Monday, April 30, 2018

किन गरिन्छ ? लक्ष्मीका साथमा गणेशजीको पूजा

लक्ष्मीलार्इ धनधान्य र सुखसम्मृद्धि र गणेश तथा सरस्वतीलार्इ बुद्धिको प्रतीक मान्ने गरिन्छ । एक पटकको कुरा हो । एक जना राजाले कुनै दाउरे किसानको विपन्नता र दरिद्रता नष्ट होस् भन्ने उद्देश्यले उसलार्इ एउटा श्रीखण्ड चन्दनको जङ्गल उपहारका रूपमा बिर्ता दिए । किसान प्रसन्न भयो । केही वर्षपछि राजा किसानको जीवनस्तर पक्का पनि सुध्रियो होला भन्ठानी उसको घरमा गए । परिस्थिति सुध्रिने कुरा त परै जाओस्, उसको गरिबी जस्ताको त्यस्तै थियो । भएछ, के भने सुरुमा खान पुग्दैन थियो र जीविकाका लागि ऊ जङ्गल जङ्गलमा भौंतारिएर दाउरा सङ्कलन गरी सहरमा गर्इ बेचबिखन गर्थ्यो । तर जब जङ्गलको स्वामित्व उसको जिम्मामा आयो, उसले जङ्गल फाँड्दै दाउरा बाल्दै जीविका चलाउन थाल्यो । वन फँडानी गरेको जग्गाको सदुपयोग गर्न जानेन । राजा पुगेका दिनसम्ममा त उसको श्रीखण्डको जङ्गल पनि समाप्त भइसकेको थियो, त्यहाँको जमिन पनि बाँझो देखिन्थ्यो । राजाले बुझे, मानिसले सम्पत्ति प्राप्त गरेरमात्र हुँदो रहेनछ, त्यसलार्इ उपयोग गर्ने बुद्धिको समेत खाँचो पर्दो रहेछ । त्यसैले तिहारमा लक्ष्मीपूजाका दिन धनधान्य र सुखसम्मृद्धिकी देवीका साथमा बुद्धिकी अधिष्ठात्री सरस्वती र बुद्धिका स्वामी गणेशको पूजा गरिएको हो ।

यस प्रसङ्गमा एउटा अर्को कथा पनि प्रचलनमा छ । एक पटक एउटा बाहुनले राजसी सुख पाउने इच्छाले लामो समयसम्म माता लक्ष्मीको उपासना गरे । माता प्रसन्न भएपछि वरदान दिनुभयो - जाउ तिम्रो मनोकाङ्क्षा पूर्ण हुनेछ । बाजे तपस्याबाट जुरुक्क उठे र राजदरबारमा गए । उनले तपस्या त गरेका थिए, तर त्यसलार्इ कसरी फलीभूत बनाउने जानेका थिएनन् । दरबारमा पुगेर एकछिन टोलाए, अन्ततः राजसिंहासनको छेउमा पुगे । दरबारको सभा चल्दै थियो, के भन्नुपर्छ थाहा छैन, राजसी सुख भोग गर्ने हतारो छ । उनले केही नभनी राजाको शिरको ताजपोस मुकुट झिकेर भुइँमा फ्यालिदिए । एकाएक अपरिचित बाहुन आएर भरिएको सभामा राजाको अपमान गरेको कसैलार्इ सह्य भएन । सिपाही बाहुनको पाता कस्न थाले । त्यत्तिकैमा भुइँमा झरेको मुकुटबाट एउटा सर्प बाहिर निस्कियो । सर्प देखेपछि सबैको ध्यान त्यतापट्टि केन्द्रित भयो ।

ब्राह्मणको ठूलो सम्मान भयो । आफूलार्इ सर्पबाट जोगाएको हुँदा केही समयपछि राजाले बाजेलार्इ मन्त्री बनाइदिए । राजकाज कसरी सञ्चालन गर्ने बाहुनलार्इ थाहा थिएन, सनकका भरमा उनी जहिले पनि केही न केही आदेश दिइरहन्थे । आफ्नो वरदान सिद्ध गर्न उसका गल्तीको ढाकछोप माता लक्ष्मीले गरिदिनु हुन्थ्यो । एक पटक बाहुनले राजपरिवारका सबै सदस्य र भारदारहरूलार्इ दरबार खाली गर्ने आदेश दिए । उनका प्रत्येक क्रियाकलापमा कुनै न कुनै चमत्कार भइरहन्थ्यो, आनाकानी नगरी सबै दरबारबाहिर चौरमा भेला भए । बाहिर निस्कनासाथ ठूलो भुइँचालो आयो । देख्दादेख्दै दरबार खण्डहरमा परिणत भयो । बाहुनको चमत्कार अचम्मको थियो, अव उनी प्रधानमन्त्रीमा नै नियुक्त भए ।

दरबारमा बाहुनको बोलबाला मात्र चल्दथ्यो । राजा नाम मात्रका थिए । तर बाहुनबाजेको सनक जस्ताको तस्तै थियो । दरबारको कोठाचोटा जता जान पनि उनलार्इ छुट नहुने कुरै भएन । एक पटक उनी राजा सुत्ने शयनागारमा पुगे । सिरानेभागमा गणेशको मूर्ति राखिएको थियो । राजा नित्य प्रातःकालमा भक्तिभावपूर्वक भगवान् गणपतिको पूजाआराधना गर्थे । बाहुनले आदेश दिए - यो गणेशको मूर्ति दरबारबाहिरको नालीमा लगेर फ्यालिदिनु ।

भोलिपल्ट राजाले आफ्ना आराध्यदेवको पूजा गर्न पाएनन् । दिउँसो राजसभामा बाहुनको सनकको पारो फेरि तात्यो । भारदार र नागरिकको भरिपूर्ण सभामा उनले राजालार्इ आदेश दिए - तुरुन्त सुरुवाल खोलेर नाङ्गै उभिनुहोस् । उनले भनेको नमान्ने कुरै भएन । लगाएको सुरुवाल तुरुन्त फ्यालेर राजा नाङ्गिए । सिपाहीहरूले सुरुवाल ओल्टाइपल्टाइ गरे । त्यसमा केही पनि भेटिएन । राजा मुर्मुरिंदै दरबारभित्र पसे, भारदारहरूले लाजले टाउको निहुर्याए । सिपाहीले उक्त सुरुवाल दरबारबाहिर बगैंचामा मिल्काइदिए । अब राजाको क्रोधको पारो चुलिर्इ सकेको थियो । त्यसै साँझ भारदारसभा डाकेर बाहुनलार्इ पदच्युत गरियो र पाता कस्न लगार्इ जेलको कालकोठरीमा हालियो । जेलमा अब के काम गर्ने ? बाहुन फेरि माता लक्ष्मीको उपासना गर्न थाले । लक्ष्मी प्रकट भर्इन् र भनिन् - 'रे ! मूर्खब्राह्मण, मैले सकेसम्म राजवैभव र सुख त दिएकै थिएँ नि, त्यसको उपयोग गर्न जानेनौ । गणेशजी दरबारमा प्रतिष्ठित हुनुहुन्थ्यो र तिमीले जे बोले पनि र जे गरे पनि वहाँले मेरो वरदान सिद्ध गर्न सघाउ पुर्याउनु भएको थियो । तिम्रो मन्दबुद्धि भ्रष्ट हुनपुग्यो, गणेशको प्रतिमा नालीमा फ्यालिदियौ, परिणामतः अहिले कालकोठरीमा पर्यौ । बाबु, आफूसँग सामर्थ्य भएरमात्र हुँदैन, त्यसको उपयोग गर्न जान्नुपर्छ । अब मेरो होइन, तिमीले गणेशको आराधना गर ।'

बाहुनलार्इ गल्तीको अनुभूति भयो । उनले गणपतिलार्इ प्रसन्न तुल्याउन पुनः आराधना गरे । यता गणेशजी प्रसन्न हुनुभयो, उता प्रातःभ्रमणमा निस्किएका राजा सुरुवाल मिल्काइएको बगैंचामा पुगे । सुरुवालमा सर्पको काँचुली देखियो । 'बाहुनले ठिकै पो भनेका रहेछन्' - राजाले मनन गरे । तुरुन्त बन्दीगृहमा पुगे र बाहुनलार्इ कैदमुक्त बनार्इ पुनः प्रधानमन्त्री बनार्इदिए । पदबहाली हुनासाथ बाहुनले नालीमा फ्यालेको प्रतिमा ल्याएर पहिलेकै स्थानमा विधिवत् प्रतिष्ठा गरे । उनले माता लक्ष्मी र सरस्वतीको समेत प्रतिष्ठा गरे, त्यहाँ लक्ष्मीलार्इ माझमा राखी एक छेउमा गणेशजी र अर्को छेउमा सरस्वतीको मूर्ति स्थापना गरिएको थियो ।

त्यसैले धनधान्य र सामर्थ्यका साथमा बुद्धिपक्ष आवश्यक हुन्छ भनिएको हो । दुबै प्रवृत्ति एकसाथ प्राप्त गरेका व्यक्तिमा मात्र सुख र सम्मृद्धि टिकाउ हुन्छ । सारतत्त्व के हो भने तिहारमा लक्ष्मीपूजाका दिन धनधान्यकी देवी माता लक्ष्मीका साथमा गणेश र सरस्वतीको पूजा गर्ने पद्धतिको मुख्य आधार भनेको बुद्धि र धन दुबै पक्षको आराधना पूर्ण गर्नु हो । अस्तु ॥


Thursday, April 26, 2018

दु:खनिवारणको उपाय - प्रदोष व्रत

व्रत लिनाले ज्ञानशक्ति, विचारशक्ति, बुद्धि, श्रद्धा, मेधा, भक्ति तथा पवित्रताको अभिवृद्धि हुन्छ र अन्तरात्मा शुद्ध हुन्छ । भगवान शङ्कर अनन्त अनि अविनाशी हुनुहुन्छ । यिनलाई प्रसन्न तुल्याउनका निमित्त विभिन्न धर्म ग्रन्थहरूमा कतिपय उपवास र व्रतका बारेमा उल्लेख गरिएको छ । यिनै विधानहरू मध्ये एउटा व्रत हो - प्रदोष व्रत ।

के हो प्रदोषकाल

प्रत्येक दिन सूर्यास्तपछिको दुई घडी (लगभग ४८ मिनेटको समय) प्रदोष काल हो ।(प्रदोषोऽस्तमयादूर्द्ध्वं घटिकाद्वयमिष्यते ॥) तर ज्योतििषीय मतमा  रात्रिकाल प्रारम्भ हुने साँझको लगभग साढे दुई घण्टाको अवधि (रात्रीमानको पाँचभागको सुरुको एक भाग)लाई प्रदोष काल भनिन्छ ।  कतैकतै सूर्यास्तपछि तीनप्रहरसम्म त कतै मध्यरात्रीपर्यन्त प्रदोषकाल रहने बताइएको पाइन्छ । सामान्यतया प्रदोषकाल प्रत्येक शुभ कार्यका निमित्त निषिद्ध समय मान्ने गरिन्छ । तर त्रयोदशी तिथिको संयोगले उक्त समय अमृत काल बन्ने गर्दछ । यस प्रसङ्गमा विभिन्न धर्मग्रन्थ र स्मृतिहरूमा निम्नानुसार वर्णन गरिएको भेटिन्छ :-

रात्रौ यामद्वयादर्वाम्यदि पश्येत्रयोदशीम् । सा रात्रिः सर्वकर्मघ्नी शङ्कराराधनं विना ? ॥ - बृद्धमनुः

(रात्री प्रारम्भ भएको दुई प्रहरभित्र त्रयोदशी तिथि देखिएमा भगवान् शङ्करको आराधना नगरेमा समस्त कर्मको नाश हुन्छ ।)

त्रयोदशी यदा रात्रौ यामस्तत्र निशामुखे। प्रदोष इति विज्ञेयो ज्ञानार्थी मौनमाचरेत् ॥ - बृद्धगार्ग्यः

(रात्रीकाल प्रारम्भ भएको समय यदि त्रयोदशी तिथि छ भने त्यसलाई प्रदोष मान्ने गरिन्छ, उक्त समयमा ज्ञानार्थी सज्जनहरूले मौन रहेर ईश्वर आराधना गर्नुपर्दछ ।)

भोजनं मैथुनं यानमभ्यङ्गं हरिदर्शनम् । अन्यानि शुभकार्याणि प्रदोषे नैव कारयेत् ॥ - बृद्धगार्ग्यः

(भोजन, मैथुन, यात्रा, शरीरमा तेल लगाउने, भगवान् श्रीहरिको दर्शन वा पूजाअर्चना लगायत अन्यान्य शुभकार्यहरू प्रदोषकालमा गर्नुहुँदैन)

त्रिमुहूर्त प्रदोषस्याद्रवावस्तङ्गते ततः । मितसन्ध्यस्त्रयोदश्यां न स्मरेचात्मनोऽहितम्' ॥ - स्कन्दपुराण

(सूर्यास्तपछिको तीन मुहूर्तसम्म प्रदोष र त्रयोदशीको समागम भएको अवस्थामा व्यक्तिले आफ्नो अहित चिताउनु हुँदैन ।)

अहोऽष्टमांशसंयुक्तं रात्र्यर्धं मौनमाचरेत् । त्रयोदशी कलामात्रा दृष्टा यदि निशामुखे' ॥ - स्कन्दपुराण

(दिनको अन्तिमको अष्टमांश समय तथा रात्रीकालको मध्यभागसम्म त्रयोदशी तिथि परेको अवस्थामा ज्ञानीजनहरूले मौन रहनु पर्दछ ।)

न प्रदोषे हरिं पश्येत् त्रयोदश्यामतत्क्रिया । यदि पश्येत्प्रमादेन द्वादशाब्दं न रक्षति ' ॥ - स्कन्दपुराण

(त्रयोदशी तिथिको प्रदोषकालमा शिवाराधन नगरी विष्णुको पूजाआजा गर्नुहुँदैन, गरेमा बाह्र वर्षसम्म मात्र आयु रहने सम्भावना हुन्छ ।)

अर्चकान् परिचारांश्च वैष्णवान् ज्ञानिनो यतीन् । दासीदासादिकांश्चैव प्रदोषो नैव बाधते ! ॥ - स्मतिग्रन्थः

(पूजारी, परिचर, वैष्णवजन, ज्ञानी, सन्न्यासी, दासदासी आदिलाई माथिको प्रतिबन्ध लागू हुँदैन, अर्थात् प्रदोषको दोष लाग्दैन ।)

प्रदोषोक्तषु दोषेषु पापं नैवेति शासनम् । असिते च सिते पक्षे प्रदोषो यदि सम्भवेत् ॥
श्रौतवद्देवमभ्यर्च्य वन्दनादीनि कारयेत् । आयुश्रीश्पुष्टिकामी च शत्रुसंहारमीयिवान् ॥
पुत्रक्षेत्रादिकामी च उदयास्तमयं चरेत् । स्त्रीभिश्च पुरुषैर्वापि भक्तियुक्तैस्सुखार्थिभिः ॥
यथाविधि च निर्वर्त्या स्नानदानादिकाः क्रियाः । कालोऽस्ति दाने कालोऽस्ति यज्ञे कालोऽति सज्जये ॥ - स्मतिग्रन्थः 

(कृष्ण पक्ष वा शुक्लपक्षमा पर्ने त्रयोदशी युक्त प्रदोषमा श्रुतिस्मृतिको पालना गरी सन्तति, भूमि, आयु, सुखसम्मृद्धि, पुष्टि, शत्रुनाशको कामना गरी कुनै पुरुष वा स्त्रीले भक्ति र निष्ठापूर्वक स्नान, दान, यज्ञयागादिका साथमा देववन्दना गरेमा प्रदोषकालमा बताइएका माथिका प्रतिबन्ध र अनुशासन लागू हुँदैनन्, अर्थात् कुनै दोषको भागी हुनुपर्दैन ।)

प्रदोष व्रत

प्रत्येक पक्षको त्रयोदशीका दिन लिइने व्रतलाई प्रदोष व्रत भन्ने गरिन्छ । प्रदोष कालमा त्रयोदशी तिथिको संयोग परेको दिन नै प्रदोष व्रत सम्पादन गरिने दिन हो । यस व्रतमा भोले शङ्कर भगवान् महादेवको आराधना र पूजा गर्ने विधान छ । व्रतको दिन दम्पतिसहित व्रतालुले प्रातः ऊषाकालमा स्नान गरेर शिव, पार्वती र गणेशको संयुक्त आराधना गरी शिव मन्दिरमा गई शिवलिङ्गमा जलाभिषेक गर्नु पर्दछ र त्यसपछि पीपलको रूखमा जल चढ़ाई व्रतालुले दिनभरि पानी पनि नखाई व्रत सम्पादन गर्ने नियम छ । प्रात:कालमा स्नान गरी भगवान् शिवलाई बेलपत्र, गङ्गाजल, अक्षता, धूपदीपनैवेद्य सहित पूजा गर्नुपर्छ । सन्ध्याकालमा पुन: स्नान गरी बिहानकै विधिले शिवजीको पूजा गर्नुपर्दछ । यसरी प्रदोष व्रतको पूजा सम्पन्न गर्नाले व्रतालुले इच्छाएको कामना पूरा गर्न सक्दछ । सायंकालमा व्रत लिने व्यक्तिले फलामको कराईमा कालो दाल, मोटा चामल, तिल आदि मिसाएर खिचड़ी पकाएर भोजन गर्नुपर्दछ । त्यसरी पकाइएको खिचड़ीको चारभागको एक भाग कालो कुकुर वा गाईलाई खान दिनुपर्छ । प्रदोष व्रत ती व्यक्तिहरूका निमित्त मनोकाङ्क्षा पूर्ण गर्ने व्रत पनि हो, जसले चन्द्रमा ग्रहको पीडा भोग्नु परेको छ, त्यस्तै चन्द्रमा ग्रहको पीडाबाट मुक्ति प्राप्त गर्न वर्षभरि आउने समस्त प्रदोष व्रतलाई सम्पादन गर्नु, फलाम, तिल, कालोदाल, सुठुनी(शकरखण्ड), मूला, पिंडालु, कम्बल, जूत्ता र कोइला आदि दान गर्दा लाभ प्राप्त हुन्छ । शनिबार वा मङ्गलबार परेको प्रदोष व्रतका दिन भगवान् शिवजीको मन्दिर, हनुमानको मन्दिर वा भैरव मन्दिरमा पूजा मात्र गर्दा पनि लाभ प्राप्त हुन्छ । यद्यपि जुनसुकै बारमा परे पनि प्रदोष व्रतको महत्त्व उत्तिकै हुन्छ, तथापि सोमवार, मङ्गलवार र शनिवारका दिन परेको प्रदोष व्रतलाई अत्यधिक प्रभावकारी मानिएको छ । प्रदोष व्रतको निष्ठापूर्वक गरिने आराधनाको प्रभावले सांसारिक दुःखको निवृत्ति हुन्छ । केवल चन्द्रमाको दशानिवारण र सन्तानप्राप्तिका लागि मात्र होइन यस व्रतले सुखसम्पदायुक्त जीवन शैली, यश, कीर्ति, ख्याति र वैभव प्रदान गर्दछ । विशेषतः श्रावण, भाद्रपद, कार्तिक र माघ महिनामा पर्ने प्रदोष व्रतले वर्तमान युगको प्रभावबाट सिर्जना हुने समस्त शारीरिक र भौतिक कष्टको निवारण गर्न ठूलो सघाउ पुर्याउँछ ।

प्रदोष  व्रतको महात्म्य गङ्गा नदीको पावन तटमा कुनै समय वेदवेदाङ्ग शास्त्रका ज्ञाता एवं भगवान् नारायणका परम भक्त श्री सुतजीले सौनकादि ऋषिहरूलाई सुनाउनु भएको थियो । सुतजीले भन्नुभयो – कलियुगमा मनुष्य धर्मको आचरण विपरीत अधर्मको मार्गमा तत्पर हुन्छन्, चारैतिर अन्याय र अत्याचारको बोलबाला हुनेछ, मनुष्य आफ्नो कर्तव्यबाट विमुख भई नीच कर्ममा संलग्न रहने छन्, त्यस समयमा प्रदोष व्रत यस्तो व्रतका रूपमा प्रतिष्ठित हुनेछ, जसले मानवमात्रलाई भगवान् शिवको कृपापात्र बनाउन सक्नेछ र यस व्रतको विधिवत् सम्पादन गर्नाले मनुष्य नीच गतिबाट मुक्त भई उत्तम लोक प्राप्त गर्नेछ । त्रयोदशीको सायंकालमा (रात्रिकालको प्रारम्भको प्रथम प्रहर) मा जुन मनुष्यले यथायोग्य पूजनसामाग्रीका साथमा भगवान् शिवको मन्दिर गएर शिवलिङ्गको दर्शन गर्दछ, त्यसले समस्त पापबाट छुटकारा पाउँछ । सौनकादिक ऋषिहरूलाई सुतजीले आज्ञा गर्नुभयो – प्रदोष व्रतको पुण्यका कारण कलियुगमा मनुष्यका सबै किसिमका कष्ट र पाप नष्ट हुने गर्दछन् । यो व्रत अत्यन्त कल्याणकारी व्रत हो, यस व्रतको प्रभावले मनुष्यले मनोवाञ्छित अभीष्ट फल प्राप्त गर्दछ । बेग्लाबेग्लै बारमा परेका प्रदोष व्रतको बेग्लाबेग्लै फल पनि प्राप्त गर्न सकिन्छ, ती भिन्नभिन्न दिनमा लिएको प्रदोष व्रतका माध्यमबाट के लाभ हुन्छ भन्ने विषयमा पनि सुतजीले उक्त अवसरमा सविस्तार चर्चा गर्नु भयो । वहाँले सौनकादिक ऋषिहरूको जिज्ञासा शान्त तुल्याउँदै भन्नुभयो – प्रदोष व्रतको महात्म्य सर्वप्रथम भगवान् शङ्करले माता सतीदेवीलाई सुनाउनु भएको थियो । मैले यस व्रतको पावन कथा र विशिष्ट महात्म्य महर्षि वेदव्यासको मुखारविन्दबाट सुन्ने मौका पाएको हुँ र यो उत्तम व्रत एवं महात्म्य अहिले हजुरहरू ८८,००० मुनिहरूलाई श्रवण गराउने अवसर पाएको छु ।

बारअनुसार प्रत्येक प्रदोषको छुट्टाछुट्टै महत्त्व छ, तिनको फरकफरक महत्त्व र वैशिष्ट्यको जानकारी लिन तलका लिङ्कहरूमा जानुहुन :-







Tuesday, April 24, 2018

मोहिनी एकादशी

वैशाख महिनाको शुक्ल पक्षमा पर्ने एकादशीलाई मोहिनी एकादशी भन्ने गरिन्छ । पौराणिक ग्रन्थहरूमध्ये ब्रह्मवैवर्त, भविष्योत्तर र पद्मपुराणमा वर्षभरिका विभिन्न व्रत, पर्व र उत्सवको महात्म्य, वैशिष्ट्य र व्रतकथा उल्लेख गरिएको छ । यी पुराणमा पनि मोहिनी एकादशीको व्रतकथा उल्लेख गरिएको छ । यहाँ पद्मपुराणमा उल्लेख भएको कथा उपस्थापन गरिएको छ -


भगवान् श्रीकृष्ण र युधिष्ठिरका बीचमा विभिन्न धर्मकर्म, व्रततीर्थ र महात्म्यको चर्चा चल्दैथियो । यसै प्रसङ्गमा धर्मराज युधिष्ठिरले कृष्णसित सोध्नुभयो -

वैशाख शुक्लपक्षे तु किन्नामैकादशी भवेत् किं फलं को विधिस्तत्र कथयस्व जनार्दन 

 'हे गोपाल ! वैशाख महिनाको शुक्ल पक्षमा पर्ने एकादशीको नाम के हो ? त्यसको महात्म्य र कथा कस्तो छ ? अनि उक्त व्रतलार्इ कुन विधिको प्रयोग गरी सम्पादन गर्नुपर्छ ?, सो सबै विस्तारपूर्वक बताउनु हवस्' ।

श्रीकृष्णले उनका जिज्ञासा शान्त तुल्याउँदै भन्न थाल्नुभयो -

इदमेव पुरा पृष्टं रामचंद्रेण धीमता वसिष्ठं प्रति राजेंद्र यत्त्वं मामनुपृच्छसि

'हे धर्मराज ! म यस प्रसङ्गमा एउटा कथा भन्दछु, जसलाई त्रेता युगमा महर्षि वशिष्ठले श्री रामचन्द्रको जिज्ञासा शान्त तुल्याउँदै सुनाउनु भएको थियो ।' एक पटक गुरु वशिष्ठसमक्ष श्रीरामले प्रश्न गर्नु भएको थियो -

भगवञ्छ्रोतुमिच्छामि व्रतानामुत्तमं व्रतम् । सर्वपापक्षयकरं सर्वदुःखनिकृंतनम् ।।मया दुःखानि भुक्तानि सीताविरहजानि तु । ततोऽहं भयभीतोऽस्मि पृच्छामि त्वां महामुने ।।

'हे गुरुदेव ! कुनै यस्तो व्रतका बारेमा बताउनु हवस्, जसबाट समस्त पाप र दु:ख नष्ट होऊन् । मैले सीताको वियोगमा असाध्यै दु:ख भोगेको छु, त्यस्तो दुःख र पीडा अरु कसैले पनि भोग्नु नपरोस्, त्यस्तै त्यस्तो कुनै व्रतको विधि आज्ञा गर्नुहवस् ।

महर्षि वशिष्ठले आज्ञा गर्नु भयो -

साधु पृष्टं त्वया राम तवैषा नैष्ठिकी मतिः । त्वन्नामग्रहणेनैव पूतो भवति मानवः।।
तथापि कथयिष्यामि लोकानां हितकाम्यया । पवित्रं पावनानां च व्रतानामुत्तमं व्रतम् ।।
वैशाखस्य सिते पक्षे राम चैकादशी भवेत् । मोहिनी नाम सा प्रोक्ता सर्वपापहरापराः ।।

'हे राम ! तपाईले अत्यन्त सुन्दर प्रश्न गर्नु भएको छ । हुन त तपाईंको नामोच्चारण गर्नासाथ मनुष्यले त्रिविध ताप नष्ट गर्नुका साथै यस जन्ममरणको चक्रबाट पार पाउने गर्दछ । तर पनि तपाईंले आफ्नो अत्यन्त शुद्ध, पवित्र र निर्मल बुद्धिको प्रयोग गरी लोकहितका लागि यो प्रश्न गर्नुभएको छ, त्यसैले म यस प्रश्नको उत्तर दिन्छु । वैशाख महिनाको शुक्लपक्षमा जुन एकादशी पर्दछ, त्यसको नाम मोहिनी एकादशी हो ।

मोहजालात्प्रमुच्यंते पातकानां समूहतः । अस्याः व्रत प्रभावेन सत्यं सत्यं वदाम्यहम् ।।
अतः कारणतो राम कर्तव्यैषा भवादृशैः । पातकानां क्षयकरी महादुःखविनाशिनी ।।
शृणुष्वैकमना राम कथां पापहरां पराम् । यस्याः श्रवणमात्रेण महापापं प्रणश्यति ।।

यस एकादशीको व्रत गर्नाले मनुष्यले सबै पाप तथा दु:खबाट मुक्त भई समस्त सांसारिक मोह जालबाट उन्मुक्त हुने अवसर प्राप्त गर्दछ । त्यसैले मोहिनी एकादशीको व्रतलाई नियम, निष्ठा र विधिको पालना गरी लिनु प्रत्येक सांसारिक मनुष्यको कर्तव्य हो । यसको पालना गर्नाले मनुष्यका सबै दुःख, कष्ट र पाप नाश हुन्छन् । अब यस व्रतको महात्म्य र वैशिष्ट्य उजागर हुने व्रतकथा प्रस्तुत गर्दछु, ध्यानपूर्वक सुन्नुहवस् ।

सरस्वत्यास्तटे रम्ये पुरी भद्रावती शुभा । द्युतिमान्नाम नृपतिस्तत्र राज्यं करोति वै ।।
चंद्रवंशोद्भवो नाम धृतिमान्सत्यसंगरः । तत्र वैश्यो निवसति धनधान्यसमृद्धिमान् ।।

धेरै वर्षपहिले सरस्वती नदीको किनारमा भद्रावती नामको एउटा सुखसुविधा र सौन्दर्यले युक्त नगरी थियो । त्यहाँ द्युतिमान नामक चन्द्रवंशी राजाले राज्य गर्दथे । त्यसै नगरीमा धनधान्य र सुखसम्पत्तिले पूर्ण पुण्यवान् र धार्मिक स्वभावको धनपाल नामक एउटा वैश्य पनि बसोबास गर्दथ्यो । ऊ अत्यन्त धर्मात्मा र विष्णुभक्त थियो। उसले नगरका विभिन्न स्थानमा पाटीपौवा, भोजनालय, धारा, कुवा, सरोवर, धर्मशाला आदिको निर्माण गराएको थियो । त्यस्तै उसले सहरका सडकको किनारामा आँप, जामुनो, नीम आदिका अनेक बृक्ष रोपेको थियो । त्यस वैश्यका पाँच पुत्र थिए - सुमना, सद्बुद्धि, मेधावी, सुकृति र धृष्टबुद्धि । यी मध्ये धृष्टबुद्धि नामको कान्छो छोरो दुष्ट, नीच र पापी थियो । उसले धर्मकर्म, कुल, परम्परा, संस्कृति र पैतृक कर्म भनेको के हो ? चाल पाएको थिएन, त्यसैले ऊ महान् पापी थियो । ऊ वेश्या र दुराचारी मनुष्यको सङ्गतिमा रहेर जुवा खेल्थ्यो । परस्त्रीका साथ भोगविलास गर्थ्यो, मासु-मदिराको सेवन गर्थ्यो । अरुअरु अनेक कुकर्ममा संलग्न रहेर उसले आफ्ना पिताको मानसम्मान, प्रतिष्ठा र धनधान्यको नाश गरिरहेको थियो । ऊ वेश्याहरूसित अङ्गालो हाली खुलेआम घुमफिर गर्दथ्यो । उसका यी लाजमर्दा क्रियाकलापले उसका पिता, दाजुभाइ तथा कुटुम्बहरूले सल्लाह गरी उसलाई  घरबाट निकाली दिए, भातपानीबाट वञ्चित गरियो । यसरी धृष्टबुद्धि निन्दाको पात्र बन्यो । घरबाट बाहिरिएपछि उसले केही समय आफ्ना गहना र कपडा बेचेर निर्वाह गर्यो । उसँग भएका गरगहना र धन सकिएपछि वेश्या र दुष्ट स्वभावका सँगीसाथीहरूले पनि उसको साथ छोडे । अब ऊ धनको अभावमा भोक र प्यासबाट अत्यन्त दु:खित भई भौंतारिन थाल्यो । ऊसँग जीविकाको कुनै अर्को सहारा नभेटिएकाले अब ऊ चोरी गर्न थाल्यो । एक पटक सिपाहीहरूले उसलाई समाते पनि, तर राजाका कर्मचारीहरूले उसलाई इमानदार वैश्यको छोरो ठानेर खासै कारबाही नगरी थुना मुक्त गरे। यसरी सजिलै थुनाभक्त भएपछि उसले चोरी कर्मलाई निरन्तरता दियो । तर जब अर्को पटक पनि ऊ पुनः पकडाउ पर्यो, सामान्य छानबीनपछि उसलाई दण्डित गर्न राजासमक्ष उपस्थित गराईयो । राजाले उसलाई कारागारमा बन्द गरी सजाय दिने आदेश दिए । कारागारमा सिपाहीहरूले उसलाई किसिमकिसिमले यातना दिई यातना दिए । उसले असाध्यै  दु:ख पायो । सजाय समाप्त भएपछि उसलाई देश निकाला गरियो । अन्त्यमा ऊ सहरबाट बाहिरियो र वनमा लुकेर बस्न थाल्यो, प्राण धान्न अब उसले पशुपन्छी मारेर खान थाल्यो ।

केही समय पछि ऊ बाटो ढुकेर यात्रुहरूलाई लुट्ने र जङ्गली जनाबरहरूको हत्या गर्ने नृशंस सिकारी बन्नपुग्यो । ऊ धनुष बाण लिएर पशुपन्छी र वनमा पुगेका स्त्रीपुरुषलाई मार्ने र लुट्ने गरी जीविका चलाउन थाल्यो । एक दिन उसले कुनै सिकार भेटेन । भोक र प्यासबाट आक्रान्त भई आहाराको खोजीमा घुम्दै गर्दा उसले कौडिण्य ऋषिको आश्रममा पुग्यो । आश्रममा भएको धनमाल हडप गरेर भोक टार्ने उसको मनसाय थियो । त्यस समय वैशाख महिना चल्दै थियो र कौडिन्य ऋषि गंगा स्नान गरी फर्कंदै थिए । पवित्र महिना वैशाखमा ऋषिका भिजेका लुगाको छिँटा पर्नाले उसलाई केही सद्बुद्धि प्राप्त भयो । उसका मनमा भएका यावत् कलुषित भावनाहरू नष्ट भए । अब ऊ मुनिसमक्ष हात जोडेर भन्न थाल्यो - हे मुने ! मैले आफ्नो जीवनमा धेरै ठूलाठूला पापकर्म गरेको छु, तपाईंले ती पापहरूबाट मुक्त तुल्याउने सरल र साधारण अनि धनको अभावमा पनि सम्पन्न गर्न सकिने उपाय बताउनु हवस् । त्यसका दीनवचन सुनेर ऋषिले भन्नुभयो - अहिले वैशाख महिना चलिरहेको छ । यस महिनाको शुक्ल पक्षको एकादशीको विशिष्ट महत्त्व छ । त्यसैले तिमीले पनि वैशाख शुक्ल एकादशीको व्रत सम्पादन गर । उक्त एकादशीको नाम मोहिनी हो र यसको शुद्ध भावले पालना गर्दा तिम्रा सम्पूर्ण पाप नष्ट हुनेछन् । मुनिका वचन सुनेर ऊ अत्यन्त प्रसन्न भयो र ऋषिद्वारा बताइएको विधिअनुसार उसले मोहिनी एकादशीको व्रत गर्यो । हे राम ! यस व्रतको प्रभावबाट उसका सबै पाप नष्ट भए र अन्त्यमा ऊ गरुडमा चढेर विष्णुलोक गयो ।

इतीदृशं रामचंद्र उत्तमं मोहिनी व्रतम् । नातः परतरं किंचित्त्रैलोक्ये सचराचरे ।।
यज्ञादितीर्थदानानि कलां नार्हंति षोडशीम् । पठनाच्छ्रवणाद्राजन्गोसहस्र फलं लभेत् ।।

अतः यस व्रतबाट मोह आदि सम्पूर्ण बन्धनहरू नष्ट हुन पुग्छन् । संसारमा यस व्रतभन्दा श्रेष्ठ अन्य कुनै व्रत छैन । यसको माहात्म्य  पढ़दा अथवा सुन्दा पनि एक हजार गोदानको फल प्राप्त हुन्छ ।

Sunday, April 22, 2018

आदर्श नारी सीता

आदर्श नारी सीता जगज्जननी माता लक्ष्मीकी अंशावतार मानिन्छन् । यिनी प्रसिद्ध धार्मिक ग्रन्थ रामायणकी प्रमुख नारीपात्र तथा भगवान् श्रीरामकी अर्द्धाङ्गिनी हुन् । सीताको जन्म, जीवनकाल तथा अन्त्य रहस्यमय, रोचक, मार्मिक र अर्थपूर्ण छ । सनातन धर्मअन्तर्गतका धार्मिक ग्रन्थ र हाम्रो आध्यात्मिक इतिहासले लोकहीतका लागि ईश्वरले अवतार ग्रहण गर्दा उनको सहयोग गर्न उनका पार्षद र शक्ति पनि अवतरित भएका छन् । यसरी एकातिर भगवान् आफ्नो प्रयोजन सिद्ध गर्न विभिन्न लीला गर्नुहुन्छ भने उनको लीलाचरित्रमा उनकी शक्ति महामायाले पनि सहयोगीको भूमिका निर्वाह गरी एउटा आदर्श स्थापित गर्ने गर्दछिन् । माता सीताको अवतरण पनि यस धराधामलाई दुष्ट, क्रूर र दुराचारी शासक रावण र उसका मतियारहरूको सफाया गर्ने कारण बनेको स्पष्ट हुन्छ । यद्यपि सीताको जीवनकालमा उनले अनेकानेक भौतिक दुःख, कष्ट र कठिनाइको सामना गर्नुपरेको थियो ।

सीताका मातापिता को हुन् ? भन्ने विषयमा मतमतान्तर छ । सीता शब्दको अर्थ जोत्दा जमीनमा परेको हलोको डोब, जोतिएको जमीन, हलोको फालीबाट धर्तीमा निर्मित रेखा आदि हुन्छ । उनको जन्म सन्दर्भमा उल्लेख गरिने कथा पनि यस्तै रहेको पाइन्छ । एक पटक राजर्षि जनकको राज्य मिथिलामा लामो समयसम्म पानी परेन, खडेरीले आक्रान्त भएका जनतालाई राहत दिन राजा स्वयंले यज्ञ गरी हलो जोतेमा पानी पर्छ भनी ज्योतिषी र पण्डितहरूले बताएपछि राजा हलो जोत्न तैयार भए । यस उक्त यज्ञमा राजर्षि जनकले हलो जोत्दा त्यही भूमिबाट सीता प्रकट भएको कथा विभिन्न धर्म ग्रन्थहरूमा उल्लेख छ ।

सीताको जन्मसम्बन्धमा प्राप्त वृत्तान्तहरूमा मतैक्य छैन । विभिन्न पुराणहरूमा भिन्नभिन्न प्रकारले यस प्रसङ्गलाई उल्लेख गरिएको पाइन्छ । तल केही प्रसङ्ग र आख्यानहरू उल्लेख गरिएको छ :-

१) देवी भागवतमा लेखिएअनुसार लङ्काधिपति रावणको विवाह मय दानवकी पुत्री मन्दोदरीसित भएको थियो । मन्दोदरी गर्भवती भएपछि ज्योतिषीहरूले उनीबाट जन्मने शिशुका बारेमा फलादेश गर्दा शिशुको जन्मपछि रावणको वंश नै समाप्त हुने भविष्यवाणि गरेको हुँदा उसले आफ्नो पहिलो सन्तान (कन्या) लाई सन्दुकमा बन्द गरेर धर्तीमा गाडिदिएको थियो । तिनै कन्यालाई पछि राजा जनकले प्राप्त गरेका हुन् र तिनै सीता थिईन् । अद्भूत रामायणमा मन्दोदरीको उक्त गर्भधारण गर्नुपूर्वको आख्यानसमेत उल्लेख गरी सीताको जन्मवृत्तान्तको यसै प्रसङ्गलाई पुष्टि गरिएको छ । अद्भूत रामायणमा उल्लेख गरिएअनुसार त्यतिखेर रावणले असाध्य अत्याचारपूर्वक शासन गरेको थियो । ऊ धर्माचरण गर्ने सज्जन देव, यक्ष, गन्धर्व, किन्नर र मनुष्यलगायत ऋषिमुनि र साधुसन्तहरूलाई निकै सास्ती दिने गर्दथ्यो र आश्रममा बसेर तपस्यारत रहेका ऋषिमुनि र तपस्वीका शरीरमा बाणले घोच्दै रगत झिकेर एउटा घैँटो भरेर राख्ने गर्दथ्यो । त्यसै कालखण्डमा गृत्समद नाम गरेका कुनै ऋषि आफ्नो आश्रममा तपस्या गरी बस्दथे । उनी कुशको अग्रभागबाट निस्किएको दूध घैँटामा जम्मा पार्ने र त्यसलाई पान गर्ने गर्थे । रावणले यो कुरो चाल पायो र उक्त कुशाग्रबाट सङ्कलित दूधको औषधीय महत्त्व थाहा पाई त्यो घैँटो चोरी दूध जति आफ्नो रगतको घैँटामा भरेर उसले लङ्का लिएर गएको थियो । रावणका अधार्मिक र क्रूर व्यवहारबाट दिक्क मानेकी मन्दोदरीले आत्महत्याको उद्देश्यले त्यही रगत मिसिएको दूध खाइदिइन् । उनी मर्न त मरिनन्, तर त्यसबाट उनमा गर्भ रहन गयो । उक्त गर्भ नै रावण र मन्दोदरीको पहिलो सन्तानका रूपमा जन्मिएको थियो, जुन रावण र मन्दोदरीले त्यागेका थिए ।

आनन्द रामायणमा पनि रावणकी छोरीकै रूपमा सीताको वर्णन गरिएको छ । तर त्यहाँ रहेको प्रसङ्ग अध्यात्म रामायणभन्दा फरक छ । आनन्द रामायणको जन्म प्रसङ्गमा कुनै पद्माक्षर नामका राजाबाट प्रसन्न भएका भगवान् विष्णुले उसलाई एउटा महालिङ्ग उपहारका रूपमा प्रदान गर्नुभयो । उक्त महालिङ्गको उपासनाबाट उनले एउटी पद्मा नामकी पुत्री प्राप्त गरे । ती लक्ष्मीको अंशस्वरूप उत्त्पत्ति भएकी थिईन् । उमेर पुगेपछि राजाले राजकुमारी पद्माको विवाह गर्ने उद्देश्यले स्वयंवरको आह्वान गरे । तर पद्मा भगवान् विष्णुलाई नै पतिका रूपमा प्राप्त गर्न चाहन्थिन् । स्वयंवरमा उपस्थित भएका मनुष्य र राक्षसकुलका राजाहरू एकआपसमा लडाइँ गर्दै कोलाहल मच्चाउन थाले । पद्माले त्यसै कोलाहलमय अवसरमा स्वयंवरका लागि तैयार पारिएको अग्निकुण्डमा प्रवेश गरी विलीन भईन् । अर्को जन्ममा उक्त अग्निकुण्डबाटै वेदवती नामकी सुन्दर स्त्रीका रूपमा उनी अवतीर्ण भईन् । पूवस्मृति रहेकाले विष्णुलाई वरका रूपमा प्राप्त गर्न फेरि पनि तपस्यारत रहिन् । निरन्तरको तपस्याबाट उनको सौन्दर्य र आभामा विशेष आकर्षण देखिन्थ्यो । एक पटक रावण त्यस आश्रममा आइपुग्यो । वेदवतीको सौन्दर्यमा ऊ लट्ठ भयो र उनका इच्छा र भावनाको वेवास्ता गर्दै बलात्कार गर्न उद्यत भयो । रावणको कुकृत्यबाट जोगिन वेदवतीले पुनः आफूलाई यज्ञकुण्डभित्र अलप बनाईन् । अलप हुनुअघि वेदवतीले रावणलाई श्राप दिएकी थिईन् अरे - अर्को जन्ममा म तेरी छोरी भएर जन्मने छु र तेरो वंशलाई समूल नाश गर्ने कारण बन्नेछु । कालान्तरमा तिनै वेदवती मन्दोदरीकी छोरीका रूपमा प्रकट भएकी थिईन् । आनन्द रामायणमा राजा जनकले हलो जोत्दा भेटिएको प्रसङ्ग भने उल्लेख गरिएको छैन । त्यहाँ जमिनमुनि गाडिएको उक्त सन्दुक मिथिला भूमिका एक जना ब्राह्मणले फेला पारी राजा जनकलाई जिम्मा दिएका थिए र त्यसभित्र कन्या भएकीले राजा जनकबाट उनको पालनपोषण भएको हो भनिएको छ ।

तमिल भाषामा लेखिएको कम्ब रामायणमा सीताका मातापिताका बारेमा फरक प्रसङ्ग छ । त्यहाँ शीरध्वज (जनक) का भाइ कुशध्वजकी छोरी वेदवतीले रावणको अपमानका कारण आगामा होमिई खरानी हुनु परेको थियो र त्यही खरानीबाट वेदवतीले सीताको अवतार लिएकी हुन् भनिएको छ । यस कथाअनुसार सीता जनककी आफ्नै छोरी नभएर भाइकी छोरी भतिजी थिईन् भन्ने बुझिन्छ । सीताको जन्म र उनका मातापिताका बारेमा किसिमकिसिमका दृष्टान्त र कथाप्रसङ्ग प्राप्त हुन्छन् । आख्यान र कथोपक्रमको क्रम नमिले पनि प्रायशः ती सबैको मूल कथ्य यी माथि उल्लेख गरिएका विषयवस्तुसँगै कुनै न कुनै रूपमा मेल खाएको देखिन्छ ।

यसरी जगज्जननी सीताको जन्मसम्बन्धमा अनेकानेक किंवदन्ती र कथाहरू प्राप्त हुने भएकाले यसै हो भनी निर्क्यौल गर्न गाह्रो छ । यद्यपि जनकपुरसँगको उनको सम्बन्ध भने अकाट्य जस्तै देखिन्छ । नेपालका राष्ट्रिय विभूतिमध्ये एक रहेका जनकको वास्तविक नाम शिरध्वज हो । उनकी पत्नीको नाम सुनयना हो । उनी राजा ह्रस्वरोमा जनकका पुत्र थिए । वशिष्ठ ऋषिको श्रापले मरेका राजा निमिको शव मन्थन गर्दा 'मिथि' जन्मिएका र उनको राज्य मिथिला बनेको उल्लेख छ । रामायण र याज्ञवल्क्य स्मृतिमा राजा मिथिको राज्य भएकाले देशको नाम मिथिला रहेको प्रसङ्ग छ भने मत्स्यपुराणमा चाहिँ मिथिल नाम गरेका ऋषिको नामबाट मिथिला बनेको भनी लेखिएको छ । मिथिलाका राजाहरू वंशपरम्परादेखि नै जनक पदबाट विभूषित थिए, अतः जनकपुरका प्रत्येक राजाहरूले आफ्नो नामका सट्टामा जनक भन्न रुचाउँदथे । अतः नाम शिरध्वज भए पनि यिनलाई जनक भनिएको हो । जनककी छोरी भएकी नाताले सीताको अर्को नाम जानकी हो। मिथिलालाई विदेह पनि भनिने भएकाले विदेहकी छोरीको अर्थमा सीताको नाम वैदेही पनि छ।

जन्म नदिए पनि सीताका पालनपोषण गर्ने पिता राजा जनक र माता सुनयना हुन् । सीतामा सानैदेखि विलक्षण प्रतिभा थियो । निकै बलिया र शूरवीरले पनि सजिलै उचाल्न नसकिने शिवधनुलाई उनी पूजा कोठाको बढारकुँडार र सरसफाइ गर्ने क्रममा सजिलै वर, पर राख्ने गर्थिन्। यही शक्ति देखेर नै जनकले शिवधनुमा ताँदो चढाउन सक्नेलाई छोरी दिने वाचा गरेका हुन्। स्वयम्बरका बेलामा देशदेशावरबाट अनेक राजामहाराजा आए । रावण पनि आएको थियो तर उसले शिवधनु हल्लाउनसमेत सकेन। अयोध्याबाट आएका श्रीरामचन्द्रले उचाल्नासाथ उक्त धनु भाँचिन पुग्यो र धुमधामसाथ श्रीराम र सीताको शुभविवाह सम्पन्न भयो । उर्मिला,  माण्डवी र श्रुतकीर्ति सीताका काकाका छोरीहरू थिए । यिनको बिहे पनि श्रीरामचन्द्रका भाइहरू क्रमशः लक्ष्मण, भरत र शत्रुघ्नसँग भएको थियो । माइतीमा जस्तै घरमा पनि सीताले सबैको मन जितेकी थिइन् ।

रानी केकैयीले आफ्ना दुईवटा वचनका बदलामा छोरो भरतलाई अयोध्याको राजगद्दी र सौता कौशल्याका छोरा रामचन्द्रलाई वनवास दिनुपर्ने अडान पतिसामु राखेपछि आफ्ना पिता दशरथको आज्ञा अनुसार श्रीराम १४ वर्षका लागि वनतर्फ प्रस्थान गर्न आँटेका हुन्छन् । पति वन जाँदा आँफू भोगविलास र सुखसयलले युक्त राजमहलमा नबस्ने भनी जिद्दी गर्दै सीता पनि श्रीरामसँगै वनवास प्रस्थान गरिन् । दाजुभाउजुलाई लक्ष्मणले पनि साथ दिन्छन्, उनी पनि श्रीराम र सीताका साथमा वनवासमा जान्छन् । अत्रि ऋषिका आश्रममा हुँदा सीताले सती अनुसूयाबाट पातिव्रत्य धर्मको उपदेश प्राप्त गर्छिन् ।

वनवासका क्रममा पञ्चवटी भन्ने स्थानमा पुगेका वेला जोगीको भेष गरी रावण वनमा आउँछ र श्रीराम र लक्ष्मणलाई झुक्याएर सीतालाई हरण गरी लङ्का पुर्याई अशोक वाटिकामा कडा पहराका साथमा राख्छ । उसले सीताको मन जित्न र उनलाई पत्नी बनाउन अनेक तिगडम चाल्न थाल्छ, तर सीताको सतीत्व डगमगाउन सक्दैन । त्यहाँ रावणपत्नी मन्दोदरी र त्रिजटाको नरम बोली र व्यवहार पाउँदा उनलाई राहत हुन्छ । यता सीताको खोजीमा रहेका श्रीरामले वानरराज सुग्रीवसँग मितेरी गाँसी वाँदर सेना तैयार गर्छन् । रामद्वारा पठाइएका दूत हनुमान् लङ्का पुगी सीताको अवस्थितिका बारेमा सूचना लिई आउँछन् । त्यसपछि रामको सेना समुद्र तरी लङ्कामा पुगेपछि भीषण युद्ध हुन्छ । सन्त स्वभावका विभीषणबाहेक मेघनाद,  कुम्भकर्ण,  रावण आदि सबै दुष्ट मारिन्छन् । सीता रावणको कब्जामा रहेकीले रामले सहजै स्वीकार गर्दैनन् । उनी अग्निपरीक्षाद्वारा निष्कलङ्क ठहरिएपछि पति श्रीरामका साथ पुष्पक विमानमा बसी अयोध्या पुग्छिन् । 

समय बित्दै जाँदा सीता गर्भवती हुन्छिन् । फेरि धोबीले बात लाउँछ र रामले उनलाई त्याग्ने विचार गर्दछन् । यसरी लामो समय वनबासमा कष्टपूर्ण जीवन बिताएकी सीताले किशोरावस्थामा अनजानवश भएको त्रुटि निवारणका लागि फेरि वनवास जानुपर्छ । पछिल्लो पटक उनको वनवासको कारणका प्रसङ्गमा उनको किशोरअवस्थासँग जोडिएको एउटा किंवदन्ती छ । सीताको स्वयंवरको घोषणा भएपछि एक दिन सीता जनकपुरको उद्यानमा एउटा रुखमुनि खेलिरहेका बेला एक जोडी सुँगाका भालेपोथी एकआपसमा भलाकुसारी गर्दै सीताकै विषयमा कुराकानी गर्दैथिए, जुन सीताले चाख मानी मानी सुनीरहेकी थिईन् । सुँगाको भाले आफ्नी पोथीलाई सुनाउँदै थियो - प्रिये राजकुमारी जानकी त माता लक्ष्मीकी अवतार हुन् । यिनको विवाह भगवान् विष्णुको मनुष्य अवतार अयोध्यापति दरशरथका पुत्र श्रीरामसँग हुनेछ । सुँगाका कुरा सुनेर सीता छक्क परिन् र आफ्ना सखीहरूलाई ती सुँगाका जोडीलाई समातेर लिईआउन अह्राईन् । साथीहरूले सुँगाको जोडीलाई समात्ने प्रयास गरे, भाले सुँगा तुरुन्त उडेर भाग्यो तर गर्भवती भएका कारण पोथी सुँगा छिट्टो भाग्न सकिन र सीताका सँगीहरूले त्यसलाई समातेर सीतालाई जिम्मा लाए । त्यसपछि सीताले सुँगासित रिसाउँदै भनिन् - राम भनेको को हो ?  वुवाले मेरो विवाह शिवधनुष चलाउन सक्ने पुरुषसित गरिदिने निश्चय गरेका छन्, तिमीहरू जाबो पन्छी भएर मेरो विवाह हुने पुरुषको खोजीनीति गर्छौ । उनले यति भन्नासाथ भाले सुँगा आएर आफ्नी पत्नी गर्भवती छ, त्यसैले तपार्इंका पन्जाले समातिंदा उसलाई अत्यन्त कष्ट भइरहेको छ । उसलाई छाडिदिनु हवस् भनी बिन्ती गर्न थाल्यो । तर सीताले उक्त पोथीलाई नछाडेर उडेर जाने पो हो कि भन्दै झन् कसेर समाईन् । कष्ट सहन नसकेर उक्त पोथी सुँगाको मृत्यु भयो । त्यसपछि भाले सुँगाले सीतालाई गर्भवती अवस्थामा पतिसँग विछोड हुनुपरोस् भनी श्राप दियो। त्यही सुँगाको जोडीको पछि गएर अयोध्यामा धोबीका पतिपत्नीका रूपमा पुनर्जन्म भएको थियो ।

लोकापवाद भएकाले श्रीरामले सीतालाई पुनः वनबास पठाउँछन् । गर्भवती सीतालाई महर्षि वाल्मीकिको आश्रय प्राप्त हुन्छ । यहीँ उनले लव र कुश नामका दुईवटा छोरा जन्माउँछिन् । रामले अश्वमेध यज्ञ गर्दा घोडा समाउने बालक यिनै हुन् । सीताको आज्ञा पाएपछि मात्र घोडा छाड्छन् । दरबारमा यी बालकले रामायण सुनाउँदा राम विह्वल हुनपुग्छन् र ती दुई भाइ आफ्ना छोरा भएको ज्ञान भएपछि सीताको खोजीमा दौडन्छन् । वाल्मीकिको आश्रममा पुगेर श्रीरामले सीतालाई अयोध्या फर्किन आग्रह गर्दछन्, तर यस पटक पनि लोकका निमित्त उनले पुनः अग्निपरीक्षा पार गर्नुपर्ने सर्त पनि राख्छन् । यसरी पटकपटक सतीत्वको परीक्षा दिनुपर्ने कुरा सुनेर उनी द्रवित हुन्छिन् र धर्तीमातासामु आफ्नो सतीत्व र पतिव्रता साँचो भए आश्रय दिनु भनी पुकार गर्दछिन् । तुरुन्त धर्ती फाट्छ अनि सीता धर्तीमाताको शरणमा सधैँ सधैँका लागि विलीन हुन पुग्छिन् । यसरी धर्तीबाट जीवनलीला थालेकी सीताको धर्तीभित्रै समाहित भई लीला समाप्त हुन्छ । यसरी दुःख, पीडा, सहनशीलता, पतिभक्ति, मर्यादा, मातृत्व र आदर्शको प्रतिमूर्ति बनेकी सीताको समग्र जीवन दुःख, कष्ट, पीडा र करुणाले भरिपूर्ण रहेको पाइन्छ, तलका बुँदाहरूले पनि सीताको चारित्रिक वैशिष्ट्यलाई उजागर गर्दछन् :- 

१ - सीता पतिव्रता नारीकी प्रतिनिधि चरित्र हुन् । उनी सपनामा समेत श्रीरामबाहेक कुनै पुरुषको दर्शन गर्ने इच्छा राख्दिनन् । अपहरित भई लङ्कामा बस्दासमेत सिन्काको साँध हुनुपर्छ भन्ने मान्यतालाई अनुसरण गर्दछिन् ।

२ - एउटी ममतामयी र संस्कारी माताको भूमिकालाई उनले प्रतिबद्धतापूर्वक पालना गरेकी छन् । लव र कुशलाई लालनपालन गरी हुर्काएर तिनको सुसंस्कृत व्यक्तित्व निर्माण गरी जगजाहेर गर्ने माता सीता नै हुन् ।

३ - उनी त्यागकी प्रतिमूर्ति थिईन्, त्यसैले उनले अग्निमा प्रवेश गरी आफ्नो पवित्रता प्रमाणित गर्ने हिम्मत देखाएकी थिईन् ।

४ - पति र आफूलाई वनवास पठाउने सौतेनी सासू कैकेयीप्रति उनले कहिल्यै दुःखेसो गर्ने वा वैमनस्यभाव दर्शाउने काम गरिनन् र एउटा कर्तव्यनिष्ठ गृहिणी र बुहारीको परिचय प्रदान गरिन् ।

त्यसैले नेपाली संस्कार र सनातन परम्परामा कुनै नवविवाहिता नारीलाई आदर्श र असल बन्न राम र सीताको दाम्पत्यसम्बन्धको उपमा दिई आशीर्वाद दिने चलन चलेको हो भन्दा फरक पर्दैन । धैर्य, संयम र विवेककी प्रतिमूर्ति सहनशीला सीताको यो आदर्शकथा संसारभरि प्रसिद्ध छ । पुराणको सन्दर्भमा हेर्ने हो भने उनी बराबरकी आदर्श नारी कोही पनि छैन । त्याग, परिश्रम र सच्चरित्रताकै कारण हुनुपर्छ, उनलाई भगवतीको दर्जा प्राप्त छ । उनको नामस्मरण गर्नु मात्रले पनि जीवन धन्य हुने, परलोक सप्रने जनविश्वास छ । जगज्जननीको श्रद्धा, विश्वास र भरोसा हासिल गर्न सफल नारीव्यक्तित्व सीता नेपाल भूमिकी पुत्री हुनु हामी सबैका लागि आस्था, श्रद्धा र गौरवको विषय हो ।

Saturday, April 21, 2018

गङ्गा उत्पत्तिको पौराणिक कथा


गङ्गाको उत्पत्तिसम्बद्ध मुख्य कथा वाल्मीकिले रामायणमा उल्लेख गरेका छन् । श्रीरामको जिज्ञासा शान्त पार्दै ऋषि विश्वामित्रले यो आख्यान सुनाएका हुन् । विश्वामित्रले गङ्गाको जन्मवृत्तान्त सुनाउँदै श्रीरामलाई बताए - 'पर्वतराज हिमालयका दुईवटी अत्यन्त रूपवती, लावण्यमयी एवं सर्वगुण सम्पन्न छोरीहरू थिए । सुमेरु पर्वतकी छोरी मैना यी दुबै छोरीकी आमा थिइन् । हिमालयकी जेठी छोरीको नाम गङ्गा र कान्छी छोरीको नाम उमा थियो । गङ्गा अत्यन्त प्रभावशाली र असाधारण दैवी गुणहरूबाट सम्पन्न थिइन् । उनी कुनै बन्धनलाई स्वीकार गर्दिन थिइन् । उनको स्वच्छन्द प्रवृत्ति थियो । उनको यो असामान्य बानीब्यहोरा र असाधारण प्रतिभाबाट प्रभावित भएर देवताहरूले उनलाई स्वर्गमा लिई जाने विचार गरे र हिमालयसँग स्वीकृति लिई गङ्गालाई पृथ्वीबाट स्वर्गमा लगियो । पर्वतराज हिमालयकी कान्छी छोरी उमाको तपस्वी स्वभाव थियो । उनले कठोर र असाधारण तपस्या गरी भगवान् महादेवलाई पतिका रूपमा प्राप्त गरिन् ।'

विश्वामित्रका यी कुरा सुनेपछि श्रीरामले विनम्र भई आफ्ना जिज्ञासा राखे - 'हे भगवन् ! गङ्गालाई पृथ्वीलोकबाट सुरलोकमा लगेपछि पुनः उनी कसरी यहाँ फिर्ता आइन् त ? अनि उनलाई किन त्रिपथगा भनिएको हो ? मेरा उत्कण्ठालाई शान्त बनाउनु होस् ।' ऋषि विश्वामित्रले बताउँदा भए - 'महादेवको विवाह त उमाका साथमा सम्पन्न भयो, तर सयवर्षसम्म उनीहरूबाट कुनै सन्तानको जन्म भएको थिएन । एक पटक शिवले सन्तान उत्पन्न गर्ने विचार गरे । ब्रह्मा र देवताहरूमा पनि शिवेच्छाको जानकारी भयो । आशुतोष भगवान् शिवको वीर्यतेजलाई कसले सहन गर्न सक्ला भन्ने विषयमा देवलोकमा चियोचर्चो हुनथाल्यो । यसै प्रसङ्गमा अग्निले शिवको वीर्यको तेजलाई धारण गर्ने इच्छा व्यक्त गरे । परिणामतः अग्निसमान तेजस्वी शिवपुत्र कार्तिकेयको जन्म भयो । देवताहरूको यस षड्यन्त्रका कारण उमाबाट सन्तानको उत्पत्ति हुनमा विलम्ब र बाधा पुग्यो । उनी देवताहरूसँग क्रुद्ध भईन् र देवताहरूलाई अबउप्रान्त तिनले पनि सन्तान उत्पादन गर्न नसकून् भनी श्राप दिइन् । यसबीच सुरलोकमा विचरण गर्दै गरेकी गङ्गाका साथमा उमाको भेट भयो । गङ्गाले लामो समयदेखि स्वर्गमा बस्नु परेकाले नियास्रो लागेको व्यथा पोख्दै उमालाई भनिन् - 'मलाई मातृभूमि पृथ्वीमा फिर्ता जाने इच्छा छ' । उमाले दिदी गङ्गालाई कुनै उपाय गरी उनलाई जन्मभूमिमा लिएर जाने प्रबन्ध गर्ने आश्वासन दिइन् ।

विश्वामित्रले कथाप्रसङ्गलाई अघि बढाउँदै पुनः भन्नथाले - 'हे राम ! तिम्रो जन्मभूमि अयोध्यापुरीमा धेरै पहिले सगर नामका एकजना राजा थिए । सुरुमा उनका सन्तान थिएनन् । सगरकी पटरानी केशिनी विदर्भ प्रान्तका राजाकी छोरी थिइन्, उनी सुन्दर, धर्मात्मा र सत्यपरायण थिइन् । सगरकी अर्की रानी पनि थिइन् । तिनको नाम सुमति थियो । उनी अरिष्टनेमिकी छोरी तथा गरुडकी बहिनी थिइन् । दुबै रानीलाई साथमा लिई राजा सगर हिमालयमा रहेको भृगुप्रस्रवण नामक प्रान्तमा गएर तपस्या गर्न थाले । उनको तपस्याबाट प्रसन्न भएर महर्षि भृगुले उनलाई धेरै भाइ पुत्रहरू उत्पन्न हुने वरदान दिए, उनको सर्त थियो - दुबैमध्ये एउटी रानीबाट वंशवृद्धि हुने एउटामात्र पुत्र जन्मने छ, अनि अर्की रानीले बल र वीर्यबाट सुसम्पन्न साठी हजार पुत्र जन्मने छन् । ऋषि भृगुले भने - अब कुन पत्नीले एउटामात्र पुत्र पाउने र कुनले साठी हजार पुत्र उत्पादन गर्ने भन्ने निर्णय तपार्इंहरूबाट नै हुनुपर्छ । अन्ततः वंश बढाउने छोराका निमित्त जेठी रानी केशिनी तैयार भइन् भने कान्छी सुमतिले साठी हजार छोरा पाउने इच्छा व्यक्त गरिन् ।

समुचित समय आएपछि रानी केशिनीले असमञ्जस नाम गरेको छोरो जन्माइन् भने रानी सुमतिको गर्भबाट एउटा ढुङ्ग्रोजस्तो डिम्ब उत्पन्न भयो । त्यसलाई फुटाउँदा त्यसबाट ससाना आकारका साठी हजार मानवाकृति उत्पन्न भए । राजाले ती सबै लघु आकारका मानवाकृतिलाई एउटा घिउको घडामा राखी यत्नपूर्वक पालनपोषण गरे । कालचक्र बित्दै जाँदा ती सबै पूर्णाकृतिका मानव बने । दुबै रानीले पाएका पुत्रहरू युवावयमा प्रवेश गरे । सगरको जेठो छोरो असमञ्जस दुराचारी स्वभावको थियो । ऊ नगरका बालकहरूलाई सरयू नदीमा मिल्काउँथ्यो र डुब्दै गरेको दृश्य हेरेर आनन्द मान्ने गर्दथ्यो । पुत्रको यस्तो दुराचारी प्रवृत्ति देखेर दुःखित भएका सगरले उसलाई देशनिकाला गरिदिए । असमञ्जसका अंशुमान् नाम गरेका एकजना छोरा थिए । अंशुमान् अत्यन्त सदाचारी र पराक्रमी थिए । यसै बीच सगरले अश्वमेध यज्ञ सम्पादन गर्ने विचार गरे ।

राजा सगरले हिमालय एवं विन्ध्याचलका बीचको हरित भूमिमा एउटा विशाल यज्ञ मण्डप निर्माण गराए । त्यसपछि अश्वमेघ यज्ञका निमित्त श्यामकर्ण घोडालाई मन्त्रिएर छाडियो । त्यसको रक्षाका निमित्त राजाले आफ्ना पराक्रमी नाति अंशुमानको नेतृत्वमा सेनालाई घोडाका पछिपछि जाने आदेश दिए । अश्वमेध यज्ञ सफल भएमा आफ्नो पद र प्रतिष्ठामा आँच आउँछ कि भन्ने आशङ्काले स्वर्गका राजा इन्द्रले एउटा राक्षसको रूप धारण गरी त्यस घोडाको चोरी गरे । घोडा हराएको सूचना पाएपछि राजा सगरले आफ्ना साठी हजार पुत्रहरूलाई घोडा पत्ता लगाई फिर्ता ल्याउन र चोरी गर्नेलाई दण्डित गर्न आदेश दिए । सगरपुत्रहरूले सारा भूमण्डलमा खोजी गरे, तर घोडा भेटिएन । कतै यसलाई भूमिगत पो बनाइयो कि भन्ने शङ्काले तिनले समस्त पृथ्वीलाई खन्न र खोस्रन थाले । परिणामतः पृथ्वीमा ठूलठूला खाडल र खोपिल्टा बन्न गए । पछि ती खाल्डामा पानीको दह बन्दा तिनको नाम समुद्र रहन गयो । सगरका पुत्रले खनेर खाडल बनेकाले समुद्रको नाम सागर पनि रहन गयो । यसरी पृथ्वीमा जथाभावी खन्दा र खोस्रँदा त्यहाँ रहेका धेरै मनुष्य र अन्य प्राणिको मृत्यु भएको थियो । पृथ्वीलाई खन्दै जाँदा सगरका छोराहरू पाताललोकमा पुगे । तिनका यस्ता नृशंस कृत्य देखेर देवताहरूले ब्रह्माजीसमक्ष गुनासो गरे । ब्रह्माले 'वास्तव यी राजकुमारहरूले क्रोध र मातमा अन्धो भएर यस्ता कृत्य गरिरहेका छन् । पृथ्वीको रक्षाको अभिभारा महर्षि कपिलमुनिमा रहेकाले अब उनले नै केही उपाय गरी यिनलाई रोक्नेछन्' भनी देवताहरूलाई आश्वस्त तुल्याए । समस्त पृथ्वीलाई खन्दा पनि उक्त घोडा र त्यसलाई हरण गर्ने व्यक्तिको पत्तो लागेन । निराश भई ती अयोध्यापुरीमा फर्किए र खोजी अभियानका सारा विवरण सुनाए । यज्ञ सम्पन्न गर्न विघ्न आएकाले सगरले रिसले चुर्मुरिंदै छोराहरूलाई पुनः आदेश दिए - अब अश्वमेधको घोडा खोज्न पाताललोकमा प्रवेश गर । अब राजकुमारहरूले पातालतर्फ प्रस्थान गरे । घोडाको खोजीमा तिनीहरू कपिल मुनिको आश्रममा पुगे । ऋषि समाधिमा आँखा चिम्लिएर बसेका देखिन्थे, तिनकै आश्रमछेउमा यज्ञको घोडालाई किलोमा बाधिएको पनि देखियो ।  राजकुमारहरूले कपिल मुनिलाई नै घोडाको चोर ठाने । सुरुमा तिनले ऋषिलाई अनेक किसिमले गाली गरे, हप्काए । तर आँखा चिम्लिएर ध्यानमा बसेका ऋषिले तिनका दुर्वचनहरू सुन्नु परेन । आफूहरूले नानाभाँतीले गालीगलौज गर्दा समेत मुनिले वास्ता नगरेको ठानी सगरपुत्रहरू उनलाई मार्न भनी तम्सिए । सगरपुत्रका यी कुकृत्यले कपिलदेवको समाधि भङ्ग भयो । उनले क्रुद्ध भई आफ्ना योगबलले ती राजकुमारहरूलाई डढाएर खरानी बनाई दिए ।

निकै दिनसम्म महाराज सगरले घोडा खोज्न गएका छोराहरूका बारेमा कुनै सूचना र अत्तोपत्तो पाएनन् । एक दिन उनले नाति अंशुमानलाई बोलाएर काकाहरू र यज्ञको घोडाको खोजी गर्नु भनी अह्राए । महावीर अंशुमान् शस्त्रास्त्रबाट सुसज्जित भई काकाहरूले खनी खोस्री तैयार गरेको बाटैबाटो पाताललोकमा पुगे । उनले बाटामा भेटिएका धार्मिक स्थल, आश्रम, तपस्वीजन सबैलाई यथायोग्य पूजादि सम्मान गर्दै सोधखोज गरी त्यस ठाउँमा पुगे, जहाँ उनका काकाहरूको मृतशरीरको खरानी र यज्ञको घोडा चरिरहेको थियो । उनलाई आफ्ना बलशाली काकाहरूको खरानी देख्दा असाध्यै दुःख लाग्यो र तर्पण गर्नुपर्यो भनी विचार गर्दा त्यहाँ कतै पनि पानीको स्रोत फेला पार्न सकेनन् । अंशुमानले त्यसैवेला कतैको यात्रामा गगनतलमा उडीरहेका गरुडलाई देखे । गरुड तिनै मृत काकाहरूका मामा थिए । उनले गरुडलाई सारा वृत्तान्त सुनाउँदै मेरा काकाहरूको मृत्युको कारण के हो र अब काकाहरूलाई तिलाञ्जलि प्रदान गर्नका निमित्त नजिकै कुनै पानीको स्रोत भए बताउन अनुराध गरे । गरुडले उनका काकाहरूले कपिल मुनिप्रति गरेको दुर्व्यवहारका कारण प्राण गुमाउनु परेको कुरा बताए र यिनीहरू अलौकिक शक्ति भएका दिव्यपुरुषद्वारा भस्म भएका हुन्, त्यसैले लौकिक जलले तर्पण गरेर यिनीहरूको मुक्ति हुँदैन भन्ने कुरा पनि सुनाए । अंशुमानले काकाहरूको मुक्तिको उपाय बताइदिन पुनः अनुरोध गरेपछि गरुडले केवल हिमालयकी ज्येष्ठ पुत्री गङ्गाको जलको स्पर्शबाटमात्र तिम्रा काकाहरूको उद्धार हुनसक्ने कुरो बताउँदै अहिले तिमी घोडा लिएर जाऊ र आफ्ना पितामहको यज्ञ पूर्ण गर भनी आग्रह पनि गर्दा भए । गरुडको आज्ञानुसार अंशुमान् घोडाका साथमा अयोध्या फर्किए र पितामहलाई समस्त वृत्तान्त सुनाए । महाराज सगरले दुःखित हुँदै यज्ञ पूर्ण गरे । सगर आफ्ना मृत पुत्रहरूको उद्धारका लागि चिन्तित थिए, तर जीवनकालभरि उनले गङ्गालाई स्वर्गबाट पृथ्वीतलमा झार्ने कुनै उपाय पत्ता लगाउन सकेनन् ।

केही बेर विश्राम गरी पुनः ऋषि विश्वामित्र भन्न थाले - महाराज सगरको  देहान्तपछि अंशुमानले न्यायपूर्वक शासनभार सम्हाले । उनको दिलीप नाम गरेको छोरो भयो । छोरो वयस्क भएपछि उसलाई राज्यभार सुम्पिएर उनी स्वर्गमा रहेकी गङ्गालाई प्रसन्न तुल्याउन हिमालयका कन्दरामा गई तपस्या गर्नथाले । उनले आजीवन तपस्या गर्दा पनि उनी सफल हुन सकेनन् । राजा दिलीपको भगीरथ नामको एउटा धर्मनिष्ठ पुत्र जन्मियो । दिलीपले पनि भगीरथ ठूलो भएपछि उसलाई राज्यभार सुम्पिएर  पिताको प्रयत्नलाई सार्थक बनाउन तपस्या गर्न थाले । तर उनले पनि चिताएको फल पाउन सकेनन् । गङ्गालाई पृथ्वीतलमा ल्याई पितृहरूको उद्धार गर्ने इच्छा भगीरथमा पनि थियो । उनी प्रजावत्सल राजा थिए, तर उनका कुनै सन्तान थिएनन् । उनले आफ्नो राज्यभार मन्त्रीहरूमा सुम्पिएर गङ्गावतरणका लागि गोकर्ण नामक तीर्थस्थलमा गई तपस्या गरे । बल्ल चारपुस्तासम्मको निरन्तर प्रयास र भगीरथको अभूतपूर्व तपस्याबाट प्रसन्न भएर ब्रह्मा उपस्थित भई वरदान प्राप्त गर्न आग्रह गर्दा भए । भगीरथले ब्रह्मासमक्ष अनुरोध गरे - हे प्रभो! यदि हजुर साँच्चिकै मसँग प्रसन्न हुनुहुन्छ भने मेरा मृत पितृहरू जो राजा सगरका पुत्र हुन्, तिनलाई गङ्गाको पावन जलको स्पर्श प्राप्त होस् र तिनको उद्धार होस् । त्यसबाहेक मलाई सन्तानप्राप्त हुने आशीर्वादसमेत प्रदान गर्नुहवस् । ब्रह्माले सन्तानप्राप्त हुने तिम्रो मनोरथ त शीघ्र पूर्ण हुनेछ, तर तिमीले मागेको पहिलो वरदान पूर्ण गर्न गाह्रो छ । कारण के हो भने स्वर्गबाट पृथ्वीमा झर्ने गङ्गाको वेग कसैले थेग्न सक्दैन । पृथ्वी भासिएर पाताललोकमा दबिने खतरा छ । गङ्गाको उक्त वेगलाई सम्हाल्न सक्ने सामर्थ्य केवल महादेवमा मात्र छ, त्यसैले पहिले महादेवको स्वीकृति लिएर आऊ, अनिमात्र गङ्गालाई तिमीले पृथ्वीमा झार्न सक्नेछौ । यति भनेर ब्रह्मा आफ्ना लोकमा जाँदा भए ।

भगीरथले नीच मारेनन्, उनी प्रयत्नरत रही रहे । अब उनले खुट्टाको बुढीऔंलामा शरीर अड्याएर उभीउभी लगातार एक वर्षसम्म शिवजीको स्तुति गरे । यस अवधिभर उनले श्वासक्रियाका लागि आवश्यक वायुमात्र ग्रहण गरे, अन्नजलादि ग्रहण गरेनन् । अन्त्यमा भगीरथको यस्तो महान् भक्तिबाट प्रसन्न भई महादेवले भगीरथलाई दर्शन दिई भन्दा भए - हे भक्तश्रेष्ठ! म तिम्रो मनोकामना पूर्ण गर्न गङ्गालाई आफ्नो शिरमा धारण गर्नेछु । यसरी भगीरथको अकाट्य प्रयासले स्वर्गमा रहेकी गङ्गाले पृथ्वीतलमा झर्नुपर्यो । उनले स्वर्गबाट सँधैंका लागि पृथ्वीमा आउन चाहेकी थिइनन् । त्यसैले उनले आफ्नो प्रचण्ड वेगले शिवलाई समेत बगाएर पाताललोक लिएर जाने विचार गरिन् । अन्ततः भयानक वेगका साथमा गङ्गा शिवको शिरमा अवतरित भइन् । गङ्गाको वेगबाटै शिवले उनको अहङ्कारलाई थाहा पाए । उनले आफ्ना जटामा नै गङ्गालाई अल्झाएर निकै वर्षसम्म अलप गराइदिए । जति कोसिस गरे पनि गङ्गा शिवजटाबाट बाहिर निस्कन असमर्थ भईन् । भगीरथ फेरि शिवजीको स्तुति गर्न थाले । भगीरथको पुनर्प्रयासबाट प्रसन्न भएका शङ्करले गङ्गाको धारालाई हिमालय पर्वतमा रहेको बिन्दुसर नाम गरेको तीर्थमा छाडिदिए । शिवजटाबाट उन्मुक्त हुनासाथ गङ्गाका धारा सात भागमा विभाजित भए । ह्लादिनी, पावनी र नलिनी नाम गरेक गङ्गाका तीन वटा धारा पूर्व दिशामा प्रवाहित भए । सुचक्षु, सीता र सिन्धु नामका तीनवटा धारा पश्चिमतर्फ लागे । सातौं धारा भगीरथको अनुसरण गर्दै पछिपछि लाग्दो भयो । भगीरथ जताजता जान्थे, गङ्गा पनि उतैउतै जान्थिन् । ठाउँठाउँमा देवता, यक्ष, किन्नर, ऋषिमुनि र सज्जनहरू गङ्गाको स्वागतार्थ उपस्थित हुने गर्दथे, जजसले गङ्गाको स्पर्श गर्ने अनुकूलता पाउँथे ती भवबन्धनबाट मुक्त हुने गर्दथे । जाँदाजाँदै गङ्गा त्यस ठाउँमा पुगिन्, जहाँ ऋषि जह्नु एउटा यज्ञको आयोजना गरिरहेका थिए ।  गङ्गाले आफ्नो वेगले उनको यज्ञशालाका सम्पूर्ण सामग्री बगाउन आँटिन्, ऋषि क्रोधित भए र उनले गङ्गाको समस्त जललाई खाइदिए । यस्तो दृश्य देखेर राजा भगीरथका साथमा उपस्थित समस्त ऋषिगण विस्मित भए र ऋषि जह्नुलाई खुसी पार्न अनेक तरिकाले स्तुति गर्नथाले । तिनको स्तुतिबाट प्रसन्न भएर जह्नु ऋषिले गङ्गालाई आफ्ना कानबाट बाहिर निकाले र गङ्गालाई आफ्नी छोरीका रूपमा स्वीकार गरे । त्यसपछि उनको नाम जाह्नवी रहन गयो । यसपछि पनि उनी भगीरथका पछि लाग्दै समुद्रसम्म पुगीन् र त्यहाँबाट सगरका पुत्रहरूको उद्धार गर्न रसातलको यात्रा गर्दी भइन् । उनको जलको स्पर्श प्राप्त गर्नासाथ कपिलमुनिको क्रोधाग्निले भस्मीभूत भएका सगरका छोराहरू निष्पाप भई मुक्त हुनपुगे । यसरी गङ्गाका तीन वटा नाम प्रसिद्ध भए - तीन वटा मार्ग अवलम्बन गरेकाले उनी त्रिपथगा नामले प्रसिद्ध भइन्, भगीरथको निरन्तरको प्रयासले अवतीर्ण भएकी हुँदा भागीरथी नाम प्रख्यात भयो र जह्नु ऋषिकी पुत्री भएकी हुँदा जाह्ववी नाम रहन गयो ।

रवि सप्तमी र आइतबारको व्रतकथा

आइतबार र सप्तमी तिथिको संयोग परेको दिनलाई रवि सप्तमी भन्ने गरिन्छ । यस दिन भगवान सूर्यनारायणको पूजा, अर्चना र व्रत सम्पादन गर्ने गरिन्छ । चराचर जगतका प्रकाशक देवता हुनाले सूर्यलाई सविता भन्ने गरिन्छ । गायत्री मन्त्र तिनै ‘सविता’ को उपासना गर्ने मन्त्र हो । सूर्य साक्षात् सृष्टिकर्ता र विधाता हुन् । उनले केवल पृथ्वी, अन्तरिक्ष र द्युलोकलाई मात्र प्रकाशित तुल्याउने काम गर्दैनन्, अपितु चराचर जगतलाई नियन्त्रण गर्ने काम पनि उनैबाट हुन्छ । यिनी समस्त देवताहरूका प्रशासक हुन् । यिनको दिनकर र भास्करादि अन्य नाम पनि छन् । यिनले सम्पूर्ण जगतलाई उज्यालो बनाउँदै धारण गर्दछन् र सबैलाई कर्म गर्न प्रेरणा प्रदान गर्दछन् । त्यसैले सूर्य सबैका लागि वन्दनीय छन् । संसारका समस्त घटनाहरू भगवान् सूर्य नारायणकै लीलाविलास हो । भगवान् सूर्यले प्रातःकालमा आफ्नो सात्विक शक्ति सञ्चरण गर्दै समस्त चराचर जगतलाई सञ्जीवनी प्रदान गरी उत्साहित र प्रफुल्ल तुल्याउँदछन् ।  यिनीबाट प्रातःकालमा प्राप्त हुने सञ्जीवनी शक्तिका कारण संसार आफ्नो कर्मसृष्टि र सिर्जनाको लीलामा जुट्दछ । प्रातःकालका सूर्यलाई सृष्टिकर्ता ब्रह्माको प्रतीक मानिन्छ ।

मध्याह्न कालमा सूर्यले आफ्नो तामसी स्वभावको प्रदर्शन गर्दछन् । आफ्ना किरणमा भएका तीक्ष्ण र प्रचण्ड प्रकाशलाई चराचर जगतमा सञ्चरण गर्दै सूर्यले आफूमा रहेको तमोगुणबाट सम्पूर्ण दैनिक कर्म सृष्टिको कालिमालाई शोषण गर्दछन् । भगवान् आदित्यले मध्याह्नकालमा आफ्ना रश्मिहरूद्वारा महेश्वर रूपमा दैनिक सृष्टिका विकारहरूलाई शोषित गरेर जगतलाई हृष्टपुष्ट, स्वस्थ र नीरोगी बनाउँदछन् । जगत् कल्याणका लागि भगवान् सूर्यको यो दैनिक विकार शोषणको लीलालाई नै भगवान् भोलेशङ्कर नीलकण्ठको हलाहल पानको प्रतीकका रूपमा लिइन्छ ।

जसरी ईश्वरले बनाएको सृष्टिलाई ईश्वर आफैंले आवश्यकतानुसार आफैंमा विलय गर्नुहुन्छ, ठीक त्यसरी नै सन्ध्याको समयमा सम्पूर्ण सृष्टिलाई दिनभरि प्रकाश र आनन्द सञ्चरण गरेर सायंकालमा अस्ताचलमा गएर आफ्नो राजसी स्वरूप प्रदर्शन गर्दछन् र सारा जगतलाई विश्रामको सन्देश प्रवाह गर्दछन् । सन्ध्याकालका सूर्यलाई क्षीरसागरमा शयन गर्नुहुने भगवान् विष्णुको स्वरूपलाई स्मरण गर्ने गरिन्छ । त्यसैले सूर्यको विशेषता बताउँदै भनिएको छ :-
उदये ब्रह्मणो रूपं मध्याह्ने तु महेश्वरः ।
अस्तकाले स्वयं विष्णुस्त्रिमूर्तिश्च दिवाकरः ।।

सूर्यको उपासनाका क्रममा सूर्यका विविध रूपको ध्यान र पूजा गर्ने प्रचलन छ, जसमा धाता, अर्यमा, मित्र, वरुण, इन्द्र, विवस्वान्, पूषा, पर्जन्य, अंशुमान्, भग, त्वष्टा, विष्णु आदि सूर्यका बाह्रवटा स्वरूपको चर्चा गरिन्छ ।


आइतबारको व्रतविधान
आइतबारको व्रत लिँदा सामान्यतया रविसप्तमीको दिनबाट वा शुक्ल पक्षको पहिलो आइतबारबाट सुरु गर्नु पर्दछ । व्रतका दिन सकेसम्म रातो कपडा पहिरनु आवश्यक छ । यो व्रत कम्तीमा एक वर्षसम्म लिन सकिन्छ । यदि कुनै कारणले एक वर्ष पूरा गर्न सकिएन भने कम्तीमा १२ वटा आइतबार चाँहि व्रत लिनै पर्दछ । व्रतालुले आइतबारका दिन घाम उदाउनुअघि नै ब्युँझनु पर्दछ । आफ्नो नित्यकर्म सिद्ध्याएर शुद्ध रातो कपडा लगाएर 'ॐ घृणि सूर्याय नमः' यस बीज मन्त्रको कम्तीमा ५ माला जाप गर्नु पर्दछ । एकै पटक जाप पूरा गर्न नसकिएममा व्रतको अवधिभरिमा भए पनि पाँच माला जाप पुर्याएको राम्रो हुन्छ । जाप गरिसकेपछि तामाको लोटी वा कलशमा चोखो जल भर्नु पर्दछ र त्यसमा मह वा चिनी, अबीर, रातो फूल, राता अक्षता, रातो चन्दन, दुबो र सर्स्युँ राख्नु पर्दछ । यसरी तैयार गरिएको जलले तुलसाको मठमा वा गमलामा पूर्व फर्किएर भगवान् सूर्य नारायणलाई निम्न मन्त्र पढ्दै अर्घ्य दिनुपर्दछ ।

एहि सूर्य सहस्रांशो तेजोराशे जगत्पते ।
अनुकम्पय मां भक्त्या गृहाणार्घ्यं दिवाकर ।।
नमः सहस्रकिरण !  सर्वव्याधिविनाशिने ।
गृहाणार्घ्यं मया दत्तं सन्ध्यया सहितो रवे ।।

अर्घ्य दिंदा तामाको लोटी वा कलशबाट खसेको जलको धाराको माझबाट सूर्यबिम्बको दर्शन गर्नुपर्दछ, प्रदक्षिणा गरेर रातो चन्दनको तिलक लगाउनु पर्दछ, यति गरिसकेपछि त्यस दिन दिनभरि उपवास गर्नु पर्दछ । सकेसम्म भोजनादि गर्नु हुँदैन । नसक्नेले फलाहार गर्नुपर्छ र फलाहार गर्दा पनि चित्त नबुझेमा गहुँका रोटी वा पुरी खान सकिन्छ । यसरी दिनभर व्रत लिएर बेलुका अग्निहोत्रादि नित्यकर्म गरेर नुन र नुनिलो चिजबाहेक अन्य सात्विक भोजन ग्रहण गर्दा हुन्छ । व्रतको समाप्ति अर्थात् अन्तिम आइतवारका दिन हवनपछि ब्राह्मण दम्पतीलाई भोजन गराई यथाशक्ति राता चिजबिज, रातै कपडा एवं दक्षिणासहित प्रसन्न तुल्याई आशिर्वाद ग्रहण गर्नु पर्दछ।

किन लिने आइतबारको व्रत ?
आयु एवं सौभाग्य वृद्धि, सबै किसिमका कामनासिद्धिका लागि तथा नेत्र रोग, कुष्ठ रोग, एवं चर्म रोग निवारणका निम्ति आइतबारको व्रत लिने गरिन्छ । विधिपूर्वक प्रत्येक आइतबारका दिन सूर्यको उपासना गर्दा दैविक, दैहिक र भौतिक तीनै किसिमका कष्टबाट छुटकारा पाइन्छ । यसरी सूर्योपासना गर्ने उपासकको सूर्यको प्रकाश जसरी नै बुद्धि प्रखर र तीव्र हुन्छ । त्यसबाहेक ज्योतिषीय अवधारणा बमोजिम जन्मकुण्डलीमा चौथो, आठौँ र बाह्रौं घरमा सूर्य रहेको अवस्थामा वा सूर्यका साथमा राहु वा केतुको युति भई ग्रहण योग अथवा पितृ दोषको सिर्जना भएमा वा जन्मकालमा औंसी, कृष्णपक्षको चतुर्दशी र शुक्लपक्षको प्रतिपदा तिथि भएमा सिर्जना हुने सूर्यको दुष्प्रभावबाट जोगिन आइतबारको व्रत लिने विधान छ।


आइतबारको व्रतकथा
कुनै गाउँमा एउटी बुढी आमै बसोबास गर्ने गर्दथिन् । तिनको नियम थियो, प्रत्येक आइतवारका दिन बिहानै स्नानादि गरी गोबरले घर लिपेर भोजन तैयार गरी भगवान् सूर्यनारायणलाई भोग लगाएरमात्र भोजनादि ग्रहण गर्ने । यस नियमको पालना गरी अनुष्ठान गरेकाले उनको घरपरिवारमा सुखसन्तोष थियो र अनेक किसिमका धनधान्य र सुखसुविधाले भरिपूर्ण थियो, उनको परिवार । भगवान् श्रीहरिको कृपाले घरमा कुनै किसिमको विघ्न वा दुःख थिएन । ती बृद्धाको घरमा गाई थिएन, त्यसैले व्रतपालना गर्न उनी छिमेकबाट गोबर ल्याउने गर्दथिन् । यो क्रम चलिरहेको थियो, केही दिन बितेपछि उनले गोबर ल्याउने घरकी छिमेकी महिलाले विचार गरिन् - यी बृद्धा सधैं मेरो घरबाट गोबर लिएर जान्छिन् र धर्मकर्म गर्छिन्, उनको घरमा सुखैसुख र आनन्द छ, त्यसैले अब म गोबर लान दिन्न, बरु आफ्नो गाईलाई घरभित्र बाँध्न थाल्छु ।

छिमेकीले गाईलाई गोठभित्र बाँधेर थुनेपछि एकाबिहानै आमैले गोबर लान पाइनन् । छिमेकी नउठुन्जेल एक पटक त पर्खिएर गोबर ल्याउने विचार पनि गरिन् । तर ईर्ष्यालु छिमेकीले कुनै हालतमा गोबर नदिने भनेपछि उनले एउटा आइतबारका दिन घर लिप्न पाइनन् । उनको सूर्योपासनाको क्रम भङ्ग भयो । उनले त्यस दिन न त भोजन नै बनाइन्, न भगवानलाई अर्पण नै गरिन् । नियमिततामा विघ्न आएकाले उनले आँफूले पनि केही खाइनन् । बरु उनले निराहार व्रत लिने प्रण गरिन् । रात पर्यो उनी भोकै सुतिन् ।  रातको समयमा सपनामा उनले भगवान् सूर्यनारायणको दर्शन पाइन् । सूर्यले उनलाई भोजन नबनाएको र भोग नलगाएको कारण सोध्नुभयो । बृद्धाले गोबरको अभावमा नित्यकर्म सम्पादन हुन नसकेको र व्रतमा विघ्न सिर्जना भएकाले आफूले त्यसो गरेको विवरण बिन्ती बिसाइन् । आफूमा अगाध श्रद्धा र भक्तिभाव राख्ने ती सरल स्वभावकी बृद्धाको अवस्था बुझेर सूर्यनारायणले आज्ञा गर्नुभयो -  'हे  माता ! म तपाईंको भक्तिभावबाट अत्यन्त प्रसन्न भएको छु, अब म तपाईंलाई एउटा यस्तो गाई दिन्छु, जसले तपाईंका समस्त इच्छाहरू पूर्ण गर्नेछ । तपाईं जसरी नै प्रत्येक आइतबारका दिन व्रत सम्पादन गर्ने प्रत्येक नरनारीसँग म अत्यन्त प्रसन्न हुने गर्दछु । मेरा भक्तहरूको स्वास्थ्य रक्षा गर्नु मेरो पहिलो कर्तव्य हो, त्यसबाहेक निर्धनलाई धन र बाँझी स्त्रीहरूलाई पुत्र प्रदान गरेर दुःख नष्ट गर्दछु । मेरा भक्तजनहरूले जीवनकालभरि धनधान्य र सुखसम्मृद्धिका साथमा जीवन बिताएर अन्त्यकालमा मोक्ष प्राप्त गर्दछन् ।' स्वप्नमा यसरी वरदान दिएर भगवान अन्तर्धान हुनुभयो । बृद्धा ब्युँझिइन्, सपनामा सूर्यले दिएको वरदान साँच्चिकै साकार भयो, उनका आँखा खुल्दा आँगनमा एउटा अति सुन्दर गाई र बाछो उभिइरहेको दृश्य देखियो । त्यसरी आफ्नै आँगनमा गाई र बाछो देखेर अति प्रसन्न भएकी आमैले तिनलाई घरबाहिर बाँधि दिईन र घाँसपात गरिदिइन् । दिउँसो उनकी छिमेकी स्त्रीले ती आमैका घरमा पनि गाई र बाछो ल्याइएको थाहा पाइन्, उनको डाहा र रिसको पारो अझ चुलियो । उनी ईर्ष्यालु भई गाई र बाछो हेर्दै थिइन्, त्यसै बखतमा गाईले गोब्र्यायो, त्यस गाईले त सुनको गोबर पो गोब्र्याउँदो रहेछ । यो दृश्य देख्दा त उनको मनमा अझ खपिनसक्नु भयो । यसो वरपर हेरिन्, कसैले देखेको छैन भन्ने चाल पाएर  उनले तुरुन्त त्यो सुनको गोबरको थाप्रो टिपेर आफ्नो गाईको गोबरसँग साटिदिइन् । अब ती छिमेकीको काम कतिबेला त्यस गाईले गोब्र्याउँछ, रुङ्ने र साट्ने हुनथाल्यो । ती सोझी बृद्धालाई छिमेकी स्त्रीको कुटिलता र चलाखीको अत्तोपत्तो थिएन ।

छिमेकी स्त्रीको यो नयाँ दैनिकीलाई जगत्साक्षी भगवान् सूर्यनारायणले पनि नियालिरहनु भएको थियो । लामो समयसम्म ती चलाख छिमेकीका कपटपूर्ण कर्मद्वारा बृद्धा ठगिएको ठगियै भइन् । अनि जगदीश्वर सूर्यले एक दिन सन्ध्याकालमा आफ्नो मायाद्वारा ठूलो हुरीबतासको सिर्जना गर्नुभयो । आमैले आँधीबेरीले गाई र बाछोलाई नोक्सान पो गर्ने हो कि भन्ने भयले ती बृद्धाले ती वस्तुभाउ घरभित्र लगेर बाँधिन् । अर्को दिन प्रातःकालमा बल्ल ती बृद्धाले गाईले सुनको गोबर गोब्र्याएको दृश्य देखिन्, उनको आश्चर्यको सीमा रहेन । त्यसपछिमात्र ती आमैले हरेक दिन गाईबाछालाई घरभित्र नै बाँध्न थालिन् । बृद्धाले गाई र बाछा भित्र बाँध्न थालेपछि छिमेकी स्त्रीको आयस्रोत घट्ने भयो । उनी ईर्ष्या र डाहले अझ पिरोलिन थालिन् । दुई चार दिन प्रतीक्षा गरिन्, आमैले त्यसपछि कहिल्यै पनि घरबाहिर गाई र बाछालाई छाडिनन् । केही उपाय नदेखेर तिनले बुढीआमैलाई दुःख दिने उद्देश्यले राजाका सभामा गएर उजुर गरिन् - 'महाराज ! मेरो छिमेकमा एउटी बृद्धासँग यस्तो गाई छ, जुन गाई हजुरहरू जस्ता राजाहरूसँग मात्र हुनुपर्ने हो, किनकि त्यस गाईले प्रत्येक दिन एक थाप्रो सुनको गोबर गोब्र्याउने गर्छ । त्यसैले हे महाराज !  हजुरले नै त्यो गाईलाई अधिग्रहण गरी दरबारमा ल्याएर राख्नु उचित हुन्छ । त्यस गाईले गोब्र्याउने सुनको थाप्रोले देशको विकास र प्रजाको संरक्षणमा टेवा पुग्छ । आखिर त्यस बृद्धालाई त्यत्रो सम्पत्तिको के काम छ र ?' राजाले स्त्रीका उजुरमाथि विचार गर्दा उनलाई ती कुरा जायज लाग्यो । उनले तुरुन्त आफ्ना सिपाहीलाई आदेश दिए - 'जाओ, त्यो गाई र बाछो लिई आओ ।'

त्यस दिन पनि आइतबार नै परेको थियो । आमै आफ्नो प्रातःकालको नित्यकृत्य सिद्ध्याएर भोजन गर्न लागेकी थिईन्, त्यत्तिकैमा राजाका सिपाहीहरूले उनका गाई र बाछा खोलेर लगे । आमैले रोक्ने प्रयास गरिन्, अनुनय, विनय र अनेक तरहले विलाप गरिन्, रोइन्, कराइन्, तर उनको जोड चलेन । त्यस दिन बृद्धाले गाईको वियोगका कारण भोजन गर्न पनि सकिनन् र रातपरेपछि पनि सुँक्क् सुँक्क गर्दै ईश्वरसँग आर्तपुकारा गरिरहिन् । उक्त गाई र बाछा पुनः प्राप्त होस्, बरु राजालाई आवश्यक छ भने आफूसँग भएको सबै धनसम्पत्ति र गाईले दिनैपिच्छे गोब्र्याउने सुनको थाप्रो सबै उनले लगेहुन्थ्यो भन्ने कामनाले आमैले भगवान् सूर्यनारायणसित प्रार्थना गरिरहिन् । राजा सिपाहीले गाई ल्याएको समाचार सुनेर असाध्यै प्रसन्न भए, बिहान छिट्टै उठेर गाईले गोब्र्याएको सुन हेर्ने रहर थियो उनमा । तर भोलिपल्ट राजाले सोचेजस्तो भएन । उनी उठ्दा त सारा महल गोबरैगोबरले भरिएको देखियो । यस्तो दृश्य देखेर राजा अत्तालिए, सिपाहीलाई तुरुन्त सरसफाइ गर्ने आदेश दिए । जति सफा गरे पनि फेरि जताजतै गोबरैगोबर देखिन्थ्यो । दिनभरि राजाको चिन्ताको विषय बन्यो, उक्त गाई र महलभरि छरिएको गोबर । रात्रीकालमा अब के उपाय होला भनी राजा घोरिंदाघोरिंदै निदाए । राजा पनि धार्मिक स्वभावका थिए, उनलालाई सपनामा दर्शन दिएर सूर्यनारायणले आज्ञा गर्नुभयो - 'हे राजन् ! ती गाई र बाछा जहाँबाट ल्याएको हो, त्यही पुर्याइदिनुहोस्, तपाईंको कल्याण हुनेछ । मैले बृद्धाले निष्ठा र श्रद्धासाथ लिएको आइतबारको व्रतको प्रभावबाट प्रसन्न भएर उनलाई उक्त गाई र बाछो प्रदान गरेको थिए ।

भोलिपल्ट ब्युँझनासाथ राजाले गाई र बाछा बृद्धाका घरमा पुर्याउन आदेश दिए, साथै ती बृद्धा भक्तलाई ससम्मान पालकीमा राखी तथा छिमेकी कुटिल स्त्रीलाई पाता कसेर घिसार्दै लिई आउन उर्दी पनि गरे । राजाले यसरी आदेश गर्नासाथ राजाको महलबाट फोहोर  स्वतः हट्यो । त्यस दिनपछि राजाले नगरवासीहरूलाई उर्दी जारी गरे - 'समग्र राज्य र आआफ्नो सुखसम्मृद्धिका निमित्त तथा समस्त मनोकामना पूर्तिका निम्ति आइतबार (रविवार) का दिन व्रत लिनुपर्छ ।' राजाज्ञापछि त्यस राज्यका सबै नरनारीले त्यसपछि आएको रविसप्तमीको शुभमुहूर्तदेखि प्रारम्भ गरी विधिवत् आइतबारको व्रत लिनथाले । व्रत गर्नाले नगरका नागरिकहरू सुखी जीवन व्यतीत गर्न थाले । त्यस राज्यभित्र कुनै पनि रोगव्याधि तथा प्रकृतिको प्रकोप हुन छाड्यो ।  सारा जनता सुखपूर्वक भगवानको भजनकीर्तनमा समय बिताउन थाले । अन्त्यकालमा राजालगायत समस्त देशवासीले क्रमशः मोक्ष प्राप्त गर्दा भए ।

Wednesday, April 18, 2018

आद्यगुरु शङ्कराचार्य

आर्य संस्कृतिको विकासमा आद्य शङ्कराचार्यको विशिष्ट योगदान रहेको छ। उनको धर्मदर्शन, विचार र उपदेश आत्मा र परमात्माको ऐक्यसम्बन्धमा आधारित मानिन्छ, जसअनुसार परमात्मा एउटै समयबिन्दुमा सगुण र निर्गुण दुईवटै स्वरूपमा उपस्थिति जनाउन सक्षम छन्। स्मार्त सम्प्रदायका अनुयायीहरू आदि शङ्ककराचार्यलाई भगवान् शिवको अवतार मान्दछन्। भगवद्पादाचार्यका अभिधाद्वारा पनि सम्बोधन गरिने 'आदि शङ्कराचार्य'लाई वेदान्त दर्शनअन्तर्गत 'अद्वैतवाद'का प्रणेता मानिन्छ। आचार्य शङ्करको जन्म वैशाख शुक्ल पञ्चमी तिथिमा ईश्वीसंवत् ६८८ मा र परमधाम ईश्वीसंवत् ७२० मा भएको तथ्यलाई स्वीकारिन्छ। शङ्कर दिग्विजय, शङ्करविजयविलास, शङ्करजय आदि ग्रन्थमा उनका जीवनतथ्यसँग सम्बद्ध कतिपय प्रमाण उपलब्ध हुन्छन्। दक्षिण भारतको केरल राज्य (तत्कालीन मालाबार प्रान्त) मा आद्य शङ्कराचार्यको जन्म भएको हो। उनका पिता शिवगुरु तैत्तिरीय शाखाका यजुर्वेदी ब्राह्मण थिए। सनातन आर्य परम्परामा आद्य शङ्कराचार्यलाई भगवान् शिवको अवतार मानिन्छ। आठ वर्षको उमेरमा आचार्य गोविन्दपादको शिष्यत्व ग्रहण गरी सन्यासी हुनु, सेतुबन्धबाट वाराणसी हुँदै बद्रिकाश्रमसम्मको पैदल यात्रा गर्नु, सोह्र वर्षको उमेरमा बद्रीकाश्रममा पुगी त्यहीं वेदान्त दर्शनमा आधारित ग्रन्थ 'ब्रह्मसूत्र'को भाष्य लेख्नु, समस्त भारतवर्षको भ्रमण गरी अद्वैत वेदान्त दर्शनको प्रचारप्रसार गर्नु, माहिष्मती नगरी(दरभङ्गा)मा गई मण्डन मिश्रलाई शास्त्रार्थमा पराजित गरी वेदान्तको दीक्षा दिनु र मण्डन मिश्रलाई सन्यास आश्रममा पुर्याउन प्रेरणा प्रदान गर्नु, भारतवर्षमा प्रचलित तत्कालीन कुरीतिहरू हटाउन समभावदर्शी धर्मको स्थापना गर्नु, ईश, केन, कठ, प्रश्न, मुण्डक, मांडूक्य, ऐतरेय, तैत्तिरीय, बृहदारण्यक र छान्दोग्योपनिषद् जस्ता जटिल उपनिषद्उपर भाष्य लेख्नु र भारतवर्षमा राष्ट्रिय एकता अखण्डता एवं सांस्कृतिक अखण्डताको स्थापना गर्नु उनको अलौकिक व्यक्तित्वका परिचायक तथ्य हुन्। उनको जीवनयात्रालाई लक्षित गर्दै रचिएको एउटा श्लोकमा भनिएको छ -

अष्टवर्षेचतुर्वेदी द्वादशेसर्वशास्त्रवित् ॥
षोडशेकृतवान्भाष्यं द्वात्रिंशेमुनिरभ्यगात् ॥

अर्थात् आठ वर्षको आयुमा चारवटै वेदमा निष्णात भए, बाह्र वर्षको आयुमा समस्त शास्त्रमा पारङ्गत भए, सोह्र वर्षको आयुमा शाङ्करभाष्य लेखे र बत्तीस वर्षको आयुमा शरीर त्यागे।

मानवताका ज्योतिर्मय सूर्य जगद्गुरु शङ्कराचार्य केवल सात वर्षको उमेरमा नै सन्यासी भएका थिए। गुरुकुलको कडा नियमलाई पालना गर्दै भिक्षा माग्ने उद्देश्यले उनी एक जना ब्राह्मणको घरमा गए। ती ब्राह्मणको घरमा भिक्षा दिनका निम्ति अन्नको एउटा गेडो पनि उपलब्ध थिएन। ब्राह्मणकी पत्नीले ती सन्यासी बालकका हातमा एउटा अमलाको दानो राखेर रुँदै आफ्नो परिवारमा अवस्थित गरिबी, विपन्नता र आर्थिक मन्दीका बारेमा बताईन्। त्यस परिवारको दयनीय अवस्था देखेर ती प्रेम र दयाका प्रतिमूर्ति बालक सन्यासीको हृदय द्रवित हुनपुग्यो। उनले तुरुन्त अत्यन्त आर्तपुकारा गरी जगज्जननी माता लक्ष्मीको स्तोत्र रचना गरे र करुणामूर्ति माता लक्ष्मीलाई त्यस निर्धन ब्राह्मण परिवारमा अवस्थित विपदा हरण गर्न स्तुतिप्रार्थना गर्न थाले। बालयोगीको प्रार्थनाबाट सन्तुष्ट भएकी महालक्ष्मीले ती परम निर्धन ब्राह्मणका घरमा अमलाकै आकारका सुनका दाना बर्साउन थालिन्। यसरी जगज्जननी महालक्ष्मीलाई प्रसन्न तुल्याएर त्यस ब्राह्मण परिवारको दरिद्रता हरण गर्न समर्थ दक्षिण भारतको 'कालाड़ी' नामको गाउँमा जन्मिएका ती बालयोगी सन्यासीको नाम नै शङ्कर थियो र जीवनको उत्तरार्द्धमा ती ‘जगद्गुरु शङ्कराचार्य’का नामबाट प्रख्यात भए। ती महाज्ञानी शक्तिपुञ्ज बालकका रूपमा स्वयं भगवान् शङ्कर यस धराधाममा अवतीर्ण भएका हुन्। यिनका पिता शिवगुरु नामपुद्रिको विवाह भएको धेरै वर्षसम्म कुनै सन्तान नजन्मिएकाले उनले आफ्नी पत्नी विशिष्टादेवीसँगै पुत्र प्राप्तिका उद्देश्यले लामो समयसम्म चन्द्रमौली भगवान् शङ्करको कठिन र कष्टकर आराधना गरे। अन्तत: भगवान् शङ्कर प्रसन्न भए र उनले ती दम्पतिलाई स्वप्नमा दर्शन दिई वरदान माग्न आग्रह गरे। शिवगुरुले आफ्ना ईष्टगुरुसँग एउटा दीर्घायु र सर्वज्ञ पुत्रको याचना गरे। आफ्ना भक्तको याचना सुनेर भगवान् शङ्करले भने - ‘वत्स, दीर्घायु पुत्र सर्वज्ञ हुनसक्दैन अनि सर्वज्ञ पुत्र दीर्घायु हुन सक्दैन। भन तिमी दीर्घायु र सर्वज्ञमध्ये कुन पक्षलाई रोज्छौ?’ त्यसपछि धर्मप्राण शास्त्रसेवी शिवगुरुले दीर्घायु नभए पनि सर्वज्ञ पुत्र प्रदान गर्न आग्रह गरे। भगवान् शिवले फेरि भने- ‘वत्स तिमीले सर्वज्ञ पुत्र प्राप्त गर्नेछौ, म स्वयं पुत्रका रूपमा तिम्रो कोखबाट अवतीर्ण हुनेछु।’

केही समयपछि ईश्वीसंवत् ६८८ को वैशाख महिनाको शुक्लपक्षको पञ्चमी तिथि (केही विद्वानहरूको मतमा अक्षय तृतीया) का दिन मध्याह्नकालमा शिवगुरुकी धर्मपत्नी विशिष्टादेवीले परम प्रकाशस्वरूप, अत्यन्त सुन्दर, दिव्य कान्तिले युक्त बालक जन्माईन्। दैवज्ञ ब्राह्मणहरूले त्यस नवजात शिशुको टाउकोमा चक्राकृति चिह्न, निधारमा नेत्राकृति चिह्न र काँधमा शूलको चिह्न अङ्कित भएको देखेर त्यस्तो विशिष्ट लक्षण भगवान् शिवमा मात्र हुनसक्ने ठानी ती शिशुको नाम ‘शङ्कर’ राखी दिए। तिनै शङ्कराचार्यलाई श्रद्धासुमन समर्पण गर्न प्रत्येक वर्ष वैशाख शुक्ल पञ्चमीका दिन 'श्री शंकराचार्य जयन्ती' का रूपमा मनाउने प्रचलन छ।

जुन समयमा जगद्गुरु शंकराचार्यको आविर्भाव भएको थियो, त्यस समय नेपाललगायत समस्त भारतवर्षमा वैदिक धर्मको स्थिति कमजोर थियो, मानवतालाई सबैले बिर्सन लागेका थिए र अधार्मिक कृयाकलापले प्रश्रय पाउन लागेको अवस्था थियो। यस्तो कठिन समयमा आचार्य शङ्कर मानव धर्मका ज्वाज्वल्यमान सूर्य झैं तेजस्वी भई प्रकाश स्तम्भका रूपमा प्रकट भएका हुन्। केवल ३२ वर्षको जीवनकालमा उनले सनातन धर्मलाई एउटा यस्तो ओजस्वी शक्ति प्रदान गरे जसबाट सनातन धर्मले त्राण पायो। शङ्कराचार्यको मातृभाषा 'मलयालम' थियो र तीन वर्षको सानै उमेरमा उनी आफ्नो भाषामा सटीक, शुद्ध र स्पष्ट बोलचाल गर्नसक्ने भएका थिए। तर उनका पिता शिवगुरु छोरोले देववाणी संस्कृतको पूर्ण ज्ञान प्राप्त गरेको देख्न चाहन्थे। उनको त्यो इच्छा आफ्नो जीवनकालमा पूर्ण हुन सकेन। शङ्कराचार्य पाँच वर्ष पुग्नुअघि नै यिनका पिताको अकालमा नै मृत्यु भयो र शङ्करले आफ्नो शिरबाट पिताको वात्सल्य र छत्रछाया गुमाउनु पर्यो। उनको लालनपालन र जिम्मेबारीका समस्त बोझ आमा विशिष्टादेवीले वहन गर्नु पर्यो। तिनले पुत्रलाई पालनपोषण गर्न र संस्कारयुक्त बनाउन कुनै कमी हुन दिइनन्। पाँच वर्षकै कलिलो उमेरमा यिनको उपनयन संस्कार अर्थात व्रतबन्ध सम्पन्न भयो र त्यसपछि यिनलाई शास्त्राध्ययनका निमित्त गुरुकुलमा पठाइयो। यिनी सानैदेखि प्रतिभासम्पन्न बालक थिए। यिनको अद्भूत प्रतिभा देखेर यिनका गुरुहरू पनि छक्क पर्थे। अप्रतिम प्रतिभाका धनी श्रुतिधर बालक शङ्करले गुरुकुलमा भर्ना भएको दुई वर्षको अवधि व्यतीत गर्न नपाउँदै वेद, पुराण, उपनिषद्, रामायण, महाभारत आदि ग्रन्थ कण्ठ पारी सकेका थिए। त्यसपछि गुरुबाट दीक्षान्त प्राप्त गरी यिनी घर फर्किए र आफ्नी ममतामयी आमाको सेवासुश्रुषा गर्न थाले। उनको मातृभक्ति र सेवाभावनाको वर्णन गर्ने क्रममा एउटा जनश्रुति प्रचलित छ। भनिन्छ, आमाले नित्य स्नान गर्न दैनिक दुई कोस टाढा रहेको आलवाई (पूर्णा गङ्गा) नदीमा पुग्नु पर्थ्यो। आमाले स्नानादिबाट निवृत्त हुन सधैंसधैं लामो दूरीको यात्रा गर्नु परेको र आफु बालकै भएकाले पानी ढुवानी गर्ने सामर्थ्यसमेत नभएर उनले गङ्गाको स्तुति गरे। बालकको स्तुतिबाट प्रसन्न भई उनको गाउँबाट धेरै टाढा बग्ने त्यो आलवाई (पूर्णा) नदीले आफ्नो बाटो नै बदल्नु पर्यो र बालक शङ्करकै गाउँलाई बाटो स्वीकार्नु पर्यो। यसरी यिनले आफ्नो भक्ति र योगबलका माध्यमले आफ्नी आमाको दैनिक स्नानादिमा सरलता प्रदान गरे। छोरो ठूलो हुँदै गएको अवस्थामा आमा विशिष्टादेवीले शङ्करचार्यको विवाह गर्ने योजना बनाईन्। तर बालक शङ्कर गृहस्थीको झन्झटबाट टाढै बस्न चाहन्थे। एकजना ज्योतिषीले उनको जन्मकुण्डलीको विवेचना गर्दै बालक शङ्करको अल्पायुमा नै मृत्यु हुने बताएका थिए। यस्तो बुझेर आचार्य शङ्करले आफू सन्यासी हुने र लोकसेवामा जुट्ने सङ्कल्प गरे। अन्तत: सन्यास ग्रहण गर्ने उद्देश्यले उनले आमासँग विदा मागे, फलस्वरूप उनले सात वर्षको कलिलो उमेरमा नै सन्यास ग्रहण गरे र त्यसपछि जीवनको उच्चतम लक्ष्य प्राप्त गर्ने उद्देश्यले घर छाडे।

उनी केरल प्रदेशबाट लामो पदयात्रा गर्दै नर्मदा नदीको किनारामा अवस्थित ओमकारनाथ पुगे। उनले त्यहाँ गोविंदपाद नाम गरेका गुरुसँग योग शिक्षा तथा अद्वैत ब्रह्मको ज्ञानार्जन गरे। तीन वर्षको अवधिसम्म आचार्य शङ्करले अद्वैत तत्त्वको साधना गरे। त्यसपछि गुरुको आज्ञामुताबिक उनी वाराणसी(काशी)मा अवस्थित भगवान् विश्वनाथको दर्शन गर्ने उद्देश्यले त्यहाँबाट हिंडे। काशी जाने क्रममा बाटोमा उनको एउटा चाण्डालसित जम्काभेट भयो। चाण्डाल बाटो छेकेर हिंड्दै थियो। त्यसको प्रवृत्ति देखेर शङ्करले रिसाउँदै बाटो छाड्न आदेश दिए। शङ्कराचार्यलाई क्रोधित देखेर चाण्डालले उनलाई विनम्रतापूर्वक भन्यो - ‘हे मुनि! हजुरले मलाई हप्काएर प्रत्येक शरीरमा उपस्थित हुनुहुने परमात्मालाई उपेक्षा गर्नुभएको छ, त्यसैले हजुरमा ब्राह्मणत्व देखिएन, हजुर त अब्राह्मण हुनुहुँदो रहेछ। त्यसैले हजुरले पो मलाई बाटो दिनुपर्यो।’ चाण्डालका मुखबाट त्यस्ता देववाणी सुनेपछि आचार्य शङ्करले अति प्रभावित भई उसलाई भने -‘तपाईंले मलाई ज्ञान प्रदान गर्नुभएको छ, त्यसैले मेरो शिष्यत्व स्वीकार गर्नुहोस्।' यति भनेर शङ्कराचार्यले साष्टाङ्ग प्रणाम गर्नासाथ त्यो चाण्डाल अलप भयो र त्यसका ठाउँमा भगवान् शिव प्रकट भई शङ्कराचार्यलाई दर्शन दिए। काशीमा केही दिन बिताएपछि शङ्कराचार्य आचार्य मण्डन मिश्रको दर्शनार्थ माहिष्मती नगरी गए। आचार्य मिश्रका पालेका मैनाले पनि वेदका मन्त्रको उच्चारण गर्ने गर्दथे। अचार्य मिश्रकै घरमा बस्दा ती दुबैका बीचमा शास्त्रार्थ चल्ने गर्दथ्यो। एकपल्ट आचार्य शङ्करले तिनलाई शास्त्रार्थमा जिते। आफ्ना पतिले शास्त्रार्थमा हर्दै गरेको देखेर मिश्रकी पत्नीले शङ्कराचार्यलाई सम्बोधन गर्दै भनिन् - ‘महात्मन्! अहिले हजुरले मेरा पतिको आधा अङ्गलाई मात्र जित्नुभएको छ, आफ्ना तर्क र युक्तिका बलले मलाई पराजित बनाउनु भयो भने हजुर विजयी हुनु हुनेछ।।’ यति भनेर मिश्रकी पत्नी भारतीले कामशास्त्रमा आधारित प्रश्नहरू तेर्स्याउन थालिन्। तर शङ्कराचार्य त आबाल ब्रह्मचारी थिए, त्यसैले उनमा कामशास्त्रसम्बद्ध ज्ञानको कमी थियो। उनले आफ्नो अज्ञानतालाई स्वीकार गरे र ती प्रश्नको उत्तर दिन केही समय लाग्ने बताए। त्यसपछि उनले सूक्ष्म रूप धारण गरी परशरीरमा प्रवेश गरी विषय र वासनासम्बद्ध समस्त जानकारी प्राप्त गरे। अनि आचार्य शङ्करले भारतीलाई पनि शास्त्रार्थमा जिते। काशीमा बसोबास गरेकै समयमा उनले ठूलठूला ज्ञानी, विद्वान् र पण्डितहरूलाई शास्त्रार्थमा हराउने काम गरे र 'गुरु' पदमा प्रतिष्ठित भए। अनेकानेक शिष्यहरूले उनीसित दीक्षा ग्रहण गरे। त्यसपछि आचार्य शङ्कर धर्मप्रचार गर्नथाले। उनले वेदान्तका जटिलताहरूलाई फुकाउँदै अनेकौं ग्रन्थहरूको रचनासमेत गरे। अद्वैत ब्रह्मवादी आचार्य शङ्कर केवल निर्विशेष ब्रह्मलाई मात्र सत्य मान्दथे र ब्रह्मज्ञानमा निमग्न हुने गर्दथे। एकपटक उनी ब्रह्ममुहूर्तको समयमा आफ्ना शिष्यमण्दलीका साथमा एउटा साँघुरो गल्लीको बाटो गङ्गास्नान गर्न वाराणसीस्थित मणिकर्णिका घाट जाँदै थिए। बीच बाटोमा एउटी युवती आफ्नो मृत पतिको टाउको काखमा राखी विलाप गरेर बसेकी थिई। आचार्य शङ्करका शिष्यहरूले त्यस स्त्रीसित मृत शव हटाएर बाटो दिन अनुरोध गरे, तर तिनको अनुरोधलाई नसुने झैं गरी ऊ रोइकराइ गरिरही। त्यसपछि स्वयं आचार्यले त्यो शव बाटोबाट हटाउन अनुरोध गरे। आचार्यको त्यस्तो आग्रह सुनेपछि त्यस स्त्रीले भनी - ‘हे संन्यासी! हजुर मलाई बारम्बार यो लाश हटाऊ भन्नुहुन्छ, यो लाशलाई नै बाटो छाड् भनेर आदेश चाहिं किन दिनुहुन्न। युवतीका कुरा सुनेर आचार्य शङ्करले फेरि भने - ‘हे देवी! तपाईंले शोकका कारण यो लाशमा आफैं बाटो छाड्ने शक्ति छैन भन्ने चेतनासमेत गुमाउनु भएछ।' आचार्यको बोली भुइँमा खस्न नपाउँदै तुरुन्त ती महिलाले प्रतिप्रश्न गरिहालिन् - ‘महात्मन् हजुरको दृष्टिमा त शक्तिबाट निरपेक्ष ब्रह्म नै जगतको कर्ता हो, त्यसो हो भने शक्तिविना नै यो लाश किन हट्न सक्दैन त?’ त्यस आइमाईका गम्भीर, ज्ञानमय र रहस्यपूर्ण वाक्य सुनेर आचार्य त्यहीं थचक्क बसे र समाधिस्थ भए। उनले अन्त:चक्षुमा के देखे भने सर्वत्र आद्याशक्ति महामायाले लीलाविलाप गरेर बसेकी छन्। उनको हृदय अनिवर्चनीय आनन्दबाट भरियो र उनको मुखबाट मातृवन्दनाका शब्दमयी धारा स्तोत्रका रूपमा प्रस्फुटन हुन थाले। जीवन भोगाइ र अनुभूतिको वेगमा खारिंदै अब आचार्य शंकर यस्ता महासागर बन्नपुगे, जसमा अद्वैतवाद, शुद्धाद्वैतवाद, विशिष्टाद्वैतवाद, निर्गुण ब्रह्म ज्ञान आदि समस्त सिद्धान्तहरू डगमगाउन थाले। ती मतका अनुयायीहरू ज्ञानको अद्वैत भूमिमा जुन परमात्मा निर्गुण निराकार ब्रह्म छन्, तिनै ईश्वर द्वैतभूमिमा सगुण साकार परमात्माका रूपमा छन् भनेर मान्न बाध्य भए। तिनीहरूले ब्रह्मका निर्गुण र सगुण दुबै स्वरूपलाई समर्थन त गरे नै, साथै निर्गुण ब्रह्मसम्म पुग्नका लागि सगुण ब्रह्मको उपासनालाई अपरिहार्य माने, अनि ज्ञान र भक्तिको मिलन भूमिमा अद्वैत ज्ञान नै समस्त साधनाहरूको परम उपलब्धी हो भन्ने अनुभूति समेत गरे। आचार्य शङ्करले ‘ब्रह्म सत्यं जगन्मिथ्या’को उद्घोष पनि गरे र शिव, पार्वती, गणेश, विष्णु आदिका भक्तिरसले परिपाक प्राप्त गरेका सुमधुर स्तोत्रहरूको रचना समेत गरे, साथै उनैद्वारा ‘सौन्दर्य लहरी’, ‘विवेक चूड़ामणि’ आदि श्रेष्ठतम ग्रन्थको सिर्जना पनि भयो अनि 'प्रस्थानत्रयी' को भाष्य पनि लेखियो। आफ्ना अकाट्य तर्कद्वारा शैव, शाक्त र वैष्णव मतको द्वन्द्वलाई समापन गरे। पञ्चदेवोपासना(पाञ्चायन देवताको आराधना) गर्ने परिपाटिको विकास गरे। उनले सेतुबन्धदेखि हिमालयसम्मको सम्पूर्ण भारतवर्षको यात्रा गरे र चारवटा मुख्यमुख्य मठ (दक्षिण भारतको श्रृङ्गेरीशङ्कराचार्यपीठ, पूर्व भारत (उडीसा) को जगन्नाथपुरीस्थित गोवर्द्धनपीठ, पश्चिम भारतको द्वारिकास्थित शारदामठ र उत्तराखण्डको बद्रिकाश्रममा अवस्थित ज्योतिर्पीठ) को स्थापना गरेर समस्त आर्यावर्तलाई सांस्कृतिक, धार्मिक, दार्शनिक, आध्यात्मिक एवं भौगोलिक एकताको अविच्छिन्न सूत्रमा निबद्ध गरे। उनले समस्त मानव जातिलाई जीवन्मुक्तिको एउटा महत्त्वपूर्ण सूत्र प्रदान गरे -

‘दुर्जन: सज्जनो भूयात् सज्जन: शान्तिमाप्नुयात्। शान्तो मुच्येत बंधेभ्यो मुक्त: चान्यान् विमोचयेत्॥’
अर्थात् दुर्जन सज्जन बनून्, सज्जनले शान्ति प्राप्त गरून्, शान्तजनहरू बन्धनबाट मुक्त होऊन् र मुक्तजनले अन्य व्यक्तिहरूलाई मुक्त तुल्याऊन्।

आफ्नो विशिष्ट प्रयोजन पूर्ण भएपछि तेतीस वर्षको अल्पायुत्वमा नै उनी यस नश्वर शरीरलाई त्यागेर जीवनमुक्त भएर गए।

ब्रह्मसूत्रको शाङ्कर भाष्य रचना गरेर विश्वलाई एउटा सूत्रमा बाँध्ने प्रयास पनि शङ्कराचार्यले नै गरेका हुन्, जुन सर्वसाधारण मनुष्यबाट असम्भव थियो। हामी शङ्कराचार्यको दार्शनिक सिद्धान्तमा सगुण र निर्गुण दुबै ब्रह्मको अनुभूति एकै पटक गर्न सक्दछौं। उनका मतमा निर्गुण ब्रह्म निराकार ईश्वर हुन् र सगुण ब्रह्म भनेका साकार ईश्वर हुन्। जीवलाई उनी अज्ञानस्वरूप र व्यष्टिको उपाधि प्रदान गर्दछन्। तत्त्वमसि अर्थात् तिमी नै ब्रह्म हौ, अहं ब्रह्मास्मि अर्थात् म नै ब्रह्म हुँ, अयमात्मा ब्रह्म अर्थात् यो आत्मा नै ब्रह्म हो यी बृहदारण्यकोपनिषद तथा छान्दोग्योपनिषदमा उल्लिखित वाक्यद्वारा यस जीवात्मालाई निराकार ब्रह्मभन्दा अभिन्न स्थापना गर्ने प्रयत्न शङ्कराचार्यले नै गरेका हुन्। ब्रह्मलाई जगतको उत्पत्ति, स्थिति र प्रलयका निमित्त कारण बताइएको छ। ब्रह्म (सत्) त्रिकालाबाधित नित्य, चैतन्यस्वरूप तथा आनन्दस्वरूप छ भन्ने कुरालाई शङ्कराचार्यले स्वीकार गरेका छन्। जगतको स्वरूपलाई बताउँदै उनी भन्दछन् :-

नामरूपाभ्यां व्याकृतस्य अनेककर्तृभोक्तृसंयुक्तस्य प्रतिनियतदेशकालनिमित्तक्रियाफलाश्रयस्य मनसाऽप्यचिन्त्यरचनारूपस्य जन्मस्थितिभङ्गयतः
( अर्थात् नाम र रूपबाट व्याकृत, अनेकौं कर्ता एवं भोक्ताद्वारा संयुक्त, जसमा देश, काल, निमित्त र क्रियाफल समेत आबद्ध छन्, जुन जगतको सृष्टिलाई मनले पनि कल्पना गर्न सकिंदैन, त्यस जगतको उत्पत्ति, स्थिति र प्रलय जसले गर्दछ, त्यसैलाई ब्रह्म भन्दछन्।)

सम्पूर्ण जगतका जीवलाई ब्रह्मका रूपमा स्वीकार गर्नु र तर्कद्वारा त्यसलाई प्रमाणित गर्नु आदि शङ्कराचार्यका विशेषता हुन्। यसरी शङ्कराचार्यको व्यक्तित्व र कृतित्वको मूल्याङ्कनबाट हामी के निष्कर्षमा पुग्न सक्छौं भने समस्त सनातन धर्मलाई एउटै सूत्रमा उनेर एकताबद्ध बनाएर उनले आर्यावर्तवासीलाई ठूलो गुन लगाए तथा आर्य संस्कृतिको विकासमा उनको अमूल्य योगदान रह्यो। त्यसैले उनी एकजना महान् समन्वयवादी सन्त थिए। उनले सनातन धर्मको निभ्न लागेको दियोलाई बर्तन थपेर पुनः समुज्ज्वल र प्रकाशमय बनाई पुनस्र्थापित र आलोकित तुल्याई प्रतिष्ठित पारे। एकातिर उनले अद्वैत चिन्तनलाई पुनर्जीवित तुल्याई सनातन हिन्दु धर्मको दार्शनिक आधारलाई सुदृढ बनाए भने अर्कातिर उनले सर्वसाधारण जनमानसले पूजा आराधना गर्दै आएको मूर्तिपूजाको औचित्यलाई पुष्टि गर्ने प्रयास समेत गरे। त्यस्तै सनातन हिन्दु धर्मलाई दर्बिलो जगमा खडा गर्न उनले आफूविरोधी सम्प्रदायका तर्क र मतलाई आंशिक रूपमा भए पनि स्वीकार गरे। उदाहरणका लागि शङ्कराचार्यको मायावादमा महायानी बौद्ध चिन्तनको प्रभाव छ भन्ने मान्यता प्राप्त हुन्छ। शङ्कराचार्यको अद्वैत दर्शनको सारतत्त्वलाई यसरी पनि अर्थ्याउन सकिन्छ :-

१. ब्रह्म र जीव मूलतः र तत्त्वतः एउटै हुन्। हामी ब्रह्म र जीवमा जुन अन्तर देख्दछौं त्यसको मुख्य कारण अज्ञानता हो।
२. जीवको मुक्तिका निमित्त ज्ञानको आवश्यकता हुन्छ।
३. ब्रह्ममा लीन हुनु नै जीवको मुक्ति हो।

जगद्गुरु रामानुजाचार्य

यो नित्यमच्युतपदाम्बुजयुग्मरुक्मं 
व्यामोहतस्तदितराणि तृणाय मेने ।
अस्मद्गुरोर्भगवतोऽस्य दयैकसिन्धोः
रामानुजस्य चरणौ शरणं प्रपद्ये ॥

दक्षिण भारतको मद्रास सहरका बारेमा नसुन्ने मानिस कमै होलान् । पहिले मद्रास भनिने यस सहरलार्इ अहिले चेन्नै भन्ने गरिन्छ । कुनै समयमा यो सहर द्रविड देशमा पर्ने गर्दथ्यो । श्रीमद्भागवतको महात्म्यमा भक्तिले आफ्नो जीवनी बताउने क्रममा भनेकी छन् -

उत्पन्ना द्रविडे साहं वृद्धि कर्णाटके गता।
क्वचित् क्वचिन् महाराष्ट्रे गुर्जरे जीर्णतां गता ॥
तत्र घोरकलेर्योगात् पाखण्डै: खण्डिताङ्गका।
दुर्बलाहं चिरं जाता पुत्राभ्यां सह मन्दताम् ॥
वृन्दावनं पुन: प्राप्य नवीनेव सुरूपिणी।
जाताहं युवती सम्यक् प्रेष्ठरूपा तु साम्प्रतम् ॥

भक्तिको उत्पत्ति द्रविड देशमा भएको प्रसङ्ग माथिका श्लोकबाट थाहा पाउन सकिन्छ । त्यसैले पनि विभिन्न धर्मगुरुहरू जस्तै जगद्गुरु शङ्कराचार्य, निम्बार्काचार्य, रामानुजाचार्यलगायत साइबाबाको जन्मसमेत दक्षिण भारत (द्रविड देश) नै भएको हुनुपर्छ । मद्रास सहरकै छेउमा एउटा पेरुम्बुदुर नाम गरेको ठाउँ छ । त्यहाँ आजभन्दा करिव एक हजार वर्ष पहिले वि. सं. १०७४ मा वैशाख शुक्ल पञ्चमीका दिन विशिष्टाद्वैत सम्प्रदायका प्रवर्तक भगवान् भाष्यकार स्वामी रामानुजाचार्यको जन्म भएको थियो । जगद्गुरु रामानुजाचार्य वैष्णव सम्प्रदायका प्रमुख आचार्यहरूमध्ये एक जना विशिष्ट आचार्य मानिन्छन् । यिनकै शिष्यपरम्परामा रामानन्द, कबीर र सुरदास जस्ता अन्य प्रसिद्ध आचार्यहरूको गणना हुने गर्दछ । रामानुजाचार्यले वेदान्त दर्शनमा आधारित आफ्नो छुट्टै नवीनतम दार्शनिक सिद्धान्त विशिष्टाद्वैतको रचना गरेका हुन् । उनले वेदान्तको उक्त सिद्धान्तबाहेक विक्रमको सातौंदेखि दसौं शताब्दीका माझमा दक्षिण भारतमा प्रचलित रहस्यवादी र भक्तिमार्गी अलवार (आचार्य) र सन्तहरूको भक्तिदर्शन र पाञ्चरात्र पद्धतिलाई आफ्नो विचारको मुख्य आधार बनाएका थिए ।

काञ्चीका यादवप्रकाश नाम गरेका गुरुबाट उनले वेदाध्ययन गरेका थिए । असाध्यै कुशाग्र बुद्धि भएका रामानुज गुरुले पढाउँदै गर्दा कहाँ त्रुटि भयो, औंल्याइहाल्दथे । यस्तो प्रखर प्रतिभा भएकाले उनी बाल्यावस्थादेखि नै अमूर्त दार्शनिक तत्त्वलाई बुझ्न, त्यसमा आफ्ना नवीनतम  धारणा बनाउन र भाष्य प्रस्तुत गर्ने क्षमता वहन गर्दथे । एक पटक उनले गुरु यादवप्रकाशले गरेको श्रुतिको व्याख्याका विषयमा असहमति प्रकट गरेका थिए भन्ने आहान प्रचलनमा छ । त्यस असहमतिको प्रसङ्ग यस्तो छ - गुरु यादवप्रकाशले 'कप्यासं पुण्डरीकाक्षम्'  भन्ने पदावलीको व्याख्यान गर्दा भगवानका आँखा बाँदरको चाकजस्तो रातो छ भनेका थिए, तर श्रीरामानुजाचार्यले आफूभित्र रहेको शास्त्रीय ज्ञान र विलक्षण प्रतिभाको परिचय दिंदै 'जलं पिबति इति कपि: सूर्य:, तेन आस्यते क्षिप्यते इति कप्यासम् कमलम्' यस्तो लौकिक विग्रह प्रस्तुत गरी 'कप्यासः' यस पदको अर्थ अगाध जलराशिमा उत्पन्न र उदाउँदो सूर्यकिरणबाट नवविकसित कमल दलसमान भगवान् नारायणका युगल नेत्र छन् भनी शास्त्रसम्मत र लोकसम्मत सुन्दर अर्थ लगाए । यसरी आफ्नो एउटा फुच्चे शिष्यले यस्तो सुन्दर व्युत्पत्ति र अर्थ गरेकाले गुरु यादवप्रकाशको हृदयमा उनीप्रति द्वेषभाव उत्पन्न भयो । उनले षड्यन्त्र गरी रामानुजलाई मार्ने योजना बनाए । तर शेषावतार भएकाले हरहमेशा उनीमाथि भगवान् वैकुण्ठनाथको छत्रछाया रहने गर्दथ्यो, त्यसैले भगवत्कृपाले उनलाई केही पनि भएन । उमेर बृद्धिसँगै भगवद्रामानुजको विद्वत्ता र ख्यातिमा निरन्तर बृद्धि हुँदै गयो । उनको उचित समयमा विवाह पनि भएको थियो, तर लामो समय दाम्पत्य जीवन चलेन । उनी युवावस्थामा नै सन्न्यासी बन्न पुगे । दक्षिण भारतको आन्ध्रप्रदेशमा रहेको श्रीरङ्गम् भन्ने स्थानमा पुगी उनले यतिराजबाट दीक्षा ग्रहण गरी सन्न्यासाश्रममा प्रवेश गरेका थिए ।

रामानुजको सन्न्यास जीवन प्रारम्भ भएपछि अब यिनको सम्पूर्ण समय अध्ययन, चिन्तन र भगवद्भक्तिमा व्यतीत हुन थाल्यो । उनका अनुयायी र शिष्यहरूको सङ्ख्यामा पनि दिनानुदिन बृद्धि हुन थाल्यो । कतिसम्म भने बाल्यावस्थामा यिनलाई वेद पढाउने तथा द्वेषबुद्धिले गर्दा उनलाई नै मार्न तानाबुना रच्ने गुरु यादवप्रकाश स्वयंले पनि कालान्तरमा यिनको शिष्यत्व ग्रहण गरेका थिए । भगवद्रामानुजद्वारा प्रतिपादित सिद्धान्तलाई विशिष्टाद्वैत सिद्धान्त भनिन्छ । श्रीरामानुजाचार्य असाध्यै विद्वान, सदाचारी, धैर्यवान् र उदार व्यक्तित्व थिए । चरित्रबल र भक्तिभावमा उनलाई अद्वितीय नै मान्ने गरिन्छ । उनले कतिपय दुरूह योगहरूमा पनि सिद्धि प्राप्त गरेका थिए । उनको जीवनको अधिकतम समय दक्षिण भारतको काञ्चीपुरम् भन्ने ठाउँमा रहेको वरदराज मन्दिरमा बितेको थियो । यिनले सन्न्यास ग्रहण गरेको ठाउँ  श्रीरङ्गम् भने काञ्चीबाट दक्षिणपश्चिम दिशामा करिव ३०० किलोमिटर टाढा पर्दछ ।

एक पटकको घटना हो श्री रङ्गम् मठका मठाधीश यामुनाचार्य मृत्युसन्निकट अवस्थामा थिए । अब आफ्नो जीवनलीला समाप्त हुँदैछ भन्ने थाहा पाएर उनले श्रीरामानुजाचार्यलाई आफ्ना समीपमा आइदिए हुन्थ्यो भनी एक जना शिष्यमार्फत सन्देश पठाए । तर रामानुज काञ्चीबाट श्रीरङ्गम् पुग्दानपुग्दै यामुनाचार्यले वैकुण्ठ प्रस्थान गरे । उनको नश्वर शरीरको सद्गत गर्न बाँकी नै थियो, रामानुज पनि श्रीरङ्गम् आइपुगे । यामुनाचार्यको मृत शरीरका दाहिने हातका तीनवटा औंला दोब्रिएका देखिन्थे ।  श्रीरामानुजाचार्यलाई यामुनाचार्य यी औलाका माध्यमबाट केही सन्देश प्रदान गर्ने इच्छा राख्दै गर्दा बितेका हुन् भन्ने आभाष भयो । त्यसपछि उच्चस्वरमा रामानुजले उद्घोष गरे - 'म विष्णुमतमा रहेर अज्ञानताले मोहजालमा जकडिएका मानिसहरूलाई पञ्च संस्कारले युक्त द्रविड वेदमा पारङ्गत बनाएर शरणागति धर्मप्रति उन्मुख बनाई तिनको सर्वदा रक्षा गर्नुका साथै आलवार भक्तहरूद्वारा गायन गरिएका पदहरूको सङ्ग्रह गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।' रामानुजले यति भन्नासाथ यामुनाचार्यको मृत शरीरमा खुम्चिएका औंलामध्ये एउटा औंलो सोझियो । त्यसपछि पनि रामानुजले आफ्ना उद्गार जारी राख्दै भने - 'म सामान्य जनमानसको रक्षाका निमित्त समस्त अर्थको सङ्ग्रह गरी मङ्गलमय परम तत्त्वज्ञानको प्रतिपादन गर्ने श्रीभाष्यको रचना गर्नेछु ।' यति भन्नासाथ यामुनाचार्यको अर्को एउटा औंलो पनि सोझियो । रामानुजले फेरि पनि वाचा गर्दै गए - 'सांसारिक मनुष्यको दयाभावले जीव, ईश्वर, जगत्, तिनको प्रकृति र स्वभाव तथा उन्नतिको उपायको सुस्पष्ट व्याख्यान गरी ऋषि पाराशर (व्यास) द्वारा रचित श्री विष्णुपुराणको रचनाकारको गर्ने ऋणबाट ऊऋण हुन म कुनै वैष्णव पण्डितलाई तिनै ऋषिको नाम प्रदान गरी सम्मान गर्नेछु ।' रामानुजले यति भन्नासाथ यामुनाचार्यको खुम्चिएको अन्तिम औंलो पनि सोझिन पुग्यो । यस्तो परिदृश्य देखेर त्यहाँ उपस्थित सबै जना छक्क परे । तिनलाई अहिले वाचा गरिरहेको नवयुवकले छिट्टै नै आलवन्दार (श्रीयामुनाचार्य) को पदमा आसन ग्रहण गर्नेछ भन्ने कुरामा कुनै सन्देह भएन । श्रीरामानुजाचार्यले 'श्रीभाष्य' को रचना गरे, आलवन्दार (वैष्णव आचार्य) हरूद्वारा गायन गरिने पदहरूको सङ्ग्रह गरी 'दिव्यप्रबन्धनम्' को सङ्कलन गरे र दक्षिण भारतका तात्कालिक आठ जना दिग्गज आचार्यहरूमध्ये एक जना श्रेष्ठ वैष्णवाचार्यलाई 'पाराशर' नाम राखेर सम्मान गरे । यसरी श्रीयामुनाचार्यलाई प्रदान गरेका तीनवटै वचनलाई रामानुजले पूर्ण गरे भन्ने लोकोक्ति अहिले पनि दक्षिण भारतका वैष्णवजनहरूमाझ चर्चा हुने गर्दछ ।

श्रीरामानुचार्य गृहस्थ सन्त थिए, तर किन्तु गृहस्थी जीवनमा आबद्ध रहँदा आफ्ना उद्देश्य पूर्ण गर्न असमर्थ रहने लक्षण देखेपछि उनले गृहस्थाश्रम त्यागेर श्रीरङ्गम् पुगी सन्न्यास धर्मको दीक्षा लिएका थिए । यिनका गुरु यादवप्रकाशले आफ्नो पाठशालामा रहँदा रामानुजप्रति देखाएको वैरभाव र प्रतिशोधप्रति पछुतो मान्नुपर्यो र उनी पनि कालान्तरमा रामानुजसँगै सन्न्यासको दीक्षा प्राप्त गरी उनकै सेवासुश्रुषामा संलग्न हुनपुगे । रामानुजले अर्का आचार्य गोष्ठीपूर्णबाट अष्टाक्षरी 'ॐ नमो नारायणाय' यस मन्त्रको दीक्षा र उपदेश प्राप्त गरेका थिए । गोष्ठीपूर्ण गुरुले रामानुजाचार्यलाई अष्टाक्षरी नारायण मन्त्रको उपदेश गर्दै भनेका थिए - 'हे वत्स! यो परम पावन मन्त्र, जसको सुमधुर ध्वनि कानमा गुन्जिनासाथ व्यक्ति समस्त पापराशिबाट मुक्त हुन्छ, मरणोपरान्त भगवान् नारायणको दिव्य वैकुण्ठधाममा पुग्न पाउँछ, यो अत्यन्त गुप्त मन्त्र हो । यस मन्त्रलाई कुनै पनि अयोग्य व्यक्तिका कानमा नपार्नू, किनभने अयोग्य व्यक्तिले यस मन्त्रको आदर र सम्मान गर्न सक्दैन ।' गुरुले आफूलाई प्रदान गरेको अष्टाक्षरी मन्त्र कसैलाई पनि नसुनाउनु भनेर निर्देश गर्नुभएको थियो, तर जुन मन्त्रले असङ्ख्य मानव र जीवको मुक्तिमार्ग सहजै खुल्दछ, त्यस्तो मन्त्र झन् धेरै प्रचारप्रसार गर्नु ठीक हुन्छ भन्ने ठानेर रामानुजले मन्दिरको गोपुर (छानो) मा चढेर ठूलो स्वरले कराउँदै असङ्ख्य नरनारीलाई सुनाएका थिए । गुरुले आफ्नो अवज्ञा भएको ठाने र तुरुन्त रामानुजलाई नरक जानुपरोस् भनी श्राप दिए । गुरु क्रुद्ध भई आफूले श्राप पाएको चाल पाएर हाँसीहाँसी रामानुजले जवाफ दिएका थिए - 'यदि यस परम मन्त्रको श्रवण गरेर हजारौंहजार नरनारीले मुक्ति प्राप्त गर्दछन् भने म खुसी हुँदै नरक जान तैयार छु ।' भगवद्रामानुजको यस्तो उत्तर सुनेर गुरु गोष्ठीपूर्ण पनि प्रसन्न भए र रामानुजलाई लोकको जगद्गुरु भएस् भनी विशेष आशीर्वाद दिए ।

श्रीरामानुजाचार्यले यामुनाचार्यलाई आफ्नो मानसिक गुरु मानेर उनका शिष्य महापूर्णका सान्निध्यमा करिव छ महिनासम्म रहेर यामुनाचार्यका दार्शनिक सिद्धान्त र विचारको अध्ययन गरे । त्यसपछि एक वर्षसम्म सम्प्रदायका गोष्ठी, सभा र कार्यक्रममा सामेल भएनन् । त्यसपछि उनले भारतवर्षको पदयात्रा प्रारम्भ गरे । यस अवसरमा विष्णु मन्दिरका संरक्षकहरू, पण्डित र विद्वानहरूसित शास्त्रार्थ गरे । शास्त्रार्थमा पराजित भएका सबै विद्वानहरूले उनको शिष्यत्व ग्रहण गरे । उनले कतिपय महत्त्वपूर्ण र विशिष्ट मन्दिरहरूको निर्माण र जीर्णोद्धार गरे । यसरी उनको वैष्णव मत र श्रीसम्प्रदायको प्रचारप्रसार र श्रीबृद्धि हुनपुग्यो । अन्त्यमा दक्षिण भारतको श्रीरङ्गम् भन्ने स्थानबाट पैदल यात्रा गरी उत्तराखण्डको नेपाल देशमा पर्ने मुक्तिक्षेत्रको शालिग्राम क्षेत्रमा अाएर बाह्र वर्षसम्म साधना गरे । रामानुज स्वामीले उक्त अवधिमा श्रीसम्प्रदायको प्रचारप्रसारमात्र गरेनन्, यस अतिरिक्त ब्रह्मसूत्र, विष्णुसहस्रनाम र दिव्यप्रबन्धको भाष्य लेख्ने गुरुअाज्ञालार्इ पूर्णता प्रदान गर्ने कामसमेत सम्पादन गरे । त्यसपछि पनि उनले समस्त भारतवर्षको पैदल यात्रा गरी वैष्णव धर्मको प्रचारप्रसार गरे । वि. सं. ११९४ मा रामानुज स्वामीले १२० वर्षको उमेर पार गरी सांसारिक नश्वर देह त्यागी वैकुण्ठ प्रस्थान गर्दै भगवद्सान्निध्य प्राप्त गरे । शालग्राम क्षेत्रमा रचना गरिएका तिनै तीनवटा भाष्यहरू (ब्रह्मसूत्रको भाष्य, श्रीभाष्य र वेदार्थसङ्ग्रह) नै स्वामी रामानुजका उपलब्ध मूल ग्रन्थहरू हुन् ।

विशिष्टाद्वैत दर्शन : 
स्वामी रामानुजाचार्यको विशिष्टाद्वैत दर्शनमा सत्ता अथवा 'परमसत्'का तीनवटा तह छन्, ती हुन् - ब्रह्म अर्थात ईश्वर, चित् अर्थात आत्मा र अचित् अर्थात प्रकृति । वस्तुतः यी चित् अर्थात् आत्मतत्त्व र अचित् अर्थात् प्रकृतितत्त्व ब्रह्म अथवा ईश्वरभन्दा पृथक् वा फरक छैनन् । बरु यिनीहरू विशिष्ट ढङ्गले ब्रह्मकै स्वरूप हुन् र यी दुबै ब्रह्म अर्थात् ईश्वरमा आधारित छन् । यही स्वामी रामानुजाचार्यको विशिष्टाद्वैत सिद्धान्तको सार तत्त्व हो । जसरी शरीर र आत्मा फरक हुन्, तर कार्यभावले पृथक् मान्न सकिंदैन । किनभने आत्माको उद्देश्यपूर्तिका लागि शरीरले कार्य सम्पादन गर्दछ, त्यसरी नै ब्रह्म वा ईश्वरभन्दा पृथक् चित् र अचित् तत्त्वको कुनै अस्तित्व वा सत्ता स्वीकार गर्न सकिंदैन । ती ब्रह्म वा ईश्वरको शरीर हुन् भन्दा हुन्छ र त्यसरी नै ब्रह्म वा ईश्वर चित् र अचित् दुबै तत्त्वको आत्मासमान हो ।

भक्तिको तात्पर्य : 
रामानुज स्वामीको मतमा भक्तिको अर्थ पूजा, पाठ, कीर्तन वा भजन होइन, भक्ति भनेको त ध्यान र प्रार्थना हो । सामाजिक परिप्रेक्ष्यमा स्वामी रामानुजाचार्यले भक्तिलार्इ जाति र वर्गबाट अलग्ग सर्वग्राह्य मानेको पाइन्छ ।

Tuesday, April 17, 2018

परशुराम जयन्ती


परशुराम राजा प्रसेनजितकी छोरी रेणुका र भृगुवंशीय ब्राह्मण जमदग्निका सुपुत्र हुन् । उनी भगवान् विष्णुका मुख्यमुख्य दशवटा अवतारमध्ये छैटौं अंशावतार हुन् । त्यस्तै उनी आशुतोष भगवान् शिवका परम भक्त मानिन्छन् । हिन्दु परम्परामा सदैव जीवित रहने भनी विश्वास गरिने आठ जना चिरञ्जीवीमध्ये यिनी पनि एक जना चिरञ्जीवीका रूपमा प्रतिष्ठित छन् ।

यिनले भगवान् शिवबाट परशु (बन्चरो आकारको अस्त्र विशेष) प्राप्त गरेका थिए । सुरुमा यिनको नाम 'राम'मात्र थियो, तर पछि शिवबाट अमोघ अस्त्र परशु प्राप्त गरेका र सदैव परशुलाई धारण गर्ने भएकाले यिनको नामअगाडि 'परशु' शब्द गाँसिन गएकाले यिनलाई परशुराम भन्न थालियो । ऋषि जमदग्निका सुपुत्र भएकाले यिनलाई 'जामदग्न्य' नामले पनि चिनिने गर्थ्यो । यिनको जन्म अक्षय तृतीया (वैशाख शुक्ल तृतीया) का दिन भएको थियो । तृतीया तिथिको सन्ध्याकालमा जन्म भएकाले प्रत्येक वर्षको वैशाख महिनाको शुक्लपक्षको जुन दिन ठिक्क साँझ (सूर्यास्त)को समयमा तृतीया तिथिको संयोग हुन्छ, त्यसै दिन परशुराम जयन्ती मनाउने प्रचलन छ । यिनले ब्राह्मण वंशमा जन्म लिए पनि तत्कालीन समाजमा क्षत्रियहरूले पृथ्वीमा अन्याय, अत्याचार र धर्मको नाश गरी शासन गरेको हुँदा क्षत्रियहरूको अभिमान, घमण्ड र अहङ्कारलाई निस्तेज तुल्याई भूभार हरण गरेका थिए । यसरी क्रूर र अत्याचारी शासकहरूको अहङ्कारले भरिपूर्ण दमन, अन्याय र कदाचारबाट विश्वलाई मुक्ति प्रदान गर्न नै भगवान् विष्णुको अंशस्वरूप परशुरामको जन्म भएको थियो ।

 भृगुले आफ्ना छोरा ऋचिकको विवाहोत्सवपछि बुहारी सत्यवतीलाई आशीर्वाद दिंदै वर माग्न आग्रह गरे । उनकी नवविवाहिता बुहारीले आफ्ना  लागि साथै आफ्नी पुत्रहीन माताका निमित्तसमेत पुत्रप्राप्तिको कामना गरिन् । त्यसपछि महर्षि भृगुले पुत्रको कामनाले गरिने एउटा पुत्रेष्टि यज्ञको आयोजना सम्पन्न गरे । कुनै कुनै पुराणमा उक्त यज्ञ ऋषि ऋचिकको आचार्यत्वमा सम्पन्न भएको प्रसङ्ग लेखिएको पाइन्छ । जे होस्, आचार्यले  यज्ञको समापनमा अभिमन्त्रणा गरिएको जल र चरु खान भनी छुट्टाछुट्टै पात्रमा राखेर आमा र छोरी दुबैलाई दिंदा भए । दुबै जनाले ऋतुकालपछि स्नानादि गरी चरु र अभिमन्त्रित जल खाए, तर त्यसरी चरु र जल खाँदा उल्टोपाल्टो भयो । महर्षि भृगुले उक्त कुरो चाल पाए र बुहारी सत्यवतीलाई भने - 'तिम्री आमाका गर्भबाट जन्म हुने छोराले क्षत्रिय कुलमा जन्म लिए पनि ब्राह्मणोचित कर्म सम्पादन गर्नेछ, अनि तिमीले पाउने छोराले ब्राह्मण कुलमा जन्म लिए पनि क्षत्रीयोचित कर्म गर्नेछ ।' ससुराका यस्ता कुरा सुनेपछि सत्यवतीले 'जे हुनु थियो भइ हाल्यो, तर मेरो पुत्रमा ब्राह्मणोचित संस्कार हुनु पर्छ, एउटा दिव्यज्ञान भएका ऋषिकी सहधर्मिणी भएकी हुँदा मैले पाउने छोरोले ऋषिकुलको परम्परालाई निर्वाह गर्नुपर्छ भन्ने मेरो मान्यता छ ।  अतः हजुरले जसरी भए पनि आफ्ना योगबलले हामी आमाछोरीबाट भएको त्रुटिको निवारण गरिदिनु पर्यो ।' निकै अनुनय र विनय गरेपछि भृगुले भने - 'ठिकै छ, अहिले तिमीले पाउने छोरो ब्राह्मणोचित कर्म सम्पादन गर्ने नै हुनेछ, तर तिम्रो एउटा नातिमा क्षत्रीयोचित गुण प्राप्त हुनेछ ।'

त्यसपछि सत्यवतीको कोखबाट जमदग्निको जन्म भयो, उनकी आमाको कोखबाट राजर्षि विश्वामित्रको जन्म भयो  । जमदग्नि पनि पितामह भृगु र पिता ऋचिकजस्तै ब्रह्मवेत्ता र तेजस्वी ऋषि भए । उनले राजा प्रसेनजितकी छोरी रेणुकासित विवाह गरे । रेणुकाको गर्भबाट जमदग्निका पाँच भाइ छोराहरू जन्मिए । तिनीहरूमध्ये क्रमशः जेठा रुक्मवान्, माहिला सुषेण, साहिंला वसु, काहिंला विश्वावसु र कान्छा परशुराम थिए । त्यसरी आफ्नी हजुरामाले त्रुटिवश चरुभक्षण गरेको हुँदा त्यसको प्रभावले उत्पन्न हुने क्षत्रीयोचित गुणयुक्त ब्राह्मणका रूपमा परशुरामको जन्म भएको थियो ।

एक पटक गङ्गामा स्नान गरेर सद्यस्नाता रेणुका घर फर्कंदै थिईन् । गङ्गाको मनोरम तटमा गन्धर्वका राजा चित्ररथ स्वर्गका अप्सराहरूका साथमा हासपरिहास र केलिक्रीडा गरिरहेका थिए । रेणुकाले तन्मय भई चित्ररथ र अप्सराका क्रियाकलापलाई हेर्न थालिन् । उनलाई आश्रममा पुग्न केही विलम्ब भयो । उता उनी आश्रम पुग्नुअघि नै ऋषि जमदग्निले दिव्यदृष्टिबाट उक्त घटनाको जानकारी पाइसकेका थिए । उनमा क्रोधाग्निको ज्वाला दन्कीसकेको थियो । रेणुका आश्रममा आइपुग्नासाथ पतिले उनलाई मार्ने आदेश दिए र छोराहरूलाई डाक्दै त्यसरी परपुरुषका यौनमय क्रियाकलापप्रति अनुराग राख्ने आमाको हत्या गर्ने आदेश दिए । क्रमशः जेठा, माइला, साहिंला र काहिंला कुनै पनि छोराले उनको आदेशलाई स्वीकार गरेनन् । रिसले चुर्मुरिएका ऋषिले ती चारै भाइलाई जडबुद्ध (अचेतन र मूर्ख) हुनु भनेर श्राप दिइहाले । त्यसपछि कान्छो छोरो परशुरामलाई बोलाएर आफ्नो आदेश कार्यान्वयन गर्ने आज्ञा दिए । पिताको आज्ञालाई उनले तुरुन्त पालना गरे र आमाको बध गरिदिए । कान्छो छोरो परशुरामसित जमदग्नि प्रसन्न भए र इच्छामाफिकको वर माग्न आग्रह गरे । परशुरामले बाबुको आज्ञाको पालना त गरेका थिए, तर उनलाई आमाप्रति पनि अगाध माया र श्रद्धा थियो, उनलाई आफ्ना पितामा विशिष्ट सामर्थ्य छ भन्ने पनि थाहा थियो । त्यसैले मौकाको अनुकूलता विचार गरी उनले तुरुन्त वर माग्दै पितासँग विनम्र भावमा बिन्ती गरे - 'हे पिता ! हजुर मदेखि साँच्चै नै प्रसन्न हुनुहुन्छ भने मेरी आमा पुनः जीवित तुल्याउनु हवस् र मेरा यी अचेत भएका दाजुहरूले हजुरको अवज्ञा गर्नाले जुन श्राप पाएका छन्, त्यसको समेत निवारण गरिदिनु होस् ।' जमदग्नि कान्छो छोरो परशुरामको आज्ञाकारिता र चतुर्याइँबाट अतीव प्रसन्न भए र उनको इच्छामुताबिक वर दिए । त्यसबाहेक जमदग्निले परशुरामलाई चिरञ्जीवी र अमर हुने थप वरदानसमेत प्रदान गरे । त्यसैले परशुराम सप्त चिरञ्जीवीमध्ये एक जना चिरञ्जीवीका रूपमा प्रतिष्ठित हुनपुगे ।

एक दिन आश्रममा परशुराम, ऋषि जमदग्नि र उनका दाजुहरू नभएको वेलामा त्यतिवेलाको क्रूर शासक कार्तवीर्य आइपुग्यो । हजारवटा हात भएकाले उसको अर्को नाम सहस्रार्जुन पनि थियो । जमदग्निको आश्रममा कामधेनु गाई थियो । जे माग्यो त्यही दिने गाई देखेर त्यस्तो गाई त बाहुनका कुटिमा होइन, राजाका दरबारमा हुनुपर्छ भनी उसले रेणुकासँग गाई लिएर जाने कुरा गर्यो । रेणुकाले राजाका कुरा मानिनन् । त्यसपछि कार्तवीर्यले ऋषिपत्नी रेणुकालाई लछारपछार गर्नुका साथै आश्रम र गाइगोठलाई पनि तोडफोड गरेर फर्कियो । राजाको यस्तो अभद्र क्रियाकलापबाट क्षुब्ध भएका परशुरामले उससँग युद्ध गरी उसका हजारवटा हात काटेर सजाय दिए । त्यसपछि कार्तवीर्यका सेना आएर ऋषि जमदग्निको बध गरिदिए । त्यसपछि परशुरामले पनि संसारलाई क्षत्रियविहीन बनाउने भनी सङ्कल्प गरे र २१ पटक क्षत्रिय राजाहरूसँग ठूलाठूला युद्ध गरे । यसरी उनले क्षत्रियहरूलाई नाश गर्दै जाँदा क्षत्रियहरूको रगतले पाँच वटा तलाउ भरिएको थियो भन्ने भनाइ छ । उनले क्षत्रियहरूको बध गर्दा जम्मा भएको रगतले पितृहरूलाई तर्पण गर्ने गर्दथे । अन्तिममा आफ्नो नाति परशुरामको नृशंस कार्य देखेर उनका मृत पितामह ऋचिक पितृलोकबाट स्वयं उपस्थित भई 'अबउप्रान्त युद्ध त्यागी ज्ञानमार्ग अवलम्बन गर्नू' भनी आदेश गरी फर्किए । त्यसपछि परशुरामले क्षत्रियहरूसँग युद्ध गर्न छाडी तपस्या गर्न थाले ।

कालान्तरमा परशुरामले भगवान् शिवको आराधना गरी पिनाक धनु प्राप्त गरेका थिए । साथमा बोकेर हिंड्दा स्याहारसुसार गर्न असजिलो भएकाले केही समयका लागि मिथिलाका राजा शिरध्वज जनकका दरबारमा आफ्नो नासोका रूपमा राखिदिनु भनी उक्त धनु थन्क्याएका थिए । त्यो धनु यति भारी थियो कि निकै बलिया व्यक्तिले पनि उचाल्न र सार्न सक्दैन थिए । एक दिन आफ्नी छोरी सीताले बढारकुँडार गर्दा उक्त धनुलाई सजिलै वरपर सारेको देखेर राजा जनक छक्क परे । राजाले 'जसले उक्त धनुमा ताँदो चढाउने सामर्थ्य राख्छ, त्यसैलाई मेरी छोरीको विवाह गरिदिन्छु' भनी स्वयंवरको उर्दी जारी गरे । देशदेशान्तरमा यो खबर फैलियो । त्यतिवेला अयोध्याका राजकुमार राम र लक्ष्मण जनकपुर नजिकैको विश्वामित्र आश्रम (सप्तकोसीको आसपास, चतरा र रामधुनी) मा बसी विद्याध्ययन गर्दै थिए । संसारभरिका राजा र राजकुमारका साथमा रामचन्द्रले पनि उक्त धनुषयज्ञमा भाग लिए । उचालेर ताँदो हाल्नु त पर जाओस्, कसैले पनि धनुलाई टसको मस हल्लाउन पनि सकेन । तर रामचन्द्रले उचालेर ताँदो चढाउन खोज्दा पिनाक धनु भाँचियो । यसरी रामचन्द्रद्वारा शिवको धनुष भाँचिएको खबर सुनेर परशुराम क्रुद्ध भए र उक्त धनुष यज्ञमा पुगे । यसरी राम र परशुराम दुबै विष्णुका अंशावतारको त्रेता युगमा जनकपुरमा मिलन हुन पुगेको थियो । उनले सुरुमा रामचन्द्रलाई सामान्य राजकुमार ठानी भन्नु नभन्नु अनेक थोक बोलेर अपमान गर्न खोजेका थिए । तर पछि उनले रामचन्द्रसमक्ष आफ्नो धनुलाई पनि ताँदो चढाउनू भनी प्रस्ताव गरे । रामले उनको धनुमा पनि सजिलै ताँदो चढाएको देखेर उनलाई यी सामान्य मनुष्य होइनन्, विष्णुकै अवतार हुनुपर्छ भन्ने बुझ्न समय लागेन । त्यसपछि भुलचुकमा माफी माग्दै रामचन्द्रको वन्दना गरी परशुराम पुनः तपस्या गर्न वनतर्फ बाटो लागे ।

अर्को पटक रामको पराक्रमको वर्णन सुनेर उनी अयोध्या पुगे । दशरथले परशुरामको स्वागत गर्न रामचन्द्रलाई पठाए । आफ्नो आवाभगतमा आएका श्रीरामलाई देख्नासाथ परशुरामले उनको पराक्रमको परीक्षा लिने विचार गरे । परशुरामले रामलाई क्षत्रिय संहारक दिव्य धनुषमा प्रत्यञ्चा (ताँदो) चढाउन अनुरोध गरे । रामले ताँदो चढाए, त्यसपछि पुनः उक्त धनुमा एउटा दिव्यवाण राखी कतै प्रहार गर्नू भने । रामले त्यस धनुमा एउटा दिव्य वाण राखी उक्त वाण परशुरामको शरीरमा नै छाडिदिए । त्यस दिव्यास्त्रले परशुरामभित्र भएको समस्त शक्ति, सामर्थ्य र तेजलाई शोषण गरी पुनः उक्त धनुमा नै फिर्ता आयो । यसरी परशुरामको सामर्थ्य र शक्ति समाप्त भयो । त्यसपछि रामले तेजहीन भएका परशुरामलाई दिव्यदृष्टि प्रदान गरे, जसबाट उनले रामको यथार्थ स्वरूपको दर्शन पाए । यस घटनापछि एक सय वर्षसम्म लज्जित, तेजहीन र अभिमानशून्य भएर परशुराम तपस्यामा लीन भए, तदनन्तर पितृहरूको प्रेरणा प्राप्त गरी 'वधूसर' नाम गरेको नदीमा गई तीर्थस्नान गरेपछिमात्र उनले पुनः आफ्नो तेज प्राप्त गरेका थिए ।

परशुराम कुण्ड
भारतवर्षको उत्तरपूर्वमा पर्ने असम प्रान्तको पूर्वी भाग (हालको अरुणाञ्चल प्रदेशको तेजु जिल्ला) बाट ब्रह्मपुत्र नदीले हिमालय पारीको यात्रा समाप्त गरी भारत वर्षमा प्रवेश गरेको देखिन्छ । ब्रह्मपुत्र नदीका निकै शाखाहरू छन्, तीमध्ये एउटा भङ्गालोको नाम हो - लोहित । उक्त नदीको किनारमा 'परशुराम कुण्ड' नामक तीर्थस्थल छ । परशुरामले उक्त स्थानमा तपस्या गरी भगवान् शिवबाट परशु प्राप्त गरेका थिए भन्ने मान्यता छ । पिताको आज्ञानुसार आमाको बध गर्न उक्त बन्चरो कै प्रयोग गरेको तथा २१ पटक क्षत्रियहरूको बध गर्न पनि उक्त अस्त्रकै प्रयोग भएकाले प्रायश्चित्तका लागि भारतवर्षका सारा तीर्थस्थलको दर्शन र स्नानपछि अन्त्यमा पुनः उक्त स्थानमा आई बन्चरो (परशु) पखाली उनले त्यसलाई विसर्जन समेत गरेको विश्वास गरिन्छ । यहाँ प्रत्येक वर्षको माघे सङ्क्रान्तिमा मकर स्नान गर्न देशदेशान्तरबाट असङ्ख्य भक्तजनहरू आउने गर्दछन् । भारत सरकारले सीमान्त क्षेत्र भएकाले संवेदनशील र आदिवासी क्षेत्रको घोषणा गरेकाले माघे सँग्रातीबाहेक अरु वेला त्यहाँ जान विशेष पास लिएरमात्र जान सकिने व्यवस्था छ । त्यसैले वर्षमा एक पटक माघे सङ्क्रान्तिमा त्यहाँ निकै भीडभाड हुन्छ ।

यस कुण्डको वरिपरि करिब ५० किलोमीटरको क्षेत्रभित्र उचित बजार र बसोबासको व्यवस्था नभएकाले अरु वेलामा पुग्ने भक्तजनले नजिकैको ठूलो बजार तेजु वा तीनसुकियाबाट प्राइभेट गाडी रिजर्ब गरी उक्त स्थानमा पुगी, दर्शन गरी पुनः फिर्ता आउनु वेस हुन्छ । हुन त परशुरामकुण्डमा क्षत्रियहरूको रगत सङ्कलन गरी तैयार गरिएका पाँच वटा कुण्ड छन् भन्ने भनाइ छ, भनिन्छ परशुरामले तिनै कुण्डको रगतले आफ्ना पितृहरूको तर्पण गरेका र दिव्यपितृहरूको दर्शन पाई आशीर्वाद प्राप्त गरेका थिए । तर अहिले प्रत्यक्षतः त्यहाँ कुण्ड (तलाउ वा पोखरीजस्तो) को आकृतिमा कुनै दह छैन । नजिकै वहने लोहित गङ्गाको तटमा बनेका ससाना डोबिल्काहरूलाई नै कुण्डका रूपमा लिइने गरिन्छ । लोहित नदीको अर्थ पनि रगत र रातो रङ भन्ने हुन्छ । अतः त्यसैलाई परशुराम कुण्डका रूपमा व्याख्या गरिएको हुनसक्छ ।

पुत्रको कामनाले गरिने तीर्थाटनमा परशुराम कुण्डको समेत चर्चा हुने गर्दछ । पुत्रप्राप्तिमा कठिनाइ भइरहेका दम्पतीले परशुराम कुण्डमा गई स्नानादि गरी पितृहरूको श्राद्धतर्पणादि गरी आशीर्वाद प्राप्त गर्न सकेमा कुलको नाम समुज्ज्वल बनाउने एउटा दीर्घायु पुत्र प्राप्त हुन्छ भन्ने विश्वास छ । तर त्यसरी जन्मिएको बालकलाई पनि पछि बाबुले उक्त कुण्डमा पुर्याई स्नानदर्शन गराउनु पर्दछ भन्ने भनाइ पनि छ । आमाको बध गरेको खुँडो सेलाएको स्थान भएकाले परशुराम कुण्डमा एकसाथ पुत्रका साथमा आमाले यात्रा गर्नुहुँदैन भन्ने लोकोक्ति पनि प्रचलनमा रहेको पाइन्छ ।