अधिक मासको कृष्णपक्षमा पर्ने एकादशीका बारेमा बताउन जिज्ञासा राख्दै युधिष्ठिरले भगवान् श्रीकृष्णसँग प्रश्न गर्नुहुन्छ –
भगवञ्छ्रोतुमिच्छामि व्रतानामुत्तमं व्रतम् ॥
सर्वपापहरं विष्णोः फलदं व्रतिनां च यत् ॥१॥
पुरुषोत्तममासस्य कथां ब्रूहि जनार्दन ॥
को विधिः किं फलं तस्य को देवस्तत्र पूज्यते ॥२॥
अधिमासे च संप्राप्ते व्रतं ब्रूहि जनार्दन ॥
कस्य दानस्य किं पुण्यं किं कर्त्तव्यं नृभिः प्रभो ॥३॥
कथं स्नानं च किं जाप्यं कथं पूजाविधिः स्मृतः॥
किं भोज्यमुत्तमं चान्नं मासेऽस्मिन्पुरुषोत्तमे ॥४॥
हे परमात्मन्, व्रतहरूमध्ये उत्तम व्रत, जसले व्रतालुका सबै पापहरण गर्नुका साथै भगवान् नारायणको उत्तम लोक प्राप्त गराउँदछ, त्यस्तो एकादशीको महात्म्य अझै सुन्ने धोको छ । प्रभु मलाई पुरुषोत्तम महिनामा पर्ने कृष्णपक्षमा पर्ने एकादशीका बारेमा आज्ञा गर्नुहोस् । के कस्ता विधिले त्यस व्रतलाई सम्पादन गर्नुपर्दछ, के दान गर्नुपर्छ, व्रतालुका के के कर्तव्य हुनेछन् ? कुन तीर्थमा गएर कसरी स्नान गर्नुपर्छ, के मन्त्रको जाप गर्नुपर्छ, कुन देवताको के कसरी पूजाआजा गर्नुपर्छ ? के खानुपर्छ वा खानु हुँदैन र के कस्तो फल प्राप्त हुन्छ, यी सबै कुरो जान्ने इच्छा छ । युधिष्ठिरले यस्ता जिज्ञासा राखेपछि भगवान् पुरुषोत्तम श्रीकृष्ण आज्ञा गर्नुहुन्छ –
कथयिष्यामि राजेंद्र भवतः स्नेहकारणात् ॥
पुरुषोत्तममासस्य माहात्म्यं पापनाशनम् ॥५॥
अधिमासे तु संप्राप्ते भवेदेकादशी तु या ॥
कमला नाम सा नाम्ना तिथीनामुत्तमा तिथिः ॥६॥
तस्या व्रतप्रभावेन कमलाभिमुखी भवेत् ॥
ब्राह्मे मुहूर्त्ते चोत्थाय संस्मृत्य पुरुषोत्तमम् ॥७॥
हे राजेन्द्र यस व्रतको एकदिन अगावै अर्थात दशमीकै दिनबाट तामसी भोजन त्याग्नु आवश्यक छ । हृदयलाई शुद्ध बनाई भोगविलासमा प्रतिबन्ध लगाउँदै ब्रह्मचर्यको पालना गर्नुपर्दछ । एकादशीका दिन प्रातः कालमा ब्रह्ममुहूर्तमा जागेर भगवान् पुरुषोत्तमको स्मरण गरी दम्पतीसहित श्रीमान् र श्रीमतीले स्नानादि नित्यकर्मबाट निवृत्त हुनुपर्दछ । आफ्ना इष्ट र कुलदेवताका साथै भगवान् पुरुषोत्तमको पूजाआजा गरी मनसा, वाचा, कर्मणा शरीरशुद्धि गरी व्रत लिनुपर्दछ । मध्याह्नमा एकादशीको महात्म्य र हरिकथाको श्रवण गर्नुपर्छ । एकादशीको भोलिपल्ट द्वादशीका दिन सकल परिवार प्रात स्नान गरी ब्राह्मण डाकी दानादि र ब्राह्मण भोजन गर्नु वाञ्छनीय छ ।
परमेति समाख्याता पवित्रा पापहारिका ॥ भुक्तिमुक्तिप्रदा नृणां भोगदा च युधिष्ठिर ॥८॥
हे राजेन्द्र यस अधिमासमा जुन एकादशी पर्दछ, यो तिथिहरूमध्ये सर्वोत्तम तिथि हो । यसको व्रतसम्पादन गर्नाले लक्ष्मी प्रसन्न हुने गर्दछिन् । यस एकादशीका दिन भगवान्का दिव्यमन्त्रहरूको विशेष जाप गर्ने नियम छ । त्यसरी जाप गर्दा घरमा जाप गर्दा एक गुना, नदीको किनारमा जाप गरेमा दुई गुणा, गाईको गोठमा बसेर जाप गरेमा हजार गुणा, अग्निहोत्र ब्राह्मणका घरमा गई जाप गरेमा एक हजार एकसय गुना, शिवालयमा, तीर्थक्षेत्रमा, देवीदेवताको मन्दिरमा वा तुलसीको मठमा गई जाप गरेमा अनन्त गुणा फल प्राप्त हुने गर्दछ । व्रत लिने व्रतालुले सुदर्शन चक्र धारण गर्ने देवाधिदेव भगवान् पुरुषोत्तम विष्णुको प्रतिमाका सामुन्ने उभिएर तलको मन्त्रको उच्चारण गर्नुपर्दछ
एकाश्यानिराहारः स्थित्वाहमपरेहनि ॥ भोक्ष्यामि पुण्डरीकाक्ष शरणं मे भवाच्युत ॥९॥
हे कमलनयन भगवान् अच्युत म एकादशीको व्रत निराहार रहेर द्वादशीका दिन भोजन गर्नेछु । हजुरले मलाई शरणमा लिनुहोस् भनी विधिपूर्वक भगवान् पुरुषोत्तमको पूजादि गरिदिनु पर्दछ । त्यसपछि यस मन्त्रको प्रयोग गरी प्रार्थना गर्नुपर्दछ अज्ञानतिमिरान्धस्य व्रतेनानेन केशव । प्रसीद सुमुखो भूत्वा ज्ञानदृष्टिप्रदो भव । अर्थात् हे केशव म अज्ञानरूपी अन्धकारले गर्दा अन्धो भएको छु । तसर्थ मैले गरेको व्रतबाट प्रसन्न भएर मलाई ज्ञानदृष्टि प्रदान गर्नुहोस् । यसै प्रसङ्गमा भगवान् श्रीकृष्णले महाराज युधिष्ठिरलाई भन्नुहुन्छ हे धर्मपुत्र अधिकमासमा कृष्णपक्षमा पर्ने एकादशीको नाम परमा एकादशी हो । यसको महात्म्यका सम्बन्धमा एउटा कथा प्रसिद्ध छ, अब त्यसको प्रकाश गर्दछु, ध्यानपूर्वक सुन्नुहोस् ।
काम्पिल्य नगरीमा सुमेधा नामक एकजना ब्राह्मण आफ्नी पत्नीका साथमा निवास गर्दथे। ब्राह्मण धर्मात्मा थिए र उनकी पत्नी पनि पतिव्रता थिइन्। त्यो परिवार यस्तो थियो, आफुस्वयं भोकै बसेर भए पनि अतिथि र परपाहुनाको सेवा हृदयबाट नै सत्कारपूर्वक गर्दथ्यो। धनको अभावका कारण एक दिन ब्राह्मणले आफ्नी पत्नीलाई भने - धनोपार्जन गर्न म अब परदेश जानु उचित हुनेछ किनकि धनको अभावमा परिवार सञ्चालन गर्न अति कठिन छ। ब्राह्मणीले पतिलाई सम्झाउँदै भनिन् -
पूर्व दत्ता हि या विद्या पूर्व दत्तं हि यद्धनम् ॥
पूर्व दत्ता हि या भूमिरिह जन्मनि लभ्यते ॥१०॥
यद्धात्रा लिखितं भाले तत्तत्रैव हि लभ्यते ॥
विनादत्तेन किं क्वापि लभ्यते नैव किञ्चन ॥११॥
अर्थात् पूर्व जन्ममा राखेको विद्या, धन, भूमिवाहेक यस जन्ममा केही पनि प्राप्त गर्दैन । आफू पूर्वजन्मको कमाई नभएर जहाँ गए पनि यस जन्ममा पाइँदैन । दैवले निधारमा जे लेखेको छ, त्यही नै पाइन्छ । मनुष्यले जे जस्तो वस्तु प्राप्त गर्दछ, त्यो भाग्यवश प्राप्त हुन्छ, हामीले पूर्वजन्ममा गरेका कुकर्मका कारण अहिले गरिबी ब्यहोर्नु परेको हो, हजुर परदेशमा जाँदा मेरो पनि बिल्लीबाठ हुन्छ, त्यसैले यतै आफ्नै थातथलोमा बसेर कर्मशील हुनुहवस्, म पनि मेरा बुताले भ्याएसम्म सरसहयोग गर्नेछु, जसैतसै गुजारा चल्नेछ । अनि भगवानको इच्छा जाग्यो भने राम्रै पनि हुन सक्छ। आखिर मन सन्तुष्ट र आनन्दपूर्ण भयो भने धेरै धनसम्पत्ति पनि त चाहिंदैन । बाहुनलाई बुढीका कुरा मन परे र जेजस्तो भए पनि घरैमा बसेर कुनै कामधन्दा गर्ने निधो गरे। एक दिन संयोगले कौण्डिण्य ऋषि ती ब्राह्मणका घरैछेउबाट कतै जांदै थिए, ऋषिको दर्शन प्राप्त गरेर ब्राह्मण र ब्राह्मणी अतीव प्रसन्न भए र ऋषिलाई घरमा बोलाएर स्वागतसत्कार र आदरभाउ गरे । त्यसपछि आफूहरूले ब्यहोर्नु परिरहेको निर्धनता र गरिबी कसरी हटाउन सकिन्छ भनी ती दम्पतीले श्रद्धाभक्ति सहित प्रश्न गरे । कौण्डिण्य ऋषि पनि ती दम्पतीको सेवा भावनालाई देखेर असाध्यै खुसी भए अनि ब्राह्मण र ब्राह्मणीको गरिबी एवं दीनता हटाउने उद्देश्यले मलमासको कृष्ण पक्षको एकादशीको व्रत प्रतिपादन गर्ने सल्लाह समेत प्रदान गर्दै भने हजुरहरू युगल दम्पतीले अधिकमासमा आउने उक्त परमा नामको एकादशीको विधिपूर्वक व्रत सम्पादन गर्नुहोस्। यक्षवंशका राजा कुवेरले पनि परमा एकादशीको व्रत सम्पादन गरेकाले व्रतको प्रभावले भगवान् शङ्कर प्रसन्न हुनुभएको र उनको भण्डार मणिरत्नादिले पूर्ण बनाएर सबैभन्दा धनी र देवताहरूमध्ये धनाध्यक्ष बनाइदिनु भयो । लोकमा पनि जसको धेरै सम्पत्ति हुन्छ, त्यसलाई कुवेर भयो भन्ने आहान चलेको पाइन्छ । यस्तो उत्तम व्रत एकादशीदेखि अमावस्यासम्म ५ दिन लिने व्यक्तिले तुरुन्त फल प्राप्त गर्दछ । उनले उक्त एकादशीको व्रतको प्रभावबाट धनधान्य, ऐश्वर्य र वैभवको प्राप्ति हुने र इहलोकमा सुखसम्मृद्धिका साथै परलोकमा समस्त पापको नाश गर्दै उत्तम गतिको प्राप्ति हुन्छ भने । मलमासको समय प्राप्त भएपछि सुमेधा नामका ती ब्राह्मणले विधिपूर्वक त्यस एकादशीको व्रत लिए, जसबाट उनको गरिबीको अन्त्य भयो र पृथ्वीमा लामोसमयसम्म सुख भोगेर ती दुबै पतिपत्नी भगवान् विष्णुको उत्तम वैकुण्ठ लोकतर्फ प्रस्थान गरे।
व्रत पूजन विधि
यस व्रतका दिन भगवान् विष्णुको ध्यान गर्दै उनलाई नै समर्पण गर्ने उद्देश्यले व्रत लिनु पर्दछ। व्रत लिने व्यक्तिले घिउको वर्तनमा दियो बालेर फल, फूल, तिल, चन्दन एवं धूपले पुरुषोत्तम भगवान् विष्णुको पूजा गर्नु पर्दछ। व्रत अवधिमा विष्णु सहस्रनाम एवं विष्णु स्तोत्रको पाठ गर्नुपर्छ, यसको ठुलो महत्त्व छ।
दानको महत्त्व
शास्त्रहरूमा परमा एकादशीलाई दान गर्नका निमित्त पनि अत्युत्तम दिन भनेर चर्चा गरिएको पाइन्छ, यस दिन धार्मिक पुस्तकहरू, अन्न, फल, मिट्ठाइ आदि दान गर्ने विधान छ। जसले कारणवश यो व्रत सम्पादन गर्न सक्दैनन् तिनले यस व्रतको पुण्य प्राप्त गर्न माथि बताइएका वस्तुहरूको दान गर्नुपर्दछ। दान गर्दा के कुरो सम्झनुपर्छ भने त्यस्ता व्यक्तिलाई धार्मिक पुस्तक दान गर्नुपर्दछ, जो ईश्वर एवं धार्मिक पुस्तकप्रति आस्था राख्दछ ।
यस परमा एकादशीकाे व्रत सम्पादन गर्नेले इहलोकमा प्रशस्त धनधान्य र भोगविलासले युक्त जीवन यापन गरी अनन्त सुखभोग गरी अन्त्यमा भगवान् श्रीकृष्णकाे सान्निध्यमा वैकुण्ठलोकमा पुग्ने अवसर प्राप्त गर्दछ ।
एवं यः कुरुते राजन्कमलाव्रतमुत्तमम्॥
शृणुयाद्वासरे विष्णोः सर्वपापैः प्रमुच्यते ॥११॥
शृणुयाद्वासरे विष्णोः सर्वपापैः प्रमुच्यते ॥११॥
No comments:
Post a Comment