Saturday, January 28, 2017

साप्ताहिक राशिफल (माघ १६ - २२)

आगामी ७ दिनभित्रका चाडपर्व र उत्सव तथा शुभ मूहुर्त :– 
१६ गते : सहिद दिवस, चन्द्रोदय, द्विपुष्कर योग बिहान ६ बजेर ६ मिनेटदेखि राती ११ बजेर ४३ मिनेटसम्म, ब्रतबन्ध (उपनयन), रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), द्रव्यप्रयोग वा लगानी, दीक्षाग्रहण, 
१७ गते : अन्नप्राशन(पास्नी), चूडाकर्म(छेवर), द्रव्यप्रयोग वा लगानी, दीक्षाग्रहण, 
१८ गते : मङ्गल चतुर्थी व्रत, तिलकुन्द चौथी, अग्निवास(होमादि), 
१९ गते : वसन्तपञ्चमी, श्रीपञ्चमी, सरस्वती पूजा, वसन्त श्रवण, रतिकाम पूजा, हलसारो गर्ने दिन, शुभविवाह, रुद्राभिषेक(रुद्रीपूजा), 
२० गते : स्कन्द षष्ठी, शुभविवाह, रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), चूडाकर्म(छेवर), कर्णवेध(कान छेड्ने), अक्षरारम्भ, पसल थाप्ने, शिलान्यास(जग राख्ने), गृहप्रवेश, वस्त्राभरण(गुन्युचोलो), द्रव्यप्रयोग वा लगानी, 
२१ गते : अचला सप्तमी, रथसप्तमी, मन्वादि, लगलाचुयके, अन्नप्राशन(पास्नी), रुद्राभिषेक(रुद्रीपूजा), चूडाकर्म(छेवर), कर्णवेध(कान छेड्ने), पसल थाप्ने, शिलान्यास(जग राख्ने), वस्त्राभरण(गुन्युचोलो), द्रव्यप्रयोग वा लगानी, 
२२ गते : अष्टमी व्रत, गोरखकाली, भीष्माष्टमी, अग्निवास(होमादि)


साप्ताहिक राशिफल
(वि.सं. २०७३ माघ १६ गतेदेखि वि.सं. २०७३ माघ २२ गतेसम्म)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – 
राज्यस्थानमा रहेको चन्द्रमाका साथमा साताको प्रारम्भ भए पनि यो साता मध्यमस्तरको फलका साथमा उपस्थित भएको छ । साताको प्रारम्भमा बन्धुबान्धव र दाजुभाइले तपाईंका कामधन्धामा सहयोग पुर्याउने छन् । अपूरा कार्य पूर्ण हुनेछन् । धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्नेछ र त्यस पाटोका काममा प्रशंसित हुने अवसर प्राप्त हुनेछ । मङ्गलबारपछि चन्द्रमाले बाह्रौं भावमा प्रवेश गर्नेछ, त्यसैले ठूला आशा र महत्वाकांक्षा त्यागी अघि बढ्नु श्रेयस्कर हुनेछ । आँफूले गरेका प्रयास र उद्यममा निराशा भोग्नुपर्छ । परिवारको कुनै सदस्यको स्वास्थ्यसम्बद्ध चिन्ता हुनसक्छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ । तर शुक्रबारपछि आफ्नै राशिमा चन्द्रमा आइपुग्नाले समय राम्रै नै हुनेछ, यद्यपि नचाहेको जिम्मेबारी वहन गर्नुपर्ने छ । रकमको कारोबार र लेनदेनमा विवाद आउन सक्छ । जुवाजन्य कामबाट जोगिनुहवस् । खर्चको मात्रा बढ्न सक्छ । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 
कर्मप्रति सचेत भई अघि बढ्दा राम्रो उपलब्धी लिन सकिने सप्ताह छ । सुरुवातमा व्यवसायिक र सामाजिक सम्बन्ध सुदृढ हुनेछ, चिन्तनमूलक काम र अध्ययन, अध्यापन एवं लेखनका क्षेत्रमा बाधा छ । प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि समय निकाल्न नसक्नाले थोरै तनावको सामना गर्नुपर्ने छ । मङ्गलबारपछि राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । व्यापारबाट सोचेजस्तै मुनाफा प्राप्त हुने योग छ । पशुव्यवसाय र कृषिपेसाबाट सन्तोष मिल्नेछ । नोकरी र सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । गरेका कामबाट सन्तुष्ट भइन्छ । रोकिएका सरकारी काम सुल्झाउन सकिने समय छ । शुक्रबारपछि खर्चको मात्रा बढ्न सक्ने समय छ, यद्यपि शुभ समाचार प्राप्त हुनाले मन फुरुङ्ग हुनेछ । सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ । पठनपाठनमा प्रगति हुनेछ । खानपिनका परिकार प्राप्त हुने र विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागी हुनु पर्नेछ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 
समग्रमा लाभदायी सप्ताह हुनेछ । सुरुमा भाग्यभावमा चन्द्रमा रहेकाले केही नचिताएका शुभ परिणामहरू प्राप्त हुनेछन् । लामो दूरीको यात्रामा निस्कन वा यातायातको साधन किन्न अनुकूल समय छ । धार्मिक तथा सामाजिक कार्यमा महत्वपूर्ण भुमिका रहनेछ । टाढा रहेका आफन्तजनको उन्नति र प्रगतिको समाचार सुन्न पाउनु हुनेछ । मङ्गलबारपछि कर्मप्राप्तिको समय सुरु हुनेछ, घरपरिवारबाट भरमग्दुर सहयोग प्राप्त हुने छ । सानो प्रयासले रोजगारीको राम्रो अवसर हात पर्न सक्छ । सरकारी जागिरेका लागि प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । कुनै अप्रत्याशित काममा अरुलाई सहयोग गर्नु पर्ला । शुक्रबारपछि धैर्यधारण गरी परिश्रम गर्ने समय हो । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । अभिभावकवर्ग, गुरुजन र ठूलाबडाको आशीर्वाद प्राप्त भएमा कार्य सम्पन्न हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 
साताको प्रारम्भमा अष्टम भावमा चन्द्रमा रहने भएकाले सचेतता र सावधानीका साथमा समय व्यतीत गर्ने सप्ताह छ । साताको प्रारम्भमा गर्नु नपर्ने कामबाट जोगिने बेला हो, छोटो दूरीको निरर्थक यात्रा हुने योग छ । गुप्त र मानसिक रोगले सताउन सक्छ । गर्न बाँकी काम पनि केही समयका लागि थाती राख्नु नै बेस हुनेछ । मङ्गलबारपछि भाग्यबलमा बृद्धि हुनेछ । छात्रछात्रालाई भोजन प्रदान गरेमा भाग्यबल बढ्ने छ र रोकिएका काम बन्न थाल्नेछन् । धार्मिक वा आध्यात्मिक प्रवचन वा गाथा सुन्दा सन्तुष्टिको अनुभूति गर्नुहुनेछ । घरायसी सम्बन्ध राम्रै रहने छ । शुक्रबारपछि कर्मप्रति सचेत र सतर्क रहने समय हो । कामको दायित्व थपिने छ । सार्वजनिक हीत र परोपकारका क्षेत्रमा सक्रियता बढ्नाले प्रशंसा प्राप्त हुने योग छ । परिवारभित्रै वा छरछिमेकमा धार्मिक कार्य सम्पन्न हुनेछ, जसमा तपाईंको सक्रिय भूमिकाको खोजीहुनेछ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 
मध्यम समय छ । साताको प्रारम्भमा रामरमाइलो र मनोरञ्जनात्मक क्षेत्रमा समय यापन हुनसक्छ । सोचेजस्तै सफलता प्राप्त हुनेछ । पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने छ । दाम्पत्य जीवन सुखमय रहनेछ । पार्टनरसीपमा कुनै काम गर्ने योजना बनाउनु भएको छ भने त्यसका लागि अनुकूल छ । मङ्गलबारपछि आठौं भावमा चन्द्रमा रहने भएकाले अशुभ परिणाम प्राप्त हुनेछ, विगतमा आफूले गरेका कमीकमजोरीको नकारात्मक नतिजा देखा पर्नसक्छ । घरेलु समस्यामै अल्मलिएर समय व्यतीत हुनेछ । लामो दूरीको यात्रामा ननिस्कनु राम्रो हुन्छ । परिवारका सदस्य अस्वस्थ हुनसक्छन् । शुक्रबारपछि भाग्यभावमा चन्द्रमाको आकर्षण रहने छ । नचिताएको र सुखद परिणाम प्राप्त हुनेछ । तर अनावश्यक र झर्को लाग्दो यात्रा हुने सम्भावना छ । अरुले तपाईंका आन्तरिक क्रियाकलापको चियोचर्चो गर्नेछन् । काममा ढिलासुस्ती हुने योग छ, त्यसैले सानो कमजोरी वा भूलका कारण अपमानित बन्न सक्नुहुन्छ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 
झैझगडा र विवादबाट जोगिनु पर्ने समय छ । साताको प्रारम्भमा छैटौं भावमा चन्द्रमा हुनाले काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न समस्या आइलाग्न सक्छन् । झिनामसिना कामका लागि पनि निक्कै खट्नु पर्छ । भरिसक्य मुद्दामामिला र झैझगडाबाट टाढा रहनु होला, निर्णय क्षमताले काम नगर्न सक्छ । मङ्गलबारपछि मनोरञ्जनात्मक समय सुरु हुँदैछ, दाम्पत्य जीवन असल हुनेछ वा अविवाहित हुनुहुन्छ भने कसैले नयाँ सम्बन्धको प्रस्ताव राख्न सक्छ । छलफल, वादविवाद र झैझगडामा आफ्नो जित हुनेछ । उपहार, चिट्ठा, पुरस्कार आदिबाट आकस्मिक धनप्राप्तिको सम्भावना छ । शुक्रबारपछि आठौं भावको चन्द्रमाले सचेत हुन निर्देशन गरेको छ । यद्यपि प्रेममा सफलता प्राप्त हुने योग छ । सामान्य विवादले ठूलो रूप लेला तर पनि तपाईंकै विजय हुनेछ । सरकारी जागिरेका लागि उपयुक्त समय आएको छ, कतै छोटो दुरीको विशिष्ट र लाभदायी यात्रा पनि हुन सक्छ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 
जे गरे पनि आफ्नै बुद्धि खियाएर काम गर्ने समय छ । साताको प्रारम्भमा विद्यार्थीहरुले आफ्नो क्षमता प्रदर्शन गरी स्याबासी पाउने समय हो । अन्य सबैका लागि भौतिक सुविधाको दीर्घकालिक जोहो गर्ने अवसर र मौका देखापर्ने छ । चिन्तन र बौद्धिकताको क्षेत्रमा राम्रो छ । मङ्गलबारपछि साथीभाइ टाढिने र व्यवहार पनि शत्रुतापूर्ण हुने सम्भावना छ । पुख्र्यौली सम्पत्तिको विवादले अझ धेरै तनावको सिर्जना हुनसक्छ । प्रतियोगिताबाट निराशा हात लाग्नेछ । तार्किक र बौद्धिक क्षेत्रबाट सफलता लिन सकिंदैन । शुक्रबारपछि समय मनोरञ्जनपूर्ण रहने छ । दाम्पत्य जीवन या प्रेम जीवनमा नयाँ तरङ्ग र उल्लास थपिने समय छ । हुन त यस समयावधिका दिन चुनौती र परीक्षणका रूपमा देखा परेको छ । वादविवाद, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्ला । बन्दव्यापार र उद्योगधन्दामा बेफाइदा हुनेछ । आर्थिक समस्याले सङ्कट उत्पन्न हुनसक्छ । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 
घरायसी वातावरण आफूअनुकूल नहुनाले साताको प्रारम्भ त्यति फलदायी हुने देखिंदैन । विदेश वा प्रवासमा बसेर कामधन्दा र व्यवसाय गर्नेहरूले राम्रो लाभ प्राप्त गर्नसक्छन् । तर घरमा बस्नेले अनावश्यक दौडधुप गर्नु पर्नेछ । काममा किसिमकिसिमका चुनौती देखा पर्नेछन् । नयाँ काममा हात हाल्नु श्रेयस्कर हुँदैन । मङ्गलबारपछि पञ्चमभावमा चन्द्रमाको प्रवेश हुनेछ, बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समययापन हुनेछ । धनलाभ हुने सङ्केत छ । शत्रुहरू पराजित हुनेछन् । सृजनात्मक सफलता मिल्नेछ । समाजसेवा गर्दा प्रशंसा प्राप्त हुनेछ । नयाँ योजना कार्यान्वयन हुनेछन् । साताको अन्त्य सुखद रहने छ । मानसम्मानमा बृद्धि हुनेछ । महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । सहयोगीहरूले काममा साथ दिनेछन् । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 
पराक्रम र उत्साह प्रदर्शन गर्ने राम्रो समय छ । यो साता तपाईंको राशिबाट तेस्रो, चौथो र पाँचौं घरमा चन्द्रमाले भ्रमण गर्नेछ, त्यसैले धार्मिक, सामाजिक काम वा परोपकारका क्षेत्रमा समय र धन खर्च गर्ने समय आएको छ । उपहार पुरस्कार आदि मिल्नेछ । नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने त्यसका लागि अनुकूल समय आएको छ । मङ्गलबारपछि त्यति राम्रो समय छैन । आफूमुनिका परिवारजनसँगको आत्मीयतामा कमी आउनसक्छ । कुनै महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्दै हुनुहुन्छ भने गोप्य राखेमा सफलता पाउनुहुनेछ । मित्रको व्यवहार पनि शत्रुतापूर्ण हुनेछ । शुक्रबारपछि पञ्चम भावमा रहेको चन्द्रमाले बुद्धिपक्ष सक्रिय रहने छ । परिवारभित्रकै सदस्य वा आफन्तको स्वास्थ्यमा समस्या देखिनाले समय र धन खर्च हुनेछ । आफूस्वयंलाई अस्वस्थताको अनुभव हुनेछ, शरीरमा चोटपटकको भय छ । पाचनप्रणालीमा हुने गडबडीले पिरोल्न सक्छ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 
धनधान्य र सम्पत्ति व्यवस्थापनका लागि अनुकूल साता छ । साताको प्रारम्भमा व्यवसायिक क्षेत्रमा बोलीको कदर हुने समय छ । वाणि र व्यवहारप्रति विपरीत लिङ्गीको आकर्षण बढ्नेछ । जोस र जाँगर बढ्नेछ । धातुको कारोवारबाट धेरथोर लाभ मिल्नेछ । भौतिक सम्पत्तिको जोहो हुनेछ । मङ्गलबारपछि पराक्रम र उत्साहमा बृद्धि हुनेछ । दाजुभाइ र बन्धुबान्धवको सल्लाहले रोकिएको काम बन्न सक्छ । धार्मिक र सामाजिक काममा समय बित्नेछ । आध्यात्मिक भावनाको विकास हुनेछ । दिनदुःखीलाई दिएको सानो सहयोगले भाग्यबलमा अभिबृद्धि हुनेछ । शुक्रबारपछि घरायसी काममा दिलचस्पी बढ्ने छ । काम झिनामसिना भए पनि लगनशीलता देखाएमा राम्रो लाभ हुनेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहने छ । समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ । आम्दानीमा कमी आउने छैन । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 
आफ्नै राशिमा रहेको चन्द्रमाका साथमा साताको प्रारम्भ भएकाले यस समयमा महत्वाकाङ्क्षा र इच्छाहरू पूर्ण हुनेछन् । लाभदायक वस्तुको किनमेल र कारोबार गरिने छ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । घरायसी वातावरण आफ्नै पक्षमा रहनेछ । समग्रतामा राम्रो परिणाम प्राप्त हुनेछ । मङ्गलबारपछि धनप्रवाहका लागि अनुकूल समय छ । मन प्रसन्न रहनेछ । आर्थिक लाभ प्राप्त हुनेछ । परिवारमा मेलमिलापको बातावरण कायम हुनेछ । मित्र र सहयोगीले सकेसम्म सहयोग गर्नेछन् । यस समयको जति सदुपयोग गर्नुहुनेछ त्यत्ति नै लाभकारी हुने सङ्केत छ । शुक्रबारपछि मानप्रतिष्ठा र ख्याति बढ्ने समय आएको छ । पराक्रम र उत्साहमा बृद्धि हुने छ । सामाजिक काममा संलग्न हुनुपर्ला । घुमघाम र भेटघाटको समय छ, मेवामिष्ठान्न र परिकार मिल्नेछ । छरछिमेकी वा नातागोताको कामधन्दा गर्दा सन्तुष्टि प्राप्त हुनेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – 
साताको प्रारम्भमा द्वादश भावमा चन्द्रमा छ, सञ्चित धननाश हुने खतरा छ, त्यसैले खर्चबर्चमा नियन्त्रण गर्नु राम्रो हुन्छ । शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । यतिबेला तपार्इंलाई नै भनेर कुनै ठूलो सहयोग सद्भाव मिल्न कठिन छ । विचार गरेर काम गर्नुहोला । मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । मङ्गलबारपछि चन्द्रमाले आफ्नै राशिमा प्रवेश गर्नेछ, त्यसपछि निर्णय सार्थक हुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । मनमा केही कमी भएझैं लागे पनि समग्रमा लाभकारी नै हुनेछ । शुक्रबारपछि धनलाभको सङ्केत छ । लगानी र निवेशका लागि राम्रो समय छ । लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा धननिवेश गर्ने अनुकूलता हुनेछ । मन दोधार नबनाउनु होला, नत्र राम्रा अवसरलाई पूर्ण उपयोग गर्न सक्नुहुन्न । स्वास्थ्य अनुकूल हुनेछ । मित्र, परिवार र सहयोगीले सरसहयोग गर्नेछन् ।

No comments:

Post a Comment