Saturday, June 23, 2018

निर्जला एकादशी

आज तुलसीको दल राख्ने दिन । निर्जला एकादशी । निर्जला एकादशी ज्येष्ठ महिनामा शुक्ल पक्षको एकादशीका दिन पर्दछ । यसको कथाप्रसङ्ग पद्म पुराणमा उल्लेख गरिएको छ ।

धर्मराज युधिष्ठिर र श्रीकृष्णको संवादका बीचमा सुरु भएको यसको महात्म्य वेदव्यासले बखान गर्नुभएको हो । एकपटक युधिष्ठिरले 'हे जनार्दन ! ज्येष्ठ महिनाको शुक्लपक्षमा पर्ने एकादशीको महत्त्वका बारेमा वर्णन गर्नुहोस्' भनी आग्रह गरेपछि श्रीकृष्णले आज्ञा गर्नुभएको थियो :- 'हे राजन् ! यसको वर्णन मैले गर्नुभन्दा पनि अठारवटै पुराणका रचयिता परम धर्मात्मा सत्यवतीपुत्र वेदव्यासले गर्नुहुनेछ, किनभने वहाँ सम्पूर्ण शास्त्रका तत्त्वज्ञ र वेदवेदाङ्गका पारङ्गत विद्वान् हुनुहुन्छ ।

श्रीकृष्णको आशय बुझेपछि वेदव्यासले युधिष्ठिरलाई बताउनु भयो - 'हे राजन् ज्येष्ठ महिनाको शुक्ल पक्षमा पर्ने एकादशीको नाम निर्जला एकादशी हो । यस एकादशीका दिन भोजनादि लगायत पानी खानसमेत निषेध गरिएको छ । सामान्यतया जुनसुकै एकादशीको व्रत परेको दिन कुनै पनि मनुष्यले अहोरात्र व्रत सम्पादन गरेपछि भोलिपल्ट द्वादशीका दिन स्नानादिबाट निवृत्त भएर पहेंलो फूलले भगवान नारायणको विधिपूर्वक पूजा गर्नुपर्छ । अनि नित्यकर्म गरी सर्वप्रथम ब्राह्मणहरूलाई भोजनादि र दानदक्षिणा दिई अन्त्यमा स्वयंले भोजन गरी व्रतको समापन गर्नुपर्दछ । हे राजन् ! जुठो वा सुतक जेपरे पनि एकादशीका दिन स्नानादि गरी मनैले भगवान् विष्णुका दिव्य नामहरूको स्मरण गर्नुपर्दछ र कुनै हालतमा पनि भोजनादि गर्नुहुँदैन । अशक्त वा रोगी छ भने पनि कम्तीमा चामलको प्रयोग हुने कुनै पनि खाद्यपदार्थ ग्रहण गर्नुहुँदैन ।'

प्रत्येक एकादशीमा भोकै बसेर व्रत लिनु पर्ने कुरा सुनेपछि भीमको अनुहार अँध्यारो भयो । भीमलाई धेरै खानेकुरा चाहिन्थ्यो । उनी भोक सहन सक्दैन थिए । व्यासका कुरा बीचमा रोक्दै उनले प्रश्न गरिहाले - 'पितामह, म भोकलाई सहन गर्न सक्दिन, महिनै पिच्छे व्रत लिने हो भने म महिनामा दुईदुई दिन कसरी भोकै बस्न सकुँला ? म यस्तो कुराको कल्पनासम्म पनि गर्न सक्दिन । मलाई थाहा छ, दाजु युधिष्ठिर, माता कुन्ती, द्रौपदी, अर्जुन, नकुल र सहदेव सबैले कुनै पनि एकादशीका दिन कहिल्यै पनि भोजनादि गर्नुहुन्न अनि मसित पनि भोजनादि गर्नुहुँदैन भन्नुहुन्छ । तर भोक सहनै सक्दिन, त्यसैले वहाँहरूका कुराको वास्ता नै नगरी भोजन गरिहाल्छु ।' भीमका कुरा सुनेपछि व्यासले फेरि भन्नुभयो :- ‘भीमसेन ! तिमी नरकमा जान चाहँदैनौं र पापबाट डराउँछौ भने अहिलेसम्म जे गर्यौ गर्यौ, अबउप्रान्त एकादशीका दिन भोजनादि नगर्नु राम्रो हुन्छ । भीमसेनले फेरि भने :- 'हे पितामह ! म तपाईंका कुरालाई सत्य मान्दछु, तर मेरो शरीर यत्ति ठूलो र भद्दा छ, जसलाई जीवित राख्न एकादशीको निराहार व्रत त के त्यसदिन केवल एक छाक मात्र खाएँ भने पनि म सन्तुष्ट हुन सक्दिन । मेरो भुँडीमा वृक नाम गरेको आगोको ज्वाला सधैं प्रज्वलित भइरहन्छ । त्यसै कारणले मैले धेरै खानुपर्छ । मैले एक छाक मात्र खाइँन भने उक्त अग्निको ज्वाला उग्र भएर आउँछ र मैले असह्य पीडा भोग्नु पर्दछ । त्यसैले मैले नखाई हुँदै हुँदैन । तपाईं सबै कुरा जान्ने हुनुहुन्छ । त्यसैले हे महामुने ! मैले वर्षभरिमा केवल एउटा मात्र उपवास गर्ने कुनै उपाय छ भने बताउनु होस, जसबाट स्वर्गप्राप्ति सुलभ होस् तथा जुन व्रतको पालना गर्नाले म पनि कल्याणको भागी बन्न सकौं । बरु म त्यस व्रतको यथोचित रुपले पालना गर्ने प्रयास गर्नेछु ।' भीमका कुरा सुनेपछि व्यासले फेरि बताउन थाल्नुभयो :- 'भीम ! ज्येष्ठ महिनामा सूर्य वृष राशिमा होस् वा मिथुन राशिमा, शुक्लपक्षमा जुन एकादशी हुन्छ, त्यसलाई यत्नपूर्वक निर्जल व्रत गर । केवल कुल्ला वा आचमन गर्नमात्र मुखमा पानी लगाऊ, त्यसबाहेक मुखमा पानी नहाल, तिमीले वर्षभरि लिएका एकादशीको फल एकमुष्ट रूपमा प्राप्त गर्नेछौ ।'

व्यासका मुखबाट यस्ता सान्त्वना भरिएका कुरा सुनेपछि भीमले पुनः प्रश्न गरे - 'हे पितामह, निर्जला एकादशीको त्यस्तो के महत्त्व छ र यस एकादशीको व्रत गर्ने के विशेष नियम छ, कृपा गरेर त्यो कुरा पनि मलाई सिकाइदिनु होस् ।' भीमका जिज्ञासा शान्त बनाउँदै पुनः व्यासले भन्नुभयो - 'बाबु भीम ! यो एकादशी अत्यन्त महिमायुक्त एकादशी हो । यस एकादशीको व्रत गर्ने मनुष्यका छेउमा विकराल आकृति भएका, कालो रंगका दण्ड र पासो लिएका हेर्दा भयङ्कर र विशालकाय देखिने यमराजका दूतहरू आउनै सक्दैनन् । उसलाई अन्त्यकालमा पीताम्बरधारी, सौम्यस्वभाव भएका, हातमा सुदर्शन चक्र धारण गर्ने र मन जत्तिकै शीघ्र वेग भएका वैकुण्ठनाथ भगवान् विष्णुका दूत लिन आउँछन् र दिव्य विमानमा राखेर सीधै वैकुण्ठलोक लिएर जान्छन् । निर्जला एकादशीमा कुनै मनुष्यले झुक्किएर केही पनि खान पाएन भने पनि उसको मृत्युपछि विष्णुका दूतले उसलाई भगवान विष्णुका धाममा लिएर जान्छन् । शङ्ख, चक्र गदा र पद्म धारण गर्नुहुने भक्तवत्सल भगवान् नारायणले उद्घोष गर्नुभएको छ - ‘यदि मानिस सबै किसिमका कुरा छाडेर केवल मलाई सम्झिएर मेरो शरणमा आउँछ र जेठ महिनामा पर्ने यस निर्जला एकादशीको जलसमेत ग्रहण नगरी व्रत गर्दछ भने त्यस व्यक्तिका सबै पापबाट मुक्त तुल्याउने र सीधै मेरो धाममा प्रवेश गराउने जिम्मा म लिन्छु ।' त्यसैले बाबु भीष्म ! अब तिमीले अरु एकादशीको व्रत लिन सक्दैनौ भने पनि कम्तीमा पनि जेठ महिनाको शुक्लपक्षमा पर्ने निर्जला एकादशीको व्रत गर, तिम्रो अभीष्ट पूर्ण हुनेछ । यस एकादशीका दिन बिहानै स्नानादि र नित्यकर्मबाट निवृत्त भई उपवास गर्नु पर्दछ । एकादशीका दिन दन्तधावन गरेर प्रतिज्ञा गर्नुपर्दछ ‘म भगवान केशवको प्रसन्नताका निम्ति आजको एकादशीका दिन निराहार रहेर आचमनबाहेक अन्य जलको सेवन गर्ने छैन।’ यसरी निर्जला एकादशीका दिन अहोरात्र निराहार बसी व्रत गरेर द्वादशीका दिन भगवान् विष्णुको पूजा गर्दै शुद्ध र सुगन्धित जलले युक्त घडा दान गर्नुपर्दछ । गन्ध, धूप, पुष्प र सुन्दर वस्त्रद्वारा विधिपूर्वक पूजन गरी जलयुक्त घडादानको सङ्कल्प गर्दै निम्नाङ्कित मन्त्रको उच्चारण गर्नुपर्दछ :-

देवदेव हृषीकेश संसारार्णवतारक । उदकुम्भप्रदानेन नय मां परमां गतिम्॥
‘संसारसागरबाट तार्ने हे देवदेव हृषीकेश ! यस जलको घडा दान गर्नाले हजुरले मलाई परम गति प्राप्ति गराउनु होस् ।’

व्यास भन्नुहुन्छ, 'हे भीमसेन ! ज्येष्ठमासमा शुक्लपक्षको जुन एकादशी हुन्छ, त्यसको निर्जल व्रत गर्नुपर्दछ । त्यस दिन श्रेष्ठ ब्राह्मणहरूलाई शख्खरसित जलको घडादान गर्नुपर्दछ। यसो गर्नाले मनुष्यले भगवान् विष्णुका समीपमा पुगेर आनन्दको अनुभव गर्दछ । तत्पश्चात् द्वादशीका दिन ब्राह्मणभोजन गराए पछि स्वयं आफूले पनि भोजन गर्नुपर्छ । जसले यसरी पूर्ण रुपले यस पापनाशिनी एकादशीको व्रत गर्छ, ऊ सबै पापबाट मुक्त भई मरणोपरान्त आनन्दमय पद प्राप्त गर्न सफल हुन्छ । व्रतको अवधिभरि भगवान् श्रीहरिको पूजाआजा र नाम सङ्कीर्तन गर्नुपर्दछ ।

'जस्तोसुकै मनुष्य होस्, उसले मेरु पर्वतसमान महान पाप गरेको छ भने पनि त्यो सबै यस एकादशीको व्रतको प्रभावबाट भस्म हुन्छ । जसले यस दिन जलाहार गर्दैन, त्यो महान् पुण्यको भागी हुन्छ । त्यसलाई एकएक प्रहरमा कोटिकोटि स्वर्णमुद्रा दान गरेको फल प्राप्त हुन्छ । मनुष्यले निर्जला एकादशीका दिन स्नान, दान, जप, होम आदि जेजस्तो कर्म गर्दछ, त्यो सम्पूर्ण अक्षय हुन पुग्छ, यो कथन भगवान् श्री कृष्णको हो । निर्जला एकादशीको विधिपूर्वक उत्तम रीतिबाट उपवास गरी मानवले वैष्णवपद प्राप्त गर्दछ । जो मनुष्य एकादशीका दिन अन्न खाने गर्दछ, त्यसले पापयुक्त भोजन गरेको ठहरिन्छ । यस लोकमा त्यो चण्डालसमान हो र मरेपछि पनि ऊ दुर्गतिमा पुग्दछ । बिहान कुल्ला गर्दाबाहेक अरु बेला मुखमा पानी पार्नै हुँदैन । अन्यथा व्रत भङ्ग हुन्छ । एकादशीको सूर्योदयदेखि भोलिपल्ट सूर्योदयसम्म मनुष्यले पानी खानै हुँदैन अनि मात्र यो व्रत पूर्ण हुनपुग्छ । भोलिपल्ट द्वादशीका दिन प्रभातकालमा स्नान गरेर ब्राह्मणहरूलाई विधिपूर्वक जल र सुवर्ण दान गर्नुपर्छ । यसरी सबै कार्य पूरा गरेर जितेन्द्रिय पुरुषले ब्राह्मणका साथमा भोजनादि गर्नुपर्छ । वर्षभरिमा जतिपनि एकादशीहरू हुन्छन, ती सबैको फल एउटा निर्जला एकादशीको पालनाबाट मनुष्यले प्राप्त गर्न सक्छ, यसमा सन्देह गर्ने ठाउँ छैन । जसले ज्येष्ठको शुक्लपक्षको उपवास गरेर दान गर्दछ, त्यसले परमपद प्राप्त गर्दछ । जजसले एकादशीको उपवास गर्दछन्, ती हत्यारा, रक्स्याहा, चोर तथा गुरुद्रोही भए पनि सबै पातकबाट मुक्त हुनपुग्छन् ।'

हे कुन्तीनन्दन ! ‘निर्जला एकादशी’का दिन श्रद्धालु स्त्री तथा पुरुषहरूले जुन विशेष दान र कर्त्तव्य पूरा गर्नुपर्दछ, त्यो पनि सुन, त्यस दिन जलाशायी भगवान् विष्णुको पूजन र जलमयी धेनु (गौ) दान गर्नु पर्दछ । प्रत्यक्ष धेनु वा घृतमयी धेनुको दान गर्नु पनि उचित हुन्छ । पर्याप्त दक्षिणा र किसिम किसिमका मिष्ठान्नद्वारा यत्नपूर्वक ब्राह्मणहरूलाई सन्तुष्ट तुल्याउनु पर्दछ । यसो गर्नाले ब्राह्मण पक्का पनि सन्तुष्ट हुन्छन् र ती सन्तुष्ट भए पछि भगवान श्रीहरिले मोक्ष प्रदान गर्नुहुन्छ । जुन भक्तले शम, दम र दानमा प्रवृत भई श्रीहरिको पूजा र रात्रिको समयमा जागरण गर्दै यस ‘निर्जला एकादशी’को व्रत गरेको छ, उसले आफूसँगै बितेका सय पुस्ताका र आगामी सय पुस्ताका व्यक्तिहरूलाई भगवान् वासुदेवको परम धाममा पुर्याउँछ । निर्जला एकादशीका दिन अन्न, वस्त्र, गौ, जल, शैय्या, सुन्दर आसन, कमण्डलु तथा छाता दान गर्नुपर्दछ । जसले श्रेष्ठ तथा सुपात्र ब्राह्मणलाई जुत्ता दान गर्दछ, ऊ सुनको विमानमा बसेर स्वर्गलोकमा पुग्दछ र प्रतिष्ठित हुन्छ । जसले यस एकादशीको महिमालाई भक्तिपूर्वक सुन्दछ अथवा त्यसको वर्णन गर्दछ, त्यो स्वर्गलोकमा पुग्छ । चतुर्दशीयुक्त अमावस्याका दिन सूर्यग्रहणका समयमा श्राद्ध गरी मनुष्यले जुन फल प्राप्त गर्दछ, त्यही फल यस कथालाई श्रवण गर्नाले प्राप्त हुन्छ ।'

व्यासका मुखारबिन्दबाट यति सुनेर भीमसेनले पनि निर्जला एकादशीको व्रत लिने अठोट गरे । तबदेखि यस लोकमा यस एकादशीको नाम निर्जला एकादशी र यसको भोलिपल्ट पर्ने द्वादशीको नाम ‘पाण्डव द्वादशी’ रहन गयो । त्यसबाहेक यस एकादशीका दिन सनातन धर्मावलम्बीले घरघरमा रहेको तुलसीको मठलाई सरसफाइ गरी पुराना बिरुवाहरू उखेली नयाँ दल राख्ने प्रचलन पनि छ । यसरी दल राखिएको तुलसीलाई यस एकादशीको ठिक एक महिनापछि पर्ने हरिशयनी एकादशीका दिन विधिपूर्वक पूजादि गरी रोप्ने गरिन्छ । 

No comments:

Post a Comment