Wednesday, January 25, 2017

सुखद दाम्पत्यसम्बन्ध र ज्योतिष

विवाह मानव जीवनको सबैभन्दा महत्वपूर्ण संस्कार हो । यस संस्कारमा बाँधिनुभन्दा पहिले नै केटा र केटीको जन्मनक्षत्रको नामका आधारमा गुणमिलान गर्ने परिपाटी छ । गुण मिलान नमिल्दा सर्वगुण सम्पन्न वर वा कन्या भए पनि असल जीवनसाथी सिद्ध हुन सक्दैनन् । गुणमिलान गर्दा अष्टकूटको मिलान गरिन्छ । ती अष्टकुट हुन् - वर्ण, वश्य, तारा, योनी, ग्रहमैत्री, गण, राशि र नाडी । ज्योतिषशास्त्रअनुसार कुनै पनि जातकको प्रकृति (अभिरुचि, व्यक्तित्व र व्यवहार) उसको जन्मनक्षत्र र राशीका आधारमा निर्धारित हुने गर्दछ । यस आधारमा पतिपत्नीको जन्मनक्षत्र र जन्मराशिको मिलान गर्नुलाई गुणमिलान भनिन्छ । गुणमिलानका आधारमा दुई दम्पतिको दाम्पत्य सम्बन्ध एक आपसमा कस्तो हुन्छ भन्ने जानकारी प्राप्त हुन्छ । गुणमिलानको जम्मा अङ्क ३६ हुन्छ र दुबै वरबधूको सम्बन्धबाट आउने गुण ५० प्रतिशतभन्दा बढी भएमामात्र तिनीहरूको दाम्पत्य जीवन सुखमय हुनसक्दछ भन्ने विश्वास गरिन्छ । उत्ताउलो उमेरमा विपरीतलिङ्गीप्रति आकर्षण बढ्नु स्वाभाविक हो, तर दीर्घकालसम्म त्यो आकर्षण कायम हुन्छ वा हुँदैन, तत्कालको आकर्षणलाई मात्र हेरेर टुङ्गो लगाउने विषय पनि होइन । सामान्यतया ज्योतिषशास्त्रीय दृष्टिकोणबाट दुबै केटा र केटीको कुण्डलीमा शुभ वा अशुभ एकै किसिमका ग्रहहरूको दशावधिमा गुणमेलापक चक्रमा थोरै अङ्क हुँदा पनि एकअर्कामा आकर्षण र भवनात्मक निकटता हुनसक्छ, तर भविष्यमा जब तिनको जीवनमा ती आकर्षण गराउने ग्रहको समय भुक्तान भएपछि वा अशुभ ग्रहको समयचक्र प्रारम्भ हुनासाथ ती दुईमा अचानक वैचारिक मतभेद हुन थाल्छ, जसबाट वादविवाद बढ्छ, अनि सम्बन्धविच्छेद हुने अवस्था समेत सिर्जना हुन्छ । त्यसैले विवाह गर्नुअघि कम्तीमा गुणमिलान गरी निर्धारण गर्नु अनिवार्य हुन्छ । हुन त, गुणमिलानमात्र सुखद दाम्पत्य सम्बन्धको मुख्य कडी होइन, अनि गुणमिलान गर्नु तपाईंको भाग्य र भविष्य सुनिश्चित र उज्ज्वल बनाउने माध्यम पनि होइन, तर पर्याप्त गुणाङ्क प्राप्त भएका दम्पतीको आपसी सम्बन्ध सुमधुर बनाउनु हो । सम्भव छ भने विवाहपूर्व दुबै वरबधूको कुण्डलीमा रहेका ग्रहहरूको अवलोकन गरी माङ्गलिक योग, कालसर्प योग, शुक्र र चन्द्रमाको बलाबल पनि विचार गर्नु बुद्धिमानी हुनेछ ।

ज्योतिषशास्त्रमा गुणमिलान गर्दा अष्ट कूटको बेग्लाबेग्लै गणना गरिन्छ । यी आठवटा कूटहरूको भिन्नभिन्न ढङ्गले एक आपसमा सामञ्जस्य स्थापना गर्ने महत्त्वपूर्ण भूमिका हुन्छ ।  के के हुन् त यी अष्टकूट, तल तिनै अष्ट कूटका बारेमा जानकारी प्रस्तुत गरिएको छ -

१) वर्ण - अष्टकूटहरूमध्ये पहिलो कूट 'वर्ण'लाई मानिन्छ । वर्णका आधारमा व्यक्तिको कार्यक्षमताको मूल्याङ्कन हुने गर्दछ । ज्योतिषशास्त्र र आर्य संस्कृतिमा वर्णलाई चार किसिमले विभाजन गरिएको छ - ब्राह्मण, क्षत्रीय, वैश्य र शुद्र । यी वर्णहरूलाई क्रमशः उत्तम, मध्यम, सामान्य र अधम श्रेणीमा राखिएको हुन्छ । केटा र केटीको गुणमिलान गर्दा केटीका तुलनामा केटाको वर्ण उच्च श्रेणीको हुँदा गुणमिलान अन्तर्गत १ अङ्क प्राप्त हुन्छ । यस मिलानमा उत्तीर्ण हुँदा दुबै वरबधुको एक आपसमा सुसम्बन्ध रहने र समान कार्य क्षमता हुने बताइन्छ ।

२) वश्य - अष्टकूटहरूमध्ये दोस्रो कूट 'वश्य'लाई मानिन्छ । वश्य पाँच प्रकारका हुन्छन् - चतुष्पद ,द्विपद ,जलचर ,वनचर र कीट । मेष र वृष राशीको पूर्ण भाग र धनु राशीको उत्तरार्द्ध एवं मकर राशीको पूर्वार्द्ध हुने जातकको चतुष्पद वश्य हुन्छ । सिंह राशीको वनचर वश्य हो । मिथुन ,कन्या, तुला र कुम्भ राशीको समस्त भाग र धनु राशीको पूर्वार्द्ध हुने जातकको द्विपद वश्य हुन्छ । मकर राशीको उत्तरार्द्ध खण्डको जलचर वश्य हुन्छ र कर्कट राशीको कीट वश्य मानिन्छ । वश्यको मिलानबाट स्वभाव र पारस्परिक सम्बन्ध कस्तो हुन्छ भन्ने अनुमान लगाइन्छ, एकै किसिमको वश्य हुँदा वा परस्पर मित्र वश्य हुँदा दुबै दम्पत्तिको सम्बन्ध राम्रो हुन्छ तर वश्य एक आपसमा शत्रु हुँदा दुबैमा शत्रुताको भावना प्रवल हुन्छ, सामान्य कुरामा पनि दुबै झगडा गर्न थाल्छन् । दुबै वश्य एक आपसमा भक्ष्य छन् भने जीवनसाथीले आफु दबिएको भावनाबाट ग्रसित हुनुपर्छ । वश्यका आधारमा गुणमिलान तालिकामा २ अङ्क प्राप्त हुन्छ ।

३) तारा - अष्टकूटहरूमध्ये तेस्रो कूट 'तारा'लाई मानिन्छ । जन्म नक्षत्रका आधारमा ताराको गणना हुन्छ । तारा नौ किसिमका हुन्छन् - जन्म ,सम्पत्, विपत्, क्षेम ,प्रत्यरि, साधक, वध, मित्र र अतिमित्र । ताराको सम्बन्ध शुभ हुँदा दुबै दम्पतीमा परस्परमा एक अर्काका भावनालाई बुझ्ने क्षमता प्राप्त हुन्छ । तारा गणना गर्दा केटाको जन्मनक्षत्रदेखि केटीको जन्मनक्षत्रसम्म गनेर आउने सङ्ख्यालाई नौले भाग गर्दा जति शेष हुन्छ, त्यस बमोजिम क्रमशः जन्म ,सम्पत्,विपत्, क्षेम ,प्रत्यरि, साधक, वध, मित्र र अतिमित्र नामका तारा हुन्छन् । यीमध्ये विपत्, प्रत्यरि र वध नाम गरेको तारा प्राप्त हुँदा अशुभ हुन्छ, अन्य तारा शुभ नै मानिन्छन् । ताराको मिलान अनुकूल भएमा गुणमेलापक चक्रमा तीन अङ्क प्राप्त हुन्छ ।

४) योनी - अष्टकूटहरूमध्ये चौथो कूट 'योनी' हो । योनी चौधवटा छन्, ती हुन् - अश्व(घोडा), गज (हात्ती),मेष (भेडो),सर्प, मार्जार (बिरालो), मूषक (मुसो), गौ (गाई), महिष (भैंसी), व्याघ्र (बाघ), मृग, वानर (बाँदर), नकुल (न्याउरीमुसो) र सिंह । जस्तै - घोडा योनीको भेडा, बिरालो, मुसो, गाई र मृग मित्र, सर्प, कुकुर, बाँदर र न्याउरीमुसो सम र भैंसी शत्रु योनी हुन् । योनीचक्रको मिलानबाट दुबै दम्पत्तिमाझ निर्णय लिने क्षमता ,एक आपसमा सन्तुलन र विवेक पक्षको विचार गर्ने गरिन्छ । दाम्पत्य जीवनको लामो जीवनकालमा श्रीमान् र श्रीमतीमा वैचारिक तालमेल हुनु अति आवश्यक हुन्छ, तर वैचारिक तालमेल नमिल्दा जीवनमा उतारचढाव ब्यहोर्नु पर्छ । योनीको मिलानबाट गुण मेलापक चक्रमा चार अङ्क प्राप्त हुन्छ, वर र बधूको समान योनी हुँदा चार गुण ,मित्र योनी हुँदा तीन गुण, सम योनी हुँदा दुई गुण र शत्रु योनी हुँदा शून्य गुण हुन्छ ।

५) ग्रह मैत्री - ग्रहहरूको एक आपसमा हुने मैत्रीसम्बन्धबाट वर र बधूको आपसी सम्बन्ध, पारस्परिक स्वभाव र तिनको प्रकृतिका बारेमा थाहा पाउन सकिन्छ । ग्रहहरूका माझमा एक आपसमा तीन किसिमका नैसर्गिक सम्बन्ध रहने कुरा ज्योतिषशास्त्रमा उल्लेख गरिएको पाइन्छ । यदि केटा र केटी दुबै जनाको राशीको स्वामी ग्रह परस्परमा मित्र छन् वा एउटै हुन्छ भने दुबै दम्पतीमा पनि परस्परमा प्रेमसम्बन्ध कायम हुन्छ तर ती राशीस्वामी परस्पर शत्रुतापूर्ण सम्बन्ध राख्दछन् भने ती दुईका वीचमा पनि शत्रुत्व कायम हुन्छ । दुईजनाकै राशीस्वामीको सम भाव छ भने ती जोईपोइ कहिले प्रसन्न पनि हुन्छन् भने कहिले मनमुटाव पनि देखिन्छ । गुणमेलापक चक्रमा यसरी ग्रह मैत्रीका आधारमा अधिकतम पाँच अङ्क प्राप्त हुन्छ ।

६) गण - गण तीन वटा हुन्छन् - देव गण, मनुष्य गण र राक्षस गण । गणद्वारा शालीनता ,उदारता ,सहृदयता र सुशीलताको विचार गरिन्छ । देव गणमा जन्मिएका जातकमा नैसर्गिक रूपमा उदार ,दयालु ,दानी र आत्मविश्वासी चरित्र पाइन्छ, त्यस्तै मनुष्य गणमा जन्म लिनेहरू चलाख, स्वार्थी र स्वाभिमानी हुन्छन् अनि राक्षस गणमा समुत्पन्न भएका व्यक्तिहरू क्रोधी, जिद्दी, गैरजिम्मेवार र निर्दयी हुन्छन् । सामान्यतया एउटै खालको गणलाई सर्वोत्कृष्ट मानिन्छ भने देव गण र मनुष्य गणको एक आपसमा असल सामञ्जस्य हुन्छ, देवगण र राक्षस गणको धेरै जसो झगडा परिरहने गर्दछ अनि मनुष्य र राक्षस गणका जोडीको दाम्पत्य सम्बन्ध भएमा मनुष्य गण हुने केटा वा केटीको आयुमा सङ्कट आउने वा मृत्यु हुने भन्ने चलन छ । एक आपसमा गण मिलान हुँदा अधिकतम छ अङ्क प्राप्त हुन्छ ।

७) भकूट - भकूट छ किसिमका हुन्छन् । वरको राशीबाट कन्याको राशीसम्म र कन्याको राशीबाट वरको राशीसम्म गन्ती गर्दा कुन भकूट परेछ भन्ने पत्तो लाग्छ । यसरी गन्दा एक अर्काको राशीबाट गन्दै जाँदा ६/८, २/१२ र ९/५ पर्नु हुँदैन । तर राशी स्वामी एउटै परेको खण्डमा यो सम्बन्धलाई पनि ग्राह्य मानिन्छ । भकूट ग्राह्य भएमा गुणमेलापक चक्रमा अधिकतम ७ गुण प्राप्त भएको मानिन्छ ।

८) नाड़ी - विवाहका निम्ति भावी वरवधूको जन्मकुण्डली भिडाउँदा गुणको गणना गर्ने क्रममा नाडीको सबै भन्दा महत्वपूर्ण स्थान हुन्छ । नाडी व्यक्तिको मन र मानसिक ऊर्जाको सूचक हो । व्यक्तिको निजी सम्बन्ध उसको मन र भावनाद्वारा नियन्त्रित हुन्छ । भावी दम्पतिका रूपमा एउटा लामो कालखण्ड साथसाथै रहने दुईजनामा भावनात्मक समानता हुनु अत्याश्यक छ, तर ती दुईजनामा प्रतिद्वन्दिता भयो भने तिनले एक्साथमा जीवन गुजार्न असहज हुन्छ, विवाह धेरैपटक जोडिने सम्बन्ध पनि होइन । जसरी शरीरमा रहेको वात, पित्त र कफ जस्ता दोषको पहिचान चिकित्सकले हातको नारी छामेर पत्ता लाउँछन्, त्यस्तै दुईजना अपरिचित नारी र पुरुषको भावनात्मक सम्बन्धको जानकारी आदि, मध्य र अन्त्य नामका तीन किसिमका नाडीका माध्यमबाट प्राप्त हुन्छ । वैदिक ज्योतिषका अनुसार आदि, मध्य र अन्त्य - यी तीनवटा नाडीले क्रमशः आवेग, उद्वेग र संवेग द्योतन गर्दछन्, जसबाट सङ्कल्प, विकल्प र प्रतिक्रियाको जन्म हुन्छ । मान्छेको पनि सङ्कल्प, विकल्प वा प्रतिक्रियाद्वारा नै सञ्चालित हुन्छ र उसको मनोदशाको मूल्याङ्कन उसमा रहेको आवेग, उद्वेग वा संवेगको जानकारीबाट थाहा पाइन्छ । यस प्रकार मेलापक चक्रमा नाडीगणनाका माध्यमबाट भावी दम्पतिको मानसिकता र मनोदशाको मूल्याङ्कन गर्न सकिन्छ । नाडीको सङ्ख्या तीनवटा हुन्छ - आदि ,मध्य र अन्त्य । दुबै वर र बधूको एउटै नाडी हुनुहुन्न । यस्तो भएमा दाम्पत्य सम्बन्ध वा विवाह अशुभ मानिन्छ । नाडी एकै किसिमको हुँदा तिनको यौनसम्बन्धमा निरसता हुने सम्भावना एकातिर हुन्छ भने सन्तानोत्पादनमा पनि समस्या आउने देखिन्छ । त्यसैले गुणमिलान चक्रमा यसको सर्वाधिक अङ्क छ । नाडीको मिलान हुँदा एकमुष्ट आठ गुण प्राप्त हुन्छ ।

गुणमिलानमा के कुरालाई बढी महत्त्व दिने त ?
वैदिक ज्योतिषको मेलापक प्रकरणमा गणदोष, भकूटदोष र नाडीदोष - यी तीनवटा तत्त्वलाई सर्वाधिक महत्व दिइएको हुन्छ । यसलाई जम्मा मेलापक चक्रको ३६ गुणमध्ये (गणका निमित्त ६ अङ्क, भकूटका निमित्त ७ अङ्क र नाडीका नैमित्त ८ अङ्क तोकिएकाले पनि सहजै अनुमान गर्न सकिन्छ । गण, भकूट र नाडीको ६, ७ र ८ अङ्कको योग २१ हुन्छ जबकी गुणमिलानका अष्टकूट मध्ये बाँकी पाँचवटा कूट वर्ण, वश्य, तारा, योनी र ग्रहमैत्री सबैको अङ्क १५ मात्र हुन्छ । नाडी एउटैको मात्र ८ अङ्क तोकिएको छ, त्यसैले दुईजनाको आपसी सम्बन्धमा नाडीको अहम् भूमिका रहेको सिद्ध हुन्छ । दुई जना दम्पतिको गुणमिलान गर्दा आवश्यक १८ भन्दा बढी अङ्क प्राप्त भैकन पनि यदि नाडी दोष कायम नै हुन्छ भने पनि कुलीनहरू वैवाहिक सम्बन्ध कायम गर्न मान्दैनन्, किनभने नाडीबाट नै दुईजनाको यौन सन्तुष्टि छछैन निर्क्यौल गर्ने गरिन्छ । विवाह जैविक आवश्यकता परिपूर्तिको स्थायी बन्धन पनि हो । यौनसम्बन्धको असहजताबाट जत्तिबेला पनि दाम्पत्यसम्बन्ध टुट्ने सम्भावना पनि हुन्छ । त्यसैले नाडीलाई मानसिक र मनोवैज्ञानिक विवेचना गर्ने सूत्र हो भन्दा हुन्छ । उता नाडी दोषका कारणले सन्ततिलाभमा समस्या आउने, भएका सन्ततिमा सुस्तमनस्थिति वा अपाङ्गता देखिने सम्भावना पनि हुन्छ । त्यसैले नाडी दोष रहेका दम्पतिका बीचमा यौनसम्बन्धको सामञ्जस्य नरहँदा व्यभिचारको सम्भावना पनि देखिन सक्छ ।

नाडी दोषको दुष्परिणाम
ज्योतिषशास्त्रमा दुबै दम्पतिको आद्य नाडी हुँदा केटाको मृत्यु हुने, दुबैको मध्यनाडी हुँदा केटीको मृत्यु हुने र दुबैमा अन्त्य नाडी हुँदा दुबैको मृत्यु हुने बताइएको भेटिन्छ । त्यसैले नाडी दोषलाई त्याग्न ज्योतिषग्रन्थले निर्देशन दिएको पाइन्छ । (आद्यनाडी वरं हन्ति, मध्यनाडी तु कन्यका । अन्त्यनाडी द्वयोर्मृत्यु नाडीदोषं त्यजेद्बुधः ॥) यस भनाइको तात्पर्यलाई केलाउँदा वर्तमान परिवेशमा नाडीदोषका निम्न दुष्परिणाम प्राप्त भएको देखिन्छ -

क) आद्य नाडीलाई वात प्रकृतिको प्रतीकका रूपमा लिइन्छ । यदि दुबै वरबधूको आद्य नाडि रहेको अवस्था छ भने केटाको स्वास्थ्यमा यस नाडीको कुप्रभाव पर्ने गर्दछ र उसकी स्त्रीमा व्यभिचारको सम्भावना हुन्छ । पुत्र सन्तानको अभाव हुन्छ ।

ख) मध्य नाडीलाई पित्त प्रकृति मानिन्छ । वर र बधू दुबैमा मध्य नाडी हुँदा ती दुईमा परस्परमा अहम् भावना विकसित हुन्छ र राम्रो सम्बन्ध हुन सक्दैन । तिनमा यौन उमेरमा आकर्षण हुनु सामान्य हुन्छ, तर व्यवहारिक जीवन सुरु हुनासाथ विकर्षण बढ्न थाल्दछ र खास गरी केटाले बाह्य सम्बन्ध बनाउने प्रयास गर्दछ । दुई दम्पतीको एक आपसमा लडाइ र झगडा भएर छोडपत्र समेत हुन्छ । जसैतसै असन्तुष्टिका बीचमा सामञ्जस्य गरी सँगै बस्दा पनि सन्ततिसुखको अभाव हुन्छ । गर्भपतनको समस्या देखिइरहन्छ ।

ग) अन्त्य नाडीलाई कफ स्वभावको प्रतीक मानिन्छ । यो सर्वाधिक घातक नाडी दोष हो । यदि दुबै केटा र केटीको अन्त्य नाडी छ भने यस्ता दम्पत्तिमा कफ प्रधान पदार्थहरुको सेवन र चिसो वातावरण हानिकारक हुने गर्दछ । दुई दम्पत्तिको स्वास्थ्यस्थितिमा किसिमकिसिमका समस्या आउँछन् । ती निस्सन्तान हुने सम्भावना प्रबल हुन्छ । दुबैमा यौन व्यभिचारको सम्भावना हुन्छ ।

सङ्क्षेपमा पति र पत्नीको एउटै नाडी हुने स्थितिमा वैवाहिक सम्बन्ध गाँस्नु हुँदैन । जन्मनक्षत्र थाहा हुँदा ककसको कुनकुन नाडी हुने रहेछ थाहा पाउन सकिन्छ-

१- आदि नाडी - अश्विनी, आर्द्रा पुनर्वसु, उत्तराफाल्गुनी, हस्ता, ज्येष्ठा, मूल, शतभिषा र पुर्वाभाद्रपद नक्षत्रमा जन्म लिने जातकको आद्य नाडी हुन्छ ।

२- मध्य नाडी - भरणी, मृगशिरा, पुष्य, पुर्वाफाल्गुनी, चित्रा, अनुराधा, पुर्वाषाढा, धनिष्ठा र उत्तराभाद्रपद  नक्षत्रमा जन्म लिने जातकको मध्य नाडी हुन्छ ।

३- अन्त्य नाडी - कृतिका, रोहिणी, अश्लेशा, मघा, स्वाति, विशाखा, उत्तराषाढा, श्रवण र रेवती  नक्षत्रमा जन्म लिने जातकको अन्त्य नाडी हुन्छ ।

नाडी दोष नहुने अवस्था -
१) 'रोहिण्यार्द्रामृगेन्द्राग्निपुष्यश्रवणपौष्णभम् । अहिर्बुध्नर्क्षमेतेषां नाडीदोषो न विद्यते ॥' (केटा वा केटीको रोहिणी, आर्द्रा, मृगशिरा, कृतिका, पुष्य (तिष्य), श्रवण,हस्ता र उत्तराभाद्रा नक्षत्रमा जन्म भएको छ भने नाडी दोष लाग्दैन ।)
२) केटा र केटी दुबै माङ्गलिक योगका छन् भने तिनलाई नाडी दोष लाग्दैन ।
३) केटा र केटी दुबैको कुण्डलीमा राहु वा केतु मध्ये कुनै ग्रह लग्नमा छ भने पनि नाडी दोष लाग्दैन ।
४) केटा र केटी दुबै आंशिक वा पूर्ण कालसर्प योग रहेको अवस्थामा जन्मिएका छन् भने पनि तिनले नाडी दोष बार्नु पर्दैन । त्यस्तै केटा र केटी मध्ये एकजनाको पूर्ण वा आंशिक कालसर्प योग छ र अर्को एकजनाको जन्मनक्षत्र भरिणी(कालको नक्षत्र), रोहिणी/मृगशिरा (सर्प योनी हुने नक्षत्र), अश्लेषा(सर्पवाचक नक्षत्र), मूल र ज्येष्ठा नक्षत्र वा सर्प वर्ग ('त', 'थ', 'द','ध','न'बाट नाम हुने) छ भने त्यसबाट हुने सम्बन्धमा नाडी दोष निष्क्रिय हुन्छ ।
५) एउटै राशि वा नक्षत्र भएका केटा र केटीको विवाह गर्दा नाडी दोष लाग्दैन तर दुबैको नक्षत्रबाट आउने नाम एउटै नक्षत्रको एउटै चरणमा पर्नु हुँदैन ।
६) माथि नाडी लाग्दा लाग्दै विवाह गर्न सकिने केही आधारहरूको विश्लेषण गरिए तापनि आद्य नाडी हुने अश्विनी र ज्येष्ठा नक्षत्र, हस्ता र शतभिषा नक्षत्र, उत्तरफाल्गुनी र पूर्वभाद्रपद नक्षत्रका बीचमा जेजस्तो परिहार देखिए पनि विवाह नगर्नु नै उचित हुने मानिन्छ । त्यस्तै मध्य नाडी हुने भरणी र अनुराधा, पूर्वाफाल्गुनी र उतराफाल्गुनी, पुष्य र पूर्वाषाढा, मृगशिरा र चित्रा, चित्रा र धनिष्ठा, मृगशिरा र धनिष्ठा नक्षत्रका माझमा पनि दम्पत्य सम्बन्ध कायम गर्नु हुँदैन । अन्त्य नाडी हुने कृतिका र विशाखा, रोहिणी र स्वाति, मघा र रेवती नक्षत्रका जोडीको समेत दाम्पत्य सम्बन्ध कायम गराउनु बेस हुँदैन । यस्तो सम्बन्ध गाँसिन पुगेमा दुई जना मध्ये एक जनाले दीर्घरोगी भई जीवन गुजार्ने सम्भावना हुन्छ ।

नाडी दोषबाट मुक्त हुने केही उपायहरू -
विवाह पहिले नै विधिवत् ज्योतिषीको सल्लाह प्राप्त गरेर प्राप्तसुझावका आधारमा दाम्पत्यजीवन सुरु गर्दा हुनसक्ने दोषबाट जोगिन सकिन्छ, तर जसले कुण्डली मिलान नगरी विवाह गरेका छन् र नाडीदोष परेको छ, तिनीहरूको जीवनमा देखिएका विकृतिलाई शमन गरी बाँकी जीवनलाई सहज तुल्याउन पनि सकिन्छ । पछि उपाय गर्नुभन्दा विवाह गर्नु पहिले नै भरिसक्य गणितीय विश्लेषण गरी गरिएको दाम्पत्य सम्बन्धमात्र पूर्णरूपेण आनन्ददायक र सफल हुन्छ, पछि गरिने उपाय वा उपासनाले दुई जनाको समझदारी, वैचारिक सामञ्जस्य र विवेकसम्मत तालमेल भएमा मात्र माथि वर्णन गरिएका विकृति आउनबाट जोगिन सकिन्छ ।

१- वर र कन्या दुबैको एउटै नाडी छ भने नारीपुरुषको स्वास्थ्यमा प्रतिकूल असर पर्छ र प्राणान्तको सम्भावना पनि हुन्छ, त्यसैले यस्ता दम्पतिले भक्तिपूर्वक प्रत्येक वर्ष रुद्राभिषेकसहित १०८ आवृत्ति महाकाल शनिमृत्युञ्जय स्तोत्र आफैंले वा नैष्ठिक ब्राह्मणद्वारा पाठ गर्नु/गराउनु पर्दछ । दुबैको आद्यनाडी हुँदा पुरुषले, मध्यनाडी हुँदा स्त्रीले र अन्त्य नाडी हुँदा दुबैले महामृत्युञ्जय मन्त्र नैष्ठिक ब्राह्मणका मुखबाट श्रवण गरी प्रत्येक दिन १०८ पटक जाप गर्नुपर्दछ ।

२- वर र कन्या दुबैको एउटै नाडी छ भने सङ्कल्प गरी प्रत्येक तीनतीन वर्षमा विद्वान् र नैष्ठिक ब्राह्मणलाई गोदान, स्वर्णदान वा भूमिदान गर्नु पर्छ ।

३- प्रत्येक वर्ष आफ्नो वैवाहिक मिति (anniversory)मा आफ्नो तौलबराबरको अन्न दान गरी ब्राह्मण भोजन गराउनु पर्छ ।

४- नाडी दोषको प्रभावलाई कम गर्न आहार, विहार र आचरणमा विशेष ध्यान दिनुपर्छ । सात्विक आहार र परोपकारी भावना एवं सदाचारी हुनु अनिवार्य छ ।

५- वर वा कन्याको कुण्डली जाँचेर मारकेश ग्रहको महादशा र अन्तर्दशाको अवधिमा उक्त ग्रहको विशेष स्वस्तिशान्ति गर्नु आवश्यक छ ।

'नाडी दोषस्तु विप्राणां वर्णदोषस्तु भुभृताम् । गणदोषस्तु वैश्यानां शुद्राणां योनीदूषणम् ॥' भन्ने प्रमाणका आधारमा ब्राह्मण वर्णका मानिसले नाडीदोषलाई, क्षत्रीय वर्णका व्यक्तिले वर्णदोषलाई, वैश्य समुदायका मानिसले गणदोषलाई र शुद्र जातिका व्यक्तिले योनीदोषलाई निवारण गर्नु पर्ने एउटा धारणा ज्योतिषीय परम्परामा पाइन्छ तर खास गरी कर्कट, बृश्चिक र मीन राशीमा जन्म लिने जातकको ब्राह्मण वर्ण हुने भएकाले ती राशीका जातकले पनि नाडीदोषलाई, मेष, सिंह र धनु राशीका जातकको क्षत्रीय वर्ण हुने भएकाले तिनले वर्णदोषलाई, बृष, कन्या र मकर राशीका व्यक्तिको नैसर्गिक वैश्य वर्न हुने भएकाले तिनले गणदोषलाई र मिथुन, तुला र कुम्भ राशीका व्यक्तिको नैसर्गिक रूपमा शुद्र वर्ण हुने भएकाले तिनले योनीदोषलाई अति नै महत्त्व दिई प्राथमिकतापूर्वक निवारण गरी गरिएको विवाहबाट सफल दाम्पत्य जीवनको आकाङ्क्षा गर्न सकिन्छ ।

No comments:

Post a Comment