा पनि दिनानुदिन बृद्धि हुन थाल्यो । कतिसम्म भने बाल्यावस्थामा यिनलाई वेद पढाउने तथा द्वेषबुद्धिले गर्दा उनलाई नै मार्न तानाबुना रच्ने गुरु यादवप्रकाश स्वयंले पनि कालान्तरमा यिनको शिष्यत्व ग्रहण गरेका थिए । भगवद्रामानुजद्वारा प्रतिपादित सिद्धान्तलाई विशिष्टाद्वैत सिद्धान्त भनिन्छ । श्रीरामानुजाचार्य असाध्यै विद्वान, सदाचारी, धैर्यवान् र उदार व्यक्तित्व थिए । चरित्रबल र भक्तिभावमा उनलाई अद्वितीय नै मान्ने गरिन्छ । उनले कतिपय दुरूह योगहरूमा पनि सिद्धि प्राप्त गरेका थिए । उनको जीवनको अधिकतम समय दक्षिण भारतको काञ्चीपुरम् भन्ने ठाउँमा रहेको वरदराज मन्दिरमा बितेको थियो । यिनले सन्न्यास ग्रहण गरेको ठाउँ  श्रीरङ्गम् भने काञ्चीबाट दक्षिणपश्चिम दिशामा करिव ३०० किलोमिटर टाढा पर्दछ ।

एक पटकको घटना हो श्री रङ्गम् मठका मठाधीश यामुनाचार्य मृत्युसन्निकट अवस्थामा थिए । अब आफ्नो जीवनलीला समाप्त हुँदैछ भन्ने थाहा पाएर उनले श्रीरामानुजाचार्यलाई आफ्ना समीपमा आइदिए हुन्थ्यो भनी एक जना शिष्यमार्फत सन्देश पठाए । तर रामानुज काञ्चीबाट श्रीरङ्गम् पुग्दानपुग्दै यामुनाचार्यले वैकुण्ठ प्रस्थान गरे । उनको नश्वर शरीरको सद्गत गर्न बाँकी नै थियो, रामानुज पनि श्रीरङ्गम् आइपुगे । यामुनाचार्यको मृत शरीरका दाहिने हातका तीनवटा औंला दोब्रिएका देखिन्थे ।  श्रीरामानुजाचार्यलाई यामुनाचार्य यी औलाका माध्यमबाट केही सन्देश प्रदान गर्ने इच्छा राख्दै गर्दा बितेका हुन् भन्ने आभाष भयो । त्यसपछि उच्चस्वरमा रामानुजले उद्घोष गरे - 'म विष्णुमतमा रहेर अज्ञानताले मोहजालमा जकडिएका मानिसहरूलाई पञ्च संस्कारले युक्त द्रविड वेदमा पारङ्गत बनाएर शरणागति धर्मप्रति उन्मुख बनाई तिनको सर्वदा रक्षा गर्नुका साथै आलवार भक्तहरूद्वारा गायन गरिएका पदहरूको सङ्ग्रह गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।' रामानुजले यति भन्नासाथ यामुनाचार्यको मृत शरीरमा खुम्चिएका औंलामध्ये एउटा औंलो सोझियो । त्यसपछि पनि रामानुजले आफ्ना उद्गार जारी राख्दै भने - 'म सामान्य जनमानसको रक्षाका निमित्त समस्त अर्थको सङ्ग्रह गरी मङ्गलमय परम तत्त्वज्ञानको प्रतिपादन गर्ने श्रीभाष्यको रचना गर्नेछु ।' यति भन्नासाथ यामुनाचार्यको अर्को एउटा औंलो पनि सोझियो । रामानुजले फेरि पनि वाचा गर्दै गए - 'सांसारिक मनुष्यको दयाभावले जीव, ईश्वर, जगत्, तिनको प्रकृति र स्वभाव तथा उन्नतिको उपायको सुस्पष्ट व्याख्यान गरी ऋषि पाराशर (व्यास) द्वारा रचित श्री विष्णुपुराणको रचनाकारको गर्ने ऋणबाट ऊऋण हुन म कुनै वैष्णव पण्डितलाई तिनै ऋषिको नाम प्रदान गरी सम्मान गर्नेछु ।' रामानुजले यति भन्नासाथ यामुनाचार्यको खुम्चिएको अन्तिम औंलो पनि सोझिन पुग्यो । यस्तो परिदृश्य देखेर त्यहाँ उपस्थित सबै जना छक्क परे । तिनलाई अहिले वाचा गरिरहेको नवयुवकले छिट्टै नै आलवन्दार (श्रीयामुनाचार्य) को पदमा आसन ग्रहण गर्नेछ भन्ने कुरामा कुनै सन्देह भएन । श्रीरामानुजाचार्यले 'श्रीभाष्य' को रचना गरे, आलवन्दार (वैष्णव आचार्य) हरूद्वारा गायन गरिने पदहरूको सङ्ग्रह गरी 'दिव्यप्रबन्धनम्' को सङ्कलन गरे र दक्षिण भारतका तात्कालिक आठ जना दिग्गज आचार्यहरूमध्ये एक जना श्रेष्ठ वैष्णवाचार्यलाई 'पाराशर' नाम राखेर सम्मान गरे । यसरी श्रीयामुनाचार्यलाई प्रदान गरेका तीनवटै वचनलाई रामानुजले पूर्ण गरे भन्ने लोकोक्ति अहिले पनि दक्षिण भारतका वैष्णवजनहरूमाझ चर्चा हुने गर्दछ ।

श्रीरामानुचार्य गृहस्थ सन्त थिए, तर किन्तु गृहस्थी जीवनमा आबद्ध रहँदा आफ्ना उद्देश्य पूर्ण गर्न असमर्थ रहने लक्षण देखेपछि उनले गृहस्थाश्रम त्यागेर श्रीरङ्गम् पुगी सन्न्यास धर्मको दीक्षा लिएका थिए । यिनका गुरु यादवप्रकाशले आफ्नो पाठशालामा रहँदा रामानुजप्रति देखाएको वैरभाव र प्रतिशोधप्रति पछुतो मान्नुपर्यो र उनी पनि कालान्तरमा रामानुजसँगै सन्न्यासको दीक्षा प्राप्त गरी उनकै सेवासुश्रुषामा संलग्न हुनपुगे । रामानुजले अर्का आचार्य गोष्ठीपूर्णबाट अष्टाक्षरी 'ॐ नमो नारायणाय' यस मन्त्रको दीक्षा र उपदेश प्राप्त गरेका थिए । गोष्ठीपूर्ण गुरुले रामानुजाचार्यलाई अष्टाक्षरी नारायण मन्त्रको उपदेश गर्दै भनेका थिए - 'हे वत्स! यो परम पावन मन्त्र, जसको सुमधुर ध्वनि कानमा गुन्जिनासाथ व्यक्ति समस्त पापराशिबाट मुक्त हुन्छ, मरणोपरान्त भगवान् नारायणको दिव्य वैकुण्ठधाममा पुग्न पाउँछ, यो अत्यन्त गुप्त मन्त्र हो । यस मन्त्रलाई कुनै पनि अयोग्य व्यक्तिका कानमा नपार्नू, किनभने अयोग्य व्यक्तिले यस मन्त्रको आदर र सम्मान गर्न सक्दैन ।' गुरुले आफूलाई प्रदान गरेको अष्टाक्षरी मन्त्र कसैलाई पनि नसुनाउनु भनेर निर्देश गर्नुभएको थियो, तर जुन मन्त्रले असङ्ख्य मानव र जीवको मुक्तिमार्ग सहजै खुल्दछ, त्यस्तो मन्त्र झन् धेरै प्रचारप्रसार गर्नु ठीक हुन्छ भन्ने ठानेर रामानुजले मन्दिरको गोपुर (छानो) मा चढेर ठूलो स्वरले कराउँदै असङ्ख्य नरनारीलाई सुनाएका थिए । गुरुले आफ्नो अवज्ञा भएको ठाने र तुरुन्त रामानुजलाई नरक जानुपरोस् भनी श्राप दिए । गुरु क्रुद्ध भई आफूले श्राप पाएको चाल पाएर हाँसीहाँसी रामानुजले जवाफ दिएका थिए - 'यदि यस परम मन्त्रको श्रवण गरेर हजारौंहजार नरनारीले मुक्ति प्राप्त गर्दछन् भने म खुसी हुँदै नरक जान तैयार छु ।' भगवद्रामानुजको यस्तो उत्तर सुनेर गुरु गोष्ठीपूर्ण पनि प्रसन्न भए र रामानुजलाई लोकको जगद्गुरु भएस् भनी विशेष आशीर्वाद दिए ।

श्रीरामानुजाचार्यले यामुनाचार्यलाई आफ्नो मानसिक गुरु मानेर उनका शिष्य महापूर्णका सान्निध्यमा करिव छ महिनासम्म रहेर यामुनाचार्यका दार्शनिक सिद्धान्त र विचारको अध्ययन गरे । त्यसपछि एक वर्षसम्म सम्प्रदायका गोष्ठी, सभा र कार्यक्रममा सामेल भएनन् । त्यसपछि उनले भारतवर्षको पदयात्रा प्रारम्भ गरे । यस अवसरमा विष्णु मन्दिरका संरक्षकहरू, पण्डित र विद्वानहरूसित शास्त्रार्थ गरे । शास्त्रार्थमा पराजित भएका सबै विद्वानहरूले उनको शिष्यत्व ग्रहण गरे । उनले कतिपय महत्त्वपूर्ण र विशिष्ट मन्दिरहरूको निर्माण र जीर्णोद्धार गरे । यसरी उनको वैष्णव मत र श्रीसम्प्रदायको प्रचारप्रसार र श्रीबृद्धि हुनपुग्यो । अन्त्यमा दक्षिण भारतको श्रीरङ्गम् भन्ने स्थानबाट पैदल यात्रा गरी उत्तराखण्डको नेपाल देशमा पर्ने मुक्तिक्षेत्रको शालिग्राम क्षेत्रमा अाएर बाह्र वर्षसम्म साधना गरे । रामानुज स्वामीले उक्त अवधिमा श्रीसम्प्रदायको प्रचारप्रसारमात्र गरेनन्, यस अतिरिक्त ब्रह्मसूत्र, विष्णुसहस्रनाम र दिव्यप्रबन्धको भाष्य लेख्ने गुरुअाज्ञालार्इ पूर्णता प्रदान गर्ने कामसमेत सम्पादन गरे । त्यसपछि पनि उनले समस्त भारतवर्षको पैदल यात्रा गरी वैष्णव धर्मको प्रचारप्रसार गरे । वि. सं. ११९४ मा रामानुज स्वामीले १२० वर्षको उमेर पार गरी सांसारिक नश्वर देह त्यागी वैकुण्ठ प्रस्थान गर्दै भगवद्सान्निध्य प्राप्त गरे । शालग्राम क्षेत्रमा रचना गरिएका तिनै तीनवटा भाष्यहरू (ब्रह्मसूत्रको भाष्य, श्रीभाष्य र वेदार्थसङ्ग्रह) नै स्वामी रामानुजका उपलब्ध मूल ग्रन्थहरू हुन् ।

विशिष्टाद्वैत दर्शन : 
स्वामी रामानुजाचार्यको विशिष्टाद्वैत दर्शनमा सत्ता अथवा 'परमसत्'का तीनवटा तह छन्, ती हुन् - ब्रह्म अर्थात ईश्वर, चित् अर्थात आत्मा र अचित् अर्थात प्रकृति । वस्तुतः यी चित् अर्थात् आत्मतत्त्व र अचित् अर्थात् प्रकृतितत्त्व ब्रह्म अथवा ईश्वरभन्दा पृथक् वा फरक छैनन् । बरु यिनीहरू विशिष्ट ढङ्गले ब्रह्मकै स्वरूप हुन् र यी दुबै ब्रह्म अर्थात् ईश्वरमा आधारित छन् । यही स्वामी रामानुजाचार्यको विशिष्टाद्वैत सिद्धान्तको सार तत्त्व हो । जसरी शरीर र आत्मा फरक हुन्, तर कार्यभावले पृथक् मान्न सकिंदैन । किनभने आत्माको उद्देश्यपूर्तिका लागि शरीरले कार्य सम्पादन गर्दछ, त्यसरी नै ब्रह्म वा ईश्वरभन्दा पृथक् चित् र अचित् तत्त्वको कुनै अस्तित्व वा सत्ता स्वीकार गर्न सकिंदैन । ती ब्रह्म वा ईश्वरको शरीर हुन् भन्दा हुन्छ र त्यसरी नै ब्रह्म वा ईश्वर चित् र अचित् दुबै तत्त्वको आत्मासमान हो ।

भक्तिको तात्पर्य : 
रामानुज स्वामीको मतमा भक्तिको अर्थ पूजा, पाठ, कीर्तन वा भजन होइन, भक्ति भनेको त ध्यान र प्रार्थना हो । सामाजिक परिप्रेक्ष्यमा स्वामी रामानुजाचार्यले भक्तिलार्इ जाति र वर्गबाट अलग्ग सर्वग्राह्य मानेको पाइन्छ ।

No comments:

Post a Comment