Tuesday, May 30, 2017

सिठी नखः

भगवान् महादेवका जेठा छोरा कुमार कार्तिकेयको जन्मदिन मानिने ज्येष्ठ महिनाको शुक्ल पक्ष (बछलाथ्व) को षष्ठी तिथिलाई नेवार समुदायमा 'सिठी नख:' पर्व मनाउने चलन छ । यस दिन नेवारहरूले क्षेत्रपाल कुमारको पूजा अर्चना गरी, मुगी, मास र केराउको रोटी वा बारा चढाई र प्रसादका रूपमा खाएर यो चाड मनाउने गर्दछन् । नेवारी भाषामा सिठी शब्दको अर्थ किनारा वा अन्तिम भन्ने हुन्छ, अतः यो चाड नेवारी संस्कृतिअनुसार वर्षको अन्तिम चाड हो l यस दिन घर, इनार, धारा, ढल आदि सफा सुगर गर्ने चलन पनि रहेको छ ।

पुराणमा कार्तिकेय कुमारको शिखिवाहन भन्ने अर्को नाम पनि भेटिन्छ, सम्भवतः यही नामको अपभ्रंश भएर सिठी नाउ रहन गएको हुनुपर्छ । नेवारहरूको नयाँ वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन सुरु हुने भएकाले सिठी नखःदेखि म्हपूजा (नववर्षका दिन गरिने पूजा) का बीचमा अर्को कुनै चाडपर्व नमनाउने प्रचलन छ । त्यसैले कुलपूजा (देवाली) गर्ने नेवारहरूले सिठी नखःभित्र कुलपूजा गरिसक्नु पर्ने बाध्यता छ ।  सामान्यतया वैशाख शुक्ल (तछलाथ्व) तृतीयादेखि ज्येष्ठ शुक्ल (बछलाथ्व) षष्ठीभित्र कुलपूजा गर्नका लागि उपयोगी हुन्छ भन्ने मान्यता अनुरूप उक्त समयमा उपयुक्त साइत र तिथिमिति तय गरी कुल र पितृको पूजाआराधना अर्थात् देवाली पूजा सम्पन्न गरिसक्नु पर्ने नियम छ । यसरी कुलपूजा गर्दा विशेष गरी बिहीबारको दिन परेमा उपयुक्त मान्ने नियम पनि छ । यसरी ऐच्छिक रूपमा दिन निर्धारण गरिने अर्थात् निश्चित तिथि नभएको हुँदा कुनै कारणवश देवाली मनाउन नपाएका नेवारहरूले यसै दिन कुल देवताको पुजा गर्ने गर्दछन् l जुन समुदाय भए पनि कृषिजीवनमा मनाइने उत्सव र पर्वहरू समाजमा चाडबाडका रूपमा स्थापित भएका हुन्छन्, त्यसैले यसै दिन बाजागाजाका लागि प्रसिद्ध ज्यापू समुदायले आफ्ना वाद्ययन्त्रहरू थन्क्याउने र खेतीपाती र रोपाइँको तैयारीमा लाग्ने गर्दछन् भन्ने मान्यता पनि छ ।

सिठी नखःको भोलिपल्ट बछलाथ्व सप्तमीका दिन काठमाडौँको जैसीदेवल टोलमा रहेको कुमार मन्दिरमा रहेको रक्त वर्ण, एक मुखे, दुई हाते, धनुषधारी, मयुर वाहनमा आरुढ भएका काठको कुमार भव्य उत्सवका साथमा खटजात्रा गर्ने चलन पनि छ । यस अघि बछलाथ्व तृतीयाका दिनमा नै उक्त कुमारजीको मूर्तिलाई मन्दिर अगाडिको डबलीमा महास्नान गराउने र षष्ठीका दिन होम सहित, कुनै नवजात शिशुको जन्मपछि हुने सम्पूर्ण कर्मकाण्ड नामकरण, उपनयन, चुडाकर्मादि संस्कारहरू गरिदिने प्रचलन पनि छ l सप्तमीका दिन उक्त मूर्तिको जात्रा गर्ने गरिन्छ र यो जात्रामा खासगरी जैसीदेवलमा बसोबास गर्ने ज्यापूहरूको सहभागिता रहने गरेको देखिन्छ, साथै उक्त बाजा बजाउन भने बलम्बुवासी ज्यापूहरू आउने गर्दछन् । कार्तिकेय कुमार (सिठी द्यौ) बलम्बुवासीको बच्चा हो भन्ने मान्यतानुरूप बलम्बुवासीहरूले त्यसरी बाजा बजाउन आउनु पर्ने चलन रहेको मानिन्छ ।

Saturday, May 27, 2017

साप्ताहिक राशिफल (२०७४ ज्येष्ठ १४ - २०)

आगामी ७ दिनभित्रका चाडपर्व र उत्सव तथा शुभ मूहुर्त :– 
१५ गते : गणतन्त्र दिवस, सगरमाथा विजय दिवस, अग्निवास(होमादि), 
१६ गते : रुद्राभिषेक(रुद्रीपूजा), 
१७ गते : कुमार षष्ठी, चण्डिकाभगवती यात्रा (भक्तपुर), विश्व धूमपानरहित दिवस, सिथिनख (नेवारी पर्व), रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), अक्षरारम्भ, कलशचक्र, 
१८ गते : कुमार यात्रा, साहित्यकार गोपालप्रसाद रिमाल स्मृति दिवस, रुद्राभिषेक(रुद्रीपूजा), कलशचक्र, 
१९ गते : अष्टमी व्रत, गोरखकाली पूजा, वायु अष्टमी, श्री ५ वीरेन्द्र स्मृति दिवस, शुभविवाह, अग्निवास(होमादि), कलशचक्र, 
२० गते : शुभविवाह, ब्रतबन्ध (उपनयन), रुद्राभिषेक(रुद्रीपूजा), कलशचक्र

साप्ताहिक राशिफल
(वि.सं. २०७४ ज्येष्ठ १४ गतेदेखि वि.सं. २०७४ ज्येष्ठ २० गतेसम्म)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – 
पराक्रम र उत्साहमा बृद्धि हुने सप्ताह छ । सुरुमा तेस्रो भावमा रहेको चन्द्रमाले उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ । सोमबारपछि चौथौ भावमा पुग्ने चन्द्रमाका कारण केही नकारात्मक परिणाम आउन सक्छन्, सचेत हुनुपर्छ । घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ । सामाजिक मर्यादामा आँच आउने सम्भावना छ । घरपरिवारबाट पनि आवश्यक सहयोग मिल्ने छैन । परिश्रम गर्दा पनि सोचेजस्तो उपलब्धी हात पर्ने छैन, मिहिनेत र परिश्रम व्यर्थै खेर जान सक्छ । बुधबारपछि बौद्धिक र लेखनकार्यमा सफलता प्राप्त हुने योग छ । सन्तति पक्ष र भाइबहिनीले खुसीको वातावरण सिर्जना गर्नेछन् । साथीभाइले तपाईंका सकारात्मक कामको समुचित मूल्याङ्कन गर्नेछन् । मनोरञ्जनका लागि राम्रै समय छ । साताको अन्त्यमा सहयोगी हातहरू पछि हट्न सक्छन् । गरिएका उद्यममा सफलता प्राप्त हुनेछैन । शत्रुले छवि बिगार्ने प्रयास गर्नेछन् । जीवनसाथीसितको सम्बन्धमा नकारात्मकता देखिनसक्छ । सवारी साधनबाटसमेत हानि पुग्नसक्छ । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 
धनधान्य र सुखसम्मृद्धि बृद्धिका लागि गरिएका प्रयास सफल हुने साता छ । प्रारम्भमा आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुधनबाट लाभ लिन सकिने छ, त्यस्तै बन्दव्यापारमा समेत प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । सोमबारपछि व्यवसायिक क्षेत्र सफल रहने छ, आम्दानीमा कमी आउने छैन । दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । राजनैतिक चासो पनि बढ्नेछ । तीर्थव्रत तथा देवालयको भ्रमण हुन सक्छ । तर बुधबारपछि अनुकूल समय रहने छैन । परिवारमा मतभेद हुनेछ । झैझगडा र मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ । प्रतिकूल परिस्थितिले पछ्याउने छ । सानातिना कामको झमेला आउनसक्छ । गरिएको लगानीबाट दीर्घकालीन फाइदा नहुन सक्छ । पुनः साताको अन्त्यमा समय उत्साहवद्र्धक रहला । नयाँ ज्ञान प्राप्त हुने योग छ । अध्ययन अध्यापन सफल रहेको छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 
आफ्नै राशिमा रहेको चन्द्रमाका साथमा साताको प्रारम्भ भएकाले यस साताको अधिकतम समय घुमघाम, मनोरञ्जन र रामरमाइलोमा समय यापन हुनसक्छ । प्रारम्भमा पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था हुनसक्छ । सोमबारपछि परिवारमा ठूलो जमघट वा धार्मिक सामाजिक कार्य सम्पन्न हुनेछ । उक्त अवसरमा तपार्इंको प्रत्यक्ष संलग्नता र भूमिका रहने देखिन्छ । विशिष्ट व्यक्तिले विचारको कदर गर्नेछन्, महत्वपूर्ण कार्य सम्पन्न हुने मौका छ । बुधबारपछि मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । दार्शनिक र आध्यात्मिक विषयवस्तुप्रति आकर्षित हुनुहुनेछ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना समेत छ । व्यावहारिक र सामाजिक जिम्मेबारी थपिनेछ । तर साताको अन्त्यमा चौथो भावको चन्द्रमाले गर्दा आफूले ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । मातापिता र मान्यजनको स्वास्थ्यप्रति सचेत रहनु होला । गरेका कामधन्दा र मिहिनेतबाट लाभ हुने सम्भावना छैन । रोकिएको कामधन्दामा प्रगति हुन सक्दैन । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 
आर्थिक सङ्कट, विवाद वा मुद्दामामिलाका साथमा समय बिताउनु पर्ने छ । साताको प्रारम्भमा बाह्रौं भावमा रहेको चन्द्रमाले गर्दा समाजमा तपाईंका कुरा काट्नेको कमी हुने छैन । आकस्मिक यात्राको समय छ, तर यात्राबाट सोचेजस्तो प्रतिफल प्राप्त हुनेछैन । मनमा विरक्तिको भाव बहन सक्छ । बौद्धिक र प्राज्ञिक क्षमताको उपयोग हुन सक्दैन । सोमबारपछि आफ्नै घरमा चन्द्रमाको प्रवेश हुनेछ, त्यसपछि आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ, यस अवधिमा सुरु गरिएको क्रियाकलापले दीर्घकालिक फाइदा पुग्नेछ । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ । बुधबारपछि आर्थिक क्षेत्र सबल रहने छ । स्वास्थ्यमा सकारात्मक सङ्केत देखिने छ । बन्दव्यापारबाट राम्रो फाइदा लिन सकिन्छ । भौतिक साधनको जोहो हुनाका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ । साताको अन्त्यमा जिम्मेबारी वहन गर्नु पर्नेछ, उत्साहपूर्वक काम गर्नुहोला । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । मातापिता र अभिभावक वर्गसँगको सम्बन्धमा सुधार आउने छ । ढिलै भए पनि तपार्इंले भने जसरी नै काम सम्पन्न हुनेछ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 
मिश्रित प्रभाव भएको साता छ । साताको प्रारम्भमा राज्यस्थानमा रहेको चन्द्रमा छ, त्यसैले सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । सोमबारपछि दुईदिन आर्थिक पक्ष कमजोर रहने छ, यस अवधिमा सट्टापट्टा वा जुवाजन्य क्रियाकलापमा धननाश हुनसक्छ । लामो दूरीको आकस्मिक यात्राको सम्भावना देखिन्छ, सोचेजस्तो लाभ मिल्न सक्दैन । व्यवहारिक खर्चको मात्रा बढ्नेछ । मनमा निराशा र विरक्तिभाव जाग्नेछ । बुधबारपछि नयाँ योजना कार्यान्वयन गर्ने र दीर्घकालीन योजना बनाउने समय हो । वैदेशिक यात्रा गर्ने योजनामा हुनुहुन्छ भने प्रयास गर्न अनुकूल हुनेछ । कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने समय छ । साताको अन्त्यमा पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा लाभ प्राप्त हुनेछ । कार्य सफल हुँदै जानेछ । रमाइलो यात्रा हुन सक्छ । पुराना साथीभाइसित भेटघाट हुनसक्छ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 
कर्मप्रति लगनशील बन्न सक्दा यो साता उत्तम परिणाम प्राप्त हुने लक्षण छ ।  प्रारम्भमा हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । तपाईंका सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । सोमबारपछि भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । आर्थिक रूपमा सबल हुनुहुनेछ, कारोबारमा गतिशीलता आउने छ र व्यवसायबाट लाभ हुनेछ । मायाप्रेमका लागि समय जुट्ने छ । पठनपाठनमा प्रगति हुनेछ । बुधबारपछि त्यति अनुकूल समय छैन, कृषिक्षेत्रबाट बेफाइदा हुनेछ । यात्रा घातक बन्नसक्छ । अनावश्यक र निरर्थक लगानी बढ्नेछ । आम्दानीका मार्ग अवरुद्ध हुनेछन् । स्वास्थ्य प्रतिकूल रहनेछ । चिन्ता र शङ्काले मन व्याकुल हुनसक्छ । पारिवारिक सहयोग प्राप्त हुँदैन । साताको अन्त्यमा आफ्नै घरमा चन्द्रमा आउनाले मन प्रफुल्ल रहने छ । दानपुण्यका लागि असल छ । परिश्रमको प्रतिफल ढिलो गरी प्राप्त हुनेछ, त्यसैले मन उत्ताउलो र अधैर्य बन्नसक्छ, संयम हुनु राम्रो हुन्छ । चिन्तनमनन र अध्यात्मप्रति आकर्षित हुँदा राम्रो हुनेछ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 
सुरुमा भाग्यभावमा रहेको चन्द्रमाले सकारात्मक साता छ भन्दा अत्युक्ति हुँदैन । कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने राम्रो हुन्छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । सोमबारपछि प्राविधिक काममा विशेष सफलता प्राप्त हुने छ साथै आत्मसन्तुष्टि प्राप्त हुनेछ । यो समय विशेष महत्वको समय हुनेछ । मातापिता र अभिभावकवर्गको आशीर्वादले काम गर्न सक्छ । बुधबारपछि आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । पढाइमा प्रगति हुनेछ । साताको अन्त्य अनुकूल रहँदैन, बन्दव्यापार, श्रममूलक काम, कृषि तथा पशुपालनका क्षेत्रमा सोचेअनुसार लाभ हुनेछैन, धनसङ्ग्रहका क्षेत्रमा बाधा छ, आकस्मिक रूपमा अतिथिको आवाभगत गर्नुपर्ने हुनसक्छ । दैनिक कामकाजमा खर्च बढ्ने छ । झर्कोलाग्दो यात्राको योग छ । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 
सवारीसाधन हाँक्दा, बाटो काट्दा वा हातहतियार चलाउँदा सचेत हुनुपर्छ । साताको प्रारम्भमा नै अष्टमस्थ चन्द्रमा रहेकाले सानातिना काम र घरेलु समस्यामा नै समय व्यतीत हुनेछ । प्रत्येक काममा बाधाअडचन आउने र ढिलो गरी कार्यसम्पादन हुने समय छ । स्वास्थ्यमा पनि समस्या देखिन सक्छ । सोमबारदेखि उताको समय अनुकूल नै रहने छ । सुखसुविधा र मनोरञ्जनमा भुलिने समय छ । धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नु पर्ने समय पनि हो, जसबाट प्रशंसा र शुभ कुराको सङ्केत प्राप्त हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । बुधबारपछि आफ्नो काममा तल्लीन हुनुपर्ने भएकाले समय बितेको पत्तो पाउनु हुन्न, तर श्रमिक, पशुपालक र कृषकले अलि बढी थाकेको अनुभूति गर्नेछन् । कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने राम्रो हुन्छ । साताको अन्त्यमा इष्टमित्रले प्रशंसा गर्नेछन् । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । साथीहरूसित मनोरञ्जन गर्ने अवसर जुर्नेछ । बौद्धिक प्राज्ञिक गतिविधिमा संलग्न हुनेपर्ने छ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 
प्रेमप्रसङ्ग र दाम्पत्यसम्बन्ध सकारात्मक रहने साता छ । साताको प्रारम्भमा समय मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यावसायिक यात्राको सम्भावना छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ । सोमबारपछि दुई दिन चोटपटक र दुर्घटनाको सम्भावना हुनेछ, झैझगडा र मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ । यात्रा घातक बन्न सक्छ, धेरै टाढा नजानु होला । आम्दानीका मार्ग अवरुद्ध हुनेछन् । बोलीमा संयमता अपनाउनु होला, आफूले भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । बुधबारपछि पुनः राम्रो समय रहने छ, परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ । साथीभाइसित भेटघाट हुनुका साथै मनोरञ्जनात्मक काममा संलग्न भइने छ । दाजुभाइ र दिदीबहिनीले दिएको सुझावलाई पालना गर्दा लाभ प्राप्त हुनसक्छ । साताको अन्त्यमा व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुने योग छैन । आम्दानीमा कमी आउने छैन । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ । धैर्यधारण गरी परिश्रम गर्ने समय हो । विगतमा गरिएको श्रमको समुचित मूल्याङ्कन हुनेछ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 
छैटौं र आठौं भावमा चन्द्रमाको भ्रमण हुने भएकाले मिश्रित प्रभाव भएको साता छ । प्रारम्भमा काममा अधिकार प्राप्तिका लागि तर्क, बहस र छलफलमा दिन बिताउनु पर्नेछ । प्रतिस्पर्धी र शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती र अपठ्याराको सामना गर्नुपर्छ । प्रयत्न गर्दा समेत परिस्थिति आफ्नो पक्षमा आउने छैन । सोमबारपछि हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा समय बित्नेछ । घरपरिवारका सदस्य र साथीभाइसँग मतभिन्नता भएपनि अन्त्यमा उनीहरू सकारात्मक देखिने छन् । जीवनसाथी वा आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । बुधबारपछि साताको अन्त्यसम्म सवारीसाधन र हातहतियारसँग जिस्कनु घातक बन्नसक्छ । त्यस समयमा खानपानमा नियन्त्रण गर्नु बेस हुनेछ, त्यसबाट स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ । वर्तमान समयलाई धैर्यता, संयमता र सोचविचार गरी उपयोग गर्नु बुद्धिमत्ता हुनेछ । मनोरञ्जनात्मक क्रियाकलापबाट समेत हानि पुग्ने सम्भावना छ । तर शनिबार धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । रोकिएको काम बनेको समाचार सुन्न पाउने सम्भावना समेत छ । आफन्त वा साथीभाइले निस्वार्थ भावले सहयोग गर्नेछन् । नयाँ ज्ञान प्राप्त हुनेछ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 
मिश्रित प्रभाव भएको समय भएकाले जे गरे पनि आफ्नै बुद्धि खियाएर अघि बढेमा उन्नति गराउने समय देखिन्छ । साताको प्रारम्भमा सन्तति पक्ष र भाइबहिनीले खुसीको वातावरण सिर्जना गर्नेछन् । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । बौद्धिक र सृजनात्मक सफलता मिल्नेछ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । सोमबारपछि सहयोगी हातहरू पछि हट्न सक्छन् । मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । अनावश्यक र दिक्कलाग्दो यात्रा हुन सक्छ । भोगविलासमा मन जानेछ । स्वास्थ्यका दृष्टिकोणले यो राम्रो समय होइन । आर्थिक सङ्कटको योग छ । बुधबारपछि कृषि, पशुपालन र दुग्धजन्य पेसामा संलग्न व्यक्तिहरुले राम्रो आर्थिक लाभ गर्नेछन् । प्रायः सबैले प्रणयसम्बन्ध र रतिरागका लागि समय छुट्याउने छन् । आनन्द र रमणीयताका लागि समय र धन खर्च हुन सक्छ । साताको अन्त्यमा ढिलो गरी कार्यसम्पादन हुने समय छ । अनावश्यक यात्रा तथा गुप्त र मानसिक रोगले सताउन सक्छ । किसिमकिसिमका समस्यासित जुध्नु पर्ने परिस्थिति छ । लेनदेनमा विवाद हुनेछ । व्यवहारिक हानी हुनेछ होस राख्नोस् । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – 
सुरुमा चौथो भावमा चन्द्रमा भएकाले घरायसी समस्यामा रुमल्लिएर समय व्यतीत हुने सम्भावना देखिन्छ । खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । शरीरमा आलस्य जाग्नेछ । काम गर्न जाँगर लाग्दैन । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनसक्छ । चिताएको काममा अप्ठ्यारा र चुनौतीको सामना गर्नुपर्छ । आइतबार र सोमबार धैर्यले काम लिने समय छ । त्यसपछि सन्ततिपक्षबाट खुसीको समाचार प्राप्त हुने छ । आफन्तले प्रशंसा गर्नेछन् । मन प्रफुल्ल र उत्साही बन्ने छ । घरपरिवारमा रमाइलो जमघट हुने छ । गर्न लागेको काममा सबैले साथ दिनेछन् । बुधबारपछि छैटौं भावमा चन्द्रमा रहनाले स्वास्थ्यमा अचानक गडबडी आउने देखिन्छ । सहयोगी हातहरू पछि हट्न सक्छन् । अनावश्यक र दिक्कलाग्दो यात्रा हुन सक्छ । आर्थिक समस्याले सङ्कट उत्पन्न हुनसक्छ । आमा वा दिदीको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नसक्छ । साताको अन्त्यमा प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । शुभसमाचारको आगमनले मन प्रसन्न रहने समय छ । शत्रुहरू पराजित हुनेछन् । यश, सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ ।  

रमजान पर्व र रोजा व्रत


इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण चाड हो- रमजान । रमजान महिना मुसलमानका लागि शुभलाभको महिना हो । रमजान महिनालाई कुरानले धेरै ठूलो स्थान दिएको छ । एक महिनासम्म मनाइने यो चाडमा सात वर्षदेखिका सबै व्यक्ति अनिवार्य रोजा (उपवास) बस्नुपर्ने हुन्छ । मुसलमानहरूको पाँच महत्वपूर्ण कार्य रोजा, नमाज, हज, जकात र फित्तरा नियामानुसार गर्नुपर्ने तथा तिर्नुपर्ने भए पनि हजबाहेक सबै कार्य रमजान महिनामा प्राप्त गर्ने अवसर पाउने भएकाले पनि यो महिनालाई मुसलमानहरूले महत्वपूर्ण महिनाका रूपमा लिने गरेका छन् । घाम उदाउनुभन्दा डेढ घण्टाअगावै सरगाही (खानेकुरा) खाएर प्रारम्भ गरिने रोजा घाम अस्ताएपछि फलफूल तथा मिठाइ खाएर समाप्त गरिन्छ । यो समयलाई रोजा खोल्ने समय भनिन्छ । दिनभर केही पनि खान नहुने यो पर्वमा मुसलमानहरूले आ-आफ्नो गच्छेअनुसार विभिन्न किसिमका परिकार बनाई रोजा खोल्ने गर्छन् । रोजाको समयमा कुनै पनि खानेकुरा मुखमा हाल्नु हुँदैन, जानेर थुक पनि निल्नु हुँदैन भने दिउँसो सबै मानिसले दतिवन गरी मुख धुनु पर्छ । दिनभर केही पनि खान नहुने भएकाले ठूला मानिसहरूले सजिलै रोजा पूरा गरे पनि उमेर नपुगेकाले धेरै कठिनाइ भोग्नु पर्ने हुन्छ । जसले जति कठिनाइ महसुस गर्छ, त्यसले त्यति सवाव (धर्म) पाउँछ भनेर ठूला मानिसहरूले बालबालिकालाई रोजा बस्न प्रेरित गर्छन् । शरीर र मन दुवै शुद्ध रहनु पर्ने रोजामा महिलाहरूको महिनावारी सुरू भएमा त्यो महिलाको रोजा हुँदैन र महिनावारी रोकिएपछि पुनः रोजा बस्नु पर्ने हुन्छ । रोजाको समयमा श्रीमान् र श्रीमतीबीच शारीरिक सम्पर्क गर्न हुँदैन । मुसलमानहरूले रोजा अवधिभर नियमित नमाज पढछन् भने रातीको नमाजपछि कतिपय मस्जिदमा तरावी नमाज पढ्ने गर्छन् । तरावी नमाज मुसलमानहरूको विशेष प्रार्थना हो । यो दुई किसिमको हुन्छ- तरावी र खत्तम तरावी । यी दुवै नमाज २० रिकातको हुन्छ, जसमा इस्लामी ग्रन्थ कुरानको अक्षरसः पढनुपर्छ । खत्तम तरावी कुरानका पूरै हरफहरू कण्ठस्थ पारेर पढ्नु पर्छ । तरावी कुरान कण्ठस्थ भएका मौलाना वा हाफिज दुवैले पढाउन पाउँछन् । आर्थिक रूपमा सम्पन्न मुसलमानले रोजाको समयमा गरिब, दीनदुखीहरूलाई दान गर्नु पर्छ । दान धार्मिक नियमानुसार गर्नु पर्ने हुन्छ, यसमा कसैले कम, कसैले बढी भने हुँदैन । रोजाको समयमा मुसलमानहरूले आफ्नो सम्पतिको अढाइ प्रतिशत जकात (कर) निकाल्नु पर्छ । यस अतिरिक्त रोजाको अवधि पूरा गरिसकेपछि "इद" को नमाज पढ्नुभन्दा पहिले जनही एक किलो ७ सय ५० ग्राम गहुँको दाम निकाल्नुपर्छ, जसलाई फित्तरा भनिन्छ । यो नियम संसारभरीका मुसलमानमा लागू हुन्छ । यसरी निकालिएको रकम गरीब दीनदुःखीहरूलाई बाँड्नुका साथै फित्तरा र जकात मुसलमानहरूको पाठशाला (मदरशा) सञ्चालनमा प्रयोग गरिन्छ । तीस दिनको रोजा पूरा गरेपछि पुरूषहरू इदगाहमा र महिलाहरू एकान्त ठाउँमा गएर सामूहिकरूपमा नमाज पढ्ने गर्छन् र अन्त्यमा एक आपसमा अँगालो मारेर इदमुवारक भन्दै बधाई साटासाट गर्छन् । नमाजको समयमा शरीरसँगै लुगाफाटो पनि शुद्ध राख्नु पर्ने कडा धार्मिक नियम छ । नेपालमा लगभग १० लाख रहेका मुसलमान राजधानी, पहाडी जिल्ला गोरखा र तराईका विभिन्न जिल्लामा छरिएर बसेका छन् ।

रमजान इस्लामी क्यालेन्डरको नवौं महिनाको नाम हो । इस्लाम धर्मको प्रमुख आधारमध्ये तेस्रो अनिवार्य उपासना 'रोजा' अर्थात् उपवास हो । यो रोजा के हो त ? जुन पाठलाई नमाजले प्रतिदिन पाँचपल्ट सम्झना दिलाउँछ त्यसलाई रोजाले वर्षमा एकपल्ट पूरा एक महिनासम्म हर समय याद दिलाइरहन्छ । रमजान लागेपछि बिहान सूर्योदयभन्दा पहिलादेखि बेलुकासम्म खानपिन बन्द हुन्छ  । 'सेहरी' खाइरहेको बेला एक्कासि अजानको आवाज सुनिएमा हामी तुरुन्त खान छोड्छौं । त्यसपछि जति मीठो खाना भए पनि, जति खाने इच्छा भए  पनि हामी साँझसम्म कदापि खाँदैनौं । मान्छेले देख्ने गरी नखाने मात्र नभई लुकेर वा कसैले नदेख्ने गरी एक थोपा पानी वा एक दाना अन्न पनि खानु हाम्रा निम्ति उचित हुँदैन । अनि यस्तो प्रतिबन्ध एक निश्चित समयसम्म मात्र हुन्छ । मग्रिबको अजान हुनासाथ हामी इफ्तार गछौर्ं । अनि रातभरि निसंकोच जे इच्छा लाग्छ खान्छौं । विचार गरौं यो के गरेको हो ? यस कामको पछाडि अल्लाहको डरको हात छ । उनी सर्वव्यापी र सर्वज्ञाता हुन् भन्ने उपवासकमा पूर्ण विश्वास छ, आखिरतको जीवन र अल्लाहको अदालतमा विश्वास छ, कुरआनका आदेशहरू र सन्देष्टाको पूर्ण आज्ञापालन, कर्तव्यको पूर्ण अनुभूति, धैर्य र संकटहरूसित संघर्षको अभ्यास र अल्लाहलाई प्रसन्न गराउनका निम्ति मनको इच्छालाई रोक्ने र वशमा गराउने शक्ति लुकिरहेको छ । प्रत्येक वर्ष पूरा तीस दिन राखिएका ती रोजाहरूले हामीलाई प्रशिक्षित गर्न र हामीमा पूरा र पक्का मुसलमान बन्ने गुण उत्पन्न गर्न रमजानको महिना आउने गर्छ । साथै यी गुणले हामीलाई उपासनाको योग्य बनाउँछ जुन एउटा मुसलमानले आफ्नो जीवनमा हरेक समय गर्नुपर्छ । रमजान वास्तवमै आत्माशुद्धिको एक विशेष प्रतीक हो । अर्कोतर्फ अल्लाहले सम्पूर्ण मुसलमानहरूका निम्ति बेग्लाबेग्लै नभई सबैका निम्ति सामूहिक रूपमा, एकैचोटि, एकैसाथ एउटै विशेष महिनामा रोजालाई अनिवार्य घोषित गरेका छन् । इस्लामी समाजमा पूरा एक महिना पवित्रताको महिना हुन्छ । सम्पूर्ण वातावरणमा इमान छाएको हुन्छ । सम्पूर्ण समाजलाई ईशभय तथा नैतिक पवित्रता र आचरणको सोन्दर्यले ढाकेका हुन्छ । फलस्वरूप यस्तो वातावरणमा नराम्रो काम हुँदै हुँदैन । बरु असल काम मात्र हुन्छ । असल मानिसहरू असल काममा एक अर्कालाई सहयोग गर्छन् र खराब मानिसहरू खराब काम र उनीहरूले अल्लाहको बाटोमा धन खर्च गर्छन् । त्यसबेला सम्पूर्ण मुसलमानहरू समान अवस्थामा हुन्छन् । समान अवस्थामा हुँदा सबैले एकै जमात वा समुदायमा भएको अनुभव गर्छन् । यो उनीहरूबीच बन्धुत्व, सहानुभूति तथा पारस्परिक सुसम्बन्ध कायम गर्ने एउटा प्रभावकारी उपाय हो । रमजानको महिनाले हामीलाई भोक्का व्यक्तिहरूको भोक कस्तो हुन्छ भन्ने कुराको अनुभव समेत दिलाउँछ । यी सबै कार्यबाट हामीलाई लाभैलाभ हुन्छ । हामीलाई भोकै राख्दा अल्लाहलाई कुनै लाभ हुँदैन । उनले त हाम्रो भलो होस् भनेर रमजानका रोजा हाम्रो लागि अनिवार्य गरेका हुन् । कुनै उचित कारणबिना नै कसैले रोजा राख्दैन भने उसले आफैमाथि अत्याचार गरेको हो । रमजानमा खुल्लमखुल्ला कसैले खान्छ वा पिउँछ भने त्योभन्दा धेरै लाजमर्दो कुरा अरू के हुन सक्छ ? यसो गर्नेहरूलाई इस्लामको आदेशसँग कुनै सरोकार छैन । उनीहरूले जसलाई अल्लाह भनी मान्छन् तिनको आज्ञाको खुल्लम खुल्ला उलंघन गरी आफ्नो उद्दण्डता प्रदर्शन गर्दछन् । तसर्थ आफ्नो सम्प्रदायलाई चटक्क त्याग्न सक्ने, आफ्नो सृष्टिकर्तासित विद्रोह गर्न सक्ने मानिसहरूबाट बफादरी, सदाचार र विश्वसनीयता तथा कर्तव्यपरायणताको आशा गर्न सकिँदैन । रमजान महिनामा प्रत्येक बालिक -व्यशक) मानिस, सन्तुलन ठीक भएको सम्पूर्ण पुरुष, महिलाहरू माथि रोजा अनिवार्य ठहर्‍याइको छ । यसै गरी रात्री 'ईशा' को नमाजपछि २० रकआत एक विशेष नमाज जसलाई तराबीह भनिन्छ त्यो पनि अनिवार्य रूपमा पढ्नुपर्छ । रमजान महिनाका इस्लामिक कानुन र विधिहरूमध्ये एक यो पनि हो कि जस कसैले  पनि जानी-जानी रोजा तोड्छ उसले ठूलो पापको भागीदार हुनुपर्छ र पछि त्यसको 'कजा' पूर्ण कार्यन्वयन गर्नुपर्छ, यसो नगरे ऊ पापी ठहरिन्छ । बिहान सूर्योदयभन्दा करिब एक-डेढ घन्टा अगावैबाट खान-पिउन बन्द गरिदिनुपर्छ यो कार्य सूर्योस्तसम्म रहन्छ । यस अवधिभर कुनै पनि वस्तु, धूवाँ, खान पिउन, शारीरिक सम्पर्क बर्जित छन् । त्यसैगरी झैझगडा, फाल्तु बहस पनि प्रतिबन्धित छन् । रोजा नाम हो उपासना र उपवासको रोजाका सुरुका १० रात अति नै महत्त्वपूर्ण छन् । यी १० रातहरूलाई 'रकमत' विशेष कृपाको रात भनी उल्लेख गरिएको छ । बीचमा १० रातहरूलाई 'मग्फिरत' विशेष माफीका रात भनी उल्लेख गरिएको छ । यी बीस -२०) दिनमा ठूलाभन्दा पाप कार्य गर्नेलाई पनि अल्लाहले माफ गरिदिन्छन् भन्ने कुरा ग्रन्थ र इस्लामिक किताबहरूमा पर्याप्त आधारका साथ वर्णन गरिएका छन् । त्यसैगरी अन्तिमका १० रातहरू पनि अति नै महत्त्वपूर्ण छन् । ती रातहरूको बारेमा भनिएको छ कि यी दस दिनमा धेरैभन्दा धेरै मानव जातिलाई नर्कबाट मुक्ति प्राप्त हुन्छ । अल्लाहले क्षमा गरिदिन्छन् र स्वर्गमा प्रवेश गराइन्छ । तसर्थ सम्पूर्ण मुस्लिम समुदायले रोजालाई अत्यन्तै महत्त्व दिनु उनीहरूको मौलिक हक हो । रोजाको समाप्तिसँगै अल्लाहले इदउल फित्रको रूपमा खुसी प्रदान गरेका छन् । रमजानको अन्तिम दस रातमा अन्तिम सन्देष्टा हजरत मुहम्मद विशेष ध्यान 'एतकाफ' मा बस्नुहुन्थ्यो र इद-उल फित्रको चन्द्रमा देखिनेबित्तिकै बाहिरिनुहुन्थ्यो । ईदको प्रारम्भसँगै रोजाको समापन हुन्छ ।

Thursday, May 25, 2017

बुद्धवाणि

भगवान बुद्धले संसारलाई जीवनको चार आर्यसत्य दिनुभएको छ । भगवान बुद्धको यो उपदेश सर्वकालका लागि उपयोगी सिद्ध भएको छ । यो मार्ग शुरु भएको २५ सय वर्षभन्दा बढी भइसक्यो । तर उहाँले बताउनुभएको मार्ग त्यो समय पनि सटीक थियो, आज पनि छ र जबसम्म मानव समुदाय रहन्छ तबसम्म रहनेछ । उहाँले मानवको स्वभाव र चेतनाको कुरा गर्नुभएको छ । श्रद्धामा होइन विज्ञानमा आधारित भएर ।

उहाँले एउटा जीवन-विज्ञान दिनुभयो । दर्शनशास्त्रको मात्र कुरा होइन रोग र मनोचिकित्साको कुरा गर्नुभयो । कसैमा आश्रित हुने कुरा होइन बरू आफैमा जागरण र होशमा महत्व दिनुभयो । इशारा गर्नुभयो र मार्ग आफैंले खोज्नुभयो । उहाँको पूरै जोड यसमा थियो कि मनुष्यको पीडा कसरी हटोस्? । त्यसको रूपान्तरण कसरी निकाल्ने ? र ऊ आफैंले आनन्दरूपी स्वभावलाई चिन्न सकोस् । त्यसैका लागि भगवान बुद्धले चार आर्यसत्यको घोषणा गर्नुभयो ।

१) दुःख छ, मानिस दुःखी छ ।
२) मानिसको दुःख उसको दुःखी हुनाको कारण हो । दुःख अकारण त हुँदैन ।
३) दुःखको निदान छ, दुःखको कारणलाई हटाउन सकिन्छ । दुःख हटाउने साधनहरू छन् । त्यो नै आनन्द पाउने साधन हो ।
४) दुःख निवारणको अवस्था छ । एउटा यस्तो अवस्था छ जब दुःख रहन सक्दैन । दुःखबाट मुक्त हुने पूरै सम्भावना छ ।

जीवनमा दुःख छ
भगवान बुद्धले भन्नुभयो जीवनमा दुःख छ । जीवन नै दुःख हो त्यसकारण कि मानिसहरु दुःखमा परे र उसले दुःख देख्न सकेन । बुद्धले भन्नु भएको छ जन्म दुःख हो । जवानी दुःख हो । मित्रता दुःख हो । प्रेम दुःख हो । रोग दुःख हो । सम्बन्ध दुःख हो । असफलता त दुःख हो तर सफलता पनि दुःख हो । लाग्दछ कि बुद्ध महादुःखवादी हो । यसरी पनि भन्न सकिन्छ जीवन आनन्द हो । आनन्दको उपाय छ । आनन्द प्राप्त गर्न सकिन्छ । आनन्दको एउटा स्थिति छ । यो पूर्णताको स्थिति हो ।

यो दुःख निवारणको स्थिति हो । तर प्रश्न उठ्दछ बुद्धले नकारात्मक मात्रै किन सोच्नुभयो ? कारण सफा छ । दुःखको बारेमा त सबैलाई थाहा छ । आनन्द कसलाई थाहा छ र ! जसलाई साक्षात्कार नै गरेको छैन, जसलाई जानेकै छैन, कुनै परिचय नभएको कुरालाई उठाउन कसरी सम्भव छ र ! शुरूवात त अनुभवको आधार बनाएर गर्न सकिन्छ । जीवन दुःख हो , यो त जीवनको तथ्य हो । यसलाई कसले इन्कार गर्न सक्छ र ! दुःखबाट जो पनि मुक्त हुन चाहन्छ । बुद्धले जीवनलाई निन्दा गर्नुभएको छैन । यत्तिनै भत्रुभएको छ जीवनको ढङ्ग छ, त्यो दुःख हो । जीवनमा सबै दुःखको रोगले ग्रस्त छन् । उहाँले रोगलाई चिनाइदिनुभयो । फेरि उहाँ रोगको कारण बुझाउनुहुन्छ ।

रोगबाट छुटकारा दिलाउनलाई औषधि पनि बताउनुहुन्छ र रोगबाट मुक्त भएकाहरूको स्थितिका बारेमा पनि बताउनुहुन्छ । उहाँले यी सब करूणाका कारण भनिरहनुभएको छ । जीवन दुःखको घर बनिरहेको छ, आफ्नो जीवन पद्धतिका कारण । उहाँले त जीवनको यथार्थ कुरा भनिरहनुभएको छ ता कि त्यस काँडाले विझोस् फेरि त्यसलाई टाढा भगाउने उपाय गरोस् र जसबाट महासुख प्राप्त होस्, आनन्द प्राप्त होस् ।

दुःखको कारण छ
भगवान बुद्ध आनन्दको कुरा गर्नुहुन्न । उहाँ भन्नुहुन्छ कि दुःख उत्पन्न गर्ने कुराहरूलाई छोडिदेऊ । आनन्द त आफसेआफ हुन्छ । किनकी आनन्द त मानिसको स्वभाव हो । आनन्द त छ, तर त्यसलाई लिने थोरै हो । दुःख भएन भने त स्वतः आनन्द हुन्छ । मानिसहरु सोच्दछन् कि जब आनन्द नै छ भने त्यसलाई प्राप्त गर्ने कोशिश गर्नु पर्दछ । तर दुःख नहटाई आनन्द प्राप्त गर्न सकिन्न । आनन्दको खोजमा ऊ दुःख भुल्दछ । दुःखको बाटोमा जान थाल्दछ र आनन्दको कामना गर्न थाल्दछ ।

रोगको कारण भइरह्यो भने त स्वास्थ्यको कामनाको कुनै परिणाम हुन्न । अतः बुद्ध भन्नुहुन्छ कि स्वास्थ्य पाउने हो भने बिरामीको कारण पत्ता लगाऊ र त्यसलाई हटाऊ अनिमात्रै स्वस्थ्य रहन सकिन्छ । बुद्धको उपदेशको सबैभन्दा ठूलो कुरो यो हो कि उहाँले कुनै सिधा कारण बताउनु भएन । इशारा गर्नुभयो र महत्वपूर्ण कुरा भन्नुभयो- “अप्प दीपोभाव ”। आफ्नो दीयो स्वयम् बन । उहाँले भन्नुभयो- “ आकाशे च पदं नत्थि, समणो नत्थि बाहरे ” । आकाशमा पथ हुँदैन र जो बाहिरतिर दौडन्छ उसले ज्ञान प्राप्त गर्न सक्दैन । त्यसैले त बुद्धको मार्गमा ध्यानमा विशेष जोड दिइएको छ र होशतिर सबैभन्दा बढी ध्यान दिइन्छ । ध्यानमा जति निर्विचारको स्थिति आउँछ त्यतिनै आनन्द स्पष्ट हुन थाल्नेछ । विस्तारै-विस्तारै यो स्पष्ट हुनेछ कि सुख, आनन्द, संसारमा खोजेर प्राप्त गर्न सकिन्न । ध्यानबाट घण्टा-आधा घण्टामा प्रकाशको सानो-सानो किरणले जीवनदृष्टिमा आरम्भ गरिदिनेछ । दुःखको कारणमा दृष्टि पर्‍यो त उपचार प्रारम्भ भयो ।

दोषयुक्त मन
भगवान बुद्धले भन्नुभएको छ यदि कोही दोषयुक्त मनबाट बोल्दछ अथवा कर्म गर्दछ भने दुःखले उसको अनुसरण यसरी नै गर्नेछ कि जस्तो गाडालाई तान्ने बैलको खुट्टाको । यदि मनमा कसैलाई दुःख दिने भाव उठ्दछ भने त बीज झरिरहेको छ । बीज ठूलो भएर बृक्ष बन्नेछ र त्यसमा फल लागेपछि त उसले भोग्नु नै पर्नेछ । प्रायः जब दुःख आउँदछ त्यस पछि मानिसहरू सोच्दछन् कि कोही अरू उसको लागि दुःख उत्पन्न गरिरहेका छन् – पत्नी, पति, छोरा, पिता, मित्र, समाज आदि ।

तर बुद्ध भत्रुहुन्छ कि दुःखको कारण व्यक्तिको मनमा हुन्छ । बाहिर खोज्न गयौं भने गल्ती हुन्छ । उहाँ भन्नु हुन्छ यदि कसैले गाली गर्दछ भने त्यसलाई स्वीकार नगर । दोष उसको हो क्रोध गर्‍यो भने हामीले आफैलाई दण्ड दिन्छौं । जब हामी कुनै चिजलाई भिन्न लिन्छौं तब नै त्यो सक्रिय हुन्छ । अरूबाट नलेऊ, भित्र जानै नदेऊ त दुःखको कुनै कारण हुनेछैन । सबै कुरा मनको हो । त्यसको व्याख्या गरिएको छ । सबै त्यसैमा निर्भर हुन्छ ।
त्यसकारण बुद्ध भन्नु हुन्छ जति हामी द्वेषीको या बैर बैरीको गर्दछौं त्यसभन्दा धेरै खराबी गलत मार्गमा लागेको चित्तले गर्दछ । उहाँ भन्नु हुन्छ दुश्मनसँग डराउने जरूरत छैन, चित्तसँग डराउनु आवश्यक छ किनकी गलत दिशामा गएको चित्तले नै हानी गर्दछ । ठीक दीशामा जाने चित्त त मित्र हुन्छ । अतः चित्तबाट साबधान हुनु आवश्यक छ । गलत मार्गमा लैजाने चित्तले व्यक्तिलाई सबैतिर भट्काउँदछ । आफैंलाई भित्रि खोजको साधन बन्न दिँदैन, त्यसले आफैंलाई एक्लो बन्न दिँदैन । चित्त यदि भीडबाट हट्यो भने, आफैंमा केन्द्रित भइदियो भने त दुःखको कारणनै समाप्त भइहाल्छ ।

सुख-दुःख ब्याख्यामा निर्भर
सुख र दुःख हेर्नमा निर्भरनै दृष्टिमा निर्भर हो । यो सबै आ-आफ्नो व्याख्या हो । त्यही कुरा कसैलाई सुख हुन सक्दछ त कसैलाई दुःख हुन सक्दछ । त्यही कुरामा कोही निरपेक्ष रहन सक्दछ, न दुःख अनुभव गरोस् न सुख । यो पनि हुन सक्दछ कि जुन आज सुख लागिरहेको छ भोलि त्यही दुःख हुनेछ । त्यसको बिपरीत पनि हुन सक्दछ । यदि जीवनको ठीक-ठीक निरीक्षण भयो भने निश्चय नै ज्ञात भइहाल्छ कि जीवनमा हामी जे पनि अनुभव गर्छौ, दुःख अथवा सुख सबै हाम्रा व्याख्याहरू हुन् । व्याख्या बदलिदियो भने अर्कै हुन्छ । व्याख्या आफ्नो हो, हरेक व्यक्ति त्यसलाई बदल्नमा स्वतन्त्र छ । कसैको कुनै वन्धन छैन ।

भगवान बुद्धले धम्मपदमा भन्नु भएको छ- “सुसुखं वत । जीवाम वेरिनेसु स्वेदिनो । वेरिनेसु मनुस्सेसु विहराम अबेरिनो ।” अर्थात बैरीहरूका बीच अबैरी भएर ओहो ! हामी सुखपूर्वक जीवन विताइरहेका छौं । बैरी मानिसहरू बीच अबैरी भएर हामीहरू विहार गर्छौ । यो कुरा बुद्धले एउटा विशेष अवसरका समयमा भन्नुभयो । यसका पछाडि सूत्रको जन्मको कथा छ । शाक्य र कोलि राजाहरूबीच रोहिणी नामको नदीको पानीलाई रोकेर दुबैजना जनपदबासी आफ्ना खेतहरूको सिँचाइ गर्थे । एकपटक जेठ महीनामा वालीहरू सुकेको देखेर दुबै जनपदबासी पहिले आफ्नो खेतलाई सिञ्चन गर्न चाहन्थे । अतः दुबैको नोकर बीच झगडा भयो । यो झगडाको खबर दुबैको मालिकलाई भयो । तब दुबैजना सेना लिएर युद्ध गर्न आए । भगवान बुद्ध रोहिणी नदीको तटमा ध्यान गर्दै हुनुहुन्थ्यो । जब बुद्धले यो कुरा थाहा पाउनुभयो उहाँ युद्धमा तत्पर दुबै सेनाको बीचमा आउनुभयो ।
भगवान बुद्धलाई देखेर शाक्य र कोलिहरूले हतियार फालेर बन्दना गरे । भगवान बुद्धले दुबै राजालाई भन्नुभयो कि के कुराको झगडा हो? राजाहरूले भने कारण हामीलाई थाहा छैन । भगवानले सोध्नुभयो फेरि कारण कसले जान्दछ? सायद सेनापतिहरूलाई थाहा होला । सेनापतिहरूले उपसेनापतिहरूलाई इशारा गरे । उपसेनापतिहरूले सैनिकहरू तिर इशारा गरे । हुँदाहुँदा कुरा आखिर नोकरहरूकहाँ सम्मै पुग्यो । नोकरहरूले भने भगवान ! पानीको कारण । बुद्धले भन्नुभयो पानी त सदियौंदेखि बगिरहेको छ । पानीको कारण हुनै सक्दैन । नोकरहरूले भने पहिले कस्ले उपयोग गर्ने भन्ने कुरामा । बुद्धले भन्नु भयो पहिलो कि कारण पानीको कारण होइन । बुद्ध हाँस्नु भयो शाक्य र कोलिहरूको प्रधानहरूसँग सोध्नुभयो पानीको के मूल्य र मानिसको के मूल्य हो ? उनीहरूले भने पानीको त नाममात्र मूल्य छ र मानिस अमूल्य छ । बुद्धले भन्नुभयो फेरि सोच नाम मात्रको मूल्यका लागि अमूल्यलाई मेटाउन हिँड्यौ । असारका लागि सारलाई गुमाउँछौ ?
दृष्टि बदलियो भने त सबै बदलिन्छ । व्याख्या बदलियो भने त सबै बदलिन्छ ।

सुख-दुःख स्वयंको
साधारणतया धारणा यो हुन्छ कि अरूले दुःख दिइरहेको छ । यसको यो अर्थ हुन्छ कि अरूले नै सुख दिन्छ । बुद्धको जीवनको एउटा घटना छ । बुद्धलाई कसैले गाली गर्‍यो । बुद्धले भन्नुभयो तिम्रो कुरा पूरा भैसक्यो भने म जान्छु है त? । त्यो व्यक्तिले भन्यो कुरा होइन म त गाली गरिरहेछु । बुद्धले भन्नुभयो मेरो लागि त यो कुरो नै हो । तिम्रो लागि गाली होला । यदि तिमी दशवर्ष पहिले आएको भए यो मेरो लागि गाली हुन्थ्यो । अब म अर्काका भूलका लागि आफूलाई दण्ड दिन चाहन्न, दुख पाउन चाहन्न । गाली गरिरहेछौ त तिमी नै जान, म बीचमा आउँदिन । त्यो व्यक्ति फर्क्यो तर रातभरी सुत्न सकेन । ऊ बिहानै माफी माग्न आयो । बुद्धले भन्नु भयो जुन मैले लिएकै छैन त्यसका लागि मैले कसरी क्षमा गर्ने ? तिमी जान, तिम्रो काम जान । दुःखी हुन चाहन्छौ भने त यो घटना पर्याप्त छ तर यदि यसमा पनि खुशि हुन चाह्यौं भने , दुःखी नहुन चाह्यौं भने त कोही अरूले बाधा गर्न सक्दैन । सीधा अर्थ छ कि अरूले न त दुःख दिन सक्दछ न नै सुख । हामी आफैं आफ्नो मालिक बन्यौं भने त कुनै अरूले दुःख दिनै सक्दैन । यसरी अरूको हातमा साँचो दियौं भने, आफ्नो स्वीच अरूलाई दबाउन दियौं भने तब नै अरूले दुःख दिन सक्दछ ।

अर्कै गाउँको एकजना पहलमान गाउँमा आयो । पहलमानी युद्ध भयो । त्यो पहलमान हार्‍यो । सबैजना ऊ देखि हाँस्न थाले, सबैजनाले जोड-जोडले हाँसेर ताली बजाउन थाले तर त्यो पहलमान पनि जोड-जोडसँग हाँस्न थाल्यो । दर्शकहरू हाँस्न छोडिसके तर त्यो पहलमान हाँसि नै रहेको थियो । त्यो पहलमानले भन्यो म पनि हेरिरहेको थिएँ, ठूलो पहलमान बनेर घुमिरहेको थिएँ, खूब भयो चारैतिर चित । ऊ त पहलमान नै थियो तर त्यो भन्दा ठूलो उसको फकीरीपन थियो । मस्ती थियो । ऊ अरूका कारण सुखी-दुःखी बनेनन्, नोकर बनेनन् ।

सुखको आशाबाट दुःख
दुःख तब आउँछ जब सुखको आशा गरिन्छ । सुखको आशा पनि आफ्नो नजिकैबाट हुन्छ । पतिबाट हुन्छ, पत्नीबाट हुन्छ, छोराबाट हुन्छ । यदि कुनै स्त्रीले नहेरी जान्छ भने त दुःख हुँदैन तर पत्नीले नहेरी जान्छ भने दुःख हुन्छ । यदि कसैको छोराले आफूलाई सम्मान दिँदैन भने दुःख हुँदैन तर आफ्नो छोराले सम्मान गर्दैन भने दुःख हुन्छ । पत्नीले दुःख दिन्छिन् । पतिले दुःख दिन्छ । मित्रले दुःख दिन्छ अर्थात जो निकट छ उसैले दुःख दिन्छ किनकी जो नजिक हुन्छ उसैबाट सुख प्राप्ति हुन्छ । प्राप्ति त हुँदैन आभास हुन्छ । जसबाट सुखको आशा गरिन्छ उसैबाट दुःख प्राप्ति हुन्छ ।

दुःख अपेक्षाबाट प्राप्त हुन्छ । जति ठूलो सुखको उपेक्षा हुन्छ, त्यतिनै टुट्दछ । अपरिचितबाट उपेक्षा हुँदैन त्यसकारण दुःख पनि हुँदैन, दुःख त परिचितहरूबाटै प्राप्त हुन्छ । यदि उपेक्षा छोड्यौं भने, सुखको आशा गरेनौं भने दुःख हुनै सक्दैन । न बाहिरबाट सुख आउँछ, न त बाहिरबाटनै दुःख आउँछ । दुःख सुखको उपेक्षाको नै परिणाम हो । लाओत्सेले भन्नु भएको छ “मैले कहिल्यै सम्मान चाहिन त मेरो कसरी अपमान हुन सक्दछ ।”
दुःखबाट छुटकारा पाउनका लागि बुद्धले उपेक्षा एउटा कारगर उपाय भनेका छन् । उपेक्षाको अर्थ हो, न दुःख प्राप्त हुन्छ न सुख प्राप्त हुन्छ । कुनै उपेक्षा नराख्नुको अर्थ उपेक्षा हो । उपेक्षामा जिउनेहरूलाई न कुनै चीज दुःख दिन सक्छ न सुख । यो त साक्षीभावले जिउँछ ऊ त दुईटैलाई समदृष्टिले देख्दछ ।

दुःख दिएनौं भने स्वतः सुख
दुःख मानिसको मूल स्वभाव होइन अतः त्यस्तो घट्न घट्यो भने कठिनाइ हुन्छ, राम्रो लाग्दैन । यो कुनै एक व्यक्तिसँग हुँदैन सबै ब्यक्तिसँग हुन्छ । त्यसैकारण सबै धर्ममा भनिएको छ कि यस्तो कुनै व्यबहार अरूलाई नगर जो स्वयम् अरूद्वारा आफूले अपेक्षा नगरेको होस् । सीधा अर्थ यो हो कि यस्तो कुनै कार्य नगर जसबाट अरुलाई दुःख होस् । विश्वका सबै प्राणी सुखसँग रहन चाहन्छन् तर साधारण मानिस आफ्नो लागि अलग्गै नियम बनाउँदछ र अरूका लागि अलग्गै । ऊ चाहन्छ कि सारा संसारलाई दुःख भए पनि म सुख चाहन्छु । अरूलाई दुःख दिन्छ आफ्नो सुखका लागि । प्रकृतिको नियम छ जे दिइन्छ त्यही फर्किन्छ । अस्तित्वमा कुनै सीमा छैन, सबै एक-अर्कासँग आधारित छ, जोडिएको छ तर गहिरो दृष्टि नहुनाका कारण सबै अलग-अलग लाग्दछ । जो कसैलाई दुःख दिन्छ दुःख उसैकहाँ फर्केर आउँदछ । जो तिमी आफ्ना लागि चाहन्छौ त्योभन्दा बाहेक अरूका लागि नगर ।

तर मानिसको स्वभाव अलग्गै किसिमको छ । ऊ आफ्नो नजिकको व्यक्ति छोरा-छोरी या अरूप्रति अत्याचार पनि यसका लागि गर्दछ ताकि यसबाट उनीहरूलाई राम्रो होस् । आकाँक्षाहरूले अरूको पनि आफ्नो पनि जीवन सुखी हुँदैन बरू दुःखी बनाइन्छ सुखको छाप लगाएर । हिँसा यति गहन छ कि अरूलाई सुख दिने नाममा पनि सताउन सक्दछ । कसैलाई दुःख दिन सक्दछ । त्यसैले भगवान बुद्धले भन्नुभएको छ :- “अतानं उपमं कत्वा न हन्नेय न घातये” अर्थात आफ्नो समान नै सबैलाई ठानेर नपिट अथवा नपिट्ने प्रेरणा देऊ । उहाँले भन्नु भएको छ यदि अरूलाई दुःख दिइएन भने आफ्नो जीवनमा फूल फुल्न शुरू हुन थाल्दछ किनकी जीवन यस्तो हो कि अरूलाई दुःख दिइँदैन भने आफैं नै सुख भएर आउँछ ।

दुःख भोगाइले सुखको आभास
भगवान बुद्धले भन्नु भएको छ जसले वाल्यावस्थामा व्रम्हचर्यको पालन गर्दैैन र युवावस्थामा धन कमाउँदैन उसले बृद्धावस्थामा चिन्ता मात्रै प्राप्त गर्दछ । एकदम अनौठो कुरो छ कि बुद्धले भन्नु भएकोछ धन कमाऊ अर्थात महत्वाकाँक्षी बन । पद होस्, धन एकत्रीत गर ।

एक यहुदी रबाईसँग एक गरीब व्यक्तिले आएर भन्यो कि म एकदम दुःखी छु , मलाई मर्ने आशिर्वाद दिनुस् । उसले भन्यो कि मेरो जीवन नर्क भइसक्यो । म नर्कमा जिइरहेको छु । एउटा सानो छाप्रोमा बसेको छु । वर्षामा छाप्रोमा पानी तपतप चुहिरहन्छ । म संग मेरी पत्नी, दुईटा बच्चा, मेरो सासु-ससुरा पनि बस्नुहुन्छ । त्यहीँ मेरो बुबाआमा पनि बस्नुहुन्छ । हिँड्ने पनि ठाउँ हुँदैन । त्यसमाथि चिडचिड र क्रोधको कुरो हुन्छ सधैं । नयाँ ठाउँ बनाउने पनि सामर्थ्य छैन । नरक छ नरक ! त्यसैले मर्ने आज्ञा दिनुस् । बूढो रबाईले भन्नु भयो तिमीलाई रोक्दिन, केवल सातदिन मात्रै पर्ख । ऊ सँग सोध्यो तिमीसँग कतिवटा बस्तुभाउ छ? उसले भन्यो ६ वटा बोका, एउटा गाई, एउटा बाच्छो र एउटा कुकुर पनि छ । रबाईले भन्यो यसो गर कि यी सबै जनावरहरूलाई छाप्रोमा तिमीहरूसँगै राख । त्यो व्यक्तिले भन्यो कि हामी त त्यसै मरिरहेका छौं यिनीहरूलाई राख्यौं भने त उभिने ठाउँ पनि हुँदैन । रबाईले भन्यो केवल सात दिनको त कुरा हो नि । अनि तिमी मर । यत्ति त मान । सारा जिन्दगीमा तिमीले मेरो कुरा मान्यौ अब मर्ने बेलामा यसलाई पनि नटाल । त्यो व्यक्तिले भन्यो कि यसरी त सातदिन पनि बाँचिन्न । त्यो बूढोले भन्यो कि मर्न नै चाहन्छौ भने मरिनेछ भनेर किन चिन्ता गर्ने ?।

घर पुगेर उसले सबै कुरा भन्यो । सबैले बिरोध गरे । उनीहरू पनि रबाईकहाँ गए । रबाईले भन्यो कि हो मैले नै भनेको हो, उसलाई यो गर्न देऊ । त्यसताका जब रबाई भन्दछ त गर्नुपर्ने हुन्छ । सबै जन्तुहरूलाई भित्रै राखियो । सातदिन महिनौंको वर्षौको नरक बन्यो । सातदिन पछि त्यो व्यक्ति रबाईकहाँ आयो । रबाइले भन्यो अब मर्नुभन्दा पहिले ती जन्तुहरू सबैलाई छाप्रोबाट निकाल । रबाईले दुई-तीनदिन प्रतिक्षा गर्‍यो । त्यो व्यक्ति फर्केर नआएकोले रबाईनै उसकहाँ गयो । के हो? के छ तिम्रो बिचार? मर्ने होइन त? उसले भन्यो छाप्रो त्यही हो । अब यत्ति धेरै ठाउँ देखिन्छ, यस्तो आनन्द कहिल्यै देखेकोे थिइन । सबैमा प्रेमभाव बढिरहेको छ । अब को मर्छ र ! सबै तिम्रै कृपा रहेछ । दुःख सघन भयो , फेरि अनुभव भयो सुखको, जस्तो स्थितिमा छ त्यस्तै स्थितिमा । यहाँ दुःखले पनि दीशा दियो, सुखको अनुभव गरायो । जीवनमा दुःख पनि जरूरी छ, सुखको आभासको लागि ।

दुःखको निवारण छ
भगवान बुद्ध जेतवनमा बस्नुभएको थियो । उहाँसँग पाँचशय भिक्षुहरू पनि बसिरहेका थिए । उनीहरू आंशसालामा बसेर रात्रिमा कुरा गरिरहेका थिए । उनीहरूको कुरा साधारण व्यक्तिको जस्तो थियो । बुद्धले मौन भएर त्यो सबै सुनिरहेका थिए । उनीहरू कुराकानीमा यत्ति तल्लिन थिए कि बुद्धलाई नै भुले । कोही भनिरहेका थिए फलानो गाउँको बाटो कति राम्रो, फलानो बाटो कति नराम्रो । फलानो बाटोमा छायाँदार बृक्ष छ, स्वच्छ सरोवर पनि छ । फलानो बाटो कस्तो बिग्रेको छ त्यसलाई भगवानले नै बचाओस् । कोही भनिरहेका थिए फलानो राजा पनि अदभुत र त्यहाँको सेठ पनि अदभुत र दानी । फलानो राजा कत्ति कञ्जूस त्यहाँको सेठ पनि कत्ति कञ्जूस त्यहाँ त भुलेर पनि कोही नजाओस् । यस्ता प्रकारका थुप्रै कुराहरू भइरहेका थिए । बुद्धले यो सबै सुन्नुभयो । चौंकिनु भयो, हाँस्नु भयो ।

भिक्षुहरूलाई नजिक बोलाउनुभयो । उहाँले भन्नु भयो भिक्षु भएर पनि बाहिरि मार्गको कुरा गरिरहेछौ । समय कम छ तर गर्ने काम धेरै छन् । बाह्यमार्गमा जन्मौं-जन्मौं भट्किरहेछौ, अझै थाकेनौ?अन्तर्मार्गबाट सोच । सौन्दर्य त अन्तर्मार्गमा छ । शरण पनि खोज्ने भए त्यहाँ खोज किनकी दुःख निवारणको त्यही मार्ग हो । उहाँले भन्नुभयो भिक्षुहरू-“ मग्गानुट्ठगिको सेट्टो ” अर्थात यदि श्रेष्ठमार्गको कुरा गर्ने हो भने आर्य अष्टाङ्गिकमार्गको कुरा गर । यो तिमीहरूकुन मार्गको कुरा गरिरहेछौ ? तब उहाँले “गाथा” भन्नुभयो । अनि “उर” भन्नुभयो अर्थात भित्र आउने थुप्रै मार्ग मध्ये आठअङ्गको मार्ग श्रेष्ठ छ ।

भगवान बुद्धले दुःख निरोधका आठ सूत्रहरू दिनुभयो ।
पहिलो सूत्र ( सम्यक दृष्टि ) :- अर्थात जस्तो छ त्यस्तै हेर्नु, आफ्ना धारणहरूद्वारा हेर्ने होइन । आँखा निर्दोष होस् जस्तो ऐना खालि होस् । यदि ऐनामा धुलो लागेको छ भने, अथवा कुनै रङ्ग लागेको छ भने अथवा केही पोतिएको छ भने त जुन कुरा सत्य हो त्यो ऐनामा देखिँदैन । सम्यक दृष्टिको अर्थ हो सबै दृष्टिहरूबाट निष्पक्ष ।

दोस्रो सूत्र ( सम्यक सङ्कल्प ) :- यसको अर्थ हो जुन गर्न योग्य छ त्यही गर र त्यसैमा पूरै जीवन लगाइदेऊ । कुनै अहंकारका कारण नगर । त्यही सम्यक सङ्कल्प हो । त्यस्तो सङ्कल्प जुन बोधद्वारा होस् । जीवनको प्रौढताद्वारा होस् । क्षणिक उत्साह, मानिसहरूले के भन्लान् यस भावनाद्वारा नहोस् । जसमा बाहिरी उत्साह नहोस्, आन्तरिक उत्साह होस् ।

तेस्रो सूत्र ( सम्यक वाणी ) :- जस्तो छ त्यस्तै गर । आफ्नै मिलाएर, बदलेर होइन । यस्तो होइन कि भित्र केही छ बाहिर केही । वाणीमा हृदयको सही अवस्था प्रकट होस् । जुन बोल्नु छ त्यही-त्यही बोल । धेरै नबोल जुन विना पनि चल्दछ, जति आवश्यक छ त्यति बोल । धेरै बोल्नाले धेरै समस्या उब्जाउँछ, जीवन व्यर्थको जालमा फस्न पुग्दछ ।

चौंथो सूत्र ( सम्यक कर्मा ) :- अर्थात त्यही गर जो हृदयले गर्नलाई भन्छ । यस्तो गर्ने होइन कि कसैले गर भन्छ । त्यही गर जुन गर्न योग्य लागोस् । व्यर्थ काम होइन, त्यही काम गर जसले जीवनमा सार मिलोस् । व्यस्त रहनु, केही न केही गरिरहनु जरूरी छैन । त्यही गर जुन जरूरी छ ।

पाँचौं सूत्र ( सम्यक आजीव ) :- आजीवको अर्थ आजीविकासँग छ । रोटी त कमाउने हो तर आजीविका सम्यक हुनुपर्दछ । विध्वंसात्मक नभएर सृजनात्मक हुनुपर्दछ र जीवनलाई परमात्मातर्फ लिएर जाने हुनुपर्दछ । बुद्ध भन्नुहुन्छ आफूलाई जिउनुका लागि अरू कसैको जीवन नष्ट गर्नु अनुचित हो । आजीविका यस्तो हुनुपर्दछ जसबाट कसैको अहित नहोस् । यदि कोही अरूलाई अहित गर्दछ भने त उसले आफ्नै अहितको बीउ रोप्दछ ।
छैठौं सूत्र ( सम्यक व्यायाम ) :- यहाँ व्यायामको अर्थ श्रमबाट सम्यक श्रम न त आलस्य न त अति कर्मठता हो, जहाँ कहिल्यै दौड रोकिन्न । दुइटैको बीचको मार्ग हो सम्यक मार्ग । सम्यक व्यायाम जहाँ जीवनको उर्जा सन्तुलित होस् ।

सातौं सूत्र ( सम्यक स्मृति ) र आठौं सूत्र ( सम्यक समाधि ) :- सम्यक स्मृति त्यो हो जसद्वारा ज्ञानलाई हेर्ने मानसिक योग्यता प्राप्त गर्ने कोशिश गर्नु । अर्थात मन बन्द होस् र होश बाँकी रहोस् । “जागृत भएर आनन्दित हुनु” त्यसैलाई बुद्धले सम्यक समाधि भत्रुभएको छ । अन्तिम दुई चरण सबभन्दा महत्वपूर्ण छन् । सातौं सूत्र सम्यक स्मृति परिधिमा र आठौं सूत्र सम्यक समाधि केन्द्रमा । परिधिमा होश होस् र अनि केन्द्रमा पनि होशको ज्योति बल्यो भने त्यो नै सम्यक समाधि ।

दुःख निरोधको अवस्था
जब यो निश्चय भयो कि जीवन छ भने त दुःख अवश्यम्भावी छ । फेरि कारणमा विचार गर्‍यौ र कारण हटाउनका लागि अष्टाङ्गिक मार्गको अनुसरण गरेर सातौ-आठौं सूत्रसम्म पुग्यौं भने त निदान भयो, उपाय भयो, मेटियो तब चौंथो आर्यसत्य सुखको अवस्था आयो । यसलाई निर्वाणको अवस्था महासुखको अवस्था जे पनि भत्र सकिन्छ । यो अवस्थामा आइसकेपछि मानिसको सबै तृष्णा समाप्त हुन्छ त फेरि उसले फर्केर जन्म लिएर यस संसारमा आउने कुनै कारण बाँकी रहँदैन । जसै-जसै दुःख समाप्त हुँदै जान्छ संसारको यात्राको समाप्ति तिर दोहोरिँदै जान्छ । फेरि व्यक्तिको जीवनको आखिरि यात्रा हुन्छ । एकपटक दुःख निरोधको अवस्था या महासुख उपलब्ध भएपछि शरीर छोडिसकेपछि ऊ कहिल्यै फर्केर जीवनमा आउँदैन । ज्योतिमा ज्योति मिलिदिन्छ । अर्को शब्दमा त्यही त निर्वाण हो । फेरि त्यही नै त मोक्ष हो । जब ज्योतिमा ज्योति बिलुप्त हुन्छ त शूक्ष्म शरीरमा समाहित इच्छाहरू, तृष्णाहरू, अहङ्कारहरू, अस्मिता आदि जुन पुनर्जन्म लिने कारण बन्दछ ती नै रहँदैनन् भने त्यो आत्मा भौतिक शरीर समाप्त भइसकेपछि आवागमनबाट मुक्त भइजान्छ । आध्यात्ममा यो महासुखभन्दा बढी जीवनको अन्य कुनै उपलब्धि छ भनेर मानिएको छैन । यी चार आर्यसत्यको माध्यमबाट बुद्धले व्यक्तिलाई चरमसीमासम्म पुग्ने दीव्य दृष्टिको मार्ग देखाइदिनुभएको छ ।

अप्प दीपो भव
भगवान बुद्धले आफ्नो उपदेश मान्न कसैलाई पनि बाध्य पार्नुभएको छैन । आफैं अनुभव गरेर जान्नका लागि भन्नुभएको छ । जीवनको सत्य भन्नुभयो, रोगको उपचार दिनुभयो जसलाई लिएर लाटोले बोल्न सकेजस्तै अनेकौं व्यक्तिहरू दुःखबाट मुक्त भए । महासुखको अवस्था प्राप्त गरे । उहाँले बताउनुभएको मार्गलाई बुझौं, हृदयङ्गम गरौं । यो मार्गमा गयौं भने बुद्धले जस्तै जो कोहीले पनि त्यो स्थिति प्राप्त गर्न सक्दछ । बुद्धलाई महामानव, भगवान, अलौकिक शक्तिले युक्त भनेर आफूलाई असमर्थ मान्यौं भने त आफूलाई धोका दिएर हामी मानिसको गरिमालाई नै कम गरिरहेका हुन्छौं जसलाई बुद्धले जीवनलाई सार्थक बनाउनका लागि “अप्प दीपो भव” को उपदेश दिनु भएर शिखरमा पुर्‍याउनुभएको छ । यो जन्म त अनन्त जन्महरू मध्ये अगाडिको अध्याय हो । यात्रा यदि चालू रहोस्, कदम बढिरहोस् दिशा यदि सही सङ्कल्प र होश बढाउनुतिर छ । हरेक मानिसले आफ्नो भित्र लुकेको दीब्यतालाई चिन्ने र सही दिशामा जानु छ । भगवान बुद्धले त मानव मात्रको कल्याणका लागि जीवनको सत्य उद्घाटित गर्नुभएको हो ।

Wednesday, May 24, 2017

बटसावित्री व्रत

मिथिलाञ्चलका नारीले बट साबित्री व्रतका दिन बिहानैदेखि आ-आफ्ना पतिको दीर्घायुका लागि धार्मिक विधिपूर्वक वटसावित्री व्रत अर्थात बरसाइत पर्व मनाउने गर्दछन । प्राचीनकालमा  सावित्रीले आफ्ना पति सत्यवान्लाई यमराजको  हातबाट मुक्त गराई नयाँ जीवन दिलाउन सफल भएपछि यो पर्व सोही समयदेखि सुरु भएको धार्मिक विश्वास रही आएको छ । जेठ अमावस्याको तिथिमा प्रत्येक वर्ष मनाउने यस पर्वमा देवी पार्वती, सावित्री र नागनागिनीका साथै बरको बोटको पूजा गरी मनाउने गरिन्छ ।

बिहानैदेखि उपवासमा बसेर महिलाहरु स्नान गरी नयाँ बस्त्रधारण गरी पूजाको थालीमा आँप, केरा, हाते पङ्खा, मिठाई, चना,काँक्रो लगायतका सामग्री लिएर बरको रुखमुनि पुगेर बरको पूजा गरी ती प्रसाद सावित्री, नागनागिनी र पार्वतीलाई चढाएर यो पर्व मनाउने गर्दछन । खासगरी यो पर्व नवविवाहिता महिलाले बडो उत्साह र धूमधामका साथ मनाउने गर्छन् । नवविवाहिता महिलाले घरबाट माइतमा ल्याइएको नयाँ बस्त्र धारण गरी आ-आफ्ना सखी र महिलाहरुका साथमा विवाह र बरसाइत पर्वको पारम्परिक गीत गाउँदै बरको रुखमुनि पुग्छन् ।

नवविवाहिता महिलाको यो पर्व मनाउनका लागि घरबाट माइतमा नयाँ बस्त्र, १४ वटा हातेपङ्खा,चामल, चना, फलफुलका माटोको कलात्मक नागनागिनी, हात्ती बनाएर पठाइदिने चलन छ । नवविवाहिताको घरमा बरसाइत पूजा सम्पन्न भएपछि  चामल, बदाम र अन्य पकवान्नहरु गाउँभरि वितरण गर्ने नियमसमेत रही आएको छ ।

बटसावित्री व्रतको व्रतकथा
धर्मराज यधिष्ठिरले मार्कण्डेय ऋषिसँग सोधे, “हे ऋषिश्रेष्ठ! मलाई आफूले पाउने कष्टको चिन्ता छैन,तर यी द्रौपदीको दुःखलाई देखेर अत्यन्त क्लेश हुन्छ। जति कष्ट यिनले व्यहोर्दै छन्, त्यसभन्दा धेर कष्ट अरु कुनै पतिव्रता नारीले कहिल्यै भोगेका छैनन् होला ?” युधिष्ठिरका कुरा सुनेपछि मार्कण्डेय ऋषिले भन्नुभयो, “हे धर्मराज! तिम्रो यस जिज्ञासालाई मेटाउन म तिमीलाई पतिव्रता सावित्रीको कथा सुनाउँछु। मद्र देशका राजा अश्वपतिका कुनै पनि सन्तान थिएनन्, त्यसैले उनले सन्तान प्राप्तिका निमित्त सावित्री देवीको राम्ररी उपासना गरे। फलस्वरूप उनले एउटी अत्यन्त सुन्दर कन्या जन्माए। सावित्री देवीकै कृपाबाट उत्पन्न भएकी हुनाले ती कन्याको नाम पनि सावित्री नै राखियो। “सावित्रीको उमेर, रूप, गुण र लावण्य शुक्ल पक्षको चन्द्रमा झैं बढ्यो र तिनले युवावस्था प्राप्त गरिन्। अनि उनका पिता राजा अश्वपतिलाई उनको विवाह गर्ने इच्छा भयो। एक दिन उनले सावित्रीलाई नजीकै बोलाएर भने- छोरी! तिमी अत्यन्त विदुषी छ्यौ, त्यसैले आफूअनुरूप पतिलाई खोजेर तिमी आफैंले स्वयम्वर गर। पिताको आज्ञा पाएपछि सावित्री एकजना वृद्ध तथा अत्यन्त बुद्धिमान मन्त्रीलाई साथमा लिएर पतिवरण गर्ने कामनाका साथ देशविदेशको भ्रमणमा निस्किन्। जतिबेला उनी भ्रमण सिद्ध्याएर आफ्नो घरमा फर्किन्, त्यतिबेला सावित्रीका पिता अश्वपति देवर्षि नारदसँग भगवत्चर्चा गरिहेको देखिन्। सावित्रीले दुवैजनालाई प्रणाम गर्दै भनिन्- पिता! तपाईंको आज्ञानुसार म पतिको छनौट गर्न अनेकौं देशको भ्रमण गरी फर्किएँ। शाल्व देशमा द्युमत्सेन नामले प्रख्यात एकजना ठूला धर्मात्मा राजा थिए। तर दैववश उनी अन्धा भए। उनी अन्धा हुँदा उनका पुत्र बालकै थिए। द्युमत्सेनको अन्धत्व र उनका पुत्रको बाल्यावस्थाको लाभ उठाएर उनका छिमेकी राज्यका राजाले उनको राज्यमाथि आक्रमण गरी खोसे। परिणामतः उनले आफ्ना पत्नी एवं पुत्रका साथमा वनमा जानुपर्यो। आफूमाथि आइलागेको विपत्तिबाट छुटकारा पाउन उनी कठोर व्रतको पालना गर्नथाले। उनको ती पुत्रको नाम सत्यवान् हो, ती अहिले युवावस्थामा छन्। मलाई त तिनै युवक मन परे, ती नै मेरा निमित्त योग्य छन्, त्यसैले तिनलाई नै मैले पतिका रूपमा छनौट गरेकी छु।

सावित्रीका कुरा सुनेर त्यहीं पितासँगै बसेका देवर्षि नारदले भने- हे राजन्! तपाईंकी छोरीले पतिका रूपमा सत्यवानको छनौट गरेर ठूलो भूल गरिन्। नारदजीलाई तुरुन्त अश्वपतिले चिन्तित हुँदै सोधे - हे देवर्षि! सत्यवानमा त्यस्तो कुनचाहिँ अवगुण छ र तपाईं यसो भन्दै हुनुहुन्छ? अश्वपतिको जिज्ञासा शान्त पार्दै नारदजीले पुनः भने, राजन्! सत्यवान त वास्तवमा सत्यकै रूप हुन् र उनी समस्त गुणका स्वामी पनि हुन् तर उनको आयु छोटो छ। उनी अब एकवर्ष मात्र बाँच्छन्, त्यसपछि उनको मृत्यु हुनेछ। देवर्षिका कुरा सुनेर राजा अश्वपतिले आफ्नी छोरी सावित्रीलाई भने, पुत्री! तिमी नारदजीका वचनलाई सत्य मानेर अन्य कुनै उत्तम गुणसम्पन्न पुरुषलाई आफ्ना पतिका रूपमा चयन गर। पिताको आग्रह सुनेपछि सावित्रीले भनिन्, बुवा! आर्यावर्तका सच्चरित्र नारीले आफ्नो जीवनकालमा एकपल्ट मात्र पतिलाई वरण गर्छन्, चाहे त्यो मानसिक सङ्कल्प नै किन नहोस्। अब अर्को जति नै सुन्दर र दीर्घायु व्यक्ति नै किन नहोस्, म अर्को पुरुषलाई आफ्नो लोग्नेका रूपमा चुन्दिन र स्वीकार पनि गर्न सक्दिन। सावित्रीको दृढतालाई देखेर देवर्षि नारद अत्यन्त प्रसन्न भए र उनलाई प्रणयभक्ति समुचित छ भन्दै उनले राजा अश्वपतिलाई कन्यादान गर्ने सल्लाह दिए। तदनुरूप सावित्रीको विवाह सत्यवानसँग नै भयो।

विवाहपश्चात् सावित्रीले आफ्नो राजसी वस्त्राभूषण त्यागेर र वनवासीले धारण गर्ने वल्कल आदि धारण गरेर आफ्ना पति र सासुससुरासँग वनैमा दिन गुजार्न थालिन्। पति र सासुससुराको सेवालाई नै उनले आफ्नो कर्तव्य र धर्म ठहर्याइन्। तर जतिजति समय व्यतीत हुँदै जान्थ्यो, सावित्रीको मनमा डर पलाउँदै जान्थ्यो। अन्ततः त्यो दिन पनि आयो, जुन दिन सत्यवानको आयु समाप्त हुन्थ्यो, अर्थात् उनको पतिको मृत्युको मिति तोकिएको थियो। त्यस दिन सावित्रीले दृढ निश्चय गरिन्- त्यस दिन उनी आफ्ना पतिलाई एक पल पनि एक्लै छाड्ने छैनन्। सत्यवान दाउरा काट्न काँधमा बन्चरो बोकेर वनभित्र जान आँटेको देखेर सावित्रीले पनि आफू पनि सँगसँगै जाने आशय व्यक्त गरिन्। सत्यवानले उनलाई धेरै सम्झाए, बुझाउन खोजे, वनको मार्ग अत्यन्त दुर्गम भएकाले त्यहाँ जाँदा उनलाई अति कष्ट हुने कुरा पनि बताए, तर सावित्रीले आफ्नो मन अडिग बनाइन् र आफ्नो सासुससुरासित आज्ञा लिएर सत्यवानसँगै घना जङ्गलतर्फ लागिन्। दाउरा काट्न सत्यवान् एउटा रुखमा चढे, तर केही बेरमैं उनी अस्वस्थ भएर वृक्षबाट झरे। सावित्रीले उनको टाउकोलाई आफ्नो काखमा राखेर सुताइन्, ढल्कनासाथ सत्यवान् अचेत भए। सावित्रीले अब सत्यवानको अन्तिम समय आएको कुरा बुझिन् र मौन रहँदै अश्रु बगाउँदै ईश्वरसित प्रार्थना गर्न थालिन्।

अकस्मात् एउटा दृश्य देखापर्यो, सावित्रीले एकजना कान्तिमय, कृष्णवर्ण, हृष्टपुष्ट, मुकुटधारी व्यक्ति आफूसामु उभिएको देखिन्। सावित्रीले त्यससित प्रश्न गरिन्- हे देव! तपाईंको हो? उनले उत्तर दिए, सावित्री! म यमराज, पतिलाई लिन आएको हूँ। सावत्रीले जिज्ञासा राखिन्, हे प्रभो! सांसारिक प्राणिहरूलाई लिनका निम्ति त तपाईंका दूतहरू आउँछन्, तर के कारणले आज हजुरले आफैं उपस्थित हुनुपर्यो त? यमराजले उत्तर दिए- देवि! सत्यवान् धर्मात्मा तथा सद्गुणका समुद्र हुन्,मेरा दूतहरू उनलाई लिएर जान योग्य छैनन्, त्यसैले मैले आफैं आउनु पर्यो। यति भनेर यमराजले बलपूर्वक सत्यवानको शरीरलाई यमपाशमा बाँधेर हातको बुढीऔंला जत्रो जीवलाई बाहिर निकालेर दक्षिण दिशातर्फ लागे। सावित्री आफ्नो पतिलाई यमराजले लगेको देखेर आफूस्वयं पनि यमराजका पछिपछि हिंडिन्। केही पर पुगेपछि यमराजले सावित्री आफ्ना पछिपछि आँउदै गरेको चाल पाए, अनि उनलाई सोधे- हे सवित्री! तिमी मेरा पछि नआऊ किनकी तिम्रो पतिको आयु पूर्ण भइ सकेको छ र तिनलाई अब तिमीले फिर्ता पाउन सक्दिनौ। तिमी फर्कनुमा नै भलाइ छ। अब तिमीले आफ्ना पतिको मृतशरीरको अन्त्येष्टिको व्यवस्था गर। अहिलेको यो ठाउँभन्दा अगाडि तिमीले जाने अधिकार छैन। सावित्रीले तुरुन्त जवाफ दिईन्- हे प्रभो! आर्यावर्तकी आचरणशील नारी भएकाले मैले मेरा पतिको अनुगमन गर्नै पर्छ, यही नै मेरो धर्म हो र म यो स्थान त के, तपाईंका पछिपछि तपाईंको लोकसम्म नै पनि जान सक्छु किनभने मेरो पातिव्रत्य धर्मका बलका कारण मेरो गति कतै कहीँ पनि रोकिने छैन।

त्यसपछि सावित्रीलाई फर्काउने उपाय सोच्दै यमराजले भने, सावित्री! म तिम्रो पातिव्रत्य धर्मदेखि अत्यन्त प्रसन्न भएको छु, त्यसैले तिमी सत्यवानको पुनर्जीवनबाहेक कुनै एउटा वरदान माँग। यमराजको बठ्याइँलाई बुझेर सावित्रीले भनिन्- प्रभु! मेरा ससुरा ससुरा नेत्रहीन हुनुहुन्छ, कृपया उहाँको ज्योति फर्कने वरदान दिनुहवस्। यमराजले तथास्तु भन्दै पुनः फिर्ता जान आग्रह गरे। सवित्रीले पुनः अनुरोध गरिन्- भगवन्! जहाँ मेरा प्राणनाथ रहहुनेछ, त्यहीँ मेरो निश्चल र निश्चिन्त बसाइ हुनेछ। यसबाहेक मेरो एउटा अर्को पनि अनुरोध छ, त्यो हो मलाई आज तपाईंजस्ता देवताको दर्शन प्राप्त भयो, त्यसैले आजउप्रान्त देवदर्शन र संतसमागम हुँदा कहिल्यै निष्फल हुँदैन भन्ने शास्त्रीय प्रमाण छ, म आज कसरी खाली हात फर्कनु त? यमराजले उत्तर दिए, देवि! तिमीले भनेको कुरो राम्रो हो, तिमी ज्ञानी र विदुषी पनि रहिछ्यौ, त्यसैले सत्यवानको जीवनबाहेक फेरि पनि अर्को एउटा वर माँग। सावित्रीले भनिन् बोली, हे देव! मेरा ससुरा राज्यच्युत भएर वनवासी जीवन व्यतीत गर्दै हुनुहुन्छ। मलाई के वरदान दिनुहोस् भने मेरा ससुराले आफ्नो राज्यवैभव फिर्ता प्राप्त गर्नुहुस्। यमराजले पुनः ‘तथास्तु’ भन्दै सावित्रीलाई फर्कने आदेश दिए। सावित्रीले फेरि भनिन्, हे प्रभो! सनातन धर्मअनुसार मनुष्यहरूको धर्म हो सबैमा दया गर्नु। सत्पुरुषले त आफूनजीकै आएको शत्रुलाई पनि दया गर्छन्, त्यसैले म हजुरकी दयाकी पात्र हूँ। यमराजले भने- कल्याणी! तिमी असाध्यै बाठी र नीतिनिपुण रहिछ्यौ, तिर्खाएको मनुष्यलाई पानी खाँदा जुन आनन्द प्राप्त हुन्छ, तिम्रा कुरा सुन्दा त्यस्तै आनन्द प्राप्त हुन्छ। तिम्रा यस्ता मिठा कुराको कदर गर्दै म एउटा अर्को वरदान दिन चाहन्छु, आफ्ना पतिको जीवनबाहेक जे माग्छ्यौ, माग। अनि सावित्रीले मेरा पिता राजा अश्वपतिका कुनै पुत्र छैनन्, अतः हजुरले कृपा गरेर उहाँलाई पुत्र प्रदान गर्नुहवस्। यमराजले भने- ल मैले तिमीलाई यो वरदान पनि प्रदान गरें, अब त तिमी यहाँबाट फर्किएर जाऊ। सावित्रीले फेरि भनिन्- हे यमदेव! म आफ्नो पतिको अभावमा एक क्षण पनि जीवित रहन सक्दिन। हजुर त सन्तहृदय हुनुहुन्छ र सत्संगले सहृदयता बढ्छ नै। त्यसैले सन्तलाई सबैले श्रद्धा, विश्वास र प्रेमभाव प्रदर्शन गर्छन्। यमराजले भने, तिम्रा यी शास्त्रसम्मत वचन असल छन्, यस्ता वचन सुनेर मलाई अझ एउटा वरदान दिन मन लाग्यो, त्यसैले सत्यवानको जीवनलाई छाडेर अब एउटा अन्तिम वरदान माग, तर यसपछि चाहिँ तिमीले फिर्ता जानै पर्छ नि। सावित्रीले एकछिन घोरिएर भनिन्, प्रभु यदि मसँग हजुर साँच्चै नै प्रसन्न हुनुहुन्छ भने मेरा ससुरा द्युमत्सेनको कुलको वृद्धि गर्न मेरा कोखमा सयभाइ पुत्र जन्म हुने वरदान प्रदान गर्ने कृपा गर्नुहोस्। यमराजलाई सावित्री पछ्याउँदै आएकी र नफर्केकी हुँदा झिंझो लाग्न थालेको थियो, त्यसैले सावित्रीका कुरा भुइँमा खस्न नपाउँदै उनको मुखबाट तथास्तु शब्द फुस्कियो, अनि उनले झर्कंदै सावित्रीलाई भने- लौ त मैले तिमीलाई यो वर पनि दिएँ, अब त जाऊ।

त्यसपछि पनि सावित्रीले यमराजलाई पछ्याउन छडिनन्, पछिपछि हिंडिरहिन्। अझ आफ्ना पछि लागेको देखेर यमराजले भने- सावित्री! तिमी त असाध्यै ढीट र जिद्दी रहिछ्यौ, हेर मेरा कुरा मान र फिर्ता जाऊ, सत्यवानको मृतशरीरको अन्तिम संस्कारको व्यवस्था गर, अन्तिम संस्कारको अभावमा तिम्रा पतिले यमालोकमा ठूलो विपत्ति सहनु पर्छ। अब सावित्रीको बोल्ने पालो थियो, उनले भनिन्, हे प्रभु! तपाईंले अहिले भर्खरै मेरा कोखबाट ससुरा द्युमत्सेनको वंश विस्तार गर्न सयभाइ छोरा जन्मने वरदान दिनुभएको छ, मेरा पतिको अन्तिम संस्कार भयो भने मबाट मात्र हजुरको त्यस वरदानको पूर्ति हुनेछैन र मेरा ससुराको वंशवृद्धि पनि हुनेछैन। सावित्रीका यस्ता तार्किक वचन सुनेर यमराज छक्क परे र अन्त्यमा उनले भने, सावित्री! तिमी त अत्यन्त विदुषी र चतुरी रहिछ्यौ, तिमीले आफ्न वाग्जालमा पारेर मलाई रनभुल्ल बनाई मबाट वचन चुकायौ। तिमी पतिव्रता छ्यौ त्यसैले जाऊ, म सत्यवानलाई जीवनदान दिन्छु। यति भनेर यमराज अन्तर्धान भए अनि सावित्री पनि फर्किएर सत्यवानको भौतिक शरीर भएको स्थानमा आइन्। सावित्री त्यहाँ पुग्दा सत्यवानको चेतना भर्खर फर्कंदै थियो।

यति कथा सुनाएर मार्कण्डेय मुनिले युधिष्ठिरलाई भने, हे राजन्! यसप्रकार पतिव्रता सावित्रीले आफ्ना ससुरापक्ष र माइतिपक्ष दुबै कुलको उद्धार गरिन्। त्यसरी नै यी पतिव्रता द्रौपदीले पनि हजुरहरू सबैको उद्धार गर्नेछिन्। त्यसैले समस्त चिन्तालाई त्यागेर सुदिन आउने प्रतीक्षा गर्नुहोस्।”

Tuesday, May 23, 2017

आस्तिक दर्शनअनुसार संसारको उत्पत्ति

- रामचन्द्र पौडेल

आस्तिक दशर्नले मूलपुरुष स्थायी मान्छ । किनभने यसको उत्पत्ति छैन र विनाश पनि छैन । यो सनातन प्रकृतिभन्दा पृथक् र सर्वव्यापी पनि छ । विस्तृत यो संसारमा बीजरूप पुरूष जीवात्मा बन्छ । अनन्त अन्तःस्करणका सम्बन्धले अनन्त बन्छ । जडत्व यद्वा सक्रिय त्रिगुणात्मक प्रकृति र पुरुषका रूपमा परमात्मा तत्त्व बन्दा शुद्ध चेतन निष्क्रिय भएर ज्ञान स्वरुपमा परिणत हुन्छ । सत्व, रज, तम गरी मूल प्रकृतिका तीन गुण हुन्छन्, जो कुनै समय विशेषमा साम्यावस्थामा रहेका हुन्छन् र कुनै बेला विषम अवस्थामा । जब तीनै गुणका गुण साम्यवस्थामा हुन्छन्, त्यो प्रलयावस्थामा कहलिन्छ र मूल प्रकृति र पुरुषबाहेक यस बेला अरु केही पनि हुँदैन । फेरि प्रकृतिमा संयोग हुनथाल्दा ती तीनवटै गुणमा न्यूनाधिकता हुन थाल्छ र प्रथमत: सत्वगुणको प्रधानताबाट महत्तत्त्व अथवा बुद्धि तत्त्वको उत्पत्ति हुन्छ । बुद्धि तत्त्वमा रजोगुणको प्रबलताले अहङ्कारको उत्पत्ति गराउँछ र अहङ्कारमा जब तमो गुणको प्राबल्य सुरु हुन्छ अनि शब्द, स्पर्श, रूप, रस र गन्ध गरी पाँचवटा सूक्ष्म तन्मात्रा उत्पत्ति हुन्छन् । तमो गुणको अत्यधिक बृद्धि हुन्छ अनि यिनै सूक्ष्म तन्मात्राबाट पञ्च स्थूलभूत अर्थात् आकाश, वायु, अग्नि, जल र पृथ्वीको उत्पत्ति हुन्छ । यी पञ्‍चमहाभूत र तीनका न्यूनाधिक सहकार्यबाट थरिथरिका स्थावर, जङ्गम सृष्टि हुन थाल्छन् किनकि प्रकृतिका सत्व, रज र तमोगुण भिन्नभिन्न स्वभावका भए पनि यिनीहरू सधैँ एकसाथ रहन्छन् र यिनीहरूकै न्यूनाधिक संयोगबाट नै संसारको सृष्टि हुन्छ ।

जसरी तेल, बत्ती र दीयोको तीन कुरा पृथक् पृथक् छन्, यिनैको संयोजनबाट बलेको दीयोको ज्योतिले अन्धकारलाई हटाएर सृष्टिलाई उज्यालो गराउँछ, त्यसै गरी यी तीन गुणले पनि सृष्टि गर्छन् । विश्‍वका सबै मानिस र जीवहरू पृथक् पृथक् देखिनु उनै परमात्माको देन हो भनेर विद्वानहरूले स्वीकार गर्दै आएका छन् । श्रीमद्भागवतमा भगवानले आफ्नो योगमाया अर्थात् प्रकृतिरूपी उपादान कारणका सहायताले यस संसारको निर्माण गरेको विशद वर्णन छ । संसारको निर्माणको पहिलो अवस्थामा ब्रह्म एक्लै थियो, त्यसलाई देख्ने कुनै जीव विशेष थिएन, त्यति बेला उसले हेर्न खोज्यो तर उसले केही पनि देखेन, अनि ईश्वरले 'एकोऽहं बहुस्याम' अर्थात् एक छु अनेक हुन्छु भन्ने भावनाबाट प्रेरित भएर त्रिगुणमयी मायाको सृष्टि गर्यो । अनि ईश्वरले आफ्नो अंशलाई पुरुषमा परिणत गराएर मायामा आफ्नो रेतस् (वीर्य) लाई प्रवेश गराई चैतन्यलाई उत्पन्न गरायो । त्यस चैतन्यबाट सत्व, रज र तम उत्पन्‍न भए । सात्विक अहङ्कारबाट मन र इन्द्रियका अधिष्ठाता देवताहरू उत्पन्न भए । राजस अहङ्कारबाट दशेन्द्रिय वाक् (मुख), पाणि (हात), पाद (खुट्टा), पायु (गुदा) र उपस्थ (जननेन्द्रिय) गरी पाँच कर्मेन्द्रिय र चक्षु (आँखा), रसना (जिब्रो), घ्राण (नाक), त्वक् (छाला) र श्रोत्र (कान) गरी पाँच ज्ञानेन्द्रिय उत्पन्न भए । तामसबाट पञ्चमहाभूत (पृथ्वी, जल, तेज, वायु र आकाश) उत्पन्न भए ।

शतपथ ब्राह्मण तथा पुराणहरूमा उल्लेखभए अनुसार जलामय संसारबाट एउटा ब्रह्माण्डको उत्पत्ति भयो, त्यस ब्रह्माण्डबाट चतुर्मुखी ब्रह्मा उत्पन्‍न भए । उनले धेरै वर्षसम्म भगवान्को तपस्या गरे । ब्रह्माका तपस्याबाट खुशी भएका परमपिता ईश्वरले प्रजासृष्टिका लागि ब्रह्मालाई आज्ञा दिए । फलस्वरुप ब्रह्माको दाहिने अंगबाट स्वयम्भू नाम गरेका पुरुष र बाया अंगबाट शतरुपा नाम गरेकी स्त्री पैदा भइन् । यी दुईका मिथुनी धर्मबाट सारा जीवको उत्पत्ति भएको भनाइ पाइन्छ । यो पूर्वीय मान्यता हो । यस्ता कुराहरू अधिकांश पुराणहरूमा पाइन्छन् ।

नासदीय सूक्तका अनुसार सृष्टिपूर्व संसार भनेको केही थिएन । सत्य/असत्य, चौध भुवन, केही पनि थिएनन् । जन्म/मृत्यृ र रात/दिन भन्ने पनि थिएन, तर एउटा निराकार परब्रह्म वायुविना पनि आफ्नो इच्छा अनुसार शेष थियो र त्यसबाहेक यस संसारमा अरू केही पनि थिएन । चारैतिर अज्ञानको अन्धकार थियो र शून्य थियो । यसै बखत त्यही परब्रह्म (आत्मतत्व) आफ्नो संकल्पशक्तिले प्रकटित भयो । त्यसपछि सृष्टि गर्ने कामना (ईच्छा) जाग्यो र मनको उत्पत्ति भयो जसलाई सिर्जना र संसारको आदिबीज मानिन्छ । त्रिकालदर्शी मुनिहरूले ब्रह्मको यो सबै सृष्टिविकारलाई असत्का रूपमा लिएका छन् । अब यहाँ प्रश्न उठ्छ - सृष्टिको त्यो रश्मि (किरण) कसरी विस्तारित भयो ? एकै पटक चरअचरको सृष्टि भयो वा क्रमागत रूपमा भयो भन्ने प्रश्न उठ्नु स्वभाविकै हो । वास्तवमा सृष्टि बीजरूप भोक्ता (जीव) र भोग्य (सांसारिक पदार्थ) को दुई रूपमा सृष्टि भयो । यसरी कर्ता र कर्मको आविर्भाव भएको देखियो । यथार्थमा सृष्टिविज्ञान दुर्बोध्य र दुरूह छ । यसको रहस्य कसैले पत्ता लगाउन सकेको छैन । यसबारे देवताहरूलाई थाहा छैन, किन भने उनीहहरू भौतिक पदार्थको सृष्टिभन्दा धेरैपछि आविर्भाव भएका हुन् । यहाँनेर के भन्नु युक्तिसङ्गत् हुन्छ भने यो सृष्टिचक्र जहाँबाट सञ्चालन भए पनि यसमा निरन्तरता रहेको हुन्छ । वास्तवमा यो सृष्टि उसैलाई ज्ञात हुन्छ जो संसारको नियामक र सर्वत्र व्याप्त छ ।

यसरी सृष्टिको रहस्य, सृष्टिपूर्वको शून्य स्थिति तथा परब्रह्मको सर्वव्यापकता जस्ता पक्षहरूलाई चर्चामा ल्याउने नासदीय सूक्तलाई वैचारिक उचाइको चिन्तन भन्न सकिन्छ । यसमा जन्मपूर्व र मृत्युपश्चातको रहस्यलाई समेत जान्न चाहने उत्कण्ठा छ । अन्ततो गत्वा सबै रहस्यलाई परब्रह्ममा पुर्याएर चिन्तनलाई निराकार तथा निर्गुण तत्वमा केन्द्रित बनाइएको छ । संसारभन्दा भिन्न परम तत्व (परब्रह्म) को परिकल्पना गरेर संसार नाशवान् तथा परब्रह्म नित्य छ भन्ने जुन दृष्टिकोण यहाँ पाइन्छ । त्यो आर्यहरूको आस्थागत भावनाको परिणाम हो । नाश हुने जीवनका लागि ‘तेरो/मेरो’ भन्ने विचार राख्न हुँदैन भन्ने वेदान्तमुखी शिक्षा/उपदेशलाई समेत् नासदीय सूक्तले स्पष्ट पारेको छ । त्यसकारण नासदीय सूक्त वैदिक साहित्यमा वैचारिक उचाई भएको सूक्त हो । यस सन्दर्भमा ‘नासदीय सूक्त’का केही उदाहरण तल दिइएका छन् ।

नासदासिन्नो सदासीत् तदानीं नासीत् रजो नो व्योमा परो यत् ।
किमवरीव: कुह कस्य शर्मन् अम्भ: किमासीतद् गहनं गभीरम् । ।

अर्थात् सृष्टिपूर्व महाप्रलयको समयमा न सत् थियो न त असत् नै । लोक र आकाशहरू पनि थिएनन् । परम पद भन्ने समेत थिएन । यो जगत्को आवरण पनि देखिएन । गहन जलप्रवाह पनि थियो कि थिएन सृष्टिपूर्व केही थिएन, अदृश्य रूपमा केवल परब्रह्म थियो । उसको इच्छा मात्रले विन्दू विस्फोट भयो र यस विस्फोटले सृजना आरम्भ गर्यो । यो भनाइ र ४३५ करोड वर्षका महानिशा पछि ग्याँसको पिण्डीकरण र पिण्ड विस्फोटपछि बनेका अनन्त पिण्डमा हुने रसायनिक प्रतिक्रियाबाट यो सृष्टि भएको हो भन्ने सङ्केतहरू पनि मिल्दाजुल्दा नै देखिन्छन् । यसरी ऋग्वेदको नासदीय सूक्तले पनि सृष्टिबारे चर्चा गरेको पाइन्छ । 

Monday, May 22, 2017

भौम प्रदोष व्रत

मङ्गलबारका दिन साँझमा पहिलो प्रहरमा त्रयोदशी तिथि परेको दिनलाई भौम प्रदोष भन्दछन् । पद्मपुराणमा बताइए अनुसार यस दिन मङ्गल देवता (ग्रह)का नामसङ्कीर्तन गर्ने व्रतालुले ऋणबाट छुट्कारा पाउँछ । के पौराणिक मान्यता छ भने मङ्गल ग्रहको उत्पत्ति भगवान शिवबाट भएको हो । कतै रगतको छिटा उछिट्टिएर त कतै आँसुको थोपा उछिट्टिएर पृथ्वीले गर्भधारण गरेकाले मङ्गल ग्रहको उत्पत्ति भएको कथा प्रसङ्ग सुन्न पाइन्छ । भगवान् शिवको कृपाले मङ्गलले ग्रहका रूपमा मान्यता प्राप्त गरी आकाशगङ्गामा आफ्नो स्थान सुरक्षित तुल्याएको प्रसङ्ग पनि पौराणिक स्रोतमा उल्लेख गरिएको छ । त्यसैले मङ्गलबारको प्रदोष व्रतको छुट्टै महत्त्व छ । एकातिर भौम प्रदोष परेको दिन भगवान् शिवको आराधना गरेमा सबै दु:खहरुको अन्त्य हुन्छ भने अर्कातिर मङ्गल ग्रहको आराधनाबाट व्यक्तिले हरेक नराम्रो परिस्थितिबाट मुक्ति प्राप्त गर्दछ, किनभने ज्योतिषशास्त्रमा मङ्गल ग्रहलाई प्रत्येक विपरीत स्थिति र कठिन समयसँग जुध्ने शक्ति प्रदान गर्ने ग्रहका रूपमा वर्णन गरिएको पाइन्छ । उता मङ्गलबारलाई हनुमानको आराधना गर्ने दिनका रूपमा पनि लिइन्छ । हनुमान् पनि भगवान् शिवकै अंशावतार हुन् भनी बताइन्छ । कुण्डलीमा मङ्गल र शनिश्चर ग्रहको अनिष्ट फल निवारण गर्न हनुमानको आराधना गर्ने सुझाव पनि प्राप्त हुन्छ । यसरी मङ्गलबारका दिन पर्ने भौम प्रदोषको व्रत लिएमा शिवजी, मङ्गल ग्रह, गणेशजी र हनुमानको एकसाथ उपासना र अाराधना गर्न सकिन्छ । भौम प्रदोष व्रतको व्रत कथा यस प्रकार छ -

एक पटकको कुरा हो । भगवती पार्वती अाफ्ना सँगीहरूसित रमाइला कुराहरूमा भुलिनु भएको थियो । यसरी गफमा मस्त रहेका वेला पार्वती माता अचानक खित्का छाडेर हाँस्नुभयो । पार्वतीको हाँसोका साथमा उहाँको हास्यबाट एउटा डरलाग्दो विकराल पुरुष उत्पन्न भयो र हेर्दाहेर्दै ऊ पर्वतसरह विशालकाय अाकृति भएको राक्षस बन्यो । पार्वतीले अाफ्नो हाँसोबाट उत्पन्न भएको सन्ततिवत ठानेर उसको नाम ममतासुर राखिदिनु भयो र उसलार्इ अाफ्ना दाजु गणेशको उपासना गर्ने सुझाव दिंदै भन्नुभयो - गणेशको उपासनाबाट तिमीले अाफूलार्इ अावश्यक सबै वस्तु प्राप्त गर्न सक्दछाै । ममतासुरले पार्वतीलार्इ अनुरोध गर्यो, माते म दाजुको उपासना त गर्नेछु, तर मैले उपासना गर्न जानेकै छैन । त्यसपछि माता पार्वतीले 'भगवान् गणेशको षडक्षरी मन्त्र 'वक्रतुण्डाय हुम्' मन्त्रश्रवण गराउँदै गणेशजी प्रसन्न नहुन्जेल यही मन्त्रलार्इ निरन्तर उच्चारण गरेर बस' भन्नुभयो ।

माता पार्वतीलार्इ प्रणाम गरी ममतासुर तपस्या गर्न वनतर्फ लाग्यो । त्यहाँ उसले सम्बरासुर नामको अर्को दैत्यलार्इ भेट्यो । उसले ममतासुरलार्इ समस्त अासुरी विद्या सिकार्इ दियो । ती विद्याबाट विभूषित भएको ममतासुरले भगवान् गणेशको उपासनामा पनि उत्तिकै जोड दिंदै तपस्या गर्न थाल्यो । अाफूमा भएको अासुरी शक्तिको प्रयोग गरी पृथ्वी र अाकाशको मध्यभागमा वायुमण्डलमा अडिएर हज्जाराैं वर्षसम्म गणपतिको षडक्षरी मन्त्र जाप गरी ममतासुर तपस्यामा लीन भयो । उसको अखण्ड र अटल तपस्याबाट प्रसन्न भर्इ अादिपूज्य भगवान् गणेशले ममतासुरलार्इ दर्शन दिन बाध्य हुनुभयो । भगवान् गणेशको दर्शन पाएर कृतकृत्य भएको ममतासुरले सर्वप्रथम निष्ठा र भक्तिपूर्वक उहाँको पूजा गर्यो र अनुरोध गर्यो - 'भ्राताश्री ! यदि हजुर मसँग साँच्चिकै प्रसन्न हुनु भएको हो भने मलार्इ हजुरले यस ब्रह्माण्डको राज्याधिकार प्रदान गर्नुहोस् । युद्धका समयमा मैले कहिल्यै पराजित हुनु नपरोस् । ब्रह्मा, विष्णु वा साक्षात् त्रिलोकेश्वर महादेव नै मेरासामु अाउनु भएमा वहाँहरूलार्इ मैले जित्न सकाैं । म अजेय बन्न सकाैं ।' ममतासुरका यस्ता इच्छा सुनेपछि गम्भीर हुँदै भगवान् गणेशले भन्नुभयो - 'बालक ! तैंले असाध्य र दुरूह वरको याचना गरेको छस् । मेरो उपासना गरेको हुँदा मैले यी समस्त इच्छा पूर्ण हुने वरदान प्रदान गरें, तथास्तु । तर जुन दिन मैले अाफ्नो अपमान भएको अनुभूति गर्नेछु, त्यसदिनबाट यी वरदान स्वतः समाप्त हुनेछन् ।'

भगवान् गणेशबाट दिव्य वरदान प्राप्त गरेपछि ममतासुर सम्बरासुरकहाँ पुग्यो र अाफूले अजेय वरदान प्राप्त गरेको समाचार सुनायो । ममतासुरको पुरूषार्थ प्राप्ति भएकोमा हर्षित हुँदै सम्बरासुरले अाफ्नी अत्यन्त सुन्दरी छोरी मोहिनीको विवाह गरिदियो । यो समाचार दैत्यहरूका कुलगुरु शुक्राचार्यले पनि चाल पाए, त्यसपछि उनले ममतासुरलार्इ दैत्यहरूको राजा बनाए । राजा भएको केही समयपछि कुलगुरु शुक्राचार्यसँग अाफूले विश्वविजय गर्न चाहेको इच्छा ममतासुरले  प्रकट गर्यो । शुक्राचार्यले उसलार्इ अाज्ञा दिंदै भने - 'हे राजन् ! हजुरको इच्छा पूर्ण हुनेछ, तर हजुरले याद राख्नुपर्छ, अाफ्नो विजयअभियान अघिपछि कहिल्यै पनि विघ्नेश्वर भगवान् गणपतिको विरोध कदापि गर्नु हुँदैन, किनभने अादिपूज्य भगवान् गणपतिको कृपा र अाशीषद्वारा नै तपार्इंले यो पद, प्रतिष्ठा र वैभव प्राप्त गर्नु भएको हो ।' ममतासुरले अाफ्नो अात्मबल, हिम्मत, साहस र दृढताको उपयोग गर्दै पराक्रमी सेनाका माध्यमले समस्त पृथ्वी र पाताल लोकमा कब्जा गर्यो । उसको लक्ष्य स्वर्गमाथि कब्जा गर्ने थियो, परिणामतः उसको र इन्द्रका बीचमा भीषण युद्ध भयो । उक्त युद्धमा रगतको खोलो नै बग्यो ।

ममतासुरका अगाडि इन्द्रको केही लागेन अन्त्यमा उसले स्वर्गमाथि कब्जा गरी छाड्यो । देव र दानवको युद्धमा भगवान् विष्णु र साक्षात् शिवले समेत ममतासुरका अगाडि घुँडा टेक्नु परेको थियो । अब सम्पूर्ण ब्रह्माण्डमा ममतासुरको शासन कायम भयो । देवताहरूमध्ये पनि कत्तिले स्वर्ग त्यागेर भाग्नु पर्यो भने कत्तिलार्इ ममतासुरले बन्दी र दास बनायो । ममतासुरको शासनकालमा धर्म, कर्म र वैदिक क्रियाकलापमा कसैको वास्ता भएन, सबै भोगविलास र मोजमज्जामा भुलिए । त्यसपछि देवताहरूले अाफ्नो दुःख र कष्ट निवारण गर्ने अनेकाैं उपाय गरे । तर उनीहरूको प्रयास निष्फल भयो । एक दिन अाफ्नो दुःख र पीडा निवारणका लागि कुनै उपाय सुझाउनका लागि भगवान् शिवको अाराधना गरे । देवताहरूको दुःखहरण गर्ने उपाय बताउँदै भोलेनाथले भन्नुभयो - ममतासुर मेरै अंशबाट पार्वतीको हास्यका माध्यमबाट उत्पन्न भएको हो । यसले भगवान् गणेशको अाराधना गरी दिव्यशक्ति र सामर्थ्य प्राप्त गरेको छ । त्यसैले तिमीहरूले भगवान् गणेशको प्रिय दिन मङ्गलबार र मेरो प्रिय तिथि त्रयोदशीको संयोग भएको प्रदोषका दिन व्रत गरी मेरो र गणेशको अाराधना गर । उक्त व्रतको प्रभावले प्रसन्न भएका गणेशले तिमीहरूको उद्धार गर्नेछन् ।'

शिवाज्ञा प्राप्त गरी सबै देवताहरूले भाैमप्रदोषका दिनदेखि विघ्नराज गणेशको पूजा गरे । त्यसपछि अाउने प्रत्येक प्रदोषको व्रत लिर्इ एक वर्षसम्म देवताहरूले शिवजी र गणेशको लगातार उपासना गरे । अर्को भाैमप्रदोषका दिन भगवान् गणेशको दर्शन पाए । देवताहरूले वहाँसित धर्मको उद्धार गर्न र ममतासुरको अत्याचारबाट मुक्ति दिलाउन अनुनय विनय गरे । त्यसपछि गणेशले नारदजीमार्फत सन्देश पठाउँदै ममतासुरलार्इ धर्मको अाचरण गर्न र अत्याचार समाप्त गर्न अादेश दिैदै उसले अाफ्नो शरणमा अाउनु पर्ने अादेश दिनुभयो । ममतासुरमा सुखसुविधा र पदको घमण्ड बढेको थियो । उसले नारदमार्फत सुनेको कुरालार्इ वास्ता गरेन । शुक्राचार्यले पनि उसलार्इ निकै सम्झाउने प्रयत्न गरे । तर पनि उसमा चेतना अाएन । ममतासुरको यस्तो दुष्ट प्रवृत्ति देखेर गणेशजी क्रोधित हुनुभयो र उसले अाफूलार्इ अपमान गरेको ठहर्याउनु भयो । गणेशजीलार्इ खिन्नता हुनासाथ ममतासुरमा प्राप्त भएका समग्र बल समाप्त भयो । उसको सामर्थ्य घटेको चाल पाउनासाथ देवताहरूले उसमाथि अाक्रमण गरिहाले । ममतासुरको पतन भयो र देवताहरूले पुनः राज्यश्री र सुखसम्मृद्धि प्राप्त गरे ।

सूतजीले बताउनु भएबमोजिम मङ्गलबारका दिन पर्ने प्रदोष व्रतलाई विधिविधानपूर्वक सम्पादन गर्नाले भगवान् शङ्कर र अादिपूज्य गणपतिले यसरी नै भक्तहरुलाई साक्षात दर्शन दिएर कृतार्थ गर्ने गर्दछन् । शिव र गणेशको एकसाथ उपासना गर्न सकिने भाैम प्रदोषको ठूलो महिमा छ । जोसुकैले यस व्रतको सम्पादन गरेमा अाफूले गुमाएका पदप्रतिष्ठा, राज्यवैभव, सुखसम्मृद्धि र धनसम्पत्ति प्राप्त गर्न सक्दछन् । अानन्दपूर्वक जीवनयापन गरी तिनले अन्त्यमा शिवलोक प्राप्त गरी सायुज्यमुक्ति प्राप्त गर्दछन् । ऋणसापटीबाट मुक्ति प्राप्त गर्न पनि भौम प्रदोषको व्रत लिन सकिन्छ ।