Tuesday, November 15, 2016

लक्ष्मीको अाविर्भाव

लक्ष्मी सनातन हिन्दू धर्मअन्तर्गत एउटी प्रमुख देवी हुन् । लक्ष्मी, भगवान विष्णुकी पत्नी तथा धन, सम्पदा, शान्ति र समृद्धिकी देवी मानिन्छिन्। तिहारको लक्ष्मीपूजाका दिन उनको विशेष पूजा हुन्छ । आद्याशक्ति भगवती दुर्गाका जति पनि शक्तिहरूको मान्यता छ, ती समस्त शक्तिकी मूल भगवती लक्ष्मीलाई नै मान्ने गरिन्छ । यिनलाई नै सर्वोत्कृष्ट पराशक्ति भनिन्छ । लक्ष्मी शब्दको प्रयोग र अभिव्यक्ति मूलतः दुई अर्थमा भएको देखिन्छ :— श्री (सौभाग्य, सम्मृद्धि ) र लक्ष्मी (धनसम्पत्ति र वैभव) । पदप्रतिष्ठा, राजकीय सत्ता, अस्तित्व र गृहिणीका अर्थमा पनि लक्ष्मीको प्रयोग हुँदै आएको देखिन्छ । यसरी शाब्दिक अर्थमा लक्ष्मीको प्रयोग बहुआयामिक सन्दर्भमा भएपनि यिनको भौतिक र मूर्त आध्यात्मिक प्रयोग भने एउटै रूपमा हुन्छ । यिनी भगवान् विष्णुकी पत्नी हुन् । यिनको थोरै कृपा प्राप्त गरेर व्यक्ति वैभववान् हुन्छ । भगवती लक्ष्मीको निवास कमल वनमा छ, यिनको आसन पनि कमल हो र हातमा कमल पुष्प नै धारण गर्ने गर्दछिन् । समस्त सम्पदाकी स्वामिनी एवं अधिष्ठात्री श्रीदेवी शुद्ध सात्विक भावकी देवी हुन् । उनमा विकार र द्वेषको प्रवेश छैन । भगवान विष्णुले जबजब अवतार लिनुहुन्छ, त्यसबेलामा भगवती महालक्ष्मी पनि अवतीर्ण भएर उनका प्रत्येक लीलामा सहभागी हुने गर्दछिन् । धनधान्यकी देवी मानेर भक्तजनले यिनको प्रतिदिन पूजाआराधना र भजनकीर्तन गर्दछन् । माता लक्ष्मीको आविर्भावसम्न्धी कथा र आख्यानहरू भिन्नभिन्न पुराण र उपपुराणमा बेग्लाबेग्लै प्रसङ्गमा उल्लेख गरिएको पाइन्छ । तीमध्ये केही प्रसङ्ग यस प्रकार छन् :—

महर्षि भृगुकी पत्नी ख्यातिको गर्भबाट एउटी त्रिलोक सुन्दरी कन्याको जन्म भयो । ती कन्या समस्त शुभ लक्षणहरुबाट सुशोभित थिईन् । त्यसैले उनको नाम लक्ष्मी राखियो । शुक्लपक्षको चन्द्रमाको विस्तार भए झैं समय क्रममा उनी बढ्दै गईन् । ठूली भएपछि लक्ष्मीले भगवान नारायणको व्यक्तित्व र एैश्वर्यका साथै गुण र प्रभावको वर्णन सुनिन् । भगवान् विष्णुको वर्णन सुन्दै जाँदा उनको हृदयमा भगवान्प्रति गहिरो अनुराग देखा पर्न थाल्यो । अझ युवावस्थामा पुग्नासाथ उनले भगवान् नारायणलाई नै पतिका रूपमा पाउने कामना गर्न थालिन् । आफ्ना सखीहरूको सल्लाह लिई उनी विष्णुलाई पति बनाउन समुद्रका किनारामा गई घोर तपस्या गर्न थालिन् । लामो समयसम्म नियम र निष्ठाका साथ लक्ष्मीले तपस्या गरेको चर्चा चारैतिर फैलियो । देवतालगायत भगवान् विष्णुले पनि यो कुरो चाल पाउनुभयो । लक्ष्मीको तपस्याको परीक्षण गर्न विष्णुले देवताका राजा इन्द्रलाई खटाउनु भयो । विष्णुको आज्ञा स्वीकार गरी इन्द्र विष्णुकै रूप धारण गरी लक्ष्मीले तपस्या गरेको ठाउँमा गए । विष्णुको भेष बनाएका इन्द्रले लक्ष्मीलाई सम्बोधन गर्दै आफू उनको तपस्याबाट प्रसन्न भएको हुनाले वरदान प्राप्त गर्न आग्रह गरे । लक्ष्मीले आफूसामु विष्णु नै उभिएको ठानेर इन्द्रलाई भनिन् — हे भगवन्, हजुर मदेखि प्रसन्न हुनुहुन्छ भने मलाई हजुरको विश्वरूपको दर्शन गराउनु हवस् । इन्द्रले विष्णुको छद्मवेष बनाउन मात्र जानेका थिए, तर भगवानका प्रत्येक क्रियाकलाप र लीला गर्न जान्दैनथे । त्यसैले इन्द्रले लक्ष्मीले मागेबमोजिम विश्वरूपको स्वरूप बनाउन सकेनन् र त्यहाँबाट लज्जित भएर कुलेलम ठोके । इन्द्रले लक्ष्मीको परीक्षा लिन नसकेको कुरा भगवान् विष्णुले थाहा पाउनुभयो र अन्त्यमा भगवती लक्ष्मीलाई कृतार्थ बनाउन आफूस्वयं उनले तपस्या गरेको ठाउँमा जानुभयो । भगवानसित पनि उनले विश्वरूपको दर्शनको आकाङ्क्षा राखिन् । उनको प्रार्थना स्वीकार गरी भगवानले विश्वरूपको दर्शन गराउनु भयो । त्यसपछि लक्ष्मीको इच्छानुसार भगवान् विष्णुले उनलाई पत्नीका रूपमा स्वीकार गर्नुभयो ।

माता लक्ष्मी प्रकट हुनुभएको अर्को कथा पनि बहुप्रचलित छ । एकपल्ट महर्षि दुर्वासा तीनै लोकको भ्रमणका क्रममा थिए । घुम्दाघुम्दै उनी एउटा मनोहर उपवनमा पुगे, चित्तस्थिर भयो र आद्याशक्ति जगन्माताको आराधना गर्न लागे । अचानक त्यहाँ एउटी सुन्दरी हातमा माला बोकेर प्रकट भईन्, तिनी विद्याधर वंशकी कन्या थिईन् । उनले त्यो माला ऋषि दुर्वासालाई समर्पण गरिन् । सुगन्धित पुष्पको संयोजन गरी निर्माण भएको त्यो माला ऋषिले आफ्नो शिरमा राखे र पुनः भ्रमणलाई निरन्तरता प्रदान गर्न त्यस उपवनबाट बाहिरिए । पृथ्वीमा भ्रमणरत रहेकै बेला स्वर्गका राजा देवराज इन्द्र र देवताहरूसँग ऋषि दुर्वासाको भेट भयो । ऐरावत हात्तीमा बसेका इन्द्रले ऋषिलाई अभिवादन गरे । महर्षि दुर्वासाले आफूले धारण गरेको त्यो सुगन्धित माला इन्द्रलाई दिए । देवराज इन्द्रले त्यस मालाको सुगन्ध ग्रहण गरी आफ्नो वाहन ऐरावत हात्तीको मस्तकमा राखिदिए । ऐरावतले मालामा रहेको तीक्ष्ण सुगन्धद्वारा आकर्षित भएर त्यो माला आफ्नो सुँडले थुत्यो र आकाशमा तीन फन्का घुमाउँदै जमिनमा हुत्याई दियो र खुट्टाले किचिमिची पार्दै टेक्यो । आफूले आशीर्वाद स्वरूप इन्द्रलाई प्रदान गरेको मालाको दुर्दशा देखेर महर्षि दुर्वासा क्रोधित भए । आगोको ज्वालाजस्तो रापिलो अनुहार बनाउँदै दुर्वासाले इन्द्रलाई तत्काल तेरो श्रीको नाश होस् भनी शराप दिए । दुर्वासाको श्रापको प्रभावले इन्द्रको राज्य, प्रतिष्ठा र वैभवको तुरुन्त नाश भयो, उनी श्रीभ्रष्ट भए र सम्पूर्ण देवलोकमा असुरहरुको शासन कायम भयो । समस्त देवतागण असुरहरूबाट सन्त्रस्त भएर यत्रतत्र भौंतारिन थाले । धेरै वर्षसम्म वन, जङ्गल, गुफा, कन्दरामा दुःखकष्टका साथमा जीवन व्यतीत गरेपछि देवताहरू ब्रह्माको शरणमा गए र ब्रह्माले दिनुभएको सल्लाहबमोजिम  स्वयं ब्रह्मा र इन्द्रलगायत सबै देवताले भगवान् विष्णुको भक्तिपूर्वक स्तुति गर्न थाले । देवताहरूको स्तुतिबाट प्रसन्न भएर भगवान् विष्णुले देवताहरूलाई दर्शन दिनुभयो र भन्नुभयो — हे इन्द्रादि देवताहरू, अहिले समय तपाईंहरूको पक्षमा छैन, दानवहरू बलवान् छन् । त्यसैले उनीहरूसँग समझौता गरी  मेलमिलापको वातावरण तैयार गर्नु पर्दछ । दुबै पक्षको सामर्थ्य र प्रयासद्वारा क्षीरसागर नामक समुद्रलाई मन्थन गर्नु पर्दछ । त्यहाँबाट अमृत प्राप्त हुन्छ । त्यो अमृत पान गरेपछि तपाईंहरू बलियो हुनुहुन्छ र त्यसपछिमात्र दानवहरूलाई हराउन सकिन्छ । भगवानको आज्ञा पाएर देवगणले दैत्यहरूसित सन्धि गरे । त्यसपछि अमृतप्राप्तिका लागि समुद्र मनथन गरिने भयो । समुद्रलाई मथ्न मन्दराचल पर्वतलाई मदानी र वासुकी नागलाई नेतीका रूपमा प्रयोग गरियो । भगवान् विष्णु स्वयं कछुवाको रूप धारण गरेर मन्दराचल पर्वतको आधार बन्नुभयो । यसरी मन्थन गरेपछि क्षीरसागरबाट क्रमशः कालकूट विष, कामधेनु गाई, उच्चैश्रवा नामको घोडा, ऐरावत हात्ती, कौस्तुभ मणि, कल्प वृक्ष, अप्सराहरू, लक्ष्मी, वारुणी, चन्द्रमा, शंख, शार्ङ्ग धनुष, धन्वन्तरि र अमृत प्रकट भए । क्षीरसमुद्रबाट प्रकट हुँदा माता लक्ष्मी फक्रिएको श्वेतकमल(सेतो कमल)को आसनमा विराजमान थिईन् । उनले हातमा कमलकै फूल धारण गरेकी थिईन् । उनका सुकोमल अङ्गहरूमा दिव्यकान्ति प्रस्फुटित भइरहेको देखिन्थ्यो । माता लक्ष्मीको दर्शन गरेर देव, दानव र उपस्थित ऋषि र महर्षिहरू प्रसन्न भए । तिनीहरूले ऋग्वेदमा रहेको श्रीसूक्तको पाठ गरेर लक्ष्मी देवीको स्तुति गरे । त्यसपछि सबैका सामु भगवती लक्ष्मीले भगवान् विष्णुलाई रोजिन् र भगवान् नारायणकी अर्द्धाङ्गिनी भएर वैकुण्ठमा निवास गर्न थालिन् ।

समुन्द्र मन्थनबाट प्रकट भएकी सेतो वस्त्र पहिरेकी लक्ष्मी धनकी देवी हुन् । यिनका पनि दुई भेद छन् :-
१. विष्णुप्रिया (विष्णुका साथ सदा बसिरहने)
२. राज्यलक्ष्मी (सम्पन्न र सम्भ्रान्तहरूका साथमा राज्यवैभव र ऐश्वर्यको रूपमा रहने)

लक्ष्मी, काैडा, हात्ती र कमल
माता लक्ष्मी सदैव कमल र हात्तीका साथ बस्ने गर्दछिन्, अनि उनको अासन नै कमलको पुष्प हुन्छ, हातमा पनि कमलको फूल लिएको देखिन्छ । हामीले लक्ष्मीको फोटोलार्इ नियाल्याैं भने उनका दाहिने र देब्रे दुबै भागमा दुर्इ वटा हात्तीले अाअाफ्ना सुँडले स्वर्ण घडा लिर्इ अमृत बर्साइरहेको दृश्य देख्न सक्छाैं । यसको मुख्य कारण हो – हात्ती, धन्वन्तरी, शङ्ख,  काैडा, कमलको फूल र लक्ष्मी यी सबै वस्तु र देवताको उत्पत्ति समुद्रबाट भएको हो । त्यसैले शङ्ख, काैडा, हात्ती र कमल लक्ष्मीको अभिन्न अङ्ग भएको हो भन्न सकिन्छ र लक्ष्मीको अभिन्न अङ्ग भएका कारणले ती सबै पवित्र पनि छन् ।त्यसैले कमलकै नामबाट लक्ष्मीका अधिकांश नामहरू प्रचलनमा अाएका हुन् । जस्तै – पद्मा, पद्मजा, पद्मस्थिता, पद्मसम्भवा, पद्महस्ता, पद्मिनी आदि ।

लक्ष्मी कसरी प्रसन्न हुन्छिन् ?

No comments:

Post a Comment