Friday, January 20, 2017

स्वस्थानी व्रतकथा, भाग – ९ (विभिन्न शक्तिपीठको उत्पत्तिको प्रसङ्ग)

श्री गणेशाय नमः ।। ॐ नमश्चण्डिकायै ।। श्री सरस्वत्यै नमः ।। श्री स्वस्थानीपरमेश्वर्यै नमः ।
ॐ यं व्रह्मावरूणेन्द्ररुद्रमरुतस्तुन्वन्ति दिव्यैः स्तवै–
र्वेदै साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ।
ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो
यस्यान्तं न विदुः सुरासुरगणाः देवाय तस्मै नमः ।।१।।
श्रीमच्चन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका–
मालालङ्कृतकुण्डला प्रविलसन्मुक्तवलीशोभिता ।
सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा
वाग्देवी वनदाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।।
मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिम् ।
यत्कृपा तमहं वन्दे परमानन्दमाधवम् ।।३।।
नमो भगवते तस्मै व्यासायमिततेजसे ।
यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् ।।४।।
नारायणं नमस्कृत्य नरञ्चैव नरोत्तमम् ।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।५।।
साष्टाङ्गं नमनं कृत्वा स्वस्थानीं परमेश्वरीम् ।
कथां सुधोपमां देव्याः श्रुत्वाऽऽभीष्टफलं लभेत् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोर्ध्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ,।।
ॐ श्री स्वस्थानीपरमेश्वर्यै नमो नमः।।


कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि, तहाँ उप्रान्त सतीदेवीको शवलाई महादेवको पिठ्युँमा बोकी पृथिवी भ्रमण गरेको इन्द्रादि तेत्तीस कोटि देवताहरुले देखी वैकुण्ठमा गएर विष्णुसित बिन्ती गरे – 'हे परब्रह्म ! हजुर र महादेव नभए यो विश्व ब्रह्माण्डको रक्षा कोबाट होला ? यस बखतमा महादेव दक्ष प्रजापतिका यज्ञबाट सतीदेवीको मृत देहलाई पिठ्युँमा बोकी आफू पनि होश हराए झैं भएर पृथिवीमा भ्रमण गर्न लाग्नुभयो । जहिलेसम्म सतीदेवीको शरीर रहन्छ त्यो समयसम्म महादेवले बोकेर हिँड्न छाड्नु हुनेछैन । तसर्थ हे प्रभु ! यसबारे हजुरबाट केही उपाय नभए हाम्रो र लोकको कल्याण छैन ।' इन्द्रादि देवताहरुका यी कुरा सुनेर भगवान विष्णुबाट आज्ञा भयो – 'हे देवता हो ! तपाईंहरुले भलो कुरा सुनाउनु भयो । मैले सबै कुरा बुझेँ । अब म बेलैमा संसारको कल्याण हुने उपाय गर्छु । म आफ्नो मायाद्वारा माखाको उत्पत्ति गर्छु र सतीदेवीका शरीरका विभिन्न अङ्गमा औसाको सृष्टि गराउँछु, त्यसपछि ती अङ्गहरु सडेर पतन हुनेछन् । यसमा कुनै सन्देह नलिई तपाईंहरु आआफ्ना लोकमा जानुहोस् ।' भगवान विष्णुको यो आज्ञा सुनेर इन्द्रादि देवताले मायापति विष्णुलाई भक्तिपूर्वक प्रणाम गरी आआफ्ना लोकमा जाँदा भए । तहाँ उप्रान्त विष्णुका मायाद्वारा अनेकौं माखा सृष्टि भयो । ती माखा गएर सतीदेवीका विभिन्न अङ्गमा बसी औंसा पारिदिए, जसले गर्दा त्यो मृत शरीरका अङ्गहरु ठाउँठाउँमा खण्डखण्ड गरी पतन हुन थाले । यसरी जहाँ जहाँ सतीदेवीका अङ्गहरु पतन हुँदै गए, त्यहाँ त्यहाँ एक एक पीठ उत्पत्ति भई पितामह ब्रह्माले एकएक स्वयम्भू लिङ्ग उत्पन्न गराउनुभयो । प्रत्येक पीठमा देवी, योगिनी र महादेवका स्वरुप रहन गए ।

सर्वप्रथम नेपाल खण्डमा गुह्य पतन भयो । नेपाल पीठ, गुह्येश्वरीदेवी, चन्द्रघण्टा योगिनी, सिद्धेश्वर महादेव उत्पन्न भई शिवशक्ति स्वरुपले रहनुभयो । इन्द्रादि देवताले त्यो पुण्यभूमिमा आई तपस्या गरे । ईश्वरी गुह्येश्वरी देवी प्रसन्न हुनुभई देवतालाई सत्य, त्रेता, द्वापर र कलियुगमा तेत्तीस कोटि देवताका नामले प्रख्यात होऊ भनी वरदान दिनुभयो ।।१।।

त्यसपछि सेना भन्ने ठाउँमा पुग्दा मुकुट पतन भयो । सेना पीठ, उमादेवी, अष्टबक्रा योगिनी, कोकेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस पुण्यभूमिमा आदित्यादि नवग्रह आई तपस्या गरे । ईश्वरी प्रसन्न हुनुभई के वरदान माग्छौ माग भन्नुभयो । यो सुनी हर्षित भएका आदित्यादि नवग्रहले जगतका हानीलाभको अधिकार मागे । ईश्वरी उमादेवीले ‘तथास्तु’ भनी वरदान दिनुभयो ।।२।।

त्यसपछि कामरुपमा पुगेपछि छाती पतन भयो । कामरुप पीठ, कामाक्षादेवी, कर्ता योगिनी, चक्रेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यो पूण्यभूमिमा यक्षगण आई तपस्या गरे । ईश्वरी कामाक्षादेवी प्रसन्न भई यक्षले रोजेको वर स्वर्ग, मर्त्य र पाताल तीनै लोकमा यक्षगणका नामले प्रख्यात होऊ भनी वरदान दिनुभयो ।।३।।

त्यसपछि पौरबन्दरमा पुग्दा दाहिने कान पतन भयो । पौरबन्द पीठ, अम्बिकादेवी, चन्द्रवेशा योगिनी, धनेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यो सिद्धभूमिमा दैत्यगण आई तपस्या गरे । ईश्वरी अम्बिकादेवी प्रसन्न भएर दैत्यगणले मागेको वर देवगणलाई जित्न सके भनी वरदान दिनुभयो ।।४।।

त्यसपछि काश्मिरमा पुग्दा जिभ्रो पतन भयो । काश्मिर पीठ शारदादेवी, घोरघण्टा योगिनी, धर्मधारेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस सुन्दर भूमिमा किन्नर गण आई तपस्या गरे । ईश्वरी शारदादेवी प्रसन्न हुनुभई मनोकामना पूर्ण हुने वरदान दिनुभयो ।।५।।

फेरि कन्नौजमा पुग्दा देहचर्म पतन भयो । कान्यकुब्ज पीठ, झङ्केश्वरीदेवी, चन्द्रा योगिनी र दुग्धेश्वर महादेव उत्पत्ति हुनुभई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस मोक्षभूमिमा लङ्काको अधिपति रावण आई तपस्या गरे र ईश्वरी झङ्केश्वरीदेवी प्रसन्न हुनुभई देवलोक जित्न सकोस् भनी वरदान दिनुभयो ।।६।।

फेरि सतीदेवीको मृतदेहलाई पीठमा लिई श्री महादेव पूर्णगिरीमा पुगे । त्यहाँ सतीदेवीको वायाँ आँखा पतन भयो । पूर्णगिरी पीठ, पूर्णदेवी, कपालकुण्डला योगिनी, चन्द्रशेखर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस उमङ्ग र हर्षभूमिमा गन्धर्व गण आई नृत्य र गायन आदि गरेर तपस्या गरी सन्तुष्ट भएका ईश्वरी पूर्णदेवीबाट इन्द्रका अगाडि कहिल्यै नचुक्ने वरदान पाए ।। ७।।

फेरि एकावरमा पुगेपछि देव्रेपट्टिका नङ पतन भए । एकावर पीठ, सिद्धेश्वरीदेवी, सिद्ध योगिनी, दधीश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस रत्नभूमिमा कर्णवीर आदि श्मशान आई तपस्या गरे । ईश्वरी सिद्धेश्वरीदेवी प्रसन्न हुनुभई मृतकहरुको दाह गर्न सके भनी वरदान दिनुभयो ।।८।।

त्यहाँपछि भृगुक्षेत्रमा पुग्दा माथिल्लापट्टिका दाँतहरु पतन भए । भृगु पीठ, मीनाक्षीदेवी, वज्रदेवी योगिनी, सत्येश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस पुण्यभूमिमा धर्मदत्त राजा आएर योग मार्गले तपस्या गरे । ईश्वरी मीनाक्षीदेवी प्रसन्न हुनुभई तिमीलाई कसैले पनि जित्न नसकून् भनी वरदान दिनुभयो ।।९।।

त्यसपछि चन्द्रपुरमा पुग्दा दायाँ आँखा पतन भयो । चन्द्रपुर पीठ, सिद्धकालीदेवी, सिद्धि योगिनी र प्रकाशेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस सिद्धभूमिमा दशदिक्पाल आई तपस्या गरे । प्रसन्न भएकी ईश्वरी सिद्धकालीले तिमीहरुको आफ्नो दिक् स्थिति स्थिर रहोस् भनी वरदान दिनुभयो ।। १०।।

फेरि श्रीमा पुग्दा तालु पतन भयो । श्री पीठ भद्राक्षीदेवी, भद्रा योगिनी, कमलेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस भद्रभूमिमा अष्टवसु आई पूजा र तपस्या गरे । प्रसन्न भएकी ईश्वरी भद्राक्षीदेवीले तिमीहरुको इच्छा सिद्धि होस् भनी वरदान दिनुभयो ।।११।।

फेरि जालन्धरमा पुगी तल्लो ओठ पतन भयो । जालन्धर पीठ, जालपादेवी, ज्वालामुखी योगिनी, पिशाचेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस पुण्यभूमिमा कामधेनु गाई आई नित्य दूध धारा चढाई तपस्या गरिन् । देवी प्रसन्न भएर वर माग भन्नुभयो । अनि कामधेनुले आफ्नो दूध र मलमूत्र पवित्र होओस् भनी मागिन् । इश्वरी जालपादेवीले ‘तथास्तु’ भनी वरदान दिनुभयो ।।१२।।

त्यहाँबाट कुशलान्तकमा पुग्दा शिरको केश पतन भयो । कुशलान्तक पीठ, श्मशान कालीदेवी, भूतघण्टा योगिनी, क्षारेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस सिद्धभूमिमा अश्विनी अदि सत्तार्इस नक्षत्रहरु आई तपस्या गरे । श्मशान कालीदेवी प्रसन्न हुनुभई वरदान लेऊ भन्नुभयो । ज्योतिष शास्त्र हाम्रो अधीनमा रहोस् भनी नक्षत्रहरुले माग्दा ईश्वरीले ‘तथास्तु’ भनी वरदान दिनुभयो ।।१३।।

फेरि गोकर्णमा पुग्दा बायाँ कान पतन भयो । गोकर्ण पीठ, भैरवीदेवी, एकजङ्घा योगिनी, यज्ञेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस तपोभूमिमा विष्कुम्भादि योग आई तपस्या गरे । भैरवीदेवी सन्तुष्ट भई वर माग भनी आज्ञा दिनुभयो । ज्योतिषशास्त्र हाम्रा अधीनमा रहोस् भनी योगहरुले वर मागे । ईश्वरीले ‘तथास्तु’ भनी वरदान दिनुभयो ।।१४।।

प्रतिदिन गलित हुँदै गरेकी सतीदेवीलाई पिठ्युँमा बोकेका श्री महादेव अट्टहास पुगेपछि तल्लापट्टिका दाँत पतन भए । अट्टहास पीठ, भ्रामरी देवी, शङ्खधरा योगिनी, सप्त भूतेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस पुण्यभूमिमा वागमती, गङ्गा आदि नदिहरु आई जलार्पण गरी भक्ति साथ तपस्या गरे । देवी प्रसन्न हुनुभई इच्छित वर माग भन्नुभयो र पुण्यतोया नदीहरुले भुक्तिमुक्ति दिने अधिकार हामीलाई प्राप्त होस् भनी वर मागे । ईश्वरी भ्रामरीदेवीले ‘तथास्तु’ भनी वरदान दिनुभयो ।।१५।।

त्यहाँबाट ॐकारेश्वरमा पुग्दा माथिल्लो ओठ पतन भयो । ॐकार पीठ, मातृकादेवी, पूर्णोदर योगिनी, सन्तानेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस मोक्षभूमिमा कल्पवृक्ष आई नाना फलफूल चढाई तपस्या गरे । प्रसन्न भएकी ईश्वरीले वरदान माग भनेको सुनी कल्पवृक्षले चिताएको वस्तु फलाउन सकौं भनी मागे । ईश्वरी मातृकादेवीले ‘तथास्तु’ भनी वरदान दिनुभयो ।।१६।।

फेरि उड्डीयानमा पुग्दा शिरका केही भाग पतन भए । उड्डीयान पीठ, विमला देवी, पिङ्गला योगिनी, यज्ञेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस पुण्यभूमिमा हनुमान् आई तपस्या गरे । श्री रामको सेवक हुन पाई लङ्का डढाउन सकुँ भनी वरदान माग्ने इच्छा भएका हनुमानबाट प्रसन्न भएकी विमला देवी ईश्वरीले तिम्रो मनोकामना पूर्ण होस् भनी वरदान दिनुभयो ।।१७।।

त्यहाँबाट मलयगिरीमा पुग्दा आसन पतन भयो । मलयागिरी पीठ, वज्रेश्वरी देवी, कोमला योगिनी, जागेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस पुण्यभूमिमा सत्यले तपस्या गरे । ईश्वरी प्रसन्न हुनुभई वरदान माग भन्नुभयो । सत्यमा जो रहला त्यसको उद्धार गर्न सकुँ भनी सत्यले वरदान माग्दा वज्रेश्वरी देवीले ‘तथास्तु’ भनी वरदान दिनुभयो । ।। १८ ।।

त्यसपछि वाराणसीमा पुग्दा फेरि शिर पतन भयो । काशि पीठ, विशालाक्षी देवी, सङ्कटा योगिनी, विश्वेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस पुण्यभूमिमा गन्धर्वगण आई तपस्या गरे । ईश्वरी विशालाक्षी देवी प्रसन्न हुनुभई गन्धर्वगणले मागेका वाक्सिद्धि होस् भनी वर दिनुभयो ।।१९।।

त्यहँपछि कामरोष्ठमा पुगेपछि सतीदेवीको घाँटी पतन भयो । कामरोष्ठ पीठ, कामिनी देवी, कालेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस पुण्यभूमिमा गई भूमिले तपस्या गरिन् । ईश्वरी कामिनी देवी प्रसन्न हुनुभई स्थान होऊ भनी भूमिलाई वरदान दिनुभयो ।।२०।।

महादेव फेरि चामुण्डाचलमा पुगे । त्यहाँ सतीदेवीको दाहिनेपट्टिका नङ पतन भए । चामुण्डाचल पीठ, प्रकम्पिनी देवी, कालिका योगिनी र इच्छाविकारेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस सिद्धभूमिमा नारद ऋषि आई तपस्या गरे । ईश्वरी प्रकम्पिनी देवी प्रसन्न भई तिम्रो वाक्य सिद्ध होस् भनी वरदान दिनुभयो ।।२१।।

त्यसपछि अष्टातकमा पुग्दा दाहिने हात पतन भयो । अष्टातक पीठ, कर्तेश्वरी देवी, एकाक्षी योगिनी, निद्रापतीश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस मोक्षभूमिमा राधिकागण आई तपस्या गरे । सधैंभरि श्रीकृष्ण दाहिना होउन् भनी वरदान कर्तेश्वरी देवीबाट तिनले पाए ।।२२।।

त्यहाँबाट सतीदेवीलाई त्रिश्वेतमा पुर्याउँदा उनको मलद्वार पतन भयो । त्रिश्वेत पीठ, महाकालेश्वरी देवी, विकटदन्ता योगिनी, त्रिपुरेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस शुद्धभूमिमा यमराज आई निष्ठापूर्वक तपस्या गरे । प्रसन्न भएकी महाकालेश्वरी देवीले ब्रह्माको सृष्टिलाई संहार गर्न सके भनी वरदान दिनुभयो ।।२३।।

फेरि कैलाशमा पुगेपछि दाहिने पाउ पतन भयो । कैलाश पीठ, पार्वती देवी, अम्बिका योगिनी, विश्वम्भरेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस सिद्धभूमिमा चतुरानन ब्रह्मा आई यज्ञ यज्ञादिद्वारा तपस्या गरेको देखी प्रसन्न हुनुभई ईश्वरी पार्वती देवीले तीनै लोकको सृष्टिकर्ता हुने इच्छित वर दिनुभयो ।।२४।।

फेरि केदारमा पुग्दा वायाँ हात पतन भयो । केदार पीठ, केदारेश्वरी देवी, मुण्डा योगिनी, कोटेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस पुण्यभूमिमा एकादश रुद्र आई योगमार्गले तपस्या गरी केदारेश्वरी देवीलाई प्रसन्न गराई एकादश रुद्रको बराबरी एकसमान तेज हुने वरदान प्राप्त गरे ।।२५।।

त्यहाँबाट श्री महादेवले सतीदेवीको गल्दै गरेको शरीर बोकेर एकावीर पुगे । त्यहाँ सतीदेवीको नाभी पतन भयो । एकावीर पीठ, एकावीरा देवी, गोरक्षा योगिनी, हाटकेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस पुण्यभूमिमा नागहरु आई नानारत्न र मणि आदि रत्नहरु चढाई तपस्या गरे । ईश्वरी एकावीरा देवी प्रसन्न हुनुभई वरदान माग भन्नुभयो र नागहरुले सप्तपातालको अधिपति हुन पाऊँ भनी वर मागे । ईश्वरीले ‘तथास्तु’ भनी वरदान दिनुभयो ।।२६।।

कुमारजी आज्ञा गर्नुहुन्छ । हे अगस्त्य मुनि, छब्बीस वटा पीठको वर्णन मैले तिमीलाई सुनाइसकेँ । अब सत्तार्इसौं पीठदेखि उताको वर्णन गर्छु । एक चित्त भई सुन । सतीदेवीका बाँकी रहेका अङ्गहरु पिठ्युँमा बोकी बेहोसजस्ता हुनुभएका महादेव त्यसपछि मल्लवीमा पुग्दा वायाँ पाउ पतन भयो । मल्लवी पीठ, महाकाली देवी, कराला योगिनी र भूपालेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस शान्त र पवित्र भूमिमा द्वादशादित्य आई तपस्या गरे । महाकालीदेवी प्रसन्न हुनुभई वरदान माग भन्नुभयो । हामी बाह्रै महिनाका स्वामी हुन पाऊँ भनी द्वादशादित्यले वर माग्दा ईश्वरीले ‘तथास्तु’ भनी वरदान दिनुभयो ।।२७।।

त्यसपछि देवीकोटमा पुग्दा वायाँ घुँडो पतन भयो । देवीकोट पीठ, भद्राक्षी देवी, ललिता योगिनी, मालेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस सिद्धभूमिमा मेषादि बाह्र राशिहरु आई तपस्या गरे । भद्राक्षी देवी प्रसन्न भएर के वर माग्छौ माग भन्नु भयो । मनुष्यहरु हाम्रा अधीनमा रहुन् भनी मेषादि राशिहरुले वर मागे । ईश्वरीले ‘तथास्तु’ भनी वरदान दिनुभयो ।।२८।।

फेरि मातुलेश्वरमा पुग्दा दायाँ स्तन पतन भयो । त्यस ठाउँमा मातुलेश्वर पीठ, योगेश्वरी देवी, पिङ्गला योगिनी, बुधराधेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस पुण्यस्थलमा कश्यपादि ऋषिवृन्द आएर तपस्या गरे । योगेश्वरी देवी प्रसन्न हुनुभएर हे ऋषि हो ! वरदान माग भन्नुभयो । चारै वेद हाम्रा अधीनमा होउन् भनी ऋषिहरुले वरदान माग्दा ईश्वरीले ‘तथास्तु’ भनी वरदान दिनुभयो ।।२९।।

त्यहाँ उप्रान्त विश्वमा पुग्दा वायाँ स्तन पतन भयो । विश्व पीठ, भुवनेश्वरी देवी, भुवन योगिनी, कृष्ण वर्णेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस रम्यभूमिमा कृष्ण आई तपस्या गर्दा भुवनेश्वरी प्रसन्न हुनुभई वरदान माग भन्नुभयो । श्रीकृष्णले पनि तीनै लोकका स्त्रीहरु मलाई देख्दा मुग्ध होउन् भनी वरमाग्दा ईश्वरीले ‘तथास्तु’ भनी वरदान दिनुभयो ।।३०।।

फेरि श्री महादेव राजगृहमा पुग्नुभयो । त्यहाँ सतीदेवीको दाहिने कुहुनो पतन भयो । राजगृह पीठ, राजगृहेश्वरी देवी, उल्कामुखी योगिनी, हरेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस पुण्यभूमिमा वायु आई सुगन्ध बहाई तपस्या गरे । प्रसन्न भएकी राजगृहेश्वरी देवीले जीवात्माहरुको प्राणवायु हुन सकौं भनी वायुले मागेका वरदानलाई ‘तथास्तु’ भन्नुभयो ।।३१।।

फेरि महापन्थमा पुग्दा देब्रे कुहुनो पतन भयो । महापन्थ पीठ, प्रचण्डिका देवी, रेणुका योगिनी, विश्वामित्रेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस पूण्यभूमिमा अप्सराहरुले नृत्य र गायनद्वारा तपस्या गरे । प्रसन्न भएकी ईश्वरीले वरदान माग भनेको सुनी इन्द्रादि देवताहरुलाई प्रसन्न पार्न सकौं भनी अप्सराहरुले मागेको वरलाई प्रचण्डिका देवीले ‘तथास्तु’ भन्नुभयो ।।३२।।

त्यसपछि कोलापुरमा पुगी उदर पतन भयो । कोलापुर पीठ, महालक्ष्मी देवी, नन्दा योगिनी, श्मशानेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस पुण्यभूमिमा गरुड आई नाना रत्न र फलफूल चढाई तपस्या गरेको देखी प्रसन्न भएकी महालक्ष्मी देवीले वर माग भन्नुभयो । नागहरु मेरा आहारा होउन् भनी गरुडले वर मागे । ईश्वरीले ‘तथास्तु’ भनी वरदान दिनुभयो ।।३३।।

त्यसपछि सतीदेवीका बाँकी रहेका अङ्गहरु बोकी एकापुरमा पुग्दा दायाँ घुँडो पतन भयो । एकापुर पीठ, साध्वक्षी देवी, शङ्कुपा योगिनी, उन्मत्तेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस पुण्यस्थानमा शीलाहरु आएर तपस्या गरे । ईश्वरी प्रसन्न हुनुभई वर माग भन्नुभयो । हामी देवताका अङ्गमा लाग्न पाऊँ भनी शीलाहरुले वर मागे । ईश्वरी साध्वक्षीदेवीले ‘तथास्तु’ भनी वरदान दिनुभयो ।।३४।।

फेरि जयन्तीपुरमा पुग्दा कलेजो पतन भयो । जयन्तीपुर पीठ, जयन्ती देवी, खेचरा योगिनी, कल्पेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस शुद्धभूमिमा तुलसी र कुश आई तपस्या गरे । ईश्वरी प्रसन्न भई वरदान लेऊ भन्नुभयो । स्वर्ग, मर्त्य र पाताल तीनै लोकजनले हामीलाई मानून् भनी तुलसी कुशले वरदान मागे । ईश्वरी जयन्ती देवी प्रसन्न हुनुभई ‘तथास्तु’ भनी वरदान दिनुभयो ।।३५।।

त्यसपछि उज्जैनमा पुग्दा रगतको डल्लो पतन भयो । उज्जैन पीठ, महाकाली देवी, लोलजिह्वा योगिनी, झङ्केश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस पूण्यभूमिमा हिमालय पर्वत आई तपस्या गरे । ईश्वरी प्रसन्न हुनुभई वरदान माग भन्नुभयो । हिमालयले देवता, दैत्य र मनुष्यलाई मोक्ष पार्न सकुँ भनी वर मागे । महाकाली देवीले प्रसन्न हुनुभई ‘तथास्तु’ भनी वरदान दिनुभयो ।।३६।।

त्यहाँबाट चरित्रपुर भन्ने ठाउँमा दायाँपट्टिको करङ पतन भयो । चरित्रपुर पीठ, सुवर्णेश्वरी देवी, चित्रवर्णा योगिनी, वायव्येश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस पूण्यभूमिमा योगिनी गण आई तपस्या गरे । प्रसन्न भएकी ईश्वरीले वरदान लेऊ भनी आज्ञा दिनुभयो । योगिनी गणले हामीबाट यज्ञमा सिद्धि प्राप्त होस् भनी वरदान मागे । सुवर्णेश्वरी देवीले प्रसन्न हुनुभई ‘तथास्तु’ भनी वरदान दिनुभयो ।।३७।।

फेरि क्षीरिकापुरमा पुगी भुँडी पतन भयो । क्षीरिकापुर पीठ, युगाद्या देवी, कलङ्की योगिनी, सहस्रनेत्रेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस मोक्षभूमिमा मातृकागण आई विविध उपचार सहित पूजा र तपस्या गरे । ईश्वरीले प्रसन्न भएर वरदान लेऊ भन्नुभयो । मातृकागणले पनि हामी स्थानका मालिक हुन पाऔं भनी वर मागे । ईश्वरी युगाद्या देवीले प्रसन्न हुनुभई ‘तथास्तु’ भनी वरदान दिनुभयो ।।३८।।

फेरि हस्तिनापुरमा गई दायाँ कुम पतन भयो । हस्तिनापुर पीठ, चण्डेश्वरी देवी, कोटराक्षी योगिनी, मुसुखारेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस वीरभूमिमा सुदर्शन चक्र आई तपस्या गरे । प्रसन्न भएकी ईश्वरीसित संहारकर्ता हुन पाऊँ भनी सुदर्शन चक्रले मागेको वरलाई चण्डेश्वरी देवीले प्रसन्न हुनुभई ‘तथास्तु’ भनी वरदान दिनुभयो ।।३९।।

त्यसपछि प्रयाग पुग्दा फोक्सो पतन भयो । प्रयाग पीठ, सुन्दरी देवी, सिंहप्रजन्धा योगिनी, महेन्द्रेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस पुण्यभूमिमा दशअवतार आई तपस्या गरे । प्रसन्न भएकी ईश्वरीले वरदान लेऊ भन्नुभयो । सत्य आदि चारै युगमा दैत्यहरुको संहार गर्न सकौं भनी दशअवतारले वर मागे । ईश्वरी सुन्दरी देवीले ‘तथास्तु’ भनी वरदान दिनुभयो ।।४०।।

फेरि विश्वमा पुगी मिर्गौला पतन भयो । विश्व पीठ , झङ्केश्वरीदेवी , झङ्काली योगिनी , कुण्डलेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस कर्मभूमिमा विश्वकर्माले राम्राराम्रा मन्दिरहरु बनाएर तपस्या गरे । त्यो देखी ईश्वरी झङ्केश्वरीदेवी प्रशन्न हुनुभएर सत्य आदि चारै युगमा तिम्रो कीर्ति स्थिर रहोस् भनी वरदान दिनुभयो । ।। ४१ ।।

फेरि मायापुरमा पुग्दा फियो पतन भयो । मायापुर पीठ, माया देवी, चञ्चला योगिनी, तपस्येश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस पुण्यभूमिमा चतुःषष्ठी लिङ्ग आई तपस्या गरे । ईश्वरी प्रसन्न भई वरदान माग भन्नुभयो । चतुःषष्ठी लिङ्गले हामी स्वयम्भू लिङ्ग भइरहौं भनी वरदान मागेपछि इश्वरी माया देवीले तथास्तु भनी वरदान दिनुभयो ।।४२।।

त्यसपछि मल्लगिरीमा पुगेपछि देब्रे कुहुनो पतन भयो । मल्लगिरी पीठ, मल्लिका देवी, कोकटा योगिनी, कुशोत्पन्नेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस पूण्य घोर वनमा भूत, प्रेत, पिशाच आदि आई नाची खेली तपस्या गरे । ईश्वरीले प्रसन्न भई वरदान लेऊ भन्नुभयो । भूत, प्रेत, पिशाच अदिले देवीकै नजिक बस्ने इच्छा व्यक्त गरे । ईश्वरी मल्लिका देवीले आफ्नै सामीप्य दिई ‘तथास्तु’ भनी वरदान दिनुभयो ।।४३।।

त्यहाँबाट मेरुगिरीमा पुग्दा शुचिस्थान पतन भयो । मेरुगिरी पीठ, पूर्णा देवी, कपालिनी योगिनी, जिह्वापतेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस पुण्यभूमिमा सप्तनाग आई हीरा, मोति, मणि–माणिक्य आदि नाना रत्न चढाई तपस्या गरे । ईश्वरी प्रसन्न हुनुभई वरदान माग भन्नुभयो । हाम्रो शरीर अगम्य हाओस् भनी नागहरुले वरदान मागेपछि ईश्वरी पूर्णा देवीले ‘तथास्तु’ भनी वरदान दिनुभयो ।।४४।।

त्यसपछि महेन्द्राचलमा पुग्दा दक्षिण जङ्घा पतन भयो । महेन्द्र पीठ, इन्द्राक्षी देवी, उर्ध्वगामिनी योगिनी, तारकेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस पुण्यभूमिमा लक्ष्मी देवी आई नाना उपचार सेवा गरिन् । ईश्वरी प्रसन्न हुनुभई वरदान माग भन्नुभयो । लक्ष्मी देवीले प्रत्येक वर्षको कार्तिक कृष्ण अमावस्याका दिन लोकमा मेरो पूजा र सम्मान होओस् भनी माग्नुभयो । ईश्वरी इन्द्राक्षी देवीले पनि ‘तथास्तु’ भनी वरदान दिनुभयो ।।४५।।

त्यसपछि वानरपुरमा पुगी सतीदेवीको देब्रे तिघ्रो पतन भयो । वानरपुर पीठ, कामेश्वरी देवी, भैरुण्डा योगिनी, वेदान्तेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस मोक्षभूमिमा कमल आदि पुष्प आई तपस्या गरे । ईश्वरी सन्तुष्ट हुनुभई वरदान माग भन्नुभयो । कमल आदि पुष्पहरुले हामी उषाकालमा सौन्दर्यका साथमा फक्रन पाऊँ भनी वरदान मागे । यो सुनेर कामेश्वरी देवीले ‘तथास्तु’ भनी वरदान दिनुभयो ।।४६।।

फेरि हिरण्यपुर पुग्दा गर्भस्थान पतन भयो । हिरण्यपुर पीठ, नवरत्नेश्वरी देवी, त्रिपुरेन्द्र योगिनी, नारदेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस ज्ञानभूमिमा सरस्वती आई धेरै दिव्य स्तुति गरी तपस्या गरेको देखेर ईश्वरी प्रसन्न हुनुभई वरदान माग भन्नुभयो । सरस्वतीले पनि लोकका जति जीवात्मा छन्, तिनका वाणीमा गएर बस्न पाऊँ भनी वर माग्नुभयो । यो सुनी नवरत्नेश्वरी देवीले पनि ‘तथास्तु’ भनी वरदान दिनुभयो ।।४७।।

त्यहाँबाट महालक्ष्मीपुरमा पुर्याइएकी सतीदेवीको देब्रपट्टिको करङ पतन भयो । लक्ष्मीपुर पीठ, कमलाक्षी देवी, दिगम्बरा योगिनी, त्रिकुटेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस सिद्धभूमिमा अणिमादि आठ सिद्धि आई योग मार्गले तपस्या गरे । ईश्वरी प्रसन्न हुनुभई वरदान माग भन्नुभयो । अष्टसिद्धिले पनि हामी अमर हुनपाऊँ भनी वर मागे । यो सुनी कमलाक्षीदेवीले ‘तथास्तु’ भनी वरदान दिनुभयो ।।४८।।

फेरि उमेशपुरमा पुग्दा नितम्ब पतन भयो । उमेशपुर पीठ, त्रिपुरसुन्दरी देवी, सुशङ्कोदरी योगिनी, भैरवेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस रम्यभूमिमा मेघ आई मानसोपचारले पूजा गरे । ईश्वरी प्रसन्न हुनुभई वरदान माग भन्नुभयो । मेघले पनि लोकको उद्धारका निम्ति जलदान गर्न सकुँ भनी मागे । ईश्वरी त्रिपुरसुन्दरी देवीले ‘तथास्तु’ भनी वरदान दिनुभयो ।।४९।।

त्यसपछि छायाछत्रमा पुग्दा शेष रहेका सतीदेवीका अङ्गहरु सबै पतन भए । छायाछत्र पीठ, छत्रेश्वरी देवी, सुकोमला योगिनी, पिशाचेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस शान्तभूमिमा अष्टभैरव आई नाना उपचारले पूजा गरे । ईश्वरीले दर्शन दिई वरदान लेऊ भन्नुभयो । हर्षित भएका अष्टभैरवले पनि मातृकागणको अधिपति हुन पाऊँ भनी मगे । ईश्वरी छत्रेश्वरी देवीले ‘तथास्तु’ भनी वरदान दिनुभयो ।।५०।।


हे अगस्त्य मुनि !  'जहाँ जहाँ सतीदेवीका अङ्गहरु पतन भए, त्यहाँ त्यहाँ एक एक पीठका उत्पत्ति हुँदै गए भनी मैले माथि पनि बताइसकेको छु । सबै पीठहरुको सङ्ख्या साढे सात कोटि छन् अर्थात सात करोड पचास लाख छन् । तीमध्ये यहाँ वर्णन गरिएका पचास पीठहरुका मात्र दर्शन गरे पनि मनोकामना पूर्ण हुनेछ । यी पचासमध्ये एक पीठको मात्र पनि भक्ति र श्रद्धापूर्वक दर्शन, पूजा र सेवा गरे पनि मनोवाञ्छित इच्छा सिद्धि हुनेछन् । मनुष्य जन्म पाएर सबै शक्ति पीठ पुगेमा त जीवन अत्यन्तै अत्यन्तै महासफल हुनेछन् । एकै पीठको मात्र दर्शन गर्नाले पनि जन्म सफल हुनेछन् । जीवन सफल हुनेछन् । नराम्रा कुराहरुमा मन लाग्ने छैनन् । राम्राराम्रा विचारहरु जन्मने छन् । आफ्ना राम्रा विचारहरुबाट संसारमा ज्योति फैलिई अन्धकाररुपी नराम्रा विचारहरु हराएर जानेछन् । यी सब महादेवका शिवशक्ति स्वरुपका अत्यन्तै साना अंशहरुका अत्यन्तै ठूला फल दिने पीठहरु हुन् । त्यसैले श्रीस्वस्थानी परमात्माको यो पीठको कथा सम्पूर्ण श्रवण गर्नु पर्दछ' भन्ने यी फलदायी अर्तिउपदेशहरु चतुरानन ब्रह्माको कथन छ ।


इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये श्री स्वस्थानी परमेश्वर्याः व्रतकथायां पीठोत्पत्तिवर्णनं नाम नवमदशमसंयुक्तोऽध्यायः ।।

ॐ उपनयतु मङ्गलं वः सकलजगन्मङ्गलालयश्रीमान्
दिनकर–किरण निबोधित–नव–नलिनदलनिभेक्षणः कृष्णः ।।
काले वर्षन्तु पर्जन्यः पृथिवीशस्यशालिनी ।
देशोऽयं क्षोभरहितो ब्राह्मणाः सन्तु निर्भयाः ।।
अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः ।
निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।
तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च ।
तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोदारकथाप्रसङ्गः ।।
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता
या विणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ।
या ब्रह्माऽच्युतशङ्करप्रभृतिभिर्देवैः सदा वन्दिता
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।
कायेन वाचा मनसेन्द्रियैर्वा बुध्यात्मनावाऽऽनुसृतस्वभावात् ।
करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पये तत् ।।
अनन्य चेतसा भक्त्या श्रुतं यच्च कथामृतम् ।
समर्पयामि तत्सर्वं स्वस्थानीं परमेश्वरीम् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोर्ध्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।

No comments:

Post a Comment