Saturday, January 14, 2017

स्वस्थानी व्रतकथा, भाग – ३ (सतीदेवीको कन्यार्थमा भगवान् विष्णु)

श्री गणेशाय नमः ।। ॐ नमश्चण्डिकायै ।। श्री सरस्वत्यै नमः ।। श्री स्वस्थानीपरमेश्वर्यै नमः ।
ॐ यं व्रह्मावरूणेन्द्ररुद्रमरुतस्तुन्वन्ति दिव्यैः स्तवै–
र्वेदै साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ।
ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो
यस्यान्तं न विदुः सुरासुरगणाः देवाय तस्मै नमः ।।१।।
श्रीमच्चन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका–
मालालङ्कृतकुण्डला प्रविलसन्मुक्तवलीशोभिता ।
सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा
वाग्देवी वनदाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।।
मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिम् ।
यत्कृपा तमहं वन्दे परमानन्दमाधवम् ।।३।।
नमो भगवते तस्मै व्यासायमिततेजसे ।
यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् ।।४।।
नारायणं नमस्कृत्य नरञ्चैव नरोत्तमम् ।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।५।।
साष्टाङ्गं नमनं कृत्वा स्वस्थानीं परमेश्वरीम् ।
कथां सुधोपमां देव्याः श्रुत्वाऽऽभीष्टफलं लभेत् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोर्ध्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ,।।
ॐ श्री स्वस्थानीपरमेश्वर्यै नमो नमः।।


कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि, दक्ष प्रजापतिकी स्त्री विरणीले सतीदेवीको जन्मपछि अरु पनि धेरै कन्याहरू जन्मार्इन् । यसक्रममा उनीबाट तेत्तीस कोटि कन्याहरू भए । ती कन्याहरूलाई दक्ष र विरणीले समान माया र ममताका साथ लालनपालन गर्दै रहे । ती कन्याहरू पनि ज्वाज्वल्यमान रूप र लावण्यका भए । स्वर्गका सम्पूर्ण देवताहरू ऋषि, यक्ष, गन्धर्व, किन्नर, दिक्पाल, नाग, प्रभृत्ति सबै एकै ठाउँमा भेला भएर 'हामी सबै तेत्तीस कोटि देवताहरूले दक्षका तेत्तीस कोटि कन्या मागेर घरजम गर्नुपर्छ' भनेर निधो गरे । अनि नारदलाई यो विवाहको कुरा चलाउन पठाए । दक्ष प्रजापतिले आफ्नी सबैभन्दा राम्री जेठी छोरी सतीबाहेक सबैलाई बिहे गरिदिने वचन दिए र भने 'मेरो पनि छोरा छैन यसलाई छोरा बनाएरराख्न नदिएको हुँ' भनेर भने । दक्ष प्रजापति पनि हर्षित भएर 'हजूरले भन्नुभएको जुनसुकै समयमा पनि दिन तयार छु' भने । 'हाम्री छोरीहरूको पनि घरजम हुने भयो धन्य नारदमुनि' भनी दक्ष र विरणी हर्षित भए ।

देवताहरू सबै बाजागाजाका साथ दक्षकहाँ जन्ती आए र वैदिक विधिपूर्वक कन्यादान लिए । अनि सबै देवताहरू आ–आफ्ना स्थानमा गए । श्री महादेवजीले कैलाशमा ध्यान गरिरहनुभएको बेला ध्यानदृष्टिले हेर्दा सबै देवताहरूको विवाह भैसकेको थाहा पाए अनि साह्रै चित्त आकूल गरे । फेरि दक्षको घरमा एउटी कन्या बाँकी भएको ध्यानदृष्टिले पत्ता लगाए । अनि मलाई सम्झेरै राखेका रहेछन् भनेर हर्षित भई दक्षकहाँ कन्या माग्न गए ।

दक्ष प्रजापति :– आज तँ मेरामा कति कामले आर्इस , हे दिगम्बर ।
महादेव :– मैले यहाँ आउनुको कारण के हो भने तेत्तीस कोटि देवताहरूले कन्या पाए । उनीहरूले घर बसाए । सबैको उद्धार भयो । मेरै लागि जेठी छोरी बाँकी राखेका रहेछौ । अब मेरो पनि उद्धार गर ।
दक्ष प्रजापति :- हे शरम पचेको दुष्ट महादेव । बत्तीस लक्षणले सुन्दरी मेरी सबभन्दा राम्री छोरीको तँ जोडी हुन सक्दैनस् । तँ स्मशानबासी, खरानी घस्ने, भूतप्रेतसँग डुल्ने, नागको माला लाउने, बिख– भाङ्ग–धतुरो खाने । मेरो घरमा एकछिन पनि नबस्, तँ गइहाल् ।
(यसरी अरूपनि धेरै धेरै अपमान गरेर भनिसकेपछि महादेवको पाखुरा समातेर दक्षले श्री भोलेनाथ महादेवजीलाई घरबाहिर निकाल्यो )
महादेव :– इच्छा छैन भने, नदिने भए दिन्न भने भइहाल्थ्यो । यस्तरी निन्दा गरेर अपमान नगरेको भए हुन्थ्यो ।
त्यसपछि अति मन दुखाई भगवान् महादेवजी विष्णुलोकमा भगवान् विष्णु कहाँ गए र 'मलाई दक्ष प्रजापतिले यसरी यसरी अपमान गर्यो' भन्दै 'खासमा म यसो भनेर त्यहाँ कन्या माग्न गएको थिएँ' भने ।
अनि विष्णुले महादेवलाई 'हजुर यहाँ विष्णुलोकमा एकछिन् बस्नुस् है, म चाँजोपाँजो मिलाएर आउँछु ।' भनेर वहाँ दक्ष प्रजापति कहाँ जानुभयो ।
भगवान् विष्णु आगमन भएको देखी दक्ष प्रजापतिले कमण्डलुले गोडा धोर्इ ठूलो आसनमा बसाले र 'हजूरलाई के सेवा गरुँ' भनी सुध्याए ।
विष्णु :– हे दक्षप्रजापति , म केही माग्न आएको छु । दिन्छौ भने मात्र माग्छु ?
दक्ष प्रजापति :– लौ प्रभु यी मेरा सर्वस्व सबै हजूरकै त हो नि । हजूरले जे भन्नुभो त्यही दिन्छु । म वाचा गर्छु प्रभु ।
विष्णु :– म वैकुण्ठलोकको अधिपति भएर पनि मेरा पत्नी छैनन् । कन्या दिई मलाई उद्धार गर । किनकि तिम्री एउटी कन्या सतीदेवी अविवाहित नै छिन् । यसैबाट मेरो घर बसाऊ र मेरो उद्धार गर ।
दक्ष प्रजापति :– हे भगवान् ! मेरा छोरा छैनन्, सतीदेवी मेरी छोरी नै भए पनि मेरो यो अति प्यारो छोरो हो  भन्दा हुन्छ । यसलाई दिने ता मन थिएन, तर हजूरसँग बाचा गरिसकें । म वचनलाई मिथ्या जान दिनेछैन । समय मिलार्इ साइत हेरेर शुभ समयमा हजूरलाई कन्यादान टक्र्याउँला ।

फेरि भगवान् विष्णु विष्णुलोक आउनुभयो र महादेवलाई यसोयसो गरेँ भनेर 'हजूरलाई भनी मागेँ भने दिन्न भन्लान् भनेर अाफैंलार्इ सतीदेवी मागेर अाएँ' भनी बताउनु भयो । विष्णु भगवानले महादेवलाई फेरि भन्नुभयो – म गएको काम होलानै जस्तो छ । विवाहको दिन हजुर बृद्ध सन्यासीको रूप लिएर आउनुस् र भिक्षा नलिई जान्न भन्नुस् । त्यतिखेर म 'म कन्यादानको साइत सक्ने बितिक्कै भिक्षा दिन्छु, मसँगै आएर एकछिन पर्खनुहोस्' भनेर भन्छु । अनि म 'विवाहमण्डपमा मसँगै आएर बस्नुस्' भन्नेन्छु । हजूरले पनि त्यसै गर्नुस् । कन्यादान दिनेबेलामा मेरो हात राख्ने ठाउँमा हजूरको हात राखिदिउँला । उनीहरूले कन्यादानको धमाधममा यस कुराको हेक्का राख्दैनन् र मन्त्र पढिसकेपछि 'सती हजुरकी भइन्' भनेर म दक्षलाई सम्झाइबुझाइ गरिदिउँला ।

यो बार, यो तिथि, यो लग्न, यो नक्षत्र, यो वेलामा साइतको समयभन्दा एकछिन अगाडि हजूर सन्यासी भएर टुप्लुक्क आइपुग्नुहोस् भनी महादेवलाई विष्णु भगवानले सम्झाउनुभयो । अनि भगवान् महादेव पनि अति प्रसन्न हुँदै कैलाश पर्वतमा प्रस्थान गर्नुभयो । अर्को प्रसङ्ग चतुर्थ अध्यायमा बताउनेछु ।


इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये श्री स्वस्थानी परमेश्वर्याः व्रतकथायां सतीदेवीविवाहोपक्रमवर्णनं नाम तृतीयोऽध्यायः ।।

ॐ उपनयतु मङ्गलं वः सकलजगन्मङ्गलालयश्रीमान्
दिनकर–किरण निबोधित–नव–नलिनदलनिभेक्षणः कृष्णः ।।
काले वर्षन्तु पर्जन्यः पृथिवीशस्यशालिनी ।
देशोऽयं क्षोभरहितो ब्राह्मणाः सन्तु निर्भयाः ।।
अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः ।
निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।
तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च ।
तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोदारकथाप्रसङ्गः ।।
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता
या विणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ।
या ब्रह्माऽच्युतशङ्करप्रभृतिभिर्देवैः सदा वन्दिता
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।
कायेन वाचा मनसेन्द्रियैर्वा बुध्यात्मनावाऽऽनुसृतस्वभावात् ।
करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पये तत् ।।
अनन्य चेतसा भक्त्या श्रुतं यच्च कथामृतम् ।
समर्पयामि तत्सर्वं स्वस्थानीं परमेश्वरीम् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोर्ध्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।

No comments:

Post a Comment