Friday, November 18, 2016

शनिश्चर ग्रह र यसको शुभ/अशुभ प्रभाव

पूर्वीय ज्योतिषशास्त्रमा शनिश्चरलाई सौर्यमण्डलको सबैभन्दा टाढा रहेको ग्रह मानिन्छ । ज्योतिषशास्त्रमा अरुणात्मज,  अर्कज,  असित,  आदित्यसूनु,  काल,  नीलवसन,  मन्दग,  शनि,  शनिग्रह,  शनिश्चर,  शनैश्चर, सौरि,  सूर्यपुत्र, छायासुत र मन्द नामबाट पनि यस ग्रहलाई चिन्ने गरिन्छ । कालचक्रको कुण्डलीमा दसौं र एघारौं भावमा शनिको अधिकार हुन्छ ।  त्यसैले शनिद्वारा नै हाम्रो सांसारिक जीवनको कार्यक्षेत्र अर्थात् कर्मजीवन सञ्चालित भएको मानिन्छ ।

कुण्डलीको दशमभावलाई कर्म, पिता र राज्यपक्षको प्रतीक मानिन्छ, अनि त्यस्तै कुण्डलीकै एकादश भावलाई आय र राज्यसुखको भाव मानिन्छ । त्यसैले कर्म, सत्ता र आयको प्रतिनिधि ग्रह भएका कारणले जन्मकुण्डलीमा शनिको स्थान महत्त्वपूर्ण छ । मुख्यमुख्य ज्योतिष ग्रन्थमा उल्लेख भएबमोजिम शनि दुष्ट, क्रोधी, अल्छी, लङ्गडा, कालो रङ भएका, विकराल, अग्ला, दुब्लोपातलो शरीर भएका ग्रह हुन् । उनको दृष्टि सदैव झुकेको हुन्छ, आँखा पहेंला र गहिरा छन् । शरीर र अङ्गप्रत्यङ्ग कठोर हुन्छ, रौं ठाडाठाडा तथा नङ र दाँत मोटा हुन्छन् । शनिश्चर वात प्रकृति र तमः प्रधान ग्रह हुन् । उनको रथ फलामको छ र वाहन गिद्ध हो ।

सामान्यतः एउटा राशिमा शनिश्चरले ३० महिनासम्म विचरण गरी सम्पूर्ण राशिचक्रलाई ३० वर्षमा परिभ्रमण गर्दछन् । ज्योतिषशास्त्रमा शनिलाई पापी र अशुभ ग्रह मानिएको छ । ग्रहमण्डलमा शनिको पद सेवकको हो । यिनी मकर र कुम्भ राशिका मालिक हुन् र तुला राशिमा उच्च तथा मेष राशिमा नीच हुन्छन् । कुम्भ राशि यिनको मूल त्रिकोण राशि मानिन्छ । कुण्डलीमा तेस्रो, सातौं र दसौं स्थानमा यिनको पूर्ण दृष्टि हुन्छ । गोचरमा शनिश्चरले प्रथम, द्वितीय, चतुर्थ, अष्टम र द्वादश स्थानमा विशेष अरिष्ट फल प्रदान गर्दछन् । छैटौं र आठौं भावको कारक ग्रह शनिश्चरलाई मान्ने गरिन्छ । यिनको सूर्य, चन्द्र र मङ्गल ग्रहसँग शत्रुता, बुध र शुक्रसित मित्रता र बृहस्पतिसित समभाव हुन्छ । स्वगृह, उच्चगृह, मूल त्रिकोण, मित्रगृहमा वा उच्च, स्व, मित्र, मूलत्रिकोण परेको नवांशकमा, शनिबारका दिन, दक्षिणायनमा, सन्ध्याकालमा, कृष्णपक्षमा, बक्रीअवस्थामा र वर्गोत्तम नवांशकमा शनि बलवान् र शुभकारक हुन्छन् ।

फलाम, मिलमेसिनरी, तेल, काला रङका चिजबिज, रोग, शत्रु, दुःख, स्नायुप्रणाली, मृत्यु, भैंसी, वातरोग, दुब्लोपन, लोभ, अभाव, कन्जुसी, एकान्त, मजदुरी, ठेकेदारी, अन्धकार, निराशा, आलस्य, मूर्खता, अपमान, छाला, पुराना वस्तुहरू, फोहोरमैला र कवाडी सामान, आयु, काठ, अलकत्रा, पिशाच बाधा, जोर्नी, छापाखाना, कोइला, पुरातत्त्व विभाग आदिमा शनिको वास हुन्छ । त्यस्तै शरीरमा कोढरोग, वातरोग, स्नायुरोग, खुट्टा वा घुँडाको रोग, पसिना वा शरीरको गन्ध, हाडजोर्नीको रोग, छालाको समस्या, दुर्घटना, उदासीनता, बाथरोग, थकाइ, पोलियो आदि रोगको कारक पनि शनिलाई नै मान्ने गरिन्छ । शनिले आफ्नो शुभ वा अशुभ फल प्रायः ३६ देखि ४२ वर्ष वा महिनाको उमेरमा, आफ्नो बार, शिशिर ऋतु, महादशा काल, उल्का योगिनीको दशावधि, साढेसाती वा अढैयाको समय र बृद्धावस्थामा प्रदान गर्ने गर्दछन् । उमेरका आधारमा शनिको बृद्धावस्थामा विशेष अधिकार हुन्छ । कुण्डलीमा शनिको उपस्थिति राम्रो छ भने जातकको बृद्धावस्था धनधान्य, भोगविलास, आनन्द र सुखसयलले बित्दछ ।

विज्ञानमा शनि ग्रह
वैज्ञानिक दृष्टिकोणमा खगोलशास्त्रअनुसार शनि ग्रहको व्यास १२०५०० किलोमिटर छ र यसले १० किलोमिटर प्रति सेकेण्डको औसत गतिले सूर्यको परिक्रमा गर्दछ । सूर्यको यसको परिक्रमावृत्तको परिधि साढे एक अरब किलोमिटर छ, जुन दूरीलाई यसले करिब २९ वर्षमा पूरा गर्दछ । यसको गुरुत्वाकर्षण शक्ति पृथ्वीभन्दा ९५ गुणा बढी छ। सौर्यमण्डलका ग्रहहरूमध्ये आकारमा बृहस्पति ग्रह मात्र यसभन्दा ठूलो छ, यो ग्रहले आफ्नो अक्षमा प्रत्येक नौ घण्टामा एकपटक परिक्रमा गर्दछ ।

शनिको धार्मिक स्वरूप
पौराणिक मान्यताअनुसार शनि ग्रहको शिरमा स्वर्णमुकुट, घाँटीमा माला र शरीरमा नीलो रङ्गको वस्त्र धारण गरिएको हुन्छ एवं यिनको शरीर पनि इन्द्रनीलमणि समान नीलो छ । यिनको वाहन गिद्ध हो र हातमा धनुष, बाण, त्रिशूल धारण गर्दछन् । शनिको दृष्टि खराब हुन्छ, देवीदेवताहरू त सामान्य नै भइहाले, शनिको दृष्टिदोषका कारण शिवजीले समेत साँढे बनेर जङ्गलजङ्गलमा भौंतारिनु परेको प्रसङ्ग सुन्न पाइन्छ । रावणजस्तो शक्ति र सामर्थ्ययुक्त राजाले पनि उनकै प्रभावकालमा मर्नु परेको थियो भन्ने भनाइ छ ।

शनि उत्पत्तिको पौराणिक आख्यान
महर्षि  कश्यपको विवाह प्रजापति दक्षकी पुत्री अदितिसित भएको थियो, कश्यप र अदितिको छोराका रूपमा विवस्वान् (सूर्य)को जन्म भयो । सूर्यको विवाह त्वष्टा ऋषिकी छोरी सन्ध्यासित भयो । सूर्य र सन्ध्याको संयोगबाट दुईवटा छोरा वैवस्वत मनु र यमराज एवं एउटी छोरी यमुनाको जन्म भयो । सन्ध्या आफ्ना पति सूर्यको प्रचण्ड तापलाई सहन नसकेर जहिल्यै पनि सन्तप्त रहने गर्दथिन् । उनले छायालाई आफ्नै स्वरूपको बनाएर आफ्ना पतिको सेवासुश्रुषाको जिम्मा दिईन् र माइत गईन् । सन्ध्याका पिता त्वष्टालाई छोरीको यो व्यवहार मन परेन र उनले सन्ध्यालाई पतिकै घरमा बसी पतिको सेवासुश्रुषा र टहल गर्नुपर्ने सल्लाह दिए । उनले बुवाको आग्रहलाई मानिनन् । घोडा झैं जिद्दी भएर आफ्नो अवहेलना गरेको ठहर्याएकाले त्वष्टाले सन्ध्यालाई घोडा हुने श्राप दिए । पिताको श्राप पाएपछि सन्ध्या घोडीका रूपमा कुरु प्रदेशको जङ्गलमा विचरण गर्न थालिन् ।

यता सूर्य सन्ध्याको छायालाई नै सन्ध्या हो भन्ने ठानेर पत्नीवत् व्यवहार गर्न थाले । कालान्तरमा छायाको गर्भबाट पनि सावर्णि मनु र शनिश्चर नामका दुई भाइ छोराको जन्म भयो । छाया स्वभावतः आफूले जन्माएका दुबै छोरा सावर्णि मनु र शनिलाई बढी प्रेम गर्दथिन् । सबै बालबालिका सँगै खेल्ने उफ्रने गर्दथे । एक पटक यमराजले ख्यालठट्टामैं सौतेनी आमा छायालाई आफ्नो खुट्टा देखाए छन् । छायालाई यमराजको क्रियाकलाप मन परेन । उनी रिसाईन् र तैंले म आमालाई खुट्टो तेर्स्याएको हुनाले आजबाट लङ्गडो हुनु परोस् भनी श्राप दिईन् । श्रापबाट डराएका यमराज रुँदैरुँदै पिता सूर्यकहाँ पुगे । छोराको कुरो सुनी उनलाई आमाको श्रापबाट जोगिने उपाय बताएर उनी छायासित बालबालिकामा भेदभाव किन गरेको भनी जङ्गिए । सूर्यसित डराएर छायाले समस्त सत्यतथ्य बताइदिईन् । सन्ध्याको बेहोरा बल्ल सूर्यले चाल पाए । उनी क्रोधित हुँदै ससुराल पुगे । ससुरा त्वष्टाले सम्झाइबुझाई ज्वाइँलाई शान्त तुल्याए र हजुरको तेज सहन नसकेर सन्ध्याले यस्तो अपराध गरेको हो, अहिले उनी घोडीका रूपमा वनमा भौंतारिरहेकी छन् भनी बताए । उनको यस अपराधलाई माफ गर्नुहोस् र हजुरको तेजलाई काटछाँट गरी सहनयोग्य बनाउने अनुमति दिनुहोस् भनी त्वष्टाले सूर्यसँग आग्रह पनि गरे । अनुमति पाएपछि त्वष्टाले सूर्यको तेज उन्मीलन गरिदिए । त्वष्टाले सूर्यको तेजलाई खुर्किएर मिल्काएको अंशको प्रयोग गरी विश्वकर्माले सुदर्शन चक्र तैयार गरी भगवान् विष्णुलाई समर्पण गरे । सूर्यको अनुरोधमा त्वष्टाले सन्ध्याको श्राप फिर्ता लिएको हुँदा उनी पुनः रूपलावण्यले युक्त सुन्दर रूपमा फिर्ता आईन् । मनोहर रूपमा पुनर्जीवन पाएकी सन्ध्यालाई लिई सूर्य पुनः आफ्नो लोकमा आए । पछि सूर्य र सन्ध्याको मिलनबाट नासत्य र दस्र नाम गरेका अश्विनीकुमारहरूको जन्म भयो । यमराजको कठोर तपस्याबाट प्रसन्न भई महादेवले उनलाई पितृलोकको आधिपत्य प्रदान गर्नुभयो र धर्म/अधर्मको निर्णय गर्ने अधिकारसमेत दिनुभयो । यमुना पवित्र नदीका रूपमा पृथ्वीतलमा प्रवाहित भईन् । शनिश्चरले नवग्रहमण्डलमा स्थान सुरक्षित गरे ।

शनिलाई ग्रहको उपाधि
स्कन्द पुराणको काशी खण्डमा भएको वृत्तान्तबमोजिम छायापुत्र शनिले पिता भगवान् सूर्यसित प्रार्थना गरे - म यस्तो पद प्राप्त गर्न चाहन्छु, जुन पद आजसम्म कसैले प्राप्त गर्न सकेको छैन । हजुरको मण्डलभन्दा मेरो मण्डल सातगुना ठूलो होस् । देवता, असुर, दानव आदि कसैले पनि मेरो वेगको सामना गर्न नसकोस् । छोराको यस्तो उद्देश्य सुनेर सूर्यदेव असाध्यै प्रसन्न भए र उनलाई काशीमा गएर भगवान् महादेवको भक्तिआराधना गर्ने सल्लाह दिए । शनिले पिताको आज्ञानुसार महादेवको तपस्या गरे र शिवजी प्रसन्न हुनुभयो अनि शनिलाई शिवले ग्रहत्व प्रदान गरी नवग्रह मण्डलमा उच्च स्थान प्रदान गर्नुभयो ।

शनिको क्रूर दृष्टिको रहस्य
ब्रह्म पुराणमा उल्लेख भएअनुसार शनिश्चर सानैदेखि भगवान् विष्णुका परम भक्त थिए । प्रत्येक समय उनी ध्यानमा मग्न हुने गर्दथे । विवाह योग्य उमेरभएपछि उनको विवाह चित्ररथ नामक गन्धर्वकी जेठी छोरीसित हुनपुग्यो । यिनकी पत्नी पनि धार्मिक स्वभावकी थिईन् । उनी परम सतीसाध्वी र तेजस्वी थिईन् । कुनै समयको रात्रीकालमा शनिपत्नीले उनीसँग ऋतुदानको कामना गरिन्, तर त्यति वेला उनी भगवान् श्रीकृष्णको आराधनामा ध्यानमग्न थिए । कामातुर पत्नीले धेरैबेर प्रतीक्षा गर्नुपर्यो, परिणामतः उनको ऋतुदर्शन निष्फल हुनपुग्यो । त्यसैले शनिकी कामक्रुद्धा पत्नीले उनलाई आफुतर्फ फर्कँदै नफर्की ध्यानमा एकोहोरिएको देखेर श्राप दिईन् - आजबाट तिमीले जसलाई हेर्नेछौ, तिम्रो दृष्टि पर्नासाथ त्यसको नाश होस् । यसरी कामावेगमा आफ्ना पतिलाई सराप्न त सरापिन् तर पछि आफुले गरेको गल्तीमा उनलाई पछुतो भयो । पत्नीको श्रापलाई प्रतिकार गर्ने सामर्थ्य र शक्ति शनिश्चरमा थिएन, त्यसैले त्यसपछि यथासम्भव आफ्नो दृष्टि कसैमा नपरोस् भनी उनी टाउको निहुर्याएर बस्न थाले ।

फलित ज्योतिषको सबै प्रसङ्गमा शनिको दृष्टिलाई अमङ्गलकारक भनी वर्णन गरिएको भेटिन्छ । एउटा प्रसङ्गमा ब्रह्मवैवर्त पुराणमा शनिको क्रूरदृष्टिको वर्णन गर्दै भगवान् गणेशको शिरोच्छेदनको कथालाई उल्लेख गरिएको छ । उक्त कथाअनुसार गौरीनन्दन श्रीगणेशको जन्मोत्सवमा बालकको दर्शनको अभिलाषाले शनि पनि कैलाश लोक गएका थिए । उनले आफ्नो टाउको निहुर्याएर आँखा थुनेर माता पार्वतीको दर्शन गरे । शनिले पार्वतीको अभिवादन गर्दै गर्दा शिशु गणेश आमाको काखमा थिए । शनिको अभिवादनको प्रत्युत्तरमा माता पार्वतीले शनिसित जिज्ञासा राख्नुभयो - हे शनिदेव, तपाईंले मेरो प्रियपुत्र गणेशलाई हेर्नु भएन, यसको रहस्य के हो ? शनिले भने - माता, मलाई मेरी अर्द्धाङ्गिनीले सरापेकी छन्, त्यसैले म मेरो आँखा भरसक खोल्दिन । माता पार्वतीलाई यो कुरो पहिल्यैदेखि नै थाहा थियो, यद्यपि उहाँले शनिको नम्रताको कदर गर्दै आफ्नो छोरो गणेशलाई हेरेर आशीर्वाद दिनै पर्ने अडान लिनुभयो । शनि आफ्नो दृष्टिदोषबाट हुने भावी अनिष्टसित निकै डराएका थिए, के गर्नु माता पार्वतीको आदेशको अवहेलना गर्नु पनि चानचुने कुरो थिएन । अन्ततः उनले धर्मलाई साक्षी बस्न अनुरोध गरे अनि आफ्नो देब्रे आँखालाई कर्के बनाई टाढैबाट गणेशलाई नियाले । शनिको दृष्टि पर्नासाथ गणेशको मस्तक शरीरबाट अलग्गिएर गोलोकमा पुग्यो । तुरुन्त महादेवको आदेश लिई भगवान् विष्णुले हात्तीको टाउको ल्याई गणेशको शरीरमा जोड्नुभयो र गणेशजीको प्राण सञ्चरण गर्नुभयो । त्यसै वेलादेखि गणेशको नाम गजानन भएको भन्ने गरिन्छ । अतः शनिश्चर सदैव आफ्ना कारणले कसैले पनि अरिष्ट व्यहोर्नु नपरोस् भन्ने चाहना राख्ने ग्रह हुन् भन्ने मान्यता छ ।


कुण्डलीको विभिन्न भावमा बसेको शनिश्चर ग्रहको शुभ/अशुभ फलको विवरण
आम मानसिकतामा शनिश्चर ग्रहलाई क्रूर र पाप ग्रहका रूपमा बुझ्ने गरिन्छ । तर वास्तविकतामा शनिश्चर त्यस्तो ग्रह होइन । ग्रहसभामा शनिलाई सेवक र दण्डाधिकारीका रूपमा नियुक्त गरिएको छ । त्यसैले शनिको समयमा आफूले जीवनकालमा गरेका अशुभ कर्मको फल मनुष्यले भोग्ने गर्छ । सज्जन, सदाचार, सद्विचार र सत्कर्म गर्ने सज्जनको जीवनमा शनिको महादशा वा शनिपत्नी उल्काको समयमा पनि अशुभ फल प्राप्त भएको देखिंदैन । तर चोरबुद्धि भएका, फट्याइँ, जालसाजी, दलाली, परधनको उपभोग गर्ने र भ्रष्टाचारीले शनिको समयमा अनेकानेक कठिनाइ भोग्नुपर्छ । महादशामा सामान्यतया शनिको अवधिपूर्व बृहस्पतिको समय हुन्छ, त्यसैले बृहस्पतिको समयमा सुखसुविधा र आनन्दको भोग गरिरहेका व्यक्तिले त्यसपछि शनिको महादशाको भोग गर्नुपर्दछ, जसमा शनिले मनुष्यलाई जिम्मेबारी, उत्तरदायित्व, कर्तव्य, परिश्रम र कर्मको बोध गराउँछ, त्यसैले धेरै खट्नु र मिहिनेत गर्नु पर्ने भएकाले पनि शनिदेवलाई मानिसहरूले क्रूर ग्रहको दर्जामा स्थान दिएका हुनसक्छन् । वास्तवमा शनि न्यायप्रिय, सत्यवादी, कर्मशील, परिश्रमी र परोपकारी स्वभावका सर्जक ग्रह हुन् ।

लग्न भावमा शनिश्चर
लग्न भावमा शनि भएको मानिसको सामान्य कदकाठीको हुन्छ, ऊ न मोटो न दुब्लो शरीर भएको व्यक्ति हुन्छ, त्यस्तै आन्तरिक बनोट कसिलो र प्रायशः श्याम रङको वर्ण हुन्छ अनि शरीरमा रौंको मात्रा बढी हुन्छ । जहाँ बसे पनि र जे काम गरे पनि यिनीहरू आफ्नो नेतृत्व मन पराउँछन्, त्यसैले यिनमा गाउँको मुखिया, प्रमुख वा नेता हुने लक्षण हुन्छ । विद्या, विनय र सम्पन्नताले युक्त जीवन भोग गर्ने अनुकूलता मिल्दछ । गम्भीर स्वभावको हुने हुँदा एक्लै बस्न मन पराउँछन् वा एकान्तप्रिय हुन्छन् । मनमा दह्रो आत्मबल हुनाले सामान्यतया यिनीहरू दृढनिश्चयी र साहसी हुन्छन् । विरोधी, प्रतिस्पर्द्धी र शत्रु सामु पर्दैनन् । शनि लग्नमा भएका मानिसहरू पहिलो भेटघाटको अवसरमा नै आफ्नो प्रभाव र वर्चस्व कायम राख्न सफल हुन्छन् । पैतृक सम्पत्तिको राम्रो योग हुन्छ, साथै जागिर वा पदप्रतिष्ठा धेरै मिहिनेत नगरी प्राप्त गर्दछन् । हातहतियार र फलामका माध्यमबाट धनोपार्जन गर्ने गर्दछन् । प्राविधिक विषय र ज्ञानको क्षेत्रमा यिनीहरूले उच्च सफलता प्राप्त गरेको देखिन्छ ।  परोपकारी र दयालु स्वभाव हुन्छ । बाल्यावस्था र किशोरअवस्थामा नै गहन जिम्मेबारी प्राप्त गर्नाले अनेकौं हन्डर ठक्कर खाने भएकाले यिनीहरूको ३६ वर्षपछिको उमेर सुखसुविधा र भोगविलासले सम्पन्न हुने गर्दछ ।

तर प्रथम भावमा नीच, निर्बल र अशुभ शनिको उपस्थिति रहेछ भने व्यक्तिले माथिका परिणाम प्राप्त गर्न सक्दैन । ऊ कप्टी, घोसे, अल्छी, कायर र आत्मविश्वासले विहीन बन्दछ । यस्ता व्यक्तिहरू झैझगडा र दङ्गाफसादमा रुचि राख्दछन् । छिट्टो कुरो नबुझ्ने, कामुक प्रवृत्ति, लोभी, सरसफाइ र साजसज्जामा ध्यान पुर्याउन नसक्ने, नीचकर्ममा रुचि राख्ने, मनोरोगी स्वभाव लग्नमा बसेको अशुभ र निर्बल शनिश्चरले प्रदान गर्दछ । शरीरमा रौंको मात्रा बढी रहेछ भने वा कपाल बाक्लो छ भने यस्ता व्यक्तिको हातमा धन टिक्दैन । आर्थिक कठिनाइ ब्यहोरी रहने परिस्थिति आइलाग्छन् । बाल्यावस्थामा अनेकानेक चोटपटक र हड्डीका समस्या भोग्नुपर्दछ, साथै नाकमा कुनै दीर्घ रोग वा चोटपटकको चिह्न हुन्छ । दादखाज, लुतो वा छालाका समस्याले सताइरहन्छ । हातहतियार र फलामले जोखिम सिर्जना गर्दछ । अर्काको ईष्र्या गर्ने बानी हुनु, बेमेल वा अन्तर्जातीय विवाह हुनु, मातापिताको दयनीय स्वास्थ्यस्थिति र आर्थिक अवस्था आदिमा लग्नमा भएको कमजोर शनिको प्रभाव हुने गर्दछ ।


द्वितीय भावमा शनिश्चर
जसको कुण्डलीमा दोस्रो भावमा शनि ग्रह बसेको हुन्छ, ऊ न्यायकर्ता, लगनशील, परिश्रमी, सत्यवादी, धार्मिक, मितव्ययी र दयालु स्वभावको हुन्छ । यिनीहरू बहुमूल्य र प्राचीन वस्तुहरूको सङ्ग्रहका सौखिन हुन्छन् । देशपरदेशको भ्रमणमा रुचि राख्ने स्वभाव हुन्छ र परदेशमा बसेर यिनीहरूले धन, मान, सम्मान र सुखसुविधा जुटाउन सक्दछन् । तर दोस्रो भावमा शनि बसेका व्यक्तिले आफ्नो थातथलो छाड्न सकेनन् भने यिनीहरूले धनसम्पत्ति जोड्न सक्दैनन् । पैतृक सम्पत्तिको राम्रो योग हुन्छ, साथै आफूस्वयं काठपात र फलामसँग सम्बद्ध व्यवसायमा सफल हुन्छन् । प्रयास गरेमा सरकारी पेसा वा पदमा पनि यिनीहरूले राम्रो पद हासिल गर्न सक्दछन् । अर्काको भावना र इच्छाको कदर गर्ने कला हुन्छ र अनुहारको भावलाई अनुभूति गर्ने सीप पनि हुन्छ । धर्मकर्ममा राम्रो रुचि हुनाले कतिपय जातक बुढेसकालमा त्यागी, सन्यासी र योगी भएको पनि देखिन्छ ।

तर दोस्रो भावमा शनिश्चर ग्रह निर्बल भएर बसेको छ भने व्यक्तिलाई असत्यवादी बनाइदिन्छ । यस्ता व्यक्तिहरू जालसाजी, फट्याइँ, ठगी, मुद्दामामिला, दलाली आदि पेसा वा चरित्रका हुन्छन् । बोलीवचन कठोर हुन्छ, गालीगलोज र अपशब्दको प्रयोग गरिरहन्छन्, त्यस्तै खैनी, सुपारी, गुटखा आदि केही न केहीमा दुर्व्यसन हुने सम्भावना पनि हुन्छ । व्यङ्ग्य गर्नु, घोचपेच गरी बोल्नु र वाणिमा मिठास नहुनु यिनीहरूको दुर्गुण हुन्छ । स्त्रीहरूलाई ठग्नु र धोका दिनु तथा राज्यपक्षबाट दण्डित हुनु सामान्य हुन्छ । यसरी दोस्रो भावमा कमजोर शनि बस्नाले उसको विवाहोपरान्त ससुरालीमा ठूलो धननाश वा दुर्घटना हुने सम्भावना पनि हुन्छ ।


तृतीय भावमा शनिश्चर
जन्मकुण्डलीको तेस्रो भावमा शनिश्चर ग्रहको उपस्थिति भएमा जातक शूरवीर, सुखी, मितभाषी, न्यायप्रिय, पराक्रमी, उदार, कुशाग्र बुद्धि, विचारशील, कुलीन र धनाढ्य हुन्छ । उसका आश्रयमा धेरै व्यक्तिहरू रहने गर्दछन् । यस्तो परिस्थितिमा जन्मिएका जातकले शत्रु वा मित्रको भेदभाव नगरी सबैको पालनपोषण गर्ने गर्दछन् । यिनले पारिवारिक सुख, स्त्रीसुख, सन्ततिसुख, मित्रसुख सजिलै प्राप्त गर्दछन्  । शत्रुमाथि सहजै विजय प्राप्त गर्नुका साथै आफ्नो क्षेत्रमा नाम, दाम र प्रतिष्ठा आर्जन गर्न सफल हुन्छन् । यशस्वी र कीर्तिमान हुनुका साथै उत्तम वाहन र सेवकको भोग गर्ने अनुकूलता प्राप्त हुन्छ । सुखसुविधायुक्त भवन, वाहन, धनसम्पत्ति प्राप्त हुन्छ, साथै दाजुभाइसँग प्रगाढ सम्बन्ध कायम हुन्छ ।

तर तेस्रो घरमा नीच, दुर्बल र अशुभ शनिश्चरको उपस्थिति छ भने जातकले यस विपरीत फल प्राप्त गर्दछ । जातक मलीन, दुष्ट, कालो वर्ण भएको, नीच र कृपणी हुन्छ । यस्तो व्यक्तिलाई जति सम्मान वा आदर गरे पनि उसबाट दुष्ट व्यवहार र बोलीवचनमात्र प्राप्त हुन्छ । बन्दव्यापार वा पेसागत जीवनबाट दुर्नाम प्राप्त हुन्छ । नचिताएको क्षेत्रमा आकस्मिक धननाश भइरहन्छ । अर्काको परोपकारको प्रत्युपकार नगर्ने कृतघ्न हुन्छ र दाजुभाइ र बन्धुुबान्धवको साथसहयोग प्राप्त गर्न सक्दैन  । दाजुभाइसित द्वेषभाव र शत्रुता हुन्छ । उसका छोरा बेकामे हुन्छन् । परिवारका सदस्यहरूका माझमा मतभेद भइरहन्छ र मरणकालसम्म पनि आफ्ना तिर्सना पूर्ण हुन सक्दैनन् ।


चतुर्थ भावमा शनिश्चर
जसको जन्मकुण्डलीमा चौथो भावमा शनिश्चर ग्रह बसेको हुन्छ, त्यो मानिस धीर, गम्भीर, गुणवान्, धनी, उदार, धैर्यवान्, न्यायप्रिय र व्यसनरहित हुने गर्दछ । यस्ता व्यक्तिले पेसा वा व्यवसायका कारण जन्मभूमिबाहिर वा देशपरदेशमा लामो समय बिताउनु पर्दछ । बन्दव्यापारका तुलनामा नोकरीमा यिनीहरूले राम्रो प्रतिष्ठा र धनधान्य कमाएको देखिन्छ । यिनीहरू आफूले कमाएको धन परोपकार वा धार्मिक÷सामाजिक काममा लगानी गर्न उत्सुक हुन्छन् । यिनीहरूका शत्रु हुँदैनन्, भइहालेमा शत्रुपक्षबाट पनि लाभ लिनसक्ने योग भएकाले यिनीहरूलाई शत्रुले पनि प्रशंसा प्राप्त गर्दछन् । सांसारिक जीवनको मोह हुँदैन । जीवनभरि सुख र विलासिता जीवन बिताउने अनुकूलता प्राप्त भएपनि यिनीहरू अन्त्यकालमा त्यागी, योगी र सन्यासी बनेको देखिन्छ ।

तर चतुर्थ भावमा नीच, बलहीन र अशुभ शनिश्चर बसेको जातक यस संसारमा दुःखपीडा र असन्तुष्टि भोग्नका लागिमात्र जन्मिएको हो भन्दा फरक पर्दैन । ऊ दुःखी, झगडा, विवाद, कुतर्क गर्ने प्रवृत्ति भएको, चिन्ताग्रस्त, अल्छी, दुराचारी, मलिन, सुखहीन, कप्टी र कुसङ्गतमा लागेको व्यक्ति हुन्छ । बाल्यावस्थामा अनेकानेक रोगव्याधिले ग्रस्त हुनुका साथै आमालाई पनि दीर्घरोगी बनाउने सम्भावना हुन्छ । मातृसुखको अभाव हुन्छ र नदी वा जलको प्रकोपमा जिउधन नै नाश हुने खतरा पनि हुन्छ । यिनीहरूले पैतृक सम्पत्ति र अचल सम्पत्तिको भोग गर्ने सम्भावना देखिंदैन । दाजुभाइ र बन्धुबान्धवसित मित्रता हुँदैन, छरछिमेकीसित पनि झगडा वा तनावको स्थिति रहन्छ । यिनीहरूको क्रियाकलाप र दैनिकीका कारण मातापिताले पनि कष्ट ब्यहोर्नु पर्ने हुन्छ । पशुपन्छी र वाहनादिमा दुर्घटना र नाशको खतरा जत्तिखेर पनि देखिन्छ । घरबार त्यागेर यत्रतत्र कुलत र कुसङ्गतमा भौंतारिएर हिंड्नुपर्ने बाध्यता सिर्जना हुन्छ । जातकले सदाचार वा सत्सङ्गको आश्रय लिएमा यी अशुभ फलमा न्यूनता आउँछ, तर व्यभिचारी र कुसङ्गतमा फँसेमा अझ परिणाम कठोर हुने सम्भावना हुन्छ ।


पञ्चम भावमा शनिश्चर
पाँचौं घरमा उच्च र बलवान् शनि बसेको कुण्डलीका जातक धर्मात्मा, धार्मिक कार्यमा रुचि राख्ने, स्वाभिमानी, दीर्घायु र शत्रुजयी हुने गर्दछन् । भ्रमण र पर्यटनमा विशेष रुचि हुन्छ । यस्तो शनिले प्रायः विद्याप्राप्तिमा कठिनाइ उत्पन्न गर्दछ, बौद्धिक क्षमता हुँदाहुँदै चाहेको विषय वा क्षेत्रमा पठनपाठन गर्ने अनुकूलता मिल्दैन । सन्ततिप्राप्तिमा विलम्ब हुन्छ, तर एउटा प्रतिभाशाली र कुलको इज्जत धान्ने छोरो अवश्य हुन्छ । पुत्रका तुलनामा कन्या सन्ततिको योग प्रबल हुन्छ । सन्तानका नाममा गरेका कामधन्दा, व्यवसायबाट तथा तिनका नाममा किनेको अचलसम्पत्ति वा घर आदिबाट राम्रो लाभ प्राप्त हुन्छ । मिलमेसिनरी, खानी तथा भूगर्भ, सार्वजनिक निकाय, सुरक्षा वा प्रशासनिका काममा फाइदा हुन्छ । प्राविधिक विषयको शिक्षादीक्षा वा तालिम÷सीप लिएमा राम्रो जीविकोपार्जन गर्न सकिन्छ ।

तर पञ्चम भावमा अशुभ र निर्बल शनिश्चरको उपस्थिति छ भने माथिका फल प्राप्त हुँदैनन् । यसविपरीत व्यक्ति श्रद्धाहीन, कुटिल, कुरूप, नास्तिक, बुद्धिहीन, शङ्कास्पद कारोबारमा संलग्न, झट्टै अरुका कुरामा विश्वास नगर्ने, अल्छी र निर्धन हुन्छ । ऊ उन्मादी स्वभावको व्यक्ति हुन्छ र पेटमा दीर्घरोग लाग्ने सम्भावना पनि उत्तिकै हुन्छ । शिक्षादीक्षामा कमी हुन गई जीविकोपार्जनमा अनेकानेक कठिनाइ सिर्जना हुन्छ । यस्ता व्यक्तिमा कामशक्तिको पनि अभाव हुन्छ । सन्ततिसुखमा कमी देखिन्छ । मित्रवर्ग र बन्धुबान्धवबाट पीडा ब्यहोर्नुपर्छ । प्रेमसम्बन्ध र दाम्पत्य जीवनमा असफल ठहरिन्छ ।


षष्ठम भावमा शनिश्चर
जन्मकुण्डलीको छैटौं घरमा शनिश्चर ग्रह भएका जातक हृष्टपुष्ट, निरोगी, बलिया, शूरा, प्रतापी, न्यायप्रिय, धनी, सुशिक्षित, तर्ककुशल, विजेता र दानी हुन्छन् । यिनीहरूले आफ्नो घरपरिवारमात्र होइन अनेकौं परिवारको भरणपोषण र आश्रयको अभिभारा वहन गरेका हुन्छन् । यिनीहरू सज्जन, विद्वान् र भद्रभलादमीको सङ्गत गर्दछन् साथै तिनका सद्गुणको अनुसरण गरी लाभ प्राप्त गर्न सक्षम हुन्छन् । काव्यकला, गीतसङ्गीत र ज्ञानविज्ञानका विविध क्षेत्रमा रुचि राख्दछन् । वादविवाद, न्यायसम्पादन, प्रशासनिक क्षेत्र, राजनैतिक वृत्तका काम आदिमा यिनीहरूले उच्च सफलता आर्जन गरेको देखिन्छ । चौतर्फी नाम, इज्जत र प्रतिष्ठा फिंजाउने अवसर मिल्दछ । शत्रुमाथि विजय प्राप्त गर्दछन् । शत्रुबाट पनि सम्मान लिने अनुकूलता मिल्दछ । फलाम, मिलमेसिनरी, ग्यास, ऊर्जा आदि व्यवसाय यिनीहरूका लागि उचित हुन्छ । खानपीनका सौखिन हुन्छन् । पुत्रसुख, स्त्रीसुख, धनसम्मृद्धि, भ्रमणपर्यटन आदिको अनुकूलता प्राप्त हुन्छ ।

यद्यपि छैंटौं भावको शनिलाई जुनसुकै अवस्था पनि शुभ मान्ने चलन छ, तर अशुभ र निर्बल शनिले केही नकारात्मक फल प्रदान गरेको पाइन्छ । यस्ता व्यक्ति घमण्डी, अहङ्कारी, जिद्दी, कामुक, कुटिल र दरिद्र हुनसक्ने सम्भावना हुन्छ । यिनीहरूले पटकपटक लोकापवाद ब्यहोर्नु पर्ने हुन्छ, घरपरिवार र साझेदारभित्रै शत्रु लुकेर बसेका हुन्छन् । प्रमेह, धातुक्षय, गुदा रोगको पीडा ब्यहोर्नु पर्ने हुन्छ । यस भावमा बसेको अशुभ शनिले मातृपक्ष मामा, सानिमा वा ठूलिआमालाई पिर्ने गर्दछ । पेसा÷व्यवसायमा अस्थिरता र कुलकुटुम्बसँगको सम्बन्धमा देखिने चिसोपनमा पनि छैंटौं शनिको कमजोरीको भूमिका हुन्छ ।


सप्तमभावमा शनिश्चर
सातौं भाव साझेदारी, दाम्पत्यजीवन र भोगविलाससँग सम्बद्ध घर हो । यस भावमा बसेको बलियो शनिको प्रभावले व्यक्ति उदार, परोपकारी स्वभाव भएको र आनन्दी मिजासको हुने गर्दछ । यिनीहरू अर्काको मनोभावना र क्रियाकलापका ज्ञाता हुन्छन् । प्रायः अर्काले बनाएको सुन्दर घर खरिद गरी बसेको देखिन्छ । वादविवाद र मुद्दामामिलाबाट लाभ प्राप्त हुन्छ । यात्राबाट लाभ प्राप्त हुन्छ, देशपरदेशको भ्रमण गर्ने र वैदेशिक धनको लाभ हुने देखिन्छ । फलामको काम, एजेन्सी, ठेक्कापट्टा आदि कार्यबाट लाभ मिल्छ । पतिपत्नीका बीचमा सुमधुर सम्बन्ध कायम हुन्छ । गृहस्थको पूर्णसुख भोग गर्न पाउँछन् ।

तर सातौं भावमा बसेको शनि शत्रुगृही, निर्बल, कमजोर, नीच वा अस्त छ भने व्यक्तिले पारिवारिक सुख प्राप्त गर्न सक्दैन । ऊ उत्साहहीन, अल्पज्ञ, लोभी, चञ्चल बुद्धि भएको, कामुक, पराश्रित, निर्बल र रोगी शरीरले युक्त र आडम्बरी स्वभावको हुन्छ । नीच वर्गका मानिसको आश्रयमा रही धनार्जन गर्ने अवसर त प्राप्त हुन्छ, तर अचानक धनवैभव र सुखसुविधाको नाश हुने खतरा हुन्छ । विधुर वा विधवा जीवन भोग्ने परिस्थिति आइलाग्छ । सामान्यतया एकपल्ट दाम्पत्यजीवन भङ्ग भएपछि पुनः भएको घरबारका माध्यमबाट गृहसुख प्राप्त हुन्छ । नयाँ घर बनाउनु हुँदैन, आफैंले नयाँ घर बनाएमा पत्नीको सुखबाट वञ्चित हुनुपर्ने डर हुन्छ । कतिपय जातकको बेमेल वा अन्तर्जातीय विवाह भएको अवस्थामा घरायसी सुख राम्रो भएको पनि देखिन्छ । मूत्रप्रणाली, प्रजनन स्वास्थ्य, गुदा आदिमा दीर्घरोगको सम्भावना हुन्छ ।


अष्टम भावमा शनिश्चर
धूर्त र चलाख व्यक्तिको कुण्डलीमा प्रायः आठौं भावमा शनिश्चर ग्रहको उपस्थिति भएको देखिन्छ । यिनीहरू राम्रो विद्वत्ताले युक्त हुन्छन् । गोपनीय र गूढ विषयवस्तु, टुनामुना, मन्त्रतन्त्र आदिका ज्ञाता हुन्छन् । परोपकारी र धार्मिक स्वभाव र लामो आयु भएका हुन्छन् । यिनीहरूको लामो समय प्रवास वा विदेशमा बित्दछ । सामान्यतया विवाहपछि मात्र धनसम्पत्ति र घरायसी सुखको मात्रामा बृद्धि हुन्छ । बाल्यावस्थामा छिटपुट रोगव्याधि देखिए पनि उमेरको अधिकतम समय रोगव्याधिको प्रकोपमा पर्नु पर्दैन ।

तर आठौं भावमा बसेको शनि मृतअवस्थामा छ वा नीच, शत्रुगृही, अस्त वा बक्री छ भने माथिका कुनै पनि परिणाम प्राप्त हुने सम्भावना न्यून हुन्छ । यस्ता जातकहरू सङ्कुचित हृदय भएका, कुटिल, कायर, लोभी र कृपणी हुन्छन् । क्रोध र झैझगडा यिनीहरूका साथी जत्तिकै हुन्छन् । चर्मरोग, घाउखटिरा, नेत्रदोष, गुदाजन्य रोग र मूत्रप्रणालीका समस्याले ग्रस्त हुनुपर्दछ । अर्काको दोष र कमजोरी देखाउने छिद्रान्वेषी बानी हुन्छ । व्यभिचार र वेश्यावृत्तिमा लम्पट हुने सम्भावना पनि हुन्छ । साथीभाइ र बन्धुबान्धवसँगको सम्बन्धमा कटुता उत्पन्न हुन्छ । देशपरदेशको यात्रा भए पनि दुःखकष्ट भोग्ने स्थितिको सिर्जना भइरहन्छ । छोराछोरीबाट पनि असन्तुष्ट हुनुपर्दछ ।


नवम भावमा शनिश्चर
जन्मकुण्डलीको नवम भाव धर्म र भाग्यसँग सम्बद्ध हुन्छ । यस भावमा शनि ग्रह बसेको छ भने जातक दयालु, धर्मात्मा, सत्कर्मी, परोपकारी र विचारशील हुन्छन् । यिनीहरू आर्थिक रूपमा सम्पन्न, सुन्दर पति/पत्नी र सन्ततिले युक्त हुन्छ । गणित, ज्योतिष र प्रविधिको क्षेत्रका जानकार व्यक्तिको कुण्डलीमा प्रायः शनि ग्रह भाग्यभावमा हुने गर्दछ । देशपरदेशको भ्रमण गर्ने र शैल्पिक ज्ञानले युक्त हुनु यिनीहरूको विशेषता हो । समाजमा प्रतिष्ठा कमाउने उद्देश्यले यिनीहरूले मठमन्दिर, सार्वजनिक भवन, तलाउ, पोखरी आदिको निर्माण गर्दछन् । यिनीहरूमा सेवाभावना र धार्मिक स्वभाव त हुन्छ, तर आडम्बरीपन र देखावटीपन हुँदैन । यस्ता जातकमा सांसारिकताको मोह हुँदैन, यिनीहरू विषयवासनाभन्दा टाढै बस्न रुचाउँदछन् । जीवनको अन्त्यकालमा यिनीहरूमा वैराग्यको भावना उत्पन्न हुन्छ र यिनीहरू अध्यात्म, योग, तीर्थयात्रा आदिको रुचि जाग्दछ । मृत्युकालमा सन्यास ग्रहण गर्ने सम्भावना पनि हुन्छ ।

तर नवौं भावमा दुष्ट शनि बसेको छ भने मानिसले माथि उल्लेख गरेका परिणाम प्राप्त गर्न सक्दैन । यस भावमा बसेको अशुभ शनिले व्यक्तिलाई दुष्टबुद्धि, मूर्खता, भाग्यबलमा कमी र धन एवं धर्मले रहित बनाउने गर्दछ । अरुलाई पीडा दिने, अप्ठ्यारोमा पार्ने र झमेला सिर्जना गर्ने काममा रुचि राख्दछन् । परस्त्री वा परपुरुषको योग हुनसक्छ । चिन्ता, शङ्का र छटपटी बढी हुने भएकाले रात्रीकालमा पनि निदाउन नसक्ने बानीको विकास हुन्छ । शत्रु बलिया हुन्छन् । प्रतिशोधको भावनाले ग्रस्त हुन्छन् तर केही गर्न सक्दैनन् । सन्तति शोकको सम्भावना पनि हुन्छ । पुत्रपुत्री पनि खराब आचरण भएका र दुर्बुद्धिले युक्त हुने गर्दछन् ।


दशम भावमा शनिश्चर
जसको जन्मकुण्डलीमा दसौं भावमा शनिश्चर ग्रह बसेको छ, ऊ पारक्रमी, सुखी, नीतिज्ञ, नरम स्वभावको, चलाख, धनाढ्य, स्वाभिमानी, महत्त्वाकाङ्क्षी र दूरदर्शी हुने गर्दछ । ऊ स्वयं नेता नभए पनि उसले सरकारी सेवासुविधा, पद र लाभ प्राप्त गर्नसक्दछ । समाजोपयोगी काम र धर्म, परम्परा र संस्कृतिको मोह हुन्छ । अरुलाई सम्मान गर्नुका साथै आफ्नो नाम, दाम र प्रतिष्ठाको अभिबृद्धि गर्दछ । जीवनमा मन्द गतिमा स्थिर ढंगले उन्नति प्रगति हुँदै जान्छ । अकूत सम्पत्तिको स्वामी हुने अवसर मिल्दछ । न्यायाधीश वा समाजको न्याय दिलाउने सशक्त स्वभाव विकसित हुन्छ । खेतीपाती र बरबगैंचाको सौखिन हुन्छ । देशपरदेशको भ्रमणबाट लाभ आर्जन गर्न सक्षम हुन्छ ।

तर यस भावमा बक्री, पापगृही, नीच, अस्त वा दुर्बल शनिश्चर बसेको छ भने माथि उल्लेख गरिएका फल आंशिक रूपमा मात्र प्राप्त हुने गर्दछ । कालचक्रको दसौं भावमा शनि ग्रहकै अधिकार हुन्छ, त्यसैले यहाँ बसेको अशुभ शनि नै भए पनि यसले त्यत्ति अशुभ परिणाम प्रदान गर्दैन । तर बाल्यावस्थामा नै मातृवियोग सहेर दुःख र पीडाका साथ व्यक्तित्व विकास गर्नुपर्ने, पैतृक सम्पत्ति र अचल सम्पत्तिको प्राप्ति र उपयोग नहुने, बुढ्यौलीका साथ एकान्त र वैराग्यका भावनाको उदय हुने, अधिकारको दुरुपयोग गर्ने, मित्र र बन्धुबान्धवबाट सहयोग लिन नसक्ने, सन्ततिसुखमा अभाव हुने आदि केही दुष्परिणाम यस्तो शनिले प्रदान गर्दछ ।


एकादश भावमा शनिश्चर
एकादश भावमा पनि शनिको नैसर्गिक अधिकार हुन्छ । त्यसैले यस भावमा बसेको शनिले प्रायः सबै जातकलाई शुभ परिणाम नै प्रदान गरेको पाइन्छ । अझ शुभ ग्रहद्वारा दृष्ट वा युतिसम्बन्ध बनाएको शनि छ भने राजयोगको सिर्जना हुन्छ । यस्ता जातक स्थिर बुद्धि भएका, निरोगी, धनी, दीर्घायु, पराक्रमी, यशस्वी, सन्तोषी र दयालु स्वभावका हुन्छन् । यिनीहरू पूर्ण शिक्षित नभए पनि सबै विद्याका ज्ञाता हुन्छन् । राम्रा मित्र र कुलकुटुम्बको सहयोग प्राप्त हुन्छ । घरमा उच्च वाहन, बहुमूल्य रत्न र सेवकजनको सुखप्राप्ति हुन्छ । पिता, राज्यपक्ष र भूमिबाट राम्रो लाभ लिन सक्छन् ।

तर यस भावमा बक्री, पापगृही, शत्रुगृही, नीच वा निर्बल शनि बसेको छ भने माथिका केही परिणाम आंशिक रूपमा मात्र प्राप्त हुने सम्भावना हुन्छ । जालप्रपञ्चमा रुचि राख्ने, मायावी, छलबुद्धि र दुर्व्यसनमा फँस्ने सम्भावना एघारौं घरको कमजोर शनिश्चरले सिर्जना गर्दछ ।


बाह्रौं भावमा शनिश्चर
जन्मकुण्डलीको बाह्रौं भावमा शनिश्चर ग्रह बसेको जातक नेता स्वभावको हुन्छ । जन्मभूमिका तुलनामा प्रवासमा बसेर यस्ता जातकले उन्नति, प्रगति गरेको र धनधान्य, सुखसम्मृद्धि आदि कमाएको देखिन्छ । बन्दव्यापार वा न्यायसम्पादनका काम (वकालत, न्यायसेवा, सुरक्षा निकाय) मा राम्रो सफलता आर्जन गर्दछन् । शत्रुमाथि जाइलागी तिनलाई तहसनहस बनाउन सक्षम हुन्छन् । उसका घरमा अन्न र धनको अभाव कहिल्यै पनि हुँदैन । बाह्रौं भावको शनिलाई राजयोगको कारक पनि मान्ने गरिन्छ । यस्ता जातकमा अध्यात्म र परोपकारका भावना पलाउँछन् र जातकको अन्त्यकाल एकान्तप्रिय, मायामोह र सांसारिक विषयवासना भन्दा टाढा हुने गर्दछ ।

तर यस भावमा नीच, शत्रुगृही र दुर्बल शनिश्चर बसेको छ भने व्यक्ति कातर, निर्लज्ज, निर्दयी, ठग र अल्छी प्रवृत्तिको बन्दछ । नीच प्रवृत्तिका व्यक्तिहरूको सङ्गत, फटाहा, दुर्जन, व्यभिचारी, दुर्व्यसनी मित्र भएको र दृष्टिशक्तिमा कमजोरी भएको एवं व्यर्थका काममा समय यापन गर्ने व्यक्ति हुन्छ । परिवारजन, कुटुम्ब र आफन्तसँग प्रायः वैरभाव सिर्जना भइरहन्छ । आफूले गरेका कुकृत्यका कारण बन्धनमा पर्ने वा जेलयात्रा गर्नु पर्ने कठिनाइको सामना गर्ने परिस्थिति पनि सिर्जना हुन्छ ।


No comments:

Post a Comment