Thursday, November 17, 2016

स्वधर्मे निधनं श्रेयः परधर्मो भयावहः

* विदुरप्रसाद पौडेल

संस्कृतिको यथार्थरुप बुझ्नु त्यति सजिलो छैन । संसारका विविध भौगोलिक बनावट, प्रचलित धर्म, परम्परा, रीति रिवाज, आचार व्यवहार, इतिहास, ज्ञान, विज्ञान, कला, काल, शिक्षा यी सबैको वासना वा भनौं संस्कारको सार संस्कृतिले बोकेको हुन्छ । पृथ्वीलाई तीन भागमा बाँडेर हेर्ने हो भने हामी नेपालीहरुको संस्कृतिलाई पौरस्त्य संस्कृति भन्छौं, जसभित्र वैदिक, वैष्णव, शैव, शाक्त (पारुहाङ्/सुम्निमा), हिन्दू, बौद्ध, जैन, सौर, गाणपत, बोन, सिन्तो, कन्फ्युसियस, सिक्ख, मुन्द्धुम, चण्डिनाच, ल्होसार, धाननाच, उधौंली, उभौंली कुनै दिनमा, कुनै रातमा गरिने देव–पितृकर्म, धामी, झाँक्री एवं जन्मदेखि मृत्युपर्यन्त गरिने संस्कार आदि यी सवै पौरस्त्य विधाकै उपज हुन् ।

पौरस्त्य विधामा मुख्यतः दुइ किसिमका धार पाइन्छन् । एकधार वाम मार्ग र अर्कोधार दक्षिण मार्गको । जसका देव–पितृ–अतिथि आदिलाई पञ्च कार अर्थात् मदिरा, मासु, माछा, मुद्रा र मैथुनले आराधना गरिन्छ त्यो वाम मार्ग हो । जहाँ दूध, दही, घिऊ, मह, शक्खर आदिले आराधना गरिन्छ त्यो दक्षिण मार्ग हो । कतिपय महत्त्वपूर्ण वैदिक यागमा पनि पशुबलि दिने विधि तथा सौत्रामणि यागमा सुरा पान गर्ने विधि भएबाट र वामदेव्य सामोपासकलाई हर कुनै स्त्रीसंग सम्भोगको अनुमति भएबाट के बुझ्नु पर्छ भने दक्षिणमार्गीहरूको साधनामा पनि कतैकतै कुनै शाखामा अपवादको रुपमा पञ्च मकारको अंश र देव–पितृ कर्ममा पञ्च मकारको प्रयोग अनिवार्य गर्ने वाममार्गीहरुले पनि खीर, रोटी, पुवा, वावर आदि चढाउने हुँदा दक्षिणमार्गीको अंशको प्रयोग कर्ममा गरेकै हुन्छन् । सुदीर्घकालदेखि चल्दै आएका आ–आफ्ना परम्परा र संस्कृति संस्कारलाई समग्र नेपाली समाजले थेग्दैमान्दै आइरहेका छन् । नेपालका खोला, नाला, कोशी, नदी, कुण्ड, डाँडाकाँडाका देवीदेउराली, गैयाँ, गैडू, गोसाइ, सिमे, भूमे, कुलद्यौ, मष्ट आदि आफ्नै कुलपरम्पराबाट मान्दै आएका देवीदेवता र सबैका साझा सबैले पुजिने स्थान पनि नेपालका गाउँगाउँ र ठाउँठाउँमा छन् ।

महिषपालदेखि गोपाल, नागा, किरात, लिच्छवि, मल्ल, शाह र गणतन्त्रकालसम्मका नेपालीहरूले मानिने र पूजिने देवता पशुपति, गुह्येश्वरी लगायत पाथीभरा, सिद्धकाली, हलेसी, वराहक्षेत्र, रामजानकी, दोलखा भीमसेन, गोरखकाली, मनकामना, विन्ध्यवासिनी, शालग्राम, मुक्तिक्षेत्र, वैद्यनाथ धाम, कालिकामालिका, गोरखनाथ, दूधकुण्ड, गोसाइँ कुण्ड, दामोदरकुण्ड, मानसरोवर, गौरीशङ्कर हिमाल लगायत विभिन्न हिमाल, पहाड, पर्वतलाई पनि आआफ्नै स्थानीय जातीय नामबाट देवताका रूपमै मान्दै र पुज्दै आइरहेका छन् । ठाउँठाउँमा तत्तद् स्थानीयवासी नै पुजारी पनि छन् । जस्तै मनकामना र छाब्दीवाराहीमा मगर, मुक्तिनाथमा शेर्पाकी कन्या छोरी जसलाई झुमा भन्छन्, गुह्येश्वरीमा कर्माचार्य (नेवार), पशुपतिमा दक्षिण भारतीय भट्ट, हलेसी महादेवमा गिरी, काठमाडौं, भक्तपुर, ललितपुरमा अधिकांशमा पुजारी नेवार जातकै छन् । त्यस्तै ठाउँठाउँमा बाहुनक्षेत्रीहरु पनि पूजारीका रुपमा काम गर्छन् । नागाले थुमका जुन देवतालाई पुजा गर्थे तिनैलाई बाहुन, क्षेत्री लगायत अन्य नेवार, मगर, गुरुङ्ग, राई आदि सबैले मान्दै आएका छन् । दिक्तेलकी मझुवा काली जस्ता धेरै उदाहरण नेपालभरि छन् । झाँगड, कोचे, मेचे, राजवंशी, मुसहर (सदा) र थारुले जुन देवताको पूजाआजा गर्छन्, त्यस ठाउँमा रहेका अन्य जातिले पनि तिनको दर्शन र पूजा गर्ने प्रचलन चाहे पहाड होस् चाहे तराई होस् साझा रुपमा त्यो कुरा मान्दै आएकै पनि छन् । चढाइने द्रव्य र मन्त्र र नाममा फरक परे पनि त्यो स्थान भने एकै छ, त्यसमा फरक छैन । त्यसैले परापूर्वकालदेखि धार्मिक र जातीय झगडा नेपालमा हालसम्म पनि थिएन र छैन पनि । हिन्दकुश कश्मीर हुँदै केही नेपाली पहाडी मार्गै मार्ग भारतबाट नेपाल हुँदै तराइ झरे, कोही मङ्गोलिया, चीन, तिब्वत र नेपाल हुँदै तराई झरे, कोही भारतबाट सम्मैसम्म तराई पसेका हुन् । जसलाई खस, मङ्गोलियन र मधेसी पनि भनिन्छ, यी सवै नेपाली नै हुन् । मङ्गोल पनि क्षत्रीय वंशी विश्वामित्रका देशान्तर गएका सन्तति र यवन म्लेच्छ भनिनेहरु पनि कामधेनुबाट र अन्य विविध कारणले बनेका सन्तान हुन् भन्ने पौराणिक आख्यान छ ।

सप्तरी भनेको सप्त तरीको छोटकरी हो । सप्त भनेको सात र तरी भनेको जङ्गल हो । हालसम्म पनि घनघोर जङ्गललाई तरी भन्ने चलन पहाडमा छँदै छ । हालको सप्तरी, सिराहा आदिमा ठूलाठूला सात ओटा जङ्गलहरू थिए । त्यसै गरी महोत्तरी हाल जुन ठाउँलाई भनिन्छ, त्यसको अर्थ हो – महान् तरी, ठूलो जङ्गल । धनुषा र महोत्तरीमा पहिले धेरै ठूलो जङ्गल थियो । त्यसै जङ्गलको कुनै ठाउँमा बसेर तपोबलबाट प्रकट भएको उपनिषद् वृहदारण्यक उपनिषद् हो । यसमा जनकका गुरु यज्ञवल्क्य र गार्गी मैत्रेयीको शास्त्रार्थ र तत्त्वचिन्तनको चर्चा छ । बृहत् भनेको ठूलो र अरण्य अर्थात् जङ्गलमा वसेर प्राप्त भएको तत्त्वज्ञानको सङ्कलन भएरै यस उपनिषद्को नाम वृहदारण्यकोपनिषद् रहन गएको हो । यी ठूलाठूला जङ्गलहरू कालान्तरमा त्यहीं बसोबास गर्ने स्थानीयले आवश्यकता अनुसार फाँड्दै आबादी बढाउँदै लगे । एक थरी भारतवर्षीय उपमहाद्वीपका व्यक्तिहरू नै घुमाउरो बाटो हुँदै धेरै पछि तराई झरे भने एकथरी यसै उपमहाद्वीपका बासिन्दा जो नजिकै थिए तिनीहरू अलि चाँडो आई बसोबास गरे । यी तीनै चारै थरीले तराईको जङ्गल फाँडेरै बसोबास गर्दै आएका हुन् । कसैले चाडै जङ्गल फाँडे, कसैले ढिलो । तर यी दुबै थरीका प्राचीन सांस्कृतिक आधार एकै थिए, एकै छन् । ती हुन् वेद, ब्राह्मण, उपनिषद्, धर्मसूत्र, इतिहास पुराण, तन्त्र अर्थात् निगमागम । एकथरी बुद्ध बोन, धामी, झाँक्री र आ–आफ्ना लिखित अलिखित धर्म ग्रन्थ भएका जातजाति आई बसोबास गर्दै गएका हुन् । जसलाई हाल बौद्ध र हिन्दुमा विभक्त गर्ने चलन चलेको छ । यो विभागको चलन पनि अवैज्ञानिक छ । किनकि भारत वर्षीय उपमहाद्वीपमा एकचोटि बुद्धधर्म व्याप्त थियो । अशोक जस्ता क्षत्रीय राजाहरु पनि बौद्ध धर्ममा दीक्षित थिए र स्वयं नेपालका शाक्यमुनि बुद्ध पनि क्षत्रीय वंशी राज कुमार थिए । अश्वघोष र नागार्जुन जस्ता वैदिक पनि बौद्ध बनेका थिए । त्यसैले पौरस्त्य धर्म र संस्कृतिका रुपमा सिद्धान्त तय भएपछि वैदिक, शैव, शाक्त, सौर, वैष्णव, गाणपत आदिलाई वाम र दक्षिणमार्गमा विभक्त गरे झैं बौद्धवाद, जैनवाद, सिक्खवाद आदिलाइ पनि विभक्त गर्नुपर्छ । यी पनि पौरस्त्यविधाकै सम्प्रदाय हुन्, जसरी चार्वाक सिद्धान्त पनि हाम्रै उपज हो, त्यसै गरी बौद्ध, जैन आदि पनि हाम्रै उपज हुन् । हिन्दु भित्रै आस्तिक र नास्तिक दुबै धारा छन्, त्यसैले यी सबै त्यसै भित्र छन् । छैनन् भन्ने कसैले भन्दछ भने त्यसको सोचमा हिन्दु शब्द भनेको सिन्धुबाट बनेको भन्ने मात्रमा ध्यान गएको हुनुपर्छ । सिन्धु नदीको वरपर वस्नेलाइ मात्र यो शब्दले लिंदैन । हिन्दुधर्मप्रलोप्तारो जायन्ते च महाबलाः भनेर मेरुतन्त्रमा उल्लेख भएको छ । यो यवनहरुको प्रसङ्गमा आएको हो । मेरुतन्त्र धेरै पुरानो ग्रन्थमध्ये पर्दछ ।

मध्यपूर्व वा अरबमा प्रचलित जुन धर्म छ, त्यो कुरानमा आधारित छ । त्यो धर्म मान्नेहरुलाई इस्लाम भनिन्छ । ती मान्नेहरु त्यस वेला सेना र सङ्गठनमा अत्यन्त बलिया थिए । तिनीहरु हिन्दकुश पहाड अर्थात् हालको अफगानिस्थानको पहाड काटेर लगभग एघारौं शताब्दीपछि यता पसे । पछि यहाँका धेरै धर्मस्थल, मठ, मन्दिर र सम्प्रदायलाइ पनि ध्वस्त गरे । ध्वस्त गरिनेमा बौद्धधर्म पनि पर्छ । यसैले हिन्दुधर्मप्रलोप्तारः भनेपछि बौद्ध, जैन, सिक्ख, वैदिक शैव, वैष्णव सबै पर्छन् भन्ने बुझ्नु पर्छ । यद्यपि कालयवन पश्चिम एशियाका लडाका वीर आजको पाँचहजार वर्ष अघिनै भारतीय उपमहाद्वीपमा पसेको इतिहास छ, तर पनि एघारौ शताब्दी देखिनै यवनहरुको व्यापकता छ । यसै गरी यस उपमहाद्वीपमा सोह्रौ शताब्दीपछि अर्को धार्मिक संस्कार इसाइयत पनि व्यापक रुपमा यस भेगमा प्रचलनमा छ । तर यसको अधिकांश जनसङ्ख्या युरोप र अमेरिका जस्ता पश्चिमी मुलुकमा नै देखिन्छ । इस्लाम धर्म भित्र सिया, सुन्नी, वहाइ आदि सम्प्रदायहरु चलेका छन् । यस धर्ममा आ–आफूभित्रै परस्पर काट मार चलिरहेको छ भने इसाइयत (क्रिश्चियन) धर्ममा पनि क्याथोलिक र प्रोटेस्टाइनमा धेरै झगडा थियो र हाल सम्म पनि कता कता वैमनस्यता रहेकै छ ।

भारतमा पनि हिन्दुधर्म भित्रका शैव र वैष्णवको झगडा केही काल भएको इतिहास छ । शून्यवादी बौद्ध, सद्वादी वेदान्ती र दुःखध्वंशलाई मुक्तिको रुप मान्ने नैयायिकहरुको पनि को ठिक ? कसको मत ठिक ? भनेर धेरै पुस्ता सम्म शास्त्रार्थ चलेकै हुन् । भारतीय धर्मका झगडा धेरैजसो शास्त्रार्थमा सीमित थिए, तर अब त त्यो शास्त्रार्थको झगडा पनि छैन । इस्लाम धर्म आफै पनि झगडाको मुडमा देखा पर्दैछ । पेट्रो डलरलाई प्रयोग गरेर धर्माहङ्कारलाई बढाइरहेको छ भने क्रिश्चियन धर्म आर्थिक समृद्धि, तकनीकी विकास र कूटनीतिक चतुर्याइँद्वारा षड्यन्त्रमूलक ढङ्गले आफ्नो धर्मको प्रचार प्रसारमा जुटेको छ ।

नेपालमा हाल सम्म पनि पुरानो समयदेखि बसोबास गर्दै आएका कुनै पनि जातिमा धर्म, भाषा, क्षेत्र र लिङ्गको आधारमा झगडा थिएन, छैन । सबै जातजाति र समुदाय एक आपसमा मिलेरै बसेका छौं । तर केही वर्ष यता नेपाली र नेपालीलाई आपसमा लडाएर आफ्नो धर्म र संस्कृतिको प्रचार र सुरक्षा समेत विविध स्वार्थ पूरा गर्न चाहने विदेशी शक्ति हाबी हुँदै गइरहेको कुरा नेपाली जनताले बेलैमा बुझ्न सक्नु पर्छ । कुनै पनि राष्ट्र या व्यक्तिले विदेशी सहयोग अवश्य लिनु पर्छ तर आफ्नो धर्म र संस्कृतिलाई बचाएर परम्परा, सुरक्षा र राष्ट्रलाई बचाएर, बेचेर र बेचिएर होइन । सङ्घीयता र गणतन्त्रलाई महत्त्वपूर्ण पार्न क्षेत्रीयता, जातीयताको नारा र धर्मान्तरण तुरुन्तै बन्द हुनु पर्छ र आफ्नो हक, अधिकार र संस्कृति धर्म संरक्षणमा सबै नेपाली एक ढिक्का हुनु पर्छ । अन्यथा विधर्मले बाटो पाउँछ ।

कुनै व्यक्ति धर्मको, शैली, तत्त्व दार्शनिक प्रभावले प्रभावित हुन्छ र त्यसैको अनुसरण गर्न चाहन्छ भने मेरो भन्नु केही छैन । लोकतन्त्रमा व्यक्तिको स्वेच्छालाई मान्नु पनि पर्ने हुन्छ । तर अज्ञानता र असचेतताको फाइदा लिएर किनबेचद्वारा पैसा खर्च गरी सयौं हजारौंलाई धर्मान्तरणमा दीक्षित गर्नु भनेको नेपालमा पनि भविष्यमा धार्मिक कलहको बिउ रोप्नुबराबर हो । अफ्रिका, ल्याटिन, अमेरिका र एशियाका पनि कतिपय भूभागमा उनीहरुको परम्परागत धर्म र संस्कृतिलाई लोप गरी इस्लाम र क्रिश्चियनले आफ्नो धर्म फैलाएका छन्, तर त्यहाँका आदिवासीको आर्थिक शोषण गरेर धर्म भने आफ्नो भिराइ दिए ।

गर्नु त के पर्थ्यो भने उनीहरुकै धर्म परम्परामा उनीहरुलाई प्रोत्साहित गर्दै शिक्षा र आर्थिक समृद्धिमा मद्दत गर्नु पर्दथ्यो । त्यसो त गरेनन् । एकले अर्काको धर्म, संस्कृति, परम्परा र प्रचलनलाई हेप्नु हुँदैन, आदरै गर्नु पर्छ । यस्तो हुन सकेमा एक आपसको सम्मानले राष्ट्रिय शान्तिमा खलल पुग्दैन । नेपालमा सयौं वर्षदेखि आपसमा एकले अर्काको संस्कृति परम्परालाई सम्मान गर्दै भाइचारा कायम गरी सँगै घरकरेसा, छरछिमेक, इष्टमित्र भई सौहार्द र सद्भावका साथ बसोबास गर्दै आएका छन् । मर्दा मलामी, पर्दा मद्दत चाड–पर्व जात्रामात्रामा सबै सबैका सहयोगी हुने सुदीर्घ चलन नेपालीहरुमा पाइन्छ । यसलाई विस्थापित गर्ने हरकत नेपालीहरुलाई मान्य छैन । आर्थिक कारणले वा अरु नै कारणले असजिलो भई आफ्नो धर्म संस्कृति छाड्न चाहनेलाई म के सल्लाह दिन्छु भने सबैभन्दा सजिलो आफ्नो धर्मको कति अंश मात्रै थाम्न सकिन्छ त्यति मात्रै अपनाऊ अरु अप्ठ्यारा छोडिदेऊ । त्यति पनि थाम्न अप्ठ्यारो भयो भने सबै छोडिदेऊ, तर लोभ लालचामा अरुको धर्म र संस्कारलाई ग्रहण नगर । तिमी सम्पन्न छौ, जाँगर छ, आफ्नो धर्म पालना गर्न सक्षम छौ तर तात्त्विक र दार्शनिक रूपमै अरुको धर्म संस्कृति मन पर्छ भने मेरो भन्नु केही छैन । यदि त्यसमा पनि सकिन्छ भने आफ्नो नछोडी अरु धर्मको उपासना गर्न सकिन्छ । किन आफ्नो छाड्नै पर्छ र ? । 'स्वधर्मे निधनं श्रेयः, परधर्मो भयावहः' अर्थात् जस्तो भए पनि आफ्नै धर्ममा बसेर मर्नु कल्याणकारक हुन्छ । हिन्दुले बौद्धले हिन्दु र बौद्ध नै भएर क्रिश्चियन धर्मलाई सम्मान गर, क्रिश्चियनले क्रिश्चियन भएरै हिन्दु र बौद्ध धर्मलाई सम्मान गर । इस्लामिक धर्मले पनि त्यही गर र अन्य सबैले सबैलाई त्यसै गर्दा कसैको सम्मानमा चोट पुग्दैन । देश एक ढिक्का हुन्छ, राष्ट्रियता बलियो हुन्छ । जुन वेला विज्ञानको चरम विकास वा अन्य कारणले विश्वसंस्कृति र धर्ममा अन्तर हुन छोड्ने समय आउला, त्यस वेला धार्मिक र सांस्कृतिक झगडाको कुरै न उठ्ला त्यो समयको प्रतीक्षा गरौं ।

हाललाई भने त्यो सम्भव भइ नसकेकोले हामी सबै नेपाली जाति, उपजाति र जनजातिले आफैंसंग भएका परम्परा र प्रचलनलाई दार्शनिक र धार्मिक रूप दिई विविध व्याख्या गर्दै आफ्नो समाजलाइ डोर्याउनु पर्छ । कुनै पनि देश, जाति र धर्मका परम्परा र संस्कृतिहरू हजारौं वर्षदेखि सृजित, संस्कृत, परिवर्द्धित र संरक्षित हुँदै आएका हुन् । थोरै समयमा समृद्धरूप पाएका होइनन् । त्यसैले नेपालमा पनि ससाना जाति र जनजातिले आफ्नो सानै भए पनि परम्पराबाट आएको प्रचलनलाई आचार, विचार, व्यवहार, दर्शन, कला, जीवनशैली आदि जोड्दै र अनुसन्धान गर्दै यस भूभागमा र विश्वका अन्य भूभागमा प्रचलित ज्ञानविज्ञानसंग जोडिंदै महाभारतभन्दा पनि ठूलाठूला पुस्तक तयार गर्न सकिन्छ । जस्तो कि ल्होसारलाई यी सवै रुपमा ढाल्दै पुस्तक तयार गर्ने । उधौंली उभौंली, चण्डी नाच, धान नाच, साकेवा, माघी, धामी, झाँक्री जजसका जे छन्, ती सबैलाई वृहद् रूप दिन सकिन्छ । राई, तामाङ, मगर, शेर्पा, गुरुङ, थारु, राजवंशी, सदा, झाँगड, कोचे, मेचे, चेपाङ, राउटे आदि यी सबैले आ–आफ्नै परम्परामा अनुसन्धान गर्दै थप्दै पुस्तक तयार गर्दै लग्नुपर्छ र आफ्नै पुर्ख्यौली  सम्पदा पौरस्त्य विधालाई नै गौरवशाली बनाएर अपनाउन सक्नुपर्छ ।

सञ्चार प्रविधि र यातायातले संसारभरिका महत्त्वपूर्ण ज्ञानविज्ञानसंग परिचय गरेर त्यसलाई आफ्नै विधामा जोड्न सकिन्छ । अरुको कच्चा पदार्थलाई सोझै ग्रहण नगरेर आफ्नै संस्कृतिको आगोमा तताएर आभूषण बनाउँदा आफ्नो मौलिकतालाई कसैले सिध्याउन सक्दैन । यो कुरा नेपालबासी जाति र जनजातिले गहिरोसंग बुझ्नुपर्छ । अन्यथा विश्वका धनी, समृद्ध र शक्तिशालीहरूको धर्म र संस्कृतिले गर्दा तपाई हाम्रो मौलिक स्वरूप नै समाप्त भएर जाने सम्भावना छ । सरकारी छुट्टीले मात्र संस्कृति बच्दैन । बचाउनको लागि त्यसमा मौलिक वाङ्मयको थुप्रो लगाउनु जरुरी हुन्छ । लिग्लिगे दौडले मात्र राज्य दीर्घकालिक नभए जस्तो संस्कृति पनि प्रचुर वाङ्मय नभए टिकी रहँदैन । राज्य सञ्चालनका विधिमा कति वाङ्मय जम्मा छन्, त्यसले राज्य टिकाउन मद्दत गर्छ । त्यस वाङ्मयको ज्ञान राख्ने विद्वानहरूको सल्लाहले नै पृथ्वीनारायण शाह नेपालको एकीकरण गर्न र शासनसत्ताको बागडोर हाँक्न सफल भए । ऋग्वेददेखि धर्मशास्त्रसम्म तथा हालै निर्मित गणतान्त्रिक संविधानसम्म पनि लिखित अभिलेखले राष्ट्रलाई अखण्डित राख्न मद्दत गरेका छन् । राष्ट्र भन्नाले देशमात्र होइन, त्यसको भूभाग, संस्कृति, परम्परा, धर्म, भावना र जनता सबै पर्छन् । त्यसैले राष्ट्रको आधार (जग) भनेका वाङ्मय र त्यसका स्रस्टा नै हुन् भन्नुपर्छ । आआफ्नो धर्म र संस्कृतिबाट विचलित न भै त्यसमा टिकी रहनु पनि राष्ट्र जोगाउनु नै हो र असल राष्ट्रियता भनेको पनि त्यही हो।

विश्वमा संस्कृतिका दुई रूप छन् – एक मूर्त र अर्को अमूर्त । मूर्त संस्कृति भित्र मन्दिर, मूर्ति, क्षेत्र, धाम, देवी/'ब्रह्मणो द्वे रुपे मूर्तञ्च अमूर्तञ्च' भनेर निचोड दिइएको छ । संसारका सबै संस्कृतिमा यही औपनिषद निचोडको प्रभाव परेको देखिन्छ । मूर्त संस्कृति जोगाउन अमूर्त संस्कृति जोगिनु अनिवार्य छ । अरुलाई आदर गर्दै आफ्नो प्रिय संस्कृति पालना गर्न र जोगाउन हामी सचेत वनौं । अध्ययन गरौ्र सबै नेपालीसंग मेरो यही विनम्र निवेदन छ । व्रह्म, परमात्मा, भगवान्, शून्य, अल्लाह, गड जे भने पनि ईश्वर एउटै छ, एकै स्वरुपको छ । झगडा मार्गको हो कसैले कसैलाई होच्याउनु धर्मान्तरण गर्नु गराउनु हुँदैन । व्यर्थमा द्वेष न बढाउनु नै राम्रो हो ।
देउराली, पहाड, कुण्ड, नदीनाला, हिमाल, मस्जिद, चर्च, गुम्बा आदि पर्छन् भने यी वारे व्याख्या गर्ने शास्त्र, वेद वेदाङ्ग, उपनिषद्, पुराण, धर्मशास्त्र, तन्त्र, आगम–निगम, कुरान, बाइबल, धम्मपद, कर्मकाण्ड आदि वाङ्मय अमूर्त भित्र पर्दछन् । वस्तुत विशाल रूपमा हेर्ने हो र अझै प्रष्ट पार्ने हो भने देश, काल, अवस्था, कारण सहितको तत्त्व मूर्त हो र देश, काल, अवस्था (कारणातीत तत्त्व) अमूर्त हो । यसैलाई लिएर पौरस्त्य शास्त्रले सनातन धर्म भनेको हो । हिन्दु, बौद्ध आदि नाम अर्वाचीन (आधुनिक) हुन् । सनातन आर्य संस्कृति नै नेपालको संस्कृति हो । यसैलाई

लेखक नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति हुनुहुन्छ ।

No comments:

Post a Comment