Saturday, January 21, 2017

स्वस्थानी व्रतकथा, भाग – १० (ज्योतिर्लिङ्गको उत्पत्ति कथा)

श्री गणेशाय नमः ।। ॐ नमश्चण्डिकायै ।। श्री सरस्वत्यै नमः ।। श्री स्वस्थानीपरमेश्वर्यै नमः ।
ॐ यं व्रह्मावरूणेन्द्ररुद्रमरुतस्तुन्वन्ति दिव्यैः स्तवै–
र्वेदै साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ।
ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो
यस्यान्तं न विदुः सुरासुरगणाः देवाय तस्मै नमः ।।१।।
श्रीमच्चन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका–
मालालङ्कृतकुण्डला प्रविलसन्मुक्तवलीशोभिता ।
सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा
वाग्देवी वनदाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।।
मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिम् ।
यत्कृपा तमहं वन्दे परमानन्दमाधवम् ।।३।।
नमो भगवते तस्मै व्यासायमिततेजसे ।
यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् ।।४।।
नारायणं नमस्कृत्य नरञ्चैव नरोत्तमम् ।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।५।।
साष्टाङ्गं नमनं कृत्वा स्वस्थानीं परमेश्वरीम् ।
कथां सुधोपमां देव्याः श्रुत्वाऽऽभीष्टफलं लभेत् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोर्ध्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ,।।
ॐ श्री स्वस्थानीपरमेश्वर्यै नमो नमः।।


कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि ! तहाँउप्रान्त सतीदेवीको सम्पूर्ण अङ्गहरु पतन भइसकेपछि चित्त व्याकुल भएका महादेव 'हा सती ! हा सती !!' भनी भूमिमा पछारिई मूर्च्छित हुनुभयो । केही छिनपछि मूर्च्छाबाट ब्युँझनु भयो । फेरि मनले सतीदेवीलाई सम्झी लामो सुस्केरा हाली बौलाहा झैं भएर जहीँतहीँ फिर्न लाग्नुभयो । त्यसप्रकारले हिँडेका श्री महादेवलाई देखी तारकासुर दैत्यले आफ्ना मन्त्रीहरुसित भन्यो – 'हे मन्त्रीगण ! सतीदेवीका वियोगले महादेव बौलाहाजस्ता भएर जहीँतहीँ घुमी हिँड्दैछन् । यही हो मौका ! देवताहरुसित युद्ध गरौं अनि इन्द्रको अमरावती आफ्ना अधीनमा पारौं ।' यस्तो सल्लाहअनुसार ती दैत्यहरुले आफ्ना जेजति भएका हात्ती, घोडासहित सेनाहरु अघि लगाई अमरावतीमा हमला गर्न गए । दैत्यहरुको दाउपेच बुझेर डराएका स्वर्गका राजा इन्द्रले देवताहरुसित भने – 'हे दवगणहरु ! हामी अब यहाँ धेरैबेर नबसौं । तारकासुर दैत्यलाई अब हामीहरुले युद्धमा जित्न सक्दैनौं, किनभने उसले महादेवबाट वरदान पाएको छ ।' इन्द्रको सल्लाह पाइसकेपछि देवगणहरु सबै स्वर्गबाट भागेर पशुपतिस्थानको मृगस्थलीमा आई बस्दा भए । उता तारकासुर दैत्य तथा उसका गणहरुले देवताहरु भागिसकेपछि इन्द्राणि सहित अमरावती कब्जा गरी स्वर्ग, मर्त्य तथा पाताल तीनै लोकको राज्य उपभोग गरिरहँदा भए ।

केही समयपछि महादेव यताउती पृथ्वी भ्रमण गर्दै जाँदा मृगस्थलीमा आइपुग्नु भयो । सम्पूर्ण देवगणहरुले महादेवलाई देखी साष्टाङ्ग दण्डवत् प्रणाम गरी भने – 'हे सर्वेश्वर ! हजूरका साथमा अब सतीदेवी छैनन् । स्वयम् नजर गरिबक्सियोस् प्रभु ! तारकासुर दैत्यले हजुरबाट पाएका वरदानका प्रभावले हाम्रो इन्द्राणि सहित अमरावती लियो । हामीमाथि अन्याय भयो । हामी इन्द्रादि देवताहरु सबै यहाँ आई लुकी बसेका छौं । हामीमाथि उपकार गरी पापिष्ठ तारकासुर दैत्यको नाश गरी हाम्रो रक्षा गरिबक्सियोस् ।'

इन्द्रदि देवताहरुको यस्तो बिन्ती सुन्नुभएपछि अलिअलि होश आएकोजस्तो गरी महादेवले आँखा उघारी हेर्नुभयो । तर इन्द्रदि देवताहरु देखेता पनि केही पनि नभनी फेरि वास्तै नगरी केवल सतीदेवीलाई ने सम्झी विरह वेदनामा 'हा सती ! हा सती !!' भन्दै बलिन्द्रधारा आँसु झार्दै त्यहाँबाट पनि कसैलाई वास्तै नगरी सरासर जानुभयो । यसरी सम्पूर्ण जगतका स्वामी महादेवले गम्भीर शोक गरेको देखी यावत् जीवात्माहरु जति छन्, कसैले पनि सहन गर्न सकेनन् । ती सबैलाई शोकले घेर्यो । यसरी महादेवले अत्यन्तै शोक गरी एकसय वर्षसम्म पृथ्वीमा भ्रमण गरिरहनुभयो । महादेवले एकदिन चित्तलाई धैर्य गरी  'अब शोक गर्नु व्यर्थ छ तर बाचुँ त कसका लागि बाँचुँ' भन्दै आफ्नो साथ सतीदेवीको शरीर नभएको महसूस गरी 'अब कसो गरुँ ? कहाँ जाऊँ ?' भन्ने छटपटी गरिरहनुभयो । अनि मनलाई भरसक धैर्य राखी उत्तरापन्थमा ध्यान गर्ने भनेर जानुभयो ।

हे अगस्त्य मुनि ! त्यसबेला महादेवमा पूर्ण धैर्यता नभएको हुँदा भट्किएर उत्तरको मार्गमा जानुपर्नेमा दक्षिणतिर जानुभयो । अनि ब्रह्मपुर नामको एउटा गाउँमा पुग्नुभयो । त्यहाँका ऋषिहरु जम्मै त्यसबेला गङ्गामा स्नान गर्न गइरहेका थिए । महादेव पनि त्यतैबाट भएर जाँदै गर्नुभएको देखी ऋषिपत्नीहरुले भन्न थाले – 'हेर ! दिदीबहिनीहरु हो ! ती जाँदै गरेका महादेव हुन् । सम्पूर्ण जगतका मालिक भएर पनि सतीदेवी मरेकीले बौलाहाजस्ता भएर यस्ता हालतका भएका छन् । हाम्रा पतिहरु एकभक्त भएकाले दुब्ला पातला छन् । उनीहरुलाई विषयवासनाको केही मतलबै छैन । त्यसैले उनीहरुले हामीहरुलाई सन्तोष गराउन सकेका छैनन् । त्यसकारण अब हामी यिनैकै साथ हिँडौं' भनी हाँस्दै दगुर्दै पछि लाग्न थाले ।

गङ्गाजीमा स्नान गर्न गएका ऋषिहरुले यस कुरालाई थाहापाएर उनीहरुलाई बाटामा भेट्टिएपछि ऋषिहरुले महादेवलाई भने – 'हे महादेव ! तपाईंले यो के गर्नु भएको ? यसरी हाम्रा पत्नीहरु हरण गरी ल्याउने हो ?' ऋषिहरुको यस्तो वचन सुनी आश्चर्य मान्दै महादेवले भन्नुभयो – 'हे ऋषीश्वरहरु हो ! तपाईंहरुका पत्नीहरुलाई म किन हरण गर्थें ?' यो सुनी ऋषिहरुले भने – 'त्यसो भए तपाईंका पछि लाग्नेहरु को हुन् त लौ हेर्नुहोस् त ?' तब महादेवले हेर्दा त साँच्चिक्कै हो रहेछ । 'लौ मैले ल्याएको त होइन तर किन आए त यिनीहरु लौ ? म जान्दिन' तब ऋषिहरुले भने – 'हे महादेव ! तपाईंको गुप्ताङ्ग देखेर हाम्रा पत्नीहरु पछि लागेका हुन् । यसकारण तपाईंको त्यो गुप्ताङ्ग पतन भइजाओस्' भनी श्राप दिए ।

उक्त श्रापबाट महादेवको गुप्ताङ्ग पतन भयो । अनि सो लिङ्ग ज्योतिर्लिङ्गको रुपमा क्रमशः ठूलोठूलो भएर ज्यातिर्मय हुँदै विश्वब्रह्माण्ड नै ढाक्दै ठूलो भयो । यो देखी देवता, ऋषि, यक्ष, गन्धर्व, किन्नर, दैत्य, नाग आदि सबै हाहाकार गरी भाग्न थाले अनि तत्कालै भगवान् विष्णुका शरणमा गई महादेवको ज्योतिर्लिङ्गले छोप्न नदिई सम्पूर्ण ब्रह्माण्डको रक्षा गर्न अनेकौं स्तुति र प्रार्थना अनि बिन्तीभाउ गरे । यो निवेदन सुनी भगवान् विष्णु तत्काल उठेर ज्यातिर्लिङ्गको उत्पत्ति स्थानमा पुग्नुभयो, अनि उक्त लिङ्गलाई वहाँले अङ्गालो हाल्नुभयो र तत्कालै लिङ्ग शान्त भयो । त्यो देखी ब्रह्मादि देवता, यक्ष, गन्धर्व, किन्नर, दैत्य, नाग आदिले धन्यधन्य 'श्री विष्णु !' भनी अनेकौं स्तुति र प्रार्थना गरी आआफ्ना स्थानमा ढुक्क भई गए ।

तहाँउप्रान्त उक्त शान्त भएको ज्यातिर्लिङ्गबाट महादेव प्रकट हुनुभई ब्रह्मपुरमा भएका ऋषिहरुलाई 'हे ऋषिगण हो ! मैले अपराध नगरिकन नै तिमीहरुले मलाई व्यर्थैमा श्राप दियौ । त्यसैले अब उप्रान्त तिमीहरुको वाक्य अशुद्ध होस्, अनि तिमीहरुका ब्राह्मणीहरु पनि एक पुरुष भनी बस्न नसकुन्' भनी श्राप दिनुभयो । त्यसपछि मात्रै महादेव उत्तरापन्थमा गई काम, क्रोध, लोभ र मोह त्यागी सम्पूर्ण इन्द्रिय बाँधी त्रिनेत्रलाई परब्रह्ममा मिलाई तपस्यामा लीन हुनुभयो ।


इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये श्री स्वस्थानी परमेश्वर्याः व्रतकथायां ज्योतिर्लिङ्गोत्पत्तिवर्णनं नामैकादशोऽध्यायः ।।

ॐ उपनयतु मङ्गलं वः सकलजगन्मङ्गलालयश्रीमान्
दिनकर–किरण निबोधित–नव–नलिनदलनिभेक्षणः कृष्णः ।।
काले वर्षन्तु पर्जन्यः पृथिवीशस्यशालिनी ।
देशोऽयं क्षोभरहितो ब्राह्मणाः सन्तु निर्भयाः ।।
अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः ।
निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।
तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च ।
तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोदारकथाप्रसङ्गः ।।
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता
या विणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ।
या ब्रह्माऽच्युतशङ्करप्रभृतिभिर्देवैः सदा वन्दिता
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।
कायेन वाचा मनसेन्द्रियैर्वा बुध्यात्मनावाऽऽनुसृतस्वभावात् ।
करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पये तत् ।।
अनन्य चेतसा भक्त्या श्रुतं यच्च कथामृतम् ।
समर्पयामि तत्सर्वं स्वस्थानीं परमेश्वरीम् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोर्ध्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।

No comments:

Post a Comment