Monday, April 30, 2018

किन गरिन्छ ? लक्ष्मीका साथमा गणेशजीको पूजा

लक्ष्मीलार्इ धनधान्य र सुखसम्मृद्धि र गणेश तथा सरस्वतीलार्इ बुद्धिको प्रतीक मान्ने गरिन्छ । एक पटकको कुरा हो । एक जना राजाले कुनै दाउरे किसानको विपन्नता र दरिद्रता नष्ट होस् भन्ने उद्देश्यले उसलार्इ एउटा श्रीखण्ड चन्दनको जङ्गल उपहारका रूपमा बिर्ता दिए । किसान प्रसन्न भयो । केही वर्षपछि राजा किसानको जीवनस्तर पक्का पनि सुध्रियो होला भन्ठानी उसको घरमा गए । परिस्थिति सुध्रिने कुरा त परै जाओस्, उसको गरिबी जस्ताको त्यस्तै थियो । भएछ, के भने सुरुमा खान पुग्दैन थियो र जीविकाका लागि ऊ जङ्गल जङ्गलमा भौंतारिएर दाउरा सङ्कलन गरी सहरमा गर्इ बेचबिखन गर्थ्यो । तर जब जङ्गलको स्वामित्व उसको जिम्मामा आयो, उसले जङ्गल फाँड्दै दाउरा बाल्दै जीविका चलाउन थाल्यो । वन फँडानी गरेको जग्गाको सदुपयोग गर्न जानेन । राजा पुगेका दिनसम्ममा त उसको श्रीखण्डको जङ्गल पनि समाप्त भइसकेको थियो, त्यहाँको जमिन पनि बाँझो देखिन्थ्यो । राजाले बुझे, मानिसले सम्पत्ति प्राप्त गरेरमात्र हुँदो रहेनछ, त्यसलार्इ उपयोग गर्ने बुद्धिको समेत खाँचो पर्दो रहेछ । त्यसैले तिहारमा लक्ष्मीपूजाका दिन धनधान्य र सुखसम्मृद्धिकी देवीका साथमा बुद्धिकी अधिष्ठात्री सरस्वती र बुद्धिका स्वामी गणेशको पूजा गरिएको हो ।

यस प्रसङ्गमा एउटा अर्को कथा पनि प्रचलनमा छ । एक पटक एउटा बाहुनले राजसी सुख पाउने इच्छाले लामो समयसम्म माता लक्ष्मीको उपासना गरे । माता प्रसन्न भएपछि वरदान दिनुभयो - जाउ तिम्रो मनोकाङ्क्षा पूर्ण हुनेछ । बाजे तपस्याबाट जुरुक्क उठे र राजदरबारमा गए । उनले तपस्या त गरेका थिए, तर त्यसलार्इ कसरी फलीभूत बनाउने जानेका थिएनन् । दरबारमा पुगेर एकछिन टोलाए, अन्ततः राजसिंहासनको छेउमा पुगे । दरबारको सभा चल्दै थियो, के भन्नुपर्छ थाहा छैन, राजसी सुख भोग गर्ने हतारो छ । उनले केही नभनी राजाको शिरको ताजपोस मुकुट झिकेर भुइँमा फ्यालिदिए । एकाएक अपरिचित बाहुन आएर भरिएको सभामा राजाको अपमान गरेको कसैलार्इ सह्य भएन । सिपाही बाहुनको पाता कस्न थाले । त्यत्तिकैमा भुइँमा झरेको मुकुटबाट एउटा सर्प बाहिर निस्कियो । सर्प देखेपछि सबैको ध्यान त्यतापट्टि केन्द्रित भयो ।

ब्राह्मणको ठूलो सम्मान भयो । आफूलार्इ सर्पबाट जोगाएको हुँदा केही समयपछि राजाले बाजेलार्इ मन्त्री बनाइदिए । राजकाज कसरी सञ्चालन गर्ने बाहुनलार्इ थाहा थिएन, सनकका भरमा उनी जहिले पनि केही न केही आदेश दिइरहन्थे । आफ्नो वरदान सिद्ध गर्न उसका गल्तीको ढाकछोप माता लक्ष्मीले गरिदिनु हुन्थ्यो । एक पटक बाहुनले राजपरिवारका सबै सदस्य र भारदारहरूलार्इ दरबार खाली गर्ने आदेश दिए । उनका प्रत्येक क्रियाकलापमा कुनै न कुनै चमत्कार भइरहन्थ्यो, आनाकानी नगरी सबै दरबारबाहिर चौरमा भेला भए । बाहिर निस्कनासाथ ठूलो भुइँचालो आयो । देख्दादेख्दै दरबार खण्डहरमा परिणत भयो । बाहुनको चमत्कार अचम्मको थियो, अव उनी प्रधानमन्त्रीमा नै नियुक्त भए ।

दरबारमा बाहुनको बोलबाला मात्र चल्दथ्यो । राजा नाम मात्रका थिए । तर बाहुनबाजेको सनक जस्ताको तस्तै थियो । दरबारको कोठाचोटा जता जान पनि उनलार्इ छुट नहुने कुरै भएन । एक पटक उनी राजा सुत्ने शयनागारमा पुगे । सिरानेभागमा गणेशको मूर्ति राखिएको थियो । राजा नित्य प्रातःकालमा भक्तिभावपूर्वक भगवान् गणपतिको पूजाआराधना गर्थे । बाहुनले आदेश दिए - यो गणेशको मूर्ति दरबारबाहिरको नालीमा लगेर फ्यालिदिनु ।

भोलिपल्ट राजाले आफ्ना आराध्यदेवको पूजा गर्न पाएनन् । दिउँसो राजसभामा बाहुनको सनकको पारो फेरि तात्यो । भारदार र नागरिकको भरिपूर्ण सभामा उनले राजालार्इ आदेश दिए - तुरुन्त सुरुवाल खोलेर नाङ्गै उभिनुहोस् । उनले भनेको नमान्ने कुरै भएन । लगाएको सुरुवाल तुरुन्त फ्यालेर राजा नाङ्गिए । सिपाहीहरूले सुरुवाल ओल्टाइपल्टाइ गरे । त्यसमा केही पनि भेटिएन । राजा मुर्मुरिंदै दरबारभित्र पसे, भारदारहरूले लाजले टाउको निहुर्याए । सिपाहीले उक्त सुरुवाल दरबारबाहिर बगैंचामा मिल्काइदिए । अब राजाको क्रोधको पारो चुलिर्इ सकेको थियो । त्यसै साँझ भारदारसभा डाकेर बाहुनलार्इ पदच्युत गरियो र पाता कस्न लगार्इ जेलको कालकोठरीमा हालियो । जेलमा अब के काम गर्ने ? बाहुन फेरि माता लक्ष्मीको उपासना गर्न थाले । लक्ष्मी प्रकट भर्इन् र भनिन् - 'रे ! मूर्खब्राह्मण, मैले सकेसम्म राजवैभव र सुख त दिएकै थिएँ नि, त्यसको उपयोग गर्न जानेनौ । गणेशजी दरबारमा प्रतिष्ठित हुनुहुन्थ्यो र तिमीले जे बोले पनि र जे गरे पनि वहाँले मेरो वरदान सिद्ध गर्न सघाउ पुर्याउनु भएको थियो । तिम्रो मन्दबुद्धि भ्रष्ट हुनपुग्यो, गणेशको प्रतिमा नालीमा फ्यालिदियौ, परिणामतः अहिले कालकोठरीमा पर्यौ । बाबु, आफूसँग सामर्थ्य भएरमात्र हुँदैन, त्यसको उपयोग गर्न जान्नुपर्छ । अब मेरो होइन, तिमीले गणेशको आराधना गर ।'

बाहुनलार्इ गल्तीको अनुभूति भयो । उनले गणपतिलार्इ प्रसन्न तुल्याउन पुनः आराधना गरे । यता गणेशजी प्रसन्न हुनुभयो, उता प्रातःभ्रमणमा निस्किएका राजा सुरुवाल मिल्काइएको बगैंचामा पुगे । सुरुवालमा सर्पको काँचुली देखियो । 'बाहुनले ठिकै पो भनेका रहेछन्' - राजाले मनन गरे । तुरुन्त बन्दीगृहमा पुगे र बाहुनलार्इ कैदमुक्त बनार्इ पुनः प्रधानमन्त्री बनार्इदिए । पदबहाली हुनासाथ बाहुनले नालीमा फ्यालेको प्रतिमा ल्याएर पहिलेकै स्थानमा विधिवत् प्रतिष्ठा गरे । उनले माता लक्ष्मी र सरस्वतीको समेत प्रतिष्ठा गरे, त्यहाँ लक्ष्मीलार्इ माझमा राखी एक छेउमा गणेशजी र अर्को छेउमा सरस्वतीको मूर्ति स्थापना गरिएको थियो ।

त्यसैले धनधान्य र सामर्थ्यका साथमा बुद्धिपक्ष आवश्यक हुन्छ भनिएको हो । दुबै प्रवृत्ति एकसाथ प्राप्त गरेका व्यक्तिमा मात्र सुख र सम्मृद्धि टिकाउ हुन्छ । सारतत्त्व के हो भने तिहारमा लक्ष्मीपूजाका दिन धनधान्यकी देवी माता लक्ष्मीका साथमा गणेश र सरस्वतीको पूजा गर्ने पद्धतिको मुख्य आधार भनेको बुद्धि र धन दुबै पक्षको आराधना पूर्ण गर्नु हो । अस्तु ॥


No comments:

Post a Comment