Wednesday, March 29, 2017

चन्द्रघण्टा भगवतीको महिमा

नवरात्री पर्वको तेस्रो दिन (तृतीया तिथि) श्री नवदुर्गा भवानीको तेस्रो शक्तिका रूपमा प्रादुर्भाव भएकी श्री चन्द्रघण्टा भगवतीको महिमा बखान गर्दै आराधना गर्ने महत्त्वपूर्ण दिन हो। शिरमा अर्द्धचन्द्रयुक्त घण्टा आकारको मुकुट धारण गरेकी हुनाले यिनलाई चन्द्रघण्टा भगवती भनिएको हो। दसैंको नौरथाअन्तर्गत तेस्रो दिनको पुण्य पर्वमा सनातन हिन्दू धर्मावलम्बीहरूले नजिकका विभिन्न शक्तिपीठहरूमा गएर श्रद्धाभक्तिपूर्वक श्री दुर्गा भवानीको दर्शन गरी हर्षोल्लासका साथमा चन्द्रघण्टा भगवतीको पूजा-अर्चना गर्ने गर्दछन्।


विशेषतः आश्विन शुक्लपक्षको तृतीया तिथिका दिन हिन्दू धर्मावलम्बीहरूले आ-आफ्नो कुलपरम्परा र कुलाचारअनुसार घरभित्रै जमरा राखिएको वेदीमा वा दशैंघरमा श्रद्धापूर्वक चन्द्रघण्टा भगवतीको आह्वान गरी इष्टदेवीलाई भक्तिपूर्वक पूजाअर्चना गर्छन्। यसरी पूजाआराधना गर्ने क्रममा वा शक्तिपीठको दर्शन गर्दा "ॐ जयन्ती मङ्गलाकाली भद्रकाली कपालिनी । दुर्गाक्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ।" आदि दुर्गा भवानीका विभिन्न स्तुति र श्री दुर्गासप्तशतीको पाठ गर्ने गर्दछन्। नवरात्री पर्वको तेस्रो दिन जुनसुकै शक्तिपीठहरूको दर्शन गर्दा वा दशैंघरमा इष्टदेवीको पूजाअर्चना गर्दासमेत श्री चन्द्रघण्टा भगवतीको स्वरूप (श्री विग्रह) को ध्यानपूर्वक स्मरण गर्दै श्रद्धाभक्तिपूर्वक आराधना गरी स्तुति गर्दा भगवती चन्द्रघण्टाको अनुपम कृपा प्राप्त भई साधकका समस्त पाप नाश हुनुका साथै शुभफल प्राप्त हुन्छ र इहलोकमा समस्त मनोकाङ्क्षा पूर्ण भई परलोकमा सद्गति प्राप्त हुनेछ भन्ने धार्मिक मान्यता छ। चन्द्रघण्टा भगवतीको प्रार्थना गर्दा तल लेखिएको स्तुतिवाक्यको उच्चारण गर्नु पर्दछ :-

अर्द्धचन्द्रयुक्त घण्टाकारको मुकुट धारण गरेकी, विशुद्ध स्वर्णमय दिव्य शरीर भएकी, दसवटा भुजा भएकी र उक्त भुजाहरूमा भिन्नभिन्न शस्त्रास्त्र धारण गरेकी, सिंहमाथि विराजमान भएकी, समस्त भूत, प्रेत, पिशाचादिबाट उत्पन्न हुने बाधाहरू नाश गरी भक्तको दुःखकष्ट हरण गर्ने, शत्रुनाश गरी भक्तको सर्वतोमुखी र सर्वत्र रक्षा गरी माङ्गल्य प्रदान गर्ने श्री चन्द्रघण्टा भगवतीलाई बारम्बार प्रणाम गर्दछु ।

चन्द्रघण्टा स्तुति
कालिकां तु कलातीतां कल्याणहृदयां शिवाम् ।
कल्याणजननीं नित्यं कल्याणीं प्रणमाम्यहम् ॥
पिण्डजप्रवरारूढा चण्डकोपास्त्रकैर्युता ।
प्रसादं तनुते मह्यं चन्द्रघण्टेति विश्रुता ॥

ध्यान:-
वन्दे वाञ्छितलाभाय चन्द्रार्द्धकृतशेखराम्।
सिंहारूढां दशभुजां चन्द्रघण्टां यशस्विनीम्॥
कञ्चनाभां मणिपुरस्थितां दुर्गां त्रिनेत्राम्।
खड्गगदात्रिशूलचापधरां पद्मकमण्डलुमालावराभीतिकराम्।
पटाम्बरपरिधानाम्मृदुहास्यां नानालङ्कारभूषिताम्।
मञ्जीरहारकेयूरकिङ्किणिरत्‍‌नकुण्डलमण्डिताम्॥
प्रफुल्लवदनां बिम्बाधरां कान्तकपोलां तुङ्गकुचाम्।
कमनीयां लावण्यां क्षीणकटीं नितम्बिनीम्॥

स्तोत्र:-
आपदुद्धारिणी त्वं हि आद्याशक्ति: शुभां पराम्।
अणिमादि सिद्धिदात्री चन्द्रघण्टे नमाम्यहम्॥
चन्द्रमुखी इष्टदात्री इष्टमन्त्रस्वरूपिणी।
धनदात्री नन्ददात्री चन्द्रघण्टे नमाम्यहम्॥
नानारूपधारिणीच्छामय्यैश्वर्यप्रदायिनी।
सौभाग्यारोग्यदायिनी चन्द्रघण्टे नमाम्यहम्॥


चन्द्रघण्टा भगवतीको स्वरूप अत्यन्त कल्याणकारी र शान्त छ र यिनको शरीरबाट विशुद्ध स्वर्णमय कान्ति फैलिरहेको हुन्छ। यिनका दसवटा हात छन् र  ती हातहरूमध्ये दाहिने पट्टिका पाँचवटा हातमा क्रमशः खड्ग, गदा, त्रिशूल, धनुष र भाला तथा देब्रेपट्टिका पाँचवटा हातमा क्रमशः कमलको फूल, कमण्डलु, जपमाला, वरमुद्रा र अभयमुद्रा धारण गरी भक्तहरूलाई रक्षा गर्नको निम्ति उनी सदैव तम्तयार रहने धारण गर्दछिन् । यिनी सधैं रातो वस्त्रमा सजिएर सिंहमाथि सवार गर्दछिन्, त्यसैले यिनलाई सिंहवाहिनी पनि भन्ने गरिन्छ । धार्मिक मान्यताबमोजिम भक्त (साधक) ले मन, वचन र कर्मले शुद्ध भई मनलाई 'मणिपुर' चक्रमा केन्द्रित गरी श्रद्धाभक्तिपूर्वक श्री चन्द्रघण्टा भगवतीको आराधना गरी पूजा-अर्चना गर्दा भगवती प्रसन्न भई भक्तको रक्षाका निम्ति यिनको घण्टाको भयानक चण्डध्वनिको तरङ्ग फैलिन्छ। आफ्ना भक्तजनलाई दुःख दिने भूत, प्रेत, पिशाचहरूलाई घण्टाको चण्डध्वनिको आवाजबाट भगाई यिनले सबै दिशाहरूबाट रक्षा गरी तिनका दुःख र पीडालाई तुरुन्त नाश गरिदिन्छिन्।

नवरात्रको गन्तव्य शक्तिपीठ


 -  रामप्रसाद धिताल

गुह्येश्वरी
पशुपतिनाथको मन्दिरदेखि एक किलोमिटर पूर्वमा रहेको गुह्येश्वरीको मन्दिर बागमती नदीको किनारमा अवस्थित छ । भगवान् शिवकी पत्नी सतीदेवीको गुह्याङ्ग पतन भएको विश्वासमा शक्तिपीठको रूपमा गुह्येश्वरीको ठूलो महत्त्व छ । चाँदीको कलशले ढाकिएको मन्दिरभित्रको जलपूर्ण कुण्डलाई श्रद्धालुहरू देवीको रूपमा पूजा गर्ने गर्दछन् । गुह्येश्वरीको महिमा नेपालमाहात्म्य, हिमवत्खण्ड, श्रीस्वस्थानी व्रतकथा आदिमा बताइएको छ ।

भद्रकाली
सिंहदरबारदेखि केही मिनेट पश्चिममा रहेको भद्रकालीको मन्दिर सामान्य स्वरूपको छ । चामुण्डा देवीको रूपमा पुजिने भद्रकाली देवीको मूर्ति सामान्य शिलायुक्त छ । तान्त्रिक पद्धतिअनुसार नवरात्रमा विशेष पूजा गरिने यहाँका पुजारी बताउँछन् । दुर्गाकवचमा उल्लेख भएअनुसार भगवतीका अनेक रूपमध्ये भद्रकाली पनि एक हो ।

शोभा भगवती
विष्णुमतीको किनारमा रहेको शोभा भगवतीको मन्दिर लिच्छवीकालीन मानिन्छ । भगवती दुर्गाको रूपमा पुजिने शोभा भगवतीको स्वरूप अष्ट भूजायुक्त आकर्षक देख्न सकिन्छ । नवरात्रमा विशेष पूजासहित दुर्गा सप्तशती चण्डी पाठ गरिने यस मन्दिरमा भक्तजनको ठूलो भीड लाग्ने गर्दछ ।

नक्साल भगवती
काठमाडौँ उपत्यकाका प्रसिद्ध शक्तिपीठमध्ये नक्साल भगवती पनि एक हो । नारायणहिटी दरबारस्थित यो मन्दिरमा सोह्र भूजायुक्त देवीको मूर्ति रहेको छ । भगवती दुर्गाकै रूपमा पुजिने नक्साल भगवतीप्रति काठमाडौँ उपत्यकाका भक्तजनहरूको ठूलो आस्था रहेको पाइन्छ ।

तलेजुभवानी
काठमाडौँ दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर वर्षको एकदिन अर्थात् बडादसैँको नवमीमा मात्र खुल्छ । तुलजा भवानीलाई पुज्ने परम्परा काठमाडौँ उपत्यकालगायत अन्य ठाउँमा पनि पाइन्छ । चौधौँ शताब्दीमा सिम्रौनगढका राजा हरिहरसिंहदेवले मुसलमानको आक्रलमणबाट बचाएर ल्याई तुलजा भवानीलाई भक्तपुरमा स्थापना गरेको इतिहास पाइन्छ । भक्तपुरपछि क्रमशः कान्तिपुर र ललितपुरमा समेत स्थापना गरिएको थियो । नेपालमा राज्य गर्ने राजाहरूले तुलजा भवानीलाई इष्टदेवी मान्ने गरेका छन् ।

बगलामुखी
नवरात्रमा विशेष आकर्षणको केन्द्र बन्ने अर्को शक्तिपीठ हो बगलामुखी । पाटन दरबार क्षेत्रबाट केही मिनेट उत्तरमा पर्ने बगलामुखी कुम्भेश्वर मन्दिर परिसरमा छ । तन्त्रशास्त्रअनुसारका दस महाविद्यामध्ये बगलामुखी पनि एक हुन् । बिहीबार विशेष भीड हुने बगलामुखीको दर्शनबाट मनोकाङ्क्षा सिद्धि हुने विश्वास गरिन्छ ।

दक्षिणकाली
काठमाडौँ उपत्यकाको दक्षिणी भाग फर्पिङमा रहेको दक्षिणकालीको मन्दिर मातृशक्तिको उपासना गर्ने जोसुकैको आकर्षणको केन्द्रबिन्दु हो । मन्दिरमा शिलामा रहेको कालीको मूर्तिसँगै अष्टमातृकाका आदिका मूर्तिहरू समेत छन् ।

बज्रवाराही
चापागाउँदेखि पूर्वी भागमा पर्ने बज्रवाराहीको मन्दिर पनि शक्तिपीठकै रूपमा प्रख्यात छ । तान्त्रिक विधिबाट गुभाजुहरूबाट नित्य पूजा गरिने यस मन्दिरमा अष्टमातृकासहित बज्रवाराहीको शिलाको मूर्ति छ । दुर्गाकवचमा वाराही देवीको चर्चा विभिन्न ठाँउमा गरिएको हुनाले पनि बज्रवाराही उपासनाको ठूलो महत्त्व रहेको यहाँका पुजारी बताउँछन् ।

बज्रयोगिनी
काठमाडौँको साँखुदेखि उत्तरतिरको डाँडामा रहेको बज्रयोगिनीको मन्दिर अठारौँ शताब्दीको पहिलो दशकतिर बनेको मानिन्छ । उपत्यका र वरिपरि जिल्लाका भक्तजनले तान्त्रिक देवीको रूपमा बज्रयोगिनीको आराधना गर्छन् । मन्दिरमा बज्रयोगिनी, उग्रतारा, सिंहबाहिनीका मूर्तिहरू देख्न सकिन्छ । बौद्ध धर्मावलम्बीहरू समेतको आस्था रहेको यहाँको वातावरणबाट प्रस्ट हुन्छ ।

पलाञ्चोक भगवती
काभ्रेपलाञ्चोक जिल्लाको भगवती गाविसमा पर्ने यो मन्दिर लिच्छविकालीन राजा मानदेवको पालामा बनाइएको मानिन्छ । यिनै पलाञ्चोक भगवतीको नामबाट काभ्रेसँग पलाञ्चोक थपिन गएको बुझ्न सकिन्छ । विभिन्न शस्त्रअस्त्र बोकेकी महिषासुर मर्दिनीको रूपमा रहेकी पलाञ्चोक भगवतीको मन्दिर पुग्न काठमाडौँबाट गाडीमा तीन घण्टाको यात्रा गर्नुपर्छ ।

यीबाहेक काठमाडौँमा नरदेवी (श्वेतकाली), रक्तकाली मैतीदेवी कालिकास्थान सङ्कटा, भक्तपुरमा इन्द्रायणी, नवदुर्गा आदि शक्तिपीठ नवरात्रका लागि प्रमुख गन्तव्यस्थल मानिन्छन् । यसैगरी उपत्यकाबाहिर गोरखामा मनकामना, पाल्पामा तानसेन भगवती, बाँकेमा बागेश्वरी, बागलुङमा माइस्थान, डोल्पामा त्रिपुरासुन्दरी, कालीकोट र बाजुराको सिमानामा पर्ने बडीमालिका भगवती, पोखरामा बिन्ध्यवासिनी, बारामा गढीमाई आदि शक्तिपीठहरूमा विशेष पूजाअर्चनाको साथै बलि दिइने परम्परा छ ।


Tuesday, March 28, 2017

ब्रह्मचारिणी रूपको आराधना

नवरात्री पर्वको दोस्रो दिन (द्वितीया तिथि) मा श्री नवदुर्गा भवानीको दोस्रो स्वरूपका रूपमा प्रादुर्भाव भएकी श्री ब्रह्मचारिणी भगवतीको श्रद्धाभक्तिपूर्वक पूजाअर्चना गर्ने प्रचलन छ । यस दिन सनातन हिन्दु धर्मावलम्बीहरूले आआफ्ना कुलपरम्परा र कुलाचारअन्तर्गत रही घरको पूजाकोठामा वा सामूहिक/पारम्परिक दसैंघरमा श्रद्धा-भक्तिपूर्वक पूजा अर्चना गर्ने गर्दछन् । यसरी पूजा अर्चना गर्दा वा विभिन्न शक्तिपीठहरूको दर्शन गरी पूजा आराधना गर्दा दुर्गा भवानीको 'ॐ नमः जयन्ती मङ्गला काली भद्रकाली कपालिनी । दुर्गा क्षमा शिवा धात्री स्वहा स्वधा नमोऽस्तु ते ।।' आदि स्तुतिहरूको उच्चारण गर्ने चलन छ, यसका साथै विशेषतः श्री ब्रह्मचारिणी देवीको स्वरूप (श्री विग्रह)लाई ध्यानपूर्वक स्मरण गर्दै स्तुति गरेमा साधक (भक्त)ले मनोवाञ्छित फल प्राप्त गर्नसक्ने शास्त्रीय मान्यता छ । ब्रह्म शब्दको अर्थ तपस्या र चारिणीको अर्थ आचरण गर्ने स्त्री विशेष भन्ने अर्थ हुन्छ । भगवती ब्रह्मचारिणीको मुख्य आचरण तपस्या गर्नु नै रहेको हुनाले यिनलाई ब्रह्मचारिणी देवी भनिएको हो । आद्याशक्ति जगन्माता भगवती दुर्गाको द्वितीय महत्त्वपूर्ण रूप ब्रह्मचारिणीको स्तुति र आराधना गर्न तलका संस्कृत श्लोकहरूको उपयोग गर्न सकिन्छ :-


ब्रह्मचारिणी स्तुति
त्रिपुरां त्रिगुणाधारां मार्गज्ञानस्वरूपिणीम् ।
त्रैलोक्यवन्दितां देवीं त्रिमूर्तिं प्रणमाम्यहम् ॥
दधानापरपद्माभ्यामक्षमालाकमण्डलुम्।
देवी प्रसीदतु मयि ब्रह्मचारिण्यनुत्तमा ॥

ध्यान :-
वन्दे वाञ्छितलाभाय चन्द्रार्द्धकृतशेखराम् ।
धृतकमण्डलुमालाब्रह्मचारिणी वै शुभा ॥
गौरवर्णां स्वाधिष्ठानस्थितां द्वितीयदुर्गां त्रिनेत्राम् ।
धवलपरिधानां ब्रह्मरूपां पुष्पालङ्कारभूषिताम् ॥
पद्मवदनां पल्लवाधरां कान्तकपोलां पीनपयोधराम् ।
कमनीयां लावण्यां स्मेरमुखीं निम्ननाभिं नितम्बनीम् ॥

स्तोत्र :-
तपश्चारिणी त्वं हि तापत्रयनिवारिणी ।
ब्रह्मरूपधरा ब्रह्मचारिणीं प्रणमाम्यहम् ॥
नवचक्रभेदिनी त्वं हि नवैश्वर्यप्रदायिनी ।
धनदा सुखदा ब्रह्मचारिणीं प्रणमाम्यहम् ॥
शङ्करस्य प्रिया त्वं हि भुक्तिमुक्तिप्रदायिनी ।
शान्तिदा मानदा ब्रह्मचारिणीं प्रणमाम्यहम् ॥

भगवती दुर्गाको द्वितीय स्वरूप ब्रह्मचारिणी देवीको कवच :-
त्रिपुरा हृदये पातु ललाटे पातु शाङ्करी ।
अपर्णा नेत्रयोः पातु अधरे च कपोलयोः ॥
कण्ठे पञ्चदशी पातु मध्यदेशे महेश्वरी ।
षोडशी च सदा पातु नाभौ गुह्ये च पादयोः ।
सर्वदिगङ्गप्रत्यङ्गे पातु मे ब्रह्मचारिणी ॥


प्राचीन धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार ब्रह्मचारिणी भगवतीले पूर्वजन्ममा हिमालय पर्वतकी पत्नी मेनकाको गर्भबाट जन्म लिई नारदमुनिको उपदेशबाट प्रभावित भई भगवान् शिवलाई पतिका रूपमा प्राप्त गर्ने उद्देश्यले अत्यन्त अकल्पनीय कठोर तपस्या गरेकी थिइन् । कैयौं वर्ष लगाएर गरिएको उक्त तपस्यामा उनले वर्षायाम र गर्मी मौसममा खुल्ला आकाशमा कष्टपूर्वक तपस्या गरेकी थिइन्। त्यसरी तपस्या गर्ने क्रममा उनले एक हजार वर्षसम्म फलाहार गरी र त्यसपछि तीन हजार वर्षसम्म अन्नजलादि समेत ग्रहण नगरी केवल जमिनमा झरेको बेलपत्रका सुकेका पातहरू मात्र सेवन गरी तपस्या गरेकी थिइन्। त्यसपछि सुकेका बेलपत्रसमेत सेवन गर्न छाडेर हजारौं वर्षसम्म अन्नजल त्यागी निर्जल निराहार रही शिवजीको आराधना गरी अत्यन्त कठोर तपस्या गरेकी हुनाले यिनलाई 'अपर्णा  ' पनि भन्ने गरिन्छ । यसरी हजारौं वर्षसम्म कठिन तपस्या गरेकी हुनाले आमा मेनकाले  'उ-मा' भनी सम्बोधन गरेकीले यिनलाई उमा भनेर पनि पुकारिन्छ । यसरी अलौकिक, अभूतपूर्व एवं अत्यन्त कठिन तपस्यामा मन, वचन, कर्मले निष्ठापूर्वक निरन्तर लागिरहेको हुनाले नै तपश्चारिणी अर्थात् ब्रह्मचारिणीको नामद्वारा यिनी संसारमा प्रख्यात भएकी हुन् । नवरात्री पर्वको दोस्रो दिन साधकले दैहिक र आत्मिक शुद्धिपूर्वक श्रद्धाभक्तिका साथमा आफ्नो मनलाई 'स्वाधिष्ठान' चक्रमा केन्द्रित गरी श्री दुर्गा भवानीको दोस्रो स्वरूप श्री ब्रह्मचारिणी भगवतीको आराधना गरी भक्तिपूर्वक पूजाअर्चना गर्दा देवीको असीम कृपाद्वारा जीवनमा जस्तोसुकै कठिन सङ्घर्षको जटिल अवस्थामा समेत उसले कर्तव्यपथबाट कदापि विचलित हुनु पर्दैन, सर्वत्र सिद्धि र विजय प्राप्ति हुनुका साथै मनोवाञ्छित अनन्त शुभफलहरू प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ। अस्तु।

शैलपुत्री भगवतीको महिमा

सनातन हिन्दु धर्मावलम्बीहरूको प्रमुख चाड दसैं नेपाल र नेपालीको  संस्कृति भइसकेको छ । त्यसैले दसैं राष्ट्रिय पर्वको रूपमा मनाइन्छ । आश्विन शुक्ल पक्षको प्रतिपदादेखि हिन्दु धर्मावलम्बीहरूको प्रमुख चाड नवरात्रि पर्व सुरु हुन्छ । नवरात्रको पहिलो दिन, यस दिन सनातन हिन्दु धर्मावलम्बीहरूले आआफ्नो परम्परा र कुलाचारअनुसार बिहान सबेरै नदीबाट शुद्ध जल ल्याउने गर्दछन् र त्यसपछि घरभित्र कै पूजा कोठामा वा सामूहिक रूपमा देवीघरको स्थापना गरी त्यहाँ कलश स्थापना (घटस्थापना) गरी बलौटे माटोमा जौ छरेर जमरा राखिन्छ । आआफ्नो इष्टदेवीको आराधना गरी पूजाअर्चना गरिन्छ। यस अवसरमा नवदुर्गा भवानीका विभिन्न शक्ति पीठहरूको दर्शन गर्न जाने चलन पनि छ ।


नवरात्रको पहिलो दिन नवदुर्गा भवानी प्रथम स्वरूप शैलपुत्रीका रूपमा प्रकट हुन्छिन् भन्ने विश्वास गरिन्छ। त्यसैले नवरात्रिको पहिलो दिन शैलपुत्री भवानीको स्वरूपको ध्यान गरी पूजाअर्चना गर्ने गरिन्छ । भगवतीको स्तुति गर्दा 'ॐ नमः जयन्ती मङ्गला काली भद्रकाली कपालिनी । दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ।।' आदि स्तुतिको उच्चारण गरिन्छ ।

जगत्पूज्ये जगद्वन्द्ये सर्वशक्तिस्वरूपिणि।
सर्वात्मिकेशि कौमारि जगन्मातर्नमोऽस्तुते।।

ध्यान:-
वन्दे वाञ्छितलाभाय चन्द्रार्द्धकृतशेखराम्।
वृषारूढां शूलधरां शैलपुत्रीं यशस्विनीम्॥
पूणेन्दुनिभां गौरी मूलाधारस्थितां प्रथमदुर्गात्रिनेत्राम्।
पटाम्बरपरिधानां रत्नकिरीटीनां नानालङ्कारभूषिताम्॥
प्रफुल्ल वदनां पल्लवाधरां कान्तकपोलां तुङ्गकुचाम्।
कमनीयां लावण्यां स्मेरमुखीं क्षीणमध्यां नितम्बिनीम्॥

स्तोत्र:-
प्रथमरूपदुर्गाख्ये भवसागरतारिणीम्।
धनैश्वर्यप्रदायिनीं शैलपुत्रीं नमाम्यहम्॥
त्रिलोकजननी त्वं हि परमानन्ददायिनीम्।
सौभाग्यारोग्यदायिनीं शैलपुत्रीं नमाम्यहम्॥
चराचरेश्वरी त्वं हि महामोहविनाशिनीं।
भुक्तिमुक्तिप्रदायिनीं शैलपुत्रीं नमाम्यहम्॥

शैलपुत्री देवीको कवचपाठ -
ॐकारः मे शिर: पातु मूलाधारनिवासिनी।
हींकारः पातु ललाटे बीजरूपा महेश्वरी॥
श्रीकारः पातु वदने लज्जारूपा महेश्वरी।
हूंकारः पातु हृदये तारिणीशक्ति स्वधृता॥
फट्कारः पातुसर्वाङ्गे सर्वसिद्धिफलप्रदा।

प्राचीन ग्रन्थअनुसार जगदम्बा भगवती सत्ययुगमा सतीदेवीको रूपमा दक्ष प्रजापतिको घरमा उत्पन्न भई आफ्ना पिताद्वारा आफ्ना पतिको तिरस्कार र अपमान भएकाले सहन नसकी आत्मदाह गरी पुनः पर्वतराज हिमालय पर्वतकी छोरीका रूपमा पार्वतीका नामबाट जन्मिएकी हुन् । पर्वतलाई शैल भनिने हुनाले तिनै पार्वतीको नाम शैलपुत्री रहन गएको हो । यिनलाई हेमवती पनि भन्ने गरिन्छ । उनको विवाह भगवान् शङ्करसँग भएको थियो । यिनलाई श्रद्धापूर्वक आराधना गर्दा साधकले आफ्नो मनलाई 'मूलाधार' चक्रमा केन्द्रित गरी आह्वान गर्नुपर्छ, यसो गर्दा योगसाधनाको प्रादुर्भाव हुन पुग्छ ।

ज्योतिषशास्त्र अनुसार यस्तो छ, नववर्ष २०७४ को वर्षफल

ज्योतिषीय आधारमा चैत्र महिनाको शुक्लपक्षको प्रतिपदा तिथिका दिनदेखि नयाँ संवत्सरको प्रारम्भ हुने गर्दछ । चान्द्र पद्धतिमा निर्धारण गरिने भएकाले यो समय सामान्यतया चैत्र १ गतेदेखि वैशाख १ गतेभित्रको कुनै दिन पर्ने गर्दछ, तर त्यो दिन चैत्र महिनामा पर्ने औंसीको भोलिपल्ट हुनुपर्दछ ।

चैत्रेमासे जगद् ब्रह्मा ससर्ज प्रथमेहनि । शुक्लपक्षे समग्रे तु तदा सूर्योदये सति ॥

माथि उल्लेख भएको श्लोकको आशय बमोजिम ब्रह्माले सृष्टिको प्रारम्भ यसै दिनबाट गरेका हुन् । सनातन हिन्दू धर्मसंस्कृतिका कुनै पनि कर्म गर्दा सङ्कल्प उच्चारण गर्ने प्रचलन छ र सङ्कल्पमा अनिवार्य रूपमा संवत्सरको उच्चारण गरिन्छ । आजबाट सुरु हुने संवत्सरको नाम साधारण हो, त्यसैले आजबाट गुरु-पुरोहितहरूले साधारण नामको संवत्सरको उच्चारण गरी धार्मिक कृत्य सम्पादन गर्नेछन् । संवत्सर भुक्तभोग्य विचार गर्दा सौरमानले वैशाख ०५ गतेबाट विरोधकृत् नामक संवत्सर प्रारम्भ हुनेछ, तर सङ्कल्पादि गर्दा वर्षभरि नै साधारण नामको संवत्सरको उच्चारण गर्नुपर्दछ । सामान्य अर्थमा संवत्सरको अर्थ वर्षको नाम हो, यस्ता संवत्सर ६० वटा रहेका छन् । साठीवटा संवत्सरमध्ये साधारण नामक संवत्सर चौवालीसौं क्रममा पर्दछ । चान्द्रपात्रोबमोजिम आज चैत्र शुक्ल पक्षको प्रतिपदा तिथि भएकाले ज्योतिषीय आधारमा नयाँ वर्ष २०७४ र शाके संवत् १९३९ प्रारम्भ भएको छ । यस वर्षका निम्न वैशिष्ट्य देखिन्छन् :-

साधारण संवत्सरको फल यस्तो छ :-
साधारणाब्दे वृष्ट्यर्घं भयं साधारणं मतम् ।। मध्यसम्पद्धराधीशाः प्रजाः स्युः स्वस्थचेतसः ।।
यसको अर्थ हुन्छ :- यस वर्ष सामान्य मूल्यबृद्धि हुनेछ । शासक र शासित दुबै वर्ग प्रसन्न रहने छन् । लोकमा मध्यमखालको सम्पन्नता छाउने छ ।

तर यसै वर्ष विरोधकृत् संवत्सरको प्रभाव पनि देखिने सम्भावना छ । उक्त संवत्सरको फल यस्तो छ :-
विरोधकृद् वत्सरे तु परस्परविरोधिनः । सर्वे जनाः नृपाश्चैव मध्यसस्यार्घवृष्टयः ।।
 तर विरोधकृत् संवत्सरको प्रभाव सुरु भएपछि सरकारको कामकारबाहीमा क्रूरता र नृशंसता थपिने छ । जनता आन्दोलित बन्नेछन् । मध्यमरूपमा मूल्यबृद्धि हुनेछ ।

चैत्र शुक्लपक्षको प्रतिपदा तिथिका दिन जुन बार पर्छ, त्यस बारको आधिपत्यमा ग्रह परिषद्को गठन हुने गर्छ, त्यसैले आज बुधबार परेको हुँदा आगामी वर्ष २०७४ को राजा बुध हुनेछ । त्यस्तै वैशाख संक्रान्तिका दिन जुन बार पर्छ, त्यसैले प्रधानमन्त्रीको भूमिका निर्वाह गर्ने प्रचलन छ । यस पटक वैशाख १ गते शुक्रबार परे पनि सङ्क्रान्ति प्रवेश विहानको राती नै हुने भएकाले अघिल्लो दिनको बार (बिहीबार) अनुसार ग्रह परिषद्को मन्त्रीको भूमिकामा देवगुरु बृहस्पति रहने छन् । राजकुमारको स्वभावयुक्त बुध ग्रहको राजपद महत्त्वाकाङ्क्षा र अविवेकले ग्रस्त हुने हुँदा राज्यका ठूला पदाधिकारीबाट गरिने विवेकहीन क्रियाकलापबाट जनता आतङ्कित बन्नेछन् । राजा बुध रहँदा वर्षको यस्तो फल प्राप्त हुन्छ :-

बुधस्य राज्ये सजलं महीतलं गृहे गृहे तूर्यविवाहमङ्गलम् ।।
प्रकुर्वते दानदयाजनोपि स्वस्थ्यं सुभिक्षं धनधान्यसङ्कुलम् ।।
(बुध राजा भएको समयमा पृथ्वीमा जलको पर्याप्तता हुनेछ, घरघरमा माङ्गलिक, सांस्कृतिक र धार्मिक कृत्य सम्पादन हुनेछन्, दान एवं परोपकारका लागि लोक प्रवृत्त रहने छ । आवश्यक अन्नादिको उत्पादन हुनाले जनस्तरमा हर्षता व्याप्त हुनेछ ।)

सामान्यतया बुध ग्रहको प्रभाव भोगविलासका साधनहरू, विद्वत्ता र बुद्धि खियाएर गरिने कामहरू, सञ्चारमाध्यम, इलेक्ट्रोनिक मालमत्ता, मनोरञ्जनात्मक क्षेत्र, किशोरअवस्था, खेलकुद र मोजमस्ती आदि क्षेत्रमा हुने गर्दछ । त्यसैले आगामी वर्ष बुध राजा भएकाले राष्ट्रको आर्थिक अभिबृद्धिको सङ्केत देखिंदैछ । भोगविलासको साधन जुटाउन जनता लालायित हुनेछन् । आधुनिक उपकरण र मोटरकारलगायतका सवारीसाधनको कारोबार फस्टाउने छ । सञ्चारका उपकरणहरू, फेसनडिजाइनका वस्तु, रेडिमेड कपडाको कारोबारमा बृद्धि हुनेछ । ज्ञानविज्ञानका क्षेत्रहरू विद्यालय, विश्वविद्यालय आदिको स्तरोन्नति हुनुका साथै मेधावी छात्रछात्राले उच्च सफलता र प्रतिष्ठा प्राप्त गर्नेछन् । तर किशोर वयको बुध ग्रह भएकाले महत्त्वाकाङ्क्षा र लहडीपनमा बृद्धि भई अकर्मण्यता र अनुत्तरदायी क्रियाकलापमा पनि बृद्धि हुने सम्भावना देखिन्छ । ज्ञानविज्ञान र प्रविधिको जानकार ग्रह भए पनि दायित्व र जिम्मेबारीबोध बुध ग्रहमा ढिलो सुरु हुने गर्दछ । धान, गहुँ, उखु, मकै आदि वर्षेबालीको उत्पादनमा बृद्धि हुने छ ।

ज्योतिषीय गणनाबमोजिम यस वर्षको राजाको वाहन चक्र (बुधचक्रं) अर्थात्  हो । त्यसैले कतैकतै अत्यधिक वर्षा हुन गई बाढी, पहिरो र भूस्खलनका समस्या देखिने छन् भने कतै खडेरीको चपेटामा जनता आकुलव्याकुल हुने सम्भावना पनि छ ।

आगामी २०७३ सालको ग्रह परिषद्को मन्त्री बृहस्पति ग्रह छ । बृहस्पति मन्त्री हुँदा निम्नानुसारको फल प्राप्त हुने उल्लेख गरिएको पाइन्छ :-

विविधधान्ययुता खलु मेदिनी प्रचुरतोयघना मुदिता भवेत् ।।
नृपतयो जनपालनतत्पराः सुरगुरौ ननु मन्त्रिसमागमे ।।
(देवगुरु बृहस्पति मन्त्री पदमा बसेको वर्षमा शासकको मुख्य ध्येय जनताका इच्छाआकाङ्क्षा पूर्ण गर्नु हो । मौसमअनुकूल उचित वर्षा हुनाले पृथ्वीमा अन्नादिको प्रशस्त उत्पादन हुन्छ र जनता पनि प्रसन्न रहने गर्दछन् ।)

बृहस्पति ग्रह ज्ञानविज्ञान, अध्यात्म र परम्परासँग सम्बद्ध ग्रह मानिन्छ । त्यसैले यस ग्रहको प्रभावले मठमन्दिर, विद्वत्ता, परम्परा, संस्कार र संस्कृतिसम्बद्ध काममा उन्नति र सफलता प्राप्त हुन्छ । पत्रकारिता, लेखन, शिक्षणप्राध्यापन र प्राविधिक सीपसँग जोडिएका व्यक्तिका लागि यो वर्ष उन्नतिकारक र उत्साहवर्द्धक रहने छ, त्यस्तै दैनिक उपभोगका वस्तुको कारोबार गर्ने व्यक्तिका निमित्त आर्थिक सफलता प्राप्त गर्ने वर्ष देखिन्छ । त्यसैले बुध राजा भए पनि बृहस्पति मन्त्री भएकाले केही अनुकूल समयका रूपमा यस वर्षलाई लिन सकिन्छ ।

यस पटक कृषि क्षेत्रमा दुई वटा ग्रहको प्रभाव देखिन्छ, वर्षे बालीको जिम्मेवारी (सस्येश) सूर्यले र हिउँदे बालीको जिम्मेवारी (धान्येश) शनिश्चरले प्राप्त गरेका छन् । 
सस्येश सूर्यको फल यस्तो छ :-
सस्याधिनाथे तरणौ हि पूर्वं धान्यं समर्घं बहवोपि चौराः ।।
युद्धं नृपाणां जलदा जलाढ्याः स्वल्पं च सस्यं बहुभूरुहाश्च ।।

धान्येश शनिश्चर भएमा यस्तो फल पाइन्छ :-
दुर्भिक्षं जायते तत्र कलहं देश विग्रहम् ।। सौराष्ट्रदेशनष्टश्च यत्र धान्याधिपः शनिः ।।

सूर्य र शनिको कृषिक्षेत्रमा प्रभाव रहँदा ग्रीष्मकालीन जौ, मकै, धान, गहुँ आदि अन्नादिको दाममा ह्वात्तै बृद्धि हुने सम्भावना हुन्छ । चोरी, आगलागीजस्ता प्राकृतिक प्रकोपका कारण नोक्सानी हुनेछ । सरकारमा द्वन्द्व र खिचातानी भइरहन्छ । नदीनालामा जलस्तर बढ्छ । धान्येश पदमा आसीन शनिका कारण कतिपय ठाउँमा दुर्भिक्ष र वादविवाद एवं झगडा बढ्ने छ । भारतवर्षको सौराष्ट्र (अहिलेको गुजरात र महाराष्ट्रको केही भाग) मा समस्या वृद्धि हुनेछ ।

सिंचाइ मन्त्रालयको जिम्मेबारी क्रमशः बृहस्पति र मङ्गलले पाएका छन् । मेघको स्वामित्व बृहस्पति र रसको स्वामित्व मङ्गलले गर्दैछन् । 
बृहस्पति ग्रहले मेघेशको जिम्मा लिंदा यस्तो फल प्राप्त हुन्छ :-
गुरुरविप्रियदृष्टिकरः सदाखिल विलासवती धरणी तदा ।।
श्रुतिविचारपराः नरपालकाः रससम्मृद्धियुता खिल मानवाः ।।

त्यस्तै मङ्गल रसेश हुँदा यस्तो फल हुन्छ :-
यदि धरातनयो रसपो भवेन्ररसराशियुता जनता शुभा ।।
नरपतिर्विषमो जनतापदो न जलदो बहुबृष्टिकरो भुवि ।।

माथिका दुवै श्लोकको भावार्थ हो :-  बृहस्पतिको प्रभावले यस वर्ष पर्याप्त वर्षा हुनेछ । लोकमा आनन्दको सञ्चार हुनेछ, ज्ञानविज्ञानका नयाँनयाँ क्षेत्रमा सबैको ध्यान आकृष्ट बन्नेछ । उता रसेश पदको मङ्गलले जनताले सुखशान्ति नै प्राप्त गर्ने देखिन्छ, तर राज्यमा कलह र वैमनस्यको स्थिति रहने सम्भावना हुन्छ । ठाउठाउँमा अतिवृष्टि र अनावृष्टिको परिस्थिति उत्पन्न हुनसक्छ ।

सूर्य ग्रहले यस वर्ष निरसेशको भूमिका समेत निर्वाह गर्दैछ । निरस भनेको ठोस पदार्थ र धातु हो । यसको स्वामित्व पाएको हुनाले सूर्यले प्रदान गर्ने फलको प्रभाव यस्तो छ  :-
निरसाधिपतौ सूर्ये त्रपुचन्दनयोरपि ।। रत्नमाणिक्यमुक्तादेरर्घवृद्धिः प्रजायते ।।

यसको भावार्थ हो :- सूर्य नीरसको भूमिकामा भएकाले सुनचाँदी र मणिमाणिक्यादिबाट बनेका वस्तुको र सुगन्धित द्रव्य, सेन्ट, इत्तर, बिजुलीका सामान, साजसज्जाका वस्तुहरू आदिको मूल्यमा भारी बृद्धि हुनेछ । 

त्यसबाहेक बुध ग्रहले फलेशको भूमिका निर्वाह गरेको छ । यसको प्रभावले प्रशस्त फलफूलको उत्पादन हुनुका साथै यसको मूल्यमा गिरावट आउने सङ्केत छ । त्यस्तै आर्थिक अधिकार पनि सूर्यले प्राप्त गरेको छ । त्यसैले वित्तीय पक्षमा शुभ फल प्राप्त हुनेछ । सेयर कारोबार, व्यापारिक लगानी र बैंक तथा वित्तीय संस्थालाई यसको अनुकूल प्रभाव पर्ने देखिन्छ । ठूलठूला उद्योगधन्दा र कलकारखाना आदि सुसञ्चालन भई मालिक र कामदारका बीचमा सुमधुर सम्बन्ध स्थापित हुनेछ । यस वर्षमा सुरक्षा निकायको जिम्मेबारी बृहस्पति ग्रहको जिम्मामा छ । परम्परा, अध्यात्म र ज्ञानप्रति वफादार ग्रह सेनापति बनेको हुँदा देशको आन्तरिक मामिला र सीमामा देखिने समस्याहरू हल हुने सम्भावना छ । न्याय र कानुनको स्थापना हुनेछ । देशमा परम्परा, संस्कृति र धर्मकर्म  सापेक्ष कार्यमा जनताको आकर्षण बढ्ने देखिन्छ ।

विक्रम संवत् २०७४ सालको वार्षिक भविष्यफल

सामान्यतया वैशाख १ गते सूर्यले एउटा राशिचक्र पूर्ण गरी नयाँ राशिचक्रमा प्रवेश गरेको मानिन्छ । व्यक्ति रहेको स्थानमा सूर्यले नयाँ राशिचक्रमा प्रवेश गरेको दिन र समयमा आउने लग्नलाई जगल्लग्न भन्ने गरिन्छ । यस पटक नयाँवर्षका दिन सूर्यले नवीन राशिचक्रमा प्रवेश गरेको बेला नेपालको परिप्रेक्षमा कुम्भ लग्न रहेको देखिन्छ । लग्नमा शुक्र र केतु, तेस्रो घरमा सूर्य, मङ्गल र बुध, सातौं घरमा राहु, आठौं घरमा बृहस्पति, दसौं घरमा चन्द्रमा र एघारौं भावमा शनिश्चर बसेर यस वर्षको वर्षप्रवेश कुण्डलीको संरचना भएको देखिन्छ । कुण्डलीको तृतीय भावमा सूर्य, मङ्गल र बुधको तथा लग्नमा शुक्र र केतुको युति हुनुका साथै बाँकी कोठामा ग्रहहरूको स्वतन्त्र उपस्थिति (क्रमशः सातौं राहु, आठौं बृहस्पति, दसौं चन्द्रमा र एघारौं शनिश्चर) रहेको देखिन्छ । समग्रमा यी विशेषताहरूले युक्त जगल्लग्न कुण्डलीमा लग्नेश शनिश्चरले बक्री भए पनि राज्यस्थानमा गएर बस्नु र तेस्रो पराक्रम स्थानमा सप्तमेश सूर्य आफ्नो उच्च राशिमा बसी बुध र मङ्गलका साथमा बस्नु सकारात्मक पक्ष हो ।

राजनीति र ज्योतिष

जसरी अन्य व्यवसाय र क्यारियर छान्न चिनाटिपन हेरार्इ ज्योतिषीको सल्लाह लिर्इ अघि बढ्ने अात्मबल र हिम्मत प्राप्त हुन्छ, त्यसरी नै राजनैतिक सामाजिक क्षेत्रमा प्रतिष्ठा प्राप्त गरी सफलता अार्जन गर्न पनि ज्योतिषीय योगको ठूलो भूमिका हुने गर्दछ । त्यसैले राजनैतिक क्षेत्रमा प्रवेश गर्नका निमित्त कुण्डलीमा पनि उचित ज्योतिषीय योग अावश्यक छ । हुन त राजनीतिमा हाम फालेर उच्च पद र प्रतिष्ठा पाएका सबैले चिना वा कुण्डलीको विवेचना गरेर उक्त पद हासिल गरेका होइनन्, न त कर्मप्रति निष्ठा राख्नेले भाग्यबलको खोजीनीति नै गर्दछ, यद्यपि यस क्षेत्रमा सफलता हासिल गरेका व्यक्तित्वहरूको चिना हेर्दा केही ग्रह र योगको वैशिष्ट्य अवश्य प्राप्त गर्न सकिन्छ । अाजको यस अालेखमा राजनैतिक र सामाजिक सम्मान र प्रतिष्ठा प्राप्त गर्न सघाउ पुर्याउने केही ज्योतिषीय विशेषताहरूको चर्चा गरिएको छ :-

१- आवश्यक भाव : छैठौं, सातौं, दसौं र एघारौं
सफल राजनेताहरूको कुण्डलीमा राहुको सम्बन्ध छैठौं, सातौं, दशौं र एघारौं घरबाट निर्क्यौल गर्ने गरिन्छ, अनि कुण्डलीको दशौं घरलाई राजनीतिको घर पनि भन्दछन्, सत्तामा सहभगी हुन दशमेश वा दशम भावमा उच्च ग्रह अवस्थित हुनु पर्दछ। त्यस्तै देवगुरु बृहस्पति नवमभावमा शुभग्रहको प्रभावमा अवस्थित हुनुपर्दछ अथवा दशौं घर वा दशमेशको सम्बन्ध सप्तम घरसित हुँदामात्र व्यक्तिले राजनीतिमा सफलता प्राप्त गर्नसक्छ, अनि छैठौं घरलाई सेवा गर्ने घर पनि भन्दछन्, व्यक्तिमा सेवा भाव हुनुपर्दछ, त्यसैले यस घरसित दशमभाव/दशमस्थ ग्रह /दशमेश आदिको सम्बन्ध अनिवार्य मानिन्छ। सातौं घर दशमभावबाट दशमस्थानमा पर्दछ, त्यसैले यस भावलाई पनि विशेष रुपले विचार गर्नुपर्दछ।

२- आवश्यक ग्रह: राहु, शनि, सूर्य र मङ्गल
राहुलाई सबै ग्रहहरूमध्ये नीति कारक ग्रहको मान्यता दिइएको छ। यस ग्रहको प्रभाव राजनीतिको घरसित हुनुपर्छ। सूर्यलाई पनि राज्य कारक ग्रहको उपाधि प्राप्त छ, सूर्यको दशम घरमा स्वराशि वा उच्च राशिमा उपस्थिति हुनुपर्छ अनि राहुको सम्बन्ध छैठौं, दसौं र एघारौं भावसँग भएमा राजनीतिमा सफलता प्राप्त हुने सम्भावना हुन्छ। यस योगमा दोस्रो घरको मालिक अर्थात् धनेशको स्थिति पनि हेर्नु आवश्यक छ, किनभने वक्तृत्वकलामा निपुण व्यक्तिले मात्र राजनीतिमा सफलता पाउने सम्भावना रहन्छ। त्यस्तै शनि दशम भावमा बसोस् वा दशमेशसित सम्बन्ध बनाउन सक्ने होस् र त्यही दसौं घरमा मङ्गल पनि अवस्थित भए व्यक्तिले समाजका व्यक्तिहरूको हितका निमित्त काम गर्ने उद्देश्यले राजनीतिमा प्रवेश गर्दछ। शनिश्चरलाई जनतको हितैषी ग्रह मानिन्छ भने मङ्गलले व्यक्तिलाई नेतृ्त्वको गुण प्रदान गर्दछ, त्यसैले यी दुईवटा ग्रहको आपसी सम्बन्धद्वारा व्यक्तिलाई राजनेता बन्ने गुण प्राप्त हुन्छ।

३- अमात्यकारक : राहु/ सूर्य
जातकको कुण्डलीमा राहु अथवा सूर्य अमात्यकारक भएर बस्दा पनि उसले राजनीतिक क्षेत्रमा सफलता पाउने सम्भावना हुन्छ। राहुको प्रभावबाट व्यक्तिलाई नीतिको निर्माण र कार्यान्वयन गर्ने दक्षता प्राप्त हुन्छ, अनि मौकाअनुसारका विविधतायुक्त कुरकानी गर्ने क्षमता पनि राहुले नै प्रदान गर्दछ। त्यस्तै सूर्य अमात्यकारक भएमा जातकले समाजमा उच्च पद प्राप्त गर्दछ। नवै वटा ग्रहमध्ये सूर्यलाई राजा पनि मानिन्छ।

४- नवांश र दशमांश कुण्डली
जन्म कुण्डलीका योगहरूलाई नवांश कुण्डली र दशमांश कुण्डली बनाई यो योगको सही स्थिति पत्ता लगाई मात्र कत्तिको दीर्घकालिक छ भनेर पुष्टि गर्ने गरिन्छ। लग्नकुण्डली र नवमांश र दशमांश कुण्डलीमा समान स्थितिमा ग्रहहरू रहेमा मात्र यसलाई आजीविका, सम्मान र प्रतिष्ठाका रूपमा निर्क्यौल गर्ने सकिने हुन्छ।

५- अन्य योग
(क) नेतृ्त्वका निमित्त मानिस सिंह राशीको हुनु राम्रो मानिन्छ। सूर्य, चन्द्र, बुध र देवगुरु धन भावमा छैठौं भावमा मङ्गल, एघारौं घरमा शनि, बाह्रौं घरमा राहु र छैठौं घरमा केतु भएमा पनि जातक राजनीतिमा पहुँच बनाउन सफल हुन्छ। यह योगले व्यक्तिलाई लामो समयसम्म शासन/शासकको सामीप्य प्राप्त हुन्छ, साथै लोकप्रियता र वैभव प्राप्ति हुन्छ।

(ख) कर्क लग्नको कुण्डलीमा दशमेश मङ्गल दोस्रो भावमा, शनि लग्नमा, छैठौं भावमा राहु तथा लग्नेशको दृष्टिका साथमा सूर्य-बुध पञ्चम वा एघरौं घरमा भए व्यक्तिले नाम, इज्जत आदि कमाउँछ।
(ग) वृ्श्चिक लग्नको कुण्डलीमा लग्नेश बाह्रौं घरमा गुरुद्वारा दृ्ष्ट भै बसेको अवस्थामा शनि लाभ भावमा भए तथा राहु -चन्द्रको युति चौथो घरमा हुँदा र शुक्र स्वराशीको सप्तममा लग्नेशद्वारा दृ्ष्ट भई तथा सूर्य एघारौं घरको मालिकका साथमा शुभ स्थानमा र देवगुरु दशम र दोस्रो घरमा दृ्ष्टि भए पनि व्यक्ति प्रखर तेज नेता बन्न सक्छ।

Monday, March 27, 2017

औंसीको रात : गर्नुपर्ने काम .........

पञ्चाङ्ग भन्नाले तिथि, नक्षत्र, बार, योग र करणको समुच्चय हो । यो ज्योतिषीय कालगणनाको अाधारभूत अङ्ग हो र ज्योतिषमा सूर्य एवं चन्द्रमालार्इ मुख्य देवताका रूपमा स्थापना गरिएको छ । वास्तवमा यी दुबै खगोलीय पिण्ड प्रत्यक्ष देवता पनि हुन् । दिवाकालमा सूर्य र रात्रीकालमा चन्द्रमाको उपस्थितिमा यावत् सांसारिक कर्महरू सम्पादन हुन्छन् । त्यसैले हाम्रा मनमस्तिष्क र कर्मका साक्षी यी दुबै ग्रहपिण्डहरू नै हुन् भन्दा अत्युक्ति हुँदैन । पञ्चाङ्गबमोजिम प्रत्येक महिनाका ३० वटा दिनलार्इ चन्द्रकलाका अाधारमा १५/१५ दिनका दुर्इवटा पक्षमा विभाजन गरिएको हुन्छ - शुक्ल पक्ष र कृष्ण पक्ष । शुक्ल पक्षको अन्तिम दिनलार्इ पूर्णिमा र कृष्ण पक्षको अन्तिम दिनलार्इ अमावस्या तिथि भन्ने गरिन्छ । तिथि भनेको सूर्य र चन्द्रमाको दूरीको लेखाजोखा हो । सूर्य र चन्द्रमाको प्रत्येक १२ डिग्रीको दूरीलार्इ एउटा तिथिको समय मानिन्छ, जस्तै ० देखि १२ डिग्रीसम्म प्रतिपदा, २४ डिग्रीसम्म द्वितीया, त्यसरी नै तृतीया, चतुर्थी अादि तिथिको समय निर्धारण हुन्छ । पृथ्वीमा बसेर सूर्य र चन्द्रमाको परिभ्रमण पथको अवलोकन गर्दा सूर्य र चन्द्रमाको १८० डिग्रीको दूरीमा पूर्णचन्द्र अर्थात् पूर्णिमा तिथिको समाप्तिकाल हुन्छ र सूर्य र चन्द्रमाको रेखा एकै ठाउँमा अाइपुगेको बेला अमावस्या तिथिको समाप्तिकाल हुन्छ ।  त्यसैले अन्य तिथिका तुलनामा सनातन हिन्दू धर्ममा अाैंसी र पूर्णिमाको विशिष्ट स्थान छ ।

अन्य तिथिहरूमा देवताहरूको उपासना गर्ने गरिन्छ, तर अाैंसीमा पितृहरूको उपासना हुने गर्दछ । शास्त्रले यस तिथिका देवता पितृदेवलार्इ मानेको छ, अतः सनातन संस्कारमा यस दिन अाअाफ्ना पितृहरूको प्रसन्नताका निमित्त श्राद्ध, दान, ब्राह्मणभोजन अादि गर्ने प्रचलन छ । त्यस बाहेक अाफूले गर्ने एकोद्दिष्ट (मृतपितृको छिन्ने तिथिमा गरिने) श्राद्धमा कुनै कारणले विघ्न भएमा वा मृतपितृको तिथिमा निश्चितता नभएमा त्यसै महिनाको अाैंसी वा त्यसपछि अाउने कुनै अाैंसीका  दिन विधिवत श्राद्धादि सम्पन्न गर्ने विधान पनि छ । त्यसैले अमावस्यामा प्रत्येक व्यक्तिले अाअाफ्ना पितृहरूको सम्झना गर्ने गर्दछन् र श्रद्धाभाव व्यक्त गर्दै श्राद्ध, तर्पण र दानादि गर्ने गर्दछन् । पितृहरूको सम्झना गरिने भएकाले यस दिनलार्इ निशि बार्ने दिन भनिएको हो । निशि निशा शब्दको अपभ्रंश रूप हो । निशा शब्दको अर्थ रातको समय हुन्छ । त्यसैले पितृअधिकार पाएका व्यक्तिले अाैंसीका दिन बेलुकाको छाक बार्ने भएकाले यस दिनलार्इ निशि बार्ने भनिएको हो । अपराह्न काल पितृपूजा वा श्राद्धको समय हो । त्यसैले जुन दिन अपराह्नकालमा अाैंसी तिथि पर्दछ, त्यस दिन बेलुका नियमित खानपान नगरी हविष्यान्न (चोखो खान्की) खार्इ निशि बार्ने काम हुन्छ । समग्रमा पितृहरूको तृप्तिका निमित्त अाैंसी तिथिको अत्यधिक महत्त्व छ ।

ज्योतिषशास्त्रको सिद्धान्तअनुसार एउटा साैर वर्षमा उत्तरायण र शुक्ल पक्षमा देवात्माहरू तथा दक्षिणायन र कृष्ण पक्षमा दुष्टात्माहरू सक्रिय हुन्छन् । देवात्मा निष्क्रिय भएको समयमा दुष्टात्मा र दानवी प्रवृत्ति हाबी हुने गर्दछ । दुष्टात्मा र दानवी प्रवृत्ति भएको वेलामा मानव जीवन र मनमा पनि अशुभ भावना, कुबुद्धि र अलच्छिन सल्बलाउन थाल्दछ । त्यसैले प्रेरणा, अात्मबल, उत्साह र ऊर्जा प्राप्त होस् भन्ने उद्देश्यले कृष्णपक्ष र दक्षिणायनका समयमा व्यक्तिविशेषको मनमस्तिष्क धर्ममार्गमा मोड्नका निमित्त शुभकर्ममा जोड दिइएको हो । अाैंसी कृष्णपक्षको सबैभन्दा धेरै प्रभाव रहने दिन हो, अतः अाैंसीका दिन सकेसम्म सात्विक भाव ग्रहण गरी चोखोनीतो र शुद्धाचरण गर्न अनिवार्य मानिएको हो ।

दुष्टात्मा सक्रिय हुने विशेष दिन भएकाले अमा‍वस्याका दिन भूतप्रेत, पितृ, पिशाच, निशाचर, जीवजन्तु र दैत्यहरू अत्यधिक सक्रिय र उन्मुक्त रहने गर्दछन् भन्ने मान्यता पनि छ । यस दिनको प्रकृतिपक्ष मानव हीतविपरीत हुने भएकाले व्यक्तिले अाफैं सावधान हुनु पर्दछ भन्ने ठानिन्छ । टुनामुना, जादु, धामी, झाँक्री अादिको साधनाकाे समय पनि अाैंसी वा पूर्णिमा नै हुने गर्दछ । प्रेतको शारीरिक संरचनामा २५ प्रतिशत फिजिकल एटम र ७५ प्रतिशत ईथरिक एटम हुन्छ, त्यस्तै पितृहरूको शारीरिक संरचनामा २५ प्रतिशत ईथरिक एटम र ७५ प्रतिशत एस्ट्रल एटम हुन्छ । ईथरिक एटमको सघनता भएको वेला प्रेतको र एस्ट्रल एटम सघन  भएको अवसरमा पितृको फोटो (छायाचित्र) खिच्न सकिन्छ भन्ने मान्यतासमेत छ ।

अाैंसीका दिन चन्द्रमा देखिंदैन । मनको कारक मान्ने गरिएकाले व्यक्तिको मनमस्तिष्कमा चन्द्रमाको प्रत्यक्ष प्रभाव हुन्छ । त्यसैले जुन व्यक्ति भावुक हुन्छ, तिनमा तिथिको उतारचढाव र सूर्य तथा चन्द्रमाको गतिस्थितिको अनुभूति छिटो हुन्छ । मानसिक रोगीमा देखिने उतारचढावमा यो प्रभाव अत्यधिक रहेको देखिन्छ । त्यसैले गाउँघरमा 'अाैंसी पूर्णे लागेछ' भनी उखानको प्रयोग नै गर्ने चलन पनि छ । भावनाका दृष्टिकोणले किशोर अवस्थाको उमेरमा जोसुकै बढी संवेदनशील हुन्छन् । त्यस्तै पुरुषका तुलनामा स्त्रीहरू बढी भावुक र संवेदनशील हुन्छन् । जुन वेला चन्द्रमाका कलाहरू घट्दै र क्षीण हुँदै गएका हुन्छन्, मनोसंवेगमा त्यसको प्रभाव बढ्दै जान्छ र  अाैंसी तथा अासपासको समयमा हाम्रो मनमस्तिष्क र शरीरमा बढी हलचल हुने गर्दछ ।

माैसम विज्ञानमा पनि सूर्य र चन्द्रमा मिलन र दूरीको प्रत्यक्ष प्रभाव हुन्छ । सामान्यतया अाैंसी र पूर्णिमाका दिन समुद्रमा ज्वारभाटा अाउँछ । एकाएक समुद्रको सतह माथि उक्लिन्छ । वायुले समुद्रको जलको शोषण र दोहन शीघ्रगतिमा गर्नसक्ने वातावरण बन्छ । त्यस्तै सूर्य र चन्द्रमाको कोणीय सम्बन्ध बनेका दिनहरू अर्थात् दुबै पक्षका अष्टमीका दिन पनि सानो ज्वारभाटाको उत्पत्ति हुन्छ । त्यसैले अाैंसी वा पूर्णिमाका अासपासमा वर्षा र बादलको सङ्केत गर्ने प्रचलन छ ।


अाैंसीका दिन के के गर्नु हुँदैन :- 

१) अमावस्याको दिन पितृको प्रसन्नताका लागि छुट्याइएको दिन हो । त्यसैले यस दिन तिहारको लक्ष्मीपूजा बाहेक कुनै किसिमको माङ्गलिक कर्म गर्नु हुँदैन ।

२) यस दिन दाम्पत्यसुख र पारिवारिक सम्मृद्धिका लागि गरिने उपवास, दान, धर्म र परोपकारी काम गर्ने प्रचलन छ, त्यसैले यस दिन नाचगान, पार्टी, उत्सव, डेटिङ, भ्रमण, रमाइलो वा मैथुन गर्नुहुँदैन । यस दिन मैथुन गरेमा पति वा पत्नीमा मानसिक रोगको उच्च सम्भावना हुन्छ । त्यसैले अाैंसी वा यसको अासपासमा ठहरिएको गर्भबाट स्वस्थ शिशु जन्मने सम्भावना हुँदैन, त्यस्तै अाैंसी र यसको अघिल्लो दिन वा पछिल्लो दिन जन्मिएको जातकलार्इ ज्योतिषशास्त्रले राम्रो मान्दैन ।

३) यस दिन तामसी वस्तुको प्रयोग वा सेवन गर्नु हुँदैन, त्यस्तै जाँडरक्सी अादि नसालु चिजबिजको संसर्गमा रहुनु हुँदैन । यी वस्तुको सेवन गरेमा तत्काल हुने दुष्परिणामबाहेक भविष्य दीर्घरोगी बनाउने र परिवारसुखबाट वञ्चित बनाउने खतरा हुन्छ ।

४) अमावस्याको वैज्ञानिक पक्षलार्इ नै विचार गर्ने हो भने अाैंसीका दिनमात्र होइन कृष्ण पक्षको चतुर्दशी र शुक्लपक्षको प्रतिपदाका दिन पनि मन, वचन र शरीरले पवित्र र शुद्ध हुने प्रयास गर्नु वाञ्छनीय मानिन्छ ।

अाैंसीका दिन गर्नै पर्ने कामहरू :-

१) यस दिनको दानको ठूलो महिमा छ, योग्य व्यक्तिलार्इ गरेको दानले इहलोकमा सुखसम्मृद्धि दिनुका साथै पितृलोकमा रहेका अाफ्ना मृतपितृहरू प्रसन्न हुने गर्दछन् ।

२) अाैंसीका दिन गार्इको दुधमा खिर पकाएर गरिबगुरुबा र दिनदुःखीलार्इ दान गर्नाले पारिवारिक सुखशान्ति, दाम्पत्य कलहको अन्त्य र धनसम्पत्तिको अभिबृद्धि हुन्छ ।

३)  अमावस्याको दिन पिण्डदान र तर्पण गर्नाले पितृहरू सन्तुष्ट रहन्छन् र कुलदेवता प्रसन्न हुनुका साथै वंश र सन्ततिको सर्वतोमुखी बृद्धि हुन्छ ।

५) यस दिन वस्त्र (कपडा) दान गर्नाले शान्ति र सन्तुष्टि प्राप्त हुन्छ ।

६) अाैंसीका दिन ब्राह्मण भोजन गराउनाले सुख प्राप्त हुन्छ ।

७) यस दिन पवित्र नदीमा स्नान गर्नाले सम्पूर्ण पापहरू नष्ट हुनुका साथै शरीरमा रहेका रोगादिमा न्यूनीकरण हुन्छ । शरीर निरोगी हुन्छ ।

८) अाैंसीका दिन बेलुका सन्ध्याकालमा चारकुने दियोमा बत्ती बालेर घरको मूल दैलो अगाडिको बाटोमा राखिदिनाले लक्ष्मी प्रसन्न हुन्छिन्, पितृहरूको अाशीर्वाद प्राप्त हुन्छ र कुलदेवता सन्तुष्ट हुन्छन् । परिणामतः मनुष्यको भाग्यबल बढ्दै जान्छ र सुखसम्मृद्धि र धनवैभवको बृद्धि हुन्छ ।