Tuesday, November 15, 2016

चण्डी पाठ विधि

अामभाषामा चण्डी भनिने ग्रन्थ संस्कृत भाषामा लेखिएको भगवती दुर्गाका चरित्रहरूको उल्लेख भएको पुस्तक हो । यस ग्रन्थको मूल स्रोत मार्कण्डेय पुराण हो । सातसय श्लोक (उवाच, अर्द्धश्लोक समेत) हरूमा निबद्ध भएकाले यसलार्इ दुर्गा सप्तशती वा सप्तशती मात्र पनि भन्ने गरिन्छ । सप्तशतीको समग्र पुस्तकमा संस्कृत भाषामा लेखिएका विभिन्न ऋचा, स्तोत्र, मन्त्र तथा कथाहरू सङ्ग्रह गरिएको पाइन्छ । चण्डी पाठ गर्दा सप्तश्लोकी दुर्गा, श्री दुर्गाष्टोत्तरशतनामस्तोत्रम्, देवी कवच (दुर्गाकवच), अर्गलास्तोत्र, कीलक स्तोत्र, वेदोक्त रात्रिसूक्त, तन्त्रोक्त रात्रिसूक्त, श्रीदेव्यथर्वशीर्षम्, नवार्णविधि तथा सप्तशती न्यासको पाठ दुर्गा पाठको पूर्वाङ्गको रूपमा गरिन्छ, तर यसरी विधि पुर्याएर सबै पाठ गर्न सकिंदैन भने पनि कवच, अर्गला र कीलकको पाठ गर्नु वाञ्छनीय मानिन्छ । त्यसपछि मात्र वास्तविक पाठको प्रारम्भ हुन्छ । सप्तशतीको मुख्य पाठमा जम्मा तेह्र वटा अध्याय छन् । ती अध्यायहरूमा अाद्याशक्ति जगन्माता भगवतीका मुख्यमुख्य तीनवटा चरित्रको कथा छ । तिनको परिचय यसप्रकार छ :-

प्रथम चरित्र
यस प्रथम चरित्रको पाठ महाकालीको आराधना र प्रसन्नताका निमित्त गर्ने गरिन्छ । प्रथम चरित्रमा सप्तशती (चण्डी) को पहिलो अध्यायमात्र पर्दछ, त्यसैले यसमा प्रथम अध्यायको मात्र पाठ हुन्छ । समग्र पुस्तकमा मार्कण्डेय ऋषिले सूर्यपुत्र सावर्णि भगवतीको अनुग्रहले कसरी मन्वन्तरको स्वामी हुन पुगे, राजा सुरथले शत्रुहरूबाट पराजित भएर आफ्नो राज्य गुमाइसक्दा पनि माता भगवतीको आराधनाबाट फेरि आफ्नो गुमिसकेको राज्यश्री कसरी प्राप्त गर्न सफल भए भन्ने कथाको वर्णन छ । उक्त प्रसङ्गमा सुरथ राजा र समाधि नामक वैश्यको मिलन भएको प्रसङ्ग अाअाफ्ना समस्या समाधानका लागि उनीहरू मेधा ऋषिको अाश्रममा पुगी मुनिसित उपाय बताउन अनुरोध गरेको भूमिकाका साथमा कथा प्रारम्भ भएको छ । उक्त क्रममा यहाँ मधु र कैटभ नामका दुई भाइ राक्षसहरूको भगवान् विष्णुद्वारा वध भएको कथाप्रसङ्ग उल्लेख गरिएको छ ।

मध्यम चरित्र
प्रथम चरित्रपछि मध्यम चरित्रको पाठ गरिन्छ । मध्यम चरित्रमा दोस्रो, तेस्रो तथा चौथो अध्याय पर्दछ । यी तीन अध्यायहरूमा महिषासुर बधको कथा वर्णित छ । मध्यम चरित्रको पाठ भगवती महालक्ष्मीको आराधना तथा प्रसन्नताको लागि गरिन्छ । यस प्रसङ्गमा चिक्षुर, चामर, उदग्र, महाहनु, असिलोमा, बाष्कल, बिडाल, दुर्धर, दुर्मुख आदि महान् राक्षसहरूको वधको कथा पनि मध्यम चरित्रमा समेटिएको पाइन्छ ।

उत्तम चरित्र
यी दुई चरित्रपछि उत्तर चरित्रको पाठ हुन्छ । उत्तर चरित्रमा पञ्चम अध्यायदेखि तेह्र अध्यायसम्म जम्मा आठवटा अध्यायहरूको पाठ हुने गर्दछ । उत्तर चरित्रको पाठ श्री महासरस्वतीको आराधना तथा प्रसन्नताको लागि गरिन्छ । यस खण्डमा चण्ड, मुण्ड, धूम्रलोचन, रक्तबीज, निशुम्भ, शुम्भ जस्ता भयानक राक्षसहरूको वधको कथा उल्लेख गरिएको छ । अन्तिमका तीन अध्यायहरूमा देवताहरूद्वारा देवीको स्तुति तथा देवीद्वारा देवताहरूलाई वरदान, देवी चरित्रको पाठको माहात्म्य तथा राजा सुरथ र समाधि वैश्यलाई देवीद्वारा प्राप्त वरदानका कथाहरू वर्णित छन् ।

तीनवटा चरित्रको पाठ गरिसकेपछि फेरि विनियोग, ऋष्यादिन्यास, करन्यास, हृदयादिन्यास, अक्षरन्यास, दिङन्यास, देवीको ध्यान गरेर नवार्ण मन्त्रको जाप गरेर ऋग्वेदोक्त देवीसूक्त, तन्त्रोक्त देवीसूक्त, प्रधानिक रहस्य, वैकृतिक रहस्य तथा मूर्ति रहस्यको पाठ पढेपछि क्षमा प्रार्थना गरेर सप्तशती पाठको समाप्ति गरिन्छ ।

दुर्गाद्वात्रिंशन्नाममाला, सिद्ध कुञ्जिका स्तोत्र तथा दुर्गा मानस पूजा ऐच्छिक पाठ हो । दुर्गा पाठका अन्यान्य अरू पनि प्रकारहरू प्रयोग गर्ने प्रचलन छ ।

No comments:

Post a Comment