Saturday, November 26, 2016

ग्रह परिचय : सूर्य

सूर्य आत्मा जगतस्तस्थुषश्च

सूर्य नवग्रहहरूमध्ये राजा मानिन्छ । यसको जाति क्षत्रिय हो र रङ्ग रगतजस्तै रातो छ । सूर्यका देवता अग्नि हुन्  त्यस्तै अधिपति शिव र दिशा पूर्व हो । यसलाई ज्योतिषीहरू नैसर्गिक पाप ग्रह नमानेर नैसर्गिक क्रूर ग्रह मान्दछन् ।

वैज्ञानिक दृष्टिकोणमा सूर्य वास्तवमा एउटा तारा हो, जसले हाम्रो सौरमण्डललाई बाँधेर सूत्रबद्ध गरेको छ। सूर्य नै सौरमण्डलको केन्द्र बिन्दु हो, जसका चारैतिर ग्रह र उपग्रहले परिक्रमा गर्दछन्। यसै कारणले सूर्यबाट नै समस्त ग्रहपिण्डहरूले जीवनीशक्ति प्राप्त गरेका छन्। सूर्यविना हाम्रो सौरमण्डल र जीवनको परिकल्पनासमेत गर्न सकिन्न । यो पृथ्वीको सबैभन्दा नजिकैको तारा हो र अन्य ताराहरूका तुलनामा बढी चमकिलो र ठूलो देखिन्छ । सूर्यको आन्तरिक बनोटमा हाइड्रोजन ग्यासको भण्डार छ, जुन एकआपसमा संयोजन हुँदा असीमित ऊर्जा विसर्जित हुन्छ। त्यसैको थोरै अंशको प्रभावबाट मात्र पृथ्वीमा जीवन सम्भव छ र अन्य समस्त ग्रहको वातावरणको समेत सम्भावना विद्यमान छ।

पौराणिक विवेचनमा उल्लेख भएअनुसार दक्ष प्रजापतिका छोरीहरूमध्ये दिति र अदितिलगायत १३ जना छोरीहरूको विवाह कश्यप मुनिसित भएको थियो । कश्यपपत्नी अदितिको गर्भबाट सूर्यको जन्म भएको हो । त्यसैले यिनलाई आदित्य भन्ने गरिन्छ । पौराणिक मान्यताअनुरूप सूर्यका रथमा सातवटा घोडा नारिएका हुन्छन् । सूर्यका संज्ञा (सन्ध्या) र छाया नामका दुईजना पत्नी छन्। छाया नामक पत्नीको कोखबाट यिनले शनि नामक पुत्र जन्माए । शनि पनि आफ्ना पितातुल्य बलवान् छन् र यिनले पनि ग्रहसभामा अाफ्नो वर्चस्व स्थापना गरेका छन् । कालका देवता यमराज पनि सूर्यका सन्ध्यापट्टिका छोरा हुन् ।

सूर्यलाई अंग्रेजीमा 'SUN', अरबीमा 'आफताब', फारसीमा 'खुरशेद' र संस्कृतमा 'आदित्य', 'अर्क', 'अर्यमा', 'अंशुमाली', 'ग्रहपति', 'दिनकर', 'दिवाकर', 'प्रभाकर', 'भानु', 'मार्तण्ड', 'रवि', 'सविता', 'भास्कर', 'मिहिर', 'दिनेश' इत्यादि नामद्बारा चिनिन्छ। नेपालीमा सूर्य, घाम आदि शब्दद्बारा सूर्यलाई चिनिन्छ।

सूर्य सौरमण्डलको आत्मा हो र यसविना सौरमंडलको अस्तित्वको सम्भावना छैन अर्थात् जीवनका निम्ति जेजति आवश्यक वस्तुहरू छन् ती सबैमा सूर्यको अधिकार हुन्छ । सूर्यका प्रभावबाट नै पृथ्वीसँग त्यो शक्ति सञ्चित छ जसका कारण वायु र जल पृथ्वीको सतहमा उपलब्ध भएका छन् र हामीलाई भोजन प्रदान गर्ने वनस्पतिसमेत यहाँ अस्तित्ववान् रहेको छ । सूर्यमा रहेको तेजले शरीरलाई डढाउँदैन, बरु शरीरलाई स्वस्थ र जीवित बनाई त्यसले संरक्षण गरेको छ । प्रत्येक जीवधारीको आत्मामा सूर्यकै स्वामित्व छ । आत्मा ऊर्ध्वगामी भएर हृदयमा रहेको हुन्छ, अतः हृदयमा समेत यसकै अधिकार छ भन्दा हुन्छ । हृदयसँग जोडिएका विभिन्न किसिमका भावहरू जस्तै क्षमा, अनुशासन आदि पनि सूर्यकै प्रभाव क्षेत्रभित्र पर्दछन् । सूर्यलाई हृदयको कारक त मानिन्छ नै पुरुष जातकको दाहिने आँखामा एवं स्त्री जातकको देब्रे आँखामा उसको स्वामित्व हुन्छ । त्यस्तै भुँडीभित्रको जठराग्निमा समेत सूर्यको अधिकार हुन्छ ।

सूर्यको आँखाको रंग घाम वा महजस्तै खैरोखैरो मानिएको छ । यसको शरीरमा पनि एउटा महको रङ्गजस्तै पत्र टाँसिए झैं देखिन्छ, अनुहार गोलो छ ।  निःस्वार्थ प्रेम सूर्यको सबैभन्दा ठूलो विशेषता हो । यसले होचोअर्घेलो नगरी विनाभेदभाव सबैसँग समान व्यवहार राख्ने विश्वास लिइन्छ । नियमितता सूर्यको अर्को वैशिष्ट्य हो । जसरी सूर्य नियमित हुन्छ त्यसरी नै सूर्यको प्रभाव क्षेत्रमा  जन्मने जातक नियमित र मर्यादित हुने गर्दछन् । सूर्यको प्रभाव रहेका व्यक्तिमा ईश्वरप्रति अगाध प्रेम हुन्छ । तिनीहरू शक्तिशाली र न्यायप्रिय हुने गर्दछन्, इच्छाशक्ति अत्यन्त प्रबल हुन्छ अनि कहिल्यै विश्राम चाहँदैनन् र थाक्दैनन् । यिनको व्यक्तित्वमा विशेष आकर्षण हुन्छ, अर्कामाथि शासन गर्ने कला र ऊर्जा हुन्छ ।  सत्यवादिता र इमानदारिता यस्ता जातकको चारित्रिक वैशिष्ट्य हुन्छ ।

मुटुसित सम्बद्ध रोग, गर्मीका कारण हुने रोग, ज्वरो, दृष्टि-दोष, मेरुदण्डसम्बद्ध रोग, पाचनप्रणालीसित सम्बन्धित समस्याहरू, आत्मबलको कमी, रक्तचापको समस्या आदिमा सूर्यको आधिपत्य हुन्छ । सूर्य पीड़ित रहेको अवस्थामा मुखबाट थुक आइरहन्छ, राल बगीरहन्छ । सूर्यको प्रभाव भएका व्यक्तिले सरकारी कामकाज, ऊर्जा उत्पादन, औषधीसित जोडिएका व्यवसाय, वित्तीय कारोबार, अन्नको व्यवसाय, प्रकाश प्रदान गर्ने चिजबिज आदिबाट जीविकोपार्जन गर्दछन् । यिनीहरूले सुन वा सुनसँग सम्बद्ध कारोबार र आफ्ना पिताबाट निर्देशित पेसासमेत अपनाउने गर्दछन् । यिनीहरूको जीवनमा स्थायित्व नै हुन्छ । ओखर, नरिवल, अलैंची, केसरी, ज्वानु, चामल, खोर्सानी, बदाम, विदेशी मुद्रा र औषधीलाई सूर्य ग्रहसँग सम्बद्ध वस्तुका रूपमा लिइन्छ । केन्द्रीय बैङ्क, स्टक एक्सचेन्ज, सरकारी कार्यालय, सुन र यसबाट निर्मित गरगहना तथा सुनको मूल्यमा आउने उतारचढाव, सरकारी ऋणपत्र आदिमा सूर्यको अधिकार हुन्छ । वनस्पतिहरूमध्ये काँडा भएका रुखहरू, बदाम, सुन्तला, केसरी, सिसौ र गुलाबको बोटमा तथा स्वास्थ्य क्षेत्रमा प्रयोग हुने जडीबुटीआदिमा सूर्यको प्रभाव मानिन्छ । जङ्गल, शिवजीको मंदिर, सरकारी कार्यालय, पञ्चभलादमी भेला हुने ठाउँ, ऊर्जा वा विद्युत केंद्र, विद्युत निर्माण केंद्र, औषधीपसल आदि सूर्यले निवास गर्ने ठाउँहरू हुन् । १ अङ्कमा सूर्यको अधिकार मानिन्छ । आइतवार, सिंह राशि, कृतिका, उत्तराफाल्गुनी र उत्तराषाढा नक्षत्रको स्वामी सूर्य हो । जनावरहरूमध्ये सिंह, बाघ, घोडा, घरपालुवा र अन्य जङ्गली जनावरमा यसको अधिकार हुन्छ । माणिक्य सूर्यको मुख्य रत्न हो, यसलाई सुनमा बनाउन लगाएर यसमा रहेको रोगप्रतिरोधक क्षमतालाई बढाउन सकिन्छ, यसबाट व्यक्तित्वको विकास हुनुका साथै सरकारी प्रशासनिक र राजनैतिक साखलाई पनि बलियो बनाउन यस रत्नबाट सहयोग लिन सकिन्छ । सूर्य एक महिनासम्म एउटा राशिमा भ्रमणशील रहन्छ। यस ग्रहको एक अंशको अवधि लगभग एक दिनको हुन्छ ।

सूर्यको वैदिक मन्त्र - 'ॐ आकृष्णेन रजसा वर्त्तमानो निवेशयन्नमृतं मर्त्यञ्च । हिरण्ययेन सविता रथेन देवो याति भुवनानि पश्यन्।।'

सूर्यको तान्त्रिक मन्त्र - 'ॐ ह्रां ह्रीं ह्रौं सः सूर्याय नमः।।'


जन्मकुण्डलीका विभिन्न भावमा सूर्यले प्रदान गर्ने फल
लग्न

जन्मकुण्डलीमा सूर्यले लग्नमा विचरण गरेको अवस्था भएमा यस ग्रहले तपाईंलाई अग्लो, निरोगी र मेधावी बन्न सहयोग गर्छ। तपाईं आत्मिक र शारीरिक बलले भरिपूर्ण, परोपकारी, साहसी, सन्तोषी र क्रोधी स्वभावको हुनुहुन्छ। तपाईंले प्रशासनिक वा राजनैतिक क्षेत्रको उच्च पद प्राप्त गर्ने सम्भावना समेत छ तथा यशस्वी र भाग्यमानी हुनुहुन्छ। तपाईंको सन्तानको सङ्ख्या थोरै हुन्छ। आफैंले परिश्रमपूर्वक आर्जन गरेको धन उपभोग गर्ने योग छ। तपाईं परम्पराभन्दा टाढा जान सक्नुहुन्न र दुर्व्यसन, मादकपदार्थ आदिको संसर्गलाई मन पराउनुहुन्न। तपाईं कसैले भनेको वा सुनेको कुरामा विश्वास गर्नुहुन्न र प्रत्यक्ष अनुभूत र परीक्षित कुरालाई मात्र स्वीकार गर्नुहुन्छ।

धन
जन्मकुण्डलीमा सूर्यले धनस्थानमा विचरण गरेको अवस्था भएमा यस ग्रहले तपाईंलाई त्यागी, दानी, सच्चरित्र र धार्मिक बन्न सहयोग गर्छ। तपाईं धनसम्पत्ति र बहुमूल्य आभूषणको स्वामी बन्नुहुनेछ। यस्ता मान्छे मिठो बोली भएका हुन्छन र आफ्नो तर्कका कारण सबैलाई आँफु अनुकूल बनाउन सक्षम हुन्छन्। तपाईं भाग्यमानी र अधिकारपूर्ण पदको स्वामी बन्नुहुनेछ। आफ्ना इच्छा र स्वार्थलाई त्यागेर अर्काको सहयोग गर्नु यस्ता जातकको स्वभावजस्तै हुन्छ। यस्ता जातकलाई वाहन र चौपायाबाट लाभ प्राप्त हुन्छ। तपाईंको जन्म तपाईंको घरपरिवारका लागि समेत भाग्यकारक बनेको छ। तपाईं जन्मिएपछिमात्र पिताजीको आजीविकाको माध्यम स्थिर बनेको देखिन्छ।

पराक्रम
जन्मकुण्डलीमा सूर्यले तृतीयभावमा विचरण गरेको अवस्था भएमा यस ग्रहले तपाईंलाई सुन्दर शरीरको स्वामी, पराक्रमी, परिश्रमी, दानी, प्रतापी, न्यायप्रिय, निरोगी र सदाचारी बन्न सहयोग गर्छ। तपाईंलाई अनियमितता, भ्रष्टाचार र छलकपट मन पर्दैन। तपाईंको तीक्ष्ण बुद्धि छ र गणित, ज्योतिष जस्ता विषयमा विशेष रुचि हुनेछ। सरकारी सम्मानको राम्रो योग छ। तपाईंका प्रतिद्वन्द्वी हुँदैनन्, भएपनि तपाईंसामु ती टिक्न सक्दैनन्। दाजु हुँदैन वा दाजुसँग सुसम्बन्ध हुँदैन। भानिज, भतिजा वा मित्रको सहयोग गर्नाले भाग्योदय हुन्छ। तपाईंमा विपरीतलिङ्गीलाई आकर्षित तुल्याउने विशेष शक्ति छ। यस्ता मानिसमा धनहीन घरमा जन्मिए पनि आफैंले कमाएको सम्पत्तिबाट धनी बन्ने योगसमेत हुन्छ।

सुख
जन्मकुण्डलीमा सूर्यले सुखभावमा विचरण गरेको अवस्था भएमा यस्तो अवस्थामा जन्मिने जातकले वंशपरम्पराभन्दा भिन्न व्यवसाय अपनाएर जीविकोपार्जन गर्दछन। सूर्यग्रहले तपाईंलाई असल, इमान्दार, दयालु र बुद्धिमान बन्न सहयोग गर्छ। तपाईंले सबै किसिमका सुखसम्मृद्धि उपभोग गर्न पाउनुहुनेछ। तपाईंले आफ्नो नोक्सानी ब्यहोरेर भए पनि अरुअरुलाई सहयोग गरेका उदाहरण प्रशस्त देखिनेछन्। त्यसैले तपाई लोकप्रिय बन्नुहुनेछ। यस्ता मानिस आमाबुबाको सेवा गर्दा भाग्योन्नति गर्ने गर्दछन्। दाजुभाइसित मित्रता हुन सक्दैन र झगडाकलह आदि ब्यहोर्नु पर्छ। पितासित समेत वैमनस्य हुनसक्छ। तर पिता वा दाजुभाइसित आफै जाइ लाग्नुहुन्न, त्यस्तो भैहालेमा उसको यश, सम्पत्ति र प्रतिष्ठाको नाश हुन्छ। परस्त्री गमन गरेमा सन्तानसितको सम्बन्ध बिग्रन सक्छ।

सन्तान
जन्मकुण्डलीमा सूर्यले पञ्चमभावमा विचरण गरेको अवस्था भएमा यस्तो अवस्थामा जन्मिने जातकले जन्मनासाथ पारिवारिक समुन्नति गर्दछ्न्। तपाईंको बौद्धिक क्षमता उच्च छ। तपाईं कुनै पनि विषयलाई भित्रसम्म पसी गहिरो गरी जान्न, बुझ्न र अन्वेषण गर्न रूचि राख्नुहुन्छ। राज्य पक्षको काम गरी वा राज्यबाट सम्मानित भई धनार्जन हुन्छ। सामान्यतया पुत्रसन्तान जन्मिएपछि मात्र यस्ता व्यक्तिको आर्थिक उन्नति हुने गर्दछ। भ्रमणमा विशेष अभिरुचि हुन्छ। यस्ता मानिसले सरकारी कर्मचारी, राजनेता वा साधुसन्तको सेवाबाट फाइदा बटुल्छन्। धर्मकर्ममा कम रुचि हुन्छ र जेठो छोरोसित सुसम्बन्ध हुन सक्दैन ।

शत्रु
जन्मकुण्डलीमा सूर्यले शत्रुभावमा विचरण गरेको अवस्था भएमा यस्तो अवस्थामा जन्मिने जातक दुब्लोपातलो शरीर भएको हुन्छ। यस्ता मानिसलाई छिट्टै रिस उठ्छ। हुन त उसले शत्रुमाथि विजय प्राप्त गर्छ तर अड्डाअदालत र नियानिसाफमा धेरै सम्पत्तिको नाश हुन्छ। यस्ता मानिसले छोरो जन्मनासाथ व्यावसायिक स्थिरता प्राप्त गर्दछ्न्। सैन्य वा न्यायिक क्षेत्रमा उच्च सफलताको योग छ। यस भावको अशुभ सूर्यले खास गरी स्वास्थ्यसम्बद्ध समस्या आइलाग्छ। आँखाको ज्योति कमजोर हुन्छ। चौपाया, विषादि, शस्त्र, अग्नि आदिद्बारा पीडाको सम्भावना समेत हुन्छ। सानिमा, ठूलीआमा र मावली पक्षमा हानी पुग्छ।

प्रणय
जन्मकुण्डलीमा सूर्यले स्त्रीभावमा विचरण गरेको अवस्था भएमा तपाईं यतिसम्म दानी हुनुहुन्छ कि दान गर्दागर्दै धन रित्तिएको चाल पाउनुहुन्न। यस्ता जातकले उच्च घराना र उत्तम आचरणको जीवनसाथी प्राप्त गर्छ। यस्ता मानिस सामान्यभन्दा होचा र कैला खैरा आँखा भएका हुने गर्दछन्। सातौंभावको अशुभ सूर्यले रोगी जीवनसाथीको सङ्केत गर्दछ। व्यक्तिमा गुप्तरोग, यौनकुण्ठा र व्यभिचारका सम्भावना समेत हुन्छन् । पिता र राज्यपक्षसँग वैमनस्य हुनेछ। घरायसी र व्यावहारिक समस्याका कारण यस्ता मानिसको उत्तरार्द्ध जीवन एक्लो र नैराश्यपूर्ण हुने गर्दछ। यस्तै मानिस पछिल्लो समयमा जोगी सन्यासी र विरक्तसमेत भएको देखिन्छ।

आयु
जन्मकुण्डलीमा सूर्यले आयुभावमा विचरण गरेको अवस्था भएमा तपाईं सुन्दर शरीर भएको र कर्मठ हुनुहुन्छ। यस्ता जातकहरूको जीवनीशक्ति सर्वश्रेष्ठ देखिने गर्दछ । नौकरीका माध्यमबाट यस्ता मान्छेको उन्नतिप्रगति र धनप्राप्ति हुने गर्दछ। वैदेशिक यात्रामा जाँदा नयाँनयाँ यौनसाथी भेटिने सम्भावना पनि हुन्छ। यस्ता जातकको  जेठो दाजु छ भने ऊ निरोगी हुन्छ। यस्ता व्यक्तिले चरित्र र आचरणप्रति सजग रहनु पर्छ, नत्र शत्रुले दुःख दिन्छन् र धननाश हुन्छ। कमजोर रहँदा नीचजनको सेवा र चाकरीबाट यस्ता मानिसले धनार्जन गर्दछन् र यी धूर्त, ठग, झगडिया र चलाख तर निर्धन हुन्छन् । यस्ता मान्छेले कसैको मृत्यु देख्नुपर्दैन, त्यसैले यिनलाई मृत्युशय्यामा सुतेका व्यक्तिको चाकरी गर्न राखेमा रोगीको आयु लम्ब्याउन सकिन्छ।

धर्म
जन्मकुण्डलीमा सूर्यले नवौं भावमा विचरण गरेको अवस्था भएमा तपाईं भाग्यमानी र वाहनादिले सुसम्पन्न हुनुहुन्छ। ठूलो कुलघरान र परिवारमा यसकिसिमका जातकहरूको जन्म हुने गर्दछ तर दाजुभाइका कारण यिनीहरूको जीवन दुःखी हुने सम्भावना हुन्छ। ऊ दूरगामी समय र भविष्यप्रति बढी चिन्ता लिने गर्दछ । कुलपरम्परा धान्न, बृद्धहरूको आदरसत्कार गर्न र निराश व्यक्तिमा आशा सञ्चरण गर्न यस्ता मान्छे सिपालु हुन्छन्। यस्ता व्यक्तिको जीवन पिताबाट अर्जित ज्ञान, नौकरी वा ठेक्कापट्टाबाट आर्जित धनद्बारा सञ्चालन हुन्छ। अशुभ सूर्यको प्रभाव भएका यस्ता जातक छिनछिनमा कुरा फेर्छन्, बाल्यावस्थामा रोगी हुन्छन् र दुष्ट क्रूर र घमण्डी हुने गर्दछन् । दाजुभाइसँगको सम्बन्ध सुमधुर हुँदैन । यिनीहरूमा धर्म परिवर्तनको सम्भावना समेत हुन्छ।

कर्म
जन्मकुण्डलीमा सूर्यले दशम भावमा विचरण गरेको अवस्था भएमा तपाईं न्यायप्रेमी, साहसी, दृढनिश्चयी र गौरवशाली प्रकृतिको हुनुहुन्छ। यस्ता व्यक्तिले पराक्रम र शास्त्रीय ज्ञानका बलमा आँफूलाई राजातुल्य बनाउन सक्षमता प्राप्त गर्दछन्। उसले राज्यपक्षबाट मानसम्मान र यश प्राप्त गर्दछ। पिता, पैतृक सम्पत्ति एवं वाहनादिको सुख प्राप्त हुन्छ। अशुभ सूर्यको प्रभावका कारण जातकमा आडम्बर र रहस्यवादले प्रवेश गर्ने सम्भावना पनि हुन्छ। आफ्ना नराम्रा पक्ष (दोष, दुःख, पीडा आदि)को वर्णन गर्ने बानी समेत हुन्छ। पुत्र सन्तानको कमी हुन्छ। आमासँगको सम्बन्ध त्यत्ति राम्रो हुन्न, पत्नीवियोग र मित्रकलहको योग समेत आउँछ।

राज्य
जन्मकुण्डलीमा सूर्यले राज्यभावमा विचरण गरेको अवस्था भएमा तपाईं आनन्द, भोगविलास, मनोरञ्जन, गीतसङ्गीत आदिमा रूचि राख्ने गर्नुहुन्छ। यस किसिमका जातकको आँखा सुन्दर हुन्छ। यस्ता व्यक्तिले सात्विक विचार र इमानदारीलाई ग्रहण गरेमा भाग्य अभिबृद्धि गर्न सक्दछन् । मादकपदार्थको सेवन गर्दा, मांसाहार गर्दा र मुखमा क्षुद्रवचनको प्रयोग गर्दा यिनीहरूले भाग्यबलमा कमी भएको अनुभूति हुन्छ। त्यसैले त्यस्ता स्वभाव त्याग्नु राम्रो हुन्छ। अनिमात्र उसले मानप्रतिष्ठा र गौरवानुभूति प्राप्त गर्न सक्दछ र नोकरचाकर र वाहनादिबाट भरिपूर्ण हुने अवसर जुट्न सक्छ। यस भावमा बसेको सूर्य अशुभ फलदायक भएमा जातकले सन्ततिपक्षबाट पीडा ब्यहोर्नु पर्छ। जेठो दाजु हुँदैहुँदैन वा उससँग असल सम्बन्धको आशा गर्न सकिंदैन।

व्यय
जन्मकुण्डलीमा सूर्यले द्बादशभावमा विचरण गरेको अवस्था भएमा तपाईं निश्चिन्त प्रकृतिको व्यक्ति हुनुहुन्छ। गहिरो निद्रामा निदाए जस्तै कुनै पनि विषयमा तपाईं चिन्ता गर्नुहुन्न। यस्ता जातकमा धार्मिक स्वभाव विद्यमान हुन्छ र नोकरी वा व्यापार वृत्तिबाट यिनले धनार्जन गर्दछन्। देशदेशान्तरको यात्रा गर्ने अवसर जुट्ने गर्दछ। बाह्रौं भावमा सूर्य अशुभकारक हुँदा जातक मूर्ख र कामुक हुन्छ। ऊ नास्तिक र विधर्मी पनि बन्न सक्छ एवं चोरीको बात लागी जरिबाना तिर्नुपर्ने परिस्थितिको सिर्जना समेत हुन्छ। प्राविधिक ज्ञानको कमी हुन्छ। जातकका काका हुँदैनन् वा काकासँगको सम्बन्ध सुमधुर हुन सक्दैन । जीवनसाथीमा नपुंसकताको सम्भावना हुन सक्छ र ऊ स्वयंमा व्यभिचारको आशङ्का गर्न सकिन्छ। पितासित समेत सुमधुर सम्बन्ध हुँदैन ।


No comments:

Post a Comment